शुक्रवार दिउँसो राजधानीबाट प्रसारित हुने एउटा एफएम रेडियोमा फर्माइसी गीतको कार्यक्रम चलिरहेको थियो । सञ्चालिकाले बारम्बार फोन गर्नेमध्येका एक स्रोताको फोन रिसिभ गरिन् । उनी मोरङ पथरीनजिक शनिश्चरे शिविरका कलर रहेछन् ।
दसैं कस्तो बित्यो भन्ने कुराको प्रसङ्गमा उनले एकै सासमा भने 'अन्तिम दसैं हो । अर्कोपालि कहाँ पुगिने हो । मजाले मानियो यसपालि ।' तेस्रो मुलुक पुनर्वासअन्तर्गत शरणार्थी शिविरका भुटानी जनता अहिले अमेरिका-युरोपका विभिन्न मुलुक पुगेका छन् । भुटानले नेपालीभाषी जनतालाई बेघर बनाएपछि मोरङ र झापाका शिविरमा शरण लिएको दुइ दसक नाघेको छ । उनीहरुका लागि घर फर्कन भरपर्दो कुटनीतिक पहल कहिल्यै हुन सकेन । पछिल्लोपटक उनीहरुका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला इकाइले तेस्रो मुलुक पुनर्वासको उपाय सुझाएर कार्यान्वयनमा ल्यायो ।
एफएमकी आरजेलाई उनको जवाफलाई महत्व दिनुभन्दा गीत रोज्न आग्रह गरिन् । आफुलाई फलानो भनेर चिन्ने सबैका लागि भन्दै उनले नया हिन्दी चलचित्रको गीत रोजे । छोटो सम्वाद सकियो । गीत बज्यो । ती स्रोतासग सम्वाद लामो हुनसक्थ्यो । यद्यपि मनोरञ्जक कार्यक्रमका लागि त्यो शायद आवश्यक मानिएन । अथवा हुनसक्छ आरजेलाई शिविरका शरणार्थीको जीवन र अवस्था बारेमा बढि चासो भएन वा थिएन ।
गत असार पहिलो साता राजधानीबाट आएका एक सञ्चारकर्मी मित्र दीपक अधिकारीका लागि झापाको शान्तिनगरस्थित टिमाइ शिविर जानुपर्ने भयो । भुटानबाट विस्थापित एक परिवारकी महिलासग उहाले अन्तर्वार्ता गर्नु थियो । उनका श्रीमान भुटानको कुनै जेलमा थिए । छोराछोरी काठमाडौंको स्कुलमा पढ्दै । एक्ली महिला शिविरको छाप्रामा कुरुस-काटासगै जीवनका दिन आसूमा उनीरहेकी ।
बेलडागी, खुदुनावारी र शनिश्चरे पुगेपनि टिमाइ पुगेको त्यो पहिलो अवसर थियो मेरा लागि । अघिल्ला तीन शिविर घुमेभन्दा टिमाइ फरक देखिएन । बास फोरेर छानो बनाइएका झुप्रा, त्यसअघिल्तिर घामबाट खाना पकाउने सौर्य चुलोमा भाडो । समूह-समूह बसेर आ-आफ्ना काम र गफमा तल्लिन शरणार्थी । भाषा नेपाली हो । त्यसैले हामीभन्दा भेषभुषामा फरक केही भेटिन्न । शिविरभित्र फलामका काम गर्नेहरु सानो छाप्रोमा घरेलु कृषि औजार बनाउन हतौडी र छिनो चलाइरहेका छन् ।
बाहिरबाट चिहाउन सकिने ठूला छाप्रा भएको स्कुल । धेरै नानीहरु पढिरहेका छन् । स्कुलेका तस्बिर खिच्न थाल्दा उनीहरुका गुरुहरु नजिक आए । परिचय सोधे । अनि त्यहाको अवस्था बताए । उनीहरुलाई भुटानकै भाषा, भूगोल र अवस्था बताउन सामाग्री पर्याप्त रहेनछ । अनि पढाउनेहरु पनि एक/दुइ गर्दै पुनर्वास कार्यक्रममा नाम निकालेर बाहिर जाने क्रम बढेपछि साना नानीहरुलाई अध्यापन गर्नेको अभाव बढ्दो रहेछ । टिमाइको प्राथमिक तह पढाइ हुने स्कुलमा करीव ६ सय बालबालिका रहेछन् । भीत्ताबाहिरबाट घामको प्रकाश कक्षामा पसेको छ । ३ कक्षाको एउटा कोठामा एउटा फुच्चे सहपाठीहरुलाई राजेशपायल राइको आधुनिक गीत सुनाइरहेको छ -'बल्ल बल्ल भेट भो दर्शन नमस्ते ।'
अनिश्चित भविष्य लिएर शरणार्थी जीवन बिताइरहेकाहरु अहिले धमाधम तेस्रो मुलुक गएका छन् । जान चाहनेहरु आफ्ना नाम सूचीमा पर्ला भनेर पालो पर्खिरहेका छन् । अनि नाम निस्केकाहरु जानका लागि विदावारीमा छन् । 'तिनीहरुले मेरो घर खोसे तर, भविष्य खोस्न सक्दैनन्' यो विश्व शरणार्थी दिवसको नारा हो । यसले शरणार्थी व्यथा बोल्छ । तर, उनीहरुका लागि थातथलोमा फिराउनुको साटो अर्कै मुलुकमा बसाइ लैजाने क्रमले तीव्रता पायो । सन् २००८ मार्चदेखि सुरु भएको नेपालस्थित शिविरका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रममा हालसम्म ३१ हजार गइसकेका छन् । पुनर्वास कार्यक्रमले गएका चार महिना भरथेग गर्ने, त्यसपछि उनीहरु आफै बाच्ने हुनुपर्ने नियम छ ।
पढेलेखेका युवा पुस्ताका लागि यो सहज हुनसक्ला । तर, वर्षौदेखि खेती किसानी गरेर जीवनका उर्जाशील समय व्यतित गरेका शरणार्थीका लागि युरोप र अमेरिकाको जीवन सहज छैन । तापनि तत्काल तेस्रो मुलुक जानबाहेक अरु सहज विकल्प छैनन् ।
शरणार्थी समस्या समाधानका घरफिर्ती, पुनर्वास र स्थानीयकरण् । यी तीन विकल्पबाहेक अरु केही हुन सक्दैन । ग्लोबल ट्रेण्ड रिपोर्टले विश्वमा शरणार्थी संख्या बढ्दै गएको र घर फर्कनेको संख्या घट्दो रहेको सार्वजनिक गरेको छ । गत वर्ष २ लाख ५२ हजार शरणार्थी स्वदेश फर्किएको तथ्यांक छ । जुन सन् १९९० यताकै सबैभन्दा कम हो । आङ्खनो देश र घरभन्दा प्यारो मानिसलाई अरु केही नहोला । यस्ता आधारभूत अधिकारबाट शरणार्थीलाई बञ्चित नगर्न नेपालको दायित्व ठूलो छ । तर, कुटनीतिक पहलमा ध्यान पुर्याउन सधै ढिलाइ भइआएकै हो । राजनीतिक संकटबाट नेताहरुले मुलुकलाई कहिल्यै शान्तिको सास फेर्न दिएको अवस्था छैन । बुद्धि फिरोस् । अनि शरणार्थीका मामिलामा आफैबाट पहल हुन नसक्ने हो भने अन्तर्राष्ट्रिय समुदायसग हातेमालो गरेर अघि जाने बाटो पहिल्याओस ।
No comments:
Post a Comment