Wednesday, May 18, 2011

बाटो खोलिन् अनुराधाले


महिला नाचिरहन्छन् । नाच्नुको सोझो अर्थ गीत-संगीतको तालमा भन्ने लाग्न सक्छ, त्यो पटक्कै होइन । अनुराधा थापा भन्छिन् 'उमेरअनुसार महिलालाई माइती, घर-व्यवहारले नचाउँछ । भान्सा, केटाकेटी र तिनका लागि आइपर्ने दैनिकीले नचाउँछ । जीवन नाचेर बित्छ ।' उनका कुरा गहिरा छन् । कारण, उनले आफ्नो चित्रलाई अर्थ्याएकी हुन् । 
क्यानभासमा कोरिएका आकृतिभित्र रंगको संयोजनमा विभिन्न भावका प्रतिबिम्ब छन् । भन्छिन् 'चित्रका लागि खोजिने भाव जीवनकै अंग हो । बुझनेले एकथोक बुझला, कोर्नेले सोचेको एकथोक हुनसक्छ ।' विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा थापाको एकल चित्र प्रदर्शनी आइतवारदेखि सुरू भएको छ । काशी हिन्दु विश्वविद्यालय (बीएचयू) बाट मूर्तिकलामा स्नातक थापाको यो पहिलो एकल प्रदर्शनी हो । 
'शोख, पढाइ हुदाहुदै यो लाइन अंगालेको तीन दसक पुग्यो, उनले भनिन् 'यसरी एकल प्रदर्शनीको जोरजाम पहिले मिलेको थिएन ।' उपमहानगरभित्र लामो समयदेखि ललितकला संगममा कलाकारहरू आबद्ध छन् । सोख र पेशाले कलाकारलाई संगममा गोलबन्द गरेपनि विराटनगरमा प्रदर्शनीका लागि ग्यालरी छैनन् । सबैजसो राजधानीमा विभिन्न समय आयोजना भइरहने प्रदर्शनीमा आफ्ना चित्र लिएर भाग लिन पुग्छन् । फिरेर आएपछि नगरभित्रै पहिचानको संकट आफ्नै पाराको छ ।
संगमका अध्यक्ष अग्रज चित्रकार गोपाल कलाप्रेमी भन्छन् 'यो नाटकघरले हाम्रा लागि एउटा बाटो खोलिदियो । अनुराधाका चित्रबाट प्रदर्शनीको बाटो खुल्यो ।' उनका चित्रमा महिला संवेदनशीलता नै प्रमुख विषय रहीआएको उनले बताए । उनले थपे 'उनको चित्रमा उपयोग भएका नीलो, हरियो, पहेलो र रातो मुख्य रंगले यही पुष्टि गर्छ ।' शनिवार यहा आयोजित कलाकार्यशालामा ११ कलाकारले एकै थलोमा बसेर चित्र कोरे । धेरैपछि विराटनगरमा भएको यस्तो जमघटलाई अनुराधाको प्रदर्शनीले थप बल दिएको उनलाई लागेको छ । उनले भने 'अब कला प्रदर्शनी गर्न गराउन सजिलो हुन्छ भन्ने लागेको छ ।' 
प्रदर्शनीकै समय पारेर राजधानीबाट आइपुगेका प्राध्यापक अभि सुवेदी भन्छन् 'अनुराधाका चित्रको विशेषता नियन्त्रण र परिपक्वता हो । उनका तेल र एक्रेलिक प्रयोग गरेका सबै नै चित्र भावपरक छन् ।' कला कार्यशालापछिको एकल प्रदर्शनीको अनुभव पृथक रहेको उनले सुनाए । 'हाम्रा धेरै कलाकारको कला स्तरीय र बेजोड छ, यो सबैले अब विराटनगरमै देख्न, अनुभव गर्न पाउने भए । यो खुसीको कुरा हो ।' 
युवा कलाकार पारस थापाको बुझाइमा प्रदर्शनमा रहेका १५ चित्रमा प्रत्येकले पृथक संदेश बोकेका छन् । भन्छन् 'एउटा हेरेर हिडिहाल्ने भन्दा पनि हेरेर भाव केलाउनुपर्ने खालको लाग्यो ।' चित्र प्रदर्शनीका लागि सार्वजनिक थलोको अभाव नाटकघरले पुरा गर्न भएको अभ्यास पूर्व क्षेत्रकै लागि खुसीको कुरा भएको उनले बताए । 
हाटखोलाको नाटकघर राजधानीको पुरानो बानेश्वरस्थित आरोहण गुरूकुलको शाखा हो । निर्देशक सुनील पोखरेल भन्छन् 'अनुराधाजीको प्रदर्शनीबाट राम्रा प्रतिक्रिया आएका छन् । हामी यहाँ ग्यालरी पनि बनाउने सोचमा छौ । अहिले त्यो सोचलाई बल मिलेको छ ।' नाटक र चित्रकारिता फरक विधा भएपनि भाव केलाउने सन्दर्भमा आफुले चित्रलाई एउटा शैलीका रूमा लिने उनले बताए । एक साता चल्ने प्रदर्शनीमा आगन्तुकले थापाका विविध भावलाई रंगको संयोजनमा सजिएका क्यानभास हेर्न पाउनेछन् । 
(०६८ जेठ ४ बुधवार कान्तिपुरको कला र शैली पृष्ठमा प्रकाशित)

Tuesday, May 17, 2011

बहादुरपुरको खोक्रो ठाँट


 रजौटाका सन्तान भूपति बस्नेत आफै केही व्यवसाय गर्न चाहन्छन् । एक जना अर्दलीसँग जर्जर महलमा बेगारी बसेको बर्षौ भएको छ । भन्नेहरू उनलाई 'राजा साब' भन्छन् । तर, जता हिड्यो उतै उधारो छ । पुरानो जर्जर महलजस्तै अवस्था छ । दैनिक उपभोग्य सामानमात्र होइन चिया र धुमपानसमेत उधारोमा चलेको छ । साहूहरू ढोका ढक्ढक्याउँछन् । कसैगरि महल बेचेर उधारो तिरेपछि बच्ने केही पैसाले उनी साधारण जीवन बिताउन चाहन्छन् । 
मुलुकका राणाकालीन वा शाहवंशीय इतिहासको कुनै कालखण्डजस्तो लाग्ने 'बहादुरपुरको दन्त्यकथा' भारतका प्रसिद्ध नाटककार बादल सरकारको सिर्जना हो । विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आइतवार साँझ हिन्दीबाट अनुवादित यो नाटक प्रदर्शनअघि कुलगुरू सूनील पोखरेलले कलाकार र दर्शकलाई एक मिनेट मौन धारणको आग्रह गरे । ८६ वर्षीय सरकारको गत शुक्रवार निधन भएको थियो । उनको यो सिर्जना नेपाली रजौटाका इतिहासभन्दा पृथक थिएन । भाषा अनुवादमात्र होइन पात्रलाई पनि सामयिकतामा ढालिएको नाटक हेर्न पाउँदा विराटनगरका दर्शक मख्ख परे । 
राजपाट सकिएपनि नसकिने आडम्बरी ठाँट छाड्न नसकेका मुख्य पात्र भूपति महल बेच्ने तरखरमा छन् । किन्न आउने मिस्टर थापा र उनको परिवारलाई उनी राजसी ठाँट देखाउन अन्तिमपटक जुट्छन् । तर, जर्जर महलमा बेला बेला छानोबाट भत्किएर ढुंगा र पत्र खस्छ । भूपतिका पुख्र्यौली प्रेतात्मा रघु दाजु डुल्छन् । राजाजस्तो पोशाक र श्रीपेच लगाएर । मध्यरात अट्टहास र महाकवि कालीदासको शाकुन्तलम्का संस्कृत श्लोक गुञ्जायमान हुन्छ । 
थापाका साथी ठकुरीले सय वर्ष पुरानो घर किनेका छन् । उनलाई पछि पार्न थापा पनि त्यस्तै अर्को घर किन्न आइपुगेका छन् । भवनमा घुम्ने प्रेतात्माका बारे थाहा पाएपछि उनी अझै उत्साहित छन् । थापाको भुमिकामा रहेका जीवनकुमार भन्छन् 'उसले घर किन्न सक्ला । तर, कसरी ल्याउछ प्रेत ?' १ घण्टा २० मिनेटको नाटकमा अनिल पोखरेललाई कृष्णप्रसाद धिताल, लक्ष्मणपुण्य लामिछाने, रामकुमार प्याकुरेल, मिलन नेपाली, रामभजन कामत, सीता न्यौपाने, दीपा पोखरेल र खेम नेपालीले साथ दिएका छन् । 
तीन साता लामो नाटक महोत्सव सकिएको एक सातापछि आइतवारदेखि मञ्चन थालिएको 'बहादुरपुरको दन्त्यकथा' मा स्थानीय कलाकारको बर्चस्व छ । नाटकघरका अध्यक्ष भैरव क्षेत्री भन्छन् 'सधै काठमाडौंबाट कलाकार आएमात्र नाटक देखाउने गरे हामीले कहिले अघि बढ्ने - त्यही भएर यो नाटकमा यहाँका साथीहरू कस्सिएका हुन् ।' 

Monday, May 16, 2011

फरक फ्रेममा इलाम


मकै भुटेर बोक्दा लेकमा खानुको मजा बेग्लै । तर, भेट्नेले जिस्क्याउन 'मकटुस' भनिदिने रहेछन् । मकटुस अर्थात् सन्दकपुरमा कसै कसैले स्वदेशी घुमन्तेलाई जिस्क्याउन भन्ने 'मकै टुरिस्ट' को छोटकरी । मुलुकमै चिया उत्पादनका लागि नामी मेची अञ्चलको इलाम जिल्ला पर्यटकीय दृष्टिले पनि दर्शनीय छ । 
भारतीय सीमानासँग जोडिएका पहाडी भुभाग भएको यो जिल्लाका गुराँसे क्षेत्र र तिनमा जनजीवन हेर्ने पदयात्रामा जाँदा यो साता सन्दकपुरमा नेपालीलाई मकटुस भनेर जिस्क्याइन्छ भन्ने सुनियो । तैपनि समुद्र सतहको ३ सय देखि ३ हजार ६ सय ३६ मिटरसम्मको उचाइमा अवस्थित इलामका लेकाली पाखामा भुटेका मकैले विरामी पर्न नदिने रहेछ । 
यहाँका माइमझुवा र माबु गाविस पाँच दिने पदयात्राले छिचोल्दा ७० मिटरमा अवस्थित विराटनगरबाट पुगेको सञ्चारकर्मीले गर्मी बिर्सियो । यहाँको चिसो मौसमलाई बोरामा हाल्न मिल्न भए घर लैजाने कल्पना पनि आए । प्रकृतिले भुगोल यस्तै बनाएको छ । कतै गर्मि मात्र हुन्न, अति गर्मि हुन्छ । कतै जाडो बाह्रैमास हुन्छ । 
विराटनगरबाट इलाम बजारसम्म मोटरसाइकलमा । त्यसपछि सार्वजनिक सवारीका रूपमा चल्ने ल्याण्डरोभर जीपमा बिब्ल्याटे हु“दै माइपोखरी पुगेपछि पदयात्रा थालियो । माइमझुवाको टोड्केभरना, खोर्सानीटार र गुराँसे बन छिचोलेर पाँचथर जिल्लाको सिदिनको सीमाना पर्ने गोरूवाले हुँदै सन्दपुरसम्मको यात्रा कठीन रह्यो । धेरै हिडेपछि घर हैन, गोठ भेटिन्थे । सन्दकपुर नेपाल-भारत सीमानामा छ । सीमास्तम्भका वारीपारी सूर्योदय र हिमाली दृश्य हर्ेन स्वदेशी विदेशी धुइरिने ठाउ“मा भारतीय पैसामै विनिमयको चलन रहेछ । पारीकै मदिरा, पारीकै सवारी । सन्दकपुर छाडेर दोबाटे र लालवासहुदै माबु झर्दा नेपाली भूभागबाट उत्पादित चिया र छुर्पी दार्जिलिङको बजारमा बेच्न लैजानेहरू भेटिन्थे । गोरूवालेमा पाँचथरबाट ल्याएका गोरू पारी बेच्न लाँदै गरेकाहरू देखिन्थे । नेपालतर्फधेरै ठाउ सडक भर्खर खनिएका छन् । सबैमा नेपाली नम्बर प्लेटका सवारी कुदेको देख्न पाइन्न । बाह्रैमास चिसो झेल्ने देउराली, खर्क र भञ्ज्याङहरूमा शेर्पा समुदायले चलाएका चिटिक्कका साना होटल भेटिन्छन् । कृषि उपजका लागि उर्वर इलामका पाखाहरू धेरैमा अहिले रूख काटेर बेच्ने चलन बढेछ । आफ्नो जमिनमा भएका रूखपात ढालेर बेच्न लैजान ठिक्क राखिएकाहरू पनि भेटिए । 

ऊ कुरूप रहेनछ



हाँसले देख्यो एउटा टिउरो नराम्रो थियो । उ भीडबाट छुट्टीयो । धेरै हन्डर खायो । भेटिएका अधिकांशले दुत्कारे । पछि उसले थाहा पायो, उ कुरूप रहेनछ । उ त राम्रो राजहंस रहेछ । डेनमार्कमा जन्मेका प्रसिद्ध कथाकार ह्यान्स क्रिश्चियन एन्डरसनको 'अग्ली डक्लिन' को अनुवाद नाटक 'कुरूप टिउरो' मा भोलाराज सापकोटा र सूनील पोखरेलको अभिनयलाई विराटनगरका दर्शकले मजा मात्र मानेनन् , शिक्षाप्रद रूपमा लिए । 
आरोहण गुरूकुलको सुशीला कोइराला नाटकघरमा जारी तीन साता लामो महोत्सवमा यो दोस्रो नाटक हो । सोमबारदेखि एउटा शोमा कुरूप टिउरो र सम्राटको नया लुगा नामका दुइ नाटक दर्शकले हेर्न पाए । हासको टिउरोले होच्याउनेहरूका कुरा सुन्दा-सुन्दै आफुलाई नराम्रो मान्यो । त्यही सत्य सम्भिmयो । पछि थाहा भयो उ टिउरोमध्ये पनि सुन्दर रहेछ । आफ्नोपन चिनेर आफुलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा हुने शिक्षा कुरूप टिउरोको थियो । 
यस्तै पोखरेल र सापकोटाले नै अभिनय गरेको सम्राटको नया लुगा एउटा मुर्ख राजाको बुझाइमा आधारीत थियो । अयोग्यले मात्र लुगा देख्छ भन्दै ठगले राजालाई मुर्ख बनाउछ । राजा अर्धनग्न सहर निस्कन्छ । एकै शोमा यी दुइ नाटक आगामी विहीवारसम्म चल्नेछ । लामो समयपछि रंगकर्मीका सिर्जनालाई प्रत्यक्ष देख्न पाउदा पूर्वेली दर्शक हर्षित छन् । विराटनगरका युवराज भट्टर्राई भन्छन् 'मरूभूमिका पानी पाएजस्तो लागेको छ । सिनेमामात्र हेर्न बानी परेकालाई प्रत्यक्ष अभिनयको स्वाद लिन मिल्नु ठूलो कुरा हो ।' 
२३ दिने अवधिमा ६ वटा नाटक प्रदर्शनको सूची बनाएको नाटकघरमा युवा दर्शकको संख्या बढिरहेको छ । इटहरीबाट आएकी ज्योत्सना पराजुलीले भनिन् 'सिनेमामा कतिखेर कसरी अभिनय गरेर बनाएको हुन्छ भन्ने थाहा हुन्न । यसरी हेर्न पाउनु ठूलो अवसर हो ।' उनको विचारमा रंगमञ्चको यस्तो रसास्वादनले युवालाई सिर्जनशील बनाउछ । 
यसपटक राजधानीमा मञ्चन भइआएका नाटकसँगै कलाकारले स्थानीयस्तरमै तयारी गरेको 'बहादुरपुरको दन्त्यकथा' पनि मञ्चन हुनेछ । कलाकार रामभजन कामत भन्छन् 'हामी उत्साहित छौ । यसरी हामीले यहीँ तयारी गरेको नाटक देखाउन पाइयो भने कलाकार बढछन् भन्ने लाग्छ ।' निख्रिन थालेका रंगकर्मीलाई महोत्सवले फेरि जुट्ने अवसर दिएको उनले बताए । 
नाटक हेर्न आएका तन्नेरी दर्शक सर्वज्ञराज पाण्डे भन्छन् 'साना समुदाय जसका संस्कृति हामी धेरैलाई थाहा छैन । त्यस्तालाई मञ्चमा ल्याउन बाटो सहज बनाएको छ ।' उनको बुझाइमा धेरै जातजाति र भाषाभाषीका लोककथा र संस्कृतिमा आधारीत नाटक मञ्चन गराए सांस्कृतिक विविधताबारे धेरैजना परिचित हुनेछन् । 
गत वर्ष महोत्सव गरेपनि त्यसपछिको लामो अन्तराल विद्युत आपूर्तिमा आएको अनियमितताले नाटकघर प्रभावित भयो । कुलगुरू सुनील पोखरेल भन्छन् 'अब जेनेरेटर आयो । विद्युतमा बाधा छैन । तयारी गरेरै थालियो । फीडब्याक राम्रो पाएको छु ।' दर्शकको प्रतिक्रियाले कलाकारको हौसला बढेको उनले बताए । यसपटक खरीको घेरोबाट सुरू भएको महोत्सवमा मिथिलाको 'एकटा छल गदहा, जात सोध्नु जोगीको, ताराबाजी लैलै र बहादुरपुरको दन्त्यकथा' दर्शकले हेर्न पाउनेछन् । हाटखोलास्थित नाटकघरमा भव्य समारोह आयोजना गरि नया वर्षसगै सुरू भएको महोत्सवलाई पूर्वेली कलाकर्मीले आफ्ना सिर्जना कसरी मञ्चमा ल्याउन सकिन्छ भन्ने छलफल पनि थालेका छन् । 
(०६८ बैशाख ६ गते कान्तिपुरको कला र शैली पृष्ठमा प्रकाशित यो सामाग्री आफ्नै संग्रहका लागि ब्लगमा ढिलोगरि समावेश )

Saturday, May 14, 2011

देवकुमारी थापा - सम्झनामा देउकी दिदी


छात्रावस्थामा 'भविष्य निर्माण' भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ । र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ । देउकी दी मैले काटेको लखभन्दा पनि धेर स्निग्ध एवं स्वच्छ हुनुहुन्छ भन्ने छनक 'देव निवास' मा खुट्टा टेक्नासाथ पाइहालिन्छ- चारैतिर पर्खालिएको कम्पाउण्ड, तुलफूल र फूलपातले सिङारिएको परिवेश, मूल ढोकाको नजीकै दलान अनि खुडकिलामा थप-थप राखिएका फूलका गमलाहरू । तर कोठाभित्र पस्नासाथ भित्तामा अति नै भव्य पाराले झुण्डयाइएको तरवार देख्नासाथ तपाईँ हामी झसङ्गनि सक्छौ- यो के उदेक ! 
फूलको बीचमा तरवार कसरी देखिदै छ । हाम्रो यो प्राश्निकताले दीर्घजीवि बन्ने मौका पाउँदैन । जवाफ यस्तो पाउनेछ - त्यो त भिनाजुको पो, मेरो कहाँ हो र । उहाले दोस्रो विश्वयुद्धमा जापानसँग लडदा ट्रफी पाएको । यस्तै अरू दुइटा पनि थिए । तर ती चोरिए ।
माथिका  १ सय ३८ शब्द देवकुमारी थापाका कथा संग्रह 'टपरी' का लागि भाषाशास्त्री बालकृष्ण पोखरेलले लेखेको भूमिकाका मध्यबाट लिइएका हुन् । २०२७ सालमा प्रकाशित टपरीमा २५ वटा कथा छन् । हिमाली प्रकाशन विराटनगरले भारत, वाराणसीको श्री हरि प्रेसमा मुद्रण गरेको यो कृति त्यसबेला ५ हजार १ सय प्रति छापिएको र मूल्य २ रूपैयाँ ७५ पैसा उल्लेख छ । 
भाषाशास्त्री पोखरेलले पुस्तकको भूमिकामा कृति खंगाल्ने मात्र गरेका छैनन्, देवकुमारीको सरल जीवन आरोह-अवरोहको चर्चा गरेका छन् । साहित्यिक मनकी धनि एक सैनिककी पत्नी थिइन् । उनका श्रीमान बबरसिंह थापा भारतीय सेनामा थिए । भारत-चीन युद्धका क्रममा सम्बत २०१९ मा नेफा फ्र्न्टबाट पक्राउ परे । अन्य गोर्खाली जवानसँगै ७ महिना चीनको थुनामा परे । पेकिङ, ल्हासा र सांघाइको यात्रापछि मुक्त उनले २०२१ मा सेवाबाट अवकाश पाए । । त्यसपछि देवकुमारी र बबरको जीवन यात्रा थालनी भयो । देवकुमारीको साहित्यक सक्रियता २००३ सालमा 'गोर्खा' नामक पत्रिकामा 'पतन' कथा प्रकाशनपछि सुरू भएको थियो ।
०००
मेरी श्रीमति र देवकुमारी दिदीको माइती खर्साङ एकै गाउँ थियो । त्यसैले पनि दिदी यहाँ आएपछि हाम्रो नजिकको सम्बन्ध भयो । दिदीको घर यस्तो ठाउँ थियो, जहा म दसैंको टीका लगाउँथे । गोडामा ढोग्थें । एकपटक मैले नचिताएको समस्या भएको थियो । जसमा दिदीले मलाइ गर्नु भएको सहयोगले अझै अनुग्रिहीत छु । दसैंमा अब मेरो जाने ठाउँ पनि रहेन । 
विराटनगर-१७ स्थित देव निवासमा गत सोमबार भेटिएका कवि कृष्णभुषण बलले यसरी बताए । उनी राष्ट्र बैंकमा जागिरे थिए । २०३९ सालतिर आकाशवाणीमा एउटा संदेश आयो । 'बल नक्शलवादी हो । उसको बैक लुटने योजना छ', उनले भने, 'म सामान्य जागिरे । रहर र रूचीले कवि । मलाइ तत्काल काठमाडौं बोलाइयो । किन, कसरी, कहिले मैले केही बुझन समय नै मिलेन ।' पञ्चायती शासनको बेला थियो । विराटनगरस्थित राष्ट्र बैंकको क्षेत्रीय कार्यालयबाट केन्द्र बोलाइएका बलका विषयमा निराधार आरोपको छानबिनमा देवकुमारीले पहल गरिन । आरोप पुष्टि भएन, न त त्यस्तो आरोप लगाउनेको पहिचान हुन सक्यो । 
 दुइ वर्षपछि पुनः विराटनगर फिरेको सम्झँदै उनले भने 'त्यसबेला अञ्चलाधीश र सीडीओ अनि अनुसन्धानको बोलवाला थियो । उनीहरूबाट त्यस्तो आरोप आएको होइन रहेछ । दिदीले सबै निकायमा सोध्न र खोजबिनमा सघाउनुभयो । म नखाएको विष लागेकाले केही निराश अनि हतास हुँदा हिम्मत दिनुभयो ।' देवकुमारीका लेखाइ मनोबिज्ञानमा आधारीत प्रेरक र फरक भएजस्तै जीवनशैली पनि रहेको उनी बताउँछन् । 
०००
विस. १९८५ खर्साङका जन्मिएकी देवकुमारी हस्तबहादुर कटुवाल र रमादेवीकी सन्तान थिइन । ३७ वर्षको उमेरमा २०२२ मा नेपाल आएकी उनले साहित्यमा आफ्नो नाउँका पछि थर 'सिंह' लेख्दै आएकी थिइन । मेजर  थापासँग विवाहपछि उनले थर श्रीमानकै लेख्न थालिन् । २००९ देखि ०५१ सम्मका ४२ वर्षमा १५ कृति प्रकाशित छन् । अधिकांश मनोविज्ञानमा आधारीत कथा छन् । धेरै बाल र प्रौढ कथा संग्रह छन् । 
समालोचक दधिराज सुवेदीले भने 'महाकवि देवकोटा, सूर्यविक्रम ज्ञवाली, बालकृष्ण सम, लेखनाथ पौडयाललगायतको संगत पाएकी देवकुमारीलाई विराटनगर बसेकोमा चुक-चुक थियो ।' साहित्यिक पत्रिकाका लागि दुइ दसकअघि गरेको अन्तर्वार्ताको समय सम्झँदै उनले भने, 'धेरै साहित्यकारले दार्जिलिङबाट आएर सोझै काठमाडौंलाई थलो बनाए । उचाइ पाए । उनी विराटनगरमा बसिन । यहाँ बसेको मान्छे छायाँमा परेजस्तो हुँदो रहेछ भन्ने उनलाई लागेको रहेछ ।'  
सानो जमात भएर पनि विराटनगरलाई उर्वर बनाउन उनले योगदान गरिन भन्दा सुवेदी थाक्दैनन् । भन्छन् 'राष्ट्रियताको भावना उनमा थियो । त्यही भावनाले उनलाई नेपाल बसाइँ सहज बनायो ।' 
०००
'साह्रै नियममा चल्ने, टाइमटेबल पुरा मेन्टेन गर्नैपर्ने, देवकुमारीलाई सम्झदै छोरीजस्ती सहयोगी मालती राई भन्छिन् 'मलाई बुवासँग त्यति डर लाग्दैनथ्यो, मुमासँग लाग्थ्यो ।' देवकुमारी र बबरसिंहका सन्तान भएनन् । उनीहरूले काठमाडौंबाट ५ वर्षकी पुजा ल्याइ ल्याएर धर्मपुत्री बनाए । ०४१ सालदेखि मालती पनि सहयोगीहुँदै छोरीजस्तै भइन् । 
सफा चिटिक्क घर, फूलवारी, कुकुर पाल्नुपर्ने, खाजा-खाना र गीता पाठको एकनाशको समय बिताउनुपर्ने दिनचर्या देवकुमारीको थियो । पूजा थापा श्रेष्ठ भन्छिन् 'खाँदाखाँदै निकैबेर चुप लाग्नुभयो, केही बोल्नुभएन भने सम्झनुपर्थ्यो मुमाको मनमा केही खेलिरहेको छ । उहाँ त्यसपछि माथिल्लो तला उक्लेर लेख्न बस्नुहुन्थ्यो ।' 
भेटनेहरू आउँदा जस्तो पायो त्यस्तै लुगामा देखा नपर्ने, सुकिला सफा र सालिन पोशाक लगाएर मात्र भेटने बानी थियो । नेपालीसँगै अंग्रेजी र बंगाली साहित्य मन रमाउँथिन् । 'एक जना श्रेष्ठ थरकी दुःख पाएकी दिदीलाई टेलरिङको काम लगाइदिनु भएको थियो । उहाँ एक दिन फर्सीको गट्टो बोकेर आउनु भएछ, मालती भन्छिन् 'मलाइ गट्टा मिठो लाग्थ्यो । नसोधी राख्न पनि भएन । तर, राखियो । पछि मुमालाइ भनें रिसाएर फर्काइदेउ भन्नुभयो ।' आफु खाली खुट्टा कुददै एक किलोमिटर टाढा बाटामा फर्काउन गएको उनले बताइन । भनिन् 'त्यसबेला मुमाले भन्नुभएको थियो -यो आइमाइहरूको यस्तो बानी मलाइ मन पर्दैन । बारीमा फलेको कुरा घरपरिवारलाई तरकारी खुवाउनु नि । किन कतै लगेर बाडनु ?' देवकुमारी कसैको केही पनि सिंतै लिन हुदैन भन्ने बानी भएकी हुनाले परिवारमा सबैले उनलाइ कडा स्वभावको मान्थे । 
०२८ सालसम्म कक्षा ९ को नेपाली पुस्तकमा राखिएको 'भविष्य निर्माण' कथाबाट प्रभावित मीरा क्षेत्री भन्छिन् 'फुपुले लेख्नुभएको त्यो कथाबाट म धेरै प्रभावित थिए । लाग्थ्यो, यो साँचो हुनुपर्छ । यसका पात्र कतै हुनैपर्छ । शायद कथाकारको यही प्रतिभा हो ।' भेटेपछि अझ धेरै प्रभावित भएको उनी सुनाउँछिन् । 
०००
०४७ मा बबरसिंहको निधन भयो । श्रीमानको निधनपछि उनका दुइ कृति प्रकाशित छन् । उनलाई ०५५ कात्तिक ११ गते विराटनगरमा नागरिक अभिनन्दन गरिएको थियो । बाल मन्दिर विराटनगरमा अध्यक्ष भएर ३० वर्ष बिताएकी उनी ४/५ वर्षयता कमैमात्र सार्वजनिक समारोहमा देखा पर्न थालेकी थिइन । उनलाई पछिल्ला केही वर्षयता घाटीका हाड खिइने रोगले पनि च्यापेको थियो । दिवंगत पतिको नाउँमा उनले स्थापना गरेको  बबरसिंह सेवा गुठीले साहित्यकर्मीलाई पुरस्कृत गर्दै लेखन निरन्तरताका लागि हौसला बढाउँदै आएको छ । ८४ वर्षको उमेरमा २२ बैशाख बिहीवार साँझ विराटनगर १७ स्थित निवासमा दिवंगत देवकुमारीलाई कसरी सम्झने भन्ने बारे अहिले साहित्यकर्मी छलफलमा छन् । 'हामी स्मृत्तिग्रन्थ निकाल्नुपर्छ भन्ने निष्कर्शमा छौ, सेवा गुठीका अध्यक्ष कविराज न्यौपानेले भने 'उहाँलाई सम्झीरहने यो दरिलो माध्यम हुनसक्छ ।' 
०४९ मा प्रकाशित भएको प्रमोद प्रधानद्वारा सम्पादित आफ्नो लेख, निबन्ध र संस्मरणहरूको संग्रह 'क्षण, विचार र स्मृतिहरू' को भित्री पानामा समर्पण भनेर उनले लेखेकी छन् 
मृत्युले छुट्याए पनि 
सम्झना बाँचिरहन्छ
तिमीलाई विदा दिए पनि
फेरि भेट्ने छौं, विश्वास छ ।।
(२०६८ बैशाख ३१ शनिवार कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करण पृष्ठमा 'सम्झनामा देउकी दिदी' शिर्षकमा प्रकाशित)

Sunday, May 8, 2011

माटो स्नान


स्तनधारी जलचर डल्फीन नेपालमा पाइने मुख्य दुइ नदि कर्णाली र कोशी हुन् । दुवै बगेर भारत पुग्छन् । नदिको धार छिचोल्दै नेपालतिर पनि आउँछन् । भारतमा अति संरक्षितको सूचीमा राखिएको गंगेटिक डल्फीन पाइने मुख्य नदि गंगा हो । गंगामा धेरै पाइएकाले नै यसलाई गंगेटिक भनिएको पनि हो ।
नदि उर्लेका बेला एकपटक मोरङको लोहन्द्रामा यो जलचर देखियो । लोहन्द्रा विराटनगरबाट ६/७ किलेमिटर पूर्वमा रंगेली जाने बाटोमा पर्छ । पहिलो दिन डल्फीन देखिएको खबर आएपनि पत्यार भएन । त्यसको करीब ५ दिनपछि मृत भेटेर प्रहरीले लिएर आयो । भारतको गंगा नदिहुँदै छालमा आइपुगेको त्यो जलचरलाई तीखो सूइरोजस्तो हतियारले हानेर घाइते बनाइएको रहेछ । त्यही तोडले मरेको हुनुपर्छ । मार्ने समातिएनन् । मरेकालाई कोशी टप्पु वन्यजन्तु आरक्षले छाला झिकेर भुस भरेर राख्छ भन्दै प्रहरीले सुनाए । कता लगियो , थाहा पत्तो भएन । मृत भएपनि एउटा भेटिएपछि लोहन्द्रामा पनि डल्फीन देखिनेमा दुइ मत रहेन । 
घटनाको दोस्रो दिन एकजना मित्रले फोनमा भने 'लोहन्द्रामा फेरि डल्फीन देखिएछ । एक जोडी आएका छन् रे ।' यसपटक छाड्ने कुरै थिएन । तस्बिर लिन झटपट कुदियो । कोशीमा देखिने डल्फीन खिच्न गरेको धेरै प्रयास सफल भएको थिएन । कारण, हामीकहाँ पाइने गंगेटिक प्रजाति कालो-सेतो रंगको, पानीमा कलाबाजी खाँदै पानी माथि उप|mने हुँदैन । यसलाई कसैले कृत्रिम जलाशयमा राखेर अभ्यासहरू सिकाएको प्रजाति पनि यो होइन । हामीकहाँ छन् भनिएका यी जलचर बढिमा दुइ/तीन सेकेण्ड पानीमाथि पुलुक्क गर्छ । भित्रै हराउँछ । बेला-बेला ढाड र पुच्छर देखाउँछ । सटर स्पीड हजारमा राखेर खिच्दा पनि सही समय क्लिक गर्न हम्मे पर्छ । कोशीमा एकपटक कसैगरि यो जलचरका कलाबाजी खिच्ने झवाँक चल्यो । ०५७ चैतको दोस्रो साता थियो त्यो । भीभीटारको एनालग क्यामेराबाट एउटा पुरा रोल सिध्याएपछि बल्ल थाहा भयो, यस्ता तस्बिर लिन ४०० आइएसओका फिल्म चयन गर्नुपर्छ । अनि ट्राइपोर्टको सहारा लिएर सजिलो ठाउँमा बसेपछि सटर स्पीड सकेजति बढि चलाउनुपर्छ । जे होस, त्यो बेला सफलता हात लागेन ।
तर, लोहन्द्राको चौडाइ कोशी र कर्णालीजस्तो छैन । यहाँ तस्बिर लिन असजिलो नहोला भनेर त्यसतर्फ लागियो । मोटरसाइकल एकजना गाउँलेको घरमा राखेर सिसवनीमा खोला किनारैकिनार डेढ घण्टा हिडदा पनि कतै संकेतसम्म देखिएन । निराशा हात लाग्यो । फिर्दै गर्दा गोठाला गएका केही भुरा खोलामा नुहाउदै गरेका भेटिए । उनीहरूले डल्फीन जोडी केही दिनअघि देखेको बताए । पछि फेरि यस क्षेत्रमा त्यो जलचरले चाल नगरेको दावीमात्र उनीहरूले गरेनन् । आफुहरूको तस्बिर पनि खिचिदिन आग्रह गरे । बालसुलभ आग्रह नकार्न पनि मिलेन । उनीहरूमध्ये केही माटो दलेर नुहाउदै थिए । केही फोटो खिच्ने पोजमा तयार भए । समान्यत गाउँहरू पसेर फोटो खिच्दा मान्छे भन्छन् 'हामीले पनि फोटो पाउनुपर्छ । यो फोटो बेच्ने हो ? कति डलरमा बिक्छ होला ? किन खिच्नुहुन्छ नखिच्नुस खिचेर के फाइदा' आदि आदि ।' उनीहरूले सोधेनन् 'फोटो कहाँ जान्छ ? के गर्ने ?' खिचाउन पाउँदा उनीहरूको बालसुलभ हर्ष बेग्लै प्रकारको थियो । समान्यत तस्बिर खिच्नेभन्दा पृथक पोजमा भेटिएका उनीहरूका ०६५ असार १० का यी तस्बिरले मलाइ जहिल्यै डल्फीन खोजीको त्यो दिन सम्झाउँछ ।
(कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करण पृष्ठमा ०६८ बैशाख २४ मा प्रकाशित)