Tuesday, May 17, 2011

बहादुरपुरको खोक्रो ठाँट


 रजौटाका सन्तान भूपति बस्नेत आफै केही व्यवसाय गर्न चाहन्छन् । एक जना अर्दलीसँग जर्जर महलमा बेगारी बसेको बर्षौ भएको छ । भन्नेहरू उनलाई 'राजा साब' भन्छन् । तर, जता हिड्यो उतै उधारो छ । पुरानो जर्जर महलजस्तै अवस्था छ । दैनिक उपभोग्य सामानमात्र होइन चिया र धुमपानसमेत उधारोमा चलेको छ । साहूहरू ढोका ढक्ढक्याउँछन् । कसैगरि महल बेचेर उधारो तिरेपछि बच्ने केही पैसाले उनी साधारण जीवन बिताउन चाहन्छन् । 
मुलुकका राणाकालीन वा शाहवंशीय इतिहासको कुनै कालखण्डजस्तो लाग्ने 'बहादुरपुरको दन्त्यकथा' भारतका प्रसिद्ध नाटककार बादल सरकारको सिर्जना हो । विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आइतवार साँझ हिन्दीबाट अनुवादित यो नाटक प्रदर्शनअघि कुलगुरू सूनील पोखरेलले कलाकार र दर्शकलाई एक मिनेट मौन धारणको आग्रह गरे । ८६ वर्षीय सरकारको गत शुक्रवार निधन भएको थियो । उनको यो सिर्जना नेपाली रजौटाका इतिहासभन्दा पृथक थिएन । भाषा अनुवादमात्र होइन पात्रलाई पनि सामयिकतामा ढालिएको नाटक हेर्न पाउँदा विराटनगरका दर्शक मख्ख परे । 
राजपाट सकिएपनि नसकिने आडम्बरी ठाँट छाड्न नसकेका मुख्य पात्र भूपति महल बेच्ने तरखरमा छन् । किन्न आउने मिस्टर थापा र उनको परिवारलाई उनी राजसी ठाँट देखाउन अन्तिमपटक जुट्छन् । तर, जर्जर महलमा बेला बेला छानोबाट भत्किएर ढुंगा र पत्र खस्छ । भूपतिका पुख्र्यौली प्रेतात्मा रघु दाजु डुल्छन् । राजाजस्तो पोशाक र श्रीपेच लगाएर । मध्यरात अट्टहास र महाकवि कालीदासको शाकुन्तलम्का संस्कृत श्लोक गुञ्जायमान हुन्छ । 
थापाका साथी ठकुरीले सय वर्ष पुरानो घर किनेका छन् । उनलाई पछि पार्न थापा पनि त्यस्तै अर्को घर किन्न आइपुगेका छन् । भवनमा घुम्ने प्रेतात्माका बारे थाहा पाएपछि उनी अझै उत्साहित छन् । थापाको भुमिकामा रहेका जीवनकुमार भन्छन् 'उसले घर किन्न सक्ला । तर, कसरी ल्याउछ प्रेत ?' १ घण्टा २० मिनेटको नाटकमा अनिल पोखरेललाई कृष्णप्रसाद धिताल, लक्ष्मणपुण्य लामिछाने, रामकुमार प्याकुरेल, मिलन नेपाली, रामभजन कामत, सीता न्यौपाने, दीपा पोखरेल र खेम नेपालीले साथ दिएका छन् । 
तीन साता लामो नाटक महोत्सव सकिएको एक सातापछि आइतवारदेखि मञ्चन थालिएको 'बहादुरपुरको दन्त्यकथा' मा स्थानीय कलाकारको बर्चस्व छ । नाटकघरका अध्यक्ष भैरव क्षेत्री भन्छन् 'सधै काठमाडौंबाट कलाकार आएमात्र नाटक देखाउने गरे हामीले कहिले अघि बढ्ने - त्यही भएर यो नाटकमा यहाँका साथीहरू कस्सिएका हुन् ।' 

No comments: