स्तनधारी जलचर डल्फिन नेपालमा पाइने मुख्य दुई नदि कर्णाली र कोशी हुन्। दुवै बगेर भारत पुग्छन्। नदिको धार छिचोल्दै नेपालतिर पनि आउँछन्। भारतमा अति संरक्षितको सूचीमा राखिएको गंगेटिक डल्फिन पाइने मुख्य नदि गंगा हो। गंगामा धेरै पाइएकाले नै यसलाई गंगेटिक भनिएको पनि हो।नदि उर्लेका बेला एकपटक मोरङको लोहन्द्रामा यो जलचर देखियो। लोहन्द्रा विराटनगरबाट ६/७ किलेमिटर पूर्वमा रंगेली जाने बाटोमा पर्छ। पहिलो दिन डल्फिन देखिएको खबर आए पनि पत्यार भएन। त्यसको करिब ५ दिनपछि मृत भेटेर प्रहरीले लिएर आयो। भारतको गंगा नदिहुँदै छालमा आइपुगेको त्यो जलचरलाई तिखो सुइरोजस्तो हतियारले हानेर घाइते बनाइएको रहेछ। त्यही तोडले मरेको हुनुपर्छ। मार्ने समातिएनन्।
मरेकालाई कोशी टप्पु वन्यजन्तु आरक्षले छाला झिकेर भुस भरेर राख्छ भन्दै प्रहरीले सुनाए। कता लगियो , थाहा पत्तो भएन। मृत भए पनि एउटा भेटिएपछि लोहन्द्रामा पनि डल्फिन देखिनेमा दुई मत रहेन।
घटनाको दोस्रो दिन एकजना मित्रले फोनमा भने 'लोहन्द्रामा फेरि डल्फिन देखिएछ। एक जोडी आएका छन् रे।' यसपटक छाड्ने कुरै थिएन। तस्बिर लिन झटपट कुदियो। कोशीमा देखिने डल्फिन खिच्न गरेको धेरै प्रयास सफल भएको थिएन। कारण, हामीकहाँ पाइने गंगेटिक प्रजाति कालो-सेतो रंगको, पानीमा कलाबाजी खाँदै पानी माथि उफ्रने हुँदैन। यसलाई कसैले कृत्रिम जलाशयमा राखेर अभ्यासहरू सिकाएको प्रजाति पनि यो होइन।
हामीकहाँ छन् भनिएका यी जलचर बढीमा दुई/तीन सेकेण्ड पानीमाथि पुलुक्क गर्छ। भित्रै हराउँछ। बेला-बेला ढाड र पुच्छर देखाउँछ। सटर स्पीड हजारमा राखेर खिच्दा पनि सही समय क्लिक गर्न हम्मे पर्छ। कोशीमा एकपटक कसैगरि यो जलचरका कलाबाजी खिच्ने झवाँक चल्यो। ०५७ चैतको दोस्रो साता थियो त्यो। भीभीटारको एनालग क्यामेराबाट एउटा पुरा रोल सिध्याएपछि थाहा भयो, यस्ता तस्बिर लिन ४०० आइएसओका फिल्म चयन गर्नुपर्छ। अनि ट्राइपोर्टको सहारा लिएर सजिलो ठाउँमा बसेपछि सटर स्पीड सकेजति बढी चलाउनुपर्छ। जे होस, त्यो बेला सफलता हात लागेन।
तर, लोहन्द्राको चौडाइ कोशी र कर्णालीजस्तो छैन। यहाँ तस्बिर लिन असजिलो नहोला भनेर त्यसतर्फ लागियो। मोटरसाइकल एकजना गाउँलेको घरमा राखेर सिसवनीमा खोला किनारैकिनार डेढ घण्टा हिँडदा पनि कतै संकेतसम्म देखिएन। निराशा हात लाग्यो। फिर्दै गर्दा गोठाला गएका केही भुरा खोलामा नुहाउदै गरेका भेटिए। उनीहरूले डल्फिन जोडी केही दिनअघि देखेको बताए। पछि फेरि यस क्षेत्रमा त्यो जलचरले चाल नगरेको दाबीमात्र उनीहरूले गरेनन्, आफूहरूको फोटो पनि खिचिदिन आग्रह गरे।
बालसुलभ आग्रह नकार्न पनि मिलेन। उनीहरूमध्ये केही माटो दलेर नुहाउदै थिए। केही फोटो खिच्ने पोजमा तयार भए। समान्यत गाउँहरू पसेर फोटो खिच्दा मान्छे भन्छन्, 'हामीले पनि फोटो पाउनुपर्छ। यो फोटो बेच्ने हो ? कति डलरमा बिक्छ होला ? किन खिच्नुहुन्छ नखिच्नुस खिचेर के फाइदा?' आदि आदि ।' उनीहरूले सोधेनन् 'फोटो कहाँ जान्छ ? के गर्ने ?' खिचाउन पाउँदा उनीहरूको बालसुलभ हर्ष बेग्लै प्रकारको थियो। समान्यत तस्बिर खिच्नेभन्दा पृथक पोजमा भेटिएका उनीहरूका ०६५ असार १० का यी तस्बिरले मलाई जहिल्यै डल्फिन खोजीको त्यो दिन सम्झाउँछ।
***
(कान्तिपुर कोसेली पूर्वाञ्चल संस्करण पृष्ठमा ०६८ बैशाख २४ मा प्रकाशित)
No comments:
Post a Comment