हाँसले देख्यो एउटा टिउरो नराम्रो थियो। उ भीडबाट छुट्टियो। धेरै हन्डर खायो। भेटिएका अधिकांशले दुत्कारे। पछि उसले थाहा पायो, उ कुरूप रहेनछ। उ त राम्रो राजहंस रहेछ। डेनमार्कमा जन्मेका प्रसिद्ध कथाकार ह्यान्स क्रिश्चियन एन्डरसनको 'अग्ली डक्लिन' को अनुवाद नाटक 'कुरूप टिउरो' मा भोलाराज सापकोटा र सुनील पोखरेलको अभिनयलाई विराटनगरका दर्शकले मजा मात्र मानेनन्, शिक्षाप्रद रूपमा लिए।
आरोहण गुरूकुलको सुशीला कोइराला नाटकघरमा जारी तीन साता लामो महोत्सवमा यो दोस्रो नाटक हो। सोमबारदेखि एउटा शोमा 'कुरूप टिउरो' र 'सम्राटको नयाँ लुगा' नामका दुई नाटक दर्शकले हेर्न पाए। हाँसको टिउरोले होच्याउनेहरूका कुरा सुन्दा-सुन्दै आफूलाई नराम्रो मान्यो। त्यही सत्य सम्झियो। पछि थाहा भयो उ टिउरोमध्ये पनि सुन्दर रहेछ। आफ्नोपन चिनेर आफूलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा हुने शिक्षा कुरूप टिउरोको थियो।
यस्तै पोखरेल र सापकोटाले नै अभिनय गरेको 'सम्राटको नयाँ लुगा' एउटा मुर्ख राजाको बुझाइमा आधारित थियो। अयोग्यले मात्र लुगा देख्छ भन्दै ठगले राजालाई मुर्ख बनाउँछ। राजा अर्धनग्न सहर निस्कन्छ। एकै शोमा यी दुई नाटक आगामी बिहीबारसम्म चल्नेछ। लामो समयपछि रंगकर्मीका सिर्जनालाई प्रत्यक्ष देख्न पाउँदा पूर्वेली दर्शक हर्षित छन्। विराटनगरका युवराज भट्टराई भन्छन्, 'मरूभूमिका पानी पाएजस्तो लागेको छ। सिनेमामात्र हेर्न बानी परेकालाई प्रत्यक्ष अभिनयको स्वाद लिन मिल्नु ठूलो कुरा हो।'
२३ दिने अवधिमा ६ वटा नाटक प्रदर्शनको सूची बनाएको नाटकघरमा युवा दर्शकको संख्या बढिरहेको छ। इटहरीबाट आएकी ज्योत्सना पराजुलीले भनिन्, 'सिनेमामा कतिखेर कसरी अभिनय गरेर बनाएको हुन्छ भन्ने थाहा हुन्न। यसरी हेर्न पाउनु ठूलो अवसर हो।' उनको विचारमा रंगमञ्चको यस्तो रसास्वादनले युवालाई सिर्जनशील बनाउँछ।
यसपटक राजधानीमा मञ्चन भइआएका नाटकसँगै कलाकारले स्थानीयस्तरमै तयारी गरेको 'बहादुरपुरको दन्त्यकथा' पनि मञ्चन हुनेछ। कलाकार रामभजन कामत भन्छन्, 'हामी उत्साहित छौँ। यसरी हामीले यहीँ तयारी गरेको नाटक देखाउन पाइयो भने कलाकार बढछन् भन्ने लाग्छ।' निख्रिन थालेका रंगकर्मीलाई महोत्सवले फेरि जुट्ने अवसर दिएको उनले बताए।
नाटक हेर्न आएका तन्नेरी दर्शक सर्वज्ञराज पाण्डे भन्छन्, 'साना समुदाय जसका संस्कृति हामी धेरैलाई थाहा छैन, त्यस्तालाई मञ्चमा ल्याउन बाटो सहज बनाएको छ।' उनको बुझाइमा धेरै जातजाति र भाषाभाषीका लोककथा र संस्कृतिमा आधारित नाटक मञ्चन गराए सांस्कृतिक विविधताबारे धेरैजना परिचित हुनेछन्।
यसपटक 'खरीको घेरो'बाट सुरू भएको महोत्सवमा मिथिलाको 'एकटा छल गदहा,' 'जात सोध्नु जोगीको,' 'ताराबाजी लैलै' र 'बहादुरपुरको दन्त्यकथा' दर्शकले हेर्न पाउनेछन्। हाटखोलास्थित नाटकघरमा भव्य समारोह आयोजना गरी नयाँ वर्षसगै सुरू भएको महोत्सवलाई पूर्वेली कलाकर्मीले आफ्ना सिर्जना कसरी मञ्चमा ल्याउन सकिन्छ भन्ने छलफल पनि थालेका छन्।
***
(०६८/०१/०६ कान्तिपुरको कला र शैली पृष्ठमा )
No comments:
Post a Comment