Monday, May 16, 2011

ऊ कुरूप रहेनछ



हाँसले देख्यो एउटा टिउरो नराम्रो थियो । उ भीडबाट छुट्टीयो । धेरै हन्डर खायो । भेटिएका अधिकांशले दुत्कारे । पछि उसले थाहा पायो, उ कुरूप रहेनछ । उ त राम्रो राजहंस रहेछ । डेनमार्कमा जन्मेका प्रसिद्ध कथाकार ह्यान्स क्रिश्चियन एन्डरसनको 'अग्ली डक्लिन' को अनुवाद नाटक 'कुरूप टिउरो' मा भोलाराज सापकोटा र सूनील पोखरेलको अभिनयलाई विराटनगरका दर्शकले मजा मात्र मानेनन् , शिक्षाप्रद रूपमा लिए । 
आरोहण गुरूकुलको सुशीला कोइराला नाटकघरमा जारी तीन साता लामो महोत्सवमा यो दोस्रो नाटक हो । सोमबारदेखि एउटा शोमा कुरूप टिउरो र सम्राटको नया लुगा नामका दुइ नाटक दर्शकले हेर्न पाए । हासको टिउरोले होच्याउनेहरूका कुरा सुन्दा-सुन्दै आफुलाई नराम्रो मान्यो । त्यही सत्य सम्भिmयो । पछि थाहा भयो उ टिउरोमध्ये पनि सुन्दर रहेछ । आफ्नोपन चिनेर आफुलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा हुने शिक्षा कुरूप टिउरोको थियो । 
यस्तै पोखरेल र सापकोटाले नै अभिनय गरेको सम्राटको नया लुगा एउटा मुर्ख राजाको बुझाइमा आधारीत थियो । अयोग्यले मात्र लुगा देख्छ भन्दै ठगले राजालाई मुर्ख बनाउछ । राजा अर्धनग्न सहर निस्कन्छ । एकै शोमा यी दुइ नाटक आगामी विहीवारसम्म चल्नेछ । लामो समयपछि रंगकर्मीका सिर्जनालाई प्रत्यक्ष देख्न पाउदा पूर्वेली दर्शक हर्षित छन् । विराटनगरका युवराज भट्टर्राई भन्छन् 'मरूभूमिका पानी पाएजस्तो लागेको छ । सिनेमामात्र हेर्न बानी परेकालाई प्रत्यक्ष अभिनयको स्वाद लिन मिल्नु ठूलो कुरा हो ।' 
२३ दिने अवधिमा ६ वटा नाटक प्रदर्शनको सूची बनाएको नाटकघरमा युवा दर्शकको संख्या बढिरहेको छ । इटहरीबाट आएकी ज्योत्सना पराजुलीले भनिन् 'सिनेमामा कतिखेर कसरी अभिनय गरेर बनाएको हुन्छ भन्ने थाहा हुन्न । यसरी हेर्न पाउनु ठूलो अवसर हो ।' उनको विचारमा रंगमञ्चको यस्तो रसास्वादनले युवालाई सिर्जनशील बनाउछ । 
यसपटक राजधानीमा मञ्चन भइआएका नाटकसँगै कलाकारले स्थानीयस्तरमै तयारी गरेको 'बहादुरपुरको दन्त्यकथा' पनि मञ्चन हुनेछ । कलाकार रामभजन कामत भन्छन् 'हामी उत्साहित छौ । यसरी हामीले यहीँ तयारी गरेको नाटक देखाउन पाइयो भने कलाकार बढछन् भन्ने लाग्छ ।' निख्रिन थालेका रंगकर्मीलाई महोत्सवले फेरि जुट्ने अवसर दिएको उनले बताए । 
नाटक हेर्न आएका तन्नेरी दर्शक सर्वज्ञराज पाण्डे भन्छन् 'साना समुदाय जसका संस्कृति हामी धेरैलाई थाहा छैन । त्यस्तालाई मञ्चमा ल्याउन बाटो सहज बनाएको छ ।' उनको बुझाइमा धेरै जातजाति र भाषाभाषीका लोककथा र संस्कृतिमा आधारीत नाटक मञ्चन गराए सांस्कृतिक विविधताबारे धेरैजना परिचित हुनेछन् । 
गत वर्ष महोत्सव गरेपनि त्यसपछिको लामो अन्तराल विद्युत आपूर्तिमा आएको अनियमितताले नाटकघर प्रभावित भयो । कुलगुरू सुनील पोखरेल भन्छन् 'अब जेनेरेटर आयो । विद्युतमा बाधा छैन । तयारी गरेरै थालियो । फीडब्याक राम्रो पाएको छु ।' दर्शकको प्रतिक्रियाले कलाकारको हौसला बढेको उनले बताए । यसपटक खरीको घेरोबाट सुरू भएको महोत्सवमा मिथिलाको 'एकटा छल गदहा, जात सोध्नु जोगीको, ताराबाजी लैलै र बहादुरपुरको दन्त्यकथा' दर्शकले हेर्न पाउनेछन् । हाटखोलास्थित नाटकघरमा भव्य समारोह आयोजना गरि नया वर्षसगै सुरू भएको महोत्सवलाई पूर्वेली कलाकर्मीले आफ्ना सिर्जना कसरी मञ्चमा ल्याउन सकिन्छ भन्ने छलफल पनि थालेका छन् । 
(०६८ बैशाख ६ गते कान्तिपुरको कला र शैली पृष्ठमा प्रकाशित यो सामाग्री आफ्नै संग्रहका लागि ब्लगमा ढिलोगरि समावेश )

No comments: