दुइ साता बिते । क्यामेरा झिकेका बेला फेरि त्यो अनुहार लेन्सले देखेको छैन । विराटनगरका बसपार्कछेउ , गुद्री र बुधहाट चोकमै कतै स्टीलको लोटा सडकमा 'ट्वाक ट्वाक' पार्दै बटुवाका ध्यान आकृष्ट पार्ने दानावती देखिन्नन् ।
सामान्य घटनामा पनि सडकमा प्रदर्शन नौलो छैन । कहिले प्रहरीका अघि, कहिले प्रशासन । सामान्य ठानेका बेला कुनै जुलुसले बितण्डा गर्छ । त्यसैले अखबारका लागि उपयोगी ठहर हुन वा नहुन् , जुलुसका तस्बिर खिचेकै जाती हुन्छ । यस्तै एउटा दिन थियो, मध्यान्ह १२ बजेको घाममा लालटिन बोकेको जुलुस मोरङको जिल्ला प्रशासन जाँदै गरेको खबर आयो । ।
जुलुस पच्छ्याउँदै प्रशासन पुगियो । मोटरसाइकल पार्किङ गरेर झोलाबाट क्यामेरा झिक्दैगर्दा चर्को स्वरमा एउटी बृद्धाको प्रश्न कानमा ठोक्कियो - 'पत्रकार छी ?' हो भन्ने संकेत मिलेपछि भनिन् 'पहिने एकरा खिच । पत्रिका मे निकाल ।' उनका भाषामा आक्रोश, निराशा र आदेशका मिश्रति भाव थिए । नजिकै भुइँमा देखाइन । त्यहाँ उनकी करीव दुइ/अढाइ फुटकी छोरी थिइन । टाउको र जीउ एकै ठाउ डल्लो परेजस्तो देखिने । कतिपय जुलुसको बानी पत्रकारले फोटो खिच्लान भनेर पर्खिरहने हुँदैन । खिच्ने बेला बितेपछि फेरि पाइदैन । मैले एकपटक जुलुसतिर हेरेँ, अनि फेरि ती बृद्धाकी छोरीतिर । लगालग दुइ/तीन फ्रेम उनकी छोरीको तस्बिर खिचेर जुलुसतिर लम्किएँ ।
त्यो साता विराटनगरको ठाकुरवाडी रोडस्थित एक ज्वेलरीमा चोरी भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले समातेका विराटनगर १७ का कबाडी व्यवसायी रहमत अलि (३४) लाई चार दिनपछि छाडेको रहेछ । हिरासतमा राखेर अनुसन्धान गरेपनि चोरीमा अलिको संलग्नता पुष्टि हुन नसकेपछि हाजिर जमानीमा उनी छुटे । मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले जुलुस निकालेका थिए । लालटिन उज्याएर नारा लगाउनेका भीडबाट अलि बाहिर आए । उनले पाइन्ट खोलेर देखाए । तीघ्रामा काला-नीला डाम थिए । भने 'मलाइ छोड्नु अगाडि बेस्सरी कुट्यो । नगरेको अपराधमा थुनेर यसरी कुट्न पाइदैन । मैले बाहिर आएर भनेपछि प्रहरीको विरोधमा जुलुस निकालेका हौ ।' यातनाविरूद्धको प्रदर्शनको तस्बिर खिचियो ।
त्यसपछि अघिकी ती बृद्धालाई खोजियो । भेटियो । उनी प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिन आएकी रहिछन् । जुलुसले गेट धर्ना छाडेमात्र उनले पालो पाउने थिइन । त्यस अवधिमा सप्तरीको राजविराज ९ राजदेवी टोलाकी शोभादेवी मुखियाले आफ्नी छोरीका बारेमा बताइन । 'यो जन्मैदेखि यस्तै हो । कम्मरमुनिको भाग जोडिएको छ । हिडडुल गर्न सक्दिन । सहारा चाहिन्छ । ज्वाइँ भनाउदोले बिचल्ली पार्यो ।' उनको नाम दानावती रहेछ । अनुहार सामान्य सपाङ्गभन्दा फरक छैन । जिले मुखिया र शोभाका ६ सन्तानमा दानावती र कान्छो भाइ अपांग रहेछन् । उनले बताइन 'हामीले यो छोरीका लागि उपचारमा धेरै हिड्यौ । आर्थिक हैसियत थिएन । तर, उपचार पनि नलाग्ने रहेछ । यो २८ वर्ष लागी होली ।'
सानैदेखि दानावती माग्दै हिड्न थालिन् । कहिले राजविराज, इटहरी र कहिले विराटनगर । मागेर हिड्दा राम्रै दाम जुट्न थाल्यो । विराटनगर आएका बखत उनलाई सघाउने रिक्शावाल घर पुग्यो । र, बिहेको प्रस्ताव राख्यो । 'उसको जेठी स्वास्नी थिइ । तैपनि हामीले छोरीको घर हुन्छ भनेर बिहे गरिदियौ । विराटनगर आएपछि ४० हजार पैसा लिएछ । घरबाट निकाली दिएछ, आमा शोभाले भनिन् 'अहिले हेर्दैन । म कहाँ भन्न जाउ ?' आमासँगको वार्तालाप सुन्दै गरेकी दानावती अलि रिसाइन् । भनिन् 'के हुन्छ पत्रिकामा निकालेर ? पुलिसले कतिपल्ट बोलाएर मिलापत्र गराइ पठाउँछ । एक/दुइ महिना राख्छ । फेरि निकाल्छ । के हुन्छ ?'
धेरै दिनदेखि उनको वास सडकमै थियो । आफै हिड्न नसक्ने उनलाई सहारा भेटे घाम पानीका ओत मिल्थ्यो । नभेटे तिनको सामना गरिआएको सुनाइन् । भनिन् 'म कति दिन भोको बसेकी छु कसलाइ वास्ता छ ?'
कुरा गरिरहँदा मुहारका भाव फेरिन्थे । क्षणमा अनुहार रिसाएको देखिन्थ्यो, क्षणमा प्रसन्नता । कुनैबेला भाव शुन्य । अब उनी मुस्काइन् । 'मैले उसलाई १३ हजारको मोबाइल किनिदिएको थिएँ, फेरि भाव फेरियो । केही रिसाएजस्तो देखियो । मलिन मुहारले उनी बोलिन् 'अहिले मलाई हेर्दैन ।' दानावती र शोभाका तस्बिर लिएपछि अफिस फिरेर राजविराज फोन गरे । त्यहाँका मित्रले जिले मुखियाको घर पुगेर जानकारी पठाउने जवाफ दिए । उनले बिर्सिए शायद, त्यही भएर जानकारी पठाएनन् ।
अहिले कतै फेरि दानावती देखिन्नन् । शायद आमासँगै घर गइन वा अन्तै कतैको सडकमा लोटा 'ट्वाक ट्वाक' पार्दै होलिन् ।
(कान्तिपुर कोसेलीको ०६८ असार ४ गते पूर्वाञ्चल संस्करण पृष्ठमा प्रकाशित)