दुई साता बिते। क्यामेरा झिकेका बेला फेरि त्यो अनुहार लेन्सले देखेको छैन। विराटनगरका बसपार्कछेउ, गुद्री र बुधहाट चोकमै कतै स्टीलको लोटा सडकमा 'ट्वाक ट्वाक' पार्दै बटुवाका ध्यान आकृष्ट पार्ने दानावती देखिन्नन्।
सामान्य घटनामा पनि सडकमा प्रदर्शन नौलो छैन। कहिले प्रहरीका अघि, कहिले प्रशासन। सामान्य ठानेका बेला कुनै जुलुसले बितण्डा गर्छ। त्यसैले अखबारका लागि उपयोगी ठहर हुन वा नहुन्, जुलुसका तस्बिर खिचेकै जाती हुन्छ।
यस्तै एउटा दिन थियो, मध्यान्ह १२ बजेको घाममा लालटिन बोकेको जुलुस मोरङको जिल्ला प्रशासन जाँदै गरेको खबर आयो।
जुलुस पच्छ्याउँदै प्रशासन पुगियो। मोटरसाइकल पार्किङ गरेर झोलाबाट क्यामेरा झिक्दैगर्दा चर्को स्वरमा एउटी वृद्धाको प्रश्न कानमा ठोक्कियो - 'पत्रकार छी ?' हो भन्ने संकेत मिलेपछि भनिन् 'पहिने एकरा खिच। पत्रिका मे निकाल।' उनका भाषामा आक्रोश, निराशा र आदेशका मिश्रित भाव थिए। नजिकै भुइँमा देखाइन।
त्यहाँ उनकी छोरी थिइन। करिब दुई/अढाइ फुटकी। टाउको र जीउ एकै ठाउँ डल्लो परेजस्तो देखिने। कतिपय जुलुसको बानी पत्रकारले फोटो खिच्लान भनेर पर्खिरहने हुँदैन। खिच्ने बेला बितेपछि फेरि पाइदैन। मैले एकपटक जुलुसतिर हेरेँ, अनि फेरि ती वृद्धाकी छोरीतिर। लगालग दुई/तीन फ्रेम उनकी छोरीको तस्बिर खिचेर जुलुसतिर लम्किएँ।
त्यो साता विराटनगरको ठाकुरवाडी रोडस्थित एक ज्वेलरीमा चोरी भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले समातेका विराटनगर-१७ का कबाडी व्यवसायी रहमत अलि (३४) लाई चार दिनपछि छाडेको रहेछ। हिरासतमा राखेर अनुसन्धान गरेपनि चोरीमा अलिको संलग्नता पुष्टि हुन नसकेपछि हाजिर जमानीमा उनी छुटे। मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले जुलुस निकालेका थिए। लालटिन उज्याएर नारा लगाउनेका भीडबाट अलि बाहिर आए। उनले पाइन्ट खोलेर देखाए। तिघ्रामा काला-नीला डाम थिए। भने, 'मलाइ छोड्नु अगाडि बेस्सरी कुट्यो। नगरेको अपराधमा थुनेर यसरी कुट्न पाइँदैन। मैले बाहिर आएर भनेपछि प्रहरीको विरोधमा जुलुस निकालेका हौँ।' यातनाविरूद्धको प्रदर्शनको तस्बिर खिचियो।
त्यसपछि अघिकी ती वृद्धालाई खोजियो। भेटियो। उनी प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिन आएकी रहिछन्। जुलुसले गेट धर्ना छाडेमात्र उनले पालो पाउने थिइन। त्यस अवधिमा सप्तरीको राजविराज-९ राजदेवी टोलाकी शोभादेवी मुखियाले आफ्नी छोरीका बारेमा बताइन, 'यो जन्मैदेखि यस्तै हो। कम्मरमुनिको भाग जोडिएको छ। हिडडुल गर्न सक्दिन। सहारा चाहिन्छ। ज्वाइँ भनाउदोले बिचल्ली पार्यो।'
उनको नाम दानावती रहेछ। अनुहार सामान्य सपांगभन्दा फरक छैन। जिले मुखिया र शोभाका ६ सन्तानमा दानावती र कान्छो भाइ अपांग रहेछन्। उनले बताइन, 'हामीले यो छोरीका लागि उपचारमा धेरै हिँड्यौ। आर्थिक हैसियत थिएन। तर, उपचार पनि नलाग्ने रहेछ। यो २८ वर्ष लागी होली।'

आमासँगको वार्तालाप सुन्दै गरेकी दानावती अलि रिसाइन्। भनिन्, 'के हुन्छ पत्रिकामा निकालेर ? पुलिसले कतिपल्ट बोलाएर मिलापत्र गराइ पठाउँछ। एक/दुई महिना राख्छ। फेरि निकाल्छ। के हुन्छ ?'
धेरै दिनदेखि उनको बास सडकमै थियो। आफैं हिड्न नसक्ने उनलाई सहारा भेटे घाम पानीका ओत मिल्थ्यो। नभेटे तिनको सामना गरिआएको सुनाइन्। भनिन्, 'म कति दिन भोको बसेकी छु कसलाई वास्ता छ ?'
कुरा गरिरहँदा मुहारका भाव फेरिन्थे। क्षणमा अनुहार रिसाएको देखिन्थ्यो, क्षणमा प्रसन्नता। कुनैबेला भावशून्य। अब उनी मुस्काइन्। 'मैले उसलाई १३ हजारको मोबाइल किनिदिएको थिएँ,' फेरि भाव फेरियो। केही रिसाएजस्तो देखियो। मलिन मुहारले उनी बोलिन्, 'अहिले मलाई हेर्दैन।'
दानावती र शोभाका तस्बिर लिएपछि अफिस फिरेर राजविराज फोन गरेँ। त्यहाँका मित्रले जिले मुखियाको घर पुगेर जानकारी पठाउने जवाफ दिए। उनले बिर्सिए शायद, त्यही भएर जानकारी पठाएनन्।
अहिले कतै फेरि दानावती देखिन्नन्। शायद आमासँगै घर गइन वा अन्तै कतैको सडकमा लोटा 'ट्वाक ट्वाक' पार्दै होलिन्।
***
(कान्तिपुर कोसेली ०६८/०३/०४ पूर्वाञ्चल संस्करण)
No comments:
Post a Comment