Tuesday, July 26, 2011

कवितामा रम्दै कृष्णभुषण


काठमाण्डु एक्लैले अब काठमाण्डु बोक्न सक्दैन 
काठमाण्डु एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन 
काठमाण्डु भित्रभित्रै गुम्सिसकेको छ 
मञ्जुश्रीको अर्को तरवारको विकास खोजिरहेछ ऊ,
युगका गह्रौ पाइलाहरू अब धेरै बोक्न सक्दैन 
यसैले बग्ने निकास खोजिरहेछ उ ।।
जागिरे कामका सिलसिलामा जब काठमाडौं खाल्डो पुगेका थिए, कृष्णभुषण बलको यो कविता त्यसबेलाको मातृभुमि साप्ताहिकले छापेको थियो । 'हरिहर दाहाल सम्पादक थिए, उनले सम्झे 'छापेकै दिन अञ्चलाधीशले बयानका लागि बोलाएछन् । त्यो बेलाको व्यवस्थाको अलिकति पनि विरोधका गन्ध आउने केही लेख्न छाप्न पाइन्नथ्यो ।' उनलाई मिति झट्ट याद भएन । भन्छन् '३२/३३ सालतिरको घटना थियो, म त्यसैबेला विराटनगरतिर आएकाले बयान दिन जान परेन ।'
६४ वर्षे यी कवि अहिले एकल कवितावाचनको अभ्यासमा छन् । सोमबार विराटनगर हाटखोलास्थित आरोहण गुरूकुलको सुशीला कोइराला नाटकघर परिसरमा त्यसबारे पत्रकार सम्मेलन भयो । त्यो कार्यक्रममा बलको उपस्थिति थिएन । जिज्ञासा भयो- यी कवि कता होलान् । त्यसपछि बजारस्थित वाणी प्रकाशन पुग्दा उनी 'भोली बास्ने विहान' पल्टाइरहेका थिए । साथमा गुरू बालकृष्ण पोखरेलको पनि उपस्थिति थियो । 'सबै आफैले वाचन गर्ने होइन, कसलाइ के दिने हेर्दैछु, कवि बलले भने 'युवा कविहरूका अनुरोध आएका छन् ।'
आगामी शुक्रवार हुने उनको कवितावाचन कार्यक्रम विराटनगर गुरूकुलको यस्तो पहिलो कार्यक्रम हो, जसमा दर्शकले टिकट काटेर एकल कविता सुन्नेछन् । मुलुकले चिनेका कवि बललाई विराटनगरले अझ नजिकबाट चिनेको छ । सरल व्यक्तित्वका धनी कवि सजिला मानिन्छन् । निम्त्याएका कार्यक्रममा उनी उपस्थित हुन गाह्रो मान्दैनन् । पूर्वाञ्चलको अग्रणी साहित्यिक प्रकाशन संस्था वाणी प्रकाशनका उनी अध्यक्ष हुन् । 
प्रकाशित पुस्तकको सूची लामो नभएपनि उनका काव्यचेतलाई नेपाली साहित्यमा विशिष्ट मानिन्छ । तीन पुस्तकपछि उनका फुटकर रचना प्रकाशित छन् । प्रकाशोन्मुख कृति उनले कहिले सार्वजनिक गर्ने भन्ने टुंगो छैन । 
पत्रकार सम्मेलनमा संयोजक खेम नेपालीले भनेका थिए 'हाम्रो आग्रहलाई विशिष्ट कविले सहर्ष स्वीकार गर्नुभयो, त्यसैले उत्साहित भएर तयारीमा जुटेका छौ ।'  हाटखोलास्थित २२० सीट क्षमताको नाटकघरमा हालसम्म नाटकबाहेक साहित्यिक कार्यक्रम, कलाप्रदर्शनी र कला कार्यशालाहुँदै आएका छन् । 'सशुल्क कविता काठमाडौंबाहिर हामीलाई नौलो लाग्ने कुरा हो, नाटकघर कार्यसमिति अध्यक्ष भैरव क्षेत्रीले भने 'तर, भुषण दाइको कार्यक्रमका लागि बाहिर जिल्लाबाट धमाधम टिकट बुक भइरहेको छ । अब त भुइमा बस्न व्यस्था मिलाएर पनि दर्शक अटाउने तयारी छ ।' यही मेलोमा आयोजकले १५ जनाले कवि बलका विषयमा भनेका कुरा संक्षिप्तमा छाप्दै सानो लेखोट पनि प्रकाशनमा ल्याएको छ । 
स्रष्टा कृष्ण धरावासी लेख्छन् - तीसको दसकका समकालीन कविहरूभन्दा अलग्गै रूपमा बललाई उनका कविताले उभ्याउछन् । उनका कवितामा प्रयोग भएका वाक्य संयोजन, बिम्ब, प्रतीक आदि समेतबाट उनी अलग्गै देखिन्छन् । निरंकुशताप्रतिको विद्रोह र स्वतन्त्रताको चेतना उनका कविताको मुल स्वर हो । 
युवा कवि सुमन पोखरेलले लेखेका छन् - बल भट्ट हेर्दा ल्याङस्टन ह्युज र मार्टिन लुथर किङका साझा भतिज लाग्दछन्, तर यिनी हाम्रै इलामबाट अमिलो, धमिलो बग्दै आएर विराटनगरमा थिग्रिइ जगतभर चम्किएका मोती हुन् । यिनले वाचन गर्दा चैतको हुरी पनि यिनको कविता सुनेर मात्र दौडिने निधो गरी मन्द-मन्द बहन थालेझै अनुभूत हुन्छ मलाइ । 
गुरूकुललेे जारी गरेको लेखोटमा कृष्णभुषणलाई प्राडा गोविन्दराज भट्टराइ, प्राडा टंक न्यौपाने, अनिरूद्र तिम्सिना, डा. तुलसी भट्टराइ, विष्णुविभु घिमिरे, कुमारप्रसाद कोइराला, कृष्णचन्द्रसिंह प्रधान, डा. तारानाथ शर्मा, दधिराज सुवेदी, विवश पोखरेल र ज्योति जंगललगायतले आ-आफ्नै पारामा अर्थ्याएका छन् । 
दाज्यु तिमो हात चाहिन्छ (खण्डकाव्य), भोली वस्ने विहान र द फुल मुन एट रिभर ब्याङ आदि बलका प्रकाशित कृति हुन् । 
तीन दसकको जागिरे जीवनमा शासन व्यवस्थाका कारण स्रष्टाले धेरै उतारचढाव भोगेका बताउने बल भन्छन् 'लेख्दा धेरैपटक समस्या आइरहे । कवितावाचन गरेकै भोलीपल्टै नक्सलाइडको आरोप लगाएर विराटनगरबाट काठमाडौ तानेर दुःख दिएका दिन पनि भोगियो ।' युवा सर्जकहरूलाई हौसला दिने क्रममा आयोजना गर्न लागिएको सशुल्क कविता कार्यक्रमप्रति उनी उत्साहित छन् । भन्छन् 'पहिले कविता लेखेर तुरून्तै सुनाउन मिल्ने मञ्च निकै थोरै हुन्थे ।' 
(०६८ साउन १० मंगलवार कान्तिपुर दैनिकको कला र शैलीमा प्रकाशित समाचारजन्य सामाग्रीलाई केही सामान्य थपथापपछि ब्लगमा समावेश गरिएको )

update :
वरिष्ठ कवि कृष्णभूषण बलको २०६९ असार ११ गते सोमबार साँझ सवा ७ बजे निधन भएको छ ।  ब्रेन ह्याम्रेजको एट्याक आएपछि चार दिनअघि उहालाई विराटनगरको न्यूरो अस्पताल भर्ना  गरिएको थियो ।  शव विराटनगर-१३ स्थित घर लगिएको छ । मंगलवार दुइ घण्टा विराटनगरको हाटखोला गुरुकुलमा अन्तिम श्रद्धान्जलिपछि परोपकारघाटमा अन्तिम संस्कार गरिने कवि सुमन पोखरेलले बताउनुभयो । आत्माले चीर शान्ति पाओस् । परिवारमा धैर्य धारणको शक्ति मिलोस् । 



Saturday, July 16, 2011

बकुल्लाको गाउँमा

दुई भंगाला तरेर डुंगाबाट पारि उत्रने बेलामा माझीले भनेका थिए, 'सरहरू आइहाल्नुभो । धेरै जुका लाग्छ । हेर्दै झार्दै जानुहोला ।' मनमा चिसो पस्यो । मान्छे हराउने हरिया काँसघारीमा रक्तभक्षी जुकासँग कसरी जोगिने ? मान्छे हिँडिरहने भए पो गोरेटोजस्तो बाटो हुन्थ्यो । मडारिएका घाँस पहिल्याउँदै अघि बढ्ने मार्ग थाहा हुन्थ्यो । आफैं हिँडेर बाटो पहिल्याउनुपर्ने गन्तव्य । के होला, जे होला भन्दै अघि बढियो । कहिले पानी परेको परेकै, कहिले अरू कामले यात्रामा निस्कन नदिएर बल्लतल्ल साइत जुरेको थियो ।

सुनसरीको मधुवन गाविसस्थित कोसी क्याम्पबाट केही पश्चिम हिँडेपछि सप्तकोसी नदीको पूर्वी तटबन्ध भेटियो । त्यहाँबाट केही दक्षिण हुँदै करिब डेढ सय मिटर पश्चिम लागेपछि अगाडि नदीको पहिलो सानो भंगालो भेटियो । भेलका बीच डोजर, स्काभेटरभन्दा तीन गुणा ठूलो आकारको घरजस्तो यन्त्र बसेको थियो ।

'कटरड्रेजर भन्छन् यसलाई,' किनारमा भेटिएका भारतको कोसी परियोजनाका कामदारले बताए, 'यसले खोलाको बालुवा निकालेर बाहिर थुपार्छ ।' त्यसको आवाज कुनै कारखाना चलेभन्दा कम थिएन । हामी पुग्दा त्यसले काम गरिरहेको थिएन । उनीहरूले बताए, 'यसले घन्टामा ४०/४५ लिटर डिजल खान्छ, धेरै बालुवा निकाल्छ ।'

सुनकोसी, तामाकोसी, दूधकोसी, इन्द्रावती, लिखु, अरुण र तमोरसमेत सातवटा नदीको संगम सप्तकोसी जहिल्यै विहारको दु:ख मानिन्छ । कारण, नेपाली भूभागबाट २ सय ६० किलोमिटरको यात्रा गरी गंगामा मिसिन पुग्दा कोसीले विहारका अररिया, सुपोल, सहरसा, पूणिर्या, कटिहार, खगडिया र भागलपुरलाई प्रभाव पार्छ ।

बढी पानी भएका बेला ब्यारेजमा जलस्तर नियन्त्रण गरिएन भने भारतीय गाउँहरू डुबानमा पर्छन् । ब्यारेजमा ५६ वटा ढोका छन् । भारतले बनाइदिएर उसकै प्राविधिक नियन्त्रणमा रहेको ब्यारेज स्थापनाकालदेखि नै पूर्वपश्चिम राजमार्गमा सप्तरी र सुनसरीलाई जोड्ने पुल रहेको छ । ब्यारेज कुनै दिन भत्कियो वा बग्यो भने तराईको सडक सम्पर्क फेरि जोड्न हम्मे पर्छ । यसको नियन्त्रण-मर्मत मात्र होइन ब्यारेजदेखि उत्तर ३२ किलोमिटरसम्ममा तटबन्ध मर्मतको काम पनि भारतीय परियोजनाको जिम्मामा छ । तीन वर्षअघि कुसाहामा तटबन्ध भत्किँदा नदीको बहावले दिशा फेरेको थियो । त्यसले नेपाली भूभागभन्दा धेरै असर सीमावर्ती विहारमा गरेको थियो ।

यसपटक धेरै बालुवा थुपि्रएकाले सानो भंगालो भएर हुने निकास प्रकाशपुर क्षेत्रनजिक अवरुद्ध थियो । कामदारले बताए, त्यसकै लागि कटर ड्रेजर झिकाएर काम भइरहेको हो । खानेपानी संस्थानले भण्डारण गर्न मूलबाट पानी ल्याउनेजस्ता ठूला पाइप जोडिएको त्यो यन्त्रले नदीको बालुवालाई झिक्दै तीव्र रूपमा पाइप हुँदै निश्चित गरिएको ठाउँमा थुपार्ने रहेछ ।

अनगिन्ती विविधता छन् । पहाडबाट वराह क्षेत्र आइपुगेर समथर भूभागमा पस्ने कोसीले धेरै ठाउँ बालुवा थुपारेर जमिनका भाग बीच-बीच छाडेको छ । यही छाडेमध्येको एउटा सानो टापुको यात्रामा निस्कँदा हामीलाई त्यहाँ मानव बसोवास छैन भन्ने हेक्का थियो । मान्छे नबसेकै कारण यहाँ प्रशस्त घाँस, काँस र झाडी-बुट्यान अनि केही सुकेर लडेका रूखका ठुटा थिए ।

धेरैले देखे सुनेको कोसीटप्पु वन्यजन्तु आरक्षको संरक्षित क्षेत्र सजिलै पुग्न सकिँदैन । कोसीका पूर्वी तटबन्धमा आरक्षको कार्यालय छ । छोटो समय लिएर घुम्न जानेहरू आरक्ष कार्यालयबाट तटबन्धसम्म पुग्छन् । किनारका काँसघारी, बयरका बुटा र बगरबाट छाल हेरेर फिर्छन् । छाल हेरेर धेरैपटक फिरेकाहरू समय मिलाएर भित्रसम्म पुग्ने योजना बनाउँछन् । करिब एक घन्टाको डुंगा यात्रापछि मात्रै आरक्षको मूल संरक्षित क्षेत्रमा पुग्न सकिन्छ । समयले साथ दिए भित्र गएका बेला यहाँ अर्ना भनिने जंगली भैंसी र चरा हेर्न सकिन्छ । स्वतन्त्र विचरण गर्ने पशुपन्छी मान्छेको उपस्थितिको आभाससम्मले लुक्छन्, भाग्छन् ।

मिौसम सफा थिएन । तर, पानी परेन । काँसघारी छिचोल्दा वर्षे जुकाहरू पर्खिरहेका रहेछन् । १५ मिनेट हिँडेपछि कटर ड्रेजरले थुपारेको बालुवाको सानो 'पहाड' देखियो । सुकेर लडेको सिसौमा अडिएर जीउभरिका जुका फालियो । टिपेर मिल्काउँदा त्यसले चुसेको भाग चिलायो र रगत आयो । निकैबेरमा चिलाउन थालेपछि थाहा भयो, कति जुका संवेदनशील ठाउँसम्मै पुगेछन् ।

'हामीले खोजेको ठाउँ यही हो, हाम्रो टोलीका अनिस तिम्सिना बोले, 'यहीँ छ इग्रेट कोलोनी ।' उनले भनेको ठाउँ बकुल्लाको वासस्थान थियो । त्यही चरो, जो पोखरी, जलाशय र नदी किनारमा माछा र पानीकीरा रुँगेर ध्यानी भएको देखिन्छ । अडिएको ठाउँबाट केही उत्तर हिँडेपछि थरीथरीका धेरै बकुल्ला देखिए । रूखभरि लटरम्म फल फलेजस्तो गुँड । गुँडैपिच्छे कुनैमा बचरा, केहीमा फूल । पानीमा आहार खोजे पनि बस्न शान्त र झ्याम्म परेको रूखबुट्यान खोज्ने बकुल्लोका यहाँ थरीथरी प्रजाति देखिए । टप्पुमा चरा हेर्न कोसी क्याम्प हुँदै आउने आगन्तुकलाई अनिस बाटो देखाउँछन् । फोटोपत्रकार साथी यात्रा थुलुङ, हिमालयन नेचरसम्बद्ध प्रकाशपुरका भाइहरू सुमन आचार्य र दिनेश घिमिरे साथ थिए । अनिसले यसपटक बकुल्लाका गुँड बढेको सुनाए, 'पोहोरभन्दा केही बढेको छ ।'

गित वर्ष रुप्पीको नयाँ प्रजाति ह्वाइट सोल्जर स्टारलिङ थपिएपछि कोसीटप्पुमा पाइएका चराका प्रजातिको संख्या ४ सय ९२ पुगेको छ । सबै चरा एकैसाथ एकैनाश सबै मौसम र स्थानमा देख्न सम्भव छैन । यस्तै यहाँ बकुल्लाका पनि सबै प्रजाति भने थिएनन् । बकुल्ला मात्रै मुलुकमा हालसम्म १३ थरीका पाइएको हेल्म फिल्ड्स गाइडको पुस्तकमा उल्लेख छ । बकुल्ला समुद्र सतहदेखि ३ हजार ५० मिटरसम्मको उचाइमा पाइन्छ । त्यसमाथि देखिँदैन । १ हजार मिटरसम्मका उचाइमा भने स्थान विशेषअनुसार सबैथरी बकुल्ला देख्न सकिन्छ ।

गाईवस्तुजस्ता चौपायाका अघिपछि हिँड्न मन पराउने, टाउकोमा केही पहेंलो भएको वस्तु बकुल्ला, सुनजस्तो छिर्केमिर्के रंग भएको पर्पल हेरोन भनिने ठूलो अग्लो ध्यानी बकुल्ला, इन्टरमिडिएट इग्रेट भनिने मझौला बकुल्ला थिए । यिनैमा रूपरंगमा सुन्दर ब्ल्याक क्राउन नाइट हेरोन भनिने बाँके बकुल्ला थिए । केही गुँडमा अण्डा छोपेर ओथारो बसेका, केही माछा ल्याई ओकल्दै बचरालाई खान दिदै गरेका, केही काग धपाउँदै र केही रमाउँदै उड्दै गरेका । कागले बकुल्लाका अण्डा र मसिना बचरा सिकार गर्ने रहेछ । त्यो पनि प्रकृतिप्रदत्त चरो । उसको चर्तिकला हेरिरहनबाहेक मान्छले गर्ने केही थिएन ।

बकुल्लाले हानि गर्दैन । तर, यसले गुँड लगाउने ठाउँहरू बिस्टाका कारण फोहोर हुन्छ । यहाँ त्यस्तै भेटियो । उनीहरूलाई बाधा थिएन । कोही कराउने, धपाउने नहुँदा जीउछाडा बनेका यी पन्छीका केही गुँड भुइँबाट दुई/तीन फिट मात्रैको उचाइमा पनि देखियो । यसले मसिना झिक्रा बटुलेर गुँड बनाउने रहेछ । छिट्टो गरी आफैं उड्न परे पँखेटाले लागेर कुनै बेला अण्डा, कुनै बेला बचरा तल झर्ने रहेछन् । तल झरेकालाई यसले बोकेर गुँड फिराउन सक्दैन । जति जसरी बाँच्छन् यही प्रकृतिको नियम हो । माऊहरू आहार लिएर आई गुँडमा ओकल्दा त्यसलाई आहार जानेर खाने बचरा नै बढ्ने रहेछन् । बकुल्लो घरपालुवा होइन । त्यसैले यो मान्छेको सम्पर्कमा बस्दैन । हाम्रो टोली देख्दा पनि बकुल्ला गाउँ सतर्क भयो । चार घन्टा बिताए पनि बकुल्ला गाउँको चहलपहल हेरिरहन मन अघाएन । एकतमासको आवाज, हल्ला र बचरा । कतै हाट भर्न पुगेजस्तो भान पर्ने ।

टिप्पुको चरा घटबढमा अद्यावधिक भइरहने चराविद् डा. हेमसागर बरालका अनुसार सन् १९९४ मा यो क्षेत्रमा २५ हजार ९३ गुँड थिए । सन् १९९६ मा १२ प्रजातिका २५ हजार ७ सय ३० गुँड भेटिए । यीमध्ये २१ हजार २ सय ५७ वटा गुँडमा बचरा थिए । त्यसपछि चराविद्हरूले गणना नियमित गर्न पाएका छैनन् । 'पहिले ठूलो कोलोनी थियो, कोसीले काट्यो, मौसम परिवर्तन र अर्थोकको असर भयो,' डा. बराल भन्छन्, 'अब फेरि यी ठाउँमा गुँड लगाउने क्रम बढ्दा चरा हेर्न रमाउनेहरू खुसी भएका छन् ।' 

(कान्तिपुर कोसेलीमा ०६८ असार ३२ गते प्रकाशित)

Saturday, July 9, 2011

पत्रकारको नाटक : मुर्दों का सहर


नाटक हेरेको दिन अफिस फिर्दा साँझ ८ बज्यो । केही लेख्न र तस्बिर पठाउन मन लागेन । कारण, उनको नाटक नौलो थियो - कुनै एब्स्ट्रयाक्ट आर्ट जस्तो । मलाई हिन्दी बुझन, लेख्न र संवाद गर्न समस्या छैन । तर, कोलकाताका पत्रकार प्रणव मुखर्जीको नाटक 'मुर्दों का सहर' धेरै बिम्बहरूको प्रयोग गरिएका थिए । उनले ल्यापटपमा भिज्युअल देखाएर केही सांकेतिक वस्तुका आधारमा स्वतन्त्रता कति प्यारो हुन्छ भन्ने देखाए । उनका गहिरा सबै कुरा मेरो जस्तो ४० जीबी डिस्क स्पेश र ६४ एम्बी र्‍यामको दिमागले सहज मानेको थिएन । 
अफिस आएर उनको नाम गुगलमा टाइप गर्दा भारतका विदेशमन्त्री तथा बंगालका पुराना नेता प्रणव मुखर्जीमात्रै देखायो । एउटा लिंकमा उनको नाटकको नामबाट एउटा साइट भेटियो । तर, त्यसमा विस्तृत जानकारी थिएन । अर्को एउटा साइट कुनै अखबारको थियो, त्यसले सम्पादकीयमा उक्त नाटकले बोलेका कुरालाई उदाहरण बनाएर समाजलाई गम्भिर बनाउने मुद्दा उठाएको उल्लेख गरेको थियो । जे होस, प्रणव र उनको नाटकबारे खोज्न नजानेर नै होला, मैले विस्तृत जानकारी लिने साइट फेला पार्न सकिन । राती विराटनगर गुरूकुलका दाजु विवश पोखरेललाई फोन गरे भने 'म प्रणवलाई भेट्न चाहन्छु । कृपया भन्दिनोस् ।' उहाँले ' भोली दिउँसो २ बजे काठमाडौं फिर्ने भएकाले विहान आए भेट्न सकिने ' बताउनुभयो ।
नाटक सुरू गर्नुअघि विषय प्रवेशमा सहजीकरण गरेका गुरूकुलका रंगकर्मी अनिल पोखरेलले भनेका थिए - विराटनगरमा पत्रकारमाथि भएको कुटपिटको घटना थाहा पाएपछि प्रणवजी यहाँ आफ्नो नाटक लिएर आउनु भएको हो । उहाँ आफ्नै खर्चमा आउनुभएको छ । काठमाण्डुको मार्टिन चौतारीमा एउटा शो गरेपछि  सीधै विराटनगर आउनुभएको हो ।' नाटकमा पत्रकारिता थिएन । बरू पत्रकारिताका लागि नभइ नहुने मुद्दा बोलेको थियो । विहान भेट्न पुग्दा एकल नाटकका सर्जक र कलाकार मुखर्जी भेडेटार जाने तयारीमा थिए । 
कुराका लागि थोरै समय मिल्यो । हतारमा कुरा गरियो । उनले बताए । धेरैपटक काठमाडौं आएका छन् । गुरूकुलका सबैजसो नाटक महोत्सवमा आएका हुन् । द्वन्द्वका बेला पनि आएका थिए । नेपालबारे उनी धेरै अप्डेट थिए । उनले कर्णाली, मुगु र मधेस मुद्दाका कुरा गरे । जहाँ पुगिन्छ, त्यहाँका भिज्युअल खोजेर हाल्ने नाटकलाई त्यही परिवेशमा अर्थ्याउने उनको प्रयास रहेछ । स्वतन्त्रता खोसिनु हुँदैन । प्राप्तिको लडाइ सरल हुँदैन । यस्ता सन्देशमुलक तीन सिरिजमध्ये मुर्दों का सहर तेस्रो तथा अन्तिम कडी भएको उनले बताए । पत्रकारहरू स्वतन्त्रता भएन भने काम गर्न सक्दैनन् । स्वतन्त्रता अपरिहार्य छ पत्रकारिताका लागि ।
हतारको कुरा गराइमा उनका धेरै भनाइ बुझन सहज थिएन । तैपनि नाटककका बारे लेख्दै रहने प्रयासमा उनको नाटकबारे पनि लेखियो । कान्तिपुर कोसेलीको ०६८ असार २५ को पूर्वाञ्चल पृष्ठमा लेखोट प्रकाशित भएको छ । त्यो यस्तो छ -    
ल्यापटपमा प्ले गरिएको भिडियो फुटेज डीभीडी प्रोजेक्टरहुँदै भीत्ताको सेतो पर्दामा पुग्छ । दृश्य चलचित्र घरमा जस्तो चखिलो छैन । यद्यपि विषय भने ध्यान खिच्ने मर्मबाट सुरू हुन्छ । भारत, मणिपुरको एउटा गाउँमा सेनाको अपरेसन सुरू भएको छ । झाडीबुट्यानहुँदै वर्दी र हतियारधारी टुकडी पसेको छ । भेटिने ५/६ तन्नेरीलाई भेला पार्छ । लठ्ठीले कुट्दै सडकमा ल्याउँछ । 
पिटाइ खाएकाहरू मणिपुरे भाषामा मुक्तिको अनुनय विनय गर्छन् । चिच्याउँछन् । तर, वर्दीधारी लठ्ठी दिदै ती युवालाई आपसमा कुट्न लगाउँछन् । एउटाले अकोलाई कुट्छ, कुट्ने थाकेपछि कुटाइ खानेले उसलाई फेरि कुट्ने पालो । उनीहरूलाई सडकमा कुखुरा बनाइन्छ । 
करीव १० मिनेटको दृश्य अन्तिमतिर पुग्दा मधुरो प्रकाश केही तेजिलो पारिन्छ । झुस्स दाह्री पालेका, सादा चश्माधारी, करीव ५ फीट कदका प्रणव मुखर्जी मञ्चमा देखा पर्छन् । उनका कुरा मनस्थिति नियन्त्रणबाहिर भएका मान्छेका जस्ता  छन् । भन्छन् 'कल्पना गरौ, कसैलाई भेट्नु छ , नाम, ठेगाना र ठाउँ थाहा छैन । यिनले अर्थ पनि राख्दैनन् । बस भेट्नु छ ।'
उनले भेट्ने कल्पनाले किनबेचको कुरा उठाउँछ । बेच्न तयार हुनु/नहुनु सर्वसाधारणको अधिकार हो । तर, किनबेच त हुनै छ । खरिदकर्ताले प्रोटेष्ट अर्थात् प्रतिवाद किन्न माग्छ । बेच्ने किकर्तव्यमुढ भएरै पनि बेच्न तयार हुन्छ । खरिदकर्ता अब साइलेन्स अर्थात् मौनता किन्न चाहन्छ । पर्दामा दृश्य पनि चल्दैछ, पूर्वी टिमोरको आन्दोलनताकाका दृश्य । सन् १९९९ मा जब इन्डोनेशियाबाट पूर्वी टिमोरलाइ अलग बनाउन स्वाधिनताको आन्दोलन चलिरहेको थियो । त्यसबेला त्यहा सेनाले दमन गरेका थिए । स्वतन्त्रताको आन्दोलनमा लागेकाहरू फौजी पोशाक र हतियारमा छन् । फौजी पोशाकमा महिला पनि छन् । नारा पनि लागिरहेको छ - इण्डोनेशियालाई टिमोर छाड्ने आह्वानको । 
प्रतिवाद र मौनता बेचेपछि मान्छेसँग के जोगियो ? गर्दागर्दै उ कविता र सपना खरिद गर्न चाहन्छ । किनबेचका एकल संवाद चल्दाचल्दै पर्दामा सल्बलाएको दृश्य अब हेरिसक्नु छैन । किन बेच्ने ? प्रतिवाद, मौनता, कविता र सपनापछि मान्छेसँग बाकी के नै हुन्छ ? अन्यायको प्रतिवाद गर्न नपाइने, विरोध लेखन पनि गर्न नमिल्ने, अनि सपना पनि देख्न नपाइने भएपछि मान्छे हुनुका नाउँमा केही बाकी छैन । 
कबुलियत हेरेर एकजना दुब्ला-पातला मान्छे केहीबेर सोच्छन् । अनि पाना पल्टाउदै धमाधम हस्ताक्षर गर्छन् । बाहिर निस्केर शरिरमा पेट्रोल खन्याउछन् । हेर्दाहेर्दै सल्कन्छन् । मुखर्जी चिच्च्याइरहेका छन् - यस्तो किन गर्‍यौ ? किन बेच्यौ ? स्वतन्त्रताको मुल्य लगाउन सकिदैन । उठ्ने आवाजका लागि संघर्ष सरल छैन । 
द्वन्द्वले बनाएका शरणार्थीका पीडा समेटिएका जर्ज हृयारिसनको गीतको बंगाली अनुवाद महिला स्वरमा नेपथ्यमा मधुर स्वरमा घन्कन्छ । सन् १९७१ मा भएको बंगाल युद्धका बेला धेरै शरणार्थी कोलकाता आएका थिए । भारतबाट पूर्वी पाकिस्तानका रूपमा रहेको बांगलादेश त्यस युद्धपछि बेग्लै राष्ट्र बनेको थियो । त्यसताकाको आन्दोलनले धेरैले पुरानो थातथलो छाडेका थिए । नाटकका सर्जक तथा कलाकार मुखर्जी भन्छन् 'त्यसैबेला यो गीत अंग्रेजीबाट बंगालीमा मौसम भौमिकले अनुवाद गरेका थिए ।' नेपथ्यको गीतसँगै उनले यस्ता किनबेचले मान्छे स्वतन्त्र हुन नसकेको सन्देश दिए । 
विराटनगरको सुशीला कोइराला नाटकघरमा गत साता बिम्ब र प्रतीकको उपयोग गर्दै स्वतन्त्रताका हकमा सन्देश दिने हिन्दी नाटक ' मुर्दों का सहर' को ८१ औं शो गरेका उनी पेशाले पत्रकार हुन् । एशियन एज दैनिकका लागि केही वर्ष काम गरेका उनी हाल किन्डल नामक युवा सरोकारको मासिक म्यागजिकमा काम गर्छन् । 'म घुमन्ते सम्पादक हो, गृहप्रशासन, मानवअधिकार मेरो रूची, उनले भने 'एउटा सहरमा २० दिनभन्दा बढि बस्दिन ।' मुर्दो का सहर नाटक सार्कका सातै देश लिएर पुगेका उनलाई जहाँ द्वन्द्व र असन्तुष्टी छ, त्यसले खिच्छ । भन्छन् 'यसपटक मैले नेपाल आउँदा यहाँका दृश्य उपयोग गरिनँ, कारण यहाँ शान्तिप्रक्रिया सुरू भएको छ ।' भारतको कोलकाता बस्ने मुखर्जी धेरैपटक नेपाल आएको यहाँका जल्दाबल्दा मुद्दाबारे उनले राखेका जानकारीबाट थाहा भयो । भने 'मलाइ काठमाडौं-पोखराको सौन्दर्यले प्रभावित पार्दैन, बरू मधेस-तराइ मुद्दा, मुगु, कर्णाली र बाजुराका समस्याले प्रभावित पार्छ ।' 
स्वतन्त्रताको आन्दोलनका लागि कुण्ठा पाल्नेहरूलाई जगाउने नाटक तयार पार्ने क्रममा तीन सिरिजमा बनाइएका नाटकमध्येको 'मुर्दों का सहर' तेस्रो भएको उनले सुनाए । तीनजना साथीहरू मिलेर काम गरेपनि यात्रामा उनी एक्लै छन् अहिले । एउटा ल्यापटपको भरमा उनले नाटक लिइ हिडेका छन् । भन्छन् 'विधा फरक रहेछ म जे कुरा पत्रकारिताबाट व्यक्त गर्न सक्तिन, त्यो नाटकमा भन्न सक्छु ।'