नाम - कमल पासवान
उमेर - ६५ वर्ष
ठेगाना - सीतागञ्ज, सुनसरी
यिनीसँग आज केहीबेर अघि विराटनगर बसपार्कमा भेट भएको हो । भेट त के भनौ, यिनी आफूजस्तै काम गर्नेसँग जिस्कँदै थिए । सेतै दाह्री मन परेर फोटो खिच्न मन लाग्यो । बोलाएँ । एक-दुइ स्न्याप खिचेँ । क्यामेराले खिच्दैछ भन्ने थाहा पाएर मान्छेको ध्यान लेन्समै तानिएका पोज आफैंलाई चित्त बुझेन । छुट्ने बेलामा उनले भने 'बुढा मान्छेलाई चिया खाने पैसा दिनुस्न ।' दिएँ । उनी बसपार्कमा अडिएका बसतर्फ लागेपछि खिचेको स्न्याप यो माथिको हो ।
सुनसरीको सीतागञ्जको दूरि विराटनगरबाट करिब १८/१९ किलोमिटर हो । यिनी बिहान खाना खाएर आउने रहेछन् । दिउँसो यात्रुका भारी बोक्ने काम गर्दै करिब ४ बजे घर फिर्ने दैनिकी रहेछ । काम गर्दा जिन्दगी रमाइलो लाग्ने यिनले बताए । धेर कुरा हुन पाएन । कारण - मलाइ नि हतार थियो ।
यि कुनै नाम चलेका पात्र होइनन् । न कुनै सञ्चारमाध्यमको नजरमा परेका हुन् । भेटियो । संक्षिप्त कुरा गरियो । यो उमेरमा पनि गरिखाने यिनको जोश रमाइलो लाग्यो । हामी स-साना कुरामा छिटै हतास हुन्छौ । सबथोक सकिएर जिन्दगीमा रहरका मार्ग बन्द भए झैं अनुभव गर्छौं, त्यस्ताबेला यिनी जसरी यस्तो उमेरमा पनि एकनासको दैनिकी बाँचेकाहरूलाई सम्झनु राम्रै होला भन्ने मलाइ लाग्यो । त्यसैले यो ब्लगमा शेयर गरें । अब यिनी जसरी गरिखाने पौरखी भेटिँदा यसरी नै ब्लगमा समेट्छु भन्ने लागेको छ ।