Friday, September 25, 2009

पर्वमा पहाडहरू

नवरात्रि सुरू भयो । आफ्नो कमाइबाटै लुगा हाल्ने रहर, अनि घरमा पनि केही रकम दिने रहर । तर, इन्चार्ज न छिटो विदा दिन राजी थिए न त तुरून्तै पैसा दिन । विराटनगरको तीनपैनी नजिकको एउटा कारखानाको मजदुर । रातिको ड्यूटी । दिउँसोको तनाव । १५ वर्ष बितेछ त्यस्तो दसैंको । अहिले सम्झन्छु कति असजिलो थियो त्यो दसैं ।
म स्नातक तह प्रथम वर्षमा पढ्दै थिए । कारखानामा रातिको काम गर्थे । घरमा बाहेक मेरा नजिकका मित्रहरूलाई पनि मेरो जागिरका विषयमा थाहा थिएन । बेलुकी १० देखि विहान ६ बजेको ड्यूटी । बिहान कलेज लागेका बेला परे उतैबाट गयो, नभए घर गयो, सुत्यो । कतिपटक कक्षामा निन्द्रा लागेको देख्दा साथीहरूले सोध्थे । मेरो जवाफ हुन्थ्यो 'राति अबेरसम्म टीभीमा फिल्म हेरेकाले यस्तो भएको हो ।'
त्यो कारखानामा रातभरि हुने उत्पादनको हिसाब राख्नुपर्थ्यो । अनि विहान आउने साथीलाइ त्यो बुझाएर गइन्थ्यो । तलब समयमा नपाइने । अनि दसैं । सप्तमीका दिन अति भयो भन्ने ठानेर मैले इन्चार्जलाइ फोन गरें । उनले घरमा बोलाए । त्यसबेला मैले घरको गर्जो टार्नुपर्ने जिम्मेवारी थिएन । कारण, घरखर्चको जिम्मेवारी बुवा-आमाको थियो । मैले आफ्ना लागि आफै व्यवस्था गरें भने उहाँहरूलाई बोझ हुदैन भन्ने लागेको थियो ।
घर पुगेपछि हिन्दीमात्रै बोल्ने ती इन्चार्जले भने 'मेरो भान्सामा ग्यास सिद्धिएको रहेछ, बजार गएर ल्याइदेउ ।' आज्ञाकारी बालकजस्तै म गए, अनि ग्यास ल्याए । तर, उनलाइ अघि नै फोनमा भनेको कुरा मैले दोहोर्‍याइन । फेस टु फेस भएका बेला मैले नमागेका कारण शायद उनलाइ के खोज्छस् ..... झै भयो । उनले दिएनन् । म त्यतिकै फिरें । दसैंको विदा भयो । म फेरि त्यहा कामका लागि फिरेर गइँन । त्यो दसैं त्यतिकै गयो । मैले यो कुरा कसैलाई भनिन । मनमा धेरै कुरा खेले । कामदारहरूका लागि दसैं कति असजिलो रहेछ भन्ने मलाइ भयो । मसगै दुइजना राजवंशी थरका दाइहरूको पनि समस्या त्यस्तै भएछ । तर, उनीहरू ढुक्क थिए । अन्न बेचेर भएपनि चाड मनाउने , घरमा हास-कुखुरा छदैछ भनेका थिए । कारखानाले नियुक्तिपत्र दिएको थिएन । काममात्र दिएको थियो । अनि त्यसबेला अहिलेजस्ता मजदुरका संघसंगठनको सक्रियता छ छैन भन्ने पनि थाहा थिएन ।
तिहारमा ती इन्चाजले मलाई बोलाउन पठाए । पुगेपछि उनको भनाइ थियो 'भाइ , पैसा कमाउन सजिलो छैन, खर्च गर्न सजिलो छ । दसहरामा त्रि्रो घर जसोतसो चल्थ्यो । तिमीले पैसा लगेको भएपनि खर्च गरेर सिध्याउथ्यौ, त्यसैले मैले नदिएको ।' उनले पैसाभन्दा पढाइमा ध्यान दिन सल्लाह दिए । उनको तर्कमा म सहमत थिइन । कारण, चाहिएका बेला खर्च गर्न नपाइने हो भने काम गरेको व्यर्थ हो भन्ने मेरो मनमा थियो । मलाइ लाग्थ्यो कुनै चलचित्र रिलिज भएकै बेला हेर्नर्ुपर्छ । रिलिजको २/४ वर्षपछि हेरियो भने समय अनुकुल हुदैन । मजा आउदैन । सन्दर्भ फरक पर्छ । तर, असहमति जनाउन पनि ठीक लागेन । जे होस, पछिल्लोपटकमा उनले तलबको पैसा दिए ।
अहिले पनि साना कारखानाका कामदारको अवस्था मैले त्यो दसैंमा भोगेभन्दा फरक नहोला । त्यसबेलाको अविवाहित अवस्थामा मेरा जिम्मेवारी थोरै थिए । मैले आफ्ना निजी आवश्यकताका थोरै कुरामा मात्र ध्यान दिए पुग्थ्यो । प्रश्न पारीवारिक दायित्य बोकेकाहरूको हो । यदि म त्यसबेला परिवारको मुली थिए । अनि छोरा-छोरी, श्रीमतीका फर्माइस, आवश्यकता र घर चलाउने जिम्मेवारीमा हुन्थे भने घरमा रूवावासी चल्थ्यो होला । कति परिवारमा सधै दसैंमा यस्तो पनि हुदो हो ।
पर्व सबैका लागि हो । वर्षभरिका दौडधुप, तनाव र असजिला अवस्था बिर्सिएर पुनः कामको निरन्तरतामा आउन नया स्फुर्तिका लागि पर्व आउछ । सबैलाई लाग्ला धुमधामले मनाउ । बढदो महगीको मारका बीच बजारको चहलपहल देख्दा नेपालीको क्रय क्षमता बढेको जस्तो देखिन्छ । तर, सोझो बाटो हिडेकाहरूले धुमधामले मनाउने अवस्था छैन । जस्तो भएपनि चाड त मान्नै छ । सबैले यसको मान राख्नका लागि पनि आवश्यकतालाई प्राथमिकीकरण गरेर गर्जो टारेका छन् । आयस्रोतको अवस्था र खर्चको आकारमा तुलना गर्ने हो भने श्रम गरेर खानेका लागि चाडहरु सधैं नै समस्याको अग्लो पहाड बनेर आएको हुन्छ । महगी छ , आयस्रोतले धान्दैन भन्दैमा कसैले आफ्ना सांस्कृतिक चाडबाड मनाउन छाड्नुपर्छ भन्ने होइन । तर, हाम्रो आय र खर्चका बीच सन्तुलन जरूरी छ । अन्यथा दसैं मानेर पुनः कामको दिनचर्यामा फिर्दा स्फूर्ति होइन, चिन्ता बढ्छ ।
बिग्रिएको राजनतिक संस्कारबाट परिचित जनताले सरकारसँग त्यति ठूलो आस राख्दैनन् । र, पर्वका बेला सुतेका सरकारी निकायलाई ब्युँझाउनेतर्फ पनि कोही जागेको भेटिदैन । बजारमा पसलैपिच्छे एउटै उपभोग्य वस्तुका मूल्य किन फरक फरक छन् ? आयातित सामाग्री बजारसम्म आइपुग्दा पसलेले कति नाफा खानु उचित हो भनेर हेर्ने निकाय कमजोर हुदा पनि श्रम गरेर खानेका लागि महगी अग्ला टाकुरा साबित भएका हुन् । अनुगमनको संयन्त्र थोरैमात्र पनि चलायमान हुने हो भने गरिखानेका लागि आय र खर्चबीचको सन्तुलन मिलाउन केही सहज हुन सक्छ ।
(२०६६ असोज ८ को उदघोष दैनिकको आलोपालो स्तम्भमा प्रकाशित)

1 comment:

Anonymous said...

Dai sachai tapai lay uathako bisaya kate marmik ra sandarvik cha.. nee! Satya garebe huna yo sansar ma avisap ho jata dekhe pane sosit, pedet ani thagenu parnay chadbadh pani avav ma manunu parnay badhayata jun adhekansa mechi dekhe mahakali sama faileako nepali ko katha ho. Nepal ma sotantra khula bazaar ko namma bhrma lut garnay kam ra teshlai neyantran garnay nikay ko ghus lay mukh bujo parako cha.

pariwartan sambhav cha.