सात नदिको संगम अर्थात सप्तकोसी। नामजस्तै विशाल आकारको नदि। घुम्न आउनेहरुले अब यहाँ नारायणीका घडियाल गोही देख्न पाउने भएका छन्। पहिले पटक-पटक छाडिएका थिए। ती हराए। अब फेरि यी जन्तुलाई कसराबाट ल्याएर यहाँ छाडिएपछि आगन्तुकका लागि नौलो जन्तु देख्न पाउने सम्भावनाले आकार लिएको छ।
सप्तकोसीमा मगर र घडियाल गोही पहिले पनि देखिन्थे। तर, पछिल्ला केही वर्ष यिनलाई हेर्न पाउनु आगन्तुकका लागि भाग्यशाली चिठ्ठा पाउनु बराबर दुर्लभ भएपछि कोसी टप्पु वन्यजन्तु आरक्षले १० वटा घडियाल कसरास्थित प्रजनन् केन्द्रबाटै झिकाएर यहाँ छाडिएको हो।
'पहिले जसरी छाडिए, त्यसैगरि हराए,' आरक्षका संरक्षण अधिकृत नीलाम्बर मिश्र भन्छन्, 'अब अनुकूलस्थल बनाएर छाड्ने व्यवस्था गरिएकाले पहिलेजस्तो नहोला।' सप्तकोसीमा पहिले पहिले चार दर्जनभन्दा बढी घडियाल गोही छाडेको रेकर्ड छ। माछालाई मुख्य आहारा बनाउने यो जन्तु खान नपाएर, पानीको बहावको दिशा फेरिएर र बढ्दो मानवीय अतिक्रमणले फस्टाउन पाएन।
'फस्टाउने सम्भावना नभएको होइन तर, अतिक्रमण कम गरेर यसपटक जोगाउने उपाय लगाइएको छ,' अधिकृत मिश्रले सुनाए, 'जलचर सुरक्षित भए वातावरणीय सन्तुलनमा मद्दत मिल्छ।' यसपटक घडियाल जोगाउन आरक्षले नदिको विभिन्न भुभागमा खुला रुपमा माछा मार्ने चलनलाई साँघुरो बनाउने रणनीति लिएको छ।
सिमसार संरक्षण तथा सदुपयोग आयोजनाका प्रबन्धक दीपनारायण साह भन्छन्, 'जन्तु जागाउने नाउमा माझीलाई पेसाबाटै विस्थापित पार्ने योजना छैन। बरु उनीहरुलाई वैकल्पिक पेसाका लागि प्रोत्साहित गर्दैछौं।' सुनसरी, उदयुपर र सप्तरीका विभिन्न भूभागमा फैलिएको आरक्ष र यसका बीच भएर बग्ने सप्तकोसीमा आश्रित मलाहाको संख्या नौ सयको हाराहारीमा छ। उनीहरुको दिनचर्या माछाबाटै सुरु हुन्छ। तर, यिनीहरुलाई ठूलो जाल र डुंगा लिएर संरक्षित क्षेत्रमा पस्न बन्देज गरिएको छ। ठूला जाल माछामात्र होइन अन्य ठूला जलचरका लागि बाधा भएपछि आरक्षले यस्तो गरेको हो।
एक अध्ययनअनुसार कोसीको पानीमा ११७ प्रजातिका माछालगायत विभिन्न जलचर पाइन्छन्। पछिल्ला केही वर्ष रोकटोक नहुँदा निर्वाध माछा मार्ने चलन बढेको थियो। सप्तरीको हनुमाननगरदेखि चतरासम्म क्षेत्रका माझीको दैनिकीसग जोडिएको कोसी नदिमा अब माछा मार्नेले इजाजत लिनुपर्ने भएको छ। इजाजत पाउनेले पनि संरक्षित जलचरलाई बाधा गर्न पाउने छैनन्।
पछिल्लोपटक छाडिएका घडियाल जोगाउन कोसी आसपासका जनता पनि सकारात्मक देखिएका छन्। यसपटक घडियाललाई पानीमा छाड्नअघि प्रकाशपुर क्षेत्रमा नदीछेउ अनुकूलन स्थल बनाइयो। बासको अनुकूलनस्थलमा घडियालहरु एक सातासम्म राखिए। अनुकूलनस्थलको घेराबाट कोसीको पानीलाई बुझन पाएका घडियाल अहिले नदिमा छाडिएका छन्।
यसरी छाडिएका घडियालमा चार भाले र ६ वटा पोथी छन्। पाँच वर्ष उमेरका भाले झण्डै १४ किलो वजन र १८० सेमीसम्म लम्बाइका छन्।
आरक्षका अनुसार घडियालको संख्या कोसीमा बढाउने अभियान अढाइ दसकअघि नै थालिएको थियो। पहिलेपटक विस २०४० मा ४२ वटा घडियाल कोसीमा छडिएका थिए। त्यसको दुई वर्षपछि ०४२ मा ४३ वटा गोही कोसीमा छाडियो। चितवनबाट ल्याएर यहाँ छाडिए पनि आगन्तुकले कमैमात्र यसको दर्शन पाए।
त्यसो त मान्छे देख्नेबितिकै पानीमा पसेर लुक्ने यो जन्तु आफूलाई कुनै पनि प्रकारको डिस्टर्ब (बाधा) मन पराउँदैन। परबाट मान्छेको पदचाप थाहा पाउनेबित्तिकै लुक्छ। कोसीको प्रकृति नै विवधिताले भरिएको बुझेका जीवविज्ञानका प्राध्यापक डा. भरतराज सुब्बा भन्छन्, 'जोगाउने अभियान राम्रो हो।'
उनका अनुसार जलचरहरुको संक्षणका लागि नदिमा वर्षका केही निश्चित महिना क्षेत्र तोकेर माछा मार्न बन्देज गरिनुपर्छ। 'त्यसो गरियो भने माछाले फुल पार्न पाउँछ,' उनले भने, 'फुल पार्न पायो भने नै माछा पनि बढ्छ। वर्षभरि जथाभावी माछा मारे प्रजाति नै नासिने खतरा बढ्छ।' कोसीमा घडियालसँगै मगर गोही पनि बेलाबखत देखिएका छन्। तर, बहावमा परे भने ब्यारेज पुगेर पुनः उत्तरतर्फ उक्लन नसक्नु यी जन्तुका लागि संकटका रुपमा छ।
हुन त घडियाल प्राकृतिक बासस्थानमा बाँच्ने दर एकदमै न्यून छ। त्यसमा पनि आहाराको अभावका कारण गोही लोप हुने क्रम बढेको आरक्षले जनाएको छ। नेपालमै अति संकटापन्नमा पर्ने घडियाल हाल चितवनको कसरास्थित घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा ४३० वटा छन्। उक्त केन्द्रले समय-समयमा नेपालका विभिन्न नदीहरुमा गोही छाड्ने गरेको छ। घडियाल छाड्नुको मुख्य उद्देश्य प्राकृतिक वासस्थानमा लोप हुनबाट बचाउनु भए पनि ती गोही आफैं संरक्षित हुन नसक्नुले समस्या भएको विज्ञहरुको भनाइ छ।
- अबधेशकुमार झा, (कान्तिपुर कोसेली पूर्वाञ्चल अंकबाट साभार)





