Tuesday, September 28, 2010

पर्दैन मछली जालैमा

ठूलो सहर माछो छटपटाउँदै छ । ४८ वर्षे भरतमणि सुनुवारले च्याप्प अँठ्याए । समूहका कान्छा सदस्य उपेन लिम्बूले निकोन डी३००एस क्यामेरालाई फोटोबाट भिडियो मोडमा लगे । उनको संकेत पाएपछि 'सेभ महासीर' (सहर माछा बचाउँ) भन्दै सुनुवार चिच्याए, अनि माछालाई तमोर नदिमै छाडिदिए । 
अत्याधुनिक बल्छी बोकेर वर्षका तीनपटक कोशी गड्तिरै गडतिर हान्निने यो धराने टोलीका लागि यसपटकको यात्रा रमाइलो छैन । मौसम, सवारी साधन र शारीरिक श्रम यसका कारण होइनन् । 'पहिलेजस्तो माछा पर्दैन, समूहका जेठा सदस्य टेकबहादुर लिम्बू (६१) कुरा खोल्छन् 'पहिले एकै दिनमा १०/१२ किलोका माछा पर्थे एक/दुइवटा परेपनि हामी मख्ख ।' उनको समूहमा प्रायः चारजना हिड्छन् । खेमराज र्राई (४८), भरतमणि (४८) ,टेकबहादुर र उपेन (३४)।
उपेनका लागि बल्छी खेल्न हिडेको यो १४ औं वर्ष हो । धरानमा कपडाको व्यवसाय गर्दागर्दै पनि अघिल्ला वर्षहरु उनी काम थाँती राखेर हिड्थे । अहिले केही फुर्सदको बेला आएको छ । तर, यात्रामा पहिलेजस्तो रोमाञ्च छैन । माघ-फागुन माछा पर्ने मुख्य समय मानेका उनीहरु वर्षको सुरु र असोजताका गरि तीनपटक निस्कन्छन् । कोशीमा जलयात्राका लागि अहिले मोटरबोट चल्छ । आउजाउ सजिलो र छिटो भएको छ । मुख्य फिसिङ स्पट मानेको सुनकोशी, तमोर र अरुणको संगम त्रिवेणी हो । यहाँसम्मको यात्रा अहिलेको वर्ष सजिलो छ । धरानबाट बढिमा ४० मिनेटको यात्रापछि चतराघाट । त्यहाबाट मोटरबोटमा १५ मिनेटको जलयात्रा । तर, रोमाञ्च घटेको छ । 

०००
'हामीले भनेर हुने हो र, उपेन भन्छन् 'करेन्ट लगाएर मार्छन् , तारजाली थापेर मार्छन् । भुरा पनि नबाँच्ने भएपछि माछा कसरी ठूलो हुन पाउँछ ' रहरका लागि माछा समात्न हिड्ने टोली अहिले रनभुल्लमा छ । पदमार्गमा उनीहरुले गाउँ नै उल्टिएर करेन्ट लगाइ, विष हाली अनि तारजाली थापेर माछा समातेको देखेपछि यस्तो भएको हो । भन्छन् 'इण्डियामा त टुरिस्ट नै आएर फिसिङ गर्छन, यो गेम हो । त्यहाँ संरक्षित क्षेत्र पनि छ । हामीकहाँ केही गर्न ढिला भइसक्यो ।' उनको अनुभवमा जलवायु परिवर्तनले माछाको प्राकृतिक वासस्थानमा प्रभाव पारेको छ । त्यसमाथि जथाभावी मार्ने चलनले भुरासमेत नछाड्दा लोप हुने क्रम नजानिदो पाराले डरलाग्दो बनेको छ । 
'माछी मारन हे दाइ हो' गीत सुन्दा जति मीठो अनुभूति हुन्छ त्यति नै नमिठो भुरा पनि नछाड्ने प्रवृति देखेर हुने उपेनको अनुभव छ । धेरै परिवार खालाछेउ बस्छन् । दाउरा,पानी र माछाका लागि खोलाको भर छ । तर, वर्षमा कुनै दिन यस्तो हुन्न, जहिले आज माछा नमारौ, छाडिदिउँ भनुन् । 
समूहका जेठा सदस्य टेकबहादुरले जागिरे जीवनमा सिंगापुर, मलेशिया र ब्रुनाइको अनुभव गरेका छन् । ब्रनाइमा रहँदा विदाका बेला समुद्रमा गएर माछा मारेको अनुभव उनीसँग छ । 'विदेशीले माछा खानका लागि मात्र मार्दैनन्, यो एकखालको शोख पनि हो, उनी भन्छन् 'समात्छन् अनि फेरि बाँच्ने गरि पानीमै छाडिदिन्छन् । हाम्रो शोख पनि त्यस्तै त्यस्तै छ ।' रिटायर्ड जीवनका फुर्सदका क्षण उनलाई नदि र पाखा घुम्दा रमाइलो लाग्छ । अनि साथ दिने टोलीमा माछा समात्ने फिसिङ रड लिएर हप्तौं घुम्न मन लाग्छ । 'मान्छे शान्ति पाउन चाहन्छ, त्यो पानी कीरोको ज्यान लिने मनशाय हुँदैन, उनी थप्छन् 'कतिपल्ट कहाँ कति ठूलो अनि कति किलोको भेटिदो रहेछ भन्ने जिज्ञासाले पनि हामीलाई घुमाउँछ ।'  माछा मारेरैमात्र गुजारा चलेको ठान्नेहरुले पनि जोगाउनमा ध्यान नदिए कुनै समय नदिमा माछा नै नभेटिने अवस्था आउला भन्ने चिन्ता मनमा आउँछन् । भन्छन् 'हामीले मार्ने मात्र होइन जोगाउन पनि ध्यान दिनुपर्छ । जोगाएमात्र बढ्छ । फस्टाउँछ ।' 
०००
सुनकोशी, तामाकोशी, दूधकोशी, लिखु,तमोर, इन्द्रावती र अरुण नदि सुनसरीसम्म आइपुगेपछि सप्तकोशी बन्छन् । हिमालयबाट आउने स्रोतका कारण सातैवटाको जलस्तर हिउँदमा केही कम भएपनि पुरै कहिल्यै सुक्दैनन् । माछा पुग्न सक्ने स्रोतदेखि पुछारसम्म नै माझी परापूर्वकालदेखि सक्रिय छन् । सप्तकोशीमा झन भीड छ । माथिल्लो भेगमा डुङ्गा लिएर गइ जाल हान्ने चलन नदेखेकाहरु सप्तरीको हनुमाननगर आइपुगे भने आतिने अवस्था छ ।  
दोलालघाटका माछा मन पराउनेहरु हुन् वा घुर्मी पुग्नेहरु, सबैका लागि सुनकोशी माछाको दरिलो स्रोत छ । सप्तकोशी नदिका माछा राजधानीमा खान चाहनेहरुका लागि अब सजिला दिन छैनन् । कोशीकै माछामा विद्यावारिधी गरेका डा. भरतराज सुब्बाले २०४३ देखि माछाका प्रकार र अवस्था चिनेका हुन् । कोशीको बानी, पानी र तिनमा आश्रतिहरुको प्रजाति केलाउँदै विद्यार्थी पढाउने उनका लागि सम्झेर ल्याउदा दिक्क लाग्छ । 'धेरै प्रजाति लोप हुने अवस्था छ, भन्छन् 'वर्षका केही महिना माछा मार्न पुरै बन्देज गरिनुपर्छ ।' दक्षिणबाट फूल पार्न माछा उत्तर लाग्छन् । उनीहरु गहिरो ठाउँ छाड्छन् । अनि फुलबाट सजिलै भुरा निस्कने स्थान छनोट गर्छन् । सबैतिर सिकार हुने भएपछि माछाका लागि सुरक्षित स्थान असम्भव हुँदै आएको उनको अनुभव छ । बग्ने पानी र जमेका पानी हुने जलाशयका माछाको प्रकृति र प्रजातिमा भिन्नता छन् । दुइ दसकअघि कोशीमा १ सय २२ प्रकारका जलचर पाइने तथ्यांक कसैले सार्वजनिक गरेको थियो । पछिल्ला समय यहाँ कति जलचर छन् भन्ने अनुसन्धानका लागि कसैले काम नगरेको उनी बताउँछन् । 
त्यसो त फैलावट ठूलो भएको सप्तकोशीमा अनुसन्धान चानचुने पनि छैन । नेपालमा पाइने माछाका विषयमा 'इथियोलोजी अफ नेपाल' नामक पुस्तकमा डा. तेजकुमार श्रेष्ठले रैथाने र आयातित प्रजाति गरि २ सय ३२ प्रजाति पाइने उल्लेख गरेपनि हिम नदीका प्रकृति र तराइ भेगको जलप्रवाहमा पाइने प्रकारहरुको अध्यनन अझै बाँकी नै छ । 
०००
कोशी ब्यारेजमा पुग्नेहरुका लागि अहिले कोशीकै माछा खरिद गर्न वा खान पाउनु भाग्यमा भर पर्नुपर्ने भएको छ । बाह्रैमास एकैनाश माछा मार्ने चलन निर्वाध हुनुले यस्तो भएको हो । कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव भन्छन् 'अहिले पहिलाजस्तो छैन । एक/दुइ किलो माछा पर्‍यो भने माझीले भाग्य मान्छन् ।'  रहु, सहर, जलकपुर, कोसिया,पौची र गोछलगायत भनिने माछाका नाम यहाँ चलेका हुन् । तर, ठूला आकारमा यिनलाई जालमा पार्न सक्नु युद्ध जिते बराबर छ ।  केही वर्षअघिसम्म यहा मारेर काठमाडौ र मुलुकका अन्य सहर पुर्‍याइने माछा अहिले आयातितको भरमा छ । कतिपय मत्स्यपालक किसानका पोखरीले पनि बजारको माग धानेको छ । यादव भन्छन् 'पहिले जसरी अब कोशीबाट बाहिर पठाउने गरि माछा पर्दैन ।' 
सुनसरी, सप्तरी र उदयपुर समेटेर संरक्षित भनिएको कोशी टप्पु वन्यजन्तु आरक्षको मुल क्षेत्र नदिको भंगालोबीच छ । संरक्षित क्षेत्र घोषणाका ३४ वर्षपछि पनि आरक्ष आसपासको बानी फेरिएको छैन । कतिपय मलाहा परिवारका युवाले पुर्ख्यौली पेशा छाड्नुका पछि संरक्षित क्षेत्रमा लागू नियमभन्दा दिनभरि जाल हान्दा पनि रितो भाडो बोकेर फिर्नुका निराशा बढि छन् । आरक्षका रेञ्जर अशोक रामको बुझाइमा जथाभावी माछा मार्ने चलनले आश्रतिहरुलाई नै अभर पार्ने अवस्था आएको छ । 'पानीमा पाइने माछा, घोघी र अरु जीवहरु मान्छेको मात्रै भोजन होइन यसले चराहरुलाई पनि जीवन दिन्छ, उनले भने 'मान्छेले सबै नाशेपछि यसको असर चक्र जसरी प्रकृतिमा पर्छ । यो धेरैले बुझेका छैनन् ।' 
आरक्षले संरक्षित क्षेत्रभित्र पनि नदिमा माछा मार्न अनुमति पूर्जी दिन्छ । तीन जिल्लाका करीव नौ सय माझी सप्तकोशीमा निर्भर छन् । आरक्षले डुङ्गा चढेर करेन्ट जाल लिइ माछा मार्न दिदैन । तर, माझीहरुले त्यो बानी छाडेका छैनन् । छरिता डुङ्गा र गस्ती गर्न पोख्त जनशक्तिको अभाव आरक्षलाइ छ । यसको फाइदा अनधिकृत रुपमा माछा मार्नेले उठाएका छन् । लामो घेरा राखेर एक ठाउबाट अर्को ठाउ लामो समय थापिने करेन्ट जालले साना ठूला सबै आकारका माछालाई एकपटक फरेपछि फुत्कन दिदैन । यही जाल भुरासमेत नाश्ने कारक बनेको छ । संरक्षित क्षेत्रभित्र हुने अनधिकृत आवतजावत रोक्न आरक्षसग योजना र स्रोत नभएको कर्मचारी गुनासो गर्छन् । त्यसबाहेक जिल्लाहरुले माछामा लगाउने ठेक्का पनि छुट्टै छ । असारदेखि असोजसम्मका चार महिना माछाका लागि फूल पार्न उपयुक्त समय मानेका कतिपय माझी ती फुल नै भेटेपनि छाड्ने पक्षमा भेटिन्नन् ।  
माझी मल्लाह सञ्जालका अध्यक्ष गुलावी मुखिया भन्छन् 'माछा जोगाउनु पर्छ भन्नेमा माझी कै हित छ । तर, सरकारले खाली बसेका समयका लागि केही सोचिदिनु पर्छ ।' वैकल्पिक पेशाको बाटो नदेखेका कारण नदि नै बाच्ने आधार भएको उनको गुनासो छ । 
पुराना मलाहाहरुले थरि थरिका जाल, नयाँले करेन्ट, विष प्रयोग गरि नदिमाथि हमला जारी राख्दा दिनदिनै माछा जालमा पर्ने अवस्था घटेको छ ।

Saturday, September 18, 2010

अस्पतालअघि एउटा मध्यरात

१२ बजेपछि विराटनगरमा चिया खान मन लागे सजिलो छ । कोशी अञ्चल अस्पतालको गेट टुङ्गो । कामले महिनाका दुइ साता १२ नघाएकै छ । छिटो नहुनुका पछि चिन्ता लिएर बस्नुभन्दा चिया खाएर निन्द्रा र थकान मेट्नु जाती हुन्छ धेरैपटक । धेरै निन्द्रा लागेका बेला बाइकको गतिमा ध्यानको सक्रियता कम होला भन्ने डर । अनि यदाकदा बाटा रोक्ने वर्दीधारीका प्रश्नमा उठ्ने रीस । चिया पिउञ्जेलको समयले घर पुग्नुका १० मिनेटलाई उर्जाशील बनाउने भान हुन्छ । हो होइन कसले खोजोस् । चलेको यस्तै छ । 
बजारका सडक सुनसान छन् । ९० किमि प्रतिघण्टाको स्पीडमा हुइकिँदा पनि दुर्घटना हुने डर छैन । अन्त कतै चिया पसल भेटिहाल्न सजिलो छैन त्यसैले मुख्य बजार छिचालेर पुगिने गेट चिया । लेट चिया ।  
ठेलामा चिया बेच्नेहरु तीन जना छन् । जस्कोमा गएर खाएपनि हुने । एफएम घन्किएको छ । चिया घोटाइ मुख्य व्यापार । नजिकका औषधि पसलको चेपबाट तार तानेर ठेलामा झुण्डिएका सीएफएलको मधुरो प्रकाश । ग्याँस चुलो र मट्टतिलका स्टोव । बेला बेला चिया छान्ने सफा पार्दा ज्वालामा राखेपछि एक प्रकारको गन्ध छ । केही डढेजस्तो । 
चुलो बलेका ठेलामा विस्कुटका पाकेटसँगै रजनीगन्धा र गुट्खा अनि सुर्तीका प्याकेट झुण्डिएका छन् । 'त्यो रेडिमेड चिया चाहि दिने हैन नि' भन्नै पर्छ । कारण, धेरैबेर पकाएर गाढा रंग परेको चिया । अनि चियापत्तीको थुप्रो भाँडोमा देखिन्छ । ग्राहक थपिए त्यहीमाथि पानी र दूध थपिन्छ । छिनमै तयार । उसले त्यही दिन्छ । भनियो भने उसले नयाँ ग्राहकलाई नया वान लगाउँछ । नभए रेडीमेडमै परिन्छ । ठ्वास्स गन्हाउने, तीखो गुलियो, पानीको मात्र बढी भएपनि चिया । जे होस पानी परेको छैन । वर्षात भइरहे यहाँ सजिलै चुस्की लगाउने रहर अलि महँगो हुन्छ । चियाले निन्द्रा भगाउँछ । 
छेवैमा बेञ्चहरु छन् । तिनमा रिक्शावालका आफ्नै भावभंगिमा । अनि विरामीका कुरुवा । लामखुट्टे लाग्छ । आफैलाई मन लागेको औषधि नशामा र्सूइ हानेर लिन पल्कने 'डाक्टर' भनिने भीडका सदस्य पनि यदाकदा भेटिन्छन् । तिनमा एउटा गफ दिइरहेको छ । अरु 'अँ अँ' भन्दै ज्ञानी मान्छे जसरी सुनिरहेका छन् । बेला बेला यस्ता डाक्टर पाखुरा देखाउने भेस्ट, हाफ पेन्ट र तीव्र पीकप भएको बाइकमा देखापर्छन् । अनि कोही मोवाइलमा राखेको गीत सुनाउछन् । रिक्शावालको मोबाइलबाट गीत घन्कन्छ 'मिस कल मार तारु कीस देबु का हो ।' 
अस्पताल अघिको मध्यरात बेग्लै प्रकारको छ । सबैको आ-आफ्नै धुन । बेला बेला प्रहरी गस्तीको भ्यान आइपुग्छ । दलबल ओर्लन्छ । चिया पिउँछ । गफ सुन्छ । अनि फेरि घुमन्ते ड्युटी बजाउन हुइकिन्छ । एम्बुलेन्स साइरन बजाउँदै आउँछ । उसको हेडलाइटको तीब्र प्रकाश आँखा खाने खालको लाग्छ । हुन त प्रहरी भ्यानले पनि बत्ती डीम पार्न जानेको छैन । त्यो गाडीलाई लाग्छ- कसैलाई उसले बाधा पार्दैन । तर, हेडलाइटको तीव्र प्रकाशविरुद्ध मध्यरातमा कसले प्रहरीसँग प्रतिवाद गरोस् ।
रिक्शावालहरु धेरै विरामी लिएर आएका बस्छन् । कतिचाहि अस्पतालबाट विरामी अन्यत्र लानुपर्ने भए दोब्बर भाडा पाउने आसमा रातको ड्युटी बजाइरहेका भेटिन्छन् । सरकारी अस्पताल हो । दिनभर सुकिला स्वास्थ्यकर्मीले दावी गरेका हुन् । अस्पतालले सेवा राम्रो दिएको छ । २४ घण्टा खटिएपनि 'जस' नाउँको केही पाइन्न । काममा हौसलाभन्दा निराशा दिनेहरु धेरै भए । उज्यालोमा उनीहरुका कुरा यथार्थ भान हुन्छ । तर, राउण्डका डाक्टर नआएर नजिकको नर्सिङ होममा विरामी लैजान रिक्शासँग कुरुवाको चलेको भाडाको विवादले त्यो पुष्टि गर्दैन । विरामीको अवस्था बिग्रिएको चिन्तामा कुरुवा भाडा घटाउनेमा बढि अडान राख्दैन । जसरी हुन्छ उसलाई आफ्नो मान्छे निको हुनुको चिन्ता छ ।  

छेवैमा बसेर चिया पिउँदा कतिको चुरोटको धुआँसगै गन्हाउने सास ठोक्किन्छ । धुआँले भन्छ कोही कोही चुरोटमा गाँजा भरेर पनि सर्को लिइरहेका छन् । यतिखेर कसैले कसैलाई वादविवाद गर्ने बेला होइन । कोही आफ्नै सुरमा व्यथा बकिरहेका छन् । 'हिजो किस्ताको पैसा बुझाउन पुगेन, मालिकले रिक्शा नै लग्यो, उ भन्छ 'आज अर्कैको लिएर आएको । भोली चाहि दिन पुग्छ । मनग्ये भएको छ ।' एउटा विरामी बोक्दा उसले भनेजति आएपछि अरुलाई कुदाउनु नकुदाउनु फरक नपर्ने भएको छ । त्यसैले उसले अलिकति ठर्रा लगाइसकेको रहेछ । 
व्यथा साट्दा साट्दै उनीहरुका लवजमा समान्यसरह छाडा बोली चल्छन् । छेवैमा एउटी महिला पनि छिन् । उनलाई केही फरक परेजस्तो देखिन्न । पुरानो मैलो सारी, जिङ्ग्रङ्ग कपाल । शायद उ मागेर गुजारा गर्दी हो । केहीबेरमा उ पसलेलाई चिया माग्छे । पसले जवाफमा तथानाम गाली गर्छ । अनि पसलेको कामदार प्लाष्टिकको जगले टाउकैमा पर्नेगरि परबाट पानी हुत्याउँछ । भन्छ 'जान्नस भने कुटाइ खान्छेस् । खेदी खेदी कुट्छु ।' उ फत्फताउँछे अनि सानो पोको च्यापेर विस्तारै पर पर लाग्दै देखिन छाड्छे ।  
चिया पसल नजिकै कुकुरको एउटा समूह आपसी संघर्षमा देखिन्छन् । वर्षा भइरहने समय कम हुँदै आएको बेला हो यो । छिप्पएएपछि रात केही शीतल छ । त्यसैले ५ वटा डागोको संघर्ष एउटी कुकुर्नीका लागि चलिरहेको छ । धेरै हल्ला हुन्छ । अनि एउटा रिक्शावाल निस्कन्छ । र, ती कुकुरलाइ लखेट्छ । भागेपनि त्यो समूहको जुधाइ र भुकाइ घटेको होइन ।

दिनभर भागदौडमा व्यस्त सहर सुतेको छ । उठेका कोही छन् भने यी चिया पसले, रिक्शाचालक, विरामी, तिनका कुरुवा, उपचार गर्ने र नगर्ने डाक्टर । बैंकका पाले । बजारमा सटर कुर्न ड्युटीमा पालो परेकाहरु । अनि प्रहरी । चिया सिध्याएपछिको यात्रा जलजला मोड हुदै ट्राफिकचोक, जनआन्दोलन चोक भनिने महेन्द्रको सालिक भत्काइएपछिको ठूटो चोक भएर बसपार्क । अनि रोडशेष हुदै तल्लो बाटो मिल्सएरिया । सुनसान सडक । यदाकदा बुधहाट चोकमा बाइक रोकेर ढाडको झोला हेर्न खोज्ने प्रहरी आज भेटिएनन् । रोडशेषमा रोकियो । टोली यता रहेछ । झोला देखाइयो । अघि बढियो । कोशी प्रजेक्ट चोकमा अस्पताल गेट जस्तै कुकुरको समूह । यहा दुइवटा स्पीड ब्रेकर छन् । सैनिक टोल नाघेपछि कुकुर जुलुस देखियो । अचम्म । आज कुकुरले मलाइ भुकेनन् । बाइक पच्छ्याउदै दौड लगाएनन् । त्यो सेतो-खैरो टाटे कुकुर आज ब्यस्त रहेछ । उजस्ता गन्न नभ्याइनेको भेला । करीव ५० हाराहारी होलान् । यतिकाको जमात एकैपटक पहिले देखेकै होइन । कति जोडिएका छन् । कति प्रयासमा छन् । यति संख्याका भेला मान्छेको हुँदो हो त कुनै हलबाट सिनेमा हेरेर फिरेकाको जमात आएछ जस्तो लाग्थ्यो होला । मनले भन्यो - 'कात्तिक आएछ ।'
बासबारीचोकदेखि गौतम बुद्ध स्कुलसम्मको  बाटो चौडा, सडक बत्ती भएको छ । अशोक टेक्सटायल अघिको सडकमा धेरै खाल्डाखुल्डी । कुकुरले भुक्दै बाइकसग दौड खेल्न मन पराउने मेरा लागि यो तेस्रो स्थान हो । यहा आज उनीहरु भेटिएनन् । सडक सुनसान । सिम सिम पानी आयो । रेनकोट झिकियो । मोबाइल बज्यो । हेरें  । ढिला किन भयो भनेर गृहमन्त्रीको ताकेता थियो । रिसिभ गरिसक्दा घर पुग्ने दूरि । नम्बर हेरेर गोजीमा राखियो । मोबाइल बजिरह्यो । चार नम्बर गियर ।  ५० को स्पीड । एक्सिलेटर घटेन । कसैका लागि हर्न दिनुपर्ने र ब्रेक लगाउनुपर्ने अवस्था थिएन । कतैबाट समयसुचक घण्ट ठ्याङ ठ्याङ गर्‍यो २ बजेछ ।

Monday, September 13, 2010

महिला दुर्व्यसनीलाई जोखिम अधिक

विराटनगर- 'माल यति डोज लिदा पनि केही नहुने । मेरो पेटमा के छ हौ ?' वाक्यमा आनन्द, क्रुरता, निराशा, आक्रोश अनि अत्याश । धेरै खालका भाव छन् । लागूपदार्थ सेवनकर्ता महिलाले परामर्शदात्रीसँग यी धेरै भाव मिसाएर गरेको प्रश्न हो यो । 
            उनी गर्भवती छन् । प्रसुतीको समय अब धेरै टाढा छैन । तर, बच्चा जन्माउने कि नजन्माउने भन्ने दुविधा हटेको हैन । दिनहुँ जसो परामर्श दिने सामाजिक कार्यकर्ता भेटेपनि उनले पाउने सल्लाह गम्भिरतापूर्वक लिन्नन् । लागूऔषध प्रयोगकर्ताका लागि क्षति न्यूनीकरणका क्षेत्रमा काम गरेमध्येका तेस्रो वर्ष सुमी खड्कालाई बेला बेला अचम्म लाग्छ । भन्छिन् 'आउनुहुन्छ । सोधेको कुराको जवाफ दियो । मन कता कता उडेको हुँदोरहेछ ।' अघिल्ला दुइ वर्ष उनले लागूऔषधका पुरुष प्रयोगकर्ताको क्षेत्रमा काम गरिन् । १० महिनायता आएको नयाँ कार्यक्रम अन्तर्गत महिलाका लागि गर्नु परिरहेको छ । छिटो नखुल्ने, मित्रता ढिलो गर्ने अनि झट्ट अरुलाई नपत्याउने बानी भएका महिला दुर्व्यसनीलाई पहिचान गरी परामर्श दिनु समाजिक कार्यकर्ताका लागि चूनौति बनेको छ । 'यतिको समय जेन्सहरुका लागि काम गरियो, ठीकै भयो, खड्का भन्छिन् 'महिलाका लागि काम गर्न धेरै मेहनत पर्छ ।'
                    विराटनगर उपमहानगरपालिकाको भारतीय सीमासँग जोडिएका क्षेत्रमा लागूऔषध प्रयोगकर्ताका लागि आवतजावत निर्वाध छ । त्यसैले यहाँको रानी मिल्सएरिया हुँदै जोगबानी गएर लागूऔषधको 'डोज' लिइ फिर्नेको जमात दिनहु देख्न पाउनु नौलो छैन । सीमावारी बन्देज गरिएका लागूऔषध पारी खुला रुपमा पाइन्छन् । सीमापारका व्यापारीको मनग्ये आम्दानी हुने भएपछि प्रयोगकर्तालाई खान, लगाउन अवरोध हुँदैन । सिकारुहरु विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल र फेन्सिडलजस्ता कडा प्रकारका 'कफ सीरप' खान्छन् । बढ्ता बानी परेकाहरु सूइबाट लागूऔषध नशामा लिन्छन् । सूइबाट लिनेहरुले एउटै सिरिञ्ज प्रयोग गर्दा एचआइभी संक्रमणको जोखिम बढ्छ । यही जोखिम कम गर्न यस क्षेत्रलाई लक्ष्य गर्दै विभिन्न संस्थाले क्षति न्यूनीकरण कार्यक्रम चलाएका छन् । यो अन्तर्गत यस्ता प्रयोगकर्तालाई 'ड्रप इन सेन्टर' मा बोलाएर परामर्श दिइन्छ । लागूऔषधको मात्रा घटाउने सल्लाह तत्काल अवलम्वन गर्न नसक्ने अवस्थाकाहरुलाई साटासाट नगरुन भनेर सिरिञ्ज नै वितरण गरिन्छ । संस्थापिच्छे संख्याको तथ्यांक फरक भएपनि यस क्षेत्रमा नियमित लागूऔषध सेवन गर्नेहरु आठ सयको हाराहारीमा छन् ।
                 पुरुष प्रयोगकर्ता हुनु नौलो छैन । तर, पछिल्ला केही वर्षदेखि यस क्षेत्रमा लागूऔषधका महिला प्रयोगकर्ताको संख्या बढ्दो छ । यिनमा काम गरिखाने, विवाहित, विभिन्न परिस्थितिपछि घर छाडेकाहरुको संख्या अधिक छ । रिचमण्ड फेलोसिपको महिला लागूऔषध प्रयोगकर्ताका लागि क्षति न्युनीकरण कार्यक्रमका प्रमुख काम गरिरहेका अभिष्क धिमालका अनुसार १० महिनाका अवधिमा ९७ जनामात्र महिला सम्पर्कमा आएका छन् । यीमध्ये मोरङका ५७ जना छन् । 'धेरैको स्टाटस खुलाउन मिल्दैन तर, हामीले जोखिम घटाउन सम्पर्क बनाएका छौ, उनले भने 'धेरै अझै खुल्न चाहदैनन् । तर, उनीहरु अत्यधिक जोखिममा छन् ।' पुरुषहरु जुनसुकै परिस्थितिका लागि तयार रहने भएपनि महिलाका लागि दुर्व्यसनभित्र पनि अधिक जोखिम भएको उनले बताए ।
             लत लागेपछि लागूऔषध सेवनका लागि जोसग पनि सुत्न तयार हुनु र नशामा रहेका बेला त्यस्तामाथि बलात्कारका घटना हुनु मुख्य जोखिम रहेको उनको भनाइ छ । सम्पर्कमा आएकामध्ये केही गर्भवती छन् । उनीहरुलाई गर्भ कसको हो, राख्ने कि पतन गराउने भन्ने दुविधामै कानूनीतवरले गर्भपतन गर्न सकिने अवधि गुज्रिसकेको छ । यस्ता प्रयोगकर्तामा होटल रेस्टुरेन्टमा काम गर्ने अधिक छन् । पुरुष प्रयोगकर्ताको संगतले बानी परेकाहरु उनीहरुलाई नै साथी बनाइ लागूऔषधको 'डोज' लिन पारी धाउने गरेका छन् । मोरङ जिविसको एड्स समन्वय शाखाका अधिकृत झमक भट्टर्राई भन्छन् 'उनीहरुलाई जोखिम धेरै छ ।  तर, खोजेर पनि उनीहरुको जोखिम घटाउने काम गर्न खोज्नुका पछि चूनौति अनगिन्ती छन् ।' 

Friday, September 10, 2010

बानी फेर्दै बहिरा स्कुलमा बालबालिका


विराटनगर - 'छोरी बोल्दै बोलिन । पछि बोल्छे होलाजस्तो लाग्यो । स्वास्थ्यकर्मीले जिब्रोको मासु जोडिएको छ भनेथे । उपचार पनि चलाइयो । स्कुल पठाउन थालेपछि मात्र थाहा भयो उनमा सुन्ने र बोल्ने क्षमता रहेनछ । मोरङ सलकपुर-९ की जशोदा दाहाल भन्छिन्, 'थाहा पाइयो, दुई/चार दिन चिन्ता भयो । अनि यसलाई कसरी अरूसरह बनाउने भन्ने खोजी गर्न थालियो ।' गर्मी बिदा सकिएपछि खटिरा आएकाले छोरीलाई बिसञ्चो छ । 'बिसेक भएर केही दिनपछि स्कुल आउँछे है,' विराट बहिरा माविमा आएकी दाहालले भनिन्, 'पढ्न थालेपछि उसको बानी धेरै फेरियो । अहिले ऊ आफूसरह अरू सामान्य केटीभन्दा कम छैन ।'
जसोदाकी छोरी जानुका ७ कक्षामा पढछन् । स्कुलको बानी नलागुन्जेल जानुका जिद्दी थिइन् । उनलाई भनेको हुनैपथ्र्यो । 'सकिँदैन, हँुदैन भनेर बुझाउन नसकिने,' जसोदा भन्छिन्, 'अहिले ज्ञानी छ । फेरिएकी छ । ऊ धेरै कुरा बुझ्छे । पढ्छे, सघाउँछे पनि ।'
पढाइले आफ्नो सन्तानको बानीमा गरेको सुधार उनले मात्र अनुभव गरेकी होइनन् । धनुषा ननुपट्टी-२ का महेन्द्र चौधरीको घरमा पनि परिवारका सदस्यलाई त्यस्तै लागेको छ । महेन्द्रका पुत्र ललन १० कक्षामा पढ्छन् । राजविराजमा प्राथमिक शिक्षापछिको पढाइ गर्न विराटनगर आएका उनी अहिले सांकेतिक भाषामा पारंगत छन् ।
'स्कुल आएकै कारण आत्मविश्वास बढेको छ,' भन्छन्, 'म गाउँमै थिएँ भने पढ्नु किन पर्ने रहेछ भन्ने थाहा हुन्थेन ।' पढाइले आफू कान सुन्न र बोल्न नसक्ने भएकै कारण केही गर्न सकिन्न भन्ने हीनता हटाएको अनुभव उनलाई छ । यस्तै अनुभव मोरङ बेलबारी-४ घर भई ९ कक्षामा पढ्ने अफसाना खातुनलाई पनि छ ।
उनको परिवारमा ५ कक्षामा पढ्ने बैनी र अब स्कुल आउन थालेको सानो भाइ आशिकसहित तीनैजना उस्तै सुन्न र बोल्न नसक्ने छन् । 'स्कुल आएपछिको संसारै उज्यालो अनुभव हुने रहेछ,' अफसानाले संकेतमै भनिन्, 'हामी घरमै बसेका भए ज्ञानको आँखा कसरी खुल्थ्यो ।' अफसानाजस्तै खोटाङको माक्पा-३ का दाजु-बैनी मनिता र शेरबहादुर पनि पढ्न पाउँदा आफूहरूलाई फेरिएको अनुभव गर्छन् ।
यहाँ सुन्न र बोल्न नसक्ने बालबालिकालाई माध्यमिक तहसम्म पढाइन्छ । अहिले १० कक्षासम्म १ सय ४२ बालबालिका अध्ययनरत छन् । 'पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो जसबाट सुधारिन्छ,' प्रधानाध्यापक तुलसीराम श्रेष्ठ भन्छन्, 'पढ्ने-खेल्ने वातावरण मिल्दा आफू कुनै पनि हिसाबले कमजोर छैन भन्ने अनुभव हुन्छ ।'
यो विद्यालय अहिले पूर्व क्षेत्रकै बहिरा बालबालिकाको शिक्षा आर्जनको मुख्य थलो बनेको छ । कमजोर आर्थिक अवस्थाका केटाकेटीबारे श्रेष्ठ भन्छन्, 'तर, सिकाइ क्षमता अचम्मको छ । पढ्न थालेपछि उनीहरूको छिट्टै रिसाउने, हठ गर्ने बानी घटेको छ ।' बालबालिकालाई विज्ञान र गणित पढाउँदै आएका शालिग्राम चौधरीको अनुभवमा विद्यालयस्तरको पाठ्यक्रम सुन्न र बोल्न नसक्नेहरूका लागि सहयोगी बन्न सकेको छैन । 'कतिपय शब्दका संकेत छैनन्,' उनी भन्छन्, 'विज्ञानका कति कुरा त उनीहरूलाई कसरी बुझाउने होला भन्ने अलमल हुन्छ ।'

Monday, September 6, 2010

उनीहरु सोध्छन्

फेशबुके र जीमेलको च्याटमा भेटिनेहरुको साझा प्रश्नको उत्तर फर्काउदा फर्काउदै अफलाइन बस्न मन लाग्छ । मलेशिया, कतार, अफगानिस्तान, पाकिस्तान, मालद्धीप्स् , मुम्बइ, कोरिया, जर्मनी,टर्की, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे र अमेरिकाका विभिन्न राज्य । अनि अहिले झट्ट नाम लेख्न छुटेका कता हो कता । नेपाली जहाँ छन् , उनीहरु देश चिन्ताको  गर्ने रहेछन् । उनीहरु सोध्छन् 'को बन्छ प्रधानमन्त्री ? कहिले देशले राजनीतिक निकास पाउँछ ?' के हामी भविष्यवक्ता हौं र फ्याट्ट भन्दीउ ।
त्यसो त हामी नेपालीको बानी कुनै डाक्टरभन्दा कम कहिल्यै भएन । पेट वा टाउको दुख्यो, नभए अर्थोकै केही भयो भन्ने गुनासो भुइमा खस्न नपाउँदै उत्तर आउछ 'मैले यस्तो औषधि खाथेँ, तँ पनि त्यो ट्राइ गर चट्टै हुन्छ चट्टै ।' ओखतीका लागि दिइने यस्ता सजिला सल्लाहले कहिलेकाही गाह्रो पार्छ । पारेको छ । कारण, रोगको अवस्था, रोगीको उमेर, शारीरिक क्षमता आदि सबै हेरेर स्वाथ्यकर्मीले औषधिको सल्लाह दिनेहुन् । परीक्षण बिना नै औषधि खाँदा टाउकोको दुखाइ कम गर्ने ओखती झाडापखाला रोक्न काम लाग्ला भन्दै खाएजस्तै हुन्छ । तर, यसरी दिनेजस्तो सल्लाह सुझावले नेपाली राजनीति चल्दैन । चलेको पटक्कै छैन । बेकम्माहरुको खेल । सबैलाई थुनेर सफा पार्नुजस्तो ।
जनआन्दोलन-२ चलिरहँदा जब तत्कालीन राजाले दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरेका थिए । त्यसबेला छिमेकले हतारिएर सो वक्व्तयको स्वागत गर्दा पनि आन्दोलन थामिएन । नेताहरु नै छक्क परे । उनीहरुले कल्पना पनि गरेका थिएनन् अहिलेजस्तो ढलीमली होला भनेर । अहिले तिनै आन्दोलनमा सहीद भएकाहरुका परिवारले के सोच्दा हुन्  किन व्यर्थै गुमेछ हाम्रो आफन्तको ज्यान ?
च्याट साइटहरुमा साथी बनेकाहरु अहिले गाउँघरको हाल खबरभन्दा पहिले देशको राजनीति कता जाँदैछ ? के होला ? भन्ने सोध्न रुचाउँछन् । फेरि उही पट्यारलाग्दो विषय राजनीति । युवालाई चासो भएको विषय होइन । तर, अछुतो भइरहन पनि नमिल्ने । मलाइ पटक्कै रुची छैन । साच्च् रुची छैन । तर, पत्याए पो । बिग्रिएका सबैथोक राजनीतिसँग जोडिएको मुलुकमा हामी नै कहाँ सप्रिएकाहरुको श्रेणीमा छौ र !  सत्तामा शक्ति छ । र, शक्तिको आड पाउने दौडका लागि सबैको आ-आफ्नै धुन । हरेक सरकारी संयन्त्र दल र तिनको प्रभावलाई छाम्ने, अनि आफ्ना अनुकुलको बनाउने प्रयासमा रहेको दौडधुप देख्न पाउनु नौलो दृश्य रहेन ।
शक्तिका लागि सत्ता । टिकिरहने अभ्यासका लागि सत्ता र अस्तित्व टिकाउने खुइल्याउने,पाखा लगाउने, हराउने, आउने-जाने सबैखालका अभ्यासका लागि दलहरुको एकमात्र ध्येय यही भइरह्यो । हाम्रो निराशा यहीनेर छ । म्याद थपिएपछि नयाँ संविधानको  माधवकुमार नेपालले दिएको राजीनामापछि रामचन्द्र र प्रचण्डको दौडले छायाँमा पारेको छ । छैटौं चरणमा पनि दुवैको सत्तालिप्साले लक्ष्य पाउन सकेन । पछारिएको पछरिएकै भए ।
राजनीतिक समीक्षकहरुको राय जेसुकै रहोस् तर, मलाइ लाग्छ आफ्नो मत पुगेको सरकार भएका बेला हतारिएर प्रचण्डले राजीनामा दिनु गलत थियो । गरे गरिहाले । अहिले त्यही सत्ता पाउन केही गर्न पछि परेनन् । लाज पनि पटक्क नहुने रहेछ । अनि तमाम विरोधका बावजुद टिकीरहेको देखाएका माधवकुमार नेपालले पनि राजीनामा दिएको समय अनुपयुक्त थियो । न प्रचण्डले उनले भनेजस्तै रुक्मागद कटवालको केही बिगार्न सके, नत माधवकुमारले संकट टार्न सके । दुवैले संकट बढाएमात्र ।
दुवैको राजीनामा प्रसङ्गमा मिलेको एउटै तन्तु - पार्टीको आन्तरीक दवाव । हुन त मान्छेलाई घरले आधार नदिने हो भने टिक्नै सक्दैन । अनि दुवैको घर भनेको पार्टी नै थियो शायद । दुवैका लागि क्षणिक आवेशमा बगेको आन्तरीक दवाव दिने तत्वका लागि देश ठूलो भएन । आन्तरीक कलह नै ठूलो भयो । दुवैले राजीनामा दिए । एउटाको सत्ताप्राप्तिको संघर्ष छैटौपटक प्रधानमन्त्रीको चुनावमा भएको हारपछि पनि जारी छ । अर्काको सजिलो बाटोको ताक छ एमालेको झलनाथ समूह । न   मिल्न सक्ने , नत अरुलाई सघाउन नै सक्ने । तर, जसरी पनि जस चाहिने । भुमिका चाहिने ।
इतिहास बोकेको प्रजातान्त्रिक पार्टी भनाउने कांग्रेसलाई पनि पटक्क लाज लागेको छैन । जसरी पनि सत्ता चाहिएको छ । दलहरु बग्रेल्ती छन् । कोही मिल्न नसक्ने । कोही एकअर्कालाई सघाउन नसक्ने । यस्तो अवस्था कहिलेसम्म रहने ? नेपाली जनतालाई राजनीति बुझन गाह्रो भएन । र, यो लुछाचुँडीले अवरुद्ध पारेको निकासबीच राजनीतिको अर्थ राम्रो पटक्कै होइन भन्ने पारेको छ । दलहरुलाई नेतृत्व चयनको लुछाचुँडीमा छन् । गाइजात्रा देखाइरहँदा पनि जनताले तिरेको करले चलेको राजस्वमाथि विलासिता चलेकै छ । जो सरकार छाडेका छन्  र, जस जसले कामचलाउका रुपमा चलाएका छन् । सबैले राज्यको सुविधा उपभोग गरिरहेकै छन् ।
मुलुक हाँक्ने जिम्मेवारीमा यस्तो भइरहे संयन्त्र बहकिनु अस्वभाविक छैन । सुरक्षा, प्रशासनलगायत जिम्मेवार संयन्त्रको काम गराइमाथिको निगरानी र नियन्त्रण कमजोर भएको छ । निर्लज्ज नेताले सजिलोसँग फलाकेजसरी सहमति खोज्दा केही ब्रि्रदैन । परिस्थिति सुध्रन पनि समय धेर लाग्दैन । सम्भावना कहिल्यै टर्दैन । तमासे जनताले सत्ता खोस्दैनन् । तर, उनीहरुलाई गर्ने खबरदारीमा पनि नागरिक समाज भनिने जमात चुप लागेर बसेको देख्ता उदेक लाग्छ । जसरी बजारमा बढेको महँगी र ठगीका समाचार सार्वजनिक भइरहँदा उपभोक्ता अधिकारवादी भनाउन मन पराउनेहरु चुप लागेर बस्छन्, त्यस्तै भएको छ नागरिक समाज । अन्यथा यति लुछाचुँडी चलिरहँदा पनि नेताहरुलाई सहमतिमा आउन सचेत बनाउने गतिविधि किन नभएको हो ? अचम्म छ । देशको राजनीतिको अवस्था यस्तो छ । अब के जवाफ दिनु ती च्याटमा आउनेहरुलाई । बरु ठीकै छ, आफै अफलाइनमा बस्यो वा इनभिजिवल भयो । अनि को को अनलाइन भएका छन् भन्ने हेर्‍यो । अनि आफ्नो काम गर्दै रह्यो ।