राति १२ बजेपछि विराटनगरमा चिया खान मन लागे सजिलो छ - कोशी अञ्चल अस्पतालको गेट टुंगो। कामले महिनाका दुई साता १२ नघाएकै छ। छिटो नहुनुका पछि चिन्ता लिएर बस्नुभन्दा चिया खाएर निन्द्रा र थकान मेट्नु जाती हुन्छ धेरैपटक। धेरै निन्द्रा लागेका बेला बाइकको गतिमा ध्यानको सक्रियता कम होला भन्ने डर। अनि यदाकदा बाटा रोक्ने वर्दीधारीका प्रश्नमा उठ्ने रिस। चिया पिउञ्जेलको समयले घर पुग्नुका १० मिनेटलाई ऊर्जाशील बनाउने भान हुन्छ। हो/होइन कसले खोजोस्। चलेको यस्तै छ।
बजारका सडक सुनसान छन्। ९० किमि प्रतिघण्टाको स्पीडमा हुइकिँदा पनि दुर्घटना हुने डर छैन। अन्त कतै चिया पसल भेटिहाल्न सजिलो छैन त्यसैले मुख्य बजार छिचालेर पुगिने गेट चिया। लेट चिया।
ठेलामा चिया बेच्नेहरु तीन जना छन्। जसकोमा गएर खाए पनि हुने। एफएम घन्किएको छ। चिया घोटाइ मुख्य व्यापार। नजिकका औषधि पसलको चेपबाट तार तानेर ठेलामा झुण्डिएका सीएफएलको मधुरो प्रकाश। ग्यास चुलो र मट्टितेलका स्टोभ।
बेला-बेला चिया छान्ने सफा पार्दा ज्वालामा राखेपछि एक प्रकारको गन्ध छ । केही डढेजस्तो । चुलो बलेका ठेलामा विस्कुटका पाकेटसँगै रजनीगन्धा र गुट्खा अनि सुर्तीका प्याकेट झुण्डिएका छन्। 'त्यो रेडिमेड चिया चाहिँ दिने हैन नि' भन्नै पर्छ। कारण, धेरैबेर पकाएर गाढा रंग परेको चिया। अनि चियापत्तीको थुप्रो भाँडोमा देखिन्छ।
ग्राहक थपिए त्यहीमाथि पानी र दूध थपिन्छ। छिनमै तयार ! उसले त्यही दिन्छ। भनियो भने उसले नयाँ ग्राहकलाई नया वान लगाउँछ। नभए रेडीमेडमै परिन्छ। ठ्वास्स गन्हाउने, तिखो गुलियो, पानीको मात्र बढी भए पनि चिया। जे होस पानी परेको छैन। वर्षात भइरहे यहाँ सजिलै चुस्की लगाउने रहर अलि महँगो हुन्छ। चियाले निन्द्रा भगाउँछ।
छेवैमा बेञ्चहरु छन्। तिनमा रिक्शावालका आफ्नै भावभंगिमा। अनि बिरामीका कुरुवा। लामखुट्टे लाग्छ। आफैंलाई मन लागेको औषधि नशामा सुइ हानेर लिन पल्कने 'डाक्टर' भनिने भीडका सदस्य पनि यदाकदा भेटिन्छन्। तिनमा एउटा गफ दिइरहेको छ। अरु 'अँ अँ' भन्दै ज्ञानी मान्छे जसरी सुनिरहेका छन्। बेला-बेला यस्ता डाक्टर पाखुरा देखाउने भेस्ट, हाफपेन्ट र तीव्र पिकप भएको बाइकमा देखापर्छन्। अनि कोही मोबाइलमा राखेको गीत सुनाउँछन्। रिक्शावालको मोबाइलबाट गीत घन्कन्छ - 'मिस कल मार तारु कीस देबु का हो।'
अस्पताल अघिको मध्यरात बेग्लै प्रकारको छ। सबैको आ-आफ्नै धुन। बेला बेला प्रहरी गस्तीको भ्यान आइपुग्छ। दलबल ओर्लन्छ। चिया पिउँछ। गफ सुन्छ। अनि फेरि घुमन्ते ड्युटी बजाउन हुइँकिन्छ। एम्बुलेन्स साइरन बजाउँदै आउँछ। उसको हेडलाइटको तीब्र प्रकाश आँखा खाने खालको लाग्छ। हुन त प्रहरी भ्यानले पनि बत्ती डीम पार्न जानेको छैन। त्यो गाडीलाई लाग्छ- कसैलाई उसले बाधा पार्दैन। तर, हेडलाइटको तीव्र प्रकाशविरुद्ध मध्यरातमा कसले प्रहरीसँग प्रतिवाद गरोस्।
रिक्शावालहरु धेरै बिरामी लिएर आएका बस्छन्। कति चाहिँ अस्पतालबाट बिरामी अन्यत्र लानुपर्ने भए दोब्बर भाडा पाउने आसमा रातको ड्युटी बजाइरहेका भेटिन्छन्। सरकारी अस्पताल हो। दिनभर सुकिला स्वास्थ्यकर्मीले दाबी गरेका हुन् - अस्पतालले सेवा राम्रो दिएको छ। २४ घण्टा खटिए पनि 'जस' नाउँको केही पाइन्न। काममा हौसलाभन्दा निराशा दिनेहरु धेरै भए। उज्यालोमा उनीहरुका कुरा यथार्थ भान हुन्छ। तर, राउण्डका डाक्टर नआएर नजिकको नर्सिङ होममा बिरामी लैजान रिक्शासँग कुरुवाको चलेको भाडाको विवादले त्यो पुष्टि गर्दैन। बिरामीको अवस्था बिग्रिएको चिन्तामा कुरुवा भाडा घटाउनेमा बढी अडान राख्दैन। जसरी हुन्छ उसलाई आफ्नो मान्छे निको हुनुको चिन्ता छ।
छेवैमा बसेर चिया पिउँदा कतिको चुरोटको धुआँसगै गन्हाउने सास ठोक्किन्छ। धुआँले भन्छ, कोही-कोही चुरोटमा गाँजा भरेर पनि सर्को लिइरहेका छन्। यतिखेर कसैले कसैलाई वादविवाद गर्ने बेला होइन। कोही आफ्नै सुरमा व्यथा बकिरहेका छन्। 'हिजो किस्ताको पैसा बुझाउन पुगेन, मालिकले रिक्शा नै लग्यो,' उ भन्छ, 'आज अर्कैको लिएर आएको। भोलि चाहिँ दिन पुग्छ। मनग्ये भएको छ।'एउटा बिरामी बोक्दा उसले भनेजति आएपछि अरुलाई कुदाउनु नकुदाउनु फरक नपर्ने भएको छ। त्यसैले उसले अलिकति ठर्रा लगाइसकेको रहेछ।
व्यथा साट्दा साट्दै उनीहरुका लबजमा समान्यसरह छाडा बोली चल्छन्। छेवैमा एउटी महिला पनि छिन्। उनलाई केही फरक परेजस्तो देखिन्न। पुरानो मैलो सारी, जिङ्ग्रङ्ग कपाल। शायद उ मागेर गुजारा गर्दी हो। केहीबेरमा उ पसलेलाई चिया माग्छे। पसले जवाफमा तथानाम गाली गर्छ। अनि पसलेको कामदार प्लाष्टिकको जगले टाउकैमा पर्नेगरी परबाट पानी हुत्याउँछ। भन्छ - 'जान्नस भने कुटाइ खान्छेस्। खेदी खेदी कुट्छु।' उ फत्फताउँछे अनि सानो पोको च्यापेर विस्तारै पर पर लाग्दै देखिन छाड्छे।
चिया पसल नजिकै कुकुरको एउटा समूह आपसी संघर्षमा देखिन्छन्। वर्षा भइरहने समय कम हुँदै आएको बेला हो यो। छिप्पिएपछि रात केही शीतल छ। त्यसैले ५ वटा डागोको संघर्ष एउटी कुकुर्नीका लागि चलिरहेको छ। धेरै हल्ला हुन्छ । अनि एउटा रिक्शावाल निस्कन्छ । र, ती कुकुरलाइ लखेट्छ। भागे पनि त्यो समूहको जुधाइ र भुकाइ घटेको होइन।
दिनभर भागदौडमा व्यस्त सहर सुतेको छ । उठेका कोही छन् भने यी चिया पसले, रिक्शाचालक, बिरामी, तिनका कुरुवा, उपचार गर्ने र नगर्ने डाक्टर। बैंकका पाले। बजारमा सटर कुर्न ड्युटीमा पालो परेकाहरु। अनि प्रहरी। चिया सिध्याएपछिको यात्रा जलजला मोड हुँदै ट्राफिकचोक, जनआन्दोलन चोक भनिने महेन्द्रको सालिक भत्काइएपछिको ठूटो चोक भएर बसपार्क। अनि रोडशेष हुँदै तल्लो बाटो मिल्सएरिया।
दिनभर भागदौडमा व्यस्त सहर सुतेको छ । उठेका कोही छन् भने यी चिया पसले, रिक्शाचालक, बिरामी, तिनका कुरुवा, उपचार गर्ने र नगर्ने डाक्टर। बैंकका पाले। बजारमा सटर कुर्न ड्युटीमा पालो परेकाहरु। अनि प्रहरी। चिया सिध्याएपछिको यात्रा जलजला मोड हुँदै ट्राफिकचोक, जनआन्दोलन चोक भनिने महेन्द्रको सालिक भत्काइएपछिको ठूटो चोक भएर बसपार्क। अनि रोडशेष हुँदै तल्लो बाटो मिल्सएरिया।
सुनसान सडक। यदाकदा बुधहाट चोकमा बाइक रोकेर ढाडको झोला हेर्न खोज्ने प्रहरी आज भेटिएनन्। रोडशेषमा रोकियो। टोली यता रहेछ । झोला देखाइयो । अघि बढियो । कोशी प्रजेक्ट चोकमा अस्पताल गेट जस्तै कुकुरको समूह। यहाँ दुईवटा स्पीड ब्रेकर छन्। सैनिक टोल नाघेपछि कुकुर जुलुस देखियो। अचम्म ! आज कुकुरले मलाइ भुकेनन्। बाइक पच्छ्याउदै दौड लगाएनन्।
त्यो सेतो-खैरो टाटे कुकुर आज ब्यस्त रहेछ। उजस्ता गन्न नभ्याइनेको भेला। करिब ५० हाराहारी होलान्। यतिकाको जमात एकैपटक पहिले देखेकै होइन। कति जोडिएका छन्। कति प्रयासमा छन्। यति संख्याका भेला मान्छेको हुँदो हो त कुनै हलबाट सिनेमा हेरेर फिरेकाको जमात आएछ जस्तो लाग्थ्यो होला। मनले भन्यो - 'कात्तिक आएछ।'
बाँसबारीचोकदेखि गौतम बुद्ध स्कुलसम्मको बाटो चौडा, सडक बत्ती भएको छ। अशोक टेक्सटायल अघिको सडकमा धेरै खाल्डाखुल्डी। कुकुरले भुक्दै बाइकसग दौड खेल्न मन पराउने मेरा लागि यो तेस्रो स्थान हो। यहाँ आज उनीहरु भेटिएनन्। सडक सुनसान । सिम सिम पानी आयो। रेनकोट झिकियो।
मोबाइल बज्यो। हेरें । ढिला किन भयो भनेर गृहमन्त्रीको ताकेता थियो। रिसिभ गरिसक्दा घर पुग्ने दूरी। नम्बर हेरेर गोजीमा राखियो। मोबाइल बजिरह्यो। चार नम्बर गियर। ५० को स्पीड। कसैका लागि हर्न दिनुपर्ने र ब्रेक लगाउनुपर्ने अवस्था थिएन। कतैबाट समयसुचक घण्ट ठ्याङ ठ्याङ गर्यो २ बजेछ।

No comments:
Post a Comment