विराटनगर- 'माल यति डोज लिदा पनि केही नहुने । मेरो पेटमा के छ हौ ?' वाक्यमा आनन्द, क्रुरता, निराशा, आक्रोश अनि अत्याश । धेरै खालका भाव छन् । लागूपदार्थ सेवनकर्ता महिलाले परामर्शदात्रीसँग यी धेरै भाव मिसाएर गरेको प्रश्न हो यो ।
उनी गर्भवती छन् । प्रसुतीको समय अब धेरै टाढा छैन । तर, बच्चा जन्माउने कि नजन्माउने भन्ने दुविधा हटेको हैन । दिनहुँ जसो परामर्श दिने सामाजिक कार्यकर्ता भेटेपनि उनले पाउने सल्लाह गम्भिरतापूर्वक लिन्नन् । लागूऔषध प्रयोगकर्ताका लागि क्षति न्यूनीकरणका क्षेत्रमा काम गरेमध्येका तेस्रो वर्ष सुमी खड्कालाई बेला बेला अचम्म लाग्छ । भन्छिन् 'आउनुहुन्छ । सोधेको कुराको जवाफ दियो । मन कता कता उडेको हुँदोरहेछ ।' अघिल्ला दुइ वर्ष उनले लागूऔषधका पुरुष प्रयोगकर्ताको क्षेत्रमा काम गरिन् । १० महिनायता आएको नयाँ कार्यक्रम अन्तर्गत महिलाका लागि गर्नु परिरहेको छ । छिटो नखुल्ने, मित्रता ढिलो गर्ने अनि झट्ट अरुलाई नपत्याउने बानी भएका महिला दुर्व्यसनीलाई पहिचान गरी परामर्श दिनु समाजिक कार्यकर्ताका लागि चूनौति बनेको छ । 'यतिको समय जेन्सहरुका लागि काम गरियो, ठीकै भयो, खड्का भन्छिन् 'महिलाका लागि काम गर्न धेरै मेहनत पर्छ ।'
विराटनगर उपमहानगरपालिकाको भारतीय सीमासँग जोडिएका क्षेत्रमा लागूऔषध प्रयोगकर्ताका लागि आवतजावत निर्वाध छ । त्यसैले यहाँको रानी मिल्सएरिया हुँदै जोगबानी गएर लागूऔषधको 'डोज' लिइ फिर्नेको जमात दिनहु देख्न पाउनु नौलो छैन । सीमावारी बन्देज गरिएका लागूऔषध पारी खुला रुपमा पाइन्छन् । सीमापारका व्यापारीको मनग्ये आम्दानी हुने भएपछि प्रयोगकर्तालाई खान, लगाउन अवरोध हुँदैन । सिकारुहरु विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल र फेन्सिडलजस्ता कडा प्रकारका 'कफ सीरप' खान्छन् । बढ्ता बानी परेकाहरु सूइबाट लागूऔषध नशामा लिन्छन् । सूइबाट लिनेहरुले एउटै सिरिञ्ज प्रयोग गर्दा एचआइभी संक्रमणको जोखिम बढ्छ । यही जोखिम कम गर्न यस क्षेत्रलाई लक्ष्य गर्दै विभिन्न संस्थाले क्षति न्यूनीकरण कार्यक्रम चलाएका छन् । यो अन्तर्गत यस्ता प्रयोगकर्तालाई 'ड्रप इन सेन्टर' मा बोलाएर परामर्श दिइन्छ । लागूऔषधको मात्रा घटाउने सल्लाह तत्काल अवलम्वन गर्न नसक्ने अवस्थाकाहरुलाई साटासाट नगरुन भनेर सिरिञ्ज नै वितरण गरिन्छ । संस्थापिच्छे संख्याको तथ्यांक फरक भएपनि यस क्षेत्रमा नियमित लागूऔषध सेवन गर्नेहरु आठ सयको हाराहारीमा छन् ।
पुरुष प्रयोगकर्ता हुनु नौलो छैन । तर, पछिल्ला केही वर्षदेखि यस क्षेत्रमा लागूऔषधका महिला प्रयोगकर्ताको संख्या बढ्दो छ । यिनमा काम गरिखाने, विवाहित, विभिन्न परिस्थितिपछि घर छाडेकाहरुको संख्या अधिक छ । रिचमण्ड फेलोसिपको महिला लागूऔषध प्रयोगकर्ताका लागि क्षति न्युनीकरण कार्यक्रमका प्रमुख काम गरिरहेका अभिष्क धिमालका अनुसार १० महिनाका अवधिमा ९७ जनामात्र महिला सम्पर्कमा आएका छन् । यीमध्ये मोरङका ५७ जना छन् । 'धेरैको स्टाटस खुलाउन मिल्दैन तर, हामीले जोखिम घटाउन सम्पर्क बनाएका छौ, उनले भने 'धेरै अझै खुल्न चाहदैनन् । तर, उनीहरु अत्यधिक जोखिममा छन् ।' पुरुषहरु जुनसुकै परिस्थितिका लागि तयार रहने भएपनि महिलाका लागि दुर्व्यसनभित्र पनि अधिक जोखिम भएको उनले बताए ।
लत लागेपछि लागूऔषध सेवनका लागि जोसग पनि सुत्न तयार हुनु र नशामा रहेका बेला त्यस्तामाथि बलात्कारका घटना हुनु मुख्य जोखिम रहेको उनको भनाइ छ । सम्पर्कमा आएकामध्ये केही गर्भवती छन् । उनीहरुलाई गर्भ कसको हो, राख्ने कि पतन गराउने भन्ने दुविधामै कानूनीतवरले गर्भपतन गर्न सकिने अवधि गुज्रिसकेको छ । यस्ता प्रयोगकर्तामा होटल रेस्टुरेन्टमा काम गर्ने अधिक छन् । पुरुष प्रयोगकर्ताको संगतले बानी परेकाहरु उनीहरुलाई नै साथी बनाइ लागूऔषधको 'डोज' लिन पारी धाउने गरेका छन् । मोरङ जिविसको एड्स समन्वय शाखाका अधिकृत झमक भट्टर्राई भन्छन् 'उनीहरुलाई जोखिम धेरै छ । तर, खोजेर पनि उनीहरुको जोखिम घटाउने काम गर्न खोज्नुका पछि चूनौति अनगिन्ती छन् ।'

No comments:
Post a Comment