यो लेखोट २०७२ साउन १६ को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। एउटा व्यक्तिमाथिको फीचर। एउटा बसाइको लेखाइ लामो थियो। ती आधा छोट्टिएर प्रकाशित भएको छ। संक्षिप्त प्रकाशित हुँदाहुँदै पनि पत्रिकामा सबै कुरा पुरै छन्। जेजे सम्पादन गरियो/गरिए/भए, ती फाल्दा नि मर्म फालिएको छैन। तर, मलाइ यता ब्लगमा भने पहिलो मूल लेखाइ नै राख्न मन लाग्यो। जसमा मूल विषयभन्दा फाल्दा नि हुने गन्थन धेर छन्/भएका रछन्।
पोखरा आएपछि एकपल्ट लेकसाइड घुम्दाको साँझ हेल्पिङ ह्याण्ड्समा पुगेको हो। दोस्रोपटक नि पुगेपछि यिनका बारे लेख्न पर्छ भन्ने लाग्यो। त्यहाँ काम गरिरहेकाहरूका बारे चासो लाग्यो। धेरैले लेखेको र फोटो स्टोरी पनि गरिसकेको साथीहरूले सुनाउनु भयो।
अबको चासो थियो- यी दृष्टिविहीन र बहिरालाई काम दिएर-लिएर व्यवसाय गरेकाको कथा। के कारणले यिनले यस्तालाई साथ लिए ? मान्छे सबलांग छन्। राम्रा-मिजासिला छन्। जुन व्यवसाय पनि गरिखाने योग्य देखिन्छन्। साथी केशवशरण लामिछानेले एक दिन बिहान भेटघाटको समय मिलाए। सर्त राखेर गइयो - 'यो विषय तपाइँ नलेख्नुहोला। म लेख्छु।' कुरो मिल्यो। भेट भयो।
तर एक महिना बित्यो, मैले लेख्न भ्याइँन या भनौं अरू कामको चापले भुलायो। दीनेश थापाका कुरा सुनिसकेर एउटा मुडमा बसेर ती कुरा शब्दमा उन्न जरूरी थियो। जो अलिपछि मात्रै सम्भव भयो। यो बीचमा मित्रले आफूलाई आइपरेको टास्कमा एउटा फीचर लेख्नैपर्ने भयो। अतः मित्रले लेखेँ, नरिसाउनुस् भन्नुभो। ठीकै छ। हाम्रा काममा यस्तै पर्छ।
हामी धेरैपल्ट मान्छेका राम्रा काम र बानीमात्रै टिप्छौं। अँध्यारा पाटा छुट्छन्। कतिपय विषयको कथाले माग्दैन। कतिपल्ट हाम्रा जानकारीमा हुँदैन या भनौं खोजिँदैन। यहाँ पनि एउटा पात्रको नितान्त व्यक्तिगत भोगाइका कुरा उनिएको छ।
लेख्ने मामिलामा म अलि ढिला भएँ। तर, अब कथा एउटै एउटै बेला पारेरमात्रै आआफ्ना अखबारमा पठाउने सल्लाह भयो। त्यसै गरियो पनि। मेरो एक साता रोकियो, साथीको गत साता प्रकाशित भयो। उनको आएपछि मैले नछाप्नु पर्थ्यो होला। तर, आफूले लेखेको परिश्रमको माया लाग्यो। मैले रोकिन। आज छापियो। धेरैपल्ट के लाग्छ भने लहरै थुप्रै जनाले क्यामेरा लिएर कुनै घटना खिचिरहँदा हरेकका फ्रेममा अलग-अलग समय र एंगल कैद हुन्छन्। यो कथा पनि त्यस्तै हो।
एउटै कथालाई आ-आफ्नो पाराको प्रस्तुति। मेरा साथी केशवजीको भाषागत दख्खल निकै राम्रो छ। उनको हेरिकन आफू सिकिरा'छु भन्ने लाग्छ मलाइ। तैपनि हेर्नोस् एउटै परिकार बनाउने काम दिँदा भान्सेका हातले नि स्वाद फरक पार्छन् भन्ने मानौं। अरू कति कथाले हाम्रो बाटो हेरिरहेका होलान्।
अब मूल कथा
अन्नपूर्ण पदमार्गबाट २० दिनको यात्रा सिध्याएर अष्ट्रियाका तात्याना स्टोइल्स र पिटर हेर्खर ११ वैशाखमा फेवाताल किनारको लेकसाइड आइपुगेका थिए। भोलिपल्ट दुवैले जीवनकै पहिलो भूकम्प होटलमै अनुभव गरे। 'हामी हतार हतार बाहिर निकिस्यौं,' तात्यानाले भनिन्, 'जीवनकै अनौठो अनुभव थियो।' पोखरामा केही दिन थकाइ मारेर सगरमाथाको गोक्यो ताल हेर्न जाने योजनामा रहेका दुवैको यात्रा सूची फेरियो। जोडिए हेल्पिङ ह्याण्डस्को राहत वितरण र भूकम्पपीडितको घर बनाइदिने अभियानमा।
'यो अभियानमा जोडिने हामीमात्रै रहेनछौ,' पिटरले सुनाए, 'हामीजस्ता १०/१२ देशका अरु पनि रहेछन्। दीनेशको अभियानले हामीलाई यात्राको मजाभन्दा पनि पीडितको सहयोग गर्न पाएकोमा आत्मिक आनन्द महसुस भयो।' परिवार, साथी र आफन्तबाट समाजिक सञ्जालका मद्दतले दुवैले ६ सय यूरोको योगदानमात्र गरेनन्, राहत बाँड्न गोरखा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक पनि पुगे। हाम्रो अहिलेको कथा यो होइन।
पर्यटक रिझाउन अबेर रातिसम्म बत्ती झिलीमिली हुने पोखराको लेकसाइडमा थरिथरिका पसल, होटल र रेस्टुराँ छन्। यही भीडमा बहिरा र दृष्टिविहीनहरू काम गरिहेका भेटिने ठाउँ पनि छ। धेरैले यो हेल्पिङ ह्याण्डस्मा काम गरेर जिन्दगीको गाडी सजिलै गुडाएका बहिरा र दृष्टिविहीनका कथा पढेको हुनपर्छ। यहाँ त्यही कथा दोहोरिने छैन।
फरक क्षमताकाहरूलाई साथ लिएर वर्षौदेखि काम गरिरहेका दीनेश थापाको बाटो मोडिएको कथा आज सुन्ने हो। २१ बहिरा, ३ दृष्टिविहीन, केही दोभाषेसहित ती फरक क्षमताका ३२ जनालाई काम दिएर-लिएर आफ्नो पेसा चलाइरहेका उनकै कथा ती इलमी हातहरूभन्दा केही मानेमा पृथक छन्।
०००
काठमाडौंको गोकर्णका दीनेश पोखरा आएको १६ वर्ष बितेछ। 'बुवा आर्मीमा भएपनि घरखर्च चलाउन निकै मुस्किल थियो। घरको जेठो छोरो, पढाइ छाडेर म १४ वर्षको उमेरदेखि नङ्ग्रा खियाउन थालेको मान्छे,' उनले भने, 'अब त समय धेरै बित्यो। अवस्थामा आकास-पाताल फरक परेको छ।' मजदुरीबाट काम थालेर अरुलाई काम दिनसक्ने भएको भोगाइको कथा उनले किस्ता किस्तामा सुनाए।
'पहिलो काम घरमा धारा-पाइप फिटिङ गर्ने गरियो,' उनले भने, 'पहिलो कमाइ २१ सय हात परेको थियो। आफूलाई पाण्डा जुत्ता र आमाका लागि फरिया किनेको थिएँ।' राजधानीमा जति घर थपिन्छन्, उति नै सबैथरि इलमी मिस्त्रीले काम पाउँछन्। उनले यही बाटो सजिलो मानेका थिए। 'एकजना चिनजानका मान्छेले चुच्चेपाटीमा अढाइ-तले घर बनाए। धारा-पाइप, ट्यांकी फिटिङको ठेक्का ९ हजारमा दिए,' उनले भने, 'तर, काम सकिएर पैसा दिनेबेलामा ४५ सयमात्रै दिए। छिटो सक्नु थियो, मैले आफूमात्र काम नगरेर अरू दुईलाई पनि खटाएको थिएँ। घाटामात्र लागेन, कामसँगै दिक्क लाग्यो।'
काका नकुल थापा बानेश्वर इन्द्रेणी क्याफेमा बेकरीका सेफ थिए। प्लम्बरको पेसाबाट निराश भतिजलाई उनले बाँसबारीको एउटा बेकरीमा पिठो मुछ्ने काम लगाइदिए। हात हालेका काम छिटै सिक्ने बानी भए पनि उनी त्यहाँ तीन महिनाभन्दा बढी टिकेनन्। ठमेलमा सेफको दुई महिने तालिम लिए। त्यसपछि होटल सांग्रिलाको भान्सामा काका-भतिजसँगै भए। दीनेशले सुनाए - 'धेरै काम थोरै दाम। त्यसमा पनि मन रमाएन।'
कुरिनटार रिसोर्ट खुलेको थियो। त्यहाँ कामदार चाहिएको थाहा पाएका काकाले 'उता जा' भने। तर, मानेनन्। उनले भने, 'काकाले भन्नुभयो म १७ रुपैयाँमा घर पुछेर काम थालेको मान्छे। तँ १७ सय महिनाको दिँदा नि जाँदैनस् ?' उनले काकालाई योबेला टेरेनन्।
बबरमहल रीभीटेडको सेज क्यारोलिन रेस्टुरेन्टमा काम गर्न मन थियो। त्यहाँ काम गरेपछिको अनुभवले जहाँ कतै पनि गरिखान अप्ठेरो पर्दैन भन्ने उनले बुझेका थिए। ६ महिनाको पर्खाइपछि उनले त्यहाँ काम पाए। दर्जा थियो- कुकको सबैभन्दा सुरुवाती मानिने थर्डकपी।' महिनाको वेतन १८ सय।
'त्यो डिसवासर प्रमोसन भएर आउने पोस्ट रहेछ। सबैलाई आफ्नो छेउ आफ्नै मान्छे ल्याउन मन हुन्छ,' उनले सुनाए, 'भाँडा माझ्ने मान्छे सेफको प्यारो थियो। त्यसैले मलाई सेफले असहयोग गर्न थाले। गाह्रो र हतपत जस नदिने काम लगाउन थाले। गलोस् र छाडेर जाओस् जस्तो गरे।' सन् १९९८ को कुरा थियो यो ।
०००
फ्रान्सेली साहुनी सेज क्योरोलिन आफैं राम्रो कुक थिइन। सेफ र भाँडा माझ्नेको असहयोगका बीच पनि उनले परिकार बनाउन सिक्दै गए। 'झेल्न नसकिने नै भएपछि मैले राजीनामा दिएँ तर, धेरै कस्टमर आउने भएकाले क्रिसमसको साँझ म रेस्टुरेन्टमा उसैगरि काम गर्न गएँ,' उनले सुनाए । १९० जनाका लागि सुप बनाउनुपर्ने। ४० जनाको ग्रुप आयो। २० ले खाए, २० ले त्यसपछिको सेकेण्ड कोर्स (अर्को परिकार) मागे। थापाको जिम्मा सलाद र स्याण्डबिचको सेक्सन थियो।
केही भरपर्दा कामदारले क्रिसमसको केही दिनअघि नै राजीनामा दिएर गएका थिए। दोस्रो कोर्स अर्डरको १५ मिनेटमा तयार पारेर ल्याउनुपर्ने थियो। सुप बनाउने कारिगर थिएनन्। 'क्यारोलिनले हामीहरूलाई सोधिन् नो वन क्यान ?,' उनले भने, 'कोही नबोलेपछि उनी रुन थालिन। मैले आइ क्यान भनेँ।' त्यो दिन उनले रेष्टुराँको प्रतिष्ठा राखेको घडी थियो।
'मलाइ साउनीले खाममा इनाम दिइन। ७० हजार रूपैयाँ रहेछ,' उनले भने, 'राजीनामा त दिएकै थिएँ। त्यो दिनदेखि काममा गइँन। उनले मेरा काकालाई फोन गरेर मलाइ लिन मान्छे पठाइछन्।' त्यसपछि तलब १८ सयबाट ८ हजार। बीमाका सुविधा पनि थपिए। सेज क्यारोलिनको रेष्टुराँले पोखरामा शाखा खोल्ने भयो। उनी यो थालनीका लागि सेफ बनेर काठमाडौंबाट पोखरा आइपुगे।
'म १९ वर्षको थिएँ, १९ हजार तलब,' उनले सुनाए, 'बिस्ट्रो क्यारोलिन रेष्टुराले पोखरामा पर्यटकका लागि फ्रान्सेली परिकार पस्केको थियो, जो यहाँका लागि नौलो रह्यो।' पोखरेली रेष्टुरामा उनले चार वर्ष बिताए। 'कति अर्काकोमा काम गर्ने ? उमेर थियो, रहर थिए,' उनले भने, 'आफैं केही गर्ने। नाफा-नोक्सान आफ्नै लागि हिसाब गर्ने रहरले ५ लाखमा इस्ट-मिस्ट वेस्ट रेस्टुरा किनेँ।'
०००
आफैंले रेस्टुरा किने पनि उनका लागि फ्रान्सेली रेस्टुराले एउटा सर्त गरेर मात्रै राजीनामा स्वीकृत गरेको थियो। सर्त - धेरै पाहुना आउँदा घण्टाको एक हजार रूपैयाँ पारिश्रमिक लिनेगरि भान्सामा सघाउन आउनपर्छ। यो क्रम बेला-बेला चल्दै रह्यो।
'मैले अर्काकोमा काम गरेर तलब थाप्नु र आफैं साउजी हुनुका बीचको फरक बल्ल बुझेँ,' उनले सुनाए, '१९ जना स्टाफ थिए। तलब दिने बेलामा जहिल्यै कताबाट जोरजाम गरेर पेमेन्ट गर्ने भन्ने चिन्ता लागिरहने।' सन् २००४ अन्त्यतिरको समय। त्यो एकजना गुरूङको रेस्टुरा थियो, जो अलि राम्रो अवस्थामा चल्न सकेको थिएन, जसलाई उनले किने। सशस्त्र द्वन्द्वका कारण मुलुकमा संकटकाल। पर्यटक आउन घटे।
रेष्टुराँ-होटल र पर्यटकका गाइडको सम्बन्ध डाक्टर र औषधि पसल चलाउनेको जस्तो हुन्छ। डाक्टरका प्रेस्क्रिप्सन बोकेर बिरामी त्यही पसल पुग्छ, जो नजिक छ वा जहाँ उसलाई जान भनिएको हुन्छ। यस्ता पुर्जी बोकेकाहरू आएमात्रै औषधि पसल नाफामा चलिरहन्छन्। 'टुर गाइड मेरा केही साथी थिए, त्यहीमध्येको एउटा साथी थियो शोभित,' थापाले सम्झिए, 'उसले चारजना टुरिस्ट लिएर मेरो रेस्टुरा पसेका दिन भान्सामा ग्यास थिएन। किन्नका लागि ७ सय रूपैयाँ थिएन।' शोभितले उनलाई दिएको एक हजारबाट ग्यास आयो। पाहुनाले खान्कीको ३७५० रूपैयाँ बिल तिरेर गए। शोभितले कमिसन लिएनन् जो उनका लागि उपकार भयो।
पोखरा पर्यटन व्यापारमा फेवाताल, अन्नपूर्ण पदमार्ग र पश्चिम पहाडका दृश्यावलोकन बेच्छ। टुर गाइड खुसी पार्छ। आफ्ना होटल र रेस्टुरा चलाउँछ। पोखरामा उनलाई उनलाई साथ दिन बिस्ट्रो क्यारोलिन रेस्टुरामा सँगै काम गरेका अमीर केसी उताको काम छाडेर आए। रेष्टुराको नाम इग्रेट भ्यू राखियो। ६ महिनापछि फेरि व्यवसाय खस्कियो, नाम फेरियो- इन्लाइटेड याक।
०००
जग्गाधनी भीमप्रसाद गुरूङ बेलायती सेनाका रिटायर्ड। मनकारी भएकाले रेष्टुराँको मासिक १८ हजार भाडामा कुनै बेला पुरै पैसा नदिएपनि कसिकसाउ गर्दैनथे। त्यताबाट सन्तोष भएपनि व्यापार घाटाले २ वर्षको भाडा तिर्न पुगेन। ऋण खोजेको पैसा लिएर बुझाउन जाँदा उनले एक वर्षको भाडा छुट गरिदिए।
'इन्लाइटेड याकलाई ३ वर्षन्दा बढी धकेल्न सकिएन,' थापाले सुनाए, 'चप्पल चुँडिए पनि जोडेर लाउथेँ। ऋण खोजेर पनि स्टाफलाई तलब दिन्थेँ।'
उनले सुने- काठमाडौंमा एउटाले दाउरामा पिज्जा बनाउँछ। पोखराका लागि यो नौलो तरिका थियो। गोरखपुरबाट भट्टी ल्याएर 'ला पिज्जा दलालेगो' को नामबाट उही रेस्टुराँ फरकरूपमा अघि बढ्यो। 'महिनामा एक लाख हाराहारी बिजनेस हुन थाल्यो। कुनै बेला एक दिनमा ३ सय ९५ वटासम्म बेचियो,' उनले भने, 'पहिले स्टाफले मन लगाएर काम नगलार्न जस्तो अवस्थाको मेरो रेस्टुरेन्टमा अब लोड बढी भएर भाग्लान् जस्तो हुन थाल्यो।'
०००
व्यवसाय एउटा मोडमा पुगेर सन्तोष भइरहेका बेला उनको मैंयासँग जोडी बाँधियो। वर्षदिनमा जन्मिएकी छोरीको नाम 'खुसी' राखियो। 'जिन्दगी यहाँसम्म ठीकै थियो,' उनले भने, 'अनि फेरि अर्को मोडले मलाइ पर्खिरहेको रहेछ।'
एकपटक मैंयालाई खाना रुचेन। दुवै जाँचका लागि मनिपाल अस्पताल पुगे। रगत जाँचका लागि प्रयोग भएको सिरिञ्जबाट उनको हातको नसामा हावा पस्यो। 'डल्लो भयो। तीन दिनपछि पाक्यो,' उनले भने, 'हामी फेरि गयौं। अस्पतालले काट्यो, फाल्यो, त्यो ठाउँ खाल्डो भयो। इन्फेक्सन भएछ।' त्यही चोटले एक दिन अर्द्ध-बेहोस मैंयालाई अस्पताल उनले पुर्याए। सुरूमा सामान्य बिरामी भनेर एकअर्काका अभिभावकलाई ढाँटेका थापा दम्पती त्यो दिन समस्यामा परे।
अस्पतालले चलाएको उपचारले मैंया निको भइनन्। अवस्था बिग्रिएपछि आइसीयूमा राखियो। दुवैका आफन्त आए। भेन्टिलेटरमा राखिएकी मैंयाले रगत बान्ता गरिन्। शुक्रबार साँझ अस्पताल लगिएकी उनले शनिबार बिहान आफन्तले 'जसरी भए पनि काठमाडौं लैजानु पर्छ ' भन्ने सल्लाह हुँदाहुँदै देहत्याग गरिन्।
'दूधमुखे छोरीको रुवाइ। मेरो एक्लो जीवन। म पुरै टुटेँ,' दीनेशले भने, 'जिन्दगी फेरि कसरी ट्रयाकमा आउँछ भन्ने नै भएन।' घटना पछिका तीन महिना उनको रेस्टुराँ बन्द रह्यो।
०००
तीनजना बालकहरू झगडा गरिरहेका थिए। दीनेशले देखे। दुईले एउटालाई कुटे। ती शायद सडक बालकहरू थिए। 'कुटेको हेरिरहन सकिएन। गएर छुट्याएँ,' उनले भने, 'बढी कुटाइ खाने १२/१३ वर्षको रक्ताम्य केटालाई बोलाएँ, उसले सुनेजस्तो गर्दै गरेन।' पछाडिबाट कुममा हात राखेपछि उसले फर्केर हेर्यो। ऊ बहिरो थियो। ऊसँगै एउटा कुकुर हिड्थ्यो। उनले भने, 'त्यो दिन उसलाई खान दिएँ र, पठाएँ। त्यसपछि ऊ कहिलेकाहीँ मेरो रेस्टुराँमा आउँथ्यो।'
यसबीच दीनेशले मैंयालाई गुमाए। तीन महिनापछि पोखरा आए। 'कुनैबेला १ करोड २० लाख दिने भनेर चाइनिज आउँदा नबेचेको रेस्टुरा अब म जतिमा भएपनि बेच्ने पक्षमा पुगेको थिएँ,' उनले भने, 'परिवार रहेन भने मान्छे कसका लागि खट्छ? कसका लागि काम गर्नु? भन्ने सोच दिमागमा थियो।' ५० लाखमा उनले राजेश गुरूङलाई बेचे। माथिल्लो तलाको रेस्टुरा बेचे पनि गुरूङले मुनिका चार कोठा नबेच्न उनलाई सल्लाह दिए।
तिनै बेचबिखनको एउटा दिन उनले सुने- फेवातालमा एउटा केटाको लास तैरिरहेको छ। उनी हेर्न गए । त्यो उही केटो थियो, जसले कुटाइ खाएको देखेर उनले मन थाम्न नसकी छुट्याएका थिए। किनारमा त्यही कुकुर एकतमासले हेरिरहेको थियो। केटोको शव किनारमा निकालेर भीडले 'खाते कसरी मरेछ -' भन्दै थियो।
'मलाइ लाग्यो यो केटालाई बेलैमा मैले सहारा दिन सकेको भए मर्दैनथ्यो होला,' उनले भने, 'त्यसपछि यस्तो के काम हुन्छ जसले यस्तालाई सहारा हुन सक्ला भन्नेतिर दिमाग गयो।' स्पा र पश्मिना बुनाइको काम बहिराले गर्न सक्छन् भन्ने लाग्यो। उनले यस्तो काम गरिरहेका राजधानीका आफ्ना साथीसँग सल्लाह गरे। उनीकहाँ थन्किएका दुईवटा तान झिकाए।
गण्डकी बहिरा संघमा गए। पाँचजनालाई ल्याएर स्पाको कामका लागि तालिममा लगाए। काम थालनी भयो 'हेल्पिङ ह्याण्स्' को नामबाट। उनले नजिकका अरु जिल्लाका अपांग र बहिराका संघसंस्थामा पनि खबर गरे। चितवनबाट सातजना आए। बिस्तारै दृष्टिविहीन थपिए, बहिरा पनि सम्पर्कमा आउन थाले। दोभाषे राखिए। 'जिन्दगीमा यो मोड अचम्म लाग्दो थियो,' उनले भने, 'उनीहरू धेरै इसारामा कुरा गर्थे, जो म बुझ्दिनथेँ। तर, यही शैली मन परेको थियो।'
०००
सन् २०११ मा हेल्पिङ हृयान्ड्स स्पा र ह्याण्डी क्राफ्ट सुरु भयो। एकातिर स्पाको व्यापार छ, जहाँ पर्यटकलाई मसाजको सेवा दिइन्छ। यहाँ नौजना बहिरा र एकजना शिक्षकले काम पाएका छन्। अर्कातिर बाराहीचोक नजिकैको ह्याण्डीक्राफ्ट पसलबाट पश्मिना, स्वेटर, सल र यस्तै सामान बेचिन्छ।
सामान राखेका र्याक हेर्दै भित्र पसे धागो र तानहरुमा हातहरू दृष्टिविहीन र बहिराका हातहरू पस्मिना पछ्यौरा, सलदेखि स्वेटर बुन्न निरन्तर खटिएको देख्न सकिन्छ। पर्यटकको आगमनमा पर्ने प्रभावसँगै व्यापारमा उतारचढाव सामान्य छ। तर, दीनेश काममा मोडिएको जीवनको यो बाटोमा व्यस्त छन्। बर्सेनि सेतो छडी खरिद गर्छन् र, जिल्ला-जिल्लामा वितरणका लागि पठाउँछन्।
काममा खटिएका फरक क्षमता भएकाहरू पनि खुसी छन्। महिनाको कम्तीमा पनि साढे ९ हजार। तलबबाहेक हरेक पिसमा ३० देखि १ सय रुपैयाँको इन्सेन्टिभ। खानेबस्ने र स्वास्थ्योपचारको सुविधा। हातेतानले एक दिनमा ५/७ वटा तयार हुन्छ भने विद्युतीय तानले बढीमा २५ वटासम्म बनाउँछ। दिनमा १ सय २५ वटासम्म तयार हुन्छ। एउटा पस्मिना सल ६ सय ५० देखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।
थापाको उत्पादनलाई जर्मनको एउटा संस्थाले युरोपको बजारमा बेच्छ भने बेलायतमा पनि त्यस्तै अर्काे आउटलेट छ। 'जिन्दगी जसरी चलायो त्यसरी चल्ने रहेछ तर, एउटा एउटा मोडले मान्छेलाई कताबाट के गराउन पुर्याउँछ भन्ने थाहै नहुने,' उनी भन्छन्, 'बहिरा र दृष्टिविहीनलाई काम दिएर उनीहरूको खुसीबाट म आनन्द लिन्छु। म कुनै समाजसेवी होइन। जिन्दगी यसरी चल्छ भन्ने भयो, यतै बाटो मोडियो।'