Thursday, August 20, 2015

फोटोग्राफीमा सजिलो समय

'हेर्नु हेर्नु', कमलले यति के भनेका थिए, म रेडी भै हालेँ। सडकमा घुँडा टेकेर बसेँ, अनि पोजिसन लिएँ। उनले थाहा पाइहाले। उठे। हाँसे र, नाटकीय पोजमा खडा भइरहे। सिकार उम्केर हिस्स परेको सिकारी पाराको मेरो मुहारमा बलजफ्ती मुस्कान ल्याएँ। केही बोलिँन। अनि हामी पनि उसैगरि बस कुर्ने लाममा उभियौं।

यो २०५९ हिउँदको कुनै महिना थियो। कमल रिमाल भाइ (विराटनगरका सञ्चारकर्मी) र म अघिल्लो दिन उदयपुरको तपेश्वरी गएका थियौं। साँझ अबेर इनरूवा फिरियो। बास मेरो डेरामा।
 
***
ती बेहुला थिए। जो बस रोकिने ठाउँको सडकपेटीमा बसेर नङ काट्दै थिए। उनको पछाडि एउटा पाइपमा मास्तिर सानो प्लेट थियो, जसमा बसको चित्र थियो। थाहा पाइहाले। उठे। फोटो पोज दिए। मुस्कुराए। मैले खिचिँन। मानवीय अभिरूचिको एउटा स्न्याप थोरै ढिलाइले छुट्यो।

यो प्रसंग मलाई फोटोग्राफीका कक्षामा सुनाउन बडो रमाइलो लाग्छ। जहाँ-जहाँ मैले कक्षा लिएको वा छलफलमा परेको छु, सुनाएको छु। त्यो स्न्याप छुट्नुको कारण पनि थियो। मेरो एनालग भीभीटार क्यामेरामा लो-लाइटमा खिच्नेगरी आइएसओ, सटर, एपरेचर सेटिङ थियो। बिहानीपख खिच्नका लागि सेटिङ चेञ्ज गर्दै ढिला भएछ। निमेषभरमै छुट्छन् फोटोका विषय। त्यो यस्तै सम्झनामा रहेको दिन बन्यो।

***
अबको डिजिटल समय हाम्रा साथमा धेरै छरितो प्रविधि लिएर आएको छ। हात-हातमा मोबाइल छन्। तिनमा फोटो-भिडियो खिच्नकै लागि थुप्रै अप्सन छन्। फोटो अब ती पुराना जमानाको स्टुडियोवालले मात्रै खिच्ने कुरो रहेन। र, फोटो अखबारमा काम गर्नेले मात्रै खिच्ने भन्ने पनि रहेन।

डिजिटल युगले हामीलाई पत्रिकाको साटो अनलाइन मात्रै हेर्ने बनाउन अझै कम्तीमा एक दशक लाग्दो हो। अखबारकै कुरा गरे त्यसो त अबको समय सबै समाचारमा फोटा अनिवार्य जस्ता छन्। कतै गयो भने अनलाइनबाट संवाददातालाई फोन आउँछ - समाचारसँगै फोटा चाहिन्छन् ? राम्रो खिच्नुस्, छिटो पठाउनुस्।

अखबारका अफिस र हामी कारिन्दाको शैलीबारे मैले केहीअघि पनि लेखेको छु। ती निजी मामिलाका पनि कुरा छन् , केही सबैका भोगाइ पनि छन्।

***
संवाददाताका आफ्ना समस्या छन्। तैपनि सामान जोरजाम गरेर लागिपरेकाहरू टिकेका छन्। अँ तपाइँलाई सामान चाहिएको होला ? आफ्नै चलाउँदै हुनुहुन्छ ? बिग्रियो ? बनाउन चिन्ता नलिनुस् पैसा हामी पठाइदिन्छौं। तपाईका लागि नयाँ बडी र लेन्स हामी दिन्छौं। बरू लेन्स के-कस्तो चाहिन्छ ? फ्ल्यास पनि चाहिन्छ ? कार्ड कतिको लाउनु हुन्छ ? चाहिन्छ ?  आदि-आदि सुन्न कान लालायित हुन्नन् । किनभने कसैले यस्तो भन्दैन।

भनिने कुरा थोरै फरक छन्। फोटो राम्रो पठाउनुस्। छिटो पठाउनुस्। अलि धेरै पठाइदिनुस्न। लु भएन कस्तो खिचेको ? ए तपाइँ त राम्रै खिच्नुहुन्छ ल गज्जपको फोटो पठाउनु होला। 

पठाइन्छ। अनि धेरैपल्ट आफूलाई ठीकठीकै वा औसत जस्तो लागेका स्न्याप न्युज डेस्कका जिम्मेवारका रोजाइमा परिदिन्छन्। कुनै राम्रैगरि छापिए भने नि कान लाग्ने २/४ वटा प्रशंसाका पर्तिर केही हुन्न। निराश नहुनुस्। यहाँ यस्तै छ।

Monday, August 17, 2015

मान्छे, यौन र जीवन

आत्तिनु भो ? ढुक्क हुनुस् प्रवचन दिने मुडमा छैन । एउटा घटना सम्झना भयो । सञ्चारकर्मीका जीवनमा धेरै घटना हुन्छन् । 

त्यसो त मान्छेको व्यक्तिगत जीवन नै घटनाहरूको संगालो भन्नुहोला । हो पक्कै । तर, हामी जो अरूका खबर लेख्छौं, हाम्रा कुरा भन्दैनौ । भन्न मिल्दैन, सिकाइएको छैन । अझ भनौं त्यो हाम्रो प्राक्टिसमा परेन । एकाध लेखिन-देखिन थालेका छन् । ती बिस्तारै बढ्लान् । अहिले म ५५ वर्ष र १३ वर्षका दुइ मान्छेका कहानी सम्झन चाहन्छु । 

बेलुकी अबेर प्रहरीको जिल्ला कार्यालयबाट फोन आयो - 'छोरीलाई करणी गर्ने बाबुलाई समातेका छौं । इप्रकाले भोलि यहाँ ल्याइपुर्‍याउँछ ।' ल्याएपछि भेटेर कुरा गरौंला भनियो । खबर लेख्न अरूबेला हतारै हुन्थ्यो । तर, योपल्ट विषय सुन्दै जाँगर आएन । 

'थुक्क त्यस्तो पनि बाउ हुन्छन् !' भन्न मन लाग्यो । जमाना फ्याक्सकै थियो । लेख्ने, कागज फ्याक्समा हाल्ने । फोटो भए, खिच्ने, ल्याब पुग्ने, क्यामेरालाई ज्याकेट लाइदिएर रील काट्ने, डेभलपरबाट नेगेटिभ बाहिरिएपछि राम्रो आउने छानेर धुलाउने । अनि खामबन्दी गरेर आफ्नो अखबारको अफिसमा कुरियर सर्भिसबाट पठाउने ।  

त्यो रात अबेरसम्म निन्द्रा परेन । कस्तो बाउ होला भन्ने भइरह्यो । 

***
इनरूवा सुनसरीको सदरमुकाम । मेरो कार्यक्षेत्र । दिउँसो १२ बजे फोन आएपछि गइयो । मलाई खबर गर्ने प्रहरी निरीक्षकले भने 'हिरासतमा राखेको मान्छेसँग तपाईले सवालजवाफ गर्छु भन्नुभो भने मैले मिल्दैन भन्छु । के गर्नुहुन्छ ?' मैले भने 'हेर्न दिनुस् । अनुहार हेर्छु । केस टिप्छु । तपाईको भनाइ लिन्छु, अनि सम्भव छ भने छोरी भेट गराइदिनुस् ।' कुरा मिल्यो ।

उनले त्यो बाउको हुलिया बताए । हामी हिरासत कोठाको बाहिर पु्ग्यौं, जहाँबाट भित्रका सबैलाई देख्न सकिन्थ्यो । ४/५ जना थुनुवा बसेर तास खेल्दै थिए । हुलिया बताएको मान्छे कुनामा एक्लै थियो । हामीले हेरेको देखेर उभियो । सतर्क भयो । करीव ५ फीट हाइट । झुस्स दाह्री । दुब्लो-पातलो ज्यान । 

उ एकाएक कराउन थाल्यो । हिरासतका फलामे डण्डी समातेर चिच्याउन थाल्यो । 'डण्डी बांगो भो, उ उ ...' उसले बेसुरे मान्छे जस्तो केके भन्न थाल्यो सबै सम्झनामा छैनन् । तर, यति हो उसले प्रहरी र हामी प्रहरीजस्ता नदेखिने युवकलाई यस्तो देखायो मानौ हामीले ठान्ने छौं  -उसको मगज खुस्केको छ । यो पागल हुनुपर्छ ।

बाहिरिँदा तिनै प्रहरीले फेरि भने 'तपाइँहरू नौलो मान्छे देखेर यसले एक्टिङ गरेको हो । यो पुरै सद्दे छ । हामीसँग मजाले कुरा गरेको हो । बयान दियो । मुद्दामा म्याद थपेर ल्याएको हो ।' उसलाई हाडनाता करणीसँगै नाबालकलगायत केके मुद्दा चलाउने भन्ने बारेमा तिनले बताए । 
***
बाहिर छानो हालेको चौतारो थियो । जहाँ प्रहरीले सबैलाई पहिले पर्खन लगाएर मात्रै भित्र पस्न दिन्थ्यो । मैलो मैलो लुगा लगाएकी एउटी दुब्ली-दुब्ली गोरी केटी थिइ । कुपोषण हुँदा मान्छेको अनुहार, हातगोडा दुब्ला-पातला हुन्छन् । भुँडी नसुहाउने गरि पुटुस्स उकासिएको हुन्छ भनेर हामीलाई स्वास्थ्यकर्मीले पोषणका कार्यक्रममा भनेको सम्झना भयो । उनी त्यस्तै थिइन । उनै रहिछन् मैले भेट्न खोजेको बाबुकी छोरी । 

प्रहरीले चिनाइदिए । तर, सोध्न कसरी थाल्ने भन्ने अलि संकोच भयो । तैपनि मैले 'बैनी, यस्तो कसरी भयो ?' भने । पहिले रोइन । मैले रूँदा डिस्टर्ब गरिन । अनि आँसू पुछ्दै उनले भनिन् 'मेरो बाबालाई छुटाइदिनुस् । जे भो हाम्रो कुरा हो । पछि जे होला होला । मेरो बाबालाई छुटाइदिनुस् ।' यो मेरो प्रश्नको उत्तर थिएन । र, म यतिखेर उनलाई मैले सोधेको कुरा भन्नैपर्छ भन्ने मुडमा पनि थिइँन । 

बिस्तारै उनको कुराको कन्तुरो फुक्यो । म सुन्दै गएँ । प्रश्न गर्नै परेन । 

***
५ वर्षअघि आमा मरिन् । एक्ली छोरी । जनबनी गरेर गुजारा गर्ने छाप्रामा बाउ-छोरी मात्रै भए । एउटा रात बाबुले रक्सी खाएर आएका थिए । जबरजस्ती गरे । दुख्यो, रोइन । बाउले करणीपछिको बिहान 'कसैलाई भनिस् भने तँलाई मार्छु, म पनि मर्छु' भनेर तर्साए । छोरी बोलिन । बाहिर भनिन । 

घटनाको एक सातापछि फेरि उस्तै रात दोहोरियो । त्यसको बिहान पनि उसैगरि तर्साए । त्यसपछि जब जब बाबु मातेर आउँथे करणीको क्रम नियमित बन्यो । उनले स्कुल जान छाडिन् । साथी भेट्न छाडिन् । आफ्नो अवस्थाबारे कसैलाई भन्न सकिनन् ।

नजिक आफन्त थिएनन् , जहाँ छोरी भागेर जान सक्थी । खपेर बस्दाका महिना बित्न थाले । छिमेकीले शंका गरे । एउटा साँझ त्यही क्रममा प्रहरी टोली आयो । पक्रेर थाना लग्यो ।

***
स्वास्थ्य जाँचको कुरो त्यो साँझ प्रहरीले बतायो -' ७ महिनाको गर्भ रछ । केटीलाई हामीले माइती नेपालको जिम्मा लगायौं ।' यस्ता घटना पहिले लेख्नु परेको थिएन । हाडनाता करणीका अरू धेरै घटना सुनेपनि यस्तो नजिकबाट यस्तो अकल्पनीय देख्न-सुन्न परेकै थिएन ।  खबर लेखियो 'उफ ! कस्तो बाबु'  

माइती नेपालको एउटा आवधिक गृह इटहरीमा छ । खबर छापिएका केही हप्तापछि त्यता जाने काम पर्दा म एकजना साथी लिएर त्यहाँ पनि निस्केँ । त्यहाँका कर्मचारीले ती छोरीको आनीबानी राम्रो भएको बताए । उनी सिलाइकटाइ सिक्न थालेकी थिइन । मसँग फेरि कुरा भएन । 

***

कैयौं महिना बिते । माइती नेपालका कर्मचारीले उनको छोरी जन्मिएको जानकारी मलाइ फोनमा दिए । आमा-बच्चा सकुशल । उनले आफ्नो सन्तानको बाबुलाई कस्तो नातामा सम्झँदी हुन् भन्ने लागिरहन्थ्यो । केहीपछि अदालतको फैसला आयो । फेरि एउटा खबर लेखियो -'बाबुलाई सर्वस्वसहित १७ वर्ष जेल सजाय ।'  

फर्केर हेर्दा १३ वर्ष बितेछ । उनीहरू कहाँ छन् भन्ने अहिले मलाई थाहा छैन । कहिलेकाही नारायण वाग्ले दाइले एकपल्ट भनेको सम्झन्छु -' हामी चट्याङ परे जस्तो खबर लेख्छौं । एकपल्ट लेख्यो, फलोअपमा ध्यानै छैन । धेरैपल्ट सुरूमा लेखेकोभन्दा पनि फलोअप जोडदार हुन्छ भन्ने बिर्सनु हुँदैन ।' 

केही खबर त यस्ता हुन्छन्, जसलाई लेखेपछि बिर्सन नै मन लाग्छ । केही खबर सम्झनामा रहिरहन्छन् । अहिले ब्लगमा लेख्न मन लागेको कुरो सकियो । साहित्य छाँटेर नतन्काउँ होला । कसो ?     

Thursday, August 13, 2015

देब्रे हातेको दिवस



ट्वीटर चलाउन थालेपछि मात्रै थाहा भो International Lefthanders Day भन्ने पनि रैछ  । अघिल्लोपटक साथी अजय दासले यो दिन सम्झाए । योपल्ट मैले उनलाई । रमाइलो भो । मलाइ नि एकाबिहानै @Uzzwal999 भाइको ट्वीट पढेपछि थाहा भो । उनी पनि उस्तै । 

यही मेसोमा उनको ब्लग पढियो । देब्रे हुनुको गुलियो-अमिलो अनुभूति बडो मजाले लेख्या रैछन् । रमाइलो लाग्यो । केही लेख्न मन लाग्यो । तालु खुइलेका कुरा एकपल्ट सञ्चारकर्मी साथी यज्ञशले बडो मजाले लेखेका थिए । म पनि थोरै कुरा खोज्छु । देब्रे-हाते जिन्नगीका । मनरूपी इन्टरनल हार्डड्राइभबाट संस्मरणका केही पुराना फाइल खोजुम् है ।
 
मान्छेलाई तबसम्म मात्रै ती कुरा असहज अनुभव हुन्छन्, जबसम्म कुनै खास समस्या या वचनको सामना तिनैका कारणले होस् । समय बित्यो । अब असहज छैन । यो प्रष्ट बुझम् । 'तपाइँ लेफ्टी ?' यति भनेका कति मान्छेसँग संसारका प्रतिभा र नाम कहलिएका लेफ्टीबारे फरर भन्ने 'दिमाख चटाइ' भेटिरहिन्छ । एक मनले त कैलेकैले साला जिन्दगीमा केही नै पो गर्न सकिएनछ, हेर त लेफ्टी कस्ता-कस्ता हुनी रछन् झै नी लाउँने । अनि फेरि बखान गर्नेलाई हेरेर माया नि लाग्छ । मानौ उनले लेफ्टी हुन चाहेका थिए, भएर जन्मन पाएनन् । जे होस् मान्छेलाई भेटमा गर्न गफ चाहिन्छन् र, बोल्छन् । ठीकै छ ।
 
अनि अगाडिको गन्थन फुलबुट्टाको मुन्तिर छ ।  

***
मिल्स मावि, विराटनगर-२०, मिल्सएरिया । म पढेको स्कुल । क्लासमा देब्रेले लेख्ने मबाहेक थिएनन् । 'यसले गु धुने हातले लेख्छ, खान पनि यसैले होला' भन्दै साथी जिस्क्याउँथे । सर/मिसले पनि देब्रेहाते भएकै कारण म नजरमा परेको थिएँ ।
 
पढाउन जाँगर नचलेका दिन देब्रे-हाते महात्मय सुन्न मिल्थ्यो । दिमाख दायाँ सक्रिय हुुनेको बायाँ हात-गोडा चल्छन् । धेरै जनामा नगन्यमात्रै यस्ता जन्मिन्छन् । ठूल्ठुला मान्छे छन् । क्रिकेट खेले राम्रो । लेफ्ट ह्याण्डस खेलाडी पनि हुन्छन् । थाहा छ - अमिताभ बच्चन पनि लेफ्टी हो ।  कलाकार छन्, वैज्ञानिक, राजनीतिक नेताहरू आदि इत्यादि ।

लेखा पढाउने भूराज राइ सर भन्नुहुन्थ्यो -'तिमीले मास्टर भए राम्रो हुन्छ । लेख्दा ब्ल्याक-बोर्ड छेलिँदैन । विद्यार्थीलाई हेर्न सजिलो हुन्छ ।' सानैदेखि एउटा रहर के थियो भने जसरी हुन्छ सबैले मलाइ चिन्नुपर्छ । साथीभाइ, गुरू/गुरूआमा, पियन दाइ सबैले देब्रे-हाते भनेर चिन्छन् । त्यही सही । अरू को छ र ! बिस्तारै अरू पनि भेटिए । एकाध कक्षामा अरू पनि रछन् भन्ने थाहा भो ।
 
साथीहरू भन्थे -'लेफ्टीको दिमाख तेज हुन्छ । अक्षर राम्रा हुन्छन् । ट्यालेन्ट हुन्छन् ।' सुन्यो गमक्क पर्‍यो । कापी पल्टायो, आफैंलाई चित्त नबुझ्ने अक्षर छन् । न म्याथमा सिपालु, न इङलिसमा । हैट !

म सम्झन्छु मिस कौशल्या थापा । करिब ६ फीट हाइटकी । बडेमानका आँखा । ठूलो सोर । उहाँले गाली गर्दा हामी बालखको डरले पेन्ट भिज्छ जस्तो हुने । मेरा अक्षर साह्रै साना थिए। त्यसैले मलाइ कराउनु हुन्थ्यो -'यही पारा हो भने तिमी कलेज जाने बेलासम्म अक्षर लेन्स लाएर हेर्न पर्ने हुन्छ । अलि ठूलो लेख । बुझिने लेख । ठूलो लेख्दा बिस्तारै ठिक्कको राम्रो हुँदै जान्छ ।'
 
मैले स्कुलको फेसबुक ग्रुप बनाएको छु । एडमिन दिनका लागि भरलाग्दा साथी भएनन् । अप्डेट सन्तोषजनक छैन । तैपनि स्कुलको समुहमा थुप्रैजना जोडिएका छन् । मभन्दा केही ब्याच सिनियर उदय अर्याल दाइलाई एडमिन शेयर गरेको हो । तर, हामीलाई आ-आफ्ना कामले घर र स्कुलभन्दा धेरै टाढा पुर्‍याएको छ । उदय दाइले एकपल्ट कौशल्या मिसको फोटो शेयर गर्नुभो । मैले थाहा पाएँ -उहाँ अहिले क्यानडा हुनुहुन्छ । मैले मिसलाई अक्षरका ती ठूलो सोर गर्दाका कुरा कमेन्टमा लेखेँ - 'मेरो अक्षर राम्रै भएका थिए मिस । तर, हिजोआज कम्प्युटरले बिगारेको छ ।'


***
देब्रे हातको निसाना खुबै कडा हुन्छ । स्कुल जाँदा आँप र लिचीको सिजनमा गोजीमा ढुंगा बोक्यो । लायो निसाना टुइँ टुइँ । देब्रे चल्ने भन्दैमा संस्मरणको महात्मय नै लेख्यो होला भन्ठान्नुभो भने गलत हुन्छ । दिमाखबाट संस्मरणका थुप्रै पुराना फाइल डिलिट भएछन् । अतः कुरा धेर छैनन् । 

अहिले नि सम्झना हुने कुरो चाहिँ बालखमा घराँ खान बस्दाको छ । तीबेला आमा साह्रै कडा अनुशासनमा राख्न खोज्नुहुन्थ्यो (हुन्त अहिले नि त्यस्तै हुनुहुन्छ । कुट्नु चाहिँ हुन्न । ;) । देब्रे-दाहिने हात कुन हो भनेर म बिर्सन्थेँ । 
भात खाइरा बेला 'तँलाइ दिसा धुने र भातखाने हात नि हेक्का हुँदैन !' भनेर ठ्यामठ्याम चड्काउँदा त अहो ! हैट । भातै छाडेर रूँदै ट्युवेल दौड्यो । हात धोयो अनि 'लु म भातै खान्न' भन्दै दङ्ग्यायो । खाँदाखाँदैको भात छाडेर हिँड्दा अन्नले सराप्ने अर्को त्रास बढाउने डाइलग अजंगको लाग्थ्यो । त्यो त अहिले म नि छोरोलाई भन्छु ।
 
त्योबेला दङ्ग्यायो अनि केहीबेरपछि फेरि खान बस्यो । कुटाइ बिर्सियो चल्थ्यो । कुटाइ र ठूलो सोरका डरले कहिलेकाही हातमा डटपेनले हातमा लेख्यो - दाहिने । 'हात राम्ररी धोएर मात्रै खाने' भनेर आमा आफैं अगाडि उभिएर निर्देशनात्मक आदेश दिनुभो भने लेखेको नि मेटिन्थ्यो । अनि परो फसाद !
 
घर त घरै हो । हामीमात्रै हुन्छौं । कुटाइ-रुवाइ, ठूलो सोर र आँसू अरूले देख्दैनन् भन्ने ढुक्क हुने । मनलाई बढी चोट अनुभव हुने अवस्था चाहिँ कतै पाहुना गएका बेला हुने । त्यहाँ पनि आमाले त्यसै गर्नुहुन्थ्यो । देख्नेका लागि म केहीबेर हाँसो र केहीपछि दयाको पात्र हुन्थेँ । यस्तो पटक्क मन पर्दैनथ्यो ।
 
म किन देब्रे-दाहिनेमा झुक्किन्छु ! साह्रै नरमाइलो लाग्थ्यो । बिस्तारै एउटा आइडिया आयो । जुन हातले लेख्छ-त्यो देब्रे हुुँदै हो, किन कन्फ्युज भाको होला !
 
अनि खान बस्ता पानीले थालमा केही लेख्न खोज्यो । जुन हातले लेख्न जान्दैन, त्यो नै खानाखाने हात । क्या मज्जा ! जुन हातले लेख्न सक्छ, त्यो देब्रे । यो उपाय बडो जाती । सधैं काम लाग्ने । 

***

इटहरीमा मामाघर । ठूलामामाको स्टेसनरी पसल थियो । मलाइ कथा पढ्न खुब रूचि लाग्थ्यो । सिनेमा हेर्न ज्यान दिन्थेँ । मामालाई सिनेमा हेर्ने मान्छे मन नपर्ने । ठुलोमामा र ममा दुइटा समानता थिए । उहाँ पनि देब्रे हाते । उहाँलाई पनि 'डस्ट एलर्जी' । किताब जतनसाथ पढेर जस्तो लगेको हो उस्तै फिर्ता गर्ने सर्तसहित दिनुहुन्थ्यो ।
 
एक दिन भन्नुभो -'राजु (मेरो घरको नाम) तिमी पनि दाहिनेले लेख्ने प्राक्टिस गर । म त दुवै हातले लेख्छु ।' शायद यो २०४३/४४ सालको कुरा हुँदो हो । यो मेरा लागि त्यो बेला  घोर आश्चर्यको विषय थियो । उहाँले पालैपालो दुवै हातले लेखेर देखाउनुभो । घर फिरेर कोसिस गरिहेरेँ । अहँ म के सक्थेँ ! आ जेसुकै होस् देब्रे भए नि केही छेकिएको छैन भन्ने भयो ।
 
***

२०४८ पछि जब कलेज गइयो, देब्रे-हाते निकैजना भेट भए । रमाइलो भयो । यो कुनै अनौठो कुरो होइन भन्ने भयो । धेरै कार्यक्रमहरूमा देब्रे-हाते भेट हुन थाले ।  पहिले पहिले देब्रेले लेखेको देख्ता अचम्म मान्थे । सोध्थे मान्छे । अब त कौन पुछे खेसारी के दाल बराबर ।
 
मोरङको लेटाङमा एउटा कार्यक्रममा एक जनाले भनेको सम्झन्छु-'प्रत्येक २२ जना मान्छे भेला हुँदा त्यहाँ भरसक एकजना देब्रे-हाते हुन्छन् ।' फर्मुला कतिको पक्का हो भन्ने थाहा छैन । त्योबेला भने ती मान्छेले बोलेको पुगेको थियो । सबैतिर संख्यामा दाबी लाग्छ भन्ने नि केही छैन । त्यो भनाइ सम्झँदा अनौठो नि किन पो मान्न छ र । आखिरमा जुन हातले लेखे नि गतिलो बनाउन-भनाउन निधार बलियो हुन जरूरी छ । श्रमसँगै मान्छेलाई समयले साथ दिएको हुनुपर्छ । लडिलडि आउने केही होइन ।

मनोविज्ञानले भन्दो रछ - मान्छेमा गुण २ प्रकारको हुन्छ । जन्मजात र अर्जित । जन्मजात आउने केही गुण मान्छेमा आमा या बाबुको २५ पुस्तासम्मको आउन सक्छ/नआउन पनि सक्छ । जिनसम्बन्धी बिकार र केही खास गुण पुस्तौंपुस्ता सन्तानमा सरिरहने रहेछ । 

कुरा बडा द्विविधावाला छ । प्रष्ट चाहिँ के हो भने यो गुण मेरो मावलातिरबाट आको हुनपर्छ । मैले मामाको कुरा भनिसकेँ । मामा बित्नु भो । उहाँको आमा (मेरी हजुरआमा) ९१ वर्ष पुग्नुभो । हुनुहुन्छ । उहाँ देब्रे हातले लेख्नुहुन्छ । कहिलेकाहीँ मावला पुग्दा भन्नुहुन्छ 'ए यो आएछ । तँ पनि तेरो ठूलोमामा जस्तै । म जस्तै देब्रे-हाते ।' बडा खुसी लाग्छ । 

कुरो सकियो । फेरि अर्को विषयमा गन्थन गरम्ला ।       

Saturday, August 1, 2015

एउटा केटोको सम्झनाले ...

 
यो लेखोट २०७२ साउन १६ को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। एउटा व्यक्तिमाथिको फीचर। एउटा बसाइको लेखाइ लामो थियो। ती आधा छोट्टिएर प्रकाशित भएको छ। संक्षिप्त प्रकाशित हुँदाहुँदै पनि पत्रिकामा सबै कुरा पुरै छन्। जेजे सम्पादन गरियो/गरिए/भए, ती फाल्दा नि मर्म फालिएको छैन। तर, मलाइ यता ब्लगमा भने पहिलो मूल लेखाइ नै राख्न मन लाग्यो। जसमा मूल विषयभन्दा फाल्दा नि हुने गन्थन धेर छन्/भएका रछन्।
 
पोखरा आएपछि एकपल्ट लेकसाइड घुम्दाको साँझ हेल्पिङ ह्याण्ड्समा पुगेको हो। दोस्रोपटक नि पुगेपछि यिनका बारे लेख्न पर्छ भन्ने लाग्यो। त्यहाँ काम गरिरहेकाहरूका बारे चासो लाग्यो। धेरैले लेखेको र फोटो स्टोरी पनि गरिसकेको साथीहरूले सुनाउनु भयो। 

अबको चासो थियो- यी दृष्टिविहीन र बहिरालाई काम दिएर-लिएर व्यवसाय गरेकाको कथा। के कारणले यिनले यस्तालाई साथ लिए ? मान्छे सबलांग छन्। राम्रा-मिजासिला छन्। जुन व्यवसाय पनि गरिखाने योग्य देखिन्छन्। साथी केशवशरण लामिछानेले एक दिन बिहान भेटघाटको समय मिलाए। सर्त राखेर गइयो - 'यो विषय तपाइँ नलेख्नुहोला। म लेख्छु।' कुरो मिल्यो। भेट भयो। 

तर एक महिना बित्यो, मैले लेख्न भ्याइँन या भनौं अरू कामको चापले भुलायो। दीनेश थापाका कुरा सुनिसकेर एउटा मुडमा बसेर ती कुरा शब्दमा उन्न जरूरी थियो। जो अलिपछि मात्रै सम्भव भयो। यो बीचमा मित्रले आफूलाई आइपरेको टास्कमा एउटा फीचर लेख्नैपर्ने भयो। अतः मित्रले लेखेँ, नरिसाउनुस् भन्नुभो। ठीकै छ। हाम्रा काममा यस्तै पर्छ।

हामी धेरैपल्ट मान्छेका राम्रा काम र बानीमात्रै टिप्छौं। अँध्यारा पाटा छुट्छन्। कतिपय विषयको कथाले माग्दैन। कतिपल्ट हाम्रा जानकारीमा हुँदैन या भनौं खोजिँदैन। यहाँ पनि एउटा पात्रको नितान्त व्यक्तिगत भोगाइका कुरा उनिएको छ।
 
लेख्ने मामिलामा म अलि ढिला भएँ। तर, अब कथा एउटै एउटै बेला पारेरमात्रै आआफ्ना अखबारमा पठाउने सल्लाह भयो। त्यसै गरियो पनि। मेरो एक साता रोकियो, साथीको गत साता प्रकाशित भयो। उनको आएपछि मैले नछाप्नु पर्थ्यो होला। तर, आफूले लेखेको परिश्रमको माया लाग्यो। मैले रोकिन। आज छापियो। धेरैपल्ट के लाग्छ भने लहरै थुप्रै जनाले क्यामेरा लिएर कुनै घटना खिचिरहँदा हरेकका फ्रेममा अलग-अलग समय र एंगल कैद हुन्छन्। यो कथा पनि त्यस्तै हो। 

एउटै कथालाई आ-आफ्नो पाराको प्रस्तुति। मेरा साथी केशवजीको भाषागत दख्खल निकै राम्रो छ। उनको हेरिकन आफू सिकिरा'छु भन्ने लाग्छ मलाइ। तैपनि हेर्नोस् एउटै परिकार बनाउने काम दिँदा भान्सेका हातले नि स्वाद फरक पार्छन् भन्ने मानौं। अरू कति कथाले हाम्रो बाटो हेरिरहेका होलान्।

ब्लगमा अपलोड गर्दागर्दै मेरो जीमेल इन-बक्समा भोजपुरबाट पुष्पराज ढकालको  मेल हेर्दैछु । उहाँले लेख्नुभएको छ - 'लेख सारै राम्रो लाग्यो । मेरो पनि एकजना बहिरा छोरी हुनुहुन्छ ५ कक्षामा पढ्ने १२ वर्षको। थ्याङ्क्यु दाई तपाईको लेखहरू फेरि पनि पढ्न पाइयोस शुभकामना छ तपाइलाई।' 

हामी लेख्ने, तस्वीर खिच्ने कर्म गर्नेहरूका लागि विषय धेरै छन्। जति मान्छे भेट्यो भोगाइका कथा फरक फरक छन्। यो पनि तिनैमध्येको एउटा चरण हो। जे होस् यहाँ पुरा कुरा छ। 

अब मूल कथा 
अन्नपूर्ण पदमार्गबाट २० दिनको यात्रा सिध्याएर अष्ट्रियाका तात्याना स्टोइल्स र पिटर हेर्खर ११ वैशाखमा फेवाताल किनारको लेकसाइड आइपुगेका थिए। भोलिपल्ट दुवैले जीवनकै पहिलो भूकम्प होटलमै अनुभव गरे। 'हामी हतार हतार बाहिर निकिस्यौं,' तात्यानाले भनिन्, 'जीवनकै अनौठो अनुभव थियो।' पोखरामा केही दिन थकाइ मारेर सगरमाथाको गोक्यो ताल हेर्न जाने योजनामा रहेका दुवैको यात्रा सूची फेरियो। जोडिए हेल्पिङ ह्याण्डस्को राहत वितरण र भूकम्पपीडितको घर बनाइदिने अभियानमा।

'यो अभियानमा जोडिने हामीमात्रै रहेनछौ,' पिटरले सुनाए, 'हामीजस्ता १०/१२ देशका अरु पनि रहेछन्। दीनेशको अभियानले हामीलाई यात्राको मजाभन्दा पनि पीडितको सहयोग गर्न पाएकोमा आत्मिक आनन्द महसुस भयो।' परिवार, साथी र आफन्तबाट समाजिक सञ्जालका मद्दतले दुवैले ६ सय यूरोको योगदानमात्र गरेनन्, राहत बाँड्न गोरखा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक पनि पुगे। हाम्रो अहिलेको कथा यो होइन।  

पर्यटक रिझाउन अबेर रातिसम्म बत्ती झिलीमिली हुने पोखराको लेकसाइडमा थरिथरिका पसल, होटल र रेस्टुराँ छन्। यही भीडमा बहिरा र दृष्टिविहीनहरू काम गरिहेका भेटिने ठाउँ पनि छ। धेरैले यो हेल्पिङ ह्याण्डस्मा काम गरेर जिन्दगीको गाडी सजिलै गुडाएका बहिरा र दृष्टिविहीनका कथा पढेको हुनपर्छ। यहाँ त्यही कथा दोहोरिने छैन। 

फरक क्षमताकाहरूलाई साथ लिएर वर्षौदेखि काम गरिरहेका दीनेश थापाको बाटो मोडिएको कथा आज सुन्ने हो। २१ बहिरा, ३ दृष्टिविहीन, केही दोभाषेसहित ती फरक क्षमताका ३२ जनालाई काम दिएर-लिएर आफ्नो पेसा चलाइरहेका उनकै कथा ती इलमी हातहरूभन्दा केही मानेमा पृथक छन्। 

०००
  
काठमाडौंको गोकर्णका दीनेश पोखरा आएको १६ वर्ष बितेछ। 'बुवा आर्मीमा भएपनि घरखर्च चलाउन निकै मुस्किल थियो। घरको जेठो छोरो, पढाइ छाडेर म १४ वर्षको उमेरदेखि नङ्ग्रा खियाउन थालेको मान्छे,' उनले भने, 'अब त समय धेरै बित्यो। अवस्थामा आकास-पाताल फरक परेको छ।' मजदुरीबाट काम थालेर अरुलाई काम दिनसक्ने भएको भोगाइको कथा उनले किस्ता किस्तामा सुनाए।

'पहिलो काम घरमा धारा-पाइप फिटिङ गर्ने गरियो,' उनले भने, 'पहिलो कमाइ २१ सय हात परेको थियो। आफूलाई पाण्डा जुत्ता र आमाका लागि फरिया किनेको थिएँ।' राजधानीमा जति घर थपिन्छन्, उति नै सबैथरि इलमी मिस्त्रीले काम पाउँछन्। उनले यही बाटो सजिलो मानेका थिए। 'एकजना चिनजानका मान्छेले चुच्चेपाटीमा अढाइ-तले घर बनाए। धारा-पाइप, ट्यांकी फिटिङको ठेक्का ९ हजारमा दिए,' उनले भने, 'तर, काम सकिएर पैसा दिनेबेलामा ४५ सयमात्रै दिए। छिटो सक्नु थियो, मैले आफूमात्र काम नगरेर अरू दुईलाई पनि खटाएको थिएँ। घाटामात्र लागेन, कामसँगै दिक्क लाग्यो।'

काका नकुल थापा बानेश्वर इन्द्रेणी क्याफेमा बेकरीका सेफ थिए। प्लम्बरको पेसाबाट निराश भतिजलाई उनले बाँसबारीको एउटा बेकरीमा पिठो मुछ्ने काम लगाइदिए। हात हालेका काम छिटै सिक्ने बानी भए पनि उनी त्यहाँ तीन महिनाभन्दा बढी टिकेनन्। ठमेलमा सेफको दुई महिने तालिम लिए। त्यसपछि होटल सांग्रिलाको भान्सामा काका-भतिजसँगै भए। दीनेशले सुनाए - 'धेरै काम थोरै दाम। त्यसमा पनि मन रमाएन।'

कुरिनटार रिसोर्ट खुलेको थियो। त्यहाँ कामदार चाहिएको थाहा पाएका काकाले 'उता जा' भने। तर, मानेनन्। उनले भने, 'काकाले भन्नुभयो म १७ रुपैयाँमा घर पुछेर काम थालेको मान्छे। तँ १७ सय महिनाको दिँदा नि जाँदैनस् ?' उनले काकालाई योबेला टेरेनन्। 

बबरमहल रीभीटेडको सेज क्यारोलिन रेस्टुरेन्टमा काम गर्न मन थियो। त्यहाँ काम गरेपछिको अनुभवले जहाँ कतै पनि गरिखान अप्ठेरो पर्दैन भन्ने उनले बुझेका थिए। ६ महिनाको पर्खाइपछि उनले त्यहाँ काम पाए। दर्जा थियो- कुकको सबैभन्दा सुरुवाती मानिने थर्डकपी।' महिनाको वेतन १८ सय।

'त्यो डिसवासर प्रमोसन भएर आउने पोस्ट रहेछ। सबैलाई आफ्नो छेउ आफ्नै मान्छे ल्याउन मन हुन्छ,' उनले सुनाए, 'भाँडा माझ्ने मान्छे सेफको प्यारो थियो। त्यसैले मलाई सेफले असहयोग गर्न थाले। गाह्रो र हतपत जस नदिने काम लगाउन थाले। गलोस् र छाडेर जाओस् जस्तो गरे।' सन् १९९८ को कुरा थियो यो ।

०००
फ्रान्सेली साहुनी सेज क्योरोलिन आफैं राम्रो कुक थिइन। सेफ र भाँडा माझ्नेको असहयोगका बीच पनि उनले परिकार बनाउन सिक्दै गए। 'झेल्न नसकिने नै भएपछि मैले राजीनामा दिएँ तर, धेरै कस्टमर आउने भएकाले क्रिसमसको साँझ म रेस्टुरेन्टमा उसैगरि काम गर्न गएँ,' उनले सुनाए । १९० जनाका लागि सुप बनाउनुपर्ने। ४० जनाको ग्रुप आयो। २० ले खाए, २० ले त्यसपछिको सेकेण्ड कोर्स (अर्को परिकार) मागे। थापाको जिम्मा सलाद र स्याण्डबिचको सेक्सन थियो। 

केही भरपर्दा कामदारले क्रिसमसको केही दिनअघि नै राजीनामा दिएर गएका थिए। दोस्रो कोर्स अर्डरको १५ मिनेटमा तयार पारेर ल्याउनुपर्ने थियो। सुप बनाउने कारिगर थिएनन्। 'क्यारोलिनले हामीहरूलाई सोधिन् नो वन क्यान ?,' उनले भने, 'कोही नबोलेपछि उनी रुन थालिन। मैले आइ क्यान भनेँ।' त्यो दिन उनले रेष्टुराँको प्रतिष्ठा राखेको घडी थियो। 

'मलाइ साउनीले खाममा इनाम दिइन। ७० हजार रूपैयाँ रहेछ,' उनले भने, 'राजीनामा त दिएकै थिएँ। त्यो दिनदेखि काममा गइँन। उनले मेरा काकालाई फोन गरेर मलाइ लिन मान्छे पठाइछन्।' त्यसपछि तलब १८ सयबाट ८ हजार। बीमाका सुविधा पनि थपिए। सेज क्यारोलिनको रेष्टुराँले पोखरामा शाखा खोल्ने भयो। उनी यो थालनीका लागि सेफ बनेर काठमाडौंबाट पोखरा आइपुगे। 

'म १९ वर्षको थिएँ, १९ हजार तलब,' उनले सुनाए, 'बिस्ट्रो क्यारोलिन रेष्टुराले पोखरामा पर्यटकका लागि फ्रान्सेली परिकार पस्केको थियो, जो यहाँका लागि नौलो रह्यो।' पोखरेली रेष्टुरामा उनले चार वर्ष बिताए। 'कति अर्काकोमा काम गर्ने ? उमेर थियो, रहर थिए,' उनले भने, 'आफैं केही गर्ने। नाफा-नोक्सान आफ्नै लागि हिसाब गर्ने रहरले ५ लाखमा इस्ट-मिस्ट वेस्ट रेस्टुरा किनेँ।'

०००   
आफैंले रेस्टुरा किने पनि उनका लागि फ्रान्सेली रेस्टुराले एउटा सर्त गरेर मात्रै राजीनामा स्वीकृत गरेको थियो। सर्त - धेरै पाहुना आउँदा घण्टाको एक हजार रूपैयाँ पारिश्रमिक लिनेगरि भान्सामा सघाउन आउनपर्छ। यो क्रम बेला-बेला चल्दै रह्यो।

'मैले अर्काकोमा काम गरेर तलब थाप्नु र आफैं साउजी हुनुका बीचको फरक बल्ल बुझेँ,' उनले सुनाए, '१९ जना स्टाफ थिए। तलब दिने बेलामा जहिल्यै कताबाट जोरजाम गरेर पेमेन्ट गर्ने भन्ने चिन्ता लागिरहने।' सन् २००४ अन्त्यतिरको समय। त्यो एकजना गुरूङको रेस्टुरा थियो, जो अलि राम्रो अवस्थामा चल्न सकेको थिएन, जसलाई उनले किने। सशस्त्र द्वन्द्वका कारण मुलुकमा संकटकाल। पर्यटक आउन घटे।

रेष्टुराँ-होटल र पर्यटकका गाइडको सम्बन्ध डाक्टर र औषधि पसल चलाउनेको जस्तो हुन्छ। डाक्टरका प्रेस्क्रिप्सन बोकेर बिरामी त्यही पसल पुग्छ, जो नजिक छ वा जहाँ उसलाई जान भनिएको हुन्छ। यस्ता पुर्जी बोकेकाहरू आएमात्रै औषधि पसल नाफामा चलिरहन्छन्। 'टुर गाइड मेरा केही साथी थिए, त्यहीमध्येको एउटा साथी थियो शोभित,' थापाले सम्झिए, 'उसले चारजना टुरिस्ट लिएर मेरो रेस्टुरा पसेका दिन भान्सामा ग्यास थिएन। किन्नका लागि ७ सय रूपैयाँ थिएन।' शोभितले उनलाई दिएको एक हजारबाट ग्यास आयो। पाहुनाले खान्कीको ३७५० रूपैयाँ बिल तिरेर गए। शोभितले कमिसन लिएनन् जो उनका लागि उपकार भयो।

पोखरा पर्यटन व्यापारमा फेवाताल, अन्नपूर्ण पदमार्ग र पश्चिम पहाडका दृश्यावलोकन बेच्छ। टुर गाइड खुसी पार्छ। आफ्ना होटल र रेस्टुरा चलाउँछ। पोखरामा उनलाई उनलाई साथ दिन बिस्ट्रो क्यारोलिन रेस्टुरामा सँगै काम गरेका अमीर केसी उताको काम छाडेर आए। रेष्टुराको नाम इग्रेट भ्यू राखियो। ६ महिनापछि फेरि व्यवसाय खस्कियो, नाम फेरियो- इन्लाइटेड याक।
 
०००
जग्गाधनी भीमप्रसाद गुरूङ बेलायती सेनाका रिटायर्ड। मनकारी भएकाले रेष्टुराँको मासिक १८ हजार भाडामा कुनै बेला पुरै पैसा नदिएपनि कसिकसाउ गर्दैनथे। त्यताबाट सन्तोष भएपनि व्यापार घाटाले २ वर्षको भाडा तिर्न पुगेन। ऋण खोजेको पैसा लिएर बुझाउन जाँदा उनले एक वर्षको भाडा छुट गरिदिए। 

'इन्लाइटेड याकलाई ३ वर्षन्दा बढी धकेल्न सकिएन,' थापाले सुनाए, 'चप्पल चुँडिए पनि जोडेर लाउथेँ। ऋण खोजेर पनि स्टाफलाई तलब दिन्थेँ।' 

उनले सुने- काठमाडौंमा एउटाले दाउरामा पिज्जा बनाउँछ। पोखराका लागि यो नौलो तरिका थियो। गोरखपुरबाट भट्टी ल्याएर 'ला पिज्जा दलालेगो' को नामबाट उही रेस्टुराँ फरकरूपमा अघि बढ्यो। 'महिनामा एक लाख हाराहारी बिजनेस हुन थाल्यो। कुनै बेला एक दिनमा ३ सय ९५ वटासम्म बेचियो,' उनले भने, 'पहिले स्टाफले मन लगाएर काम नगलार्न जस्तो अवस्थाको मेरो रेस्टुरेन्टमा अब लोड बढी भएर भाग्लान् जस्तो हुन थाल्यो।'

०००
व्यवसाय एउटा मोडमा पुगेर सन्तोष भइरहेका बेला उनको मैंयासँग जोडी बाँधियो। वर्षदिनमा जन्मिएकी छोरीको नाम 'खुसी' राखियो। 'जिन्दगी यहाँसम्म ठीकै थियो,' उनले भने, 'अनि फेरि अर्को मोडले मलाइ पर्खिरहेको रहेछ।' 

एकपटक मैंयालाई खाना रुचेन। दुवै जाँचका लागि मनिपाल अस्पताल पुगे। रगत जाँचका लागि प्रयोग भएको सिरिञ्जबाट उनको हातको नसामा हावा पस्यो। 'डल्लो भयो। तीन दिनपछि पाक्यो,' उनले भने, 'हामी फेरि गयौं। अस्पतालले काट्यो, फाल्यो, त्यो ठाउँ खाल्डो भयो। इन्फेक्सन भएछ।' त्यही चोटले एक दिन अर्द्ध-बेहोस मैंयालाई अस्पताल उनले पुर्‍याए। सुरूमा सामान्य बिरामी भनेर एकअर्काका अभिभावकलाई ढाँटेका थापा दम्पती त्यो दिन समस्यामा परे।

अस्पतालले चलाएको उपचारले मैंया निको भइनन्। अवस्था बिग्रिएपछि आइसीयूमा राखियो। दुवैका आफन्त आए। भेन्टिलेटरमा राखिएकी मैंयाले रगत बान्ता गरिन्। शुक्रबार साँझ अस्पताल लगिएकी उनले शनिबार बिहान आफन्तले 'जसरी भए पनि काठमाडौं लैजानु पर्छ ' भन्ने सल्लाह हुँदाहुँदै देहत्याग गरिन्।

'दूधमुखे छोरीको रुवाइ। मेरो एक्लो जीवन। म पुरै टुटेँ,' दीनेशले भने, 'जिन्दगी फेरि कसरी ट्रयाकमा आउँछ भन्ने नै भएन।'  घटना पछिका तीन महिना उनको रेस्टुराँ बन्द रह्यो। 

०००

तीनजना बालकहरू झगडा गरिरहेका थिए। दीनेशले देखे। दुईले एउटालाई कुटे। ती शायद सडक बालकहरू थिए। 'कुटेको हेरिरहन सकिएन। गएर छुट्याएँ,' उनले भने, 'बढी कुटाइ खाने १२/१३ वर्षको रक्ताम्य केटालाई बोलाएँ, उसले सुनेजस्तो गर्दै गरेन।' पछाडिबाट कुममा हात राखेपछि उसले फर्केर हेर्‍यो। ऊ बहिरो थियो। ऊसँगै एउटा कुकुर हिड्थ्यो। उनले भने, 'त्यो दिन उसलाई खान दिएँ र, पठाएँ। त्यसपछि ऊ कहिलेकाहीँ मेरो रेस्टुराँमा आउँथ्यो।' 

यसबीच दीनेशले मैंयालाई गुमाए। तीन महिनापछि पोखरा आए। 'कुनैबेला १ करोड २० लाख दिने भनेर चाइनिज आउँदा नबेचेको रेस्टुरा अब म जतिमा भएपनि बेच्ने पक्षमा पुगेको थिएँ,' उनले भने, 'परिवार रहेन भने मान्छे कसका लागि खट्छ? कसका लागि काम गर्नु? भन्ने सोच दिमागमा थियो।' ५० लाखमा उनले राजेश गुरूङलाई बेचे। माथिल्लो तलाको रेस्टुरा बेचे पनि गुरूङले मुनिका चार कोठा नबेच्न उनलाई सल्लाह दिए। 

तिनै बेचबिखनको एउटा दिन उनले सुने- फेवातालमा एउटा केटाको लास तैरिरहेको छ। उनी हेर्न गए । त्यो उही केटो थियो, जसले कुटाइ खाएको देखेर उनले मन थाम्न नसकी छुट्याएका थिए। किनारमा त्यही कुकुर एकतमासले हेरिरहेको थियो। केटोको शव किनारमा निकालेर भीडले 'खाते कसरी मरेछ -' भन्दै थियो।

'मलाइ लाग्यो यो केटालाई बेलैमा मैले सहारा दिन सकेको भए मर्दैनथ्यो होला,' उनले भने, 'त्यसपछि यस्तो के काम हुन्छ जसले यस्तालाई सहारा हुन सक्ला भन्नेतिर दिमाग गयो।' स्पा र पश्मिना बुनाइको काम बहिराले गर्न सक्छन् भन्ने लाग्यो। उनले यस्तो काम गरिरहेका राजधानीका आफ्ना साथीसँग सल्लाह गरे। उनीकहाँ थन्किएका दुईवटा तान झिकाए।

गण्डकी बहिरा संघमा गए। पाँचजनालाई ल्याएर स्पाको कामका लागि तालिममा लगाए। काम थालनी भयो 'हेल्पिङ ह्याण्स्' को नामबाट। उनले नजिकका अरु जिल्लाका अपांग र बहिराका संघसंस्थामा पनि खबर गरे। चितवनबाट सातजना आए। बिस्तारै दृष्टिविहीन थपिए, बहिरा पनि सम्पर्कमा आउन थाले। दोभाषे राखिए। 'जिन्दगीमा यो मोड अचम्म लाग्दो थियो,' उनले भने, 'उनीहरू धेरै इसारामा कुरा गर्थे, जो म बुझ्दिनथेँ। तर, यही शैली मन परेको थियो।' 
०००    

सन् २०११ मा हेल्पिङ हृयान्ड्स स्पा र ह्याण्डी क्राफ्ट सुरु भयो। एकातिर स्पाको व्यापार छ, जहाँ पर्यटकलाई मसाजको सेवा दिइन्छ। यहाँ नौजना बहिरा र एकजना शिक्षकले काम पाएका छन्। अर्कातिर बाराहीचोक नजिकैको ह्याण्डीक्राफ्ट पसलबाट पश्मिना, स्वेटर, सल र यस्तै सामान बेचिन्छ। 

सामान राखेका र्‍याक हेर्दै भित्र पसे धागो र तानहरुमा हातहरू दृष्टिविहीन र बहिराका हातहरू पस्मिना पछ्यौरा, सलदेखि स्वेटर बुन्न निरन्तर खटिएको देख्न सकिन्छ। पर्यटकको आगमनमा पर्ने प्रभावसँगै व्यापारमा उतारचढाव सामान्य छ। तर, दीनेश काममा मोडिएको जीवनको यो बाटोमा व्यस्त छन्। बर्सेनि सेतो छडी खरिद गर्छन् र, जिल्ला-जिल्लामा वितरणका लागि पठाउँछन्।
 
काममा खटिएका फरक क्षमता भएकाहरू पनि खुसी छन्। महिनाको कम्तीमा पनि साढे ९ हजार।  तलबबाहेक हरेक पिसमा ३० देखि १ सय रुपैयाँको इन्सेन्टिभ। खानेबस्ने र स्वास्थ्योपचारको सुविधा। हातेतानले एक दिनमा ५/७ वटा तयार हुन्छ भने विद्युतीय तानले बढीमा २५ वटासम्म बनाउँछ। दिनमा १ सय २५ वटासम्म तयार हुन्छ। एउटा पस्मिना सल ६ सय ५० देखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। 

थापाको उत्पादनलाई जर्मनको एउटा संस्थाले युरोपको बजारमा बेच्छ भने बेलायतमा पनि त्यस्तै अर्काे आउटलेट छ। 'जिन्दगी जसरी चलायो त्यसरी चल्ने रहेछ तर, एउटा एउटा मोडले मान्छेलाई कताबाट के गराउन पुर्‍याउँछ भन्ने थाहै नहुने,' उनी भन्छन्, 'बहिरा र दृष्टिविहीनलाई काम दिएर उनीहरूको खुसीबाट म आनन्द लिन्छु। म कुनै समाजसेवी होइन। जिन्दगी यसरी चल्छ भन्ने भयो, यतै बाटो मोडियो।'