Wednesday, October 26, 2016

थाइल्याण्ड यात्रा

आफ्ना कुरा 
जरूरी छैन, हरेक यात्राका कुरा पठनीय होस् । बग्रेल्ती नेपाली संसारका कुनाकाप्चा पुगेका छन् । सुख-दुःख पाएका छन् । केही बेलाबखत खबरहरूमा आएका छन् ।
हामी सामान्य पेशा गरिखानेका यात्राका बेलिबिस्तार पढ्न लायक नै होस् भन्ने दाबी लाग्दैन । तर, आफूलाई यो लाग्छ, यात्राका कुरा पढ्न मजा हुन्छ । केही लेख्छन्, धेरै भोग्छन् तर, लेख्दैनन् । पत्रकार पर्यटक बनेर सितिमिति घुम्दैनन् । तर, यौटा यात्रा त्यस्तै गरियो, तिनैबारे केही लेखियो । आफू काम गर्ने अखवारको शनिवारे परिशिष्टांकमा पनि लेखोटले ठाउँ पायो । जे होस्, अखबारमा जे आयो, जति आयो, ठीकै छ । अहिलेको जमर्को यहाँ ब्लगमा ती स्मरणलाई जतन गर्न खोजेको हो । पोखरामा रहेर काम गरिन्छ । यात्राको प्रबन्ध विराटनगरबाट साथीहरूले गरे । झापा भएर निस्कने दिन टोलीमा सम्मलित हुन पाइयो । हाम्रा यात्रा मुलुकका उच्च पदस्थजस्तो खबरमै आउन पर्ने भन्ने होइन । तर, देखे-भोगेका कुरा लेख्दा पढेकालाई पछि जाँदा अवश्य नै सहज हुन्छ भन्ने लाग्छ । 
नेपाल सुन्दर छ भन्नेमा शंका छैन । तर, सबै ठाउँ यातायात सहज छैन । देशभित्रैका कुनै ठाउँ घुम्न जाउँ भन्दा न हतपत मित्रहरू तयार हुने, नत काम गरेका ठाममा त्यो वातावरण मिल्ने भन्ने अवस्थाका हामी भुक्तभोगी नै छौ । अझ पत्रकारिता पेशा गरिरहँदा ठोस कारण नदेखाइ देशभित्रै कतै घुम्न हिँडेको भनिहाल्न सोच्नै पर्छ । 
जे होस्, मुलुकभित्रको यात्रा कामकै सिलसिलाले पनि बेलाबखत गराइरहन्छ । लेख्ने-खिच्ने चलिरहन्छ । २०७३ भदौ २२ देखिका एक सातामा म विराटनगर, काँकभिट्टा, बागडोग्रा, कोलकाता, बैंकक र पटाया पुग्न पाएँ । यात्रा रमाइलो रह्यो । रमाइलो यस अर्थमा की म विधिवत विदा लिएर निस्केको थिएँ । काम गर्नुपर्ने थिएन । कलम, डायरी र क्यामेरा साथै भएपनि मैले कतै पनि प्रेस परिचयपत्र देखाएर कुरा गर्नुपर्ने थिएन । एउटा ट्राभल प्याकेजमा सामान्य पर्यटकका हैसियतले घुम्नु थियो । जो गरियो । देखियो, यौनमा आधारीत पर्यटन-उद्योग पनि सम्भव रहेछ । तल अब घुमघामका गन्थन छन् । 
पर्यटनको नौलो संसार  
बलिष्ठ ज्यानका गार्डले पालैपालो हाम्रा हातमा रातो मार्करले लेखिदिए - १० । बाहिर बाफिलो गर्मी, भित्र वातानुकुलित रंगीन संसार । सबैलाई अग्र भागको सोफामा बस्न दिइयो । लागेको थियो- हामीलाई यहाँ कुनै कार्यक्रम हेर्न ल्याइएको होला । किनभने यसअघि हामीले दिउँसोदेखि तीनवटा भिन्नाभिन्नै कार्यक्रम यसरी नै बसेर हेरेका थियौं । चिनियाँ, थाइ र रसियाली सांस्कृतिक कार्यक्रमको डिजिटल सजावटसहितको फ्युजन रहेको अल्केजर शो र दुइवटा यौन कार्यमा उत्साहित गर्ने क्याब्रे पाराका शोहरू ।
तर, यहाँ हामी बसेको अगाडि सीसाको पारदर्शी पर्खालपछाडि लघुवस्त्रमात्रै लाएर रिमिक्क परी बसेका सुन्दरीहरू छन् । उनीहरूका ब्राको बायाँतर्फ छुट्टाछुट्टै नम्बर छ । पाहुना देखेर सबै मुस्काए । केहीले आँखा झिम्क्याए, ओठ चलाए, केहीले 'मलाइ रोज' भन्ने इशारा गरे । सीसामा २५ सय र २ हजार भाट लेखिएको थियो । 'नीलो ड्रेसको २५ सय र रातोको २ हजार । तपाइ जुन छान्नुहुन्छ हामीलाई ट्याग नम्बर भन्नुस्,' हामीलाई बस्न लगाउनेले अर्थ्याए 'तपाइँहरूलाई यहाँको चित्त बुझेन भने माथिका तलाहरूमा पनि यस्तै छ तर, भाउ अलि बढ्दै जान्छ ।' भित्रको शोकेसमा बसेमध्येका केही नेपाली पनि रहेको उनले बताए । तर, गोरा-राम्रा अनुहार, उस्तै नाममात्रको पहिरन देख्ता को नेपाली, को अरु भनेर छुट्याउन सकिदैनथ्यो । 
अरु व्यवहार जेसुकै होस् यो पक्का छ यौनकार्यका लागि भाषाको आवश्यकता छैन । संकेतले काम चल्छ, यहा“ पनि सांकेतिक भाषाले काम चल्न सक्ने अवस्था थियो । हामी थाइल्याण्डको पटायामा थियौं । र, हामी पसेको ठाउँ थियो पीपी बडी मसाज पार्लरको भूइँतला । केही साथी अन्कनाए, केही तुरुन्तै 'हैट कहाँ आइएछ !' भन्दै आत्तिएर बाहिर निस्किए । १० मध्येका आठ साथी बाहिरिएपछि साथी राजेश रौनियार र ममात्रै भित्र भयौं । केहीबेरमै हामीलाई पनि साथीहरुले बाहिर ल्याए । यहाँ नरोकिने, बरु पटायाको समुद्र किनार डुल्ने, कुनै नेपाली रेस्टुरेन्ट खोजेर केही खाने सल्लाह भयो ।
हामीलाई बेलुकी घुमाउँदै यहाँसम्म ल्याउने रेड एप्पल ट्राभल एजेन्सीको गाडीको नम्बर १० थियो, जो हाम्रा हातमा लेखिएका थिए । यो अंकको संयोग बडो गजबको थियो । हामी संख्यामा १० जना थियौं । रातको १० बजेको थियो । हामीमध्ये कसैले शोकेसभित्रका कुनैलाई रोज्दा तिर्ने रकममध्येको १० प्रतिशत गाडीका चालकले कमिसन पाउने रहेछन् । 
निकै कम अंग्रेजी जान्ने चालकले हामीलाई बुझाए 'तपाइ जोजो यहाँ केटी छान्नुहुन्छ, काम सकिएपछि उसले होटल फर्किन यहाँबाट ट्याक्सी सजिलै पाइन्छ ।' आफूलाई चित्त परेको रेट तिर्ने, छानेको नम्बरकी युवतीलाई कोठामा लैजाने, उनले मसाज गरिदिन्छिन् । मन लागे यौन सम्पर्क गर्ने । अनि होटल फर्किने । पटाया आइपुग्ने पुरुष पर्यटकले गर्ने कामको फेहरिस्त उनले बताए । 
पटायामा त्यो हाम्रो दोस्रो दिन थियो । औपचारिक घुमघाममा जानुअघिको बिहान हाम्रो गाइड नीनाले यहाँ सुरक्षित घुमघाम, मसाज र यौनकार्यको आनन्द लिने तरिका बताएकी थिइन । उनले भनेकी थिइन 'सस्तो भनेर जतासुकै नजानुस् । लुटिने डर हुन्छ । बाटोमा देखिने रेटको बोर्डभन्दा हामीले लिने चार्ज केही बढि नै हुन्छ तर, सुरक्षित ठाउँमा पुर्‍याउँछौं ।'
०००
संवैधानिक राजातन्त्र रहेको दक्षिणपूर्वी एशियाली देश थाइल्याण्डको भ्रमण अघि नै यसका बारेमा खोजेर केही कुरा पढेको हो । १५६८ वर्ग किमी क्षेत्रफल, ७५ प्रान्त र करीब ७ करोड जनसंख्या रहेको यो मुलुक शिक्षा, स्वास्थ्य, उद्योगव्यापार र पर्यटनमा अग्रणी छ । यहाँ बहुराष्ट्रिय कम्पनीहरूले व्यापार विस्तार गरेका छन् । ९३ प्रतिशत बौद्ध धर्मावलम्बी, कुल जनसंख्यामध्ये राजधानी बैंककमा मात्रै १३ प्रतिशतको बसोबास छ । यहाँका रेड लाइट एरिया संसारमै चर्चितमध्ये पर्छन् । सरकारले नै अनुमति दिएर चलेका रेडलाइट एरियाबाहेक पनि दिनमा करीब तीन हजार हाराहारी युवती देहव्यापारका लागि बैंकक आइपुग्ने यहीँका होटलव्यवसायीले बताए ।  मेट्रो रेल र पानीजहाजको यात्राबाहेक नौलो लाग्ने कुरा यहाँ मोटरसाइकललाई ट्याक्सीको रूप दिएर यात्रुलाई गन्तव्य पुर्‍याउने पेशा आफैंमा उदेक लाग्दो देखियो । अतिथिलाई कसरी हुन्छ सेवा दिने र साटोमा आउने आम्दानीको तरिका जानेकाहरू देख्ता पोखरालगायत हाम्रा पर्यटकीय केन्द्रले सिक्नुपर्ने धेरैथोक रहेछन् । 
पूर्वमा लाओस्, कम्बोडिया, दक्षिणमा मलेशिया र पश्चिममा म्यानमार छिमेकी रहेको यो मुलुकले पटायाबाट पानीजहाजको छोटो यात्रामा कोस्टल बीच पुर्‍याउने, मोटरबोटमा डोरी लगाइएका प्यारासुटको छोटो उडान र वाटर-बाइक कुदाउन लगाएर उठाइने शुल्कको तरिका यहाँ गजबको रहेछ । समुद्रको सफा देखिने नुनिलो पानीमा नुहाउनेको बग्रेल्ती भीडमा हामीले भेटेमध्येका अधिकांश भारतीय थिए । उडीसाबाट सपरिवार घुम्न आइपुगेका ५५/६० वर्षका एकजनासँग छोटो कुराकानी भयो । उनले बताए- कोलकाताबाट २० हजार भारू बोकेर घुम्न निस्केका इण्डियनका लागि थाइल्याण्ड मितव्ययी घुमघामका लागि उचित गन्तव्य छ ।
धेरै भारतीय पर्यटक आउने भएकाले बैंकक र पटायाका बाटाहरूमा फाटफुट हिन्दी बोल्ने थाइहरू भेटिने मात्रै होइन पंजाबी, बंगाली र दक्षिण भारतीय परिकारका रेस्टुरा पनि भेटिने रहेछन् । भारतीय खानाका रेस्टुरामध्ये हामी पुगेकाहरूमा सञ्चालक भारतीय नै भेटिए । त्यसमा काम गर्ने केही नेपालीभाषी पनि । बर्माका करीब सात लाख आप्रबासी थाइल्याण्डमा छन् भन्ने सुनिएपनि नेपाली बोल्नेमध्येका धेरैले आफूलाई बर्मेलीका रूपमा परिचय दिन चाहेनन् । फुटपाथमा पसल थापेका, नेपाली बोल्नेहरूसँग किनमेलमा आफ्नै भाषामा संवाद भएपनि उनीहरू नेपाल बारे सोध्न उत्सुक भेटिएनन् । भेटिएका केही उत्साही नेपालीभाषी युवकमध्ये धेरैजसो अरूका पसल, प्रतिष्ठानमा काम गर्न बसेकाहरू थिए । 
बैंकक, फाइथाइ पेचबुरी रोडको एउटा भारतीय रेस्टुराका कामदार रामुले पहिले हिन्दी बोले । पछि नेपाली भन्ने थाहा भएर हामीसँग नेपाली बोले । 'यहाँ जेजे किनमेल गर्ने हो त्यो ठाउँ थाहा पाइएन भने हराइन्छ,', उनले भने, 'लत्ताकपडाको बेग्लै, इलेक्ट्रोनिक्स समान बेच्ने बेग्लै छन् ।'
०००     
गुगलमा खोज्दा काठमाडौं र बैंककको दूरि २२ सय २० किमी देखाउँछ । हामी भने काठमाडौंबाट सोझै थाइ एयरमा त्यहा“को यात्रा गर्न सकिने भएपनि मितव्ययी 'ट्राभल प्याकेज' खोज्दा रुटका लागि भारतको बाटो रोज्न पुग्यौं । खर्चका हिसाबले यो केही कम लाग्ने रहेछ । पूर्व मेची सिमानाको काँकडभिट्टाबाट करीब १८ किमी दूरिको बागडोग्रा । त्यहाँबाट ५५ मिनेटको उडानमा कोलकाता र त्यहाँबाट २ घण्टा १५ मिनेटको अर्को उडानपछि बैंककको सुवर्णभूमि एयरपोर्ट ।
राति २ बजे कोलकाता छाडेका हामीहरू विहान हुने हुने बेला बैंकक पुग्यौं । बत्ती झिलीमिली थिए । त्यहाँबाट ट्राभल एजेन्सीको गाडीले १ सय ४७ किमी दक्षिणपूर्वको पटाया पुर्‍याउँदा अझै विहान भइसकेको थिएन । तर, पटायाका सडकमा खानेकुराका स्टलहरू खुल्लै थिए । केही पसल रातभरि चल्ने रहेछन् । मौसम विराटनगरको भन्दा खासै फरक थिएन । ३४/३५ ड्रि्री तापक्रम । गाडी, होटल, पसल सबैतिर एयरकन्डिसनको चिसो । 
होटल पुगेर लगेज बिसाएपछि घुम्न निस्किएका हामीहरूले खानेकुरा सडकमा बेच्न राखेको देखेपनि भाषा नजान्दा खान हुने हो वा होइन भन्ने थाहा पाउन सकेनौं । एउटा पसलमा समुद्री जीवका परिकारसँगै भात र अनेकथरि खानेकुरा थिए । तर, पसल चलाउने महिलाले 'थाइबाहेक अरू भाषा आउँदैन' भनेपछि संवाद असहज भयो । स्ट्रीटका खानेकुराका पसलहरूबाट बेग्लै प्रकारको गन्ध आउने । अलिपछि थाहा भयो त्यो माछाको तेलको गन्ध रहेछ । यहाँको बजार बिहान गर्मि हुने भएकाले अलि ढिला खुल्ने रहेछ । दिउँसो २ बजेदेखि खुल्न सुरू भएर रातभर चहलपहल । मसाज सेन्टर बाहिर हुलका हुल केटीहरूले बोलाउने र मसाजको रेट बताउने रहेछन् । यहाँ ट्याक्सीचालक होस् वा होटलका गार्डहरू, सबैले आगन्तुकलाई ' वान्ट टु गो मसाज ? बुम बुम ?' सोध्ने रहेछन् । मसाजमात्रै गराउने वा अर्थोक पनि गर्ने भन्ने त्यो आगन्तुकको रुचिमा भर पर्ने रहेछ ।
०००
ट्राभल प्याकेजमा पुग्नेहरूको यात्रा सीमित क्षेत्र र समयलाई ध्यानमा राखेर मात्रै हुन्छ । हामी जहाँ जान भनेर आयौं, त्यहाँका लागि पहिलो केही खास क्षेत्र हेर्नैपर्ने गरि तालिका बनाइएका थिए । दोस्रोमा हामीलाई खुला घुमफिरका लागि धेरै समय खाली थिएन । पहिला तीन दिन पटाया घुम्ने, चौथो र पाँचौ दिन बैंकक । आइपुगेपछि मात्रै थाहा भयो घुम्न सकिने ठाउँ धेरै रहेछन्, हामीसँग समय सीमित । यात्रा बस, ट्याक्सी वा रेल जेमा गरेपनि सजिलो अनुभव हुने । तर, संवाद कतै-कतै असजिलो । धेरै ठाउँ थाइ भाषामात्रै बोल्नेहरू भेटिँदा उनीहरूले बनाएका नौला पाराका खानेकुरा खान हुने हो वा होइन भन्ने थाहा पाउनै गाह्रो । हामी बिहान-बेलुकी भात खाने बानी परेकाहरूलाई बसेको होटलले बिहान उपलब्ध गराउने ब्रेकफास्टकै भरमा हिड्न पर्ने देखियो । बिहानै बेस्सरी खान हामीलाई कसरी रुच्नु । जति सकिन्छ खाने, दिउँसो बाटाउँदी भेटिने फास्टफुड किन्दै-खाँदै हिड्ने । 
बसेको होटलमा धेरै संख्या भारतीय पर्यटकको थियो । होटल परिसरमा आधुनिक पहिरनमा ग्राहक खोज्दै गरेका युवतीहरू कुरो मिलाउँदै लिफ्ट उक्लिरहेका थिए । गार्डले बताए - 'बजार र चहलपहल नभएको अलि सुनसान जस्तो लाग्ने गल्लीमा एक्लैदोक्लै नजानुस्, तेस्रोलिंगीले लुट्छन् । केटीजस्तो लाग्ला र, रोकिनु होला, तिनले पर्स-पैसा लुटेका घटना बारम्बार हुन्छन् ।'
हुन त हामीले हेरेको तीमध्येका दुइवटा शोहरू तेस्रो लिंगी नै धेरै भएकाहरू थिए । अल्केजरको शो सकिएपछि हलबाट बाहिरिँदा कलाकार दर्शकसँग फोटो खिचाउन परिसरमा निस्किएका थिए । जसले आफूसँग फोटो खिचाउँछ, भनिहाल्थे- 'मनि मनि ।' पैसा दिइहाल्नुपर्ने । उनीहरूको पहिरन र भेषभूषा केटीका थिए, बोली पुरुषको । रसियन शोमा पनि धेरै तेस्रोलिंगी थिए । ज्यनमा माथिल्ला वस्त्र फुकाल्दा महिला ठानिनेहरू, तलका लुगा फुकालेर देखाउँदा पुरुष अंग भएका ।  
पटायाको बीचरोडस्थित बेडरक रेस्टुरामा भेटिए धरान र दोलखा घर बताउने केही नेपाली । त्यसअघि हामी एउटा '५० भाटमा ड्राफ्ट बियर' लेखेको रेस्टुरामा पसेका थियौं । पोखरामा एउटा त्यस्तै रेस्टुरा छ, जसले ड्राफ्ट बियर अर्डर गर्दा एउटा बडेमानको जगमा ल्याएर दिन्छ । तीन गिलास बियर हुन्छ । त्यही सम्झेर पसियो । तर, यहाँ एक गिलासमात्रै दिने रहेछ । मलाइ बियर त्यति निको लाग्दैन । कारण- भुँडीमा स्पेस बढि लिने, काम कम गर्ने । बरू त्यसको साटो एक पेग व्हिस्की नै उत्तम ।
सल्लाह मिलेपछि नाइनास्ती गर्ने कुरा भएन । ड्राफ्ट बियरको रेस्टुरामा हामीले करीब हजार भाट खर्च गर्‍यौं । त्यसपछि बाटामा नेपालीभाषी भेटिएकाले बेडरकमा पुगियो । धरान घर बताउनेले भने 'नेपाली पनि टुरिस्ट भएर घुम्न आएको देख्ता धेरै खुसी लाग्छ ।' यहाँ भेटिएमध्येका दोलखाका सविन पाण्डेले आफू काठमाडौंको सांग्रीला होटलमा काम गर्दागर्दै यहाँ आइपुगेको बताए । 'मलाइ ल्याउने साहुसँग तीन वर्षको कन्ट्रयाक्ट सकिएपछि मैले साथीसँग मिलेर दुइटा रेस्टुरा खोलेको छु,', उनले भने, 'ती भइकन पनि म यो बेडरकमा पनि काम गर्छु ।' थाइल्याण्ड आउने धेरै नेपाली होटलको सेफका रुपमा काम गरिरहेको भेटिने उनले बताए । उनको पार्टनरले थाइ केटी बिहे गरेकाले सजिलो भएको सुनाए । 'यहाँ काम गर्ने सरकारी अनुमतिका लागि लाग्ने शुल्क तिरेर वैधानिक रूपमा बस्नेले राम्रो कमाइ गर्नैपर्छ,', उनले भने, 'थाइहरू आफैं मिहिनेती छन्, काम गर्ने मान्छे चिन्छन् । टुरिज्ममा काम गर्ने वातावरण छ ।' व्यवसायीले तिरेको करको हिसाब गर्दा सरकारप्रदत्त सुविधाहरू उल्लेखनीय रहेको उनले बताए । 'सिस्टममा कमजोरी जहाँ पनि हुन्छ तर, यहाँ सिस्टम अलि कडा छ,', उनले भने, 'नेपालीहरूले भारतीय जतिको प्रगति गर्न सकेको अवस्था छैन ।'
पटायाका गल्लीहरू हाम्रा ठमेल र लेकसाइडको झल्को दिने भएपनि यहाँ अन्तर्राष्ट्रियस्तरका हिल्टन लगायतका होटल देखिए । आँखाले नभ्याउने अग्ला भवन, आउजाउका आठ/आठ लेनका सडक, बग्रेल्ती गाडी, ट्राफिक प्रहरीको साटो सीसीटीभी क्यामेरा देखिनु र धूवाँ-धूलो नहुनु हामी घुमन्तेका लागि गजब नै रह्यो ।
०००     
विश्व बैंकको तथ्यांकमा थाइल्याण्डमा बेलाबखतको सुनामी र राजनीतिक अस्थिरताबाहेकका समय पर्यटक आगमन दर उच्च छ । सन् १९९५ मा ६९ लाख पर्यटक भित्रिएको यो मुलुकमा सन् २०१४ मा २ करोड ४८ लाख पाहुना आएको तथ्यांकले देखाएको छ ।पर्यटक आगमन यहाँको आधुनिक वैभव, वातावरण र स्वाथ्योपचारका लागि मात्र छैन । अर्को प्रमुख आकर्षण यौन बजार पनि छ । त्यसो त व्यवस्थित रूपमा लाइसेन्स दिएर सञ्चालित रेडलाइट एरिया बाहेक पनि यहाँ पटाया र बैंककका सडकहरूमा बेलुकी पोल पोलमा अडिएर मोबाइल खेलाउँदै देहव्यापारका लागि उभिनेको भीड उग्र नै हुने रहेछ । त्यसमाथि पटायामा यौन स्वछन्दताको आभाष गराउने थुप्रै प्रकारका शोहरू नाटकघरमा हेरे जसरी नै प्रदर्शन हुने रहेछ । पटायाबाट बैंकक फिरेपछि हाम्रा लागि फिर्नुअघिका १४ घण्टा फुर्सदिला थिए । यो समय हामीले आफैं टिकट लिएर मेट्रो रेलको सफर र किनमेलमा बितायौं । पटाया र बैककको यात्रा गरेपछि मात्रै थाहा भयो - हामीले फुकेट छुटाएछौं । त्यहाँ जानुपर्ने रहेछ । फुकेट हाम्रो प्याकेजमा थिएन । बैककमा केही नेपाली सपरिवार भेटिए । उनीहरू मलेशिया, सिंगापुर घुमेर आइपुगेका थिए, तीन देशको ट्राभल प्याकेजमा ।  
बैंककमा हाम्रा गाइड पोले नहेरी नहुने भन्दै केही धार्मिकस्थल र व्यापारीक केन्द्र घुमाए । फायाथाइको जेम्स ग्यालरी र वाट टिमिट भनिने गोल्डेन बुद्धको मन्दिर यिनमा भीडभाडको क्षेत्र थियो । ग्यालरीमा बहुमूल्य धातु र पत्थर जडित गहना बिक्रीका लागि राखिएका थिए । तिनको मूल्यसूचि अनुमानभन्दा निकै महंगा पनि थिए । जेम्स ग्यालरीमा हामीले केही किनेनौं ।  
झण्डै १० फीट कदको ५५ सय किलोको बुद्धको सुनौलो मूर्ति रहेको वाट टिमिट मन्दिरका गजुर र छानाहरू सबै सुनौला थिए । यहाँ बग्रेल्ती पर्यटकमात्रै होइन, बुद्ध अर्चनाका लागि भेला भएका थाइ नागरिकको पनि घुइँचो लाग्ने रहेछ ।
०००
बैंककबाट कोलकाताहुँदै बागडोग्रा भएर काँकडभिट्टा आइपुगियो । हामीलाई बागडोग्राबाटै थाइल्याण्ड लैजाने-फिराउने इण्डिगो एयर थियो । यसो भनुम खासमा त्यसको सीट एसी डिलक्स बस जतिको गतिलो चाहि थिएन । तर, उडानका लागि तोकिएकै समयमा उडेको-अवतरण गरेको थियो ।  
बैंकक एयरपोर्टको ड्युटी-फ्री पसलमा हामीमध्येका केहीले लिकर्स किनेका थियौं । सुवर्णभुमि एयरपोर्टमा तिनलाई 'ह्याण्ड-क्यारी' मा लैजान भनियो । कोलकाताबाट बागडोग्राको डोमेस्टिक फ्लाइटमा एयरपोर्टमा सुरक्षा कर्मचारीले 'ह्याण्ड-क्यारी' मा लान नमिल्ने, बरू 'लगेज' मा हाल्न भने । त्यसै गरियो । देश फरक, नियम फरक । बागडोग्राबाट भारत-नेपाल दुवैका सीमा सुरक्षा अधिकारीले हाम्रा ब्याग चेक गरेनन् । हामी काँकडभिट्टा भंसार भएर पूर्व-पश्चिम राजमार्ग विराटनगर आइपुग्यौं । फिरेर मलाइ यात्राका बारेमा केही लेख्न मन लाग्यो । पटाया र बैंककमा जेजे देखियो, तिनलाई गुगलमा सर्च गर्दा सबैका तस्विर र विवरण हेर्न पाइनेगरि राखिएका रहेछन् । 
अल्केजर शोमा क्यामेरा लैजान र फोटो खिच्न निषेध थियो । त्यसो त मैले 'फोटो खिच्न नपाइने' भनिएका कुनै पनि शो हेर्न जाँदा क्यामेरा बोकिँन । मलाइ फोटो खिच्न इच्छा थिएन, खिचेर जित्नुपर्ने पनि केही थिएन । पछि केही लेखौं भन्ने लाग्दा फोटो चाहियो ! कथाले माग्यो । मैले वेवसाइट हेरेर अल्केजरलाई इ-मेल लेखेँ । मलाइ जवाफ आयो - 'छुट्टै फोटो पठाउन सक्दैनौ । हाम्रो वेवसाइटमा भएका फोटा डाउनलोड गर्न सकिन्छ ।' मैले त्यही गरेँ । अखबारमा त्यो साइटबाट साभार गरिएको एउटा फोटो चलाइएछ । काम चलिगो । ठीकै छ । 

Thursday, October 6, 2016

परम्परा धान्दै चुल्याजुका जेरी

  बर्माबाट इलम लिएर फिरेका पोखराको भीमसेनटोलका सिद्धिलाल चुल्याजुले बिस. १९९० मा खोलेको पसलको परम्परालाई उनका सन्तानले निरन्तरता दिएका छन् । अन्तका मिठाइ पसलेका तुलनामा पोखरेली चुल्याजु स्वाद पृथक छ ।  
सेलरोटी पकाउने जसरी नै गिल्याइएको चनाको बेसन वा मैदालाई तेलमा पकाएर झिकिने, अनि चिनीको पाकमा डुबाएपछि बनाइनेमध्येको एउटा परिकार नचिन्ने शायदै होलान् । कतै जेरी, कतै जुलेबी भनिने यो परिकार यदि पोखरामा आएर खाइयो भने तराइका कारिगरले बनाएभन्दा पृथक आकार र रंगको भेटिनेछ । न कुनै अतिरिक्त रंगको मिश्रण, न तराइमा बनाइने राता-राता पातला जस्ता । यहाँको जेरी फूल आकारको अनौठो छ । उपमहानगरमा भेटिनेमध्येको भीमसेनटोलका चुल्याजु परिवारको मिठाइ पसल पुरानो हो ।

चाडबाड सुरू भएयता यो पसलमा आएर जेरी किन्ने धेरै छन् । दसैंमा भेला भएपछि चुल्याजुका पसलका मिठाइ ल्याएर खानु बितेका यहाँको भैरव, गणेशटोल, नालामुख, भीमसेनस्थानका धेरै परिवारका लागि भेटघाटको सुखद संयोग बनेको छ । 
पसल यतिबेला पा“च भाइ चुल्याजुमध्येका कान्छा ५० वर्षीय राजकुमार र उनकी जीवनसंगिनी दयालक्ष्मीले सम्हालेका छन् । मुख्य बजार क्षेत्रबाट विन्ध्यवासिनी मन्दिर जाने बाटोमा पर्ने पसल कुनै अत्याधुनिक शो-केस, खानेबस्ने टेबुल कुर्सी आकर्षक सजावट भएको भने छैन । तीनवटा ग्यास चुला, तिनमा खानेकुरा पकाउँदा निस्कने वाफ-धुँवा बाहिरिने ठाउ“मा आधुनिक पाराको टीनको भान्से-चिम्नी । केही टेबुल-कुर्सी सामान्य खालको काठको पुरानो शो-केस । हेर्दा सामान्य लाग्ने भएपनि उपमहानगरभरि चुल्याजुका मिठाइको ख्याति निकै छ । 'पुरानो पसल हो, हामीले बिस्तार गरेर सजावट नगर्नुको पनि कारण छ,' राजकुमारले भने 'यहाँ बसेर खानेभन्दा अर्डर दिएर जेरी, गजा-खस्टा, लालमोहन र एैंठे घर लैजाने धेरै हुन्छन् । बसेर खाने धेर नआउने ठाउँमा सजावटको के काम ।'
मल्लकालमै पोखरा आउने नेवार परिवारको इतिहास छ, जसले यहाँ व्यापार थाले । आफ्ना संस्कृति जोगाए । भक्तपुरबाटै आएमध्येको एउटा परिवार चुल्याजु पनि हो । भारतीय र ब्रिटिस सेनाको भर्तीमा गएर लाहुरे बनेका साथीहरू देखेका २९ वर्षीय सिद्धिलाल चुल्याजुलाई पनि रहर लाग्यो । १९८५ मा घर छाडेर हिँडे । भर्ती त हुन सकेनन् तर, उनले पाँच वर्ष बर्मामा बिताएपछि घर फिर्दा एउटा गरिखाने इलम लिएर आए । इलम थियो- मिठाइ बनाउने । भुत्ते भनिने सिद्धिलालले स्थानीय साहु चन्द्रबहादुर बाटाजुबाट ऋण लिएर विस १९९० मा नालामुखचोकमा पसल खोले । नाम चल्यो- भुत्तेको मिठाइ पसल । उनले छिटै ऋणमात्रै तिरेनन्, पसलको आम्दानीले उनका सन्तानको सुखी जीवनका लागि मार्ग सरल बनायो ।
कुनै समय यही मिठाइ पसलका बारेमा लेख लेखेका स्थानीय अष्टमान प्रधानांग भन्छन् 'हामीले केटाकेटीदेखि देखेको, मिठाइ खा“दै आएको पसल हो भुत्तेको ।' उनका अनुसार सिद्धिलालका समकालीन नभेटिने भएकाले उनका बारेका धेरै कुरा खोज्न सजिलो छैन । 'यति हो त्यो जमानामा नाम चलेका यस्ता मिठाइ पसले थिए, जो आफैं मालिक आफैं कालिगढ थिए,', उनले भने, 'उनी मिजासिला, ग्राहक रिझाउने खालका थिए ।' आफ्नो कामबाहेक उनी समुदायको परम्परागत बाह्रभैरव नाचका एउटा कलाकार पनि थिए ।
२०१५ सालमा राजा महेन्द्र पोखरा आएका थिए । र्सवज्ञमान प्रधानांग त्यसताका उद्योग वाणिज्य संघ सभापति थिए । उनले राजाको स्वागतमा नगरमा दुइ सयवटा हाराहारी स्वागतद्धार बनाउन लगाए । ती द्धारमध्ये एउटाले निकै चर्चा पायो । महेन्द्रले ती बनाउनेलाई लेकसाइडको रत्नमन्दिरमा बोलाए र, तिनको हातबाट बनेका परिकार तत्कालीन राजपरिवारले चाखे । सिद्धिलालले सेलरोटी र जेरीको स्वागतद्धार बनाएका थिए, जो त्यसताका सबैका लागि अनौठो थियो । 
परिस्थितिका कारण सिद्धिलालले तीनपटक विवाह गरेका थिए । जेठीबाट दुइ छोरी, माइलीबाट एक छोरा र कान्छीबाट चार छोरा भए । २०२७ सालमा उनी दिवंगत भएपछि छोराहरूमध्ये केहीले अल्पकाल पसल हेरे । अन्ततः पृथ्वीनारायण क्याम्पसमा नेवि संघको राजनीतिमा चाख राख्ने कान्छा छोरा राजकुमारले जिम्मेवारी लिए । आइए पढ्दा उनी डेढ महिना थुनामा पनि परेका थिए । तर, पसलको जिम्मेवारी लिएपछि पढाइ छुट्यो । हातमा आयो मिठाइ बनाउने जिम्मेवारी । 
यतिबेला राजकुमार र दयालक्ष्मी दिनहुँ पसलमा मिठाइ बनाइरहेका भेटिन्छन् । 'हामी धेरै अर्डरको काम गर्र्छौ,' दयालक्ष्मीले भनिन्, 'पुरानो पसल भएकाले ग्राहक पनि पुरानै छन् ।' उनका अनुसार समान्यतया दिनको सरदर ६ हजार रूपैयाँ हाराहारीका परिकार बनाइन्छ । अर्डरका बेला दिनमा २० हजार बराबरीका मिठाइ तयार पार्ने गरिएको छ । जमानामा पुरी, तरकारी र चिया पनि बेच्ने भुत्तेको मिठाइ पसलले अहिले जेरी, गजा-खस्टा, लालमोहन र एैँठेमात्रै बनाउँछ । 'हामी रंग हाल्दैनौ, एक किलो मैदाको मुश्किलले ३० वटा बन्छ,', उनले भनिन्, 'त्यसैले धेरै डिमान्ड जेरीकै हुन्छ । हामी जेरी नै धेरै बनाउँछौ । यहीँ बसेर खानेभन्दा लाने धेरै हुन्छन् ।'
राजकुमारको भागमा जिम्मेवारी आएपछि भुत्तेको त्यो पुरानो पसल नालामुखबाट आफ्नै जमिनमा केही पर भीमसेनटोलमा सर्‍यो । सिद्धिलालले पसल थाल्दा सडकहरू बनिसकेका थिएनन् । तराइबाट मैदा, चिनी र बागलुङर्-पर्वतबाट घ्यु झिकाउँथे । 'बुवाको पालाभन्दा अहिले सजिलो छ, फोन गर्‍यो । मैदा, चिनी, सूर्यमुखी तेल घरमै आइपुग्छ,' राजकुमार भन्छन्, 'बुवाको ख्यातिले अहिलेसम्म हाम्रो पसल चलेको छ । समयअनुसार स्वाद फरक परेर ग्राहक भाग्लान् भन्नुपरेको छैन ।' उनको पसलबाट धेरै बिक्री हुने जेरी नै हो । यसबाहेक अन्त सजिलै नभेटिने गजा-खस्टा र एैँठे बेलायत र हङकङ जानेहरूले किनेर कोसेली लैजान्छन् । राजकुमारका १९ र १७ वर्षका छोराछोरी पनि फुर्सद मिलाएर पसलमा सघाउँछन् । तर, चुल्याजु परिवारको यो पसललाई भविष्यमा पछिल्ला पुस्ताले निरन्तरता देलान् भन्नेमा राजकुमार ढुक्क छैनन् । 'हेर्दा मिठाइ तर, बनाउन सीप चाहिन्छ, जो सजिलै जानिंदैन, काम गर्ने राख्दा टिक्दैनन्,' उनले भने, 'हामीले सकुञ्जेल चलाउने हो । भविष्यमा के होला कसले जानेको छ र ।'
(१९ असोज २०७३, कान्तिपुरको भित्री पानामा प्रकाशित /  ब्लगमा संग्रहका लागि थोरै थपथापसहित)

Wednesday, October 5, 2016

रोगीका लागि फेरिनै सकेन समाज

लागूऔषधको बढ्दो प्रयोग 
'बाउ र दाजु बाहिर थिए, सोझी आमालाई जे भने नि पत्याउँथिन्', उनले आफ्ना कुरा सुनाइन, 'मलाई केटी साथीका संगत मन नपर्ने । केटा साथी, चुरोट र रक्सी मन पर्दापर्दै कहिले ड्रग्स लिन थालिएछ, पत्तै भएन ।' 
पोखराको सीतापाइलास्थित नौलो घुम्तीको सुधार तथा पुनर्स्थापना गृहमा चन्द्राले आफ्नो बारेमा सुनाउने पालोमा बोलेकी थिइन । उनले भनिन् 'तर, म यहाँ आएपछि सुध्रिएँ । अब मलाई पुराना कुराले पछुतो लाग्छ ।' सुधारगृहमा आएर लागूऔषध छाडेका दिनलाई पुनर्जीवन मिलेको मानेर जन्मदिनका रूपमा मनाउने गरिएको छ । यहाँ हाल २० महिला र ३० पुरुष छन् । आकर्षक पाराले सजाइएको केक काटेर मनाइएको जन्मदिनमा यहाँबाट सुध्रिएर घर फिरेका १५ जनाले आफ्ना अनुभव सुनाए । तिनैमध्येका छबिले आफू सुध्रिएको २७ महिना लागेको सुनाउँदा सबैले ताली पिटे । केहीले आफ्ना अनुभव सुनाउँदा भावुक पनि भए । उनीहरूमध्ये धेरैको भनाइ लागुऔषध छाड्छु भनेर सुधार केन्द्रबाट निस्किएपछि जीवनको असल संघर्ष सुरू हुन्छ भन्ने रह्यो ।
पोखरा उपमहानगर भारतीय सीमाना नजिक छैन, न त चीनको सिमाना नै यहाँबाट नजिक छ । तर, लागूऔषधको ओसारपसार र प्रयोग दक्षिणका कुनै सिमावर्ती शहरका तुलनामा यहाँ कम छैन । यसको पुष्टि प्रहरीको तथ्यांकले पनि गर्छ । गत वर्ष लागूऔषधका ८९ मुद्दामा प्रहरीले ६ महिलासहित १ सय ५८ जनाविरुद्ध कारवाही चलाएको थियो । चालु वर्ष २०७२/७३ का १० महिनामा नयाँ मुद्दा संख्या ६१ पुगेको छ । पक्राउ परि कारवाही चलाइएकाहरूमा सात महिलासहित एक सय दुर्इजना पुगेका छन् । यी अवधिमा बरामद लागूऔषधको परिमाण पनि उल्लेख्य छ । 'सीमावर्ती शहरमा ओसारपसारका केस धेरै होलान् । यहाँ त युजर धेरै छन्', कास्कीका प्रहरी निरीक्षक गणेश बमले भने, 'युजरले भनेजति पैसा हाल्न सक्ने भएकाले यहाँ ड्रग्स ल्याएर बेच्ने र खाने घट्दै घटेनन् ।' उनका अनुसार बढ्दो शहरीकरण र आधुनिकतासँगै किसोरकिसोरीको जिज्ञासू उमेर र सम्पन्नताले लागुऔषधको लत बढाएको अवस्था छ । 'यो पुरै निर्मुल कसरी हुन्छ भन्दा पनि न्युनीकरण कसरी हुन्छ भन्नेमा लाग्नुपर्छ', उनले भने, 'लागूऔषध नखाउन भनेर परिवार र समाज सचेत नभएसम्म समस्या यस्तै नै रहिरहने अवस्था छ ।'
जिल्ला प्रहरी कार्यालय कास्कीले हेर्ने मुद्दामा र्सवाधिक संख्या लागूऔषधकै छ । प्रहरीले चालु वर्षामात्रै एक इरानी र एक जर्मन नागरिकविरुद्ध पनि लागूऔषधका मुद्दामा कारवाही गरेको छ । उपमहानगरको आम्दानीको ठूलो हिस्सा पर्यटन व्यापार र वैदेशिक रोजगारीले ओगटेको छ । यी व्यवसायमा रहेका परिवारमा सन्तानको लालनपालनमा ध्यान दिनुपर्ने समय अभिभावकसँग कम हुने भएकाले कतिपय परिवारका युवापुस्तामा ड्रग्सको लत हट्न सकेको छैन । गृह मंत्रालय र केन्द्रीय तथ्यांक विभागले २०६९ मा गरेको एउटा सर्वेक्षणले त्यसबेला कास्कीमा लागूऔषध प्रयोगकर्ताको संख्या पाँच सय तीन महिलासहित छ हजार नौ सय १७ रहेको देखाएको थियो । यिनमा सूइबाट लागुऔषध लिनेको संख्या ६० प्रतिशत रहेको उक्त तथ्यांकमा छ । 
यसै क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्युनिटी सर्पोट ग्रुपका कार्यक्रम संयोजक दिलीप गुरूङका अनुसार गृहको उक्त तथ्यांकपछि पनि संख्या घटेको छैन, बरु बढेकै छ । सरकारीतवरबाट लागूऔषधको ओसारपसार र प्रयोग निरुत्साहित गर्न कुनै पनि प्रभावकारी कार्यक्रम नआउनु दुखद रहेको उनले बताए । 'प्रहरीले पक्राउ गर्नेबाहेकका कुनै पनि चेतनामुलक कार्यक्रम भएनन्, गैरसरकारी संस्थाको कार्यक्रममा मात्रै भर गरेर यसको रोकथाम हुने देखिँदैन', उनले भने 'अभिभावक बाहिर रहनु, केटाकेटीमा परिवारको नियन्त्रण नहुनु र साथीसंगत लती बनाउने ठूलो कारक यहाँ देखिएको छ ।' आफ्ना स्कुल-कलेज जाने उमेरका नानीहरू के गर्दैछन्, उनीहरूको संगत कस्तो छ, उनीहरूको रुचि केमा छ भन्ने अभिभावकले ध्यान दिएमात्रै पनि लागूऔषधको बाटोबाट रोक्न सकिने उनले बताए । 'सरकारबाट चेतनामुलक कार्यक्रम त आएन आएन, समाज जसरी परिवर्तन हुन सक्नुपर्ने थियो, त्यो पनि भइदिएन', उनले भने, 'रिह्याब (सुधार केन्द्र) मा बसेर फर्किएकाहरू फेरि किन ड्रग्समा फँस्छन्, उनीहरूलाई कसरी रोक्ने भन्नेमा परिवारमात्रै होइन समाजको पनि सकारात्मक भुमिका जरुरी छ ।' 
त्यसो त उपमहानगरपालिका भित्रमात्रै लागूऔषधको लत छुटाउन १० वटा सुधारगृह सञ्चालनमा छन् । सबैमा आफ्नो लत सुधार्न भर्ना भएकाको संख्या उल्लेख्य छ । नगरका सुधारगृहमध्ये दुइवटामा महिलाका लागि पनि व्यवस्था छ । यहाँ मुलुकका विभिन्न जिल्लाबाट सुध्रन चाहने भर्ना छन् । सुधारगृहहरूलाई केही समय यहाँ बसेर घर फिरेकाहरू सामान्य जीवनमा कसरी फिर्लान् भन्ने चिन्ता रहिरहने नौलो घुम्तीकी कार्यक्रम संयोजक मना ज्ञवालीले बताइन । 'रिह्याबमा पहिलो चरणमा तीन महिना राख्ने हो, त्यसपछि उनीहरू घर आउँदैजाँदै गरेर पनि आफूलाई सुधार्न सक्छन्', उनले भनिन्, 'घरपरिवारले हिम्मत दिएर मनोबल बढाइदिए लागूऔषध छाड्न मन बनाएकाहरू सुध्रन धेरै समय लाग्दैन । तर, धेरै परिवारलाई फुर्सद हुँदैन, समाजले जिस्क्याउन छाड्दैन ।' लागूऔषधको लत लागेकालाई 'रोगी' मानिने भएकाले उसको सुधारका लागि सुधारगृहको एक्लो प्रयास कहिल्यै पर्याप्त नहुने उनले बताइन । 'जसरी स्कुल-कलेज र अस्पतालको संख्या बढेको छ त्यसरी नै ड्रग्स युजर पनि बढेका छन्', उनले भनिन्, 'यसलाई गम्भिर समस्या मानेर सुध्रन चाहनेलाई समाजले सघाउनुको विकल्प नै छैन ।' आफ्ना परिवारका सदस्यलाई सुधारगृहमा ल्याएका थोरै परिवारमा मात्रै गम्भिरता पाइएको उनले बताइन ।
(१८ जेठ २०७३, कान्तिपुरमा प्रकाशित । संग्रहका लागि)