Monday, October 14, 2019

Swallow birds - गौँथलीको घर



सिकारी जीवजन्तुबाट  सुरक्षार्थ  मान्छेका नजिक बस्न मन पराउँछन् ।
तर, न हाम्रो नियन्त्रण रुचाउँछन्, न त दिएको खान्छन् । 

चन्द्रागिरी नगरको मच्छेगाउँमा एकजनाले बाँसमा धेरैवटा प्वाल पारेर भँगेरालाई आश्रय दिन एक प्रकारको बास बनाउन सकिने जुक्ति लगाए । आफ्नो जुक्ति उनलाई यति मन पर्‍यो की त्यसको नमुना गाउँमा आयोजित कार्यक्रमका प्रमुख अतिथिलाई ल्याएर देखाए । अपेक्षाविपरीत ती बयोवृद्ध अतिथिले भने 'योभन्दा पनि अर्को उत्तम उपाय छ । तपाइँ पाटन आएका बेला मेरो घर पस्नुस् ।'
  
उनी बकुम्बहाल आए । देखे- भित्तामा दुई खण्ड छन् । एउटामा १८ र अर्कोमा १४ वटा प्वाल । भँगेरामात्रै ठिक्क पस्न-निस्कन मिल्ने बनाइएको छ । मान्छे र बिरालोको पहुँचभन्दा निकै माथि । तल चारो टिप्ने र पानी खाने-खेल्ने सुविधा पनि छ । चरा आवास क्षेत्र रहेको घर हो संस्कृतिविद् सत्यमोहन जोशीको । 

भँगेरा चिन्तक छक्क परे । यस्तै केही गर्छु भन्दै प्रभावित भएर फिरे । 

'मैले यो बनाउन लगाएको १०/१२ वर्षमात्रै भयो । थुप्रै भँगेरा बस्छन्,' जोशी भन्छन्, 'पुण्यकर्मको फल राम्रै प्राप्त हुन्छ भन्ने धर्म मान्ने समाज भएसम्म मान्छेले आफ्ना लागि मात्रै होइन, वरपरका सबै प्रणालीका लागि सोच्थ्यो । अब त्यो जमाना गयो, चराले बास पाउन गाह्रो हुँदै गएको मान्छे स्वार्थी भएर हो ।' 

सभ्यताको विकासक्रमअघि जब मान्छे ओडारमा बस्थे, लुगा लगाउन सिकेका थिएनन् । त्यो बेला चराहरूले गुँड लगाउने, जोडी भएर समाज मिलेर बस्ने र चल्ला हुर्काउने गरेको देखेर मान्छेले सिकेको हुनुपर्ने जोशीको तर्क छ । 'गौंथलीले घाँसपरालका त्यान्द्रा हिलामा चोबेर बनाउने गुँड, माकुराले बुन्ने जाल उसका लागि बास र आहारको व्यस्थापन आफैंमा वैज्ञानिक विधि हो,' उनी भन्छन्, 'त्यो देखेका पाषाण युगका मान्छेले प्रयोगका तरिकामात्रै सिकेनन्, आफ्ना लागि चाहिनेभन्दा धेरै विकास गरे । चराचुरुंगी र जनावर जस्ता थिए, उस्तै छन् ।' प्रकृतिप्रदत्त आफ्नो अवस्थाबाट नफेरिएका जीवजन्तु संरक्षणको दायित्व मान्छेकै भएको उनी बताउँछन् । अरु छाडौं, यो कथामा हामी गौंथलीका कुरा केलाउँछौं । मात्र गौंथली ।
  
००० 
बागलुङ बजारको आवा रोडका थुप्रै पसलहरूमध्ये एउटाको सटरमाथि प्वाल अलि अनौठो  छ । टिन उधारेर बनाइएको छ । किन त्यसो गरिएको भन्ने स्थानीयलाई थाहा छ । किराना पसले गणेश लम्साल आगन्तुकलाई कारण बताउन धक मान्दैनन् ।
 
'चरा सेवाका लागि हो यो तारतम्य,' उनी भन्छन्, 'यति गरेपछि गौँथलीले भित्र-बाहिर गर्न सटर कतिबेला खोल्छन् भनेर पर्खनु परेन । कतै जान परेर दिउँसो पसल बन्द गर्नुपर्दा हामीलाई पनि चिन्ता भएन ।' लम्सालले पसल थालेको २० वर्ष भयो, अहिलेको ठाउँमा सरेको सात वर्ष। 'पहिले बसेको घर ढुंगामाटोको थियो, त्यहाँ चारवटा गुँड थिए,' उनी भन्छन्, 'अहिलेको ठाउँमा एउटा गुँड छ । जोडीले बर्सेनि चल्ला हुर्काउँछन् ।'


बेच्न के राखिन्छ, त्यसैले तय गर्छ पसल कतिबेला खोल्ने । पोखरा-२५ हेम्जाकी चन्द्रा दाहालको लामाचौतारामा सटरमा औषधि पसल छ । 'एकाबिहानै खोल्छु, बेलुकी यिनीहरू बास बसेपछि ल अब बन्द गरे पनि हुने भयो भन्ठान्छु,' उनी भन्छिन्, 'पसल थालेको ११ वर्ष भयो । सुरु गरेदेखि नै गौंथलीले गुँड लगाएको छ ।' गौथलीका चिरबिर मन परेपनि आफू सफा रहने तर, भीत्ता र आफ्ना गुँड मुन्तिर फोहोर पानी बानी मन नपर्ने उनले बताइन ।

'यसले गुँड लगाएकाले गर्दा पसल बन्द गरेर २/४ दिन कतै सञ्चोले जाउँ-बसौं भनेपनि पाइँदैन,' उनले भनिन् । किन र ? गौथलीले पसल बन्द नगर्नु भन्छन् ? भन्ने प्रश्नमा उनले एउटा घटना सुनाइन । एकपटक काम परेर बाहिर जाँदा पसल ३/४ दिन बन्द भयो । त्यो बेला गुँडमा गौथलीका चार बचरा थिए । 'फर्केर पसल खोल्न आउँदा सबै बचरा मरेका रहेछन्,' उनले भनिन्, 'सटर बन्द भएकाले माउ छिर्न नपाएपछि खानै नपाएर बचरा मरेछन् । त्यो देख्ता कति ठूलो अपराध गरिएछ भनेर धेरै दिनसम्म नरमाइलो लागिरह्यो । त्यो दिनदेखि मैले यिनीहरूलाई बाधा पर्नेगरि पसल बन्द गरेकी छैन ।' बर्सेनि गौंथलीले गुँडमा चल्ला हुर्काएर उडाउने गरेको उनले बताइन ।
 
ताप्लेजुङको फुङलिङ-४ पुरानो बैंक रोडका योगेन्द्रबहादुर गुरूङको घरमा गौंथलीको पनि बास छ । जोडी आउँछन्, फुल पार्छन् । चल्ला हुर्काउँछन् र, उडाएर लैजान्छन् । बर्सेनि आउजाउको क्रम चलिरहँदा उनलाई लाग्छ- 'यिनीहरूले मेरो घरलाई प्रसूतिगृह नै ठान्छन् ! केही महिना हराउँदा चाहिँ यिनीहरू कहाँ जान्छन् होला ? 

०००
'गौंथली परापूर्वकालदेखि मान्छेका साथ छन्, यिनीहरू बीच बीचमा कहाँ जान्छन् भन्नेमा अनेक तर्क छन्,' लण्डन जूलोजिकल सोसाइटीका नेपाल प्रमुख डा. हेमसागर बराल भन्छन्, 'यसबारे थुप्रै अनुसन्धान पनि भएका छन् । हामीले साझा नाम गौंथलीमात्रै भनेर चिन्ने गरेपनि यो वर्गमा दुइथरि चरा छन् - स्वालो र मार्टिन ।'
 
नेपालमा गौंथली ११ र मार्टिनका १० प्रजाति पाइन्छन् । नेपालमा पाइएकामध्ये ५ प्रजातिले गुँड लगाउन मान्छेका घर, गोठ, भवन र मठमन्दिरजस्ता संरचनाको आश्रय लिने उनले बताए । 'हामीले धेरैजसो देख्ने र काठमाडौं उपत्यकामा घरमा गुँड लगाएको पाउने चरो घरगौंथली नै छ,' उनी भन्छन्, 'अहिले काठमाडौंभित्र खोज्दै गए गौंथली घरमा छन्, मार्टिन केही बाहिर छेउछाउमा पुगेका छन् ।' गौंथलीका केही प्रजातिले रूखको हाँगा र टोड्कामा पनि गुँड बनाउने उनी बताउँछन् ।
 
गौंथली तराईदेखि पहाडसम्मै पाइन्छन् । सुरक्षित बास क्षेत्र चिन्ने यी चरा असुरक्षित भएमात्रै प्रजनन याममा गुँड बनाउन नयाँ ठाउँमा जान्छन् । मान्छेका छेउछाउ बस्दा यिनीहरू बिरालो, मुसा, स्याल र सर्पबाट आफू सुरक्षित हुने बुझछन् । छेउछाउ बसे पनि मान्छेको नियन्त्रण भने यिनले रुचाउँदैनन् । त्यसैले कसैले गौंथलीलाई घरपालुवा बनाएर पाल्ने गरेको पाइँदैन । खान दिनु पनि पर्दैन ।  

०००
हामीले गौंथलीमात्रै भन्दै आएका चराहरू स्वालो, मार्टिन र स-वीङ्स वा हिरण्डनेडी जेसुकै हुन्, सबै पासेरिन परिवारअन्तर्गत पर्दछन् । भँगेरा पनि यही वर्गमा पर्छ । तर, भँगेराभन्दा आनीबानी र रुपरंगमा गौंथली धेरै फरक हुन्छन् ।

हिरण्डनेडीमा मात्रै पर्ने चरा ९० प्रजाति छन् । यिनलाई १९ वटा बायोलोजिकल जीनसमा वर्गीकरण गरिएको छ । यूरोप र उत्तरी अमेरिकामा पाइने प्रजाति फिरन्ते छन् । धेरै लामो दूरी यात्रा गर्छन् । पश्चिम र उत्तरी अफ्रिकामा पाइने रैथाने प्रजाति छन् । दुई उपप्रजातिमा स्युडोसेलेडोनोनी (रिभर मार्टिन) र हिरण्डनेडी (सबै गौंथली, मार्टिन र स-वीङ्स) पर्छन् । 

चरा बारेका विभिन्न जर्नलहरूका अनुसार मार्टिन गोलो र स्वालो काँडाजस्ता पुच्छर भएका हुन्छन् । यी दुई प्रजातिमा वैज्ञानिकले फरक भेटेका छन् । मार्टिनमा पछिल्लोपटक प्रोग्यु जीनस पाइएका छन् । सेण्ड मार्टिनलाई बैंक स्वालो पनि भनिन्छ । यो चरो लामो दूरी यात्रा गर्न सक्षम छ ।  
  
०००
५५ किमि प्रतिघण्टाको गतिमा उडान भर्न सक्ने गौंथलीका विभिन्न प्रजातिमा संसारभर पाइएको संख्याबारे चराविद्का मत फरक-फरक छन् । अधिकांशले यसका प्रजाति ९० वटा हाराहारी भएको जनाएका छन् । साधारणतः कालो, खैरो, हरियो, नीलो र सेता रंगको मिश्रण भएका हुने यी चराका फिरन्ते प्रजाति दक्षिण एसियाली मुलुकमा सेप्टेम्बरबाट आउँछन्, मइमा र्फकन्छन् । समूहमा उड्छन् । प्याला जस्ता गुँड बनाउँछन् । पुच्छर बाहिरिने भएकाले गुँड बाहिर बिष्ट्याउँछन् ।
 
बेलायतबाट दक्षिण अफ्रिकासम्म ६ हजार माइलको यात्रा गर्ने यो चरोलाई मौसमको राम्रो जानकारी रहन्छ । गौंथली आकाशमा तल तल उडेका छन् भने पानी पर्ने अवस्था र निकै माथि उडे मौसम सफा रहन्छ भन्ने बुझे हुन्छ । आँखा खैरो, ठोंड र खुट्टा कालो, चुचो मोटो र सानो हुने गौंथलीहरू उड्दा उड्दै किरा-फट्यांग्रा सिकार गर्छन् ।
 
शरद ऋतुको समाप्तिसँगै बेलायतमा फाट्टफुट्टमात्रै रहने गौंथली आफू आएका क्षेत्रमा फिर्छन् । जुलाइको अन्तिमबाट बेलायत छाड्न सुरु गर्छन् । अगस्ट मध्यसम्म गौंथलीका बथान इथोपिया पुग्छन् । अक्टुवर दोस्रो सातासम्म रोडेशिया र दक्षिण अफ्रिका पुग्छन् ।
 

गुँड एकैपटक छाड्दैनन् । उत्तरी यूरोपबाट दक्षिण अफ्रिकाको ११ हजार किमिको दूरी यो सानो चरोका लागि साहसिक यात्रा हो । तर, जसरी जान्छन्, त्यसरी नै फिर्छन् । अप्रिलमा दक्षिण अफ्रिका छाडेर बेलायत आइपुग्छन् ।
 
पूर्व क्षेत्रका गौँथली हिउँदका श्रीलंकाको दक्षिणी भाग, लक्ष्यद्धीप र भारतको अण्डमान द्धीपमा आइपुग्छन् । सेप्टेम्वर र अक्टुवरमा कर्नाटक र निलगिरी पर्वतसम्म पुग्छन् । सेप्टेम्बरको तेस्रो, चौथो साता उत्तर र दक्षिण कोरिया, ताइवान, मलय, थाइल्याण्ड आदि देशमा पुग्छन् । अप्रिलमा पुनः अण्डमान आइपुग्छन् । 

सधैं बस्ने र प्रजननका लागि आउनेगरि नेपालमा पाइएका गौंथली दुई थरीका छन् ।  यो मात्रै यस्तो चरो हो, जसले प्रवास यात्रा निश्चित दिन र तारिखमा गर्छन् । समयप्रति अनुशासित हुन्छन् । दिनको उज्यालोमा मात्रै उड्छन् । ठण्डी मुलुकमा गर्मीयाममा मात्रै पाइने यो चराका प्रजाति नेपालमा भने तराईदेखि पहाडसम्मै पाइन्छन् ।

अधिकांश गौंथली माथि फलामे रंगको झलक, नीला, तल हलुका पँहेला हुन्छन् । पुच्छर बिरालाले चिथोरेको जस्तो देखिन्छ । कुनै कुनै प्रजाति असाधारण रूपमा लामो पुच्छर भएका हुन्छन् । लामपुछ्रेलाई 'वायर टेल्ड स्वालो' भनिन्छ । यो प्रजाति घरगौँथलीका तुलनामा जिउ सानो भए पनि सुन्दर देखिन्छ । त्यसलाई छेउछाउ सिमसार वा पानी भएको क्षेत्र मन परे पनि गुँड मान्छेकै घरमा बनाउँछ । अप्रिलबाट अगस्टसम्म यसको प्रजनन समय हो ।

गौथलीका सबै प्रजाति घरमै बस्ने होइनन् । एउटा प्रजातिले नरिवल र ताडीजस्ता रूखमा गुँड लगाउँछ । स्वतन्त्रता मन पराउने चरो मान्छेका समीप बस्छ तर, नियन्त्रण रुचाउँदैन । गुँड आफैं बनाउँछ, आहारा खोज्ने र चल्ला हुर्काउने आफैं गर्छ । अरुको हस्तक्षेप सहदैन । प्रतिकार गर्दैन तर, हस्तक्षेप भए गुँड छाडेर जान्छ । यिनीहरू भाले पोथी संसर्ग जंगलमा गर्छन् । यिनीहरू खेतबारीका कीरा खान्छन्, किसानलाई सघाउँछन् ।

प्रवास यात्राका दौरान उडानको गति प्रतिदिन तीन सय किमि हुन्छ । आकार साधारणतया १९ सेमीसम्म र यिनको वजन बढीमा २५ ग्रामसम्म हुन्छ । हावामा उडानकै बेला किरा, फट्यांग्रा र पुतली खान्छन् । भालेको पुच्छर पोथीभन्दा केही लामो हुन्छ । झट्ट हेरेर कुन भाले र पोथी भनेर छुट्याउन सजिलो छैन ।

लामो र सोझो पुच्छर भएका भालेमा पोथी आकर्षित हुन्छन् । पोथीले एकपटकमा ३ देखि ५ वटा फुल पार्छे, यो अवधि करीब १५ दिनको हुन्छ । फुल सेता र खैरा रंगका हुन्छन् । भाले पोथी दुवैले फुल र चल्लाको हेरचाह गर्छन् । चल्ला हुर्केर उड्न थालेको दुइ सातापछि गुँड छाड्छन् । भाले पोथी मिलेर गुँड हिलो माटो र घाँस ल्याएर बनाउँछन् । भित्तामा टाँसिएको कचौरा आकारको गुँड बलियो हुन्छ । हावाहुण्डरी नलाग्ने मान्छेको कदभन्दा केही अग्ला ठाउँमा बनाएका हुन्छन् ।
 
बनाउन थालेका गुँड कुनै कारणले खसेर क्षति भए यिनीहरू निराश हुँदैनन् । फेरि बनाउन जुटिहाल्छन् । हावाहुरी आइहाले पनि अरु चराको जस्तो गुँड नखस्ने हुन्छ । गौथलीका जोडी एकपटक बनाएका गुँड पटक-पटक प्रयोग गर्छन् । प्रजननको याममा घुमेर फिरेपछि आवश्यकता अनुसार गुँड मर्मत पनि गर्छन् । बिरालो, लाटोकोसेरो र मुसाबाट यो चरालाई जोखिम रहन्छ । यिनीहरूको उमेर औसत ३ वर्ष हुन्छ ।

०००
घर, भवन र मठमन्दिर लगायत पुराना मौलिक शैलीमै रहनुपर्छ भन्ने अभियान चलाइरहेका भक्तपुरका रवीन्द्र पुरीले जर्मनीबाट पढेर फर्किएपछि भक्तपुरमा एउटा पुरानो घर जिम्मा लिए । पुनर्निमाणपछि नाम दिए- नमुना घर ।

भक्तपुरमा पुगेर पुरातल शैलीका घर हेर्नुपर्दा आगन्तुक नमुना घर पुग्न छुटाउँदैनन् । पुरानो ढाँचालाई शैली नबिग्रिनेगरि उक्त घर उभ्याइएको हो । यसका लागि काठमाडौं उपत्यकाका पुराना कालिगढ नै खटिएका थिए । 'पुनर्निर्माण गर्दा थाहा भएको एउटा कुरा मेरा लागि नौलो भयो,' पुरी भन्छन्, 'उपत्यकाका पुराना कालीगढले एउटा खापो राखेर चरालाई बस्न मिल्ने ठाउँ राखिदिने रहेछन् । तिनमा भँगेरा बस्दा रहेछन् ।' घर, भवन बनाउँदा चराका लागि पनि बास निश्चित गरिदिए बनाइदिए परलोकमा आफूले सजिलो बास पाउने विश्वास रहेको उनले बताए ।

'मान्छेले घर बनाउँदा आफ्नो सजिलो बासका लागि मात्रै सोच्छ,' उनी भन्छन्, 'त्यसरी चराले पनि बस्न पाउनुपर्छ भनेर बनाउँदै सोचिनु अनौठो पनि लाग्यो ।' आधुनिक शैलीका घर बनाउनेहरू कसैले पनि चरा बसोस् भन्ने चाहना राख्ने पाउनु दुर्लभ भएको उनले बताए । थुप्रै मठमन्दिर रहेको काठमाडौं उपत्यकामा परेवा र लाटोकोसेरोले बास पाउन गाह्रो छैन । तर, साना चराका लागि भने बास र आहारा दुवै दुर्लभ हुँदै आएका छन् ।  

००० 
भैंसेपाटीबाट लाजिम्पाटस्थित अफिस आइपुग्ने बाटोमा अधिकांश दिन उनको ध्यान  कुपोण्डोलले खिच्छ । जहाँको एउटा पुरानो घरमा उनी अध्ययन क्रममा बेला बेला पुगेकी थिइन । नेपाल पन्छी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापाले सन् २००१ मा एमएस्सी सिध्याउने बेला थेसिसको विषय थियो - गौँथली घर ।
 
गौँथलीको बग्रेल्ती बास एउटै घरमा देखेर छक्क परेका ताइवानी पर्यटकको एउटा समुहले त्यहाँ आएर लेखिदिएका थिए - 'स्वालो हाउस ।' १८ वर्ष बित्यो । अब त्यहाँ न त्यो पुरानो घर छ, न त त्यस्तो ठूलो गौँथलीका बथानको बास । 'त्यहाँ किराना पसल थियो, बेलुकी त्यो पसलको चालामाला अरुभन्दा अलि अनौठो थियो,' उनी भन्छिन्, 'उनीहरू पसल बन्द गर्नुअघि सामान ठूलो प्लाष्टिकले छोपछाप पार्थे, गौंथलीको विष्टाले फोहोर नहोस् भनेर ।' 

करिब ४०/४२ जोडी गौँथली तँछाड मछाड गर्दै बसेको सधैं देख्न पाइने त्यो घर अन्त देखेभन्दा अनौठो लागेको उनले बताइन । 'मलाई हेर्दाहेर्दै चाख लागेर थेसिसका लागि त्यही विषय छनोट गरेकी थिएँ,' उनले सुनाइन, 'अहिले पुरानो घर भत्काएर त्यहाँ नयाँ पक्की घर छ । गौंथलीका हुलले शायद अर्को ठाउँमा बास सारे ।'
 
संघले बर्सेनि सहरी चरा गणना गर्न थालेको छ । उल्लेख्य संख्या र बासका आधारमा सहरमा गौंथली १० औं नम्बरमा पर्छ । सन् २०१७ मा काठमाडौंका २१ स्थानमा पुगेका गणकले ३४० र जाडोमा १७ ठाउँमा २९८ जोडीले गुँड लगाएका गौंथली भेटे । चालु वर्ष २०१९ मा २२ ठाउँमा ३४३ जोडीले गुँड लगाएको पाइएका छन् ।
  
मान्छेले पुरानो घर किन्दा बस्नयोग्य बनाउन सकिन्छ भने मर्मत गर्छ । खाली जमिन किने त्यसमा थातबास उभ्याउँछ र, त्यसमा परिवार सार्छ । 'गौंथली पनि अत्यावश्यक नभए, नयाँ ठाउँ नरोजेसम्म नयाँ गुँड बनाउँदैनन्, पुरानैमा बस्छन् । खाँचोअनुसार मर्मत गर्छन्,' उनी भन्छिन्, 'यो बानी अरु चरामा देख्न गाह्रो छ ।' 

मान्छेसँग नजिक भएकैले गौँथलीका गतिविधि र बिम्ब साहित्यमा बारम्बार प्रयोग भएका छन् । आजभन्दा ८४ वर्षघि कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छन् -

म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।

(२५ असोज २०७६ को कान्तिपुर कोसेलीमा प्रकाशित)

Monday, September 16, 2019

Fwa baga re - राही, कार्की र फ्वाँ बागा रे


रेलवे स्टेशनमा सधैं भेटिने दृष्टिविहीनले गाएको सुनेका  राहीले  त्यही गीत एउटा नाटकमा प्रयोग गरे, जो  उत्तराखण्डमा पछिल्लो समय  कालजयी भएको छ । उक्त गीत अहिले चर्चामा छ। 

गत असार तेस्रो सातादेखि 'टिकटक' मा भाइरल कुमाउ-गढवालको गीत हो - फ्वां बागा रे । साउनको महिनाभरि विरलै यस्ता दिन थिए, जुन दिन टिकटकका नेपाली प्रयोगकर्तामध्ये कसै न कसैले उक्त गीत बजाएर नाचेको संक्षिप्त भिडियो अपलोड गरेको नहोस् । संगीतलाई मानवताको भाषा भनिनु यहीँ चरितार्थ हुन्छ, भाषा नबुझेपनि धुन मन परे धेरैले सुनेकै हुन्छन् ।
 
कोरियन कलाकार साइको 'गङनम स्टाइल' होस् वा स्पेनिस-अमेरिकी भाषामा लुइस फोन्सी र ड्याडी यांकीले ल्याएको 'डेस्पासिटो ।' गीतहरू चर्चित हुनुका पछि संसारभरका संगीतप्रेमी भाषा होइन धुनको सम्मोहनमा परेको पुष्टि हुन्छ । यस्ता गीत जसमा कम्मर मर्काउन उपयुक्त छ, ती युट्युवमा धेरैपटक हेरिन्छन् । अब जे हेर्न र सुन्न खोजे पनि पाइन्छ भन्न सकिने अवस्था आइसकेको छ ।
 
भारत, उत्तराखण्डको क्यासेट कम्पनी नीलम उत्तराखण्डीले युट्युबमा अपलोड गरेको 'फ्वां बागा रे' भिडियोविहीन छ । गीत र कलाकारका बारेमा पढ्न चाहनेका लागि अपलोडरले धेरै जानकारी दिएका छैनन् । ४ मिनेट ५६ सेकेण्डको गीत बजुञ्जेल गीतकार चन्दरसिंह राही, गायक/गायिका पप्पु कार्की र संदीप सोनूको एउटै फोटो मात्रै देख्न सकिन्छ । 

भिडियो नभएकाले गीतमा नाच्न चाहनेका लागि बजाएर आफ्ना भावभंगिमा आफैं तय गर्ने छुट छ । गत बुधबारसम्ममा ९३ लाख ३८ हजार भ्युज पुगेको गीत भारतको उत्तराखण्डबाट नजिक सुदूरपश्चिम र कर्णालीहुँदै विभिन्न भूभागका नेपालीको ध्यानाकर्षण गरिरहेको छ । भाषा बुझ्नेहरू गढवाली उक्त भाकाको नयाँ डीजे भर्सनमा रमाएका छन्, नबुझ्नेहरू इन्टरनेटमा अर्थ खोज्न वेबसाइटका लिंकहरूका क्लिक गरिरहेका छन् । टिकटकमा रमाउनेहरू गीत बजाएर नाच्दै छोटो भिडियो दिनदिनै अपलोड गरिरहेका छन् ।
***
गीतले पुनः चर्चा पाउँदै गर्दा केही गढवालीले ब्लगमा लेखेका छन् - यो गीतले त्यो रेलवे स्टेसन र जमाना याद गराउँछ ।
***
  
'फ्वां बागा रे' को कान्छो भर्सन युट्युबमा अपलोड हुँदा त्यसका मुख्य गायक पप्पु कार्की ३४ वर्षको उमेरमै दिवंगत भएको वर्षदिन र ७३ वर्षीय संकलक/र्सजक चन्दरसिंह राहीले भौतिक शरीर छाडेको तीन वर्ष बितिसकेको छ । गढवाली संगीतप्रेमीलाई गीतले पुनः दुवैलाई सम्झिरहन बाध्य पारेको छ । गीतमा कार्कीलाई बराबरीको साथ दिएका संदीप सोनु र कल्पना चौहान अहिले पनि उत्तराखण्डी गीत गाइरहेका छन् ।
 
गीतको चर्चा बढेसँगै विभिन्न अनलाइनहरूले 'फ्वां बागा रे' कसरी सिर्जना भएको हो भन्नेमा स्रष्टा चन्दरसिंह राहीले विभिन्न कार्यक्रममा बताएका प्रसंगलाई उल्लेख गरेका छन् । सन् ६०/७० को दसकमा दिल्ली-लखनउहुँदै यात्रा गर्दा यात्रु देख्थे- कोटद्धारको रेल स्टेसनमा एक दृष्टिविहीनले यो गीत गाउथे । तिनको गीत सुनेकाहरूले आफूलाई त्यो रेलवे स्टेसन आउजाउ गरेको अपनत्व अनुभव गर्थे । संकलक एवं र्सजक राहीले केही वर्षअघिको एउटा अन्तर्वार्तामा भनेका छन् 'मैले उसैको मुखबाट सुनेको गीतलाई पूर्णरूप दिएको हो ।'
 
कुमाउ-गढवालमा त्यो समय बाघको आतंक थियो । बाघ कसरी आउँछ, त्यसबाट कसले जोगाउँछ भन्ने दृष्टिविहीनले रेलवे स्टेसनमा यात्रीलाई गीतमा सुनाउँथे । गढवाली नाटककार राजेन्द्र धष्माणाको नाटक 'अर्ध ग्रामेश्वर' मा कोटद्धार रेलवे स्टेसनको दृश्य थियो । उनले राहीसँग सल्लाह गरे, नाटकमा स्टेसन कसरी देखाउने ? त्यसको झल्को दिलाउने उक्त गीत राहीले मुम्बईमा मञ्चनका बेला प्रयोग गरे । त्यसयता सन् १९८५ देखि धेरैजनाले 'फ्वाँ बागा रे' पटक पटक गाउँदै आएका छन् । 

युट्युबमै यसका थुप्रै भर्सन भेटिन्छन् । चर्चामा आएको पप्पु, संदीप र कल्पनाद्वारा स्वरबद्ध सबैभन्दा नयाँ भर्सन हो । जसरी झलकमान गन्धर्वका गीत नेपालीका नयाँ पुस्ता र अरु भाषाभाषीका कलाकारले गाएका भर्सन बेला बेला युट्युबमा अपलोड गरिरहेका छन्, त्यस्तै छन् राहीद्वारा सिर्जना र संकलन भएका लोकगीतहरू । गीतले पुनः चर्चा पाउँदै गर्दा केही गढवालीले ब्लगमा लेखेका छन् - यो गीतले त्यो रेलवे स्टेसन र जमाना याद गराउँछ ।
  
***
उत्तराखण्डको लोकसंगीत जगतमा भीष्म पितामह भनिने चन्दरसिंह राही गढवालको गाउँमा जन्मिएका थिए । पहिलोपटक सन् १९६३ मार्च १३ मा अल इण्डिया रेडियोको देल्ही स्टेसनमा उनले 'पर विना की' गाए । कार्यक्रम भारतीय सैनिकका लागि थियो । उनको लोकप्रियता सन् १९७० मा एआइआरको नजिवावाद स्टेशनबाट गीत बज्न थालेपछि बढेको थियो । सन् १९८० ताका जन उनको गीत दूरदर्शनबाट प्रसारण भयो, लोकप्रियता अझ चुलियो । लोकभाका संकलन, सिर्जना र आफैं संगीत दिने उनी सरल स्वभावका थिए ।
  
गढवाली लवज उनको मोहक थियो । रेडियोमा गढवालीले उनको आवाज मन पराउथे । सन् १९६६ मा उनले तयार पारेको 'दिल को उमाल' चर्चित छ । उनका प्रेरणाका स्रोत थिए गढवाली कवि कन्हैयालाल दान्द्रियल । चन्दरसिंह नेगी यात्रा गरिरहने भएकाले कन्हैयालालले नै उनलाई 'राही' को उपनाम दिएका थिए ।
 
राही गीत संकलन गर्थे, लेख्थे, धुन बनाउँथे र गाउँथे । उनका १४० वटा अडियो एल्बम छन् । जीवनकालमा उनले भारतका विभिन्न भागमा १५ सय हाराहारी सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । उनले किताब लेखेका छन्, सामूहिक नृत्यका लागि धुन पनि बनाएका छन् । उनी ढोल, डमरु, दौर, थाली र हुड्की जस्ता लोकबाजा पनि बजाउथे । लोक संगीतको विभिन्न आयामबारे उनका पुस्तक प्रकाशित छन् । उत्तराखण्डका विभिन्न भेगबाट उनले आफ्नो जीवनकालमा उनले करीब २५ सय हाराहारी लोकगीत संकलन गरेका थिए । युवावस्थामा कामको खोजीका लागि उनी दिल्ली पनि बसे । कमाइको बचत उनले घरपरिवार र अचल सम्पत्ति जोड्नको साटो उत्तराखण्डी लोक संगीतमा लगाए । पैसा हुनेबित्तिकै उनी एल्बम रेकर्डिङ गर्थे । 
०००

'फ्वां बागा रे' बाट उत्तराखण्ड बाहिर पनि चर्चा पाइरहेका पप्पु भनिने प्रवेन्द्रसिंह कार्कीका स्वरबद्ध तीन दर्जन गीत कुमाउ-गढवालमा सदाबहार छन् । गायन क्षेत्रलाई निरन्तरता दिनुअघि उनले निकै संघर्ष गर्नुपरेको थियो । घरको आर्थिक अवस्था नाजुक भएका उनी सन् २००३ देखि चार वर्षनोकरीका लागि दिल्ली गएका थिए । त्यहाँ प्रिन्टिङ प्रेस र बैंकमा कार्यालय सहयोगीको काम गरेका थिए ।
 
पछि उत्तराखण्डको रुद्रपुर फिरेका उनी सन् २००६ को उत्तराखण्ड आइडलमा फर्स्ट रनरअप घोषित भए । त्यसपछि भने उनको सांगीतिक करिअर अघि बढ्यो । लगालग एल्बमहरू निकाले । सबैजसो हिट भए । उत्तराखण्डका विभिन्न सहरमा कन्सर्टका लागि व्यस्त भए । सानैदेखि लोकगीतको गायनमा रमाउने उनका थुप्रै गीत चर्चित छन् । 

नैनीताल महोत्सवमा आफ्नो प्रस्तुति दिएर चार साथीसँग हल्दवानी फिर्दै गर्दा भएको कार दुर्घटनामा सन् २०१८ जुन ९ मा उनको निधन भएको थियो । छोरा ७ वर्षीय दक्ष कार्कीले पिताको गीत आएको भिडियो पनि युट्युबमा झपलोड भएपछि पप्पुलाई सम्झनेहरू आशावादी छन् ।
   
'फ्वां बागा रे' को नयाँ भर्सनमा कार्कीसँगै स्वर दिएका कल्पना चौहान र संदीप सोनु गढवाली लोक संगीतका जमेका कलाकार हुन् । मुम्बईमा जन्मे-हुर्के पनि ५२ वर्षीया उनी आफ्ना पिताको पुर्ख्यौली थलोको भाषा जान्दछिन् । गढवाली गीत नै गाउँछिन् । चौहानका पिता मुम्बई-गढवाल समाजका अध्यक्ष थिए ।
 
०००
इस्ट इण्डिया कम्पनीको नामबाट भारतमा शासन गरिरहेका अंग्रेजसँगको नेपालको युद्ध स्थगन इतिहासमा सुगौली सन्धीका नामले हामी पढ्छौं । सन् १८१५ डिसेम्बर २ मा उक्त सन्धी हुनुअघि
हालको भारतका उत्तराञ्चलका पर्ने कुमाउ र गढवाल नेपालमै पर्थे । सन्धीपछि नेपालले काली नदि पश्चिमका कुमाउ, गढवाल, सतलज नदि पश्चिमका काँगडा लगायत तराईका केही भाग ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई फर्कायो । उनीहरूले सन् १८६५ मा नेपाललाई हालका बाँके, बर्दिया, कैलानी र कञ्चनपुर फिर्ता गरे । सन्धी गरेकाले नेपालले आफ्नो अधिनस्थ दुई तिहाइ भूभाग गुमाउनु परेको थियो ।
 
राजनीतिक घटनाक्रम र शासन व्यवस्थाको फेरबदलले देशका भूगोलमा प्रभाव पारे पनि नेपालका साँध सिमाना वारिपारि परेर बसेकाहरूको पारिवारिक सम्बन्ध अझै पुरानै छ । जसरी मिथिलाञ्चल संस्कृतिको सीमाना देशको भूगोलले छुट्याए पनि छुट्टिँदैन, मेची-कोसीका जिल्लाको असम, दार्जिलिङ र सिक्किमसँगको नाता छ । त्यस्तै छ सुदूरपश्चिम र कर्णालीका जिल्लाको उत्तराञ्चलसँगको भाषिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध । 

मुलुकको पश्चिमी सिमाना कञ्चलपुरको नाका नाघ्नेबित्तिकै सुरु हुने उत्तराखण्डको भूगोल सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा पृथक छैन । भाषा, भेषभूषा र रहनसहन मिल्ने भएकाले उताका लोकभाकामा सुदूरपश्चिम रमाउँछ, सुदूरका गीत संगीत कुमाउ-गढवालले चिन्छ । (एजेन्सीहरूको सहयोगमा)

(कान्तिपुर, कोसेलीमा २०७६ भदौ २१ मा प्रकाशित)  

Monday, September 9, 2019

Fishing Cat - माछा सिकारी



मान्छेको सम्पर्कबाट टाढै बस्ने यो जन्तु राति राति सिकारका लागि निस्कन्छ । यसका बास रहेका क्षेत्र र आनीबानीका विषय विस्तृत अध्ययन हुनै बाँकी छ ।
  
खोला किनार वा जलाशय छेउको बसाइँका बेला माछा खान मन लाग्यो । जाल थाप्ने साधन वा बल्छी छैन भने चिन्ता लिनै पर्दैन । एउटा टर्चलाइट र छुरी/खुकुरी वा कुनै प्रकारको तिखो घोचो खोजे पुग्छ । बेलुकी माछा किनार किनार आएका हुन्छन् । टर्च बाल्दै पक्रन सकिन्छ । यो प्राकृतिक तरिकामा मान्छेभन्दा बढि अभ्यस्त विरालो प्रजातिको एउटा जन्तु छ - फिसिङ क्याट अर्थात् मलाहा बिरालो ।
  
सप्तकोसी नदिको पूर्वी तटबन्ध छेउ राजावासदेखि हरिपुर कटानसम्म करिब चार सयवटा माछापोखरी छन् । सात वटा नदि मिलेर बनेको सप्तकोसीले नेपालभन्दा भारतमा विहारको भूभागलाई वर्षायाममा धेरै दुःख दिन्छ । विहारको यो दुःख निदानका लागि चार वर्ष लगाएर बनाइएको ब्यारेज सन् १९६२ देखि हालसम्म सञ्चालनमै छ । कोसीमा पश्चिम क्षेत्र सप्तरीका तुलनामा तमोर आएर मिसिने चतरादेखि हरिपुरसम्म नै पूर्वी क्षेत्रमा तटबन्ध छ । पश्चिम कुसाहामा जहाँ कोसी टप्पु वन्यजन्तु आरक्षको कार्यालय छ, पुगेर घुम्नु परे टेक्ने पहिलो बाटो कोसीको बाँध नै हो ।

बाँध पारि बस्ती र सिमसार क्षेत्रमा कोसीको पानी रसाएर आउने भएकाले वर्षैभरि सुक्ने अवस्था छैन । सिमसार भेटेका किसानले बाँध नजिक खेतीपाती गर्नुको साटो माछापालन उपयुक्त भन्ने बुझेपछि गरेका छन् । तर, पोखरीमा भुरा हालेर लगानी र परिश्रमका तुलनामा फाइदा पाएनन् । डेढ दसकअघिसम्म पनि उक्त क्षेत्रका किसानले आफ्ना पोखरीका माछा कम हुनुको दोष चरालाई मात्रै दिइरहेका हुन्थे । पोखरीका माछा खाने जीव अरु पनि छन् भन्ने बुझ्न निकै समय लाग्यो ।
 
०००   

'फरक फरक पोखरीमा सात थरिका माछा हाल्यो, कमन र गास कार्प त हुँदै नहुने,' सुनसरीको वराह-९ प्रकाशपुरका भीष्म अधिकारी भन्छन्, 'सुरु सुरुमा चराले हाम्रो माछा ढुट्यायो भनेर भनेर झुल हाल्थ्यौं, अनेक उपाय लाउँथ्यौं । खाइदिने जन्तु अर्को पनि रहेछ ।' केही दिनसम्म पोखरी आसपास ठूलो साउण्ड पारेर एफएम रेडियो खोलेर छाडिदिने उपाय पनि गरिहेर्दा काम नलागेपछि बिरालो मार्न थालेको उनले बताए ।
 
'मैले नै २०/२२ वटा बिरालो मारे हुँला । तर, त्यो दुर्लभ प्रजाति भन्ने के थाहा ?,' उनी भन्छन्, 'त्यो दुर्लभ हो, मार्न हुन्न भनेर बुझाउनेहरू आएयता मार्न छाडियो ।' माछापालकले बिरालोलाई मात्रै दोष दिएर पनि ढुक्क बस्ने अवस्था नभएको उनले बताए । 'हामी चरालाई पनि छेकबार लाउन पाउने अवस्थामा छैनौं,' उनले भने, 'वन्यजन्तु र चराले गर्ने नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था नभएसम्म आरक्ष जोगाइदिन पर्छ भन्ने जनतालाई लाग्दैन ।' अधिकारीले माछा खाइदिएर हुने क्षतिमा मलाहा विरालोको दोष देखाएपनि माछापालकपिच्छे मत फरक पनि छन् । ठूलो जमातले चील, बकुल्ला र विभिन्न प्रजातिका पानीचराले माछा खाइदिने बताउँछन् ।
 
चरा र वन्यजन्तु संरक्षणबारे चेतनामूलक कार्यक्रम लिएर टप्पु पुग्ने संस्थाहरूका विकासे कार्यकर्ताको साझा अनुभव जनता आसे भए भन्ने छ । जुनसुकै वन्यजन्तु संरक्षणका कार्यक्रम लिएर पुगेकाले स्थानीयको सामना गर्ने पहिलो प्रश्न हुन्छ - त्यो जोगिएर हामीले के पाउँछौं ?

०००
   
केही फरक विषयमा शोध गर्न रुचि राखेका प्राणीशास्त्रका विद्यार्थी सागर दाहालले जब सन् २००९ मा बम्बई नेचुरल हिस्ट्री म्युजियमको एउटा जर्नल किनेर ल्याए । त्यसमा आफ्ना लागि अध्ययनको एउटा विषय फेला पारे - विषय थियो फिसिङ क्याट अर्थात मलाहा बिरालो ।

घरपालुवा बिरालो देखेका/पालेकाहरूका लागि यो नौलो लाग्ने विषय थिएन । तर, उक्त जर्नलमा सन् १९२१ मा मोरङको बंकलवामा एउटा भाले मलाहा बिरालो भेटिएको उल्लेख थियो । 'त्योबेला सुनसरी र मोरङ एउटै जिल्ला रहेछ र, यो झण्डै सय वर्षअघिको कुरा थियो,' दाहाल भन्छन्, 'अब पनि त्यसको अस्तित्व होला/नहोला भन्दै खोजी गर्ने योजना बनाइयो ।' 

मान्छेका बस्ती छेउका सिमसार क्षेत्रमा रमाउने त्यो जन्तुको फोटो र सा‌ंकेतिक पहिचानबिनै बंकलवा भनिने ठाउँको खोजी सुरु भयो । त्यो क्षेत्रमा दुई महिना बसेपछि सप्तकोसीको पूर्वी तटबन्ध नजिकका बस्ती, खोला, रामधुनी जंगल छिचोलेका दाहालको टोलीले मलाहा बिरालो 'क्यामेरा ट्रयाप' मा फेला पार्‍यो । 'हामीले सुनसरी र बारा गरि दुई जिल्लाका विभिन्न ठाउँलाई सम्भावित मानेर अध्ययन गर्‍यौं, क्यामेरा ट्रयापमा भेटिएपछि अझै पाइने रहेछ भन्ने पुष्टि भयो,' उनले भने, 'जंगली भएपनि केही पशुपन्छी मान्छेका बस्ती वरपर नै बस्न रुचाउँछन्, त्यसमध्येको एउटा फिसिङ क्याट हो ।' 


आइयूसीएनको सूचीमा लोपोन्मुख प्रजातिमा परेको उक्त बिरालोका बारेमा यतिबेला दाहाल नेपालभित्रै मात्र होइन अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि अवस्था प्रष्ट्याउन सहभागिता जनाइरहेका छन् । 'ठूला आकारका वन्यजन्तुका लागि संसारभरका संरक्षणकर्मी र संस्थाको ध्यान पुगेको छ, सानामा छैन,' उनी भन्छन्, 'त्यसैले यो बिरालोमाथि पनि ध्यान पुग्न ढिला भएको स्थिति थियो ।' तेजाव पुन र स्वेच्छा श्रेष्ठसहित दाहालको टोलीले रामधुनी वन क्षेत्रको दक्षिण र कोसीको पूर्वी भेगमा पुगेर उक्त बिरालोबारे अध्ययनमात्रै गरेन, त्यहाँका किसानलाई वन्यजन्तुबाट जोगाउने कुखुराको सुरक्षित खोर बनाउन सहयोग पनि गर्‍यो । 

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसन (एसएमसीआरएफ)का अध्यक्षसमेत रहेका दाहाल भन्छन् 'हामीले बाराका तुलनामा कोसीमा मलाहा बिरालोको गतिविधि बढि भेटेका हौं तर, यसको अनुसन्धान देशको अझै १७ ठाउँमा गर्न सकिने पहिल्याएका छौं ।' मान्छेका घरमा नबस्ने तर, बस्ती र आबादी क्षेत्रकै वरिपरि बस्न रुचाउने यो जन्तुका विषयमा अझै अध्ययन हुन बाँकी रहेको उनले बताए ।
  
०००

शोधार्थीहरूका अनुसार संसारभर पाइएका बिरालो प्रजातिका ४० जन्तुमध्ये हामीले 'बिरालो' नै भन्ने जन्तु नेपालमा नौ वटा रहेको रेकर्ड छन् । घरपालुवा बिरालोभन्दा आकारमा दोब्बर ठूलो हुने मलाहा बिरालो दक्षिण पूर्वी एसियामा मात्रै पाइएका छन् । यो जन्तु नेपालसँगै बंगलादेश, कम्बोडिया, भारत, भियतनाम, इन्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलंका र थाइल्यान्डमा  पाइन्छ। संरक्षणका लागि सम्बद्ध मुलुकका संरक्षणकर्मीको सञ्जाल पनि छ । 

लोपोन्मुखको सूचीमा रहेका गैंडा र हिउँचितुवाजस्तै अवस्था मलाहा बिरालोको पनि छ। तर, सानो जन्तु भएकाले संरक्षणका कार्यक्रम सञ्चालन गर्ने निकायको ध्यान यसमा पुगेको छैन । सन् २०११ मा हिउँचितुवा ३ सयदेखि ५ सय र गैंडा ४३५ वटा भएको 'द स्टेटस अफ नेपाल्स म्यामल्स : द नेसनल रेड लिष्ट सिरिज' मा छ। नेपालमा उक्त बिरालो २०११ ताका १५० देखि २०० वटा भएको अनुमान गरिएको भएपनि विस्तृत अध्ययन नै भएको छैन । बस्ती बिस्तारको तीव्रताले जंगल मासिएका छन्, धाप र सिमसार पुरिने क्रम पनि अचाक्ली छ । मान्छेसँग प्रत्यक्ष घम्साघम्सी हुनबाट आफूलाई जोगाएर बाँचेका मलाहा बिरालोजस्ता जन्तु सधैं संकटमा छन् ।
 
०००

मलाहाले माछापोखरीमा पुर्‍याउने क्षति वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा समेटिएको छैन । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरबाट हुने मानवीय, पशुधन वा भण्डारण गरेको अन्नबाली, घरगोठ र उखु र केराखेती पुर्‍याएको नोक्सानीलाई निर्देशिकाले वन्यजन्तुबाट हुने क्षतिमा समेटेको छ।

नेपालमा यो जन्तु सन् १८३६ मै पाइएको जर्नलहरूमा उल्लेख भए पनि सन् २०१६ पछिमात्रै चर्चा हुन थालेको पाइएका छन् । 'जर्नल अफ थ्रेटेन्ड ट्याक्सा' मा भेटिने लेखमा लेन रोथी टेलर, हेमसागर बराल, प्रभा पाण्डे र प्रतिभा कसपालले सन् २०११ देखि चार वर्ष कोसीटप्पुमा गरिएको अध्ययनले मलाहा बिरालो पाइएको उल्लेख छ । उक्त बिरालो टप्पुको माछा प्रशस्त पाइने ६ किमि क्षेत्र वरिपरि पाइएका जर्नलमा छ । 

'फर्स्ट फोटोग्राफिक इभिडेन्स अफ फिसिङ क्याट इन पर्सा नेसनल पार्क, नेपाल' शीर्षकको १३ जना मिलेर तयार पारेको अनुसन्धानात्मक लेखमा सन् २०१४ र २०१६ मा पर्सा निकुञ्ज क्षेत्रमा पनि मलाहा पाइएको उल्लेख छ । उक्त असन्धानका क्रममा त्यो जन्तुको क्यामेरा ट्रयापबाट खिचिएको तस्बिर पर्सा राष्ट्रिय निकुञ्जमा देख्न पाइन्छ । उक्त समूहका शोधार्थीमध्येका बाबुराम लामिछाने भन्छन् 'त्यो क्यामेरा ट्रयाप खासमा बाघको अवस्था अनुगमन गर्नका लागि राखिएको थियो । रेकर्ड हेर्दै जाँदा फिसिङ क्याट पनि परेको भेटियो ।' 

राति खिचिएको फोटो हेरेपछि त्यो बिरालो आहाराको खोजीमा कतै जाँदै गरेको हुनुपर्ने अवस्था बुझिएको उनले बताए । 'सामान्यतः हामी त्यो बिरालो सिमसार र पानी रहेको एरियामै भेटिन्छ भनिरहेका थियौं तर, त्यो खोलाको करीब ५ किमि पर्तिर क्यामेरामा परेको थियो,' उनले भने, 'त्यो फोटोले पर्सामा फिसिङ क्याट पाइने प्रमाणितमात्रै नगरी अध्ययनमा रुचि राख्नेलाई पनि सघायो ।' क्यामेरा ट्रयापमा नपरुञ्जेल मलाहा बिरालो पर्सामा पनि पाइन्छ भन्ने जानकारी बाहिर नआएको उनले बताए ।
 
०००

टाढाबाट बाघ वा चितुवाजस्तो भान पर्ने मलाहा बिरालो आकारमा भने केही सानो हुन्छ । प्रष्ट खुट्याउन नसक्नेहरू यसलाई सानो चितुवा भन्ठान्छन् । यसको टाउकोदेखि पुच्छरतर्फखेरौ पृष्ठभूमिमा झन्डै समानान्तर रूपमा ६ देखि ८ वटासम्म काला थोप्ला लहरै हुन्छन् । ७ किलोसम्मको हुने यो जन्तु १ फिट अग्लो र ८० सेमीसम्म लामो हुन्छ। रातिमात्रै सक्रिय हुने यो प्राणी घरबिरालो भन्दा भुँडी ठूलो भएको र अलि आलसी हुन्छ । 

दिउँसो सिमसार नजिकका झाडीहरूमा बस्छ। मलाहाका ढाडेले एकभन्दा बढी पोथीसँग स‌ंसर्ग गर्छ । पोथीले करिब १० हप्तामा दुइदेखि चार वटासम्म बच्चा जन्माउँछे । जन्मेको दुई सातादेखि आँखा खुल्ने छाउरा-छाउरी १० महिनाको भएपछि माउबाट छुट्टिन्छन् । पोथी करिब ६ किमि क्षेत्रभित्र घुम्छन् भने भाले २२ किमि क्षेत्रसम्म घुम्छन् । मुख्य आहारा माछा भए पनि मलाहा बिरालोहरू मुसा, भ्यागुता, गँगटा, शंखेकीरा, सर्प र चराको पनि सिकार गर्छन् । 
मलाहा बिरालोलाई नै मूल विषय बनाएर विद्यावारिधि गर्ने तयारीमा रहेकी चितवनकी रमा मिश्र भन्छिन्, 'कतिपय माछापालकले त्यो बिरालो पर्यावरणीय सन्तुलनका हिसाबले हाम्रो सहयोगी भनेर बल्ल बुझ्दैछन् ।' राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन फरक परियोजनाअर्न्तर्गत उक्त बिरालोका बारेकै अध्ययनको सिलसिलामा कोसी टप्पु पनि पुगेकी उनले समुदाय बिस्तारै सकारात्मक हुँदै आएको पाइएको बताइन ।

'मलाहा बिरालोले खाने माछा एक पाउदेखि आधा किलोको मात्रै हुन्छ, त्योभन्दा सानो वा ठूलो त्यसले अँठ्याउन सक्दैन,' उनी भन्छिन्, 'भुरा खायो, १/२ किलोकै माछा खायो भन्नेहरू पनि भेटिन्छन् तर, त्यसको पुष्टिको आधार छैन ।' पोखरी आसपासको क्षेत्रमा धान वा गहुँ खेती हुन्छ । त्यहाँ पाइने मुसा मलाहाले सिकार गर्दा किसानलाई नजानिँदो पाराले सहयोग गरिरहेको हुने उनले बताइन । 

'टप्पुमा बाघ र चितुवा पाइँदैन, संरक्षण प्रभावकारी हुन सके त्यही बिरालो देखाएर पनि घुम्न आउनेलाई हामीकहाँ पाइने सिकारी जन्तु यही हो भन्न सकिन्छ,' उनी भन्छिन्, 'मैले चितवनको जंगल क्षेत्र र कोसीको बस्ती क्षेत्रमा अध्ययन गर्दा कोसीमा त्यसको संख्या राम्रो छ भन्न सक्छु ।' हतपत्त मान्छेका अगाडि नपर्ने, लजालु र आफ्नो ज्यान जोगाउन बाठो भएपनि ठूला सिकारी जनावर भएको क्षेत्रमा मलाहा बिरालोले आफ्नो अस्तित्व जोगाइराख्न सहज नभएको उनले बताइन । 

सन् २०१० यता नेपाली शोधार्थीहरूको ध्यान मलाहा बिरालोमा रहिआएको अनुसन्धानका जर्नलहरूले देखाउँछन् । खास खास क्षेत्र छनोट गरेर अरु नै विषयको अध्ययन गर्दा मलाहाले ध्यान खिचेका शोधार्थी थुप्रैजना छन् ।  संरक्षितको सूचीमा नपरेको यो जन्तु वन बिरालो र चरीबाघ भन्दा फरक श्रेणीको होइन । त्यसैले संरक्षण हुनसके यसका विचरण हुने क्षेत्रमा वन्यजन्तुमाथि अध्ययनमा रुचि राख्नेका लागि पर्यटनको अर्को आधार पनि तयार हुनेछ ।

हालसम्म सीमित क्षेत्रमा भएका अध्ययनले यो जन्तु हामीकहाँ निकै कम संख्यामा रहेको अनुमान गरिएको छ । त्यसैले यो दुर्लभ हो । तर, सरकारलाई उक्त जन्तु संरक्षित सूचीमा राख्ने आवश्यकता बोध भइसकेको छैन । संरक्षितको सूचीमा परेको लेपर्ड क्याट (चरीबाघ) को अवस्था मलाहाको भन्दा राम्रो छ । छिमेकी देश भारतमा बाघ संरक्षणको हैसियतमै मलाहा पनि छ । मलाहालाई पश्चिम बंगालमा 'स्टेट एनिमल' को दर्जामा राखिएको छ ।

(२१ भदौ २०७६ मा कान्तिपुर, कोसेलीमा प्रकाशित)

Wednesday, May 1, 2019

सम्झनामा सहिद भीमसेन दाहाल

गहिरिएर बगेको सेती नदिमाथि पोखराको बजार क्षेत्रमा चिप्लेढुंगा र रानीपौवालाई जोड्न पक्की पुल छ । नाम महेन्द्र पुल । वारि एकातिर पुस्तकालय र अर्कातिर आर्ट ग्यालरी छ । पुस्तकालयको भर्‍याङ छेउ एउटा सालिक छ । त्यो सालिक जनआन्दोलन-२ का प्रथम सहीद भीमसेन दाहालको हो ।
 
बर्सेनि चैत २६ मा उनको प्रतिमामा माल्यार्पणको कार्यक्रम आयोजना गरिन्छ । उनलाई नजिकबाट चिन्नेहरू स्मरण गर्छन् । राजनीतिक परिवर्तनले शासन सत्तामा आलोपालो जिम्मेवारी पाएका दलका नेता-कार्यकर्ता भाषणमा उनको योगदान अतुलनीय रहेको भन्न छुटाउँदैनन् ।
 
०००

नेपाल टेलिकममा जागिर थालेका दाहालले एउटा परियोजनामा अल्पकालीन जागिरबाट राम्रो आम्दानी हुने बाटो देखेका थिए । सामान्य आर्थिक अवस्था रहेको घरका उनी कान्छा छोरा थिए । जागिरबाट बेतलबी बिदा लिए । परियोजनाको जागिरे भएर पोखरा आए । परियोजनाको कामले धनगढी पुर्‍यायो । ६ महिना बसेर फेरि पोखरा नै फर्किए ।
 
रानीपौवाको एउटा घरमा तीन युवक डेरा गरि बसेका थिए । काभ्रेका दाहाल, दाङका विक्रम पंत र विराटनगरका गौतम योञ्जन । 'भीमसेनको एउटा गुण अनौठो थियो, उ कहिले पनि अनुहारमा उदासी आउन दिँदैनथ्यो,' गौतम सम्झन्छन्, 'उसले प्रोजेक्ट छाडेर टेलिकम फर्किएर पनि आफ्नो इलेक्ट्रोनिक्सको व्यापारको काम थालेको थियो ।' घरेलु र व्यवसायिक समस्याका तनाव उसले कहिल्यै आफूमा हावी हुन नदिने बानी अचम्मको लाग्ने उनले बताए ।

'उ राजनीतिक मान्छे थिएन, उसका सपना आम नेपाली जो सजिलोसँग इमानदार पेसा गरिखान चाहन्छन्, त्यही थियो,' उनी भन्छन्, 'चासो राख्थ्यो तर, सत्ता र सरकारको कुरा धेरै गर्दैनथ्यो । गरिखान सजिलो कसरी हुन्छ त्यही विषयमा उ बहस गर्थ्यो ।' साइबर चलाउने भएकाले धेरै प्रकारका पेसा व्यवसायमा लागेकाहरूसँग मित्रवत सम्बन्ध भए पनि दाहाल आफ्नो पेसामा इमानदार रहेको उनी स्मरण गर्छन्।

०००

पोखराको बजारमा अब साइबर क्याफे छैनन् भन्दा पनि हुने भइसकेको छ । २०६० तिर हात हातमा मोबाइल सहज भइसकेको थिएन । टेलिकमले ल्याण्डलाइन फोन पनि माग्नेवित्तिकै ग्राहकलाई उपलब्ध गराइहाल्ने सुविधा थिएन । फोन र मोबाइल सीमित हुँदा गति लिएको व्यवसाय साइबर क्याफे थियो । त्यो गरे राम्रै फाइदा पाउने दाहालले बुझेका थिए । पृथ्वीचोकको आनन्द बतासको होटलको भूइँतलामा उनले क्याफे चलाएका थिए । 

पोखराका होटलहरूमा इन्टरकम जडानको काम गरिरहेका थिए । प्राविधिक काम गर्दागर्दै उनले आफ्नै व्यवसाय गर्न जागिर छाडेका थिए ।  'त्यो घटनाको दिन सम्झँदा पनि बडो नरमाइलो लाग्छ,' विक्रम पन्त भन्छन्, 'उ अग्लो थियो । भीडमा परैबाट उसलाई चिनिनु अग्लो हुनुको मात्रै खुबी थिएन, साथीभाइसँग घुलमिल हुने र समस्या पर्दा सहयोग गर्न अघि र्सर्ने उसको गुण मायालु थियो ।' दाहाललाई स्मरण गर्दा उनको सहयोगी बानी बिर्सन नसक्ने उनले बताए ।
 
२०६२ चैत २६ को दिन महेन्द्र पुलमा रहेको टेलिकमको भवन बाहिर आन्दोलनकारीको नाराबाजी सुरु हुँदा छतमा तैनाथ सुरक्षाकर्मीले गोली चलाएका थिए । सडकमा दाहाल ढलेका थिए । 'त्यो भीड उग्र थिएन तर, न चेतावनी न त लाठीचार्ज । एकैपल्ट गोली हानिएपछि आन्दोलनको आगोमा घ्यु थपेको स्थिति भएको थियो,' पन्तले भने, 'अस्पतालमा हामीले लास हेर्न जाँदा उसका साथी सबै शोकाकुल थियौं ।'
 
दाहालका दुइ श्रीमती र तीन छोराहरू छन् । काभ्रेमा जेठी पत्नी देवकी र छोराहरू दीनेश र विवेक । पोखरामा कान्छी सविता र छोरा विस्तृत । जनआन्दोलनको प्रथम सहिद बन्दा दाहालका कान्छा छोरा डेढ वर्षका थिए । पहिले साइबर क्याफे रहेको ठाउँमा हिजोआज सेल्फ म्यानेज रेमिटको कार्यालय छ । यसका साझेदार सञ्चालक इलामका कमल गुरूङ र दाहाल पत्नी सविता हुन् । 

जनआन्दोलनपछि बनेको सरकारले देवकीलाई टेलिकममा करारको जागिर दिएको छ । जेठा छोरा दीनेश मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तरका लागि यतिबेला चीनमा छन् । माहिला छोरा १२ मा पढ्छन् भने कान्छोले एसईई दिएका छन् । काभ्रेमा रहेकी देवकी र पोखराकी सविता दुवैको एउटै भनाइ छ - 'सहिदका परिवारले आफ्नो को गुमायौं भनेर नसोधियोस् । उनीहरूको अवस्था सोध्न राज्यकै संयन्त्र हुनुपर्छ । आफैं गएर सुविधा माग्दा चित्त दुख्छ ।'
 

१२ वर्षदेखि टेलिकममा अवधि थप हुँदै करारको जागिरमा रहेकी देवकी स्थायी होस् भन्ने चाहन्छिन् । राज्यले दिएको आर्थिक सुविधा लिन चार वर्षदेखि दुवैजना सम्बद्ध निकायमा गएका छैनन् । सरकारले पनि उनीहरू किन लिन आएनन् भनेर खोजी गरेको छैन । 

'हामीभन्दा पनि नराम्रो अवस्था अरु परिवारको होला, उनीहरूका लागि राज्यले सोच्नुपर्छ,' देवकी भन्छिन्, 'सहिदको बलिदानले देशमा सबै नागरिकले सुव्यवस्था चाहेका हुन् । त्यो हुनुपर्छ ।' सहिदका परिवार सधैं आफ्नो वेदना सुनाएर फाइदा लिने पक्षमा नभएको राज्यले बुझ्नुपर्ने उनले बताइन । 

राज्यबाट सुविधा नलिएकी सविता भीमसेन स्मृति प्रतिष्ठानकी अध्यक्ष छिन् । उनी उक्त प्रतिष्ठानमार्फत सामाजिक काम गर्न चाहन्छिन् । 'सबै ठाउँमा आफैं पुगेर बिलौना गाउँदै जीवन चल्दैन,' उनी भन्छिन्, 'सहिदप्रति सम्मान गर्न चाहने हो भने राज्यले नै व्यवस्था गर्नुपर्छ । राज्यले सबैथोक गर्नुपर्छ भनेर हामी हात बाँधेर बस्छौं भन्ने पनि होइन तर, खोजी गर्ने संयन्त्र भएमात्रै सम्मान अनुभव हुने रहेछ ।'

***

(२०७६/१/११ मा कान्तिपुर गण्डकी संस्करणमा प्रकाशित) 

Sparrow - एउटा आँखो तँ हेरी

शीर्षक राष्ट्रकवि माधवप्रसाद घिमिरेको 'भँगेरा र भँगेरी' कविताबाट सापटी लिइएको हो । कविताले भन्थ्यो 'यौटा आँखो तँ हेरी, अर्को आँखो म हेरी, टाप्प टिप्प कनिका टिपिहालौं नटेरी ।' 

भँगेराको सतर्कताको बानी र छरितोपना वर्णन गरिएको त्यो कविता अब पुराना पुस्ताको सम्झनामा छ । मान्छेका घरमै गुँड लगाउने बानी परेका भँगेरा नदेख्ने र नचिन्ने विरलै हुनुपर्छ । त्यसैले भँगेरा चिनाइरहनु नपर्ला । प्राथमिक तहका किताबमा घिमिरेको भँगेरामाथिको कविता पढेको सम्झनेहरूको जमात ठूलो छ । सामुदायिक विद्यालयका प्राथमिक तहका नेपाली किताब यतिबेला पल्टाउने हो त्यो कविता अहिलेको पाठ्यक्रममा छैन ।
  
पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तक सम्पादन शाखाको कुरा मान्ने हो भने बालबालिकाका किताबबाट त्यो कविता समयसापेक्ष नभएर हटेको भने होइन । 'पाठ्यक्रम १०/१० वर्षमा फेरिन्छ, अवस्थाअनुसार वर्ष-वर्षमा पनि पाठ्यक्रममा सुधार गर्ने गरिएको छ,' मध्यपुर ठिमीस्थित केन्द्रको सम्पादन शाखाकी अधिकृत चिनाकुमारी निरौला भन्छिन्, 'त्यो भँगेरा र भँगेरी कविता पनि पाठ्यक्रम फेरिँदा नयाँमा नपरेको हो । पाठ्यक्रममा के राख्ने नराख्ने भन्ने सम्पादन मण्डलले तय गर्छ । थुप्रैजनाको राय लिइन्छ । नयाँ समावेश गर्दै जाँदा पुराना हटाइन्छन् ।' पाठ्यक्रम विकास केन्द्रले त्यो कविता किन नराखेको भन्ने विषयमा तर्कवितर्क भइरहलान् । अहिलेको हाम्रो विषय कविता नभइ 'भँगेरा' मात्रै हो ।


'कविले कविता लेखे तर, यसको भित्री कुरा गहिरो हो,' इटहरीका नेत्र चिकित्सक विजय गौतम भन्छन्, 'हाम्रा आँखाले देखेका दृश्यका फोटा दिमागमा जति छिटो जति प्रष्ट पुग्ने प्रक्रिया हुन्छ, त्यसमा चरा छिटो छन् ।' मान्छेका आँखाले एकपटकमा प्रतिमिलिमिटर २ लाख र भँगेराका आँखाले ४ लाख फोटो सिग्नल दिमागमा पठाउने उनले बताए । 

'भिजुअल क्वालिटीका कुरामा भँगेरा हामीभन्दा दोब्बर छिटो हुन्छन् । त्यसैले कविले भँगेराको आँखाका कुरा गरेका होलान्,' उनी भन्छन्, 'प्रकृतिले नै उनीहरूको दृष्टिशक्ति अनौठो क्षमताको दिएकाले ज्यान पनि जोगिन सकेको हुनुपर्छ ।' 

००० 
पोखराको फिर्केमा एउटा घरमा मैले तीन वर्षयता देखिरहेको छु- मनुवाका चार परिवार र भँगेराका करीब छ/सात परिवारको आश्रय छ । मेरो बासको सामुन्ने बाटो पारिको घर । मान्छेहरू भुइँतलादेखि माथिल्ला कोठा-चोटा सम्ममा बस्छन् । भँगेराहरू भूइँतलाको सटरको खापामा । तीनवटा सटरमध्ये दुई सधैं बिहान उघ्रिन्छ र साँझ बन्द हुन्छ । कारण, त्यसमा पसल छ । एउटा चाहिं वर्षमा एकाधपटक पनि मुस्किलले उघारिन्छ, या भनौं सकभर उघ्रँदैन । अरुमा बसेका भन्दा त्यो सटरमा आश्रय लिएका भँगेरा परिवार सुरक्षित छन् ।

अरु जसरी त्यो बन्द सटरमा आश्रितका फुल र चल्ला हम्मेसी झरेका भेटिँदैनन् । मान्छेका दैनिकी बुझेका भँगेराहरूलाई सटरको आश्रयमा अभ्यस्त देख्ता अनौठो पनि लाग्दैन । बेला बेला पोथीका लागि भालेहरू निकै झगडा गरिरहेका देखिन्छन् । जसले हार्छ, उ यहाँको बस्तीबाट बाहिर कतै आश्रय लिन जान्छ । 'मैले घर बनाएको १४/१५ वर्ष भयो होला,' घरधनी पशुपति सुवेदी भन्छन्, '२० वर्षअघिसम्म हाम्रो अहिलेको एरियामा बाटो थिएन । घरहरू एउटा/दुइटा थिए, ती पनि झुप्रा ।' 

देख्ता देख्तै बस्ती बढेको, बाटो कालोपत्रे भइआएको र रुखका झाडी-बुट्यानसँगै बाँसझ्याङ मासिएको उनी सम्झना गर्छन् । 'म कास्कीकोटबाट मुन्तिर बसाइँ आएजसरी पोखरामा थुप्रै परिवार अलि माथिल्लो भेगबाट झरेका छन्,' उनी भन्छन्, 'सहरीकरण यस्तरी बढ्यो की अब त यहाँ दिउँसै चितुवाको डर हुन्थ्यो भन्दा पनि मान्छेले नपत्याउने भइसक्यो । जता हेर्‍यो त्यतै घर छन्, अबको २० वर्षपछि झन कस्तो भएर जाला जस्तो लाग्छ ।' 

फिर्केमा डेरा सर्नुअघि मेरो बसाइँ जालपा रोडमा सूर्य बरालको घरमा थियो । हरेक बिहान सरिता भाउजुले पूजा गरेपछि कोठा बाहिर एक मुठ्ठी चामल राखिदिएको देख्थेँ । तँछाड मछाड गर्दै भगेराका हुल चामल टिप्थे । गत मंगलबार मैले भँगेराको प्रसंगमा कुरा गर्दा दाजु-भाउजु दुवै छक्क परे । 'हिजोआज भँगेरा आउदैनन्, परेवा र काग आउँछन्,' सरिता भाउजुको भनाइ थियो, 'आमाले पूजा गरेपछि चराका लागि चामल राखिदिने गरेको मैले स्याङ्जा निबुवाबोट माइतीमै देखेकी हुँ, संस्कार सर्ने त हो । म पनि त्यसै गर्छु चराले खाइदिए आनन्द लाग्छ ।' 

हिजोआज भँगेरा नआउँदा नरमाइलो लाग्ने गरेको उनले बताइन । बितेको तीन वर्षमा बराल दाइले नयाँ घर बनाइसकेका छन् । आफ्नो घर पछाडिको बारी पार्टी प्यालेसलाई भाडामा दिइसकेका छन्  बारीछँदा बाँझो राख्ने कुरै थिएन । सिजनअनुसारका बालीनाली हुन्थे । एउटा भैंसी थियो, त्यसका लागि पराल थियो । गोठबाट बाहिर गोबर थुपारिन्थ्यो । गोबर र बालीनालीका किरा चराका लागि सजिलो आहारा थिए । यसो हेर्दा अब चराहरूका लागि त्यो घरमा आउने बाटो बन्द भएको छ । पोखराको मुख्य बजार क्षेत्रभित्र बराल परिवारजस्ता पोखरेली सहरीकरणमा अभ्यस्त भइरहेका छन् । थातबासको संरचनासँगै  धेरैले परम्परागत जीवनशैलीमा परिवर्तन अंगालेका छन् ।
 
'मान्छेका घरको फेरिएको संरचनासँगै भँगेराले पनि बाँच्न सिकेको भेटिएका छन्,' काठमाडौंस्थित पन्छी संरक्षण संघमा गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुसाल भन्छन्, 'संख्यात्मकरूपमा बर्षेनि भँगेरा घटेका छन् । तर, धेरै ठाउँमा हामीले त्यसको बासस्थान परम्परादेखि देखेका भन्दा फरक पनि भएको भेटेका छौं ।' 

सडकका पोलमा हुने फोनका 'डिस्ट्रिब्युसन प्वाइन्ट बक्स', बिजुलीका मिटर बक्स र घर तथा भवनका भेन्टिलेसनमा बस्न थालेको पाइएको उनले बताए । विश्वमा हालसम्म ४३ प्रजातिका भँगेरा पाइएको रेकर्ड छ । नेपालमा पाँच प्रजाति पाइएका छन् । घर भँगेरा, रुख भँगेरा, कैलो, पीतकण्ठे र स्पेनिसलगायत नेपालमा पाइने प्रजाति हुन् ।
 
घर र रुख भँगेरा बस्ती, घर र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन् । पोखिएका र छरिएका अन्न, अन्नबालीहरूमा लाग्ने कीराफट्यांग्रा र लार्भा भँगेराका आहारा हुन् । संरक्षणकर्मीहरूका अनुसार यो चरा देखिनु पर्यावरणीय स्वस्थता र सन्तुलनको सूचक हो । 'काठमाडौं उपत्यकाका लागि काग र मलेवापछि धेरै पाइने रैथाने चरा घर भँगेरा हो, रूख भँगेरा छैटौं नम्बरमा पर्छ,' उनले भने, 'चार वर्षदेखि हामी सहरी क्षेत्रमा पाइने चरा गणना गरिरहेका छौं । भँगेराकै लागि अहिले बासस्थान दुर्लभ हुँदै गएको अवस्था हो ।' 

०००

भँगेरा समुद्र सतहदेखि चार हजार मिटरसम्मका भूभागमा पाइन्छ । मान्छेले रहरले पाल्ने सुगा र मैना जस्ता चरामा यो पर्दैन । मान्छेका वरपर बस्छ तर, उसको दैनिकीमा मान्छेको नियन्त्रण रुचाउँदैन । बर्षेनि पोथीले ३ देखि ५ वटा फुल पार्छे एक जोडीले सरदर एक जोडी नै चल्ला हुर्काउँछन् । अण्डाबाट १२ देखि १५ दिनमा चल्ला निस्कन्छन् । आहारा नियमित पुग्ने हो भने तीन सातामै चल्लाहरू गुँड छाडेर उड्ने हुन्छन् । बेला नै नभइ उड्न रहन गर्ने बचराहरू गुँडबाट खसेपछि फर्कन सक्दैनन्, सिकारी पशुपक्षीद्वारा मारिन्छन् । 

संरक्षणकर्मीहरूका विभिन्न शोधले मोबाइलका तरंगले भँगेरालाई असर पार्ने गरेको तथ्य पनि पत्ता लगाएका छन् । मोबाइलका नेटवर्किङ टावरमा गुँड लगाएका भँगेराको प्रजनन ढिला हुने गरेको छ ।
 
शोधहरूका जर्नलमा उल्लेख भएअनुसार भँगेराका निकै कम अण्डामा भाले-पोथी दुवैको डीएनए पाइएका छन् । अधिकांशमा पोथीको मात्रै डीएनए पाइन्छन् । ३८ किमी प्रतिघण्टाको गतिमा उड्न सक्ने भएपनि भँगेराहरू अति विशिष्ट परिस्थितिबाहेक आफू जन्मेको क्षेत्रभन्दा २ किमी टाढा बसाइँ जाँदैनन् । 

जोडी भएर बस्ने उनीहरू मान्छेको समाज जसरी मिलेर बस्छन् । आपसमा मिलेर आहारा खोज्छन् । भालेले गुँड बनाउँछन्, पोथीलाई फकाउँछन् । चल्ला मिलेर हुर्काउँछन् । रुख र घर भँगेराहरू सँगसँगै बसेका भेटिन्छन् । पोथी फकाउने बेलाबाहेक भँगेराका भालेहरू आपसमा झगडा गर्दैनन् ।

आफूले मन पराएको पोथीसँग जोडी बनाउनेलाई झगडा गरेर धपाएको पनि देख्न सकिन्छ । समुहमा आहारा खोज्ने र धेरै चिरबिर गर्ने यी चराले गुँड सुकेका नरम घाँस र परालका त्यान्द्राको बनाउँछन् । टोड्का र प्वालहरूबाट छिरेर घाम नपर्ने ठाउँमा गुँड लगाउने भएकाले सुलसुले लगायतका परजीविले यिनलाई दुःख दिन्छन् । परजीविको टोकाइबाट छुटकारा पाउन भँगेराहरू नियमित धूलो खेल्छन् र पानीमा नुहाउँछन् । 

बिरालो, कुकुर, साँप र स्यालसँगै सिकारी प्रजातिका पशुपक्षीबाट भँगेरालाई सधैं जोखिम हुने गरेको छ । १० हजार वर्षदेखि मानिसको साथी भएर बसेको मानिने भँगेराका बारेमा सन् १९४८ यता थुप्रै वैज्ञानिक अनुसन्धानहरू भइआएका छन् । रैथाने प्रजातिमा पर्ने भँगेरालाई भारतको दिल्लीले सन् २०१२ मा र विहारले सन् २०१३ मा राजकीय पक्षी घोषित गरेका थिए । हामीकहाँ भने यो चरा संरक्षित पक्षीको सूचीमा पर्दैन ।   

०००

'१० वर्ष भयो सहरीकरण बढेको,' पोखरा महानगरपालिकाको सहरी विकास तथा पूर्वाधार शाखा प्रमुख इञ्जिनियर शारदामोहन काफ्ले भन्छन्, 'उपमहानगरपालिका हुँदा पोखरामा वर्षौ करीब ५ हजार पक्की घर थपिन्थे । अहिले वर्षको सरदर १५/१६ हजार थपिँदै छ ।' काठ र खरका पुराना ढाचाका घर निकै कम हुँदै गएको उनले बताए । 'महानगरपालिका भएपछि पोखराभित्र जंगलका एरिया पनि थुप्रै छन्, चराले गुँड लगाउने ठाउँ पर्याप्त नै छन् जस्तो लाग्छ,' उनले भने, 'तर, मान्छेका घरमा गुँड लगाउनेहरू त विस्थापित भएकै अवस्था आयो भन्न सकिन्छ ।'

२०७३ फागुन २७ मा महानगरपालिका घोषणा भएपछि पोखराको क्षेत्रफल ४६४.२४ वर्ग किमि भएको छ । क्षेत्रफलको हिसाबले यो मुलुकका अरु महानगरभन्दा ठूलो भएको पर्यटकीय नगरीमा साना ठूला होटलमात्रै ६ सयवटाको हाराहारी छन् भने पक्की घरको संख्या १ लाख नाघेको छ । घर बनाएर सम्पन्नताको प्रमाणपत्र लिनेले मात्रै खानेपानी, बिजुली र बैंक ऋणको सुविधा पाउने कडा प्रावधान छ । पानी, उर्जा र आर्थिक हिसाब मिलानका खातिर सम्पन्नताको प्रमाणपत्र लिन आउनेको तथ्यांक महानगरपालिकाले अद्यावधिक पनि गरिरहेको छ । तर, यही महागरभित्रका चरा कति घटे भन्ने हेक्का कसैले राख्दैन ।


पुरानो पोखराको तस्बिर संग्रह गर्दै आएका सुनील उलकको गणेश टोलमा हिजोआज संग्रहालय छ । त्यहाँ पुग्दा ८० वर्षयताको पोखराको क्रमिक परिवर्तनलाई तस्बिरमा देख्न सकिन्छ । उनको संग्रहमा पोखरेलीका घर, संस्कृति, डाँडापाखा, विमानस्थल, ताल र क्रमशः विकास भइआएका भौतिक पूर्वाधारका तस्बिरहरू छन् । तर, संग्रहमा चरा भने छैनन । उलक यतिबेला अर्को एउटा काम गरिरहेका छन् । त्यो हो, ७०/८० वर्ष नाघेका अग्रजहरू भेला पारेर पुरानो पोखराको कहानी सुन्ने । 

'यसबाट अझै धेरै कुरा थाहा हुने रहेछ,' उनी भन्छन्, 'बुढापाकालाई एक्लाएक्लै भन्दा समूहमा राखेर सोध्नुपर्ने रहेछ । उनीहरूबाट मैले घरमा बस्ने चराका कुरा पनि सुन्न पाएको छु ।' खरको छानो फालेपछि भित्रिएको विकासले चराचुरुंगी पस्नै नमिल्ने घर बनेको कुरा बुढापाकाले पनि बताउने उनले सुनाए । 'चरा होइन मान्छेलाई आफ्नै बास बलियो चाहिएको यथार्थ बिर्सनु हुँदैन,' उनले भने, 'जसरी हुन्छ मान्छेलाई आफ्नो सुविधामात्रै प्यारो छ ।'    

०००
हजुरआमा र आमाहरू खाना पस्कनुअघि आगोलाई धन्यवाद दिँदै सबै परिकार एक/एक चिम्टी सानो दुनोमा राख्नु हुन्थ्यो/हुन्छ । चुल्होलाई चढाइएको खानेकुरा रहेको दुना घर बाहिर राखिन्छ । त्यो खाना अग्निदेवको नाममा चढाएको भनिएपनि संस्कृतिले चराचुरुंगीलाई आहारा दिनुपर्छ भन्ने मान्यताबाट प्रेरित रहेको मान्छन् पोखराको पृथ्वीनारायण क्याम्पसका प्रणीशास्त्रका प्राध्यापक रामजी गौतम । 

'सहरीकरणको तीव्रताले मान्छेको बसोबासको शैलीमात्रै होइन, नजानिँदो पाराले परम्परा नै फेरिएका छन्,' उनी भन्छन्, 'अहिलेका पुस्ताले हेर्दा-सुन्दा अनौठो मान्लान्, चुल्होलाई चढाएर खानेकुरा किन नास पार्नु पनि भन्लान् । तर, संस्कारको त्यति सानो कुराले चराचुरुंगीका लागि ठूलो भरको काम गरेको थियो ।' 

सहरीकरणको तीव्रताले परम्परागत कृषि प्रणालीमा आएका परिवर्तन र सजिलो मानेर बालीमा विषादी उपयोग गर्ने प्रवृत्तिको असर भँगेराजस्ता मान्छेका नजिक बस्न रुचाउने पक्षीहरूमा परेको उनले बताए । 'घर त हामीले आफूबाहेक अरुलाई बास नदिने पाराको बनाएका छौं,' उनले भने, 'आनीबानी पनि आफूबाहेक अरुले जेसुकै गरुन् भन्ने स्वार्थी पाराको भइसकेको छ ।'
 
पोखरा बर्ड सोसाइटीका सचिवसमेत रहेका अर्का प्राध्यापक हेमन्त ढकाल जमिनले सोस्ने पानीको क्षेत्र र मान्छेले उपयोग गरिरहेको भूमिगत पानीको उपयोगको तरिका नमिल्नुको असर थुप्रै थोकमा परेको छ । 'हाम्रो कृषि प्रणालीमा आइरहेको परिवर्तनले चराका लागि आहारा असम्भव हुँदै आएको छ,' उनले भने, 'माटोले पानी सोस्न पाएमात्रै त्यो उर्वर हुन्छ, बाली र कीरा-फट्यांग्रा सप्रन्छन् । सडक, नाला, घरैघर सबै पक्की हुन थाल्यो, खेती लगाउन घट्यो । यसको असर त परिजान्छ नि ।' 

अन्नबाली, पशुगोठ, पराल र नियमित खेतीपातीको चलनले पर्यावरण सन्तुलित राख्न भुमिका खेलिरहने उनले बताए । 'अब हामी घर फलाउँछौं, अन्न किन्छौं,' उनले भने, 'यति सम्मकी गमलामा एउटा फूलको बिरुवा रोपियो भने पनि किटनासक हालेकै अवस्था देखिन्छ ।'
 
काँक्रो, लौका र फर्सीजस्ता लहरामा फल्ने तरकारी हामीले सग्ला मन पराउनुको असर चरामा परेको तर्क पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेको छ । 'कीरा लागेका फलफूल प्राकृतिक हुन्, जुन सग्ला, सलक्क परेका छन् तिनमा विषादी परेकै हुन्छ,' उनले भने, 'खोट लागेको देखिएका फलफूलका कीरा-फट्यांग्रा चराका आहारा हुन् । कीटनासक चलाएपछि बाली राम्रा त हुन्छन् तर, नजानिँदो पाराले त्यसको असर हाम्रो स्वास्थ्यमा परेको छ, प्रकृतिमा पनि परेको छ ।' मानिसमा नर्सर्ने रोग बढ्दै जानुको मुख्य कारक बालीमा विषादिको प्रभाव भन्ने अनुसन्धानहरूले देखाइरहेका बेला चरामा परेको असरबारे खोजी नै नभएको उनले बताए । 

०००

इन्टरनेटको सर्च इञ्जिनमा भँगेरा बारे खोज्दै गए ६ दसकअघि चीनमा माओ त्सेतुङले चलाएको 'फोर पेस्ट क्याम्पियन' वा 'ग्रेट स्पारो क्याम्पियन' बारेको जानकारी भेटिन्छ । चीनले अमेरिका र यूरोपेली मुलुकहरूसँग आर्थिक समृद्धिमा प्रतिष्पर्धा गर्दै कृषि उत्पादनमा बढोतरीको अभियान चलाएको थियो । जनवादी क्रान्ति सफल भएपछि माओले खाद्यान्न उत्पादन दोब्बर बनाउने योजना ल्याएका थिए । मौसमले साथ दिएन । त्यसबेला बाली नसप्रेको दोष भँगेरा, झिंगा, लामखुट्टे र मुसालाई लगाइयो । तिनका कारण बाली बिग्रियो भन्दै सुरु भयो मार्ने अभियान । सरकारद्वारा घोषित अभियान भएपछि पासोमा पर्ने, जाल थाप्ने, गुलेलीले हान्ने र जसरी भेटिन्छ त्यसरी भँगेरा मारिए ।

यो सन् १९५८ को घटना थियो । त्यसबेला कति भँगेरा मारिए भन्ने रेकर्ड छैन । भँगेरा मारेर खाद्यान्न उत्पादनमा सुधार आउनुको साटो भोकमरी आयो । त्यसबाट लाखौं जनसंख्या प्रभावित भयो । दुई वर्षछि माओले भँगेरा निर्मुल पार्ने अभियान रोक्न आदेश गरे । 

चराका आनीबानीका जानकारहरूले उनलाई त्यो चरोका कारण बाली उत्पादन घट्दैन, शत्रु जीव भनिने किरा-फट्यांग्रा खाइदिने भएकाले फसल उत्पादनका सहयोग गर्छ भन्ने पत्ता लागेको बताएका थिए । धेरै भँगेरा मारिएपछि मात्रै आदेशकर्ता र समर्थकले भँगेरा मार्न रोके ।
 
दक्षिण एसियाली मुलुकमा चरा चिन्न, शोध गर्न र संरक्षणका काममा लामो समयदेखि काम गरिरहेकी बेलायतकी ७१ वर्षीया क्यारोल इन्स्कीप नेपाल बराबर आइरहन्छिन् । नेपाल, भारत, भुटान र श्रीलंकाका चराहरू बारेका पुस्तक लेखनमा उनको अगुवाइ छ । '१९७७ देखि यता लामो-छोटो अवधिका मैले २२ पटक नेपाल भ्रमण गरिसकेँ,' उनले इमेल कुराकानीमा भनिन्, 'घर भँगेरा नेपालमात्रै होइन बेलायतका पनि विभिन्न ठाउँमा चिन्तालाग्दोगरि घटेका छन् ।' 

सहरीकरणले पारेको यो असर हेर्दा संरक्षणकर्मी र शोधार्थीका लागि चिन्ताको विषय रहेको उनले बताइन । 'बेलायतमा अब आधुनिक घरहरूमा पनि चरालाई आश्रय दिनुपर्छ भन्ने अभ्यास सुरु भएको छ,' उनी भन्छिन्, 'बेलायतामा यतिबेला विषादीको प्रयोग घटायौं भने मात्रै पनि उनीहरूको आयु र संख्या बढ्छ भन्नेमा संरक्षणकर्मीको जोड छ, नेपालको अवस्था पनि यो भन्दा फरक होइन ।' सहरीकरण, खेती प्रणालीमा आएको परिवर्तनले बास र आहाराको संकटको असर भँगेरालाई परेको हो । यसका लागि सम्बद्ध सबैले चिन्ता लिनैपर्ने उनले बताइन ।
   
नेपालमा राष्ट्रिय अभियानका रूपमा कुनै पनि पशुपन्छी मार्ने अभियान चलेको छैन । र, नचल्दा पनि भँगेराजस्ता हाम्रै घरमा बस्न रुचाउने चराहरू सुरक्षित नै छन् भन्ने अवस्था पनि छैन ।

(२०७५ चैत ३० मा कान्तिपुर कोसेलीमा प्रकाशित सामाग्री ब्लगमा जतन गरिएको हो )

Sunday, April 28, 2019

Visit Pokhara - आउँ है पोखरा


गाडीमा ओर्लनुस् की हवाईजहाजबाट । तपाइँले यहाँको भुइँ टेक्नेबित्तिकै एउटा प्रश्नको सामना गर्नुपर्छ - कहाँ जानुहुन्छ ? होटल चाहिन्छ ? त्यसपछि तपाइँले आफ्नो बजेटअनुसार सवालजवाफ गर्नुस् । निराश पटक्कै हुनुपर्दैन,  किनभने पोखराले आतिथ्य गर्न जानेको छ । 

बिग्रियो, भत्कियो, नासियो र मासियो भनेर बारम्बार आइरहने नकारात्मक खबरहरूबाट ध्यान हटाएर यात्रामा रम्ने सुर कस्नेका लागि छोटो दुरीभित्र प्रशस्त गन्तव्य कतै छन् भने त्यो पोखरा नै हो । एउटै सहरभित्र ताल, गुफा, स्तुप र संग्रहालय हेर्न सकिने मात्रै होइन, सजिलो सडक र खानबस्नको सुबिस्ता पनि विशेषता भएकाले घुमन्तेका लागि यो सजिलो ठाउँ छ ।

एक्लै, साथीभाइ वा परिवारका साथ पोखरा घुम्न आउने निधो गरेकाहरूले होटल-रेस्टुरेन्टको चयन अब अनलाइनबाटै गर्न सक्छन् । इन्टरनेटको सर्च इञ्जिनमा पोखराका होटल खोजेर त्यहाँ भेटिने नम्बरमा फोन गर्दा आफ्नो बजेट अनुसारको खर्चमा बास, खानपान र घुमघामको व्यवस्थापन सजिलै हुन्छ । कार्यालयको कामविशेषले आइपुगेर गत मंगलबार पोखरा घुम्दै गरेको भेटिएका विराटनगरका पंकज वर्माले भने 'पहिले पहिलेभन्दा पोखरामा भीड बढेछ । घर, गाडी र मान्छे बढेछन् । तैपनि यो सहर घुम्न पाउनुको आनन्द बेग्लै छ ।' सहरले बढ्दो जनघनत्वसँगै घुमघामको गन्तव्य पनि थपेको पाएको उनले बताए ।
 
त्यसो त धेरै वर्ष अघिदेखि पोखरा उपत्यकाको मुख्य आकर्षण फेवाताल र माछापुच्छ्रे हिमाल हो । पोखराबाट माछापुच्छ्रे हिमालको हवाई दुरी ३३ किमि मात्रै छ । संसारका अग्ला १४ हिमालमध्ये तीन वटा पोखराबाट देख्न सकिन्छ । मौसम सफा रहँदा फेवातालमा पौडी खेलेको सुन्दर आकृति देखिने माछापुच्छ्रे हिमाल ६९४७ मिटर अग्लो चुचुरो हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने उक्त चुचुरो आरोहणका लागि खुला गरिएको छैन । त्यसैले माछापुच्छ्रेलाई 'कुमारी हिमाल' पनि भन्ने गरिएको छ । गाउँपालिकाले आन्तरीक स्रोत वृद्धिका लागि उक्त हिमालमा पनि आरोहण खुला गरिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अहिले बहसको विषय भएपनि सरकारले आरोहण खुला गरिसकेको छैन ।
 
पोखरा उपत्यकामा फेवातालमात्रै धेरैले र सजिलै देख्नेमा पर्छ । तर, यहाँ बेगनास, रुपा, खास्टे, दिपाङ, गुँदे, न्युरेनी, मैदी, र कमल लगायतका नौ ताल छन् । फेवाताल र बेगनासका लागि नगरबस नै सञ्चालनमा छन् । अन्य ताल पुग्न गाडीमा वा हिडेरै जान पनि सकिन्छ । फेवातालमा तालबाराही मन्दिर छ । पोखरा घुम्न आउनेले बाराहीघाटबाट प्रतिव्यक्ति ६० रूपैयाँ तिरेर मन्दिर आउजाउ गर्न सक्छन् ।
 
फेवा डुंगा व्यवसायी संघका सचिव रुद्र भुजेल भन्छन्, 'बाराहीघाटमा डुंगा चलाउनेलाई कहिल्यै फुर्सद हुँदैन । बिहानदेखि बेलुकीसम्म घुम्न आउनेको चाप हुन्छ ।' पामेदेखि ड्यामसाइटसम्म गरेर फेवातालका आठ वटा घाट छन् । बाराहीघाट मन्दिर आउजाउ गर्न चाहनेको भीड हुने ठाउँ हो भने अन्य घाटमा निश्चित समयवधिका लागि डुंगा भाडामा लिएर तालको सयर गर्न सकिन्छ ।
 

आठै वटा घाट गरेर फेवातालमा ७३४ वटा डुंगा छन् । यिनमा ३५६ वटा डुंगा बाराहीघाटमा मात्रै रहन्छन् । यही घाटमा पनि छानो भएका सुरक्षित मानिने डुंगा ३५ वटा छन् । अन्य साना डुंगा छन् । ठूलो एउटा डुंगामा १२/१३ जना र सानोमा ४/५ जना चढ्न मिल्छ । 

'बाराहीघाटबाट मात्रै एक दिनमा कम्तीमा चार हजार जनादेखि बढीमा १० हजार जनासम्म ढुंगा चढ्छन्,' सचिव भुजेल भन्छन्, 'हामीले देख्तादेख्तै डुंगाको यात्रा धेरै सजिलो र सुरक्षित बनाइएको छ ।' यात्रुले लाइफज्याकेट लगाउनै पर्छ । 

दुर्घटनाका अवस्थामा उद्धारका लागि सशस्त्र प्रहरीको एउटा युनिट नै तैनाथ छ । तुलनात्मकरूपमा फेवाभन्दा अन्य तालमा भीड छैन । तर, लेकसाइड र फेवातालको भीडभन्दा केही पर्तिर रमाइलो गर्न चाहनेका लागि बेगनास अर्को सजिलो गन्तव्य छ । यहाँ २५७ वटा डुंगा छन् । यात्रुले समय तोकेर भाडा तिरेपछि घुम्न पाइन्छ । ३०९ हेक्टरमा फैलिएको बेगनास ताल एकान्तप्रेमीका लागि घुमघामको उपयुक्त थलो छ । बेगनासको बसबिसौनीबाट तालतर्फ नलागी पूर्व उक्लने हो भने अलि माथि पुगेपछि एकातिर बेगनास र अर्कातिर रुपाताल दृश्यावलोकन सहज छ । जाँदाजाँदै बाटामा पर्ने सुन्दरीडाँडामा भ्युटावर पनि छ । त्यहाँ उभिएर दुवै ताल हेर्न रमाइलो छ ।
 
पोखरा उपत्यका मुलुकमै सर्वाधिक पानी पर्ने क्षेत्र हो । किन यहाँ धेरै पानी पर्छ ? हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकाल भन्छन् 'यहाँको भूबनोट नै त्यस्तै भएर हो ।' तालतलैया धेरै हुनु, हिमालको नजिक, प्रशस्त वनजंगल र पहाडले घेरिएको भएर यहाँ वर्षा नियमित भइरहने उनले बताए । 'वाष्पीकरणको प्रक्रिया चलिरहँदा वर्षा नियमित हुन्छ,' उनले भने, 'यही पानी परिहरने भएकैले यहाँको मौसम सन्तुलित रहन सकेको पनि हो । यो पोखराको आफ्नै विशेषता हो ।' न धेरै गर्मी न धेरै जाडो । पोखराको मौसमको यही विशेषताले हिमालीदेखि गर्मी ठाउँमा हुने वनस्पति यहाँ पाइन्छन् । सिस्नुदेखि आँप र कटहरसम्म पाइने पोखराको विशेषता यहाँको मौसममा निर्भर रहेको उनले बताए ।
 
जहाँ डाँडा-डाँडाबाट झरेका खोलाले तालमा पानी ल्याएका छन्, त्यहीँ गहिरिएर बगेको सेती नदि पोखराको अर्को विशेषता छ । पुरानो पोखराको मध्यभागबाट बगेको सेती नदि केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म गहिरिएर बगेको छ । रामघाटमा प्रष्ट देखिने नदिको पानी त्यहाँबाट पुनः गहिरिँदै भूमिगत भएर दक्षिणको यात्रा गरिरहेको छ ।
 
यहाँ प्राकृतिक गुफाहरू पनि उत्तिकै संख्यामा छन् । छोरेपाटनमा रहेको गुप्तेश्वर, बाटुलेचौरको महेन्द्र र चमेरे गुफा यहाँ घुम्न आउनेले नछुटाउने गन्व्यमा पर्छ । दुई भागमा विभाजित गुप्तेश्वर गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेव मन्दिर बनाइएको छ । दोस्रो भाग करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स भनिने पाताले छाँगो देखिन्छ । गुप्तेश्वर पस्न अघि नै बाटोवारि छाँगो हेर्ने ठाउँ छ । घुमन्तेहरू धेरैले गुफाबाट छाँगो हेर्दैनन् । बेला बेला जलस्तर बढ्दा गुफा छाँगो हेर्ने ठाउँसम्म पुग्ने बाटो बन्द गर्ने गरिएको छ । आगन्तुकको सुरक्षाका लागि त्यसो गर्ने गरिएको हो । फेवातालको बाँधबाट पानी छाँगो हुँदै एक किलोमिटर भूमिगत यात्रा गरेर फुर्सेखोलामा पुगेको छ ।
 

बाटुलेचौर पुग्दा महेन्द्र गुफा र चमेरे गुफा नजिकै छन् । दुवै गुफा घुमन्तेका लागि रोचक अनुभव दिन्छन् । थुप्रै चमेरा झुण्डिएर बसेको देखिने चमेरे गुफा पस्नुअघि टर्चलाइट बोक्नै पर्छ । धार्मिक पर्यटकका लागि पनि पोखरामा पर्याप्त स्थान छन् । फेवाताल आइपुग्ने जो कोही तालबाराही पुग्छन् भने थाहा नभएकाहरूलाई पर्यटनकर्मीले विन्ध्यवासिनी, भद्रकाली र माटेपानी गुम्बासम्म पुग्ने सल्लाह दिएकै हुन्छन् । 

फेवातालबाट पुम्दीभुम्दीको डाँडामा विश्व शान्ति स्तुप छ ।  त्यहाँसम्म दुइ तरिकाले पुग्न सकिन्छ । पहिलो- फेवातालबाट डुंगामा पारी गएर आधा घण्टा पैदल डाँडा उक्लने, दोस्रो छोरेपाटनहुँदै गाडीमा स्तुपाको फेदीसम्म पुगेर भर्‍याङ चढ्ने । दुवै यात्रा आफैंमा रोचक हुन्छन् । मौसम खुलेका दिन स्तुपबाट उत्तरतर्फमाथि माछापुच्छ्रे र अन्नपूर्ण लगायतका हिमशृंखला र तल फेवातालको पूर्ण आकार हेर्न सकिन्छ ।
 
स्तुपभन्दा केही माथि छोटो पदयात्रा रुचाउनेका लागि पुम्दीकोट छ । त्यहाँ भ्युटावरमात्रै छैन, एक रात बास बस्छु भन्नेलाई पनि सहज छ । कालाबाङ घरेडी भनिने उक्त बस्तीमा होमस्टेको व्यवस्था छ । त्यसो त पोखरा आफैंले मात्रै आतिथ्यमा आधारीत व्यवसायको लाभ लिएको छैन, प्रत्येक डाँडाकाडाका बस्ती बस्तीमा होमस्टे, होटल र रेस्टुरा पुगेका छन् । स्थानीयले पाहुनालाई आतिथ्य गर्न जानेका छन् । महानगरबाट बाहिर रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामध्ये जहाँ पुगे पनि आगन्तुकका लागि खान-बस्न सहजै पाइन्छन् ।
 

पोखरामा प्राकृतिक सम्पदाका रूपमा ताल, पहाड र खोलामात्रै दर्शनीय नभइ मानव निर्मित संरचना पनि यात्रामा छुटाउनै नहुने बनेका छन् । यस्ता गन्तव्य संग्रहालय हुन् । पोखरामा पाँच वटा संग्रहालय छन् । बर्सेनि सर्वाधिक अवलोकनकर्ता पुग्ने थलो रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । उक्त संग्रहालयमा मुलुकका अग्ला हिमाल, आरोहण इतिहास, जलवायु परिवर्तनका जानकारीसँगै हिमाली र पहाडी क्षेत्रको जनजीवनको यथेष्ट जानकारी पाउन सकिन्छ । 

'हामीकहाँ वर्षमा करिब २ लाख ५० हजार हाराहारी अवलोकनकर्ता आउँछन्,' संग्रहालय व्यवस्थापक बलप्रसाद राई भन्छन्, 'घुम्न आउनेहरू बर्सेनि बढेका छन् । त्यसैले हामीले सोधखोज गर्नेका लागि टेक्नोलोजीले सजिलो पनि पार्दै लगेका छौं ।' संग्रहालय प्रवेश गर्नेले मोबाइल एप्लीकेसन डाउनलोड गरेर पसेपछि सबै कक्षमा प्रदर्शनमा राखिएका विषयको जानकारी अडियो-भिडियो र पढ्न मिल्नेगरि पाउने उनले बताए ।
   
पश्चिमाञ्चलको जनजीवन झल्काउने क्षेत्रीय संग्रहालय नयाँ बजारमा छ । गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुलनजिक र शक्तिघाटमा गुरुङ जनजीवनको क्होइबो छ । पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियममा पुतलीका संग्रह हेर्न सकिन्छ । यहाँ पुतलीका करिब ६ सय प्रजाति संग्रहीत छन् ।


बढ्दो सहरीकरणले प्राकृतिक भूबनोटमा पारेको असरबाट सिर्जित समस्याबाट पोखरा अछुतो छैन । तैपनि अझै पोखरामा घुम्ने ठाउँ पर्याप्त भएकै हुनाले रोजाइको गन्तव्य बनेको हो । तनहुँको डुम्रेबाट लमजुङको बेंसीसहर हुँदै मनाङको थोराङ-ला पास उक्लेर मुस्ताङको मुक्तिनाथ झर्ने पदयात्री म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । 

पोखरा-बागलुङ मार्गको नयाँ पुलबाट वीरेठाँटी हुँदै अन्नपूर्ण आधार शिविरको यात्रा गर्नेहरूका लागि पनि सुरुवातको गन्तव्य पोखरा हो । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा रुचाउनेदेखि मनाङ-मुस्ताङ जाने योजनामा रहेकाहरू पोखरा आउन मन पराउँछन् । सहज बसाइँ, सजिला घुमघामका गन्तव्यदेखि अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जी जम्प र जीपफ्लायरका साहसिक खेल रुचाउनेमात्रै होइन कालीगण्डकी र मादीमा र्‍याफ्टिङका लागि निस्केकाहरूले पनि पोखरा टेकेकै छन् ।

***
(कान्तिपुरको नव वर्ष परिशिष्टांक 'आरम्भ' मा २०७५ चैत  २९ मा प्रकाशित) 

Sunday, March 10, 2019

जो बाटो देखाउँछन्


पोखरा आएर महिला ट्रेकिङ गाइड खोज्नुपरे समस्या छैन । चाहनाअनुसारका डाँडाकाँडामा सँगै पुगेर पर्यटकीय क्षेत्रको जानकारीसँगै खान-बस्न उपयुक्त बन्दोबस्तका लागि सहजीकरण गरिदिने महिला गाइडले विदेशी पर्यटकमाझ 'पौरखी नेपाली महिला' बारे राम्रो प्रभाव पारिरहेका छन् ।

गाउँबाट पोखरा पढ्न आएका थुप्रै छात्रामध्ये तीन जनाको रहर अलि बेग्लै थियो । घरको आर्थिक अवस्था सम्झेर उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्थे । शृंगारका सामाग्री पसलमा सहयोगी र बजार प्रतिनिधिको काम मिले पनि सन्तुष्टि मिलेको थिएन ।

पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तह सिध्याउन लागेका बेला एउटीले अखबारमा 'थ्री सिस्टर्स' को कहानी देखिन् । त्यसमा संस्थाका सञ्चालिका लक्की, डिक्की र निक्की कार्कीको कथामात्रै थिएन, उनीहरू महिलालाई गाइड बन्न जागिरको ग्यारेन्टीसहित तालिम दिन्छन् भन्ने पनि उल्लेख थियो । तीन सहपाठी अब कुरा बुझ्न थ्री सिस्टर्सको कार्यालयमा जाने भए ।

अमेरिकी टेलिभजन च्यानल सीएनएनले कार्की दिदीबहिनीले पदमार्गका लागि महिला गाइड तयार गरिरहेको विषयमा वृत्तचित्र प्रसारण गरेको थियो । त्यसयता नेपाली महिलाको सशक्तिकरणका विषयमा लेख्न चाहने धेरैका नजरमा उनीहरू परे । वर्षौदेखि कार्की दिदीबहिनी 'अन द जब ट्रेनिङ' दिएर महिला गाइड तयार पारिरहेका छन् । पोखरामा महिला पर्यटनकर्मीका कथा लेख्नुपरे अहिले पनि जोकसैले बताइदिने पहिलो नाम 'थ्री सिस्टर्स' नै हो । आर्थिक लगानीबिनै आफ्नो पौरखले इमानदार पेसामा गरिखान चाहने महिलाका लागि उनीहरूको योगदान अतुलनीय रहिआएको छ ।

***  
आजभन्दा करिब सात/आठ दसकअघि रामेछापको ठोसेका लालबहादुर कार्की कामको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । त्यसबेला नेपालबाट कामको खोजीमा निस्कनेमध्ये फौजीमा भर्ती जानेबाहेका धेरैको गन्तव्य सिक्किम, दार्जिलिङ र असम हुन्थ्यो । पहाडी क्षेत्रका बासिन्दा औलो लाग्छ भनेर तराई बस्न डराउँथे । पहाडी क्षेत्रमै काम गर्न पाउँदा हावापानी मिल्ने ठान्थे । यसरी निस्कनेहरू अधिकांश पढेलेखेका हुदैनथे । दार्जिलिङ पुगेकाहरूले झट्ट पाउने काम हुन्थ्यो- चियापत्ती टिप्ने, जंगल फडानी गर्ने, काठ बोक्ने र बाटो बनाउने ।

लालबहादुरका एकमात्र सन्तान थिए कर्णबहादुर । उनी दार्जिलिङमै जन्मिए, बाल्यकाल त्यहाँको सुकियापोखरीमा बित्यो । विवाह गरेपछि लगालग आठ सन्तान भए । कर्णबहादुरको परिवार पुर्ख्यौली थलो खोज्दै ठोसेमै फर्कियो । केही वर्ष रामेछापमा बितेपछि खर्च धान्न कर्णबहादुरले पिताको पथ चिहाए । उसैगरि सपरिवार दार्जिलिङ पुगे ।


२०४९ वैशाख तेस्रो साता कर्णबहादुर दिवंगत भएपछि कार्की परिवारले फेरि नेपाल फिर्ने निर्णय गर्‍यो । काँकडभिट्टाबाट चढेको बसले जनकपुर पुर्‍यायो । तराई सहज लागेन । उनीहरूले त्यहाँबाट पोखरालाई गरिखाने गन्तव्य बनाए । धेरै संघर्षपछि आफ्नो संस्था र नामलाई उभ्याउन सफल भएका 'थ्री सिस्टर्स' तिनै कर्णबहादुरका छोरीहरू हुन् । 

'हामीले ब्याचलरसम्म दार्जिलिङमा पढेकाले पोखरामा अंग्रेजीको कदर हुने अवस्था थियो,' लक्की भन्छिन्, 'तैपनि सुरुवातका दिन धेरै संघर्षका रहे । आज हामी ट्रेकिङ एजेन्सी चलाएरमात्रै बसेका छैनौं, गाइड बन्न चाहने नेपाली चेलीहरूलाई बाटो देखाइरहेका छौं ।' 

पुरुषको मात्रै वर्चस्व रहेको ट्रेकिङ गाइड र पर्यटक सहयोगीको पेसामा कार्की दिदी बहिनीको संस्था झण्डै दुई दसकदेखि महिलालाई निरन्तर अघि बढाइरहेको छ । उक्त संस्थामा हाल चार दर्जनभन्दा बढि महिला गाइड छन् । केही वर्ष निरन्तर काम गरेर सक्षम भएकाहरू आफ्नै संस्था खोल्दै र अरुमा गएपनि गुरुआमा रहेका कार्की दिदीबहिनीलाई सम्मान गर्छन् । आउने र जाने क्रम वर्षौदेखि चलिरहँदा कार्की दिदीबहिनीको महिलालाई पौरखी बनाउने अभियानमा अडचन आएको छैन । आफ्नो संघर्षको कथा 'हामी थ्री सिस्टर्स' को नाममा हालै पुस्तकाकार रूपमा प्रकाशित पनि गरेका कार्की दिदीबहिनीका बारेमा जानकारी लिन त्यति गाह्रो छैन । गुगलको सर्च इञ्जिनले पनि जानकारीमूलक साइट र भिडियोका थुप्रै लिंक देखाउँछ ।
 
यतिबेला हामीले जान्नुपर्ने अर्को कथा 'मल्ल सिस्टर्स' को हो । कार्की दिदीबहिनीको खबर पढेपछि 'थ्री सिस्टर्स' को कार्यालयमा प्रष्ट कुरा बुझ्न जाने कलेजका ती तीन छात्रा मध्येकी एक थिइन विष्णु मल्ल ।

०००

'उहाँहरू गाइड हुन तालिम दिनुहुने रहेछ । कुरा बुझ्दा ठीकै लाग्यो । मलाइ घुम्ने रहर । काम पनि मान्छे घुमाउने, ठाउँका बारेमा बताउने,' विष्णु मल्ल भन्छिन्, 'एक महिने तालिम लिएँ, त्यसमा फिल्ड वर्क पनि थियो । पछि थ्री सिस्टर्सकै लागि काम गर्न थालियो ।' त्यसबेला गाइडको काममा महिला नगन्य संख्यामा थिए । जति थिए, सबै थ्री सिस्टर्सको बलमा काममा लागेकाहरू थिए ।

'मेहनतका हिसाबले त्यो बेला पैसा धेरै होइन तर, थ्री सिस्टर्सले गाइड बनेर बाँच्न सकिन्छ भनेर सिकायो,' उनी भन्छिन्, 'टुरिस्ट थरिथरिका आउँछन् । महिलाले महिला गाइड नै खोज्दा हामीले बराबर काम पाउन थाल्यौं ।' पाहुना टोलीको मनोविज्ञान बुझ्दै जाँदा पेसालाई निरन्तरता दिन सजिलो भएको उनले बताइन । 'हेर्दा-सुन्दा गाइडको काम सजिलै हो तर, अंग्रेजी जान्नुपर्छ । पुगेका ठाउँबारे बताउन सक्नुपर्छ,' उनी भन्छिन्, 'इमर्जेन्सीका अवस्थामा के गर्ने भनेर छिटो निर्णय लिन सक्नुपर्छ । समय ख्याल गरेर पंचुअल हुनैपर्छ ।' गाइडले अनुशासित, सभ्य र नम्र भएमात्रै काम पाइरहने उनले बताइन ।
 
'थरि थरिका टुरिस्टका टोली लिएर हिँड्दाका घटना र अनुभव पनि रमाइला/नरमाइला थुप्रै छन्,' उनी भन्छिन्, 'एकपटक बिरामी परेपछि मैले बिस्तारै हिड्ने काम कम गरेँ । अहिले दिदीलाई सघाउँछु । म आर्ट अफ लिभिङकी ट्रेनर भएकी छु ।' आफू हिडेको बाटोमा दिदीलाई बोलाएर ल्याएपछि पथप्रदर्शकको काम अझ दिगोरूपमा अघि बढेको उनले बताइन । उनकी दिदी अर्थात हीरा मल्ल ।

०००

पोखरामा अन्नपूर्ण चक्रीय पदमार्ग, मनास्लु र अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाने पर्यटक धेरै आइपुग्छन् । काठमाडौं टेकेपछि मुग्लिनबाट डुम्रे भएर लमजुङको बेंसीसहर हुँदै मनाङ पुग्ने पदयात्री पर्यटक थोराङ-ला पास गरेर मुक्तिनाथ झर्छन् । त्यसपछि जोमसोम, बेनी र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । अन्नपूर्ण आधार शिविरको यात्रामा जानेहरू पोखरा भएर नयाँपुल, वीरेठाँटी हुँदै घान्द्रुक हेर्दै उकालो लाग्छन् । फर्किँदा पोखराकै बास हुन्छ ।
  
शुक्रबार नारी दिवसका विभिन्न कार्यक्रम भइरहँदा हीरा मल्ल कुनै गाउँमा पर्यटक लिएर होमस्टेमा पुगेकी हुनेछिन् । उनलाई सम्पर्क गरेको टोली सोमबार बिहान नै यात्रामा निस्किसकेको थियो ।
 
स्याङ्जाको पुतलीबजार-८ बाहाकोटका इन्द्रबहादुर मल्लका ५ सन्तान मध्येकी जेठी छोरी हुन् हीरा । एसएलसी दिएर घर बसेलगत्तै उनको विवाह भयो । माइतीबाट डेढ घण्टा दूरीको गाउँ पुगिन् । दुई सन्तान जन्मिए । कामको खोजीमा भौंतारिएर श्रीमान पोखरा झरेका थिए । छोरी जन्मिएपछि घर आउन छाडे । यदाकदा आए पनि झगडा हुन थाल्यो । ट्याक्सी चलाउने काम गरिरहेका उनले डेरामा कान्छी भित्र्याएपछि घर आउने बाटो बन्द भयो । तर, घर चलाउनै गाह्रो पर्‍यो । दूधमुखे छोरी निकै बिरामी परी । उपचार गराउन हीरा पोखरा आइपुगिन् ।
  
उनको घरबार बिग्रिएको देखेर बैनी विष्णुले सम्हालिन । दिदीलाई आफू जसरी नै 'थ्री सिस्टर्स' मा तालिम दिलाउन पुर्‍याइन । 'दिदीको बानी मजस्तो हक्की पाराले प्रष्ट बोल्ने थिएन । मलाइ यसले कसरी काम गर्ली जस्तो लागेको थियो,' विष्णु भन्छिन्, 'तर, आज दिदीले महिला ट्रेकिङ गाइडमा आफ्नो नाम बनाएकी छे । म दिदीको सहयोगी भएकी छु ।'

हीराका छोरा यतिबेला ११ कक्षा र छोरी ५ कक्षामा पढ्छन् । टुरिस्ट गाइड बनेकी आमाले घर धानेकी छन् । 

०००

पोखराको नदिपुरस्थित 'मल्ल सिस्टर्स' को डेरामा दिदीबैनीको मुस्कुराइरहेको तस्बिरअंकित फ्लेक्स पोस्टर छ । पोस्टरमुनि हीराले कुन कुन मितिमा कुन देशबाट, कहाँ जाने पर्यटकले आफूलाई सम्पर्क गरेकाछन्, त्यो लेखेकी छन् । 

महिनामा मुस्किलले एक साता घर बस्न पाउने रूटीन हुने गरेको छ । 'म चरा पनि चिनाउन सक्ने भएकीले मैले घुमाउने टुरिस्टहरू बर्ड वाचर पनि धेरै हुन्छन्,' हीरा भन्छिन्, 'मलाई आइपरेका केही पर्यटकको रुचिका कारण चरा चिन्न सजिलो भयो । पोखरामा टुर गाइडलाई चरा चिनाउने तालिमले पनि सघायो ।' मल्ल दिदी बहिनीले यतिबेला आफ्नै ट्रेकिङ एजेन्सी चलाएका छन् ।
 
'एक दिन एउटा टिमलाई मैले बताइरहेको एउटा क्यानडेली जोडीलाई मन परेछ,' उनी भन्छिन्, 'पोखरा फर्किएपछि उनीहरूले मलाई सम्पर्क गरे । पछि उनीहरूले नै छुट्टै एजेन्सी चलाउन मद्दत गरे ।' बाटामा भेटिएका ब्रुस र थेरेसले दोस्रोपटक नेपाल आउँदा हीरालाई नै आफ्नो पथप्रदर्शक बनाएपछि उनीहरूको चिनजान बढेको थियो । क्यानडेली दम्पत्तीले थ्री सिस्टर्सको कार्यालय पुगेर हीराको अनुभवको प्रमाणपत्र बनाइदिन आग्रह गरे । क्यानडा घुमाउन लगे । पिता समानका थेरेसले 'मल्ल सिस्टर्स' का लागि वेबसाइट पनि बनाइदिएपछि छुट्टै आफ्नै काम गर्न बाटो खुल्यो ।
 
'अहिले हामीलाई वेबसाइटमै सम्पर्क गरेर टुरिस्टहरू जान चाहेको ठाउँ र मिति बताउँछन्,' हीरा भन्छिन्, 'हामी आफ्नो समय त्यसैअनुसार म्यानेज गर्छौ‌ । कामले खाली बस्नुपरेको छैन ।' पोखरा आइपुग्ने पर्यटकलाई घुमाउन गण्डकी र धौलागिरिका सबैजसो पर्यटकीय पदमार्ग छिचोलेकी हीराले ५४१६ मिटर उचाइको थोराङ-ला पासमात्रै १६ पटक गइसकेको बताइन । उनी लाङटाङ, अन्नपूर्ण र सगरमाथा आधा शिविरसम्म पनि पाहुना लिएर पुगेकी छन् । 

'परिवार, केटाकेटीसहित र वृद्धवृद्धाले सकभर महिला गाइड नै खोज्ने भएकाले हामीलाई सजिलो छ,' उनी भन्छिन्, 'एकपटक घुमाउन लगेको टोलीका टुरिस्ट गाइडको व्यवहारले प्रभावित भएभने उनीहरूले चिनेजानेका जो पठाए पनि फलानोलाई गाइड लानु भनेका हुन्छन् , सम्पर्क त्यसरी बढ्ने रहेछ ।' 

०००

'१० वर्ष भयो हीरा बैनीलाई मैले यो ट्रेकिङको फिल्डमा देखेको, अहिलेसम्म कुनै कम्प्लेन छैन,' ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान) पश्चिमाञ्चलका सचिव जीवन सापकोटा भन्छन्, 'उनीजस्ता केही अग्रणी बैनीहरू छन् जसको इमानदार काम गराइ हामीले नवप्रवेशीलाई उदाहरणका रूपमा भन्न-देखाउन पाएका छौं । घर छाडेर हप्तौंसम्म हाइ अल्टिट्युडमा पुग्नु र अप्ठ्यारा अवस्थामा पनि पर्यटकलाई असुविधा हुन नदिन ध्यान पुर्‍याउनु जो कसैका लागि सजिलो काम हुँदै होइन ।' 

आफ्नो अनुभवमा महिला गाइडबारे पर्यटकका नगन्य गुनासा आउने उनले बताए । 'अहिले पोखराबाट एक्टिभ महिला गाइड करीब ७० जना हाराहारी छन्, महिलाले मात्रै चलाएका करिब तीन वटा ट्रेकिङ एजेन्सी छन्,' उनी भन्छन्, 'जहाँ सँगै गएका जेन्स गाइडले अनावश्यक खर्च बढायो, रक्सी खायो, हल्ला गर्‍यो आदि भन्ने टुरिस्टका गुनासा हुन्छन्, त्यहीँ गाइड लेडिज भए त्यस्ता गुनासा सुनिएका छैनन् ।' 

महिलाहरू काममा बढी ध्यान दिने, अध्ययनशील र व्यवहारमा फरासिला भएको पर्यटकले बताउने गरेको उनले सुनाए । 'अझ हीराका बारेमा भन्नुपर्दा चरा चिन्ने गाइड जेन्समै पनि निकै कम छन्,' उनले भने, 'बर्ड वाचरको ग्रुप आयो भने सुरुमा खोजी उनकै हुन्छ ।'


पाहुनालाई आफूले लगेका ठाउँको यात्रामा सहजीकरण गर्ने, ठाउँबारे सोधेका कुरा नम्रतापूर्वक बताइदिने र खाना तथा बासमा खोजेजस्तो सुविधा उपलब्ध गराउन खटिने गाइडले आफ्नो देशकै छविबारे पनि राम्रो प्रभाव पार्न सक्नुपर्ने उनी बताउँछन् । 'खासमा गाइड महिला हुन् वा पुरुष, मापदण्डका कुरा सबैका बराबरी लागू हुन्छ,' उनी भन्छन्, 'तुलनात्मकरूपमा महिला गाइडका बारेका कम्प्लेन कम आउँछन् । त्यसैले वृद्धवृद्धा वा परिवारमा आएका टुरिस्टले खोजेअनुसार हामी पनि लेडिज गाइड उपलब्ध गराउँछौं ।' 

टानले पदमार्गमा जाने पर्यटकसँगै गाइडको पनि विवरण राख्ने गरेको छ । गाइड हुने योग्यतामा शारीरिक र मानसिक रूपमा स्वस्थ र एसएलसीसम्म पढेको भन्ने प्रहरीको भर्तीका लागि निर्धारित गरिएभन्दा धेरै फरक छैन, जसलाई महिला वा पुरुष जो भएपनि समानरूपले लागू हुन्छ । पुरुषका तुलनामा आधाभन्दा पनि कम संख्यामा रहेका महिला गाइडले निरन्तर काम पाइरहेको विवरणमा छन् ।


पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाका अनुसार पोखरालाई नै मुख्य थलो बनाएर गण्डकी-धौलागिरीका पदमार्ग घुम्न आउने पर्यटक वार्षिक सरदर १ लाख ७० हजार हाराहारी हुन्छन् । 'त्यसमा महिला संख्या करीब ४० प्रतिशत रहन्छन्,' उनी भन्छन्, 'सहजीकरण र व्यवहारका हिसाबले महिला गाइडबारे प्रभावित भएका पर्यटक भेटिन्छन् ।'

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) का अनुसार सन् २०१८ मा पदमार्गै पदमार्ग रहेको अन्नपूर्ण क्षेत्रमा १ लाख ८० हजार ९३ जना पर्यटक आएको तथ्यांक छ । सन् २०१८ को अक्टुवरबाट नेपाली पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ । उक्त वर्ष अन्तिम तीन महिनामा १ हजार १ सय ३७ नेपाली आएको तथ्यांक छ । 

'तुलनात्मकरूपमा महिला गाइडप्रति ढुक्क हुने भएकाले पनि टुरिस्टमा राम्रो प्रभाव परेको हुनुपर्छ,' एक्यापका सञ्चार अधिकृत ऋषि बराल भन्छन्, 'हाम्रो टुरिज्म सेक्टरमा महिला-पुरुष भनेर काममा विभेद छैन । तर, पछिल्लोसमय जति पनि महिलाहरू काममा अगाडि आउनुभएको छ, सबैले उहाँहरूलाई हौसला नै दिएको अवस्था छ ।'
***

(२०७५/११/२४ मा कान्तिपुरको विशेषांक 'नारी नेपाली' मा प्रकाशित सामाग्रीको असम्पादित लेखोट ब्लगमा संग्रहीत)