Wednesday, July 30, 2008

बल्ल आयो इन्सिनेरेटर


पूर्व क्षेत्रमै ठूलो मानिने कोशीअञ्चल अस्पतलमा फोहर तह लगाउने उपकरण रहेनछ । रोटरी क्लवले उपकरण मँगाएर त्यसलाइ चलाउने घरसहितको पूर्वाधार अस्पताललाइ हस्तान्तरण गरेपनि मंगलवारदेखि यसको उपयोग सुरु भएको छ ।
विराटनगरमा रहेको कोशीअञ्चल अस्पतालमा ३ सय शैया छन् । यहाँबाट दिनहुँ निस्कने संक्रमणजन्य फोहर पहिले त्यतिकै तह लगाइने गरेको रहेछ । सहयोग आयो , राम्रो हो । जे होस यसले फेरि पुष्टि गरेको छ, हामीलाई कसै न कसैले सहयोग नगरी हुँदैन । २०५०/५१ सालतिर म पत्रकारितामा आएको थिइन । त्यसबेला मोरङ सुगर मिलमा सिजनको जागिरे जीवन थियो । त्यो कारखाना साल्ट ट्रेडिङले खरिद गरि नया प्लान्ट लगाएको थियो ।
नयाँ प्लान्ट चलाउन दाउराको खपत बढि हुन्थ्यो । पहिले बगास र थोरै दाउराबाट चल्ने कारखानाले नयाँ प्लान्टपछि उत्पादन बढाएपनि यति धेरै दाउरा खपत गर्थ्यो । त्यो हेर्दा धेरै दिन चल्दैन होला भन्ने लख काट्ने धेरै थिए । पछि त्यस्तै भयो । नयाँ प्लान्ट आएको चार वर्षपछि कारखाना सदाका लागि बन्द भयो । यहाँ कारखाना र फोहर डढाउने इन्सिनेरेटरको के सम्बन्ध भन्ने लाग्ला । सम्बन्ध मैले देखें ।
अस्पतालका मेसु डा. सीपी उपाध्यायले बताएअनुसार यसले एकपटकमा सात सय किलो ठोस फोहर डढाउन सक्ने रहेछ । तर प्राविधिक पक्ष बारे जानकारी सोध्दा थाहा पाइयो । यो डिजलले चल्ने रहेछ । तीन घण्टा चल्ा १५ देखि २० लिटर डिजल खपत गर्ने रहेछ । अस्पतालले त्यसैपनि बत्तीका लागि जेनेरेटर नचलाइ नहुने कर्मचारीको भनाइ छ । त्यहीँमाथि अर्को खर्च थपियो । जे भएपनि सहयोगमा २४ लाख ७७ हजारको पूर्वाधार आएको छ । यसले विराटनगरवासीलाई संक्रमणबाट जोगाओस ।

बन्दको बानी -२


हिजो साँझदेखि स्थिति सामान्यतर्फ फर्केपछि फेरि बन्दको चर्चा गरिरहन मन भएन । तैपनि अस्तिको पालो पुरा गरेन भने थालेको काम बीचैमा छाड्ने बानी भएको आरोप लाग्ने डर भयो । अनि पुनः लेख्न बसेको छु ।
हामी सोमबारको कुरा गर्दछौं धरान-विराटनगर मार्गको । दुहवीबाट करीव १ किलोमिटर वर रहेको जाममा हामी आइपुग्यौं ।
त्यहाँ बाटो छेकेर बसेकाहरुले बाइक रोक्न लगाए । हामीले आफ्नो परिचय दिएपछि उनीहरुले भने 'हाम्रो कुरा सुन्नुस , कुन पत्रकार अरे - ' पछाडिको गाडीलाइ परै रोक्न संकेत गरेर हामीले बाइक साइडमा लगायौ । अनि मैले त्यहाँको फेाटो खिचें । मजदुरहरुसँग कुरा गरें ।
दुहवी-४ मा पर्ने धनलक्ष्मी सेन्थेटिक्स भन्ने कारखानाले सार्वजनिक विदा माग गर्दा आफुहरुमाथि अन्याय गरेको उनीहरुको भनाइ थियो । हामीले यहाँको समाचार पठाउने वाचा गरि वितरणबाट फिरेको गाडीलाइ जान दिन आग्रह गर्‍यौ । उनीहरुले माने ।
मैले त्यहाँका आन्दोलनकारीका कुरा सुनें , टिपें । अनि त्यस कारखानाको व्यवस्थापनसँग भेट्न चाहे । कुरा एकतर्फीमात्र सुनेर फिर्नु ठीक पनि होइन । कारखानाको संकेतसम्म थाहा हुने केही नराखेको गेटमा बाहिरबाट भित्रका पालेलाइ अनुरोध गरे । हामी व्यवस्थापनका कसैलाई भेट्न चाहन्छौ , हामी पत्रकार हौं । भित्र खबर लगिदिन गरेको आग्रहमा अनुहार पनि ठम्याउन नसकिने गरि जाली लगाइएको झयालभित्रबाट पालेले भने 'पर्खनुस है म भित्र मान्छे पठाउँछु ।' हामी झयालमा उभिएको देखेर सडकका सबैजसो आन्दोलनकारी हामीतिरै झयाम्मिए । आधा घण्टा बित्यो भित्र पठाएको भनिएको मान्छेले खबर ल्याएन ।
मैले अब पर्खिरहन नसकिने बताएपछि मजदुरको हुलले हामीलाई निस्कने बाटो दियो । पार त पाइयो तर, अपुरो खबर लिएर । आफ्नो बीट एरियाभन्दा बाहिर जिल्लाको समाचार रहेकाले मजदुरहरुलाइ मैले अफिस र सुनसरीका संवाददाताको मोवाइल नम्बर दिएको थिए । सोचें, केही परे उनीहरुले सम्बन्धित साथीलाइ खबर गर्नेछन् ।
अफिस आइपुगेपछि बाटोभरि खिचेका तस्विर कम्प्युटरमा खन्याइयो । अफिसमा बसेका तीन घण्टामा अन्य तीन स्थानका बन्द बारेको खबर सुनियो । काठमाडौंमा केन्द्रीय कार्यालय तोडफोड भएको विरोधमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताले रोडशेष चोकमा जाम गरे । बन्दको विरोधमा हलुका सवारी चालकले जनआन्दोलन चोकमा राजमार्गमै गाडी तेर्स्याइ अवरोध गरे । अनि हिन्दी सपथको विरोधमा विमानस्थल
मार्ग नजिक चुरेभावरका कार्यकर्ताले बन्द गरे ।
मंगलवार पनि स्थिति फरक रहेन । तर, म केही निराश थिएँ । कारण हिजोको ती मजदुरका समाचार र तस्बिरलाई मैले काम गर्ने पत्रिकाले छापेको थिएन । सयौं खबरको चाँङमा एउटा छुट्नु सम्पादन मण्डल र स्वयमं संवाददाताका लागि पनि नौलो होइन । तर, यस्तै कारणले हामी सधैं समस्यामा परेका छौं । उनीहरुको प्रदर्शनको तस्बिर छापिन्छ होला भन्ने मलाइ लागेको थियो । अब फेरि त्यही बाटोमा उनीहरुसँग म पत्रकार भन्दै बोल्नुपरे मैले के गर्ने होला - यस्तो प्राय आइलाग्ने समस्या हुन् । सयौं खबर छापिदा कतै छोटकरी नअँटाउने त हैन नि । जे होस यस्तै भयो ।
मंगलवार विराटनगरभित्रमात्रै चार स्थानमा छुट्टाछुट्टै समयमा बन्द र विरोध प्रदर्शन भए । साँझ गुगलको च्याटमा देखिएका एक पत्रकार मित्रले सुनाए । सिडिओ अफिसमा महत्वपूर्ण निर्णय भए । कारण जोगबनी र महावीर चोकमा पोशाक जलाएको घटना । हिन्दी हंगामाको विरोध र विरोधको विरोधमा प्रदर्शन भएपछि चार दलका जिल्ला अगुवाहरुले अब आन्दोलन नगर्ने । मैले कार्यालयको फ्याक्सबाट तीनवटा पन्ना पाएँ । त्यसमा दुइवटा जिल्ला प्रशासन र एउटा चाहि चार दलको संयुक्त अपील थियो । प्रशासनले भनेको थियो । सर्वदलीय बैठकले शान्ति बनाइराख्न सक्रियता बढाउने निर्णय गरेको छ । अनि सर्वसाधारणलाइ मर्का पर्ने वाधा विरोधका कार्यक्रम गर्नेहरुलाइ कारवाही चलाउने ।

घारको नियति


मौरी पाल्न जानेको छैन । तर आज एक जना दाईले घारको नियति बताउँदा मैले देसको सेरोफेरोमा त्यसको अवस्था सोचेर हेरें । ती दाइले बताएको यस्तो रह्यो । घारमा रानो रहुञ्जेल माहुरी पाल्नु रमाइलो छ । जसरी देसमा राजा । राजाका बारेमा चर्चा गरेर उनीमाथि सहानुभूति राख्ने अवस्था रहेन । राखेको चर्चा कतै सुनिहाले उ प्रतिगामी ठहरिने अवस्था छ । उनी पुराना पत्रिकाबाट माओवादीको उदगम यात्रा बारे जानकारीमुलक समाचार खोजी रहेका रहछन् । त्यसको प्रयोजन सोध्नु मेरो चासो थिएन । उनले माओवादी खोजुन वा मधेसवादी किन चिन्ता लिने ।
जे होस , अगाडी बढौं । उनले सुनाए । रानो कुनै कारणले मर्‍यो भने तुरुन्त अर्को रानो खोजेर ल्याउनुपर्छ । यदि ल्याइएन भने घार भित्रका पोथी माहुरीमा होड चल्छ रानो बन्ने । अनि रानो बनाउने पदार्थ उनीहरुले खान्छन । ठूलो आकार हुन्छ । उनीहरु रानो होइनन । अनि रानो जस्तो एउटा मात्र फुल पार्ने पनि होइनन् । उनीहरुले चार/पाँचवटा फुल पार्छन । यस्तालाइ वित्पाते भनिन्छ । यी एउटा मात्र हुँदैनन् ।
घार जोगाउन वित्पातेलाइ बाहिर निकाल्नै पर्छ । माहुरी पालकले आफु ढिलो भएको महसुस गर्छ । अनि घारबाट सबै माहुरीलाइ थुन्छ । भुइँमा छाड्छ । अनि त्यो पुरानो घरमा रानो खोजेर ल्याउँछ । रानो ल्याएपछि वित्पाते नभएका माहुरी पुनः घरमा पस्छन् । अनि ती वित्पाते बाहिरै मारिन्छन् । रानो बन्ने महत्वाकांक्षा माटोमा विलाउँछ ।
सबै घारका नियति यस्तै नहोलान । बेलैमा किसानले रानो खोजेर वैकल्पिक व्यवसथा गर्ला । तर, मुलुक सम्झेर हेर्दा वित्पाते बाहिर निकालिएनन् । किसानभन्दा वित्पाते बलिया छन् ।



Monday, July 28, 2008

बन्दको बानी -१


धेरै साथीहरुले ब्लगमार्फत सेयर गर्ने रमाइला कुरा जस्तै केही म पनि लेखुँ भन्ने नलाग्ने होइन । तर, स्थिति र अवस्थाभन्दा पर पुगेर रमाउन सकिने छाँट नआउने रहेछ । आज धरानसम्मको यात्रामा बन्द संस्कृति हेरेपछि हामी अभ्यस्त भएको संस्कृतिकै कुरा लेख्न मन लागेको छ ।
म हिजो साँझ परिवारसहित सुनसरीको खनारस्थित ससुराली पुगे । श्रीमतिजी र मेरो आज धरानको पिण्डेश्वर जाने कार्यक्रम थियो । सो, त्यहाँ बेलुकी बसेर छोरालाई त्यहीँ छाडी हामी विहानै धरान लाग्यौं । विहानै खुल्ने र चहलपहल हुने इटहरी चकमन्न थियो । धरान पुगियो । त्यहाँ भानुचोकस्थित बसपार्कबाट गाडी बाहिरिने ठाउँमा धुँवाको मुस्लो थियो । सडकबाट गाडी छिर्न नमिल्ने गरि टायर बालिएको थियो । अघि जाने-नजाने भन्दा भन्दै मैले मोटरसाइकल रोकें । अनि केही तस्विर खिचें ।
मलाइ धरान पस्दा मन प्रफुल्ल बनाउने घण्टाघर अघि धुँवाको मुस्लो थियो । केहीबेर त्यहाँ उभिएपछि प्रहरीले बलेको एउटा टायर पन्छाए । मोटरसाइकल आरामले जानसक्ने ठाउँ बन्यो । अनि हामी उकालो लाग्यौं । हामी विजयपुरमा पहिले बुढासुब्वा मन्दिर पुग्यौं । त्यहाँ भीड थिएन । बोलबमको मेला लागेका बेला साउनभरि विजयपुरका तीन तीर्थमा मनग्ये भीड हुने गर्छ ।
बोलबम जानेहरु पिण्डेश्वर शिव मन्दिरमा जल चढाएर मात्र फिर्दैनन् । उनीहरु दन्तकाली र बुढासुब्वा मन्दिर पनि पुगेर दर्शन गर्छन् । तर, भीड नदेखेर नौलो लागेन । कारण , बन्दले तीर्थयात्रीलाई बाधा पुगेकाले हुनुपर्छ भन्ने भयो । अनि दन्तकाली मन्दिर पनि उस्तै । हुन त खुलेको शेयर वा कुनै आवेदन बुझाउने अनित्म दिनमात्र भीड हुने चलन छँदैछ । यद्यपि मन्दिर त्यस्तो होइन । दन्तकाली पनि खुकुलो थियो । पिण्डेश्वरमा भीड थियो तर, उल्लेख्य होइन । पालिका बजारदेखि माथि मन्दिरसम्मको उकालोमा कुनै बेला एक किलोमिटर लामो भीड देखिने मन्दिरमा करीव दुइ सय मिटरमात्र लाम थियो ।
त्यहाँ पत्रकारका नाताले सजिलै प्रवेश पाइयो । फोटो र भिज्युअल पनि खिचियो । व्यवस्थापन समिति अध्यक्षसँग कुराकानी पनि भयो । उहाँले भन्नुभयो 'भीड नहुनको कारण बन्द नै हुनुपर्छ । पछि पछि भीड हुन्छ ।' उहाँ भीड हुनेमा निकै आशावादी देखिनुभयो । त्यहाँबाट फिर्दा भानुचोक अलि साम्य थियो । धरान औद्योगिक क्षेत्रनजिकको सडकमा टायर बालेको भेटियो । त्यहाँ इन्जिनियरिङ कलेजका विद्यार्थी विरोध प्रदर्शन भन्दै नारा लगाएर बसेका रहेछन् । उनीहरु मोटरसाइकल पनि जान नदिइ फिराउँदै थिए । मैले केही वर मोटरसाइकल रोकें । अनि तिनीहरुको फोटो खिचें । बाइक अघि बढाएपछि उनीहरुले परिचयपत्र मागे । मेले देखाए । उनीहरुले भने 'यो विरोध उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएकोले हो, पत्रिकामा आउनुपर्छ । कहिले आउँछ -' मैले ' अँ अँ ' भन्दै बाइक अघि बढाएँ ।
तरहरा नाघेपछि आँपगाछी भन्ने चोकमा सडकमा खानेपानीको फलामे पाइप र बाँस राखेर अवरोध गरिएको रहेछ । त्यहाँ केही युवा, किसोर र धेरै संख्यामा भुराहरु सडकमा आउने बाइकलाइ फर्केर जान चेतावनी दिइरहेका थिए । उनीहरुले मलाइ पनि रोके । मेरो बानी गोजीमा परिचयपत्र राखेपनि हतपत जो कोहीलाई देखाउन मन लाग्दैन । त्यहाँ उनीहरुको उमेर र बोली देखेर परिचय देखाउँदै अघि जान मन मानेन । एक दिन उनीहरुको अवरोध छेउ पसलमा बाइक अड्याएँ । अनि श्रीमतिलाई 'केही बेर हेरौं ' भनें । उनको व्रत थियो । मैले पनि विहान एक कप चिया बाहेक केही खाएको थिईन । ११ बजेको थियो । मैले त्यहाँ ती भाइहरुलाई सोधें 'भाई केको बन्द हो -' उनले बडो गर्वसाथ मलाई हकार्ने पाराले भने 'हिजोअस्तिको पत्रिका पढ्नु भएन - टिभी हेर्नु भएन - क्या मान्छे केको बन्द भनेर सोध्ने -' नाजवाफ भइयो । मैले उनको रवैया हेरेपछि बोकेको व्याग सम्झे, अनि पोहरमात्र किस्ताबन्दीमा किनेको बाइक । सुरक्षित बस्न प्रश्न गर्नु ठीक छैन भन्ने लाग्यो ।
त्यहाँ ती अवरोधकर्ताहरुले मोटरसाइकल फिराएको केहीबेर हेरेपछि मैले मोटरसाइकल विस्तारै साइडबाट निकाले । लोकल ठानेर केहीले चुप लागेर हेरे । केहीले रोक रोक भन्दै थिए । श्रीमतिजी सडकमा केही अघि लागेकीले मलाइ अलि छिटो अघि बढाउन बाधा भएन ।
इटहरीमा बजार खुलेको थिएन । विराटनगर आउने बाटोमा टेलिकमको टावर नजिक अर्को बन्द रहेछ । त्यहाँ सडकछेउ ट्रक-बस र बीचमा माइक्रो तेर्स्याइएको थियो । मोटरसाइकलसम्म चाहि छिर्ने रहेछ । छिरियो । अनि बीचमा अड्याइएको माइक्रोभित्रका स्टाफजस्ता देखिनेलाइ मैले सोधें 'के भो भाई एक्सिडेन्ट भने, किन बन्द, विहान त थिएन त -' उनले भने 'त्यो राजा बन्ने होकि कसले हिन्दी बोलो रे , अनि त्यसैको बन्द हो ।' रमाइलो लाग्यो बन्दको बारेको कारण सुनेर । विचराले बुझेको रहेनछ । पछाडि लामबद्ध आएका बाइकलाइ
साइड दिने क्रममा उनीसँग कुरा गरिरहन मिलेन । अघि बढियो ।
श्रीमतिजीलाई खनार छाडेर म विराटनगर लागें । बाटोमा अफिसको पत्रिका वितरणमा हिडेको पिकप गाडी भेटियो । अनि अलि अघि दुहवी चोकभन्दा करीव एक किलोमिटर वर अर्को बन्द थियो । त्यहाँ सडकमा साइकलका टायर बलेका थिए ।
अब मेरो बाइक मात्र होइन , पछि रहेको अफिसको गाडी पनि सुरक्षित हिसाबले अघि पठाउनुपर्ने भयो । अहिले यति नै । यसको बाकी अंश भोली लेखौंला । अहिले बाहिर निस्कनु पर्ने भयो ।

Saturday, July 26, 2008

यस्तो आयो फोटो


तेह्रथुमको म्याङलुङ जाँदा २०६५ बैसाख १७ गते जिरीख्मितीबाट केही पूर्वमा मित्र बिक्रम निरौलाजीले खिचेको यो फोटो मलाइ निकै मन परेको सट हो । मैले दाउरा ल्याउने बालकको फोटो खिचें । उनले हेर्न चाहे । देखाउँदा लिइएको यो फोटो म जहिले जहिले हेर्छु रमाइलो लाग्छ । हाम्रो मुलुकको परिवेश तराइ हेरेर पुग्दैन । धेरै यस्ता ठाउँ छन् जहाँ मोटरवाटो पुगेको छैन । विद्यालय र स्वास्थ्य संस्था पनि हुनुपर्ने जस्तो भइसकेको छैन ।
कतै ल्यापटपमा कखरा सिक्न थालेका केटाकेटी छन् । कतै घाँस दाउरा र गोठाला गरेर कहिलेकाही विद्यालय जाने वा कहिल्यै नजानेहरु पनि छन् । विकट ठाउँबाट हुर्केर बाहिर निस्केकाहरु गाउँ फिरेनन् । विकास कागजमा मात्र आयो । अब परिवर्तनका लागि सबै नलागे हामी धेरै पछि पर्छौ ।

Friday, July 25, 2008

हाम्रो सिकाइ



ब्लग पेजहरु भिजिट गर्दा मैले धेरै साथीहरुको बानी ख्याल गर्छु । दुखका कुरा गर्दैनन् । सुखका , रमाइला कुरा , घटना, प्रविधि , यात्रा र प्रकृति बारे बताउँछन् । राम्रो लाग्छ । तर, हामी नेपालीको दिनचर्या युरोपियन र अमेरिकन अनि विहार छाडेर भारतका अन्य राज्यका मान्छेजस्तो छैन ।
अझ तराइमा बसेर काम गरिरहनेहरुले भोग्ने कथाव्यथा अब अझ असजिला छन् । आज विराटनगर बन्द छ । कारण अस्ति उपराष्ट्रपतिले हिन्दीमा सपथ लिए । उनले सपथ लिदा सभामा उपस्थित कसैलाई असजिलो लागेन । अब मिडियाले चर्चा चलाइरहँदा युवाहरुको चासो र चिन्ता बढ्यो । जे होस , आज र्सार्वजनिक यातायात बन्द रह्यो । बजार पसल पनि आंशिक मात्र खुले ।
लोकतन्त्रको नारा दिइरहँदा दलहरुको स्कुलिङमा बेरोजगारहरु राम्रै गरि ब्यस्त भएका छन् । मैले सुनेको थिए , लोकतन्त्र भनेको आफ्नो अधिकारको उपयोग गर्दा अर्काको नाकमा हिर्काउनु होइन । स्थिति ठ्याक्कै उल्टो छ । जे गरेपनि र्सवसाधारणलाई सास्ती । सम्झेर ल्यायो भने हरेक खालका प्रदर्शन, बन्द र विरोधले ती सरोकार नै नभएकाहरुलाइ सास्ती दिएको छ ।
नेताहरु यसका जिम्मेवार हुन् । त्यसरी सपथ लिन दिनै नहुने । यदि लिइहालेपनि त्यसको विकल्प छ । आज सबैजसो अखवारका पाठकपत्रमा उपराष्ट्रपतिको सपथ बारे लेखिएका छन । अनि भनिएको छ -यसले राष्ट्रियतालाई दुख्यो । जे होस, राष्ट्रियता त्यस्तालाई दुख्ने रहेछ । जसको काम अरुलाइ सास्ती दिनु हुन्छ । आन्दोलनका अनेक उपाय छन् । सरकारको रवैयाले जे गरेपनि हुने बुझेकाहरु सडक तताइ छाड्न उद्दत छन् । त्यही राष्ट्रपतिले सबैको मन जितेपनि मधेसी त मधेसी हुन् नि । अनि उपराष्ट्रपतिले किन यो नबुझेका होलान् । मधेसी जनअधिकार फोरमका नेताहरु अहिले अलि सभ्य लाग्छन् । मैले त मधेस आन्दोलनलाइ नजिकबाट हेरेको हो । उनीहरुको भाषा र व्यवहारले कुनै बेला थातथलो छाडेर हिड्नु बेस हुन्छ भन्ने स्थिति भइसकेको थियो ।
एउटा कुरा समानता हो । जसरी हामीलाई सिक्किम , दार्जिलिङ र जहाँ हाम्रो भाषा बोल्नेहरु छन् । उनीहरुलाई पराइ मान्न सक्दैनौ । ती दाजुभाइ हुन् । अनि विहारी वा भारतीयले नेपालका मधेसीप्रति त्यस्तो भावना राख्नु कुन अनौठो हो र । मुल भनेको मुल हो ।
म पनि उपराष्ट्रपतिले नेपालभित्र कुनै समुदायको मातृभाषामा नपर्ने भाषामा सपथ लिएकोमा सनतुष्ट छैन । तर, विरोधको शैली संयमित नभए सामाजिक अराजकता बढ्छ भन्नेमा सोचिरहेको छु । अहिले केही बेरमा मशाल जुलुस निस्कन लाग्यो रे । म हिडे फोटो खिच्न । अहिले यति नै ।

अब यो ब्लग

इन्टरनेट नभइ नहुने भएको पाँच वर्षपुगेछ । ज्ञानेन्द्रले सत्ता कब्जा लिदाका तीन दिन सम्झन्छु । नेट चलाउन नपाएर संसार नै अँध्यारो जस्तो लागेको थियो । यो मेरो तेस्रो ब्लग हो । सुरुको एउटालाई निरन्तरता दिन सकिन। कारण त्यसका सञ्जाल मलाइ उपयोग गर्न आएन । किन ढाँट्नु र ।
यो ब्लग साइट एक जनाको मित्रको पेज हेरेपछि मन परेको छ । सोचेको छु निरन्तरता दिन्छु । अहिले फटाफट ब्लगको पेजमा जे पायो त्यही राख्ने क्रममा छु । म यसलाई व्यवस्थित गर्दै लान्छु । भिजिट गर्ने साथीहरुलाइ स्वागत छ ।