माथिको तस्बिर गत आइतवार विराटनगर-६ सम्झना टोलको एक घरमा खिचेको हो । यो देउसे समूहकी एक सदस्यले नृत्य गर्दाको तस्बिर हो । ड्रम सेट, गिटार र आधुनिक नेपाली गायन लिएर डुलेको त्यो टोलीले यस्तो नृत्य देखाउदा धेरैले नौलो माने । आधुनिक जमाना , आधुनिक देउसी ।
Wednesday, October 21, 2009
छोरा-बुहारीलाई स्याबासी
बृद्ध र असक्त हुदै गएका बा-आमाको स्याहारमा सन्तानले कति रुची देखाउलान । बदलिदो सामाजिक परिवेशसगै आधुनिकताले गाँजेपछि छोराबुहारीले बृद्ध अभिभावक ध्यान दिन घटाएको देख्न पाउनु नौलो रहेन । सन्तानलाइ कसरी आफुहरुको स्याहारमा उत्साहित बनाउने भन्ने उपाय मोरङ सुन्दरपुर गाविसको पूर्वफिमरा टोलका बृद्धबृद्धाले खोजेका छन् । उपाय हो- वर्षभरि जसको घरबाट बा-आमाले सन्तानबारेको गुनासो गर्दैनन् ती छोराबुहारीलाई पुरस्कृत गर्ने ।
उपाय पहिल्याएको हो ६० नाघेकाहरुको ज्येष्ठ नागरिक सहारा बचत समूहले । समूहमा २३ जना बृद्धबृद्धा आवद्ध छन् । उनीहरु हरेक महिनाको १ गते बैठक गर्छन् । र, भेटको मेलाका रुपमा जनही पाच रुपैया बचत गर्छन । समूह गठनको पहिलो वार्षिकोत्सवको मौका पारेर उनीहरुले बिहीवार ८७ वर्षीया सदस्य टंककुमारी कट्टेलका छोरा कृष्ण र बुहारीलाइ पुरस्कृत गरे । स्थानीय भक्तिप्रसाद दाहालका घरमा वार्षिकोत्सव मनाउन भएको भेलामा उद्घोषणका लागि निम्त्याइएका गाविसका पूर्वअध्यक्ष कृष्णप्रसाद दाहालले भने 'छोरा-बुहारीले कट्टेलनी आमैको राम्रो हेरचाह गरेका रहेछन् । समूहले ती सु-बानी छोरा कृष्ण र बुहारीलाइ पुरस्कृत गर्ने निर्णय गरेको छ ।'
सबै सदस्यले ताली बजाए । अनि सदस्य गुणकुमारीले कुप्रो परेकी आमैलाइ छोरा-बुहारीका लागि पुजाको डाली,केही सामाग्री र चप्पल दिइन । उनी पनि हर्षित भइन । दुइ भाइ छोरामध्ये जेठो वेपत्ता भएपछि कान्छा कृष्णको सहारामा रहेकी एकल टंककुमारी हर्षले बोल्न सकिनन् । कट्टेल परिवार कृषि पेशामा निर्भर रहेको जानकारी भेलामा दिइयो । भेलामा आएका सबैजसो सदस्यले आ-आफ्ना हस्तकलाका सामान प्रदर्शन गरे । समूहमा आबद्ध बृद्धबृद्धाले भेला भएर गर्ने छलफल बचतमा कति रकम पुग्यो भन्नेभन्दा आफुहरुलाई आइपर्ने समस्यामा केन्द्रित हुन्छन् । समूहका सदस्य भक्तिप्रसाद भन्छन् 'हाम्रो समूहमा साठी पुग्न बाकी तीन जना छन् , अरु सबै नाघेकाहरु । हाम्रा कुरा आफ्नै समस्या बारेका हुन्छन् ।' उमेर ढल्किएपछि हिडडुल गाह्रो हुने, परिवारबाट हुने व्यवहार पनि अनुकुल भए नभएको याद हुने भएकाले पुरस्कारका लागि सबै सदस्यमध्ये जसको घरबाट छोरा-बुहारीले यसोउसो गरे भनेर गुनासो आएन तिनैलाई छानिएको उनले प्रष्ट्याए ।
पूर्वफिमराभन्दा केही पर घर भएका कवि अनिल पौडेल भेलामा आउन पाएकोमा खुशी थिए । उनले भने 'अलि पर घर पर्यो, यो देखेर मेरी आमालाइ पनि यहा भेट गराइदिन मन लाग्यो ।' भेलामा निम्त्याइएका मिर्गौलियाका डमरु गौतमले भने 'पाकाहरुले पनि यसरी भेला गर्दा राम्रै हुँदोरहेछ भन्ने थाहा भयो ।'
Subscribe to:
Posts (Atom)