Saturday, July 16, 2011

बकुल्लाको गाउँमा

दुई भंगाला तरेर डुंगाबाट पारि उत्रने बेलामा माझीले भनेका थिए, 'सरहरू आइहाल्नुभो । धेरै जुका लाग्छ । हेर्दै झार्दै जानुहोला ।' मनमा चिसो पस्यो । मान्छे हराउने हरिया काँसघारीमा रक्तभक्षी जुकासँग कसरी जोगिने ? मान्छे हिँडिरहने भए पो गोरेटोजस्तो बाटो हुन्थ्यो । मडारिएका घाँस पहिल्याउँदै अघि बढ्ने मार्ग थाहा हुन्थ्यो । आफैं हिँडेर बाटो पहिल्याउनुपर्ने गन्तव्य । के होला, जे होला भन्दै अघि बढियो । कहिले पानी परेको परेकै, कहिले अरू कामले यात्रामा निस्कन नदिएर बल्लतल्ल साइत जुरेको थियो ।

सुनसरीको मधुवन गाविसस्थित कोसी क्याम्पबाट केही पश्चिम हिँडेपछि सप्तकोसी नदीको पूर्वी तटबन्ध भेटियो । त्यहाँबाट केही दक्षिण हुँदै करिब डेढ सय मिटर पश्चिम लागेपछि अगाडि नदीको पहिलो सानो भंगालो भेटियो । भेलका बीच डोजर, स्काभेटरभन्दा तीन गुणा ठूलो आकारको घरजस्तो यन्त्र बसेको थियो ।

'कटरड्रेजर भन्छन् यसलाई,' किनारमा भेटिएका भारतको कोसी परियोजनाका कामदारले बताए, 'यसले खोलाको बालुवा निकालेर बाहिर थुपार्छ ।' त्यसको आवाज कुनै कारखाना चलेभन्दा कम थिएन । हामी पुग्दा त्यसले काम गरिरहेको थिएन । उनीहरूले बताए, 'यसले घन्टामा ४०/४५ लिटर डिजल खान्छ, धेरै बालुवा निकाल्छ ।'

सुनकोसी, तामाकोसी, दूधकोसी, इन्द्रावती, लिखु, अरुण र तमोरसमेत सातवटा नदीको संगम सप्तकोसी जहिल्यै विहारको दु:ख मानिन्छ । कारण, नेपाली भूभागबाट २ सय ६० किलोमिटरको यात्रा गरी गंगामा मिसिन पुग्दा कोसीले विहारका अररिया, सुपोल, सहरसा, पूणिर्या, कटिहार, खगडिया र भागलपुरलाई प्रभाव पार्छ ।

बढी पानी भएका बेला ब्यारेजमा जलस्तर नियन्त्रण गरिएन भने भारतीय गाउँहरू डुबानमा पर्छन् । ब्यारेजमा ५६ वटा ढोका छन् । भारतले बनाइदिएर उसकै प्राविधिक नियन्त्रणमा रहेको ब्यारेज स्थापनाकालदेखि नै पूर्वपश्चिम राजमार्गमा सप्तरी र सुनसरीलाई जोड्ने पुल रहेको छ । ब्यारेज कुनै दिन भत्कियो वा बग्यो भने तराईको सडक सम्पर्क फेरि जोड्न हम्मे पर्छ । यसको नियन्त्रण-मर्मत मात्र होइन ब्यारेजदेखि उत्तर ३२ किलोमिटरसम्ममा तटबन्ध मर्मतको काम पनि भारतीय परियोजनाको जिम्मामा छ । तीन वर्षअघि कुसाहामा तटबन्ध भत्किँदा नदीको बहावले दिशा फेरेको थियो । त्यसले नेपाली भूभागभन्दा धेरै असर सीमावर्ती विहारमा गरेको थियो ।

यसपटक धेरै बालुवा थुपि्रएकाले सानो भंगालो भएर हुने निकास प्रकाशपुर क्षेत्रनजिक अवरुद्ध थियो । कामदारले बताए, त्यसकै लागि कटर ड्रेजर झिकाएर काम भइरहेको हो । खानेपानी संस्थानले भण्डारण गर्न मूलबाट पानी ल्याउनेजस्ता ठूला पाइप जोडिएको त्यो यन्त्रले नदीको बालुवालाई झिक्दै तीव्र रूपमा पाइप हुँदै निश्चित गरिएको ठाउँमा थुपार्ने रहेछ ।

अनगिन्ती विविधता छन् । पहाडबाट वराह क्षेत्र आइपुगेर समथर भूभागमा पस्ने कोसीले धेरै ठाउँ बालुवा थुपारेर जमिनका भाग बीच-बीच छाडेको छ । यही छाडेमध्येको एउटा सानो टापुको यात्रामा निस्कँदा हामीलाई त्यहाँ मानव बसोवास छैन भन्ने हेक्का थियो । मान्छे नबसेकै कारण यहाँ प्रशस्त घाँस, काँस र झाडी-बुट्यान अनि केही सुकेर लडेका रूखका ठुटा थिए ।

धेरैले देखे सुनेको कोसीटप्पु वन्यजन्तु आरक्षको संरक्षित क्षेत्र सजिलै पुग्न सकिँदैन । कोसीका पूर्वी तटबन्धमा आरक्षको कार्यालय छ । छोटो समय लिएर घुम्न जानेहरू आरक्ष कार्यालयबाट तटबन्धसम्म पुग्छन् । किनारका काँसघारी, बयरका बुटा र बगरबाट छाल हेरेर फिर्छन् । छाल हेरेर धेरैपटक फिरेकाहरू समय मिलाएर भित्रसम्म पुग्ने योजना बनाउँछन् । करिब एक घन्टाको डुंगा यात्रापछि मात्रै आरक्षको मूल संरक्षित क्षेत्रमा पुग्न सकिन्छ । समयले साथ दिए भित्र गएका बेला यहाँ अर्ना भनिने जंगली भैंसी र चरा हेर्न सकिन्छ । स्वतन्त्र विचरण गर्ने पशुपन्छी मान्छेको उपस्थितिको आभाससम्मले लुक्छन्, भाग्छन् ।

मिौसम सफा थिएन । तर, पानी परेन । काँसघारी छिचोल्दा वर्षे जुकाहरू पर्खिरहेका रहेछन् । १५ मिनेट हिँडेपछि कटर ड्रेजरले थुपारेको बालुवाको सानो 'पहाड' देखियो । सुकेर लडेको सिसौमा अडिएर जीउभरिका जुका फालियो । टिपेर मिल्काउँदा त्यसले चुसेको भाग चिलायो र रगत आयो । निकैबेरमा चिलाउन थालेपछि थाहा भयो, कति जुका संवेदनशील ठाउँसम्मै पुगेछन् ।

'हामीले खोजेको ठाउँ यही हो, हाम्रो टोलीका अनिस तिम्सिना बोले, 'यहीँ छ इग्रेट कोलोनी ।' उनले भनेको ठाउँ बकुल्लाको वासस्थान थियो । त्यही चरो, जो पोखरी, जलाशय र नदी किनारमा माछा र पानीकीरा रुँगेर ध्यानी भएको देखिन्छ । अडिएको ठाउँबाट केही उत्तर हिँडेपछि थरीथरीका धेरै बकुल्ला देखिए । रूखभरि लटरम्म फल फलेजस्तो गुँड । गुँडैपिच्छे कुनैमा बचरा, केहीमा फूल । पानीमा आहार खोजे पनि बस्न शान्त र झ्याम्म परेको रूखबुट्यान खोज्ने बकुल्लोका यहाँ थरीथरी प्रजाति देखिए । टप्पुमा चरा हेर्न कोसी क्याम्प हुँदै आउने आगन्तुकलाई अनिस बाटो देखाउँछन् । फोटोपत्रकार साथी यात्रा थुलुङ, हिमालयन नेचरसम्बद्ध प्रकाशपुरका भाइहरू सुमन आचार्य र दिनेश घिमिरे साथ थिए । अनिसले यसपटक बकुल्लाका गुँड बढेको सुनाए, 'पोहोरभन्दा केही बढेको छ ।'

गित वर्ष रुप्पीको नयाँ प्रजाति ह्वाइट सोल्जर स्टारलिङ थपिएपछि कोसीटप्पुमा पाइएका चराका प्रजातिको संख्या ४ सय ९२ पुगेको छ । सबै चरा एकैसाथ एकैनाश सबै मौसम र स्थानमा देख्न सम्भव छैन । यस्तै यहाँ बकुल्लाका पनि सबै प्रजाति भने थिएनन् । बकुल्ला मात्रै मुलुकमा हालसम्म १३ थरीका पाइएको हेल्म फिल्ड्स गाइडको पुस्तकमा उल्लेख छ । बकुल्ला समुद्र सतहदेखि ३ हजार ५० मिटरसम्मको उचाइमा पाइन्छ । त्यसमाथि देखिँदैन । १ हजार मिटरसम्मका उचाइमा भने स्थान विशेषअनुसार सबैथरी बकुल्ला देख्न सकिन्छ ।

गाईवस्तुजस्ता चौपायाका अघिपछि हिँड्न मन पराउने, टाउकोमा केही पहेंलो भएको वस्तु बकुल्ला, सुनजस्तो छिर्केमिर्के रंग भएको पर्पल हेरोन भनिने ठूलो अग्लो ध्यानी बकुल्ला, इन्टरमिडिएट इग्रेट भनिने मझौला बकुल्ला थिए । यिनैमा रूपरंगमा सुन्दर ब्ल्याक क्राउन नाइट हेरोन भनिने बाँके बकुल्ला थिए । केही गुँडमा अण्डा छोपेर ओथारो बसेका, केही माछा ल्याई ओकल्दै बचरालाई खान दिदै गरेका, केही काग धपाउँदै र केही रमाउँदै उड्दै गरेका । कागले बकुल्लाका अण्डा र मसिना बचरा सिकार गर्ने रहेछ । त्यो पनि प्रकृतिप्रदत्त चरो । उसको चर्तिकला हेरिरहनबाहेक मान्छले गर्ने केही थिएन ।

बकुल्लाले हानि गर्दैन । तर, यसले गुँड लगाउने ठाउँहरू बिस्टाका कारण फोहोर हुन्छ । यहाँ त्यस्तै भेटियो । उनीहरूलाई बाधा थिएन । कोही कराउने, धपाउने नहुँदा जीउछाडा बनेका यी पन्छीका केही गुँड भुइँबाट दुई/तीन फिट मात्रैको उचाइमा पनि देखियो । यसले मसिना झिक्रा बटुलेर गुँड बनाउने रहेछ । छिट्टो गरी आफैं उड्न परे पँखेटाले लागेर कुनै बेला अण्डा, कुनै बेला बचरा तल झर्ने रहेछन् । तल झरेकालाई यसले बोकेर गुँड फिराउन सक्दैन । जति जसरी बाँच्छन् यही प्रकृतिको नियम हो । माऊहरू आहार लिएर आई गुँडमा ओकल्दा त्यसलाई आहार जानेर खाने बचरा नै बढ्ने रहेछन् । बकुल्लो घरपालुवा होइन । त्यसैले यो मान्छेको सम्पर्कमा बस्दैन । हाम्रो टोली देख्दा पनि बकुल्ला गाउँ सतर्क भयो । चार घन्टा बिताए पनि बकुल्ला गाउँको चहलपहल हेरिरहन मन अघाएन । एकतमासको आवाज, हल्ला र बचरा । कतै हाट भर्न पुगेजस्तो भान पर्ने ।

टिप्पुको चरा घटबढमा अद्यावधिक भइरहने चराविद् डा. हेमसागर बरालका अनुसार सन् १९९४ मा यो क्षेत्रमा २५ हजार ९३ गुँड थिए । सन् १९९६ मा १२ प्रजातिका २५ हजार ७ सय ३० गुँड भेटिए । यीमध्ये २१ हजार २ सय ५७ वटा गुँडमा बचरा थिए । त्यसपछि चराविद्हरूले गणना नियमित गर्न पाएका छैनन् । 'पहिले ठूलो कोलोनी थियो, कोसीले काट्यो, मौसम परिवर्तन र अर्थोकको असर भयो,' डा. बराल भन्छन्, 'अब फेरि यी ठाउँमा गुँड लगाउने क्रम बढ्दा चरा हेर्न रमाउनेहरू खुसी भएका छन् ।' 

(कान्तिपुर कोसेलीमा ०६८ असार ३२ गते प्रकाशित)

1 comment:

Deep Narayan said...

I enjoyed reading... its very informative !! best of luck for your conservation passion