टाटाका ट्रक होस् हजार बीसका लागुन् नयाँ टायर
भारी होस् दस या कि नौ टन मिलोस् बाटो सफा डामर साथी हुन् कविजी चलोस् सुकविता शृंगारको सागर
त्यो आनन्द सरी कहीँ अरू कुनै आनन्द के हुन्छ र ?
(रमेश खकुरेलको बिदाइ कवितासंग्रहबाट)
'राष्ट्रपति डाक्टर, प्रधानमन्त्री पनि डाक्टर भए, चिन्ता नमान्नु अब राष्ट्रको उपचार चाँडै हुन्छ' को १ ख १६६९ नम्बरको ट्रकको पुछारमा यस्तो लेखिएको छ । ट्रकका पछिपछि नजर दौडाउने एक दशकदेखिको सनकलाई जब पुस्तकाकार रूप दिइयो, उनले नसमेटेको एउटा अंशअंकित तस्बिर भेटियो । त्यही ट्रकको पुछारको । जसमा त्यसमा यस्तो पनि छ -
जय शिवशंकर भोला
हाम्रो नयाँ संविधान कस्तो होला
संघीय लोकतान्त्रिक गणतन्त्र
कसरी जोगाउने होला ।।
सबैलाई थाहा छ- मुलुक हाँक्ने मुख्य जिम्मेवारीमा दुई व्यक्ति डाक्टर हुँदैमा देशले सजिलै उपचार पाउने अवस्था छैन । तर, जनताले अपेक्षा राख्न पाउँछन् । राष्ट्रपति र प्रधानमन्त्रीमाथिका अपेक्षाका पंक्ति पनि लेखिए । 'ट्रक साहित्य : संकलित सिर्जनाहरू' पुस्तकका सम्पादक सुविद गुरागाइँ भन्छन्, 'त्यो ट्रक मैले धरानमा देखें, रगंरोगन चलिरहेको थियो । असोज १ देखि अहिले सडकमा कुदिरहेको होला ।' उनको संकलन सनकलाई फोटोग्राफीमा नवीन गड्तौलाले सघाएपछि यात्रा पुस्तकसम्म आइपुगेको हो । जोडी जता पुग्छ, ट्रकका पुछारमा लेखेका कुरामा नयाँपन के छ भन्दै खोज्छ । ट्रक, अनि त्यसमा लेखिएका शब्द लहर ।
हिमाल छ पहाड छ, विभिन्न ताल छ,
बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।।
दशकअघि ना४ख ६२९० नम्बरको ट्रकका पछाडि लेखिएका यी हरफले संकलनको जिज्ञासा फुरेको सुनाएका गुरागाइँ इटहरीमा रहेर शिक्षण र पत्रकारिता गर्छन् । केही वर्ष राजधानी बसेर पत्रकारिता गरेपछि घर फिरेर केही नयाँ गर्ने सोच राख्ने उनी सामान्य रिपोर्टिङको दिनचर्याभन्दा भिन्न गर्न रुचाउँछन् । पृथक् गर्न खोज्ने बानीले नै उनलाई धेरैपटक एक्लो बनाउँछ ।
सामान्य मान्छेका दिनचर्यादेखि माया-प्रीति, विरह, परिवार, समाज, आस्था, मोजमज्जा, ठट्टा, जिम्मेवारी, चिन्ता, दिक्दारी, महँगी, ट्राफिक नियम, सडकका जोखिम, देशप्रेम, राजनीति, पत्रकारिता, पर्यटन, सावधानी र जानकारी । गुरागाइँ भन्छन् 'मान्छेले देख्ने, भोग्ने, सोच्ने र बेहोर्ने धरै खालका भाव ट्रकमा भेटिन्छन् । जति खोज्दै गयो, त्यति रमाइलो रहेछ ।' उनले ना३ख ६०२४, बा २ ख ७४६५ र ना २ ख ७२६४ नम्बरका तीनवटा ट्रकमा एउटै सायरी भेट्टाए ।
उकाली होस् या ओराली होस्
बीचमा एउटा ससुराली होस्
गोरी होस् या काली होस्
ससुरालीमा एउटा साली होस् ।।
सामान ढुवानी गर्दै एक ठाउँबाट अर्को गन्तव्यका लागि हिँड्ने सवारी थरीथरीको बाटोमा यात्रा गर्छ । चालक, सहचालक, मिस्त्री र डेन्टिङ-पेन्टिङ गर्नेहरूका मानसिकता एकै खालका हुँदैनन् । उनीहरूका मुकाम र बाटामा रोकिने ठाउँ बसचालक र यात्रुभन्दा फरक छन् । स्टेरिङ, ब्रेक, बाटाका घुम्ती र यात्रारत जीवनका भोगाइ आफैंमा नौला छन् । ट्रक साहित्य तिनै भाषा बोल्छ । गुरागाईको पुस्तकमा ३ सय १५ वटा मुक्तक, कविता, सायरी, मननीय भनाइ र विभिन्न अभिव्यक्ति समेटिएका छन् । साथमा सवारीसँग सरोकार राख्ने चालक, पेन्टर र ट्राफिक प्रहरीका भनाइ आफ्नै पाराका छन् । वीरगन्जका पेन्टर सीताराम साहले भनेका छन्, 'म पढेको छैन, सायरी आउँदैन । तपाई जस्तो दिनुहुन्छ, म त्यस्तै लेखिदिन्छु ।' उनका भनाइमा सवारीका पछाडि लेख्नेहरू आफैंले आफ्ना भावना लेखेको भन्दैन । गाडी तयार पारेपछि साहुजी चालक र सहचालक खोज्छन् । अर्काको गाडीमा कर्मचारी भएर आएपछि यी दुईले सके थप्लान्, नसके जहाँ गाडीको डेन्टिङ-पेन्टिङ गरिन्छ, सर्जक अमूक हुन्छ । २०३० सालदेखि सवारीचालक रामहरि केसी अहिले १५ वर्षअघिबाट आफ्नै ट्रक कुदाउँछन् । उनले भनेका छन्, 'घर छाडेर बाहिर हिँड्दा अरूले भनेजस्तो रमाइलो हुँदैन । यो लाइनमा हिँड्नेहरू सबै ठीक छन् भन्न सकिन्न । कतिको गाडी कुदाउने चाल ठीक हुँदैन, कसैको बोलीवचन मीठो हुँदैन । तर, सबै खराब हुन्छन् भन्ने होइन ।'
कवि कृष्णभूषण वलका विचारमा ट्रकमा भेटिने शब्दजाल साहित्यमा नयाँ स्वाद हुन् । भन्छन्, 'कसले लेख्छ भन्ने थाहा हुँदैन । तर, धेरैमा मन छुने सामयिकताका लेखाइ भेटिन्छन् ।' कलाकार विक्रम श्रीका भनाइमा ट्रकमा मुक्तक र सायरी मात्र होइन कलाको पुरातन इतिहास नै भेटिन्छ । यसका उपयोग गरिने रंग र चित्रले विभिन्न समय र भावलाई बोल्छ । कवि मनु मञ्जिल भन्छन्, 'ट्रक साहित्यमा समेटिएका भावहरूमा जीवनका विविधता छन् ।' उनको भनाइमा कतै महाकवि लक्ष्मीप्रसाद देवकोटा त कतै भूपी शेरचनका शब्द पनि पैंचो लिइएका भेटिन्छन् । चिन्नेहरूले फलानोका कविता अंश भनिदेलान् तर, धेरै मालबाहकका पछिल्तिर ना४ख २५८२ र ना४ख ४८३६ मा लेखिएजस्तो सुर भेटिन्छ ।
बिन्दास गाडी बिन्दास टुर
लभ्ली ड्राइभर आफ्नै सुर ।।(२०६८ कात्तिक ५ शनिवार/कान्तिपुर कोसेली पृष्ठ घ)
No comments:
Post a Comment