Monday, October 24, 2011

साहित्य, संगीत र चित्र



'भूगोलका सीमा रेखाहरूले मात्रै मुलुक सिंगो हुने होइन । सिंगो हुनका लागि जनताका विविधतायुक्त मन जोडिनुपर्छ । एक-अर्काका संस्कृतिको प्रवर्द्धन र भावनाको सम्मान गरिनुपर्छ ।' साहित्यमा पनि उत्तिकै दख्खल छवि बनाएका पूर्व मुख्यसचिव डा. विमल कोइरालाले यस्तो भनिरहँदा सभाहल तालीले गुञ्जायमान भयो । 'राष्ट्र बलियो हुन कला, संस्कृति र भाषासाहित्य बलियो हुनुपर्छ । राजनीतिले ल्याएको विभाजनलाई साहित्यले जोड्नुपर्छ,' उनी भन्दै थिए, 'अहिले हामी त्यही अभियानमा छौं ।'
नेपाली कला साहित्य डटकम प्रतिष्ठान र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको 'मेरो राष्ट्र मेरो ध्येयः सिर्जना उत्सव' का लागि भेला भएका साहित्य पारखीले एक पटक विराटनगर फेरि सिर्जनामय अनुभव गरे । कार्यक्रमको भिन्न विशेषता के थियो भने साहित्यिक जमघटमा सांगीतिक सिर्जनाको प्रस्तुति र चित्र प्रदर्शनी एकसाथ भइरहेको थियो । साहित्य, संगीत र चित्रकलालाई एकसाथ अघि बढाउने अभियान अन्तर्गत सिर्जना उत्सव गरिएको थियो, सुकर्म ब्यान्डले 'मेरा राष्ट्र मेरो ध्येय' शीर्षकमा हालै कम्पोज क्लासिकल धुनसँगै तीनवटा अरू सेमी क्लासिकल धुनहरू पस्किए । डा. ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबाट निस्केको सांगीतिक सिर्जना विराटनगरबासीका लागि भिन्न स्वाद थियो । 
'अब तिहारलाई पनि जोडौं है,' झन्डै ४५ मिनेटको प्रस्तुतिमा ध्रुवेशले 'देउसी-भैली' धुनका लागि श्याम र प्रमोदलाई आँखाले संकेत गरेपछि कार्यक्रम हलमा झन् खुसीको तरंग फैलियो । यसपछि गुन्जिएको 'देउसी रे...' र 'तिहारै आयो लौ झिलिमिली...'लाई दर्शकले खुलेर साथ दिए । कार्यक्रमको अर्को आकर्षण थियो कवि कृष्णभूषण बल । यस वर्षको योगेश्वर कलासाहित्य पुरस्कार ग्रहणका लागि स्टेज उक्लेका उनले 'नदी किनारको जून' शीर्षकको कविता पनि सुनाए । कवि-गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश अधिकारीबाट १५ हजार रुपैयाँ सहितको पुरस्कार थापेपछि बलले नै कविता वाचन शृंखला उद्घाटन गरेका थिए, उनलाई पछ्याउँदै उषा शेरचन, डा. विमल कोइराला, धीरेन्द्र प्रेमर्षि, विमल वैद्य, सुदीप पाखि्रन, ठाकुर बेलबासे, चंकी श्रेष्ठ, राधिका गुरागाईं, मणि लोहनी, नवराज सुब्बा, अरुणा वैद्य, रिता खत्री, कविराज पोखरेल, बद्री पलिखे, गण्डकी पुत्र, मीनकुमार नवोदित, मधु पोखरेल, शुभलक्ष्मी लम्साल, शिवनारायण पण्डित, दीपक शम्चु, पुनम अधिकारी, कोरियाली कवि किम यिङ लगायतले कविता सुनाए ।  
  पुनम, दीपक र शिवनारायण गत साता विराटनगरमै आयोजित प्रतियोगितात्मक कविता गोष्ठीमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए, सिर्जना उत्सवकै अवसर पारेर उनीहरूले पनि पुरस्कार थापे । भाषाशास्त्री बालकृष्ण पोखरेलको समेत आतिथ्य रहेको कार्यक्रमको तेस्रो आकर्षण थियो, भित्तामा सजिएका चित्रहरू । 'चरा चित्र' मा स्थापित छवि बनाएका जीवनाथ पोखरेलका चित्रहरू साँच्चिकै लोभलाग्दा थिए । उनले सीमसार क्षेत्रका चरा र दृश्यलाई क्यानभासमा उतारेका थिए, कविता सुनिरहँदा दर्शकहरू बारम्बार उनका चित्रतिर नजर डुलाउँथे । वाचित कवितामाथि समालोचक डा. ज्ञानु पाण्डेले र कृष्णभूषणको व्यक्तित्व र कृतित्वमाथि डा. कुमार कोइरालाले बोलेका थिए । आयोजक दुई संस्थाका अध्यक्षहरू मोमिला र विवश पोखरेल चाहिँ व्यवस्थापनको चुस्ततामै केन्दि्रत थिए । निर्धारित ६ घन्टामै सकिएको कार्यक्रमले 'चित्र, साहित्य र संगीत'लाई एउटै थलोमा उभ्याएर 'राष्ट्र र राष्ट्रियता'को पक्षमा चेतना निर्माण गर्न सघाएको मोमिलाले दाबी गरिन्, विवशले चाहिँ पहिलो पटक भिन्न स्वादको कार्यक्रम आफ्नो थलोमा गर्न पाउँदा खुसी प्रकट गरे ।
(कान्तिपुर/कला र शैली पृष्ठमा ०६८ कात्तिक ०७ सोमबार प्रकाशित )

No comments: