यो जीवन अल्झीदै जानेछ, व्यथाहरु बल्झीदै जानेछ
भीडहरु भैकन यहाँ एक्लै एक्लै हिड्नेहरु,
साथहरु भेटिदै जानेछ सपना पुरा हुनेछ ।
कलेज लाइफमा एकपल्ट कवि भइदिनु कसका लागि नौलो होला । कुनै समय थियो जसलाई मैले आफैलाई सान्त्वना दिन गीत लेख्ने प्रयास गरेको थिए । उपरोक्त पंक्ति तिनै २१ वर्षअघिका लेखोटका अंश हुन् । यसका मुखडा मनभरि एउटा लयमा फिरन्ते बनिरहन्छ । लण्डनमा पढ्न बसेको मेरो एउटा आफन्त भाइले गत मार्च २० तारिख मृत्यु रोज्यो । मैले त्यो घटना बारे यसअघि पनि
लेखिसकेको छु ।
उ धेरैपटक अनलाइन भेटिन्थ्यो । फेसबुकमा तस्बिरहरु ट्याग गरेर प्रतिक्रिया मागिरहन्थ्यो । केहीमा लेख्थें, केहीका ट्याग म रिमुभ गरिरहन्थे । च्याटमा भिजिबल बस्न छाड्नुका कारण ऊजस्ता झण्डै आधा दर्जन आफन्त र साथीहरू हुन् । जसले अनलाइन देख्यो कि बोलाउथे, अनि व्यक्तिगत, पारिवारिकहुँदै देशको राजनीतिक हालखबर सोध्थे/सोध्छन् । जवाफ नदिए आफूलाई के सोच्लान् भन्ने अप्ठ्यारो, जवाफ दिदै गए समय खेर जानुका साथै मुड अन्तै गएर आफ्ना दैनिक काममा असर पर्ने पिरलो । अनलाइन बस्न छाडेपनि फेसबुके सन्देश बाकसहुँदै आग्रह, आदेश र गुनासा आउजाउ गरिरहन्थे । सुवास (फेसबुक नेम भण्डारीजी) ले आत्महत्या गरेपछि धेरै अफलाइन बस्दा आफैले गल्ति पो गरिएछ कि भन्ने भइरहेको छ ।
सुवास अनलाइन अब भेटिदैन । म जति 'अनलाइन' बसेपनि अब सदाका लागि उ 'अफलाइन' भयो भन्ने थाहा छ । तैपनि बेला बेला मन एकाहोरिन्छ । आत्महत्याको सोच आउनेहरुलाई सहारा चाहिन्छ । अन्तरंग कुरा गर्ने विश्वासिलो साथ चाहिन्छ । कुनै शारीरिक विकार छैन । शरीरका सबै अंग सद्दे छन् । पढालेखा र करिअरप्रति सचेत मान्छेहरू । छदाखादाको जीवनलाई किन मान्छे अनाहकमा त्याग्छन् - यो प्रश्न भिन्न परिस्थितिहरूमा आफैमा जटिल छ । इच्छा भयो 'यस्ताको खोजी गरौ, जसलाई आशले ज्यूदो राखेको छ । सपांग र सजिला अपांगभन्दा भिन्न जीवन बाँचेर पनि जो आफन्तका बीच छन् । उनीहरूलाई आत्महत्याका सपना देख्न बन्देज भएजस्तो ।' असजिला शारीरिक अवस्थामा पनि उनीहरूको मुहारमा मुस्कान छ । नियतिका क्रुरतालाई सामान्य ठानेर बाँचेका छन् । साँच्चै त्यस्ता मान्छेहरू के गर्दैछन् ? मलाई अफिसबाट बाहिर निस्कन मन लाग्यो । गाउँ गएर त्यस्ता घर चिहाउन मन लाग्यो । म विराटनगरबाट बाहिर एक्लै बाइकमा निस्किएँ । अनि यो यात्रा एक साता चल्यो । यो अवधिमा मैले भेटेका मान्छेहरूका कथा फरक थिए ।
०००
मोरङको रंगेली-८ को आमतोला चोकमा झुप्राको सानो पसल । दाउरे चुलोको धुआँले आगन्तुकका आँखा पोल्छन् । छेवैमा बसेको भुसतीघ्रे देखिने किशोरलाई भने कुनै फरक पारेको छैन । उसलाई आगन्तुकप्रति पनि कुनै चासो छैन । 'किन यस्तो, यो भाइ को हो ?' मेरो सोधाइमा पसलेले भने 'मेरो छोरा हो । यो यस्तै छ । आफै केही गर्न सक्दैन ।'
पसले नारायण मण्डलका १४ वर्षे छोरा सुरज सामान्य किशोरहरुभन्दा केही फरक रहेछन् । शरिर आफै अड्याउन, हातगोडा सजिलै चलाउन नसक्ने । उभ्याइदिए उनलाई कतै अडेस लाग्नैपर्ने । 'हामी गाउँलेको घर, पहिलो सन्तान छोरो जन्म्यो, खुशीको सीमै थिएन,' मण्डलले सुनाए 'तर, बच्चा रोएन । एक हप्तासम्म आमाको दूध पनि चुसेन ।' त्यसपछि लगातार उपचारका लागि भौतारिएका उनको दौडाहा एक दशकभन्दा बढि चल्यो । अहिले दुइ वर्षयता कतै पनि जान छाडेका रहेछन् । बोल्दा-बोल्दै आँखा रसाए, भक्कानिए 'हामी आमा-बाउको सास रहुञ्जेल होला । पछि यसलाई कसले हेर्छ भन्ने चिन्ता लाग्छ ।' सुरजका साना भइ र बैनी त्यस्ता छैनन् । तर, उनीहरू दाजुलाई औधी माया गर्छन् ।
घरनजिकै स्कुल छ । अहिले सुरज ह्वील चियरमा बसेर स्कुल जान मन पराउँछन् । यद्यपि समान्यसरह पढ्न सक्ने अवस्थामा छैनन् । बोली स्पष्ट छैन । आमा-बुवा र भाइबैनी बुझाउनेबाहेक थोरैबाहेक शब्द उच्चारण उनीबाट हुँदैन । तस्बिर लिन खोज्दा पसलमा राखेको भुसको एउटा बोरा लड्यो । सुरज जोडसँग हाँसे । उनको मुन्टो थोरै बाँया बटारिएझै देखियो ।
०००
सोराभाग गाविस-९ मा इँटाभट्टाछेउको सानो झुप्रो बस्ती । ग्वालीजस्ता लाग्ने छाप्रोभित्र एउटा युवक डोरीको खाटमा डल्लो परेर बसेका छन् । छेवैमा भुइमा केश सेतै भएकी बृद्धा छिन् । थोरै कुराकानीपछि तस्बिर खिचिदिँदा मुहारमा मुस्कान दौडियो, जोडले हाँसे । टाउको र हातगोडा अझ बटारिए झैं देखियो । यी २४ वर्षका महेन्द्र कर्मकार लोहार रहेछन् । बृद्धा उनकी आमा बिन्दा ।
'के गर्नु यो यस्तै छ, यसलाई यसरी नै राख्छु, उनले भनिन् 'आमा हुँ नि । यसलाई दिशापिसाप आएको थाहा पाउछु । ढिलो भए फोहोर पारिहाल्छ ।' २ कक्षामा पढ्दै गर्दा एक दिन महेन्द्रले स्कुलबाट फर्केर 'टाउको दुख्यो' भने । विरामी परे । औषधि खुवाइयो । उनले भुँडी पनि दुख्यो भने । धामीझाक्रीका झारफुकबाट सुरु गरिएको उपचारले सञ्चो गरेन । डाक्टरी उपचारका लागि रंगेली लगियो । घर फर्किएपछि उनको जीउ बटारिए झै भयो । अघिल्लो दिनसम्म दौडदै र बोल्दै गरेका उनी अझ असक्त भए । विराटनगर लगियो । 'अस्पतालमा यसलाई सेतो मच्छडले टोकेको छ भन्थ्यो, त्यसपछिदेखि यो यस्तै छ । यसलाई मैले नै हेर्दै आएकी छु', बिन्दाले भनिन्
'बोल्न सक्दैन, केही आफै गर्न सक्दैन ।' महेन्द्रका पिता ट्युवेल गाड्ने काम गर्छन् । घरमा माता-पिता, भाइ र बुहारी छन् । सबैले भ्याएसम्म उनको ध्यान राखेका छन् । आमा भन्छिन् 'कहिलेसम्म हो थाहा छैन । तर, हाम्रो जीउ रहेसम्म त यसको ख्याल गर्नैपर्यो ।' बिन्दाले महेन्द्रको परिचय कार्ड देखाइन । रातो कार्ड दिइएका उनले मासिक अपांग भत्ता पाउने रहेछन् ।
सोराभाग गाविसकै कर्सियाको चोकबाट करीव डेढ किलोमिटर उत्तर पुगियो । एउटा घरमा महेन्द्रभन्दा केही फरक युवक गोठमा डल्लो परेझै टुक्रुक्क बसेका थिए । देखिने १४ वर्षे गोवर्धन कर्मकार भात खाइरहेका भेटिए । आँगनमा धानको बिस्कुन थियो । त्यो बिस्कुन खान आउने चरा तर्साउन एउटा डालोलाई सानो छडीको टेको लगाइएको थियो । छडी बाधेको डोरीको एउटा फेर गोवर्धनले च्यापेर बसेका थिए । मैले उनका अभिभावकको खोजी गरेँ । उनीहरू निकै पर खेतमा मुसुरो उखेल्ने धमाधममा थिए । घरबाट निस्किएर खेतमा पुगेपछि मैले कुरा गर्न चाहें । 'यसलाई बेला-बेला मिर्गी (छारे रोग) ले भेट्छ, त्यो बेला बेहोस हुन्छ,' पिता लालचन्दले भने, 'हेर्न ढिला भो भने गु-मुत एकै ठाउँ । कति हेर्ने, कहिलेसम्म हेर्ने, बडो पीर लाग्छ ।' महेन्द्रका बोरमा नारायणले बताएका थिए । अनि गोवर्धनका बारेमा उनकै दिदीले । महेन्द्रको घरमा कुरा गरेपछि छिमेकमा बस्ने दिदीले आफ्नो भाइका अवस्था र भेटिने ठेगाना बताएपछि म खोज्दै त्यहाँ पुगेको थिएँ ।
०००
तीन जनालाई भेटेपछि उनीहरूका लागि काम गर्नेको बारेमा जान्न मन लाग्यो । उनीहरूका परिवारले नै विराटनगरको सिंघिया खोला किनारमा अवस्थित समुदायमा आधारीत पुनस्थापना (सीबीआर) नामक संस्थाका बारेमा जानकारी दिएका थिए ।
दोस्रो दिन म सीबीआर पुगें । त्यो संस्थाले एक दशकदेखि यस्ता बालबालिकाका लागि काम गरिरहेको रहेछ । त्यहाँ कृत्रिम हातखुट्टा बनाउने काममा सक्रिय लव कोइराला भेटिए । 'तपाइले भेट्दै हिड्नु भएको केसलाई हामी मस्तिष्क पक्षघात भन्छौ,छोटकारीमा सीपी,' उनले भने, 'अपांगतामा यो सबैभन्दा जटिल अवस्था हो । परिवारले हेरेन भने त्यस्ता बच्चा बाँच्न कठीन हुन्छ ।' सन् २०१० र ११ का दुइ वर्षमा सीबीआरका सम्पर्कमा आएका मस्तिष्क पक्षघात पीडितको संख्या ५ सय ३६ रहेको तथ्यांक कोइरालाले दिए । यिनमा १९७ जना छोरीहरु र अन्य छोराहरू रहेछन् ।
कोइरालाले विराटनगर-५ जामुनगाछीको एउटा घरमा पुर्याए । ह्वील चियरमा बसेका २८ वर्षे रवि तुलाधर फेसबुक र ट्वीटर खोलेर चलाइरहेका थिए । एउटा हातको भर । खुशी भए वा केही बोल्न परे उनको मुन्टो धेरैपटक भट्का दिएजसरी बाँया फन्को मार्न खोज्थ्यो । एउटा साँझ भएको भेटले रविलाई मेरो फेसबुके साथी बनाउन पाएँ ।
'हामीले धेरै प्रयास गर्यौ उपचारका लागि,' रविका पिता जंगमानले भने, 'अहिले यो यतिसम्म भएको छ । काम चल्ने गरि आफ्ना कुरा बताउन सक्छ ।' पेशाले बिजुलीका सामानका मिस्त्री जंगमान र श्रीमति सूनीताले छोरालाई रुचीअनुसारको वातावरण दिने प्रयास गरेका रहेछन् । कम्प्युटर घरमा आएपछि सिकेका रविलाई भाइ-बैनीले सघाए । वर्डप्रेसमा ब्लग पनि बनाएर लेख्ने-खेल्ने प्रयास थालेका उनलाई तस्बिर संग्रह, फोटोसपबाट रंगहरुको मिश्रण गर्न रुची लाग्दो रहेछ । सीबीआरको अर्थो वर्कसपका इन्चार्ज कोइरालाले भने 'मस्तिष्क पक्षघातका धेरै नाजुक अवस्थामध्ये रविको केस हामी धेरै प्रगति भएकोमध्ये मान्छौ ।' उनका अनुसार रवि यस्ता केसमा प्रगति भएका नमूनामध्येका हुन् । उनको मुहार हँसिलो छ । उनी रमाइला रहेछन् ।
०००
अपांगका हितमा खोलिएका संस्थामा सीपी भएका बालबालिकाका बारेमा केही जानकारी हुन सक्छ भन्ने लागेर म अपांग राष्ट्रिय महासंघको विराटनगर जनपथटोलस्थित अफिसमा पुगे । त्यहाँ भेटिएकाहरूले सीपीमात्रै छुट्याएर तथ्यांक अद्यावधिक नभएको बताए । बरु धेरै जानकारी नजिकबाट दिनसक्ने एक जनाको मोबाइल उनीहरूले मलाइ दिए ।
फोन गर्दा गीता खवासले भनिन् 'पिचरा आउनुस् । अनि भेट होला ।' मोरङको नेमुवाकी खवास मस्तिष्क पक्षघातका पीडितलाई फिजियोथेरापी गराउने गर्दीरहिछन् । उनले गराउने विशेष प्रकार व्यायामले त्यस्ता बालबालिकालाई सुधार भइरहेका उदाहरणहरू छन् । मैले खवासलाई भेटेर त्यो दिनभरि उनी जाने केही घरहरूमा पुगें । र, थेरापी हेरें । अनि अभिभावकहरूसग कुरा गरें ।
पाँच वर्षदेखि यो काममा खटिरहेकी खवासका सम्पर्कमा उपमहानगरभित्र र हातिमुडा र नेमुवा गाविसमा गरि ६५ जना त्यस्ता बालबालिका रहेछन् । विराटनगरको बसपार्कछेउ डेरा बस्ने खोटाङ चिसापानीका राजन र गीता बस्नेतका चार वर्षीय पुत्र सीजन, पिचरा बस्ने संखुवासभा खादवारी-९ का विष्णु र सीता चौहानकी चार वर्षीया मेलिना र बसपार्कछेउका गणेश-कमला थापाका एक्ला १८ वर्षे छोरा रोजेशसँगै पिचरामा शान्ती महत्तोकी १५ वर्षीया छोरी संगीतालाई एकै दिन भेटियो । यिनमा सबैको कथा सुधारोन्मुख अवस्था अनि अभिभावकका प्रयास र मायासँग जोडिएका रहेछन् । बैशाखीमा आउजाउ गर्ने संगीता बोल्न सक्छिन् । लेख्न पनि सक्छिन् । स्थानीय बालकल्याण बिद्या मन्दिरमा ६ कक्षामा पढ्छिन् । ह्वीलचियरको सहारामा रहेका रोजेश बोल्छन् तर, बिद्यालय जान पाएका छैनन् । उनका अभिभावक स्कुल पठाउन चाहन्छन् । अपांग महासंघको काम गर्राईमा सन्तुष्टी रहेनछ ।
त्यस्ता केटाकेटीलाई फिजियोथेरापी गराउने तालिम पाएकी खवासले आफू ललितपुरको धापाखेलस्थित सीपी सेन्टरका लागि काम गर्ने गरेको बताइन । कुनै समय सीबीआरमै काम गरेकी उनले सीपी सेन्टर ज्वाइन गरेकी रहछिन् । खवास भन्छिन् 'बुझेका आमा-बाउले नानीहरुको अवस्था सुधार्न प्रयास गरेका छन् । गाउँमा चाहि बिजोक भेटिन्छ ।' अपांगताको परिचयपत्र र भत्ताबाहेक यस्ता नानीहरुका लागि सरकारीतवरको विकल्प छैन । 'सीपीका धेरै स्टेजमध्ये सुधार गर्न सकिने अवस्था पनि हुन्छन्,' उनले भनिन् 'धेरै परिवारमा मेरो बच्चाको कस्तो अवस्था हो, के गर्नुपर्छ भन्ने जानकारी नभएको म भेट्छु ।' परिवारका सदस्य एउटा यो समस्याबाट पीडित हुँदा अन्यलाई मनोबैज्ञानिक उपचार चाहिएका अवस्था पनि भेटिने उनको अनुभव छ । सीपीका पाँच अवस्थामध्ये कोमा पनि एउटा रहेछ । कोमामा गएकाहरू हलचल गर्दैनन् । बोल्दैनन् । कुनै पनि प्रतिक्रिया दिदैनन् । तर, ती बाहेकका चार अवस्थामा बालबालिका बोल्ने भएपनि नबुझिने, सञ्चार संवाद असजिलो ।
खवास र कोइरालाले मलाई डा. ममता वर्मा भेट्न सुझाव दिए । उनले सीबीआर सञ्चालनमा निरन्तर सहयोग गरेकी रहछिन् । आफू महिलाको प्रसुतीसम्बन्धी केसहरू हेर्ने भएपनि उनलाई मस्तिष्क पक्षघातबारेमा धेरै जानकारी रहेछ ।
ललितपुरको सीपी सेन्टरलाई पनि उनले सहयोग गरेको कुरा थाहा भयो । त्यस्ता पीडितका लागि विराटनगरमा सेवा केन्द्र खोल्ने तरखर पनि सुरु भएको उनीसँगको भेटपछि थाहा भयो । त्यसका लागि कोठा डा. बर्माले नै उपलब्ध गराउन लागेकी रहिछन् । डा. वर्माले भनिन् 'यस्तो केस एक हजार बर्थमा २/३ वटा हुन्छ । गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच, पोषिला खानेकुरा अनि बच्चालाई रोग प्रतिरोधक खोपहरु दिनु जरुरी छ भन्ने बुझे यो टर्न सक्छ ।' कुनै खास कारणले दिमागका आदेश शरीरका अंगहरूले मान्न नसक्ने अवस्थालाई नै यो पक्षघातको स्वरुप हुने उनले बताइन । 'यो भएपछि रिकभरीको चान्स अवस्था हेरेर हुन्छ,' उनले भनिन् 'धेरै बच्चाहरुले बेलैमा उपचार र फिजियोथेरापी पाएपछि सुधार भएका उदाहरण पनि छन् ।'
डा. वर्माका पति डा. नारायण कुमारले पनि यस्ता केसबारे प्रष्ट पारे । मस्तिष्क पक्षघात एउटा जटिल अवस्था भएपनि यो कसरी हुन्छ भन्नेमा उनीहरूका कुराले म प्रष्ट हुन सकिन । जन्मदै हुने यी विकार हुर्कदै गएर कुनै खास प्रकारका घटनाका कारण पनि हुन सक्ने रहेछ । तर, धेरै यसरी जटिल अवस्थामा पनि बाचेर जीवनको सपना साँचेका छन् ।
यी सबै भेट र कुराकानीपछि कान्तिपुर कोसेलीका लागि मैले लेखेको '
जीवन अल्झाउने आशा' गत शनिवार प्रकाशित पनि भएको छ । माथि उल्लेखति कुराका धेरै अंश मेरो कोसेलीको लेखोटमा छ । पत्रिकामा ब्लग जसरी लेख्न मिल्दैन । विषयका अवस्था हेरेर दैनिकी पठाउन पनि मिल्दैन । मैले अवस्थाका जटिलतालाई शब्दमा धेरै खिप्न सकिन भन्ने लागेको छ । छापिएपछि गुगलमा खोज्दा त्यस्ता उदाहरण धेरै रहेछन् । मेरो लेखाइमा यसमा देशभरका अवस्था समेटिन पाएको छैन । अझ धेरै ठाउँ घुमेर लेखोट तयार पार्न सकिन्थ्यो । त्यसो गरिएन । एउटा ठाउँबाट आएका उदाहरण अन्य ठाउका मजस्ता सञ्चारकर्मी साथीका लागि पनि विषय बन्न सक्लान् भन्न लागेको छ । प्रकाशित लेखोट पढेपछि केही मान्छेबाट इमेल, फोन र एसएमएसबाट प्रतिक्रिया पाएको छु । यस्ता कुरा पनि पठनीय हुने रहेछन् भन्ने ज्ञान मिलेको छ । नाजुक अवस्थामा पनि आखाहरूले जीवनको सपना देखिरहेका उदाहरण छन् । अनाहकमा आत्महत्या गर्नेहरूलाई घटना गराइहाल्ने सोच आउँदा त्यस्ता घरमा चिहाएर हेरे हुन्थ्यो जस्तो लागेको छ । सबैथोक भएर पनि सन्तुष्टहरू भेटिदैनन् । उनीहरूले महेन्द्र, सुरज र गोवर्धनजस्ताको घर पुगेर हेरे हुने रहेछ ।