आज मंगलवार ३ भदौ २०७० । माथिको तस्विर छापिएको टुक्रो आजको कान्तिपुर दैनिकको पूर्वाञ्चल पाताबाट साभार हो । पत्रकारिता पेशाको १६ वर्षमा मेरो ४/५ वर्ष मोरङ बाहिर बित्यो । ती बेला यसरी रथयात्रा हेर्न पाइएन ।
अौध्योगिक नगरी भनिने विराटनगरमा राधाकृष्ण रथयात्रा मात्रै यस्तो पर्व हो, जसलाई हेर्न टाढा टाढाबाट मान्छेका भीड जुट्छ । सामान्यत जोसुकै हिन्दुले राधाकृष्ण पुजेपनि कृष्ण प्रणामीका लागि पूजा अलि विशेष छ । तर, यो रथयात्रालाई उपमहानगरले आफ्नो गौरव बनाएको छ ।
विराटनगर छाडेकाहरुले यो दिन सम्झन्छन् । यहाँको होली र लक्ष्मीपूजा सम्झन्छन् । राजनीतिका ढुसी परेका इतिहास अोल्टाइ पल्टाइ केलाउने जमातले महत्व दिने कुरो होइन यहाँका पर्व । रथयात्रा आफैमा अनुपम छ भन्ने हेर्नेले बढी नजिकबाट बुझ्छन् ।
साता दस दिनअघिदेखिको तयारी । नगरका चोक चोकमा पानी र सर्बत बाँड्नेको होड । थरि थरिका झाँकी । लोकनाचका टोलीको आआफ्नो ताल र प्रस्तुती । सडक छेउछाउ आइपुग्ने जुलेबी, समोसा र छोलाका पसल । आफैंमा अनुपम लाग्छ यो पर्व ।
सञ्चारकर्मको मेलो सुरू गरेपछि आम दर्शक हुन पाइने स्वतन्त्रता गुम्यो । रथयात्रा कुनै चोक वा घरको माथिल्लो तलामा बसेर हेरिन्थ्यो । अब रथकै अघिपछि कुदिन्छ । अनि फोटो कताबाट राम्रो आउला भन्ने ध्यान हुन्छ ।
रथ बनाएर नगर घुमाउन थालेको यो पल्ट ४७ वर्ष पुगेछ । मैले रथयात्राका बारेमा लेखेर छापिएको सामाग्री यो ब्लगमा यसअघि पनि राखेको छु । यो विराटनगर पर्वलाई आफैंले काम गर्ने पत्रिकामा भने मैले कहिल्यै सन्तोक हुने कभरेज दिलाउन नसकेको जस्तो लाग्छ । पोखरियाको मन्दिरबाट रथ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट साँझ ४ बजे निस्कन्छ । ४२ स्थानमा छोटो छोटो स्टोपेजपछि साँढे ७ किलोमिटरको परिक्रमा बेलुकी करिब ८ बजे समापन हुन्छ ।
यसको कभरेजमा धेरै तनाव हुन्छ । धेरै भीड । कताबाट फोटो राम्रो बन्छ । यात्रा समापन नहुञ्जेल कुनै अप्रिय घटना हुने हो की ! अफिस आएर फोटो कम्प्युटरमा सार्दा त्यो बेला लखतरान परिएको हुन्छ । तैपनि काम गरिन्छ । बिहान अखबार हेर्दा छापिएको हुँदैन । एकपल्ट नछापिएपछि क्रुद्ध पाठकहरूले काठमाडौं फोन गरेछन् । पर्सिपल्ट श्यामश्वेत पेजमा छापिएर गाल टरेको थियो ।
धेरैले बुझ्दैनन् । अखबारको सम्पादन डेस्कका कुरा । संवाददाताले नै काम नगरेको भन्ठान्छन् । हामी काठमाडौंका पर्व र जात्रा प्रमुखतासाथ छापिएको हेर्दै पढ्दै आएका छौं । निर्णायक ठाउँमा काठमाडौंका मुल रैथाने छैनन् । त्यसैले उनीहरूले आफ्नो पर्व जात्रा छाडेर अन्य ठाउँका पाखा लाउँछन् भन्न मिल्दैन । तैपनि बुझाइ कहाँनेर नमिलेको हो भन्ने अनौठो लाग्छ ।
कान्तिपुरमै छँदा एकपल्ट चन्द्र दाइ (चन्द्रशेखर कार्की) रथयात्राकै बेला विराटनगर आएका थिए । मैले 'म त हैरान छु, यत्रो ठूलो जस्तो लाग्ने यात्राको फोटोले पत्रिकामा ठाउँ पाउँदैन । लु तपाइ खिच्नुस् । आयो भने मेरा लागि गाल टर्छ' भनेको थिएँ । त्यो बेला पनि फोटो छापिएन । त्यसपछि मलाइ आफूले खिचेको नछापिँदा पनि नमज्जा लाग्न छाड्यो । अब स्थिति सामान्यीकरण भएको अवस्था छ । छापे छाप्छन् । नछापे जे होला होला जस्तो लाग्छ । काठमाडौंमा यस्तै केही भए हामीले कत्रो कभरेज हेर्नु पर्छ । मधेस आन्दोलनको सन्दर्भ पनि केही यस्तै लाग्छ बेला बेला । खाल्डो बाहिर हामी जे देख्छौ, भोग्छौं त्यो हाम्रा लागि मात्रै ठूला कुरा हुन् । जे हुनु छ त्यो खाल्डोमै हुनुपर्छ ।
पत्रिका त पत्रिका नै हुन्, उनीहरूले समाचारको तौललाई नापजोख गर्छन् । मुलुकभरका दिमागमा दिनुपर्ने तौलको आकार निर्धारण गरिदिन्छन् । अनलाइनहरू पनि उस्तै रोगले ग्रसित छन् । नेतालाई हाच्छ्युँ आए फ्ल्यास न्युज चल्छ ।
पछिल्ला केही वर्षयता क्षेत्रीय पृष्ठमा रथयात्राका तस्बिर छापिन्छन् । यसरी छापिन पनि हामीले दिउँसै 'विराटनगरको धेरै मान्छे भेला हुने जात्रा हो है' भन्नै पर्छ । भनिन्छ पनि । तैपनि कता कता नमज्जा लाग्छ । नमिठा खबरमा आधारीत कुरो मात्रै बिकाउ हुने हुन् की ! तिनले मात्रै प्रमुखता पाउनु पर्ने हो की ! छनोटको तरिका हेरेर छक्क लाग्छ ।
यसको कभरेजको तरिका बुझिएन की, यसलाई हुनुपर्नेभन्दा बढी महत्व दिएर बसिएको छ की, न्युज भ्यालु कम्ती भएको कुरो परो कि वा काठमाडौं केन्द्रित हेराइको दोष हो ? रनभुल्ल परिन्छ । तैपनि काम गरिन्छ । गरिएको छ ।