Saturday, February 20, 2016

सकारात्मक सोचको शक्ति

मान्छेमा हुने गुणका प्रकारबारे मनोविज्ञान भन्छ- जन्मजात र अर्जित हुन्छन् । तर, मान्छे जिद्दी हुनु जन्मजात या अर्जित कुन हो भन्नुपरे भने यसले ठ्याक्कै यही हो भन्ने दाबीको साटो भन्छ- परिवेश र व्यवहारको अध्ययन गरिनुपर्छ, अनिमात्रै निश्कर्षमा पुग्न सकिन्छ । के 'एकलकाँटे' अडानले जीवन सुखमय बिताउन सम्भव छ ? व्यक्ति र तिनका अवस्थाअनुसार उत्तर फरक-फरक आउँछन् । 
सरल, विवाद नगर्ने, बुझकी लाग्ने विष्णुराज कोइराला यति धेरै जिद्दी होलान् भन्ने जीवनसंगीनी शशिले विवाहको धेरै वर्षपछि मात्रै थाहा पाइन् । दुबैको जीवनको त्यो ठूलो निर्णय लिने मोड थियो ।
इञ्जिनियर पेशा भएका कोइरालाको शरीर हरदम ह्वीलचियरमा गुड्छ । कार चढ्छ । घर, अफिस, फिल्डको दैनिकी । उनी कहिले पूर्व ताप्लेजुङ थेचम्बुको फावाखोला पुग्छन् कहिले काठमाडौं, पर्वत पातीचौरको तल्लो मोदीखोला जलविद्युत आयोजनामा भेटिन्छन् । अधिकांश समय पोखराको फिर्केपुलस्थित आफ्नै फेवा कन्स्ट्रक्सनको कार्यालयमा व्यस्त हुन्छन् । 
अपांग अधिकारकर्मीका कार्यक्रममा भेटिदैनन् । राजनीतिक सभाको स्रोता बन्ने उनको स्वभाव छैन । 'इमानदार कामले नै मलाई दीर्घजीवन दिएको छ भन्ने लाग्छ', उनले भने, 'आफ्नो काम, आफ्नै ज्यानका लागि ख्याल गर्नुपर्ने कुरा र परिवारबाहेक अर्थोक सोचेर समय खेल फाल्दिन ।' 
'मेरो शरीरको ८७ प्रतिशत भागमा सेन्टिमेन्ट छैन, डाक्टर भन्छन् तेरो १३ प्रतिशत भागमा मात्रै सम्वेदना छ', उनले सुनाए, 'शरीरका सबै भाग सग्ला छन् । रक्तसञ्चार छ तर, टाउको र दुइ हातबाहेकका अंगबारे म केही थाहा पाउँदिन ।' भोकाएको, दिसा-पिसाब र चोट लागेको थाहा हुँदैन । यति भइकन पनि उनले आफ्नो दैनिकी भने अनुकूल बनाएका छन् ।
'यस्तो मान्छेले सबैथोकको रुटिन बनाउनुपर्ने रहेछ', उनले भने, 'खाने, ट्वाइलेट जाने, नुहाउने, मौसमअनुसार लुगा लगाउने र काम गर्ने सबैमा मेरो आफ्नै रुटिन छ ।' यस्तो ज्यान भएकाहरूले आफ्नो स्याहारमा पहिलो ध्यान आफैंले राखेमात्रै दैनिकी सहज हुने अनुभव उनको छ । 'मलाई श्रीमती, छोरा-छोरीले पनि ध्यान दिन्छन्, सघाउँछन् तर, मेरो आवश्यकताअनुसार धेरैजसो काम आफैं गर्न रुचाउँछु/गर्छु' उनले सुनाए, 'यस्तो गर्दा सबैलाई मबाट सजिलो पनि छ ।'
४४ वर्षीय कोइराला जन्मजात यस्ता होइनन् । न त कुनै रोग वा वंशाणु समस्या उनका सरेको हो । पोखराको लेकसाइडका यी बासिन्दाले पृथ्वीनारायण क्याम्पसबाट आइएस्सी गरे । बुवालाई रहर थियो- छोराले इञ्जिनियर बन्नुपर्छ । बंगलोर पढ्न गए । तुमकुरको सिर्द्धार्थ इन्स्टिट्युट अफ टेक्नोलोजीबाट २०५२ मा पढाइ सके । फर्केर छिमेकीको उदय कन्स्ट्रक्सनमा काम थाले । त्यहाँ नौ महिना बिताए । त्यहीबेला धादिङ, बागलुङ, तनहुँ आदि ठाउँमा विश्व बैंकको सहयोगमा चलेका ग्रामीण खानेपानी वितरण कार्यक्रमको टेक्निकल अडिटर भएर काम गर्न पाए । २०५४ देखि ७ वर्ष केसी कन्स्ट्रक्सनमा जोडिएर त्यसपछिका अढाइ वर्ष पोखरामा निर्माण सुरू भएको पर्वतीय संग्रहालयमा बित्यो । पोखरा खानेपानी परियोजनामा डेढ वर्ष बिताए । जोरपाटीको नेपाल मेडिकल कलेजको भवन निर्माणको डिजाइनमा खटिए ।
सिभिल इञ्जिनियरिङका स्नातक उनले यो अवधि पढाइ पनि छाडेनन् । कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर गरे । 'मेरो बुवाको एउटा फर्म थियो, जो अरुका भरमा चल्थ्यो । २०४९/५० पछि निस्क्रिय यजस्तो अवस्थामा थियो', उनले भने, 'मैले ६२ सालदेखि त्यही आफ्नै फेवा कन्स्ट्रक्सनलाई ब्यूँताएँ । काम थालियो ।' पुनर्जीवित निर्माण कम्पनीले माछापुच्छ्रे बैंकका इलामदेखि धनगढीसम्मका करिब ३३ वटा शाखाको भवन बनायो । पर्वतको पातीखोलामा २ वर्षलाएर १९ करोडको लागतमा १ मेगावाट जलविद्युत बनायो । कोइराला निर्माणकर्तासँगै जलविद्युत सञ्चालक पनि भए । 'जिन्दगी यहाँसम्म राम्रै चलेको हो । अनि दुर्घटना भयो', उनले भने, 'मलाई दुर्घटनाले असहज जीवन पनि सहज बनाएर कसरी बाँच्न सकिन्छ भनेर सिकायो । सबैभन्दा ठूलो आत्मबल हो भन्छु ।'
२०६७ साउनमा उनी श्रीमतीसहित सालोले जागिर खाएको ठाउँ स्वीटजरल्याण्डको अस्ट्रोम कम्पनी घुम्न गए । त्यहाँबाट इटलीको मिलान र्फकँदै गर्दा उनी चढेको कारमा पछाडिबाट तीव्र गतिमा आएको कार ठोक्कियो । यात्रामा सवार ६ जना घाइते भए । तिनमा सबैभन्दा बढि घाइते उनी थिए । बाहिरबाट हेर्दा चोट थिएन, रगत बगेन तर, सिकिस्त यति भए की लामो समयका लागि होस हरायो । अरुलाई एम्बुलेन्स-गाडी र उनलाई हेलिकप्टरबाट उद्धार गरी नजिकैको निगुर्दा अस्पताल लगियो । २१ दिनको कोमापछि होस फिर्‍यो । कुरुवा बस्न नपाइने अस्पतालको नियम । भेट्न आउनेले पनि निश्चित छोटो समय परैबाट हेर्नुपर्ने । 
उनले थाहा पाए- दुर्घटनामा आफ्नो मेरुदण्ड भाँचिएर नसा च्यापिएको थियो, जसले उनको टाउको र हातबाहेकका अंगको संवेदना शुन्य बनायो । ६ महिनासम्म उपचार चल्यो । दुर्घटना गर्नेको बिमा कम्पनीले उपचारको खर्च ब्यहोरे पनि उनी अब पहिलेजस्तो ठमठमी हिड्न सक्ने थिएनन् । 
'जुन कन्डिसनमा घटना भएको थियो र, पछिपछि पनि अस्पताल, डाक्टर पनि अपांगता भएकाहरूलाई चाहिने सुविधाको हकमा अफर आयो- चाहन्छौं भने तिमीले इटली बस्ने पीआर पाउँछौं', उनले भने, 'त्यो साह्रै अप्ठेरो निर्णय लिनेबेला थियो । श्रीमती चाहन्थिन् हामी त्यहीँ बसौं, म चाहन्थे जसरी पनि घर फिरौं । आफ्नै देश जाउँ ।' घटनाअघि न उनले कुनै त्यस्ता अपांगलाई ध्यानपूर्वक हेरेका थिए न त कसैलाई सघाउन परेको अनुभव थियो । 
अस्पतालको मनोबैज्ञानिक परामर्शदाताले भने उनकी पत्नी शशिलाई दिनहुँ बिरामी भेट्न दिनुको साटो धेरै समय त्यस्ता मान्छेसँग भेटाएको थियो जो अपांगता भएर पनि एक्लै सजिलो जीवन बाँचेका थिए । 'हातखुट्टा नचल्नेले पनि टाउको र मुखको भरमा खाना पकाउने, गाडी चलाउने खै कस्तो अचम्मका मान्छे भेटाए', उनले भनिन्, 'निकै महिनापछिमात्रै श्रीमानको खास अवस्था थाहा पाउन दिए । त्यसबेलासम्म म मनोबैज्ञानिक रूपमा अपांगले पनि सहज जीवन बाँच्न सक्ने रहेछन् भन्नेमा एउटा धारणा बनाएर केही ढुक्क हुनसक्ने भएकी थिएँ ।'
यसैबीच इटलीको स्थायी बसोबासका लागि इजाजत मिल्ने अफर आयो । 'उहाँले घर र्फकने अड्डी कस्नु भयो, म उहाँको अवस्थाअनुसार सजिलो हुन्छ भनेर उतै बस्नुपर्छ भन्नेमा थिएँ', उनले भनिन्, 'मेरो केही लागेन । उहाँलाई हवीलचियरमा राखेरै हामी घर आयौं । अहिले लाग्छ, उहाँको निर्णय ठीक हो ।' शशि मन्टेश्वरी स्कुल चलाउँछिन् । १३ र १२ वर्षका छोराछोरी छन् । 
कोइराला दम्पती घर फर्केपछि हवीलचियरका लागि सजिलो हुने निर्माणको काम सुरू भयो । घर, शौचालय, अफिस । 'जब हामी फर्कियौं त्योबेला मेरो कम्पनीले काम थालेर मेरो अभावमा अपुरो भएको नोक्सानीमात्रै करिब ८/९ करोडको थियो', विष्णुराजले भने, 'तर, मैले हरेस खाइँन । हातगोडा चलाएर गर्ने कामको बोझ धेर थिएन । घर-अफिस सजिलो बनाइयो, बिस्तारै बैंकको ऋण तिरियो, जिन्दगी एउटा ट्रयाकमा कुदाइयो ।' 
यूरोपमा उनीजस्ता नागरिकका लागि खानबस्न सरकारले दिन्छ । सार्वजनिक सवारीमा पहिलो प्राथमिकता अपांगता भएकालाई छ । सेवासुविधाका सबै कुरा बुझे पनि आफ्नो देश छाड्न मन नलागेको उनले बताए । 'मेरो अवस्थामा केही सावधानी जरुरी छ, छिटै युरिन इन्फेक्सन हुन्छ', भने, 'योबाहेक त ठूलो समस्या केही छैन । हामीले अपांगतामैत्री हुन समय लाग्छ । सरकारले त्यसमा पहल गर्नुपर्छ तर, विकासमा हामी ढिला भएकाले निरास किन हुने ? सबैथोक बिस्तारै हुँदै जाला ।' दुर्घटना अघिको जीवनसँग तुलना गर्दा उनले ठमठमी हिडेर आदेश दिने, आफैं खटिने काम अहिले गर्न सक्दैनन् । तर, निर्माणको डिजाइन गर्न, परामर्श दिन र आफ्नो ज्ञानको भरपुर प्रयोग गर्न उनलाई बाधा छैन ।
आफूले पढे-गरेकै कामलाई निरन्तरता दिन सूचनाप्रविधिको जमाना भएकाले सजिलो भएको अनुभव उनको छ । कामका सिलसिलामा उनी बेलाबखत युरोप, भारत यात्रा गरिहन्छन् । अहिले पनि जलविद्युत, सडक, भवन आदि धेरैथरि निर्माणका काममा आफ्नो भागको जिम्मेवारी पुरा गरिरहेका छन् । व्यवसाय र आफूजस्ताका लागि विकास भएका विधिबारे अपडेट भइरहन्छन् । ६ वर्षदेखि हवीलचियरमा ज्यानलाई गुडाउँदै आफ्नै पौरखमा बाँचेका यी इञ्जिनियर भन्छन् 'सधैं सकारात्मक सोच राख्ने, इच्छाशक्ति बलियो पार्ने । निराश नहुने मेरो बानी नै जिन्दगीको सूत्र हो ।'

(२०७२/११/७ कान्तिपुर दैनिकको २३ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित) 

यसरी लेखियो यो कहानी 
विष्णुराजसँग मेरो भेट पोखरेली फोटोपत्रकार साथी कृष्णमणि बरालले गराएका हुन् । म त्यस्ता केही उदाहरणीय मान्छेका बारे लेख्न चाहन्थे, जो मित्रलाई राम्रो लाग्यो । घर पुगेको एउटा बिहान उनले मलाई भने 'तपाइँलाई मेरा एकजना छिमेकी भेटाउँछु, जसलाई भेटेर तपाईलाई पक्कै केही लेख्न मन लाग्ने छ ।'  धेरै अघिदेखि देखेको-चिनेको मान्छे भएका कारण आफूले चाहेर पनि लेख्न अप्ठेरो लागेको कृष्णजीले सुनाएपछि भेट्न गइयो । 
भेटेपछि मलाइ पनि अनौठै लाग्यो । उनले आफूलाई मेन्टेन गरेको दैनिकी गजब नै थियो । तर, पहिलै भेटमा 'तपाईबारे लेख्छु' भनिहाल्न मन लागेन । उनको दैनिकी थाहा पाउँदा भने साँच्चै लेख्नुपर्छ भन्ने लागेकै हो । 
दोस्रोपटक कोइराला गण्डकी मेडिकल कलेजको अस्पतालमा भेटिए । कुरा गर्दा थाहा भयो, उनी युरिन इन्फेक्सनबारे चिकित्सकसँग परामर्शका लागि आएका थिए । त्यो भेटमा लाग्यो- यस्ता धेरैजना छन्/हुन्छन् । एकजनामात्रैका बारे किन लेखिहाल्ने हतार गर्नु ?
दिन बिते । यसपटकको वार्षिकोत्सव विशेषांकमा अपांगता भएर पनि उदाहरणीय जीवन बाँचेकाहरूका कुरा लेख्ने भनिएपछि चाहिं मैले आफूलाई रोक्न सकिँन । केन्द्रमा उनका बारे पताएपछि मेरो विषय पनि छनोटमा परेको जानकारी आयो । फेरि म पहिलो भेट जसरी नै, उही समय कोइरालाकहाँ बरालजीका साथ पुगेँ । लेख्छु भनेँ । उनले माने । त्यस दिन र पछि उनको अफिसमा गइयो । लामो कुराकानी गरियो । पछि फेरि एउटा साँझ उनको परिवारका सबै सदस्य भेट्न गएँ । तिनै भेटहरूमा भएका कुराकानीको आधारमा माथिको लेखोट तयार भएको हो ।  


No comments: