Wednesday, February 10, 2016

त्यो अन्तर्वार्ता



सोमबार रातिको खबर मंगलबार बिहान थाहा भो- पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला भौतिक शरीर छाडि बिदा भएछन्। मान्छे जन्मेपछि मर्छ, यसमा नौलो मान्नु केही छैन। भावपूर्ण श्रद्धाञ्जलि भन्नुबाहेक 'सुशीलदा'लाई सम्झेर रोइलो गाउनुपर्ने मेरो भागमा त्यस्तो उल्लेख्य केही छैन। 

गत पुस ५ मा उनी पोखरा आएका बेला अन्तर्वार्ता गर्न पाइएको हो। छापा माध्यमलाई उनको त्यो उनको सम्भवतः अन्तिम अन्तर्वार्ता थियो । र, मेरा लागि पत्रकारिता जीवनको पहिलो।

पहिलो यो अर्थमा की आफैंले लीड गरेर अन्तर्वार्ता गर्ने मौका त्यसअघि लागेको थिएन। धेरैजनाका यस्ता कुराकानीमा थुप्रैका नाम गाँसिएर आएका हुन्छन्। ती बेला आफूले प्रश्न गर्न मिलो/मिलेन, लेख्न सघाइयो/सघाइएन ती प्राविधिक कुरा हुन्छन्। साथमा गएकै कारण साथीहरूले नाम जोडिदिएका थुप्रै त्यस्ता अन्तर्वार्ता छन्, यद्यपि सुशीलदासँगको कुराकानी आफैंले अघि सरेर सहकर्मी शिव शर्माका साथ लिन मिल्यो।

त्यसो त उनले प्रधानमन्त्री पदबाट हटेपछि उनले त्यसरी अन्तर्वार्ता दिएको मैले पढ्न पाएको थिइँन। यस्ता बेला जब पार्टीको आसन्न तेह्रौं महाधिवेशनका लागि सभापतिमा आकांक्षी देखिएका उपसभापति रामचन्द्र पौडेल र शेरबहादुर देउवाको दौडधूप चलिरहेको थियो, उनी केही निराश देखिएका थिए। कुराकानीको वातावरण मिलाउन पनि ठूलै सकस परेको थियो।

कांग्रेस पार्टीमा देख्तै आएको एउटा असजिलो कुरा के हो भने पार्टीका प्रभावशाली नेताहरू आफ्ना जिल्लामा आइपुग्दा एयरपोर्टमा स्वागत गर्नेदेखि लिएर बास बस्ने गुँडसम्म कार्यकर्ता ओइरो लाग्छन्। 'दाजु दाजु, जय नेपाल दाजु' भन्छन्, छोप्छन्, अरूलाई कुरा गर्ने भेट्ने पालो सहजै दिँदैनन्। अरूबेला पार्टी कार्यालय पुगो भने मान्छे भन्ने छाया नि देख्न पाइँदैन। सुशीलदाको पोखरा बसाइको त्यो दिन पनि त्यस्तै थियो। भीडले छाड्दै नछाड्ने खालको।

***

एकछिन सुशीलदाका प्रसंग बिर्सँदा मेरो विराटनगर रहँदाका समय सम्झन्छु, पत्रकारितामा सबैले जानैपर्ने ठाउँ कोइराला निवास थियो। त्यो समाचारका विषय भइरहने ठाउँ।

नोना र गिरिजाप्रसादको अवसानपछि पनि डा. शेखरले त्यहाँ पत्रकार बोलाउँछन्, अहिले पनि बेलाबखत समाचारमा पढ्न-हेर्न मिल्छ। पिताजी कृष्णप्रसादको त्यो घर अझै छँदैछ। कोइराला परिवारका जस-जसको भागमा जति जति पुर्ख्यौली सम्पत्ति परेको थियो, ती जमिन बेच्दै गए। तिनमा घर, भवन उम्रिँदै आए। कोसी अञ्चल अस्पताल अगाडिको कोइराला निवास अब बाटाबाट सजिलै देखिँदैन। कांग्रेसको आन्दोलनका इतिहासको बखान मुलुकका जुन भागमा पुगे पनि नेता-कार्यकर्ताको मुखारविन्दबाट सुन्न मिलिरहन्छ। म पनि त्यहाँ धेरैपल्ट गएको थिएँ/गएको छु। 

लाग्थ्यो, बिपी, मातृका, गिरिजा आदि नेताका बारेमा, कोइराला परिवारको इतिहासका बारेमा पछिल्ला पुस्ता, अध्ययनकर्ता आदिलाई मात्रै होइन कांग्रेस पार्टीकै विकासक्रम बुझ्न चाहनेका लागि त्यो निवास संरक्षण गरिनुपर्छ। मुलुक जुन राजनीतिक विकासक्रमबाट अघि बढेको छ, त्यसका जानकारी दिने धरोहर कुनै एउटा परिवारको निजी सम्पत्ति मात्रै होइन, जुनसुकै शासन व्यवस्थाले पनि इतिहास संरक्षण गर्नुपर्छ। विराटनगरलाई मात्रै सम्झँदा पनि त्यहाँबाट व्यापार थाल्ने गोल्छा, सारडा, दुगड, राठी लगायतका व्यापारीक घराना हुन् की पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, कसैका बारेमा अध्ययन गर्ने थलो संरक्षित गरौं भन्ने चेत अझै जिम्मेवारहरूमा आएन। 

महेन्द्र चोकको राजा महेन्द्रको सालिक ढालियो, त्यहाँ अझै ठुटो छ। हुन त सभ्यताको विकासक्रम नै यस्तै होला, पुर्खाका चिनो जतन गरि राख्दा कुनै पुस्तालाई ती फोहर कति कहिलेसम्म ठाउँ ओगट्ने गरि राखिरहने भन्ने लाग्दो होला।

ऐतिहासिक धरोहरको संरक्षणमा चासो जगाउन हामी सञ्चारकर्मीले पनि नसकेका होलाउँ। मुलुकलाई एकपछि अर्को संक्रमणकालले छाड्दै छाडेन, जिम्मेवारलाई त्यो चेत आउँदै आएन।

*** 

पूर्वाञ्चलबाट अब पोखरा आएपछि मैले विराटनगरको खबर लेख्नुपर्दैन, त्यो कोइराला निवासको त झन् किन पो पर्थ्यो ! तर, कांग्रेस-कम्युनिष्ट पार्टीका खबर नलेखम् भनेर सुख त मुलुकभरि जता पुगे नि छैन। म्युजिकल-चियर जस्तो सत्ता राजनीति कांग्रेस र बामपन्थी पार्टीकै सेरोफेरोमा घुम्छ।

सुशील कोइरालाका कार्यक्रमको रिपोर्टिङ गर्नुपरेको मेरो साह्रै कम अनुभव छ। यसको कारण- उनी विराटनगरको कोइराला निवास होइन बाँके जिल्ला बस्थे। त्यही उनको राजनीतिक व्यक्तित्व विकासको ठाउँ थियो। धेरैपल्ट कार्यक्रममा विराटनगर आउँथे। तर, प्रधानमन्त्री नहुञ्जेल उनको कार्यक्रमको रिपोर्टिङ अखबारमा साह्रै ठाउँ पाउने विषय बन्थेन।

साथीहरूका साथ धेरैपल्ट गिरिजाप्रसादका सामाचार र फोटो सञ्चारमाध्यमका लागि नछुटाइ पठाउनुपर्ने विषय हुन्थ्यो। छुच्चा, टर्रा लाग्ने ती गिरिजाप्रसाद विराटनगर आएरै बोल्थे, जे बोल्थे। त्यसले पनि त्यो निवास नगइ सुख थेन। 

कहिले सबै भेला भएर अब के बोल्ने हुन् भनेका बेला 'आज केही बोल्दिन, सबैजना जाओ' भन्थे। अरू साथीहरू भएका बेला केही बोलिगए समाचार छुट्ला भन्ने तनाव हुन्थ्यो। सम्पादक नै फोन गर्थे - 'जे बोल्छन् सप्पै पठाउने, फोटो पनि त्यो भनाइलाई जस्टिस हुने हुनुपर्छ।' साथीहरूले सामाचारमा ध्यान दिन्थे, मलाई फोटोको काम नै गह्रौं थियो। तर, जे भए नि गिरिजाप्रसाद जे बोल्थे, फ्रन्टपेज हुने बोल्थे।

समय फेरियो। जनताको अपेक्षाअनुसारको विकास र रोजगारीका अवसर नबढे पनि राजनीतिक घटनाक्रम यस्तरी फेरियो की अब विराटनगरमै गएर कोही त्यसरी बोल्ला भन्ने अवस्था रहेन। गत वर्षदेखि मेरो पनि कार्यक्षेत्र फेरियो। विराटनगरबाट पोखरा आइपग्दा यहाँ पनि थुप्रै कोइरालाका निवास देखेको छु। तर, राजनीतिक वृत्तमा जोडदार खबरमा समेट्नुपर्ने अझसम्म त कोही छैनन्।

सुशील कोइरालाको सादा जीवनबारे धेरै कुरा अरू जसरी नै पढेर थाहा पाइन्छ। उनको प्रधामन्त्रीत्वकाल, काम गराइ, उपासना-आलोचना आदि–इत्यादि बेलाबखत खबर लेख्नैपर्ने जिम्मेवारीले आइपर्नेबाहेक साह्रै धेर सरोकारका विषय पनि परेनन्।   

***   
गत पुस १६ मा स्याङ्जा पार्टी कार्यालयको उद्घाटनका लागि उनी एक बास पोखरामा बसेका थिए। जिल्ला ब्युरो संयोजक साथी गंगा बीसीले फोन गरे -'सुशील कोइराला पोखरा आउँदै छन्। इन्टर्भ्यु गर्न सक्नुहुन्छ ?' नसक्ने भन्ने कुरा के भो र ! तर, उनी बोल्लान  की नबोल्लान भन्ने पो ठूलो दुविधावाला कुरा परो । मैले 'हुन्छ । सक्छु' भनेँ।

हाम्रा सञ्चारमाध्यममा हालसम्मको काम गराइको अभ्यास के हो भने केन्द्रीय नेतासँगका अन्तर्वार्ता सकेसम्म राजधानीमा कार्यरत साथीहरूले मात्रै गर्छन्। यस्तो किन भनेर सोधियो भने यसमा दुई प्रमुख कारण छन् भन्ने मलाई लाग्छ।

पोलिटिकल बीटका, अझ सम्बद्ध पार्टीका सामाचारको जिम्मेवारी भएका संवाददातालाई राजनीतिक घटनाक्रम थाहा हुन्छ। निरन्तर अप्डेट गरिरहने भएकाले नेताको स्तर, उसको भनाइ-गराइ सबै थाहा हुन्छ, के सोध्ने र त्यसबाट तयार हुने लेखोट कतिको 'डिजर्भिङ' हुन्छ भन्ने थाहा हुन्छ। नेताहरूसँग पहिल्यैको चिनजानलाई पनि उसले उपयोग गरेर कुरा गर्ने पहुँच बनाउने बाटो बेग्लै छँदै हुन्छ। सम्पादक, चीफ-रिपोर्टरको पनि सल्लाहमा काम गर्न पनि सजिलो, लेखाइको भाषामा जिल्लाका भन्दा तुलनात्मक दख्खल। यसले गर्दा अन्तर्वार्ता लिनेमा पनि आत्मविश्वास हुन्छ।

राजधानी बाहिरको पत्रकारले एउटा खास बीटमा काम गर्न पाएको हुँदैन। त्यसैले उ परनिर्भर जस्तो हुन्छ, उसले पठाउने समाचार छापिन्छ भन्ने ग्यारेन्टी नहुने भएकाले आत्मविश्वासको मामिलामा राजधानीको संवाददाता जतिको 'कन्फिडेन्ट' हुँदैन। र, उसले मिहिन तरिकाले राजनीतिक खबर ध्यानमा राख्दैन। आम बुझाइ पनि यही हो। केही संवाददाता फरक बानीबेहोरा र कार्यशैलीका हुनु अपवाद मानिन्छ। 

डेस्कले पनि काठमाडौंबाहिर रहेर काम गर्नेलाई यो अभ्यास नगराउने चलनले उसको कामप्रति केन्द्र ढुक्क हुँदैन। जिम्मेवारी दिने नगर्दा जिल्ला संवाददाताले त्यो अभ्यास गर्न पाएकै हुँदैन। खास घटना वा व्यक्ति केन्द्रित विषयमा लेख्न परे 'काठमाडौंबाट कोही आइहाल्लान म किन टाउको दुखाउने' भनेर जिम्मवारी लिन नपरे सुख ठान्ने बानी आफ्नो ठाउँमा छँदै हुन्छ।

उपरोक्त कुरा परे हाम्रो पत्रकारिताको चलेको चलनका। तर, कान्तिपुरका सवालमा बेलाबखत केन्द्रले क्षेत्रीय ब्युरो र जिल्लास्तरका संवाददातालाई प्रसंगको महत्त्व र उसको कार्यक्षमताका आधारमा मौका दिने गरेको छ। मधेस आन्दोलनको समय आन्दोलनकारी तथा जिम्मेवार कतिपय नेतासँगका कुराकानी काठमाडौंले बाहिरी जिल्लाका साथीहरूलाई गर्न लगाएर प्रकाशित भएका हुन्। योपटक अन्तरवार्ताको जिम्मेवारी त्यही मौकामध्येको थियो।

म सुशीलदाको प्रसंगमा फिर्छु। 'हुन्छ' त भनिगएँ तर, कांग्रेसका नेताहरू चिनेको थिएन। उनी कहाँ बस्छन्, के कार्यक्रम हो भन्नेसम्म थाहा थिएन। र, अचानक अन्तर्वार्ताका लागि भेटेर भनिहाले पनि सुशील कोइराला मान्लान् वा नमान्लान् भन्ने थाहा थिएन। सहकर्मी शिव शर्मालाई मोटरसाइकल पछाडि लिएर म निस्किएँ। कार्यक्रम के हो, बास कता, कोमार्फत कुराकानीको सहजीकरण गराउने भन्ने बुझ्न समय लागेन। कास्कीका कांग्रेस सांसद यज्ञबहादुर थापा र जिल्लाका युवा राजबहादुर गुरुङसँग फोनमा कुरा गरेँ। थापा एयरपोर्टमा थिए। उनले सुशीलदा आउने ठाउँमा पुग्दै गरे हुन्छ भने।

थापा र गुरुङ दुवैले पहिलो फोन कुराकानीमै सुशीलदासँग संवादको मौका मिलाइदिने बताए। मेरो यी दुवैसँग यसअघि यसरी अनुरोध नै गर्नुपर्ने जसरी औपचारिक भेट भएकै थिएन। थाहा भयो कोइराला त्यो रात लेकसाइडमा अर्जुन कुँवरको घरमा बस्नेछन्। कोइरालाहरू प्राय सबैजसो नेताको बानी कतै पनि भरसक होटलमा बसौं भन्ने भएको निकै कम सुन्न पाइएको हो। उनीहरू आफ्ना कुनै पुराना कार्यकर्ता, हितैषी वा आफन्तकहाँ बस्छन्। सुशीलदाले पनि त्यही गर्दा रहेछन्।

कुँवरको घरमा हामी उनी आइपुग्नु १० मिनेट अघि नै पुग्यौं। आएपछि 'नमस्कार' को औपचारिकतासँगै अन्तर्वार्ता लिन्छौं भन्यौं। उनी पहिलो भेटमै तर्किए। 

'मसँग किन कुरा गर्नु ? पर्दैन।' 

कार्यकर्ताको हुल आउन थाल्यो। हामी कुरिरह्यौं। करिब आधा घण्टापछि सांसद यज्ञबहादुर थापाले सहजीकरण गरिदिए। कुरा सुरू नगर्दै उनले २/३ पटक भनेका थिए -'पत्रकारले कुरा ट्वीस्ट गर्छन्। भैगो नबोलौं। मैले बोल्नुपर्ने नै केही छैन।' 

यस्तो सुन्दा नरमाइलो पनि लागेको हो। यति जिम्मेवार नेतालाई हाम्रो पत्रकारिताप्रति कस्तो शंका !

उनले प्रधानमन्त्रीबाट हटेपछि त्यसरी बोल्न नपरेको बताएका थिए। मैले भने 'हेर्नुस्, तपाई अहिले प्रधानमन्त्रीबाट हटे पनि जिम्मेवार दलको जिम्मेवार नेता हो। पार्टी अधिवेशनको तयारीमा छ, देशले मधेसको आन्दोलनबाट दुःख पाएको धेरै दिन भइसक्यो। तपाइँ कसरी चुप लागेर बस्नु हुन्छ, केही नबोल्ने ? नबोलेर हुन्छ ?' सांसद थापाले सही थापे। 

थापाले बोलाउन साँच्चै बल पुर्‍याएका हुन् । शायद उनका लागि प्रतिष्ठाको कुरा पनि थियो। पार्टी सभापतिले पोखरा आएर बोल्दा ठीकै हुन्छ भनेर। सुशीलदाले आफ्ना कुरा जस्ताको तस्तै राख्नुपर्छ भन्ने सर्त गराए। गरियो । अनि बल्लतल्ल बोल्न माने।

उनीसँग ३६ मिनेट कुरा गरियो। २००७ सालबाट, १७, ३२, ३६, ४६, ६२-६३ र नयाँ संविधान अनि मधेस आन्दोलनसम्मका। बिपीले के-के भन्थेदेखि नयाँ सरकारको मूल्यांकन अहिल्यै गरिहाल्नु हतार हुनेसम्मन। कुराकानीका क्रममा उनले लामो बोल्थे, बीचमै रोकेर सोध्नु पर्थ्यो। 

सुरूमा बोल्न नमानेका उनले बोल्दै गएपछि अलि खुलेर कुरा गरेका थिए। अन्तमा मैले सोधेको थिएँ -'तपाइँ योपल्ट सभापति छाड्नुहुन्छ की रहिरहने ?,' उनी जंगिएका थिए -'यो कस्तो प्रश्न हो, मैले के बिगारेको छु ?' एकैछिनमा शान्त भए र, उत्तरमा जे भने त्यो अन्तर्वार्तामा प्रकाशित छ।

केही कार्यकर्ताले 'कति कुरा गरेको ? भएन ? लामो भो ? दाइलाई दिक्क नपार्नुस्' भन्दै हतार लाएका थिए। मोबाइलको रेकर्डर अफ र डायरी ब्यागमा राखेपछि पनि उनले भने 'भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला।' मैले 'केही पनि ट्वीस्ट हुँदैन, ढुक्क हुनुस्' भनेर आश्वस्त पारेपनि एक मनमा लागेको थियो -'यो परिस्थितिमा मैले चाहिने चाहिने कुरा पो गरेँ की गरिँन होला। मलाइ केन्द्रका साथीले काम लाग्ने केही रैनछ भन्ने पो हुन् की।'

कुराकानी सक्नै लागेका बेला तारानाथ रानाभाट आइपुगेका थिए। अन्तर्वार्तामा छापेको फोटो कुराकानी गरिसकेपछि खिचेको हो। फोटो खिच्दा उनी हामीसँग होइन रानाभाटलगायत कास्कीका आफ्ना अगुवा कार्यकर्तासँग गफिन सुरू गरेका थिए।

त्यो साँझ हतार हतार आएर लेखियो । भोलिपल्ट ती हिजो 'छिटो कुराकानी सक्नुस् , भएन ?' भन्नेमध्येकै एकले फोन गरेर धन्यवाद दिए। 'भाइ पत्यारै लागेको थिएन जस्ताको तस्तै लेखिदिनु हुन्छ भनेर,' उनले भने, 'बुढालाई दाजु तपाइँको इन्टरभ्यु आको रैछ हेर्नुस् भनेर पत्रिका देको, हेरे, पट्याएर कोटको खल्तीमा राखिहाले । फिर्तै देनन्।'

***

('भाइ मेरा कुरा ट्वीस्ट नगर्नुहोला' शीर्षकमा मंगलबार इ-कान्तिपुरको 'ब्लग' मा प्रकाशित आफ्नै लेखोटलाई यता मैले थपथाप पारि लम्बेतान बनाएर जतन गरेको हो ।)

त्यो अन्तर्वार्ता - पछिल्लो अन्तर्वार्तामा कोइरालाले भनेका थिए- संकट लामो नजाला (साइट डिजाइन फेरिएकाले लिंक ब्याक राख्दा पनि चिजबिज नभेटिने भइगएकाले लिंकब्याक हटाइएको छ।)

No comments: