Friday, September 16, 2016

अस्पतालको सेवा पाउनै सास्ती

दुइ महिनादेखि घाँटी झमझमाउने, कहिलेकाही जरो आउने भएपनि रातिको चौकीदारीको काम गरिरहेका ६१ वर्षीय कुलबहादुर परियारलाई निकै गाह्रो भएर आयो । उनले चौकीदारी गर्ने रेस्टुराकी सञ्चालिका र परिवारले 'उपचार गर्न अस्पताल जानुपर्छ' भनेपछि उनी आइतवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे । 
करीब आधा घण्टा लाइन लागेर २५ रूपैयाँको पूर्जि बनाए, डेढ घण्टा पालो कुरेपछि हाडजोर्नी विभागका डाक्टरलाई आफ्नो शिकायत बताउन पाए । डाक्टरले पूर्जीमा 'एक्स-रे' लेखिदिएपछि काउन्टर फिरेर लाम लागे । शुल्क चार सय बुझाए र, 'एक्स-रे' शाखामा पुगे । त्यहाँको पालोमा चार घण्टा बसे । रिर्पोट हात परेपछि उनले देखाउन चाहेको हाडजोर्नी विभाग बन्द भइसकेको थियो । 'डाक्टर गइसकेछन् । देखाउन पाइएन', साँझ अस्पतालबाट घर फिरेका उनले भने, 'म विहान १० बजे पुगेको । यति धेरै पालो कुर्दाकुर्दै रिर्पोट हातमा आउँदा फेरि देखाउँनै पाइएन ।' स्याङ्जाको अर्जुनचौपारी ६ का परियार धेरै वर्षघि पोखरा झरेका हुन् । उनले केही परे उपचारमा जान सजिलो क्षेत्रीय अस्पताल हो । तर, विरामीको चापले उनीजस्ता धेरैलाई शुल्क बुझाउने, पूर्जी बनाउने, रिर्पोट लिने र पुनः चिकित्सक भेटेर उपचार गराउन सजिलो छैन । आइतवारै अस्पतालमा अढाइ वर्षे छोरीलाई जरो आएपछि जँचाएर फिर्दै गरेका मुस्ताङचोकका देवीरमण तिवारीले भने 'पूर्जी बनाउन लाइन, डाक्टरलाई देखाउन लाइन, औषधि किन्न लाइन । अरु त अरु डाक्टरलाई दोहोरो बोल्नसमेत फुर्सत नभएको देख्दा ठीक लाग्दैन ।' छोरीको जरो ननापी, नजाँची परैबाट हेरेर पूर्जीमा औषधि लेखिदिएपछि 'केके खुवाउनु हुन्छ, केके हुँदैन' सोध्दा जवाफै नपाएको गुनासो उनले गरे । 


तिवारी र परियार उपमहानगरभित्रै बस्छन् । यिनीहरूबाहेक पनि क्षेत्रीय अस्पताल पश्चिमका विभिन्न जिल्लामा विरामी उपचारका लागि आइरहने थलो हो । उपमहानगरमा दुइवटा मेडिकल कलेज छन् । निजी क्षेत्रका अस्पताल र उपचार केन्द्र दुइ दर्जनको हाराहारीमा रहेपनि क्षेत्रीय अस्पताल मध्यम र निम्न वर्गीयका लागि उपचारको पहिलो गन्तव्य रहिआएको छ । जहाँ निजी नर्सिङ होमहरू प्रसूति सेवा दिन्छन्, त्यही उनीहरूले शिशु भेन्टिलेटरमा राख्नुपरे क्षेत्रीय अस्पतालमै पठाउँछन् । तर, यहाँ विरामीको चापका तुलनामा सेवा प्रवाहको गति निकै ढिलो छ । बेडकै भर्ना हुनु नपर्ने खालका विरामी धेरैले पूर्जी बनाएकै दिन सबै जाँचका चरण पुरा गरि चिकित्सक भेटेर औषधि लिइ फिर्न पाउनु 'भाग्य चिठ्ठा' परेको मान्नुपर्छ ।
'कोशिश नगरेको भन्ने होइन । दिनको आठ सय हाराहारी विरामी उपचारका लागि आउँछन्, चापका तुलनामा सेवा छिटो दिनु गाह्रो छ', मेडिकल सुपरिटेन्डेन्ट श्रीकृष्ण श्रेष्ठले भने, 'ढिलो भयो भनेर गुनासो पनि आइरहन्छन् । सीमित जनशक्तिमा हामीले उपचार हतार हतारमा कसरी दिने ?' उनका अनुसार १४ वटा विभाग रहेको अस्पतालमा सरकारी दरबन्दी र करारका गरि ८२ जना चिकित्सक छन् । पाँच सय शैय्याको अस्पतालमा हाल तीन सय ५८ सञ्चालनमा छन् । 'पुरानो भौतिक संरचना जीर्ण भएका छन्', उनले भने, 'पर्याप्त बजेट छैन । सुविधा सकभर दिने कोशिश छ तर, विरामीको चापका तुलनामा हामीले सेवाभन्दा बढि गुनासो फेस गर्नुपर्छ ।' मातृ-शिशुका लागि नयाँ भवन निर्माणाधीन रहेकाले बनेपछि त्यससम्बद्ध विरामीलाई सहज हुने उनले बताए । अस्पतालले २ बजेपछि पूर्जीका अतिरिक्त शुल्क चार सय लिएर 'पेइङ क्लीनीक' सेवा दिएको छ । 'त्यो शुल्कमा आधा डाक्टर, २५ प्रतिशत अस्पताल र २५ प्रतिशत सम्बद्ध कर्मचारीको तलबमा जानेगरि धान्नु परेको छ', उनले भने, 'सामान्य ओपीडीको समयमा नभ्याउने विरामीका लागि त्यो सेवा हो तर, सबैका लागि छिटो र सहज सेवा भीड भएकाले पनि गाह्रो छ ।'
२०१२ सालमा सैनिक अस्पतालबाट सुरु भएको सेवा २०१९ मा जिल्ला, २०३२ मा अञ्चल र २०४३ मा मुलुककै पहिलो क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । स्तरोन्नति त्यतिकै थामिएको भने छैन । यो क्षेत्रीय अस्पताल हाल नामका लागि व्यवस्थापिका संसदबाट गत पुसमा पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान हो । तर, यहाँ न उपकुलपति नियुक्ति भएको छ न कुनै संरचना निर्माण र शैक्षिक क्रियाकलाप सुरु भएको छ ।  
यहाँका एमाले नेता तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको बलमा प्रतिष्ठानमा नाम परिणत भएपनि कुनै पनि शैक्षिक कार्यक्रम र योजना अस्पतालको हात लागेको छैन । 
सरकारले अघि सारेको सबै क्षेत्रमा एक/एक प्रतिष्ठानको नीतिअनुसार यहाँ योजना आए पोष्टग्राजुयट अर्थात मास्टर डिग्रिमा डक्टर इन मेडिसिन (एमडी) र र्सजरी (एमएस) को पढाइ हुनुपर्ने हो तर, अस्पताल अहिले पनि उपचारबाहेक अध्यापन र परियोजनाको कुनै कार्यक्रममा अघि बढ्न सकेको छैन । अस्पताल विकास समिति अध्यक्ष रामनाथ पराजुलीले भने 'सरकारले उपत्यकाका अस्पताललाई दिने बजेट र बाहिरका अस्पताललाई दिनेमा जहिल्यै विभेद गरेको छ । कसैलाई ५० करोड, कसैलाई मुश्किलले आठ करोड !' अस्पतालको स्तरोन्नति सरकारको नीतिसँग जोडिएको उनले बताए । 'प्रतिष्ठानमा परिणत भएपछि अब विकास समिति खारेज भएको अवस्था हो तर, नाममात्रै फेरिएको छ, अरु केही फेरिएन', उनले भने, 'दरबन्दीका सबै स्वास्थ्यकर्मी संख्यामा पुग्दैनन्, विकास समितिले राखेकाहरूलाई खर्च पुर्‍याउनै गाह्रो छ ।' अघिल्ला वर्षसम्म अस्पतालले आम्दानीबाट केही खर्च जोगाएर संचिति राख्ने गरेको भएपनि यो वर्ष तलबमा गरिएको २५ प्रतिशत बृद्धि विकास समितिलाई धान्न गाह्रो रहेको उनले बताए । 'सबै भवन, संरचना पुराना छन्, ५०/६० वर्ष पुरानोले कहिलेसम्म धान्छ', उनले भने, 'नयाँ पूर्वाधार थप्ने, जनशक्ति बढाउने आदि समयको मागलाई अस्पतालले थेग्न गाह्रो छ ।' 
(३२ साउन २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित)

पेन्सनले गराउँछ बुबाको सम्झना

प्रथम र दोस्रो विश्वयुद्धसँग नेपालीको कुनै साइनो छ भने पल्टनमा गएकाहरूले वीरगति पाएका, लडेर फिरेका घटनाहरू हुन्। श्रीकुमारी ४ वर्षकी छँदा उनका पिता इटालीमा लडाइँका दौरान मारिएका थिए। यो २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८ को घटना थियो
करिब ५ वर्ष चलेको युद्धमा ९९ लाख ११ हजार सैनिक मारिएको तथ्यांक छ। युद्ध नेपालमा भएको होइन तर पल्टनमा भर्तीको परम्परा सुरु भएको लहरले नेपाली पनि होमिए । तिनै होमिएका मध्ये थिए कास्की विजयपुर डिही गाउँका नैनसिंह गुरुङ  


भारतमा ब्रिटिस शासन रहेका बेला छैटौं गोर्खा रोयल आर्मीमा भर्ती भएका उनी ८ मार्च १९१६ मा मारिए । उनले वीरगति प्राप्त गरेको खबर घरमा आइपुग्दा छोरी श्रीकुमारी ४ वर्षकी थिइन् । २ वर्षअघि नै उनकी आमाको निधन भइसकेको थियो । मामाले उनलाई बोकेर भारतको लेहरा भनिने ठाउँको सेनाको कार्यालयमा लगे । अधिकारीले त्यसबेला आजीवन मासिक १६ रुपैयाँ पाइने पेन्सनपट्टा थमाए । अहिले उनी १ सय ३ वर्षकी भइन् । बुबा नैनसिंहका विषयमा उनले भनिन्, ‘खै कुनै पनि कुरा सम्झन्ना ४ वर्षको छँदका घटना कसलाई पो संझना हुन्छ र ? त्यसमा पनि वृद्ध शरीर, ऊर्जासँगै स्मरण शक्ति पनि त घट्छ                                             
तिनै श्रीकुमारीको बिहे पनि पल्टनेसँगै भयो । कृष्णबहादुर भनिने पतिराम गुरुङले कान्छी पत्नी बनाएर उनलाई भित्र्याए । सेवानिवृत्त भई घर आएर पोखराको मोहरिया टोलमा उनले कपडा पसल खोलेका थिए । पाँच दाजुभाइमध्ये पतिराम जेठा थिए । उनका सन्तान भएनन् । श्रीकुमारीले काइँला मनवर गुरुङका सन्तानलाई हुर्काइन् । मनवरका २ छोरा, २ छोरी थिए । कान्छी छोरी मधु ३ महिनाकी हुँदा मनवरकी पत्नीको निधन भयो
सन् १९६४ मा पतिराम दिवंगत भएपछि मनवरका सन्तान नै श्रीकुमारीका सहारा भए । उनको हातमा दुई वटा पेन्सनपट्टा थिए । एउटा पिताको, अर्को पतिको । पिताका तर्फबाट पाउँदै आएको पेन्सन २००७ मार्चबाट रोकियो । अधिकारीहरूले प्रथम विश्वयुद्धको पेन्सन दिन नमिल्ने तर्क गरे । अगाडि लिएको करिब ५ लाख ५० पनि फिर्ता गर्न भने  
मनवरका जेठा छोरा तेजबहादुरले भारतीय पेन्सन कार्यालयमा ४ दशक जागिर खाएका थिए । उनले आफ्नी ठूलीआमाको पेन्सन रोकिनुको कारण खोजी गरे भारत छाडेर जाने बेला भारत, ब्रिटेन र नेपालका अधिकारीबीच एउटा सम्झौता भएको रहेछ,’ ७७ वर्षीय तेजबहादुर भन्छन्, ‘प्रथम विश्वयुद्धमा मारिने र घाइते हुनेको निवृत्तिभरण भारतले गर्ने, अनि दोस्रो विश्वयुद्धमा भारतको भारतले, ब्रिटिस सेनाको ब्रिटिसले नै गर्ने सम्झौता रहेछ पेन्सनमा पनि दोस्रो विश्वयुद्धताका सेवानिवृत्त, मारिएका र घाइते भएकाको हकमा आजीवन पेन्सन दिने नियम परिवर्तन गरिएको थियो।
श्रीकुमारीको वारेसनामा लिएर तेजबहादुर अलाहावाद अदालत पुगे धेरै धाएपछि अदालतले आमाले आजीवन पेन्सन पाउने नियम संशोधन गर्ने अरू कुनै नियम नदेखिएको भनेर २०१० फरवरीमा अदालतले पाउने पक्षमा फैसला दियो,’ उनले भने, ‘तर, सिभिल कोर्टमा त्यो मुद्दा छिनोफानो नहुने रहेछ, त्यसले लखनउको डिफेन्स कोर्टमा मुद्दा सारिदियो
धेरै धाएपछि डिफेन्स कोर्टले ११ अप्रिल २०१६ मा श्रीकुमारीको पेन्सन रोक्न नमिल्ने फैसला मात्रै दिएन उनको पेन्सन रोक्ने अधिकारीहरूको पारिश्रमिकबाट करिब १ लाख जरिवाना हुने पनि ठहर गर्‍यो । साथमा मुद्दाको फैसलामा न्यायाधीश डीपी सिंह र एयर मार्सल अनिल चोपडाले वयोवृद्धलाई दु:ख दिनु मानवताको अपमान भएको भन्दै कवि सीबी ल्याङ्स्टनको ओल्ड एजकविता पनि समावेश गरे । अहिले पेन्सन नियमित छ । श्रीकुमारी आफ्ना देवरकी छोरी मधुसँग बस्छिन्।
आमाले मुद्दामामिलाको लामो चक्करमा नलागौं, छाडिदिऊँ भन्नुभएको हो, दाजु मान्नु भएन,’ मधु भन्छिन्, ‘अधिकारको कुरा छाड्न हुँदैन भन्नुभयो र लागिरहनुभयो । त्यसैले मुद्दा जित्न सकियो पोखरास्थित भारतीय पेन्सन कार्यालयबाट पेन्सन पाउनेहरू ६५ हजार जनाको हाराहारीमा छन्। तिनमा प्रथम विश्वयुद्धमा मारिएका पिताको पेन्सन पाउने श्रीकुमारी एक्ली हुन् ।
भारतीय सेनाको रिटायर्ड कर्नेल कमलसिंह गुरुङ भन्छन्, ‘पेन्सनका लागि हैरानी धेरै छन् । ऐनले जे बोलोस् पेन्सन दिने अधिकारीहरू बेग्लै नियम बनाउँछन् ।श्रीकुमारीको रोक्का भएको पेन्सन पुन: सुचारु गराउन ऐन र प्रक्रिया बुझेका तेजबहादुरकै कारण मात्रै सम्भव भएको उनले बताए । रिटायर्ड जीवनमा कोर्ट कचहरी गर्नुपरे पल्टनेले प्रक्रिया नै छाडिदिन्छन्,’ उनले भने, ‘तर, तेजबहादुर दाइको निरन्तरताले यो सम्भव भएको जस्तो लाग्छ ।श्रीकुमारीसँग न पिताको फोटो छ, न कुनै सम्झना तर पेन्सनले यी वृद्धालाई पिता सम्झाइरहन्छ।
(कान्तिपुर दैनिकमा २४ भदौ २०७३ मा ९ पृष्ठमा प्रकाशित)
समाचार सुत्र
तेजबहादुर दाइ एक दिन मेरो अफिस आउनुभएको थियो । त्यो दिन अरू पनि कामको चाप थियो । मुद्दाका सबै कागजात बोकेर आएका बृद्धसँग धेरैबेर गफिन पाइएन । त्यसैले 'फुर्सद मिलाएर म आफैं भेट्न आउँछु' भनेर पठाएँ । अर्को दिन बिहान म उहाँको घर पुगेँ ।
पोखरामा रंगशालातिरबाट अमरसिंह चोक नपुग्दै उत्तरतर्फ लाग्ने मोड रक्षामार्गस्थित घर पुगियो । टीबी गुरुङ भनिने यी बृद्ध त्यहाँको टोल संगठनका अध्यक्ष पनि हुनुहुने रहेछ । समाचार आओस् भन्ने चाहनाको कारण रहेछ -'पेन्सन रोकिँदा रोकिनुको कारण खोजेर मुद्दा लड्न हिचकिचाउन नहुने संदेश दिनु ।' करीब २ घण्टा गफियो । कागजात हेरियो ।
लखनउको डिफेन्स कोर्टले दिएको फैसलाको कपीमा एउटा अनौठो लाग्ने कुरा कवि सीबी ल्याङ्स्टनको 'ओल्ड एज' कविता पनि थियो । त्यो कवितामा बृद्धावस्था कति गाह्रो छ भन्ने लेखिएको छ । टीबी दाइकी बडिआमा श्रीकुमारीलाई रामबजारमा भेट्न गइयो । उहाँ निकै उमेर भएका कारण धेरै सुर नपाउने भएसक्नु भएछ । बोल्दा गुरुङ भाषा बोल्ने । केही सोध्न परे आफूले सोध्यो, टीबी दाइ र उहाँकी बहिनी मधुले अनुवाद गरेर भन्दिने । जे होस् कुराकानी भयो । गण्डकी मेडिकल कलेज र भारतीय दुतावासबीच गत वर्ष एउटा सम्झौता भएको थियो । भारतीय सेनाका पेन्सनरलाई स्वाथ्योपचार सेवा दिने बारे । त्यो बेला दुतावासका एकजना कर्नेलसँग भेट भएको थियो । उनले पश्चिमाञ्चलमा मात्रै पेन्सनर नेपालका अन्य भेगभन्दा धेरै भएको बताएका थिए ।
बीचमा एक दिन रिटायर्ड कर्नेल पोखराको माटेपानी बस्ने कमलसिंह गुरूङसँग भेट भएको थियो । भेटमा उहाँले पेन्सनका नियमहरू सरकारले एकथरि बनाएपनि सम्बद्ध अधिकारीले नियममाथि नयाँ नियम बनाएर दिने झन्झटका बारेमा बताउनु भएको थियो । त्यसैले श्रीकुमारीका कुरा २ कारणले रोचक थिए - १. प्रथम विश्वयुद्धसँग सम्बद्ध । २. रोकिएको पेन्सन सुचारु गराउने अदालती आदेश र कविता ।
यो समाचारका प्रमुख सुत्र टीबी दाइको कहानी आफैंमा पृथक थियो । आफ्ना सबै फौजमा भर्ती गएपनि उनी भर्ती गएनन् । पछि बरू भारतीय पेन्सन क्याम्पमै जागिरे भए । ४० वर्ष सह-कोषाधिकारी भएर जागिर खाएपनि उनले पेन्सन पाएनन् । पेन्सन पाउनु पर्छ भनेर आफूजस्ता ४०/४२ जना कर्मचारीका तर्फबाट भारतीय अदालतमा मुद्दा हाले । निकै वर्ष धाए । हारे ।  २ भाइ छोरा सानैछँदा श्रीमतीले छाडेर गइन । दोस्रो बिहे गरेनन्, छोरा हुर्काएर बसे । टोलमा विकासका काममा अघि अघि रहे । जे भए पनि सीमित आकारमा कुरा श्रीकुमारीकै लेख्नुपर्ने थियो । लेखियो ।

यहाँनेर नौलो के थियो भने प्रथम विश्वयुद्धमा मारिनेको पेन्सन परिवारका सदस्यले आजीवन पाउने । दोस्रो विश्वयुद्ध र त्यसपछिका पेन्सनरका परिवारमा श्रीमती वा छोराछोरीले बालिग हुञ्जेलमात्रै पाउने नियम । टीबी दाइका करीव एक डोका कगजपत्रमा केही हेरियो, केही हेरिएन । कुरा जति बुझियो, त्यति नै समाचारमा लेखियो ।
मलाइ अंग्रेजी भाषाका कविहरूबारे त्यति जानकारी छैन । सीबी ल्याङ्स्टनका कविता बारे थाहा पाउन मैले केही जानकारलाई फोन गरेँ, जसजसलाई अंग्रेजी भाषाका कविताबारे थाहा होला भन्ने लाग्यो । केहीले खोजेर बताउने जवाफ दिए, केहीले ल्याङ्स्टन ह्युज हुनुपर्ने जवाफ दिए । तर, मलाइ कविता बारे धेर लेख्नु थिएन । तैपनि गुगल सर्च गरियो । त्यसले कवयित्री ल्याङ्स्टन बारे देखायो, उनका कविताको संग्रह पनि देखायो । 
Armed forces tribunal regional bench, Lakhnow को फैसला कपीमा बृद्धाको पेन्सन रोकेर आमाको अपमान गरिएकाले रोक्नेबाट एक लाख क्षतिपूर्ति अदालतमा जम्मा गर्नुपर्ने उल्लेख थियो । आमालाई कति गाह्रो छ, बृद्धावस्था कति असजिलो हुन्छ भन्ने जनाउन फैसलामा कविता पनि समावेश थियो । श्रीकुमारीको अवस्थाका हिसाबले पेन्सन आउनु/नआउनुले खासै महत्व राख्ने अवस्था थिएन । तर, अधिकार लिन लड्न पर्छ भन्नेमा टीबी दाइको अडान उचित नै लाग्यो ।
कुरा धेरै खालका थिए । श्रीकुमारी, उनका पिता, प्रथम विश्वयुद्ध, तेजबहादुरले नछाडेको अधिकार लिने मुद्दा, पेन्सनका प्रक्रिया । लेख्नका लागि प्रथम विश्वयुद्ध बारे पनि खोजेर पढियो । १९१४ देखि १९१९ सम्म भएको प्रथम विश्वयुद्धको २० वर्षपछि नै दोस्रो विश्वयुद्ध भएको रहेछ । एउटा लेखमा भेटियो, पहिलो विश्वयुद्ध सुरु गर्न जिम्मेवार जर्मन रहेको त्यहाँका इतिहासकार फ्रित्ज फिसरले लेखेका थिए । यसका लागि उनले निकै आलोचना खेप्नु पर्‍यो । इतिहासका केलाउनुपर्ने कुरा धेरै रहेछन् । तर, समाचारमा सबै लेख्न भएन । सीमित शब्दमा श्रीकुमारीकै मुद्दामा केन्द्रीत हुनु थियो । भइयो ।   

Monday, September 5, 2016

कथा भए 'चुरौटे' का कुरा

गाउँमा नब्बे काटेको मियाँ बूढो खोज्नुभो भने सबैले मलाई देखाउँछन्,’ ताप्लेको बजारचोकमै घाम ताप्दै गरेका मन्सुर अलीले भने, ‘९६ पुगें, म जतिकै उमेरको अर्को मियाँ बूढो भेटेको छैन ।’ 
वृद्धभत्ता आउँदा लिन जान्छन्, योबाहेक नब्बे नाघेपछि उनी परिश्रम पर्ने काम गर्दैनन्। तन्नेरी बेलामा डोकामा चुरा बोकेर पहाडका गाउँगाउँ डुलियो,’ उनले भने, ‘मजस्ता धेरै पुराना चुरौटेका सन्तान अहिले यो पेसै गर्दैनन् ।तन्नेरी उमेरमा चुरा बेच्दै हिँडेका स्मृति अब उनका लागि सम्झँदाको रमाइलो सपनाजस्तो भएको छ ।
  ‘अब समय फेरियो’, उनले सुनाए, ‘अचेलका पुस्ता मिहिनेत धेरै पर्ने काम गर्दैनन्, सजिलो पेसा खोज्छन् ।पुरानो पेसाको साटो नगन्य परिवारले शृंगार सामग्रीको पसल चलाइरहेछन् । धेरै परिवारका नयाँ पुस्ता वैकल्पिक पेसामा गएको उनले बताए । मन्सुरका छोराबुहारी दिवंगत भए। तीन भाइ नाति छन् । नाति पुस्ताका कोही पनि चुरा बेच्ने काम गर्दैनन् ।

ताप्ले४ का अब्दुल रहिम मियाँका छोराबुहारी धादिङको सिम्लेमा शृंगार सामग्रीको पसल चलाउँछन् । बाउपुर्खाले गरेको पेसा सबै जातिका नयाँ पुस्तामा फेरिँदै आएको छ,’ उनले भने, ‘अब त चुरौटेका कुरा हाम्रा नाति पुस्ताका लागि रमाइलो कहानीजस्तो भएको छ।पहाड खन्दै बनाइएका सडकसँगै सवारीसाधन पुग्दै जाँदा नयाँ पुस्ताले पढ्ने, वैदेशिक रोजगारीमा जाने र स्थानीयस्तरमै काम गरे पनि पसल चलाउने वा अन्य रोजगारीका पेसा गर्न थालेको उनले बताए। ७२ वर्षीया जमुनी खातुन भन्छिन्, ‘चुरौटेका कुरा अब कथा भए। नयाँले चुरा बेचे पनि पसल खोल्छन्, डुल्दैनन्।
८२ वर्षीय नूर महमद मियाँका चार छोरी विवाहपछि ज्वाइँका घर गए। एउटा छोरा अल्पायुमै बित्यो। श्रीमतीको पनि निधनपछि उनी १२ वर्षदेखि एक्लै छन्। हाम्रो तन्नेरी बेलाको एउटा पेसा चुरा बेच्ने त हो, तर खास पेसा कृषि हो भन्छु,’ उनले भने, ‘म अझै बारी खनिखोस्री गर्छु। अनि त अहिलेसम्म ज्यान केही भएको छैन। चुरा बेचेका जमानाका कुरा अब भुरालाई सुनाउने कथा भइसके ।
ताप्लेकै ७१ वर्षीय जुम्मदिन मियाँका दुई छोरामध्ये कसैले पनि चुरा बेच्ने काम गरेनन्। डोको बोकेर आफूले त चुरा बेचेकै हो, पहिले बाटोघाटो अप्ठ्यारा थिए, घामपानी खप्दै भारी बोकेर हिँड्ने पेसामा जति आर्जन हुन्थ्यो, त्यति नै मिहिनेत पनि पथ्र्यो,’ उनले भने, ‘अहिलेका पुस्ता त्यस्तो काम गर्न चाहँदैनन् ।जेठो छोरा १४ वर्ष कतारमा काम गरेर घर फिरेको सुनाउदै उनले थपे, ‘उसले अहिले चितवनको हुग्दीखोलातिर पसल चलाएको छ, कान्छो छोरा पनि कतार गएर काम गर्न थालेको सात/आठ वर्ष भयो ।वृद्धावस्थामा आफूहरू एक्लाएक्लै परेको उनले बताए। 
मुस्लिम इत्तेहाद संगठन गोरखाका अध्यक्ष समसुद्दिन मियाँका अनुसार समयसँगै पेसा फेरिँदै आएपछि जिल्लामा अब चुरा र शृंगारका सामान बेच्नेमा गैरमुस्लिम बढी भेटिन थालेका छन्। जसरी नेपाली समाज फेरिएको छ, काम गर्न विदेश जाने लहर चलेको छ,’ उनले भने, ‘पहाडिया मुस्लिम समाज त्यो लहरभन्दा कुनै पनि रूपमा भिन्न छैन ।धर्म मान्ने तरिका फरक भए पनि रहनसहन र जीवनशैली अन्य जातजातिकै जस्तो रहेको उनले बताए । इतिहासअनुसार १७ औं शताब्दीको अन्त्यतिरबाट नेपाल पसेर स्थायी रूपमा बसोबास गरिआएका पहाडिया मुस्लिमको पेसा चुरौटेमात्रै नभएको उनले बताए । धेरैले हाम्रो इतिहास नबुझेर चुरा बेच्नेमात्रै ठान्छन् तर, हाम्रा बाउपुर्खा हतियार, गोलाबारुद बनाउन सिपालु भएका कारण राजारजौटाले बोलाएर ल्याएका थिए,’ उनले भने, ‘पहाडिया मुस्लिमको पुरानो बसाइँ खोज्दै गए बाइसेचौबिसे राजाका पालामा हतियार बनाउन आएर बसेको भेटिन्छ । पछिल्लो पेसा कृषि र व्यापार हो।
शाहवंशीय राजाका पालादेखि गोरखकाली मन्दिरमा मुस्लिमले शृंगारका सामग्री चढाउने चलन रहेको जनाउँदै धेरै पहाडिया मुस्लिम परिवारले चुराको व्यापार गरिआएको इतिहास अझै भेटिने उनले बताए । उनका अनुसार गोरखामा पहाडिया मुस्लिमको जनसंख्या चार हजार हाराहारी छ । आरुचनौटे, असराङ, ताप्ले र फिनाममा घना बस्ती छ । जिल्लामा रहेका १४ मदरसामध्ये चारवटामा छात्रावास सुविधा पनि छ। मुस्लिम समुदायका बालबालिका मदरसामा धार्मिक शिक्षा लिनेसँगै सामुदायिक विद्यालय पनि पढ्छन्।
ताप्लेस्थित महालक्ष्मी माविका प्रधानाध्यापक रहमतुल्ला मियाँका अनुसार नेपाली समाजभित्र पहाडिया मुस्लिम कुनै फरक समुदायजस्तो छैन। जसरी समाज मिलेर बसेको छ, त्यसैगरी हामी सबै एकअर्काका लागि ढुंगाको भर माटो, माटोको भर ढुंगाजस्तो छौं,’ उनले भने, ‘भूकम्प आउँदा हामी सबैले मिलेर एकअर्कालाई सघायौं। स्कुलका लागि अस्थायी टहरो पनि बनायौं।धेरै अघि बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर भट्टीमा गाल्दै चुरा बनाउने चलनबारे आफूले सुने पनि देख्न नपाएको उनले बताए। 
म ती पुराना प्रविधि खोजी गरी यहाँको संग्रहालयमा राख्न चाहन्छु,’ उनले भने, ‘समयसँगै समाजमा सबै समुदायका पुस्तापुस्ता पेसा फरक पर्दै जानु स्वाभाविक छ। तर, कुनै खास ऐतिहासिक पेसाबारे नयाँ पुस्ताले जानकारी पाउने कुरा हामीले जतन गरिदिनुपर्छ।’ 

(गोरखाको ताप्ले पुगेर फिरेपछि लेखिएको । कान्तिपुर दैनिकमा १९ भदौ २०७३ मा प्रकाशित)

अपांगमैत्री पर्यटनका चिन्तक

सत्र वर्षको उमेरमा क्यान्सरको सिकार भएका पढाकु युवकले उपचारमा हिम्मत हारेनन् । उपचारको एउटा जोखिम थियो, कि मृत्यु कि शरिरका कुनै अंग बेकामे हुनसक्ने । पहिलो जोखिम टर्‍यो, दोस्रोले उनलाई ह्वीलचियरमा बसायो । 
अमेरिकामा अपांगता भएकाहरूको अधिकारका लागि लड्ने अभियन्तामा अग्रणी उनै डा. स्कट रेन्स् एउटा पृथक कार्यक्रम लिएर चितवनको जगतपुरस्थित टाइगरल्याण्ड रिसोर्टमा प्रवचन दिइरहेका भेटिए । ६० वर्षका यी गोरालाई अमेरिकाको न्यु मोबिलिटी म्यागजिनले सन् २००९ मा 'वर्षव्यक्ति' को उपाधि दिएको थियो । संसारभर अहिले अपांगता भएकाहरूको पर्यटकीय यात्रामा चाहिने पुर्वाधारका लागि वकालत गर्दै हिडेका उनले भने 'मलाई बुद्धको देश आउन मन थियो । आउन पाइयो । यहाँ पनि अपांगतामैत्री प्रयास थालनी भएको रहेछ ।'
कम्मर मुनिका भाग नचल्नेका लागि कतैको पनि यात्रा सहज छैन । अझ ह्वीलचियरबाट बोकेर गाडीमा हाल्दा होस् वा शौच गर्न बस्दा दुवै अवस्था कष्टकर छन् । 'संसारभरका पर्यटक संख्याको १० प्रतिशत कुनै न कुनै प्रकारका अपांगता भएकाहरूको संख्या छ', उनी भन्छन् 'दिमाग ठिक रहेर शरिरका अरु अंगमा समस्या छन् भने मनले अरुजस्तै रहर गर्छन् । हाँस्न मन लाग्छ, हिँडडुल गर्न मन लाग्छ । घुम्न मन लाग्छ ।' यसरी मन गर्नेलाई परिवारका सदस्यले कुनै ठाउँमा चाहिने पुर्वाधार नभएकै कारणबाट पछाडि राखिदिने भएकाले कम्तीमा एउटा स्थान सुरक्षित हुन जरुरी रहेको उनले बताए । 
एक साताका लागि नेपाल आएका उनलाई राजधानीको स्वालम्वन जीवन पद्धति केन्द्रका जोशबहादुर केसीले सघाएका छन् । 'डाक्टरले सकभर आफूले सक्ने काम आफै गर्छन्, नसक्नेमा मात्रै सघाउनु पर्छ', उनले भने, 'अपांगता भएका क्षेत्रका अलि जानकार सबैले उनलाई चिन्दा रहेछन् ।'
अमेरिकाको क्यालिफोर्नियाका यी बासिन्दा लामो समयदेखि अपांगता अधिकारका सवालमा लागि परेका छन् । 'अपांगता भएकाहरूको अधिकारका लागि सपांगको सकारात्मक सोच चाहिन्छ', डा. रेन्स् भन्छन् 'यो एकैपल्टमा परिवर्तन आइहाल्ने कुरा होइन । सरकारी कार्यालय, सेवा दिने निजी क्षेत्र होस् वा सवारी साधन, सबैमा अपांगका लागि के व्यवस्था छ भनेर जसले सोच्छ उसले परिवर्तनमा सघाउँछ ।' हीनताबोध हुने वातावरणले अपांगता भएकाहरूको प्रतिभा र क्षमता तिखार्न नसक्ने भनाइ उनको छ ।
अपांगता मैत्री पर्यटनका लागि संसारभर नाम चलेका उनलाई नेपाल ल्याउने चाँजो फोरसिजन ट्राभल्सले मिलाएको हो । यसका निर्देशक पंकज प्रधानांगले भने 'मैले डा. रेन्स्का बारेमा अनलाइनहरूमा पढेको थिएँ । इ-मेल लेख्दा उनी बुद्धको देश आउन सजिलै तयार भए ।' अघिल्लो वर्षदृष्टिविहीन क्यानडेली जोडीलाई नेपाल टुरको प्रबन्ध गर्दामात्रै पर्यटक अपांग आउँदा सेवा दिने व्यवस्था बारे चासो भएको उनले बताए । 'उनीहरूलाई घुमाएर पठाइयो । अनि त्यसपछि यस्ता पर्यटक आउँदा हाम्रो सेवाको गुणस्तर छ/छैन भनेर चासो भयो', उनले भने, 'त्यही चासोले डा. रेन्स्लाई नेपाल ल्याएर हाम्रा पर्यटन व्यवसायीसँग अन्तक्रिर्या गराउने सन्दर्भ अहिलेको हो ।' उनका अनुसार राजधानीका आधा दर्जन ठूला होटलमा मात्रै अपांगमैत्री पुर्वाधार छ । उनले भने 'आवश्यक छ भनिएन भने बसमा पनि अपांगका लागि सीट राख्ने चलन बस्दैन । यो बुझाउने प्रक्रिया हो ।'  
क्षेत्रीय होटल संघका महासचिव सुमन घिमिरेका अनुसार अलि महंगो लगानीमा खोलिएका होटलले अपांगमैत्री पुर्वाधार राख्ने गरेको बताए । उनले भने 'अब होटलहरूले सबै खालका पर्यटकमा विभेद नहुने पाराको पुर्वाधार बनाउनु आफ्नै स्तर बढाउनु जस्तो हो ।' 

(५/१८/२०१४ मा कान्तिपुरमा प्रकाशित यो समाचार संग्रहका लागि ब्लगमा राखिएको हो)

आज ती दिनको सम्झना 
धेरै कुरा अकारण हुन्नन् । मेरो यी डा. रेन्ससँग कहिलेकाही फेसबुकको च्याटमा कुरा हुन्थ्यो । हिजोआज हुँदैन । यो समाचार लेख्दाको एउटा रमाइलो अनुभव छ ।
त्योबेला म विराटनगरमा पत्रकारिता गर्थेँ ।  जैविक विविधतामाथि काम गर्ने बिद्यार्थीहरूको संस्था स्मल म्यामल फाउण्डेसनले सौराहामा एउटा तालिम आयोजना गरेको थियो । मलाइ त्यसमा २ घण्टाका लागि फोटोग्राफीको कक्षा लिन बोलाइएको थियो । म पुगेँ । चराचुरुंगी, वनवातावरणबारे लेख्न रुचाउने मेरा लागि त्यो यात्रा रमाइलो थियो ।
डब्लुडब्लुएफको सहयोगमा हुन लागेको ५ दिने तालिमका प्रक्रिया चाहिँ झण्झटिला थिए । मलाइ प्रशिक्षक भएर आउन संयोजक सागर दाहाल भाइले निम्तो दिएका थिए । आफ्ना प्रमाणपत्रदेखि नागरिकताको प्रतिलिपि आदि धेरै कागजी प्रक्रिया पुर्‍याउनु परेको थियो । त्यो चाहिँ झण्झटै लागेको हो । तर, राम्रै अवसर थियो । २ घण्टाको कक्षाका लागि २ दिन सौराहाको बसाइँ । पारिश्रमिक पनि ठीकठीकै ।
विज्ञानमा यी विषय पढ्ने स्नातक र स्नातकोत्तर तहका भाइबैनीलाई फोटो कसरी राम्रो खिच्ने भनेर सिकाउँदा नयाँ पुस्तासँग चिनजान हुने र सौराहा पनि घुम्न पाइने दोहोरो फाइदा । चराचुरुंगीकै मात्र फोटो खिच्न रुचाउने मेरा सुनसरीका मित्र यात्रा थुलुङ काठमाडौंमा थिए । उनी बुटवल आउने र हामी दुवै सौराहाको कार्यक्रम सकेर कपिलवस्तु पुग्ने, त्यहाँ सारस खिच्ने अर्को प्लान पनि बनाइयो ।
फेसबुकमा एकजना मेरा मित्र थिए सुमन घिमिरे । घिमिरे भएकाले साथी भएका होइनन्, उनी कवि । संजोग त्यस्तै परो । उनका कवि मित्र निष्प्रभ सजी (कास्की, हेम्जाका । हाल - अष्ट्रेलिया) मार्फत साथी भइयो । हुन त म पनि थोरथोरै साहित्यिक चिजबिज लेख्न मन पराउँछु । सौराहा यात्रामा सुमनजीसँग भेट हुने पक्का थियो । आयोजकले मलाइ गैंडा लजमा बसाए । त्यो टीका गिरी दाइको होटेल रहेछ । हामी पहिले एकपटक कोसी टप्पुमा भेट भएका थियौं । चराबारे लेख्ने बनेर उनले मलाइ चिनेका थिए । अतः गिरी दाइ र सुमनजीसँगको भेट सुखद रह्यो ।
तालिमका क्रममा मेरो कक्षाको पालो सकिएपछि म एक दिन सुमनजीको होटलमा बसेँ । खाली बसेको दिन । सुमनजीले 'जगतपुरको एउटा रिसोर्टमा कार्यक्रम छ जाउँ' भन्नुभो । घुम्न आको मान्छे ! म किन नजानु । गइयो । त्यो कार्यक्रम डा. रेन्सको रहेछ । उनलाई सुनियो । घत पर्‍यो । मैले औपचारिक कार्यक्रम सकिएपछि उनीसँग कुरा गर्न समय मागेँ । करीब आधा घण्टा कुराकानी भयो । अपांग भइकन यात्राको उनको रहर बडो रमाइलो थियो ।  शरीरका अंग सबैका समान होलान् तर, घुमघाम र प्रकृति, वातावरण हेर्ने रहर सबैको उस्तै हुन्छ । पर्यटनकर्मीले सबैका लागि सेवा दिन सक्नेगरि पुर्वाधार बनाउनुपर्छ भन्ने उनको तर्क थियो । उनी आफैं एउटा सहयोगीका साथ थिए । जसले उनको ह्वीलचियर गुडाइदिने, उठ-बस गराइदिने गर्थे ।
सुमनजी र म भरतपुर आयौं । कान्तिपुरको भरतपुर कार्यालयमा बसेर समाचार लेखियो । संयोजक मित्र दीपेन्द्र बडुवालले समाचार पठाइदिनु भयो । म त्यो रात बसेर भोलिपल्ट बिहान बुटवलतर्फ लागेँ । त्यहाँ थुलुङजी आउने कुरा थियो । म सारस खिच्न कपिलवस्तु जान चाहन्थेँ ।
समाचार भित्री पेजमा श्यामश्वेत छापिएछ । बुटवल नपुग्दै केन्द्रीय कार्यालयका एकजना वरिष्ठ साथीको फोन आयो । उनले मलाइ मज्जाले हकारे । उनको भनाइ थियो - 'समाचार विज्ञापनजन्य भयो, ट्राभल्सले लेखाउन लगाएको जस्तो । यस्ता सामान्य औपचारिक समाचार मैले आफ्नो डेटलाइन बाहिर पुगेर लेख्न पाउँदिन । फर्मल रूपमा चितवनकै कसैलाई लेख्न लाउनुपर्थ्यो । कारवाही हुन्छ ।' एक हिसाबले साँच्चै मैले गल्ती नै गरेको थिएँ । गल्ती यो मानेमा की चितवन मेरो डेटलाइन होइन । तर, ट्राभल्सको विज्ञापनजन्य भन्ने तर्कमा म सहमत थिइँन । थोरै वादविवाद जस्तो कुरा भयो । मलाइ उनले 'तुरुन्त विराटनगर फर्कनुस्' भने । म रेन्ससँग प्रभावित भएर ठूलो गल्ती पो गरेछु की जस्तो लागिरह्यो । बसबाट बुटवल उत्रेर मैले थुलुङजीलाई फोन गरेँ ।  भनेँ 'अफिसले विदा नदिने भएकाले म तुरून्त फिर्नु पर्ने भयो, कपिलवस्तु फेरि कुनैबेला जाउँला, यात्रा क्यान्सिल गरौं ।'
अफिसबाट मलाइ जसले फोन गरेका थिए, उनले धेरैपल्ट मलाइ नौलो पाराका लेखाइमा हौस्याएका पनि थिए । लेख्न जाँगर, हौसला बढाइदिने सिनियरसँग इख पाल्ने कुरा केही थिएन । मलाइ लाग्यो, उनलाई कसैले जे भने उनले पनि मलाइ त्यही भने । खबर पढेर त्यसको आशय केलाएनन् । धेरैपल्ट यस्तै हुन्छ ।
दिउँसो बुटवल उत्रिएको म त्यही साँझको गाडी चढेर विराटनगर फर्किएँ । दैनिकी सामान्य भयो । फेरि थर्काउने फोन दोहोरिएन । ती जसले मलाइ हकारेर फोन गरेका थिए, उनैसँग धेरैपटक फेरि अफिसियल कुराकानी हुन्थ्यो, त्यो प्रसंग खै किन हो मलाइ पुनः सुनाएनन् । मैले पनि प्रसंग कोट्याइँन ।
डा. रेन्ससँग फेसबुकमा साथी बनियो । उनका पोस्टमा कमेन्ट पनि लेखियो । कहिलेकाही कुराकानी हुँदैथियो । फेरि लामो समय बित्यो न उनले बोलाए, न मैले ।
आज इमेलका सेन्ट आइटमहरू हेर्दै जाँदा उनको बारेको समाचार पठाएको फेला परो । युनिकोडमा रुपान्तर गरेर ब्लगमा जतन गरेँ । अनि एकपटक गुगलमा उनको नामबाट के भेटिन्छ भनेर खोजेँ । उनी बैशाख १८ अर्थात ३० अप्रील २०१६ मा बितिसकेछन् । उनको वीकीपेडियाको पेजमा उल्लेख रैछ । गुगलले फेसबुकमा डिजेबिलीटी राइट प्रमोसन इन्टरनेसनल सम्बद्ध सागर प्रसाइँको लिंक देखायो । प्रसाइँ डा. रेन्सबाट धेरै प्रभावित रहेछन् । उनले लेखेका रहेछन् 'उनी बाटै सिकेर आजकल म पनि खुब घुम्ने भा'को छु। म पनि पोखरा गए, उनले चढे जस्तै ढुङ्गा चढे र उनको सिको गर्दै "अल्ट्रा फ्लाईट" (सानो प्लेन) मा उडेँ। अर्को पल्ट चितवन जान्छु, सबै कुरा मिले- हात्ति पनि चढ्छु।'

माया प्रेमका अघि नलुक्ने रोग

सेतो छडी, घाँटीमा सिठ्ठी, हातमा डटपेनका प्याकेट। यहाँका बजारको चौरस्तामा भेटिने २४ वर्षीय विष्णु नेपालीले भेटेको सजिलो काम डटपेन बिक्री गर्ने हो । उनको अवस्था देखेर कतिले झट्ट किन्छन्, कतिलाई उनले आग्रह गरे पनि भो अहिले चाहिँदैनभन्छन् । 
कास्कीको चापाकोट ३ का विष्णु जब स्नातक तह पढ्न पृथ्वी नारायण क्याम्पस भर्ना भए । उनको भेट बागलुङको तित्याङकी डिलमाया नेपालीसँग भयो । दुवै मायाप्रीतिमा बाँधिए । मागी विवाह गरे । दुवैले एकअर्कालाई लुकाएका कमजोरीले अहिले जीवनको गाडी संकटको घडीबाट गुज्रिरहेको छ । डिलमायाको घाँटीको हाड खिएको छ । लगातारको उपचारले पनि उनलाई सञ्चो भएन । बेलाबेला बेहोस हुने समस्या लिएर अस्पताल पुगेका विष्णुलाई चिकित्सकले डिप्रेसनभनेर औषधि दिए । त्यसको सेवन दैनिक टुटाउन मिल्दैन                                               

दृष्टिविहीन यी दम्पतीलाई अहिले बिहानबेलुकाको छाक टार्न समस्या छ । कुन स्रोतबाट उपचार खर्च जुटाउने भन्ने पिरोलो त्यसैमा थपिएको छ । पोखराको अर्चलबोटमा डेरा गरी बस्छन् । गिर्खा देखिएपछि डिलमायाको ६ वर्षअघि स्तनको शल्यक्रिया भएको थियो । त्यसयता बेलाबेला छिटोछिटो मुटु ढुकढुक गर्छ । घाँटीको समस्याले टाउको राम्ररी उठाउन सक्दिनन्। तीन महिनादेखि उनको महिनावारी बन्द भएको छ । सुरुमा गर्भ रहेको कारण त्यसो भएको अडकल काटे । पिसाब जाँचले होइनभन्ने रिपोर्ट दिएको छ । दुवै आत्तिएका छन्। मेरो त जसोतसो चल्दैछ डिलमायाको उपचार गराउन हाम्रो हैसियतले भ्याएन,’ विष्णु भन्छन्, ‘हामीले बिहेअघि दुवैका कमजोरी एकअर्कालाई भनेका थिएनौं । तर, अबचाहिँ एकअर्काको रोगसँग परिचित भएपछि निद्रा पर्न छाडेको छ चिकित्सकले राजधानीको राम्रो उपचार केन्द्रमा डिलमायाको घाँटीको हाडको उपचार गराउन लैजान सुझाव दिएका छन् । अल्पकालीन औषधि चलिरहेको छ । विपन्न परिवारका यी दुवैले खान्कीभन्दा औषधिमा धेरै खर्चनु परिरहेको छ । 
विष्णु जन्मजात दृष्टिविहीन होइनन् तीन वर्षको छँदा टाइफाइडले सिकिस्त भएका थिए। त्यसै बेलादेखि दुवै आँखाको ज्योति घट्दै गयो। पूरै देख्न छाडेपछि उनले उपचार गराएर पुन: हेर्न पाउने आश गरेका थिए । तर, ज्योति फर्किएन। यतिबेला डिलमाया विष्णुसँगै डटपेन बेची हिँड्न नसक्ने भएकी छन् । म डिलमायाको उपचार गराउन चाहन्छु,’ बुधबार विष्णुले भने, ‘तर, डटपेन बेचाइले काठमाडौं जान र उनको उपचार सम्भव छैन ।

(१९ भदौ २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित)