Monday, September 13, 2021

ट्याक्सी

अस्पतालबाट डेराको यात्रा आज जसोतसो प्रबन्ध भयो ।  हामीहरु केही कुराको प्रतीक्षा गर्छौ ।  प्राप्तिसँगै पट्यारलाग्दो त्यो प्रतीक्षाको समयलाई बिर्सन्छौं । आज त्यसैगरी नबिर्सन ब्लगमा लेखिराखेको । कोठामा आइसकेपछि लागेको के हो भने यस्तो त अरुलाई पनि पर्छ। ट्याक्सी कसरी व्यवस्थापन हुँदो होला ?

गत साता श्रीमती र छोरालाई कोभिड-१९ को संक्रमण भयो । छोरालाई खासै शारीरिक समस्या देखिएन,
श्रीमतीलाई भने यो रोगले निकै दु:ख दियो । भएको के थियो भने उनी एउटा विवाह समारोहबाट स्कुटर कोठा फर्किँदा वर्षामा भिजेकी थिइन । ज्वरो आयो, रुघा लाग्यो । हामीले ठान्यौं -भिजेका कारणले हुनुपर्छ। ३/४ दिनसम्म पनि सञ्चो नभएपछि हामीले कोभिड पनि हुनसक्ने शंका गर्दै घरमा सतर्कता अपनायौं। निको नहुनु, ज्वरो र रुघाखोकी लम्बिनु, जिउ दुख्नु, खान मन नलाग्नु आदि लक्षण हाम्रा परम्परागत मौसमी रुघामर्कीका हुन् भन्ने सुनिआएको हो । तैपनि  एकपटक कोभिड टेस्ट गरि हेरौं भन्ने सल्लाह गरियो । 

अघिल्लो आइतबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गराउन पुग्यौं । एक्सरे पनि गरायौं । पीसीआरको रिपोर्ट बेलुकी ८ बजे एसएमएसमा आयो - कोरोना पोजिटिभ । त्यही रात छोरालाई पनि ज्वरो आयो । मैले भोलिपल्ट उसलाई अस्पताल पुर्‍याएँ । उसको पनि रिपोर्ट पोजिटिभ।

छोरालाई जँचाउन जाँदा मैले श्रीमतीजीको एक्सरे रिपोर्ट लिएँ, ओपीडीमा देखाएँ । डाक्टरले उनलाई निमोनियाका सामान्य लक्षण सुरु भएको संकेत गरे । भने 'फोक्सोमा सेता दाग देखिन थालेका छन्। लेखेको औषधि खुवाउनुस् । झोल पदार्थमा बल गर्नुस् । आत्तिनु पर्दैन।'

मंगलबार श्रीमतीजीको अक्सिजन लेवल घट्यो । अक्सिमिटरले सामान्य अवस्थामा हाम्रो शरीरमा अक्सिजनको मात्रा ९४ देखि ९७ सम्म देखाउने रहेछ । उनको ९३ देखायो । खोकी बढ्यो । दमको समस्या भए जसरी सास फेर्न थालेपछि मैले उनलाई पीसीआर गरेकै अस्पतालको आकस्मिक कक्ष पुर्‍याएँ । तर त्यहाँ त्यतिबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले 'अवस्था गम्भीर होइन, घर जानुस्' भने । ५/६ मिनेट पैदल हिड्न लगाएर अक्सिजनको मात्रा जाँच्दा मेसिनले ९५ देखाएपछि उनीहरुले खोकी कम गर्ने औषधि लेखिदिएर पठाएका थिए । भनेका थिए - 'अक्सिजनको मात्रा ९० भन्दा तल गयो भने आउनुस् । हामी गम्भीर बिरामी हेर्छौ। उहाँको अवस्था गम्भीर छैन ।' डाक्टरका कुरा प्रतिवाद गर्न भएन । तर श्रीमतीजीलाई गाह्रो भइरहेको थियो। तैपनि हामीलाई लाग्यो - डाक्टरले भनेको मान्नु ठीक । औषधि लैजाउँ, कसो बिसेक नहोला ।

बिसेक भएन । अक्सिजन लेवल ८५ मा झरेपछि बिहीबार सवेरै हामी फेरि त्यहीँ पुग्यौं । यसपटक स्वास्थ्यकर्मीले सतर्कतासाथ उपचार सुरु गरे । अक्सिजन सपोर्टमा राखियो । छातीको एक्सरे, रगत र पिसाब जाँच गर्न लगाए । निमोनिया निकै बढिसकेको थियो । अस्पतालमै भर्ना गरेर उपचार सुरु भयो ।

कोभिड जनरल वार्डमा  चार रात, पाँच दिन बिते । कसरी कसरी र त्यसबेला केके देखिए भन्ने पछि अर्को गफ गरौंला । मलाइ यतिबेला ट्याक्सीका कुरा लेख्नु छ ।

***

हिजो नै डाक्टरले 'घर लैजानुस्, अब आत्तिनु पर्दैन' भनेका थिए ।  जब जब अक्सिजनको पाइप झिक्यो, खोकी बढ्न थालिहाल्ने अवस्था कम भएको थियो । तर फेरि जोखिम कसरी लिने ? हामीले एक रात बिना अक्सिजन सपोर्ट अस्पतालमै बस्ने, अवस्था बिग्रिएन भने मात्रै  डिस्चार्ज लिने निर्णय गर्‍यौं ।

आज डिस्चार्ज लिइयो । दिनको करिब १ बजे डिस्चार्ज पेपर तयार भएपछि म ट्याक्सी खोज्न थालेँ । सुरुमा आफ्नो डेरा छेवैका एकजना गुरुजीलाई फोन गरेँ, जसले अघिल्लोपटक अस्पताल ल्याइदिएका थिए । उनले यतिबेला काँडाघारीतिर रहेकाले नभ्याउने अवस्था रहेको सुनाए । अस्पताल आएका धेरैजसो ट्याक्सीहरुलाई सोधेँ,  उनीहरु जसलाई लिएर आएका थिए, उनीहरुलाई नै लिएर फर्किने भेटिए । खाली भेटिएका २/३ वटाले बिरामी नबोक्ने जवाफ दिए । 

*** 

कोरोनासँग डराउनु पर्छ, सही हो । सतर्कता अपनाउनै पर्छ भन्नेमा दुबिधा पटक्कै राख्न हुँदैन । तर मैले घर लैजान लागेको व्यक्तिलाई संक्रमणको लक्षण देखिएको १४ दिन पुगिसकेको थियो । अस्पतालले 'घर लानू' भनिसकेपछि बिरामीको अवस्था अब रोग सार्ने थिएन ।  तर ट्याक्सी मानेनन् ।

निको भएकालाई एम्बुलेन्समा लैजाने कुरा पनि भएन । 'पठाओ' को सम्झना भयो । मोबाइल एपमा त्यसबाट ट्याक्सी खोजेँ । तुरुन्तै पाइयो । अर्डर कन्फर्म गर्नुअघि पठाओले कोभिड संक्रमित हो/होन पनि सोध्दो रहेछ । हामी संक्रमणमुक्त थियौं । त्यही अप्सन छनोट गरियो ।  हामीलाई लैजाने चालक र गाडी नम्बर देखायो । ट्याक्सी आउनेमा ढुक्क भयो । भाडा ३६९ रुपैयाँ पनि देखाएपछि अघिल्लोपटक आउँदाको भाडासँग तुलना गरेँ । महंगो होइन ।

बिरामी र पोको पारेका झोलाहरु  बाहिर निकालियो । वार्डबाट बाहिर आएर आकस्मिक कक्ष छेउ झोला बिसाएर ट्याक्सीको प्रतीक्षा थालियो । अचानक मोबाइलमा पठाओको एपले म्यासेज देखायो - 'राइडर ह्याज क्यान्सिल ।' (चालक जान मानेनन्)

*** 

अब फेरि अघिकै अप्सन ट्राइ गर्नुको विकल्प रहेन । म अस्पतालको गल्ली छाडेर त्रिपुरेश्वर-कालीमाटी मूल सडकमा आएँ । अस्पतालले डिस्चार्ज गरेको बिरामी बोक्छु भन्ने ट्याक्सी खोज्न निकैबेर लाग्यो । बल्ल बल्ल एउटा ट्याक्सी सहमत भयो । तर चालकले कोरोना सर्ने अवस्था हो/होइन भन्नेमा निकै केरकार गरे । 

जे होस् उनले गुँडमा पुर्‍याइदिए । फर्केपछि सोच्दैछु- कोरोनाले सबैतिर गाँजेको छ । जुनसुकै अस्पतालमा बिरामी बग्रेल्ती छन् । ट्याक्सी नपाइने समस्या अरुतिर पनि होला की नहोला ?

Thursday, August 26, 2021

के हामी आफूलाई चिन्छौं ?


 

अब मैले छाडेँ साधु गुरु र गोपाल दासको प्रवचन् सुन्न । सजिलो छ, हातमा मोबाइल, घर र अफिसमा कम्प्युटर । युट्युब खोल्यो, सुन्यो । 

यो संसार बडा अनौठो छ, इन्टरनेटले जे खोज्न, पढ्न वा हेर्न खोज्यो, तिनका लिंक सजिलै बताउँछ। खोज्न, हेर्न सजिलो पारेको छ। 

साधु गुरु बडा अच्छा कुरा गर्छन् । गुरु गोपाल दासका कुरा पनि रमाइला । यसो यसो गरे जीवन सफल हुन्छ । यसो यसो गर्न हुँदैन । हामी के गर्दैछौं, किन र कसरी ? खासमा हाम्रो बुझाइ साँघुरो छ, त्यसको दायरा बढाउनु पर्छ । जीवन चलाउन पैसा चाहिन्छ । यसो गरे पैसा पाइन्छ । पैसा भए मात्रै जीवन सफल हुँदैन । हाम्रा सुख, हर्ष-विस्मात यसकारण हुन्छन् । 

ओहो ! तिनका कुरामा के छैन ? सबैथोक छ । सुन्न आनन्द, सुनाउन झन् आनन्द ।

एपिसोडपिच्छे उनीहरुलाई सुनिरहँदा एकदिन लाग्यो- यिनीहरु किन राम्रा कुरा मात्रै गर्छन् ? किन मान्छेका बानी सपार्ने, राम्रो जीवन जिउने सूत्र बताउँछन् ? अनि फेरि लाग्यो- जसले जे काम गरिरहन्छ, उ पोख्त हुन्छ। राम्रो गर्छ । नियमित प्रवचन दिइरहने कोही पनि कटु बोल्दैनन्, नमिठो बोल्दैनन् । यो सही हो, उनीहरु कामै प्रवचन् दिने गर्छन्- अनि नगरुन् त रसिला कुरा !

साधु गुरु यतिबेला हुम्लातिर मानसरोवर हेर्न गएका रैछन् । समाचार पढ्न पाइयो । ती भीआइपी साधु हुन् । उनलाई केही कमी छैन । घुम्न-खान, आनन्दले निदाउन पुग्यो भने मान्छेले दु:खका कुरा गर्दैन । किनभने जे व्यहोर्नु पर्दैन, त्यसबारे सोचेर-बोलेर किन टाउको दुखाउने ! 

एउटा कुनै परिकार बनाइरहनेले छिटो र मिठो बनाउँछ । धेरै तरिकाबाट बनाउन जान्दछ, जो एकाधपटक मात्रै अभ्यास गरेकाको ल्याकतको कुरा हुँदै होइन । उसको रेसिपीको हामी तारिफ गरौं तर बिर्सन नहुने के हो भने उ त्यही गर्छ, राम्रो गर्दैन भने किन पो गरिरहन्थ्यो ।   

युट्युबका भिडियोमा बेला बेला  विज्ञापन दौडन्छन् । अँ साँच्चै भिडियोले पैसा दिन्छन् । जति धैरैले हेरेको छ, त्यसको गणना हुन्छ। यो छुट्टै कुरा हो की हजारौं, लाखौं भिडियोमा भ्युअर कसका कति होलान् । तर मानिसलाई जीवन सफल बनाउनु छ । खुसी र सुखी भएर बाँच्नु छ । सबै खालका कन्टेन्टका खास खालका दर्शक छन् । त्यसैले युट्युबमा अपलोडर धैरै खालका छन् । 

साधुहरु प्रवचनबाट कमाउँछन्- अनुयायी, स्रोता-दर्शक र पैसा ।  हामी के कमाउँछौं ? ज्ञान त्यसै पाइन्छ भन्नुहोला । यो पनि सही हो । तर हामीले हाम्रो समय गुमाएका छौं । थोर थोरै सही, पैसा पनि गुमाएका छौं ।

अनि यसपछि यिनीहरुका प्रवचनमाथिको मेरो मोह भंग भयो । मैले सुन्न छाडेँ। त्यसै पनि मलाइ धेरै अघिदेखि लाग्दै आएको हो- मननीय भनाइहरु भित्तामा कोरिएको सुन्दर देखिन्छ, मान्छेले अनुसरण गर्दैनन् । जसले गर्छु भन्छ, ढाँट्छ । यो कोरोना महामारीको त्रासको समय हो । सिनेमाघर बन्द छन् । भेला-जमघट विरलै मात्र छन् । हामी ले भेला हुन बिर्सनु परेको छ।  हाम्रो दिनचर्या बिथोलिएको छ । बिथोलिनुलाई नै हामीले रुटिन बनाएर सामान्यीकरणको प्रयास जारी राखेका छौं । आफैंलाई लगाउन मन पर्दैन तर अरुलाई सोध्छौं- तपाइँको मास्क खोइ ?  

परामर्श मनोविज्ञानको कक्षामा अस्ति सरले भन्नुभो- 'मान्छेले अरु कस्तो छ भन्ने फरर भनिदिन्छ । आफू कस्तो हुँ भन्ने जानेकै हुँदैन। आफूलाई जान्न खोज्नेहरु अरुका विषयमा कम बोल्छन् । धैरै सुन्छन् ।' यो मलाइ प्रवचनकै अंश जस्तो लाग्यो । हो पनि । 

हरेकलाई अरुका बारेमा चासो छ । को के गर्छ, किन गर्छ, बानीबेहोरा कस्तो ? अनि यहाँ सकारात्मक कम, नकारात्मक कुरामा बढी चासो हुन्छ । समाज  किन यस्तो हुन्छ ? हामी किन त्यस्तो हुन्छौं ? विचार गर्नुपर्ने थुप्रै कुरा छन् ।  कोही किन त्यस्तो छ ? तपाइ-हामीले व्यहोर्नु वा कुनै किसिमको सम्बन्ध-सम्पर्क गर्नु छैन भने 'नजाने गाउँको बाटो नसोध्नू' लाई अनुसरण गर्नुपर्ने हो । त्यो हुन सक्छ । 

तर हामीलाई आफ्नो बानी थाहा हुन्छ । हामीलाई के र कस्ता अवस्थाले खुसी, दु:खी र आवेशमा ल्याउँछ भन्ने पनि हेक्का हुन्छ । ज्ञान दिन बडा सजिलो छ । हिन्दी फिल्म 'सिंघम' मा एउटा डाइलग छ, थानामा आएको भिलेनको चम्चालाई भकुरेर हिरासतमा थुनेपछि 'छाडि दे' भन्न आएको डीएसपीलाई इन्सपेक्टर अजय देवगनले भनेको -' मेरी जरुरतें कम है, इसलिए मेरी जमीर मे दम है ।' 

सिनेमाको कथा समाजबाटै टिप्ने हो । अनि संवाद लेख्ने पनि स्वाभाविक लाग्ने नै हुन्छन् । त्यो हो त सिनेमाको डाइलग , मलाइ यसलाई धेरै कोणबाट व्याख्या गर्न सकिन्छ । मान्छेलाई आवश्यकताले दौडाउँछ । मेहनत गराउँछ । हाम्रा आवश्यकता जति कम हुन्छन्, तनाव पनि कम हुन्छ । 

हाम्रा आवश्यकताहरुको पनि प्रकारलाई वर्गीकरण गर्नुपर्छ । भान्सालाई सामान चाहियो भने किराना पसल र डिपार्टमेन्टल स्टोरमध्ये कहाँ जानु हुन्छ ? किरानामा गए केके चाहिन्छ, त्यही त्यही ल्याइन्छ । डिपार्टमेन्टल स्टोरमा पसे चाहिने त ल्याइन्छ तर साथमा नल्याउँदा हुने सामान पनि बोकिन्छ । कारण जुन ढोकाबाट हामी पस्छौं, त्यहाँ हामीलाई नबोक्दा पनि हुने सामान बडो गज्जपले सजिएर आकर्षित गरिरहेका देखिन्छन् । 

त्यसैले  हाम्रा आवश्यकता बानीमा धेरै निर्भर गर्छन् । के चाहिन्छ, किन चाहिन्छ, के हामी त्यही मात्रै गर्छौ जे आवश्यक हो ?   

मनोविज्ञानले भन्ने गरेको मान्छेका दुई गुण बारे मैले धेरै अघि पनि लेखेको छु- जन्मजात र अर्जित । आवश्यकताहरु मात्रै होइन गुण, बानीबेहोराले हामीलाई खर्च गर्न सजिलो-अप्ठ्यारो पार्छ ।  हामीलाई आफ्ना बानी असल छैनन् भन्ने अन्त मनबाट थाहा हुन्छ । अलिकति आडम्बर, अलिकति बनिसकेको इमेजमा अरुले के ठान्लान् भनेर कमसल बानीलाई असल भन्ने वकालत हामी छाड्दैनौं । 

समय यस्तो छ की मान्छे आफ्नो क्षमता, पौरखलाई माझ्नुभन्दा अरुको खोट देखाउँदा आफ्नो जय हुन्छ भन्ने ठान्छ । हरेकलाई अरुमा कमजोरी मात्रै देखाउनु छ । कसैका प्रशंसा गरिहाले पनि वक्ता चाहन्छ- त्यो प्रशंसा पाउनेले म प्रति अनुगृहित हुनुपर्छ, मलाइ मान्नुपर्छ ।  

मनोविज्ञानको कक्षा आफूलाई चिनाउँछ । आफैंप्रति सशंकित पनि बनाउँछ । आफूलाई सामान्य बनाएर समाज र असमान्यतालाई हेर्न सिकाउँछ । अभ्यास जारी छ ।

दुइटा होमवर्क पेन्डिङ छन् । लेख्ने बानी बनाउनु छ । रमाइला कुरा फेरि फेरि ब्लगमा जतन गरम्ला ।

अरू पछि लेखौंला ...

Wednesday, January 13, 2021

एटीएम

 हिजो राति एक जनाले अनलाइनमा रिवल्विङ चियर सेलमा राखेका थिए । कुर्सीको फोटो हेर्दा दाम अलि अपत्यारिलो तरिकाको सस्तो लाग्यो । बजारमा पाइनेमा आधाभन्दा पनि सस्तो । 

च्याटमा सोधेँ - तपाइँले भनेकै दाम हो ?

धेरैबेर उत्तर आएन । मलाइ लाग्यो उताको मान्छेलाई मोबाइलमा टाइप गरेर जबाफ दिन गाह्रो परेको हुनुपर्छ। अनि लेखेँ- तपाइँको नम्बर दिनुस् ।

उनले दिएको नम्बरमा कुराकानी भयो । उनले पाइने ठेगाना बताए।

आज छोरालाई मोसामा पछाडि राखेर म कुर्सी किन्न जाने भएँ । राम्रो पाए अरु साथीहरूका लागि पनि लिइदिने गरी । 

बैंक पुगेँ। कार्ड छिराएपछि एटीएममा सूचना देखियो - 'तपाइँले सीमाभन्दा बढी कारोबार गरेकाले अब पैसा दिन सक्दिन।'

जिन्नगीमा कैल्यै नदेखेको सूचना ! 

बाहिर निस्केँ । गार्डलाई सोधेँ - बैंकले खातामा होल्ड गर्ने पैसाको अंक बढाएको हो ? मलाइ त सीमा नाघ्यो भन्छ एटीएम !

गार्ड- सीमा ५ लाखको हो । तपाइँले एक महिनामा त्यति झिकिसक्नु भो होला ।

म - छैन । कहाँ झिक्नु त्यति ! 

गार्ड -  भित्र स्टाफलाई सोध्नुस् ।

बैंक पसेँ । सामाजिक दुरीको लफडाले बैंकभित्र तीन हात परै रोकियो । परैबाट महिला कर्मचारीलाई भनेँ - मलाइ एटीएमले सीमा नाघ्यो भन्यो । खातामा कतिसम्म राखेर एटीएमले पैसा दिन्छ ?

उनी बडो रुखो पारामा बोलिन् - ५ लाख झिकिसक्नु भो होला । त्यो भन्दा बढी एक महिनामा निकाल्न मिल्दैन एटीएमबाट ।

म- मैले झिकेको छैन । अनि मिनिमम ब्यालेन्स कति हुनुपर्छ ?

बैंक कर्मचारी - ५ सय राखेर बाँकी निकाल्न मिल्छ ?

म - मैले सीमा नाघ्ने झिकेकै छैन । अनि मेरो कार्डमा किन एटीएमले त्यसो भनेको ? चेक गर्दिनु हुन्छ ? 

बैंक कर्मचारीले रिसाएको पारामा हेर्नुभो, रिप्लाउनु भएन ।

उहाँको मुद्रा देखेर फेरि सोध्न मन लागेन।

बाहिर निस्कँदै गर्दा देखियो, भित्रबाट प्राविधिकहरूले त्यो एटीएम खोलखाल पर्दै रहेछन्। अनि भित्रको गार्डलाई सोधेँ - के हुँदै हो?

उनी बोले - एटीएमले काम गरिरहेको छैन । मर्मत चल्दैछ ।

काम त गर्दै थियो, त्यो सूचना दिने ! कारण त्यस्तो रहेछ ।

अनि दुई किमि पर्तिरको एटीएम पुगियो । त्यसले अघिल्लो जस्तो सूचना देखाएन ।