पोखरा उपत्यका हेर्न लागि पाँच दसकअघि नै भ्यु टावर निर्माण गरिएको डाँडा पोखरेली पर्यटकीय क्षेत्रका पथप्रदर्शककै उपेक्षामा परेको छ ।

पोखराका फाँटहरूमा खेती गरेर डाँडामा बसोबास उपयुक्त छ भन्ने स्व. मेजर वीरसिंह गुरूङको भनाइलाई योजनाकारहरूले पच्छ्याएको भए यतिबेला महानगरको स्वरुप नै बेग्लै हुन्थ्यो । अहिले डाँडामा फाट्टफुट्ट बस्ती छन्, महानगरको अन्न उत्पादनका लागि उर्वर मानिएका क्षेत्रमा बस्ती विकास तीव्रतर भइरहेको छ । धान खेती हुने फाँटहरू धेरैमा घर बनेका छन्, कतिपय प्लटिङपछि घडेरीमा परिणत भएर बाँझो बसेका छन् ।
विस २०२६ सालमै भ्यु टावर निर्माण भइसकेको काहूँडाँडालाई अहिले पनि पोखरा मन पराउने घुमन्तेहरू धेरैले राम्ररी चिनिसकेका छैनन् । न त पर्यटक डुलाउनेहरूले यो ठाउँ जान कसैलाई सिफरिस गर्छन् । 'लेकसाइडले पोखराभित्रै पर्यटकीय क्षेत्र कहाँ कहाँ छन् भनेर घुम्ने ठाउँ सिफारिस गर्दा काहुँ डाँडा कहिल्यै प्राथमिकतामा परेन,' पोखरा-११ का वडाध्यक्ष मोहन बास्तोला भन्छन्, 'तर, यो यस्तो डाँडा हो जहाँबाट मौसम खुलेका बेला पोखराका सबै ३३ वटै वडाका कुनै न कुनै भाग देख्न सकिन्छ ।' सडक पूर्वाधार निर्माणको काम भइसकेकाले अब काहूँ डाँडालाई घुमघामको थलो बनाउन स्थानीय लागिपरेको उनले बताए ।

त्यसो त वडास्तरका जनप्रतिनिधिहरूले डाँडामा नयाँ अत्याधुनिक भ्युटावर निर्माण गर्न गुरुयोजना तयार पारिसकेका छन् । 'हामीले त्यसको मोडेल हाम्रो प्रदेशका पर्यटन मन्त्रीलाई सुनाइसकेका छौं,' वडाध्यक्ष बास्तोलाले भने, 'प्रदेश सरकारले प्रदेश राजधानीमा भ्युटावर बनाउनुपर्छ भनिरहेका बेला हाम्रो मोडल उपयुक्त हुनसक्छ भनेर योजना बनाएका हौं ।' डाँडामा सजिलै पुग्न सकिने कालोपत्रे सडक बनिसकेको र गुराँस पनि हेर्न पाइने क्षेत्र भएकाले योजनालाई प्रदेश सरकारले अघि बढाउनेमा आफूहरू आशावादी रहेको उनले बताए ।
पोखरामा फूलवारी र रानीपौवाबाट पुग्न सकिने काहूँडाँडामा यसपटक स्थानीय जनकल्याण क्लव र फूलवारी क्लवको अगुवाइमा मंसिर २८ देखि डेढ साता महोत्सव हुने भएको छ । 'हाम्रो महोत्सव नाफामुखी नभइ यो क्षेत्र चिनाउने प्रयास हो,' महोत्सव संयोजक दामोदर आचार्य भन्छन्, 'हामीले हाम्रा स्थानीय उत्पादन र डाँडाबाट केके देखिन्छन्, त्यसको प्रचार गर्छौं ।' आफ्नो गाउँठाउँ प्रचारका लागि गर्न लागेको महोत्सवले पर्यटकीय क्षेत्र विकासका योजना बनाउनेहरूको ध्यानाकर्षण गर्ने उनले बताए ।
(२१ मंसिर २०७५ मा कान्तिपुरको गण्डकी प्रदेश संस्करण पृष्ठमा प्रकाशित)