Sunday, December 14, 2008

पोहर यो बेला























कहिल्यै आर्टिकल लेख्न जानिन । कारण , सम्पादकको एसएमएस सम्झन्छु - बी एनालिष्ट , नट इमोसनल । दुइपटक यस्तो एसएमएस पाएपछि मैले कोरेर आर्टिकल भन्न रुचाउने शब्द जाललाइ सम्पादककहाँ मेल गर्न ठीक ठानिन । म सुध्रन सकिन । लाग्दैन मान्छे भावुक भएन भने यात्रा संस्मरण र पठनीय फिचर तयार पार्न सक्छ । मैले आफुमा सुधार ल्याउन नसकेको होला । तर, लेख्न छाडिन ।
लेखे । अनि आफैसँग राखे । फोटो पत्रकारिताका लागि सम्पादकले दिने हौसला नै मेरा लागि उतम होला भन्ने लागिरह्यो । अनि फोटो , फोटो अनि फोटो भन्दै सिक्ने क्रम जारी छ । यद्यपि मलाइ लेख्न मन लाग्छ । अनि फेरि सम्झन्छु त्यो एसएमएस ।
मनोविज्ञान सामान्यीकरणको एउटा सिद्धान्त बारे ब्याख्या गर्छ । त्यसमा भनिएको छ -हरेक मान्छेले आफुलाइ समान्यीकरण गरेन भने त्यो रोगी हुन्छ , मनोरोगी । जस्तै -चिकित्सकले अंगभंग भएर उपचारमा ल्याइएकालाइ देखेर आतिनु हुदैन । चोट कहाँ छ । उपचार कसरी थाल्ने । अनि के के चाहिन्छ भन्ने सोच्न थाल्नु उसको समान्यीकरण हो । अनि पत्रकारितामा पनि यो लागू हुन्छ । मनोविज्ञानको यो सिद्धान्त मैले पढेको हो । सामान्यीकरणको अभ्यास नगरेको पनि होइन । तर दुइपटक एउटै सन्देश भएको एसएमएसले मेरो दक्षता लेखनमा अघि बढ्छ भन्नेमा ब्रेक लगाएको ठान्छु ।
अहिले म काठमाडौंमा छु । पोहर यतिबेला म पूर्वको कर्णाली भनिने खोटाङ जिल्लाको यात्रामा थिए । अहिले फुर्सदमा बसेका बेला त्यो संस्मरणलाइ अपलोड गरेको छु ।
लामिडाडा, सुन्तला र हवाइजहाज
प्रतीक्षा । नामले नै दिक्क लाग्दो शब्द । गत वर्ष यही बेला दुइ साताको खोटाङ यात्रापछि विराटनगर फर्कने दिन नजिकिदा दिक्क लाग्दो शब्दको सामना मजाले नै गरियो । सम्झन्छु अहिले , त्यो साताको शनिवार दिउँसो दिक्तेलबाट लामिडाडा विमानस्थल पुग्दा साँझ परेको थियो । समूहका छ जनाले त्यहाँबाट आइतवार विहान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको गुन्द्रुके जहाजको यात्रा घर फिर्ने तय थियो ।
लामिडाडामा नेपाल एयरलाइन्सले साताको दुइपटक विराटनगर-काठमाडौं र निजी क्षेत्रको यति एयरले दुइपटक राजधानीका लागि उडान गर्ने रहेछन् । स्थानीयवासी र यात्रुका अनुसार यो एयरलाइन्सका उडान धेरैपटक रद्द हुने गरेको रहेछ । । यसको कारणमा कहिले मौसमको खराबी र धेरैपटक सीमित संख्याको जहाज र त्यसले धेरै उडान भर्नुपर्ने भएकाले समस्या आउने गरेको रहेछ । जहाज आउने नआउने जान्न बेलुकी नौ बजे रेडियो नेपाल सुन्ने परम्परा यहाँ रहेछ ।
हामीलाई पनि पहिलो गाँसमै ढुङ्गा लाग्यो । कारण आइतवार सो जहाज नआएर होइन । अघिल्ला उडानमा जाने भनेर नपाएका यात्रुको भीड लामिडाडाका घरेलु होटलहरुमा देखियो । दुइवटा टिकट दिक्तेलबाटै 'कन्फर्म' अनि दुइका लागि खोटाङ जिल्ला प्रशासनको पत्र भएपनि फर्कने तीथि अनिश्चित भयो । आइतवारको उडानले अघिल्लोपटक उड्न तयार भएरपनि नपाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेको थियो । अनि उतिकै संख्यामा विरामी र तिनका आफन्त जहाजको प्रतिक्षामा देखिए । असक्त र उनीहरुको उपचारका लागि हिडेकाहरु देख्तादेख्दै 'हामीलाई उडाउनोस्' भन्न सक्ने स्थिति भएन ।
पहिलो रात बितेपछि हाम्रो समूह विमानस्थल नजिकको चाम्लिङ होटलमा सर्‍यो । कारण , टिकटका लागि हुने चहलपहलमा चाडो भेला हुन सकियोस र तत्काल उड्ने मौका मिले कुदेर जान सकिने स्थिति बनोस् । यात्रामा हाम्रो मोबाइल निदाएको थियो । अनि समूहमा रहेका एक जनाको स्काइ फोनले कतै कतै टिप्दै थियो । घरमा छोरो बिसञ्चो भएको खबर । अनि अफिसमा पनि आफु बाहिर हिडेका बेला हुने खोजीले के भयो होला भन्ने भएपछि फर्कन मन हतारिएको थियो । हामी उदयपुरको घुर्मीबाट सुनकोसी तरेर पैदल खोटाङ पुगेका थियौ । फर्कनका लागि फेरि उस्तै यात्रा गर्ने जाँगर थिएन ।
लामिडाडाको बनोट पूर्वमा पाचथरको सदरमुकाम फिदिमसग झण्डै मिल्न खोज्ने प्रकारको रहेछ । तर, यसका पश्चिम-उत्तर हिमाल र दुधकोशीका मनोरम दृश्य हेर्न सकिने थियो । २०२७ सालदेखि सञ्चालनमा आएको लामिडाडा विमानस्थल खोटाङ आवतजावत गर्नेका लागि भरपर्दो ठाउँ रहेछ । यो जिल्लालाई अरु जिल्लाको मोटरबाटोले छोएको छैन । यसर्थ उडानको महत्व आगन्तुकका तुलनामा जिल्लावासीले राम्ररी नै बुझेका रहेछन् ।
हेलिकप्टरबाट ओसारिएका गाडीको संख्या यहा दर्जन पुग्न लागेपनि तिनको यात्रा ढुङ्गा फुटाउने 'ग्रयाण्डर' मेशिनमा बसेको अनुभव दिने प्रकारको रहेछ । सदरमुकामबाट गाडीको यात्रामा तीन घण्टा लागेपनि दिक्तेलबाट लामिडाडा, अखोले वा हलेसी पुग्नु कुनै युद्ध जिते बराबरको अनुभव दिने खालको रहेछ । कारण उकालो-ओरालो र ढुङ्गे बाटोले हल्लिएर यात्रुका सबै अंगप्रत्यंगको रामै्र 'एक्सरसाइज' हुने रहेछ ।
चिसो हावापानी भएको लामिडाडा सुन्तला उत्पादन र विक्री हुने राम्रो थलो । जहाज आउने निश्चित भएको खबर पाएलगतै डोकोमा सुन्तला लिएर विमानस्थल वरपर बस्ने स्थानीयवासी भेटिए । अनि आफुले लैजान पाउने वजन अनुसारको सुन्तला यात्रुहरु किन्दै पोको जहाजमा हाल्ने बानी परेका रहेछन् ।
हाम्रो समूहका साथीलाई चरण-चरण गरि राजधानी र विराटनगरको टिकट मिलाउने क्रममा सोमबार मसहित तीन जना बाकी रह्यौ । लामिडाडाको साझ ,दुधकोसी नदि र हिमालको स्याठ, चिसो पानी, रसिला सुन्तला, होटलको वास अनि घर फिर्न कसरी सम्भव होला भन्ने भोगाइ आफैमा पहिलो नौलो अनुभव थियो । टिकट नभएपछि दिन काट्न हामी लामिडाडाको खरिदारटोल पुग्यौं । कुनै बेला खरिदारको घर भएकाले सो टोलको नामै त्यसैबाट बसेको रहेछ ।
त्यहा साना नानीहरुको शिशु कक्षा हेर्न पुगेका हामीलाई शान्ति बालबिकास केन्द्रका सञ्चालक एकराज र टीकाराम श्रेष्ठले स्वागत गरे । केन्द्रमा एक दर्जन नानीहरु थिए । पुराना शिक्षकले छाडेपछि गाउ भित्रिएकी एक बुहारीले त्यहा नानीहरुलाई कखरा चिनाउदै थिइन । टीकारामको आगनमा हाम्रो समूहका सुरेश थापा, मिनराज पञ्थी र मैले कुराकानी थाल्यौ । कुराकानी चल्दै गर्दा टीकारामले सुन्तला ल्याएर फिजाए । अनि भने 'लौ सर , अतिथिका लागि हाम्रो सत्कार यही हो ।' रसिला र स्वादिला सुन्तला । पेट अघाउने मनलाइ आसक्ती बढाउने । कुरा चल्दै गयो । बोटका सुन्तला उनीहरुले टिपेर ल्याउने र अतिथिलाई साथ दिदै भेला भएका सबैले कपाकप निल्ने कार्यक्रम चलिरह्यो ।
लामिडाडाका रमुवा र माझीगाउबाहेक सबै क्षेत्रमा सुन्तला प्रसस्त फल्ने रहेछ । यहा कात्तिक अन्तिमदेखि बैसाखसम्म सुन्तला बेच्ने र खाने काम चलिरहने गाउलेले बताए । बिक्री हुने प्रमुख थलो विमानस्थल रहेछ । ५० पैसाबाट सुरु हुने प्रति दानाको विक्री मौसम फेरिदै जादा १० रुपैयासम्म पुग्ने रहेछ ।
हामी पुगेका बेला लामिडाडामा सय रुपियामा एक सय २० दानासम्म सुन्तला किन्न पाइने भेटियो । तराइका बजारको तुलनामा सस्तो अवश्य हो । तर, मोटरबाटोले नछोएको जिल्ला । अनि १५ किलोभन्दा बढी वजन बोक्नेलाई विमानमा लाग्ने शुल्क प्रतिकिलो ४५ रुपैया । तोकिएकोभन्दा बढि कसले बोकोस । लामिडाडाको गाउमा सुन्तलाका बोटहरु हेर्दा तिहारे फुलहरु ढकमक्क फुलेको भान हुन्थ्यो । तर, माओवादी जनयुद्धमा क्षत्रि्रस्त लामिडाडा विमानस्थल मर्मत गरिएको रहेनछ । यसको आफ्नै कथा रहेछ । करीव डेढ वर्ष यहा उडान बन्द हुदा अधिकांश घरका युवा राजधानी र अन्यत्र हिडेका रहेछन् । होटल चलाउने पाकाहरुको भनाइमा त्यसबेला माओवादीले एक घर, एक जवान भन्दै आएपछि बढेका छोराछोरी रातारात अन्यत्र पठाएर बृद्धहरु छानो कुर्न बसेछन् । यसरी गएका अधिकांश अझै फिरिसकेका थिएनन् । उनीहरुको मर्म कोट्याउदा सुन्तलाको स्वाद पनि अमिलो हुने रहेछ । मंगलवार विहान हामीले विराटनगर फि्न जहाजको बोर्डिङ पास पायौं । ठूलो युद्ध जिते बराबरको अनुभूति भयो । किनकी हामी जसरी प्रतिक्षामा बसेका थियौं , त्यसरी नै बस्ने जमात त्यहा बढेको बढ्यै थियो ।

Thursday, November 13, 2008

ओपनविल स्टोर्क



पखेटाले राम्ररी काम नगर्दै उड्न चाहनेको जीवन जोखिममा पर्छ । दर्शनका हिसाबले भनाइ ठीक होला । तर, मान्छे र अरु प्राणीका सन्दर्भ फरक छन् । गरुड प्रजातिको घुघीफोर भनिने ओपन विल स्टोर्कका गुड हेर्न जाँदा उपरोक्त भनाइ मगजमा घुमिरह्यो ।
विराटनगरको खार्जी भनिने दुग्ध वितरण आयोजना परिसरमा सिमलका ७/८ वटा रुख छन् । यहाँ ती चरा वर्षेनी प्रजननको समयमा आएर चल्ला हुर्काइ उड्छन । अहिले यहाका सिमलमा करीव दुइ सय गुँड छन । तिनमा चार सयको हाराहारीमा चल्ला छन । धेरै चल्लाहरु उड्ने अभ्यास गरिरहेका छन् ।
म चराको अनुसन्धानकर्ता होइन । तर, रुची लाग्छ । सात वर्षदेखि चराको फोटो खिच्न तल्लिन मेरा मित्र यात्रा थुलुङलाइ साथ दिन म हिडछु । यात्राजी र मेरो भेट हुदा हामी कतै बसेर खाने , रमाइलो गर्ने कुरा हुदैन । हाम्रो धुन हुन्छ - चरा , अनि तिनको फोटो ।
हिजो बुधवार म एक सातापछि काठमाडौंबाट घर फिरेको हँ । यात्राजी विराटनगर आउनुभो । घर पुगेर चारो च्यापेपछि हामी दुग्ध वितरण आयोजना आयौं । अघिल्ला वर्षहरुमा पनि हामीले यहा आएर फोटो गरेको हो । तर, यसपटक अघिल्लोभन्दा बढि संख्या रहेछ ।
परिवार नियोजनको महत्व बुझाउन राखिने होर्डिङहरुमा प्राय लेखिने 'थोरै भए ठिक्क , धेरै भए दिक्क' यहा पनि लागू भएको रहेछ । यहा चराहरुको झुण्ड सुरक्षित स्थान भएकाले बसेका हुन भन्नेमा शंका छैन । तर, धेरै बचेराहरु तल खसेका रहेछन् । मरेका रहेछन् । पखेटाले उडान भर्न नजान्दै रुखबाट मच्चिन चाहनेहरु तल खस्दा रहेछन । अनि खसेकालाइ माउले चारो खुवाउन छाड्दो रहेछ । अग्लो रुखको हागामा गुँड । बचरा बिचरा । माथि उक्लन नसक्दा तलै इहलीला समापन हुने रहेछ ।
हामीले नजिकै एउटा बचरो देख्यौ । जो तल खसेर माथि उक्लन नसक्ने भएको थियो । खुट्टा गलेर उभिन नसक्ने भएपछि घुडा टेकिरहेको थियो । उसलाई समात्न समस्या । अनि मँन्छेले पाल्न समस्या । हामीले फोटो खिच्यौ । उसलाइ उसकै अवस्थामा देखेर फिर्‍यौ । डार्बिनको बाच्नका लागि संघर्ष भन्ने सिद्धान्त सम्झदै । उ कसैको आहारा हो । उसलाइ केहीले नखाने हो भने संख्या धेरै पक्कै हुन्छ । र, जति जोगिन्छन । तिनीहरुबाट जीवन चलिरहन्छ ।
नेपालमा गरुड प्रजातिमध्ये बढि संख्या हाल ओपनविलको मात्र छ । यसले घुघी, माछा, पानीकीरा खान्छ । लामो उडान भरेर सिमसार र चिस्यान क्षेत्रबाट आहारा खोज्ने यी चरा गुडमा आएर ओकल्छन । अनि बचरा पोस्छन् । अण्डा पार्ने समय सेतो, कालो आकर्ष देखिने यो चरा अरुबेला कालो र धुस्रे खरानी रंगको हुने रहेछ ।

Sunday, October 26, 2008

बाघ जुँघे





भीडहरुमा फरक लाग्ने ती मान्छे । नजिक गएर दुइ स्न्याप खिचेपछि उनले सोधे - भाइ पत्रकार हो ? हो भन्ने जवाफमा उनले भने - अलि टिवी विभीमा आउने गरि खिच्नोस । म मुस्कुराए । उनले टोपी फुकाले । अनि अलि सजिलोसँग उनको स्टुडियो पोज लिइयो ।
०६५ कात्तिक ९ गते शनिवार । हाटखोलामा कांग्रेसले गरेको आमसभामा मैले जुँघे मान्छेको फोटो लिँदाका बेला बताएको हु । तीन वर्षदेखि विराटनगर-१८ को नयाँ बस्तीमा घर बनाएर परिवारलाइ नेपालमा थान्को लगाएका उनको नाम हरिबहादुर क्षेत्री रहेछ । ४० वर्षका रहेछन । जुघा पालेको पाच वर्ष भएछ ।
१५ वर्षदेखि कोलकाताको टाटिया कन्स्ट्रक्शन नामक ठेकेदार कम्पनीमा सुरक्षागार्ड काम गर्दै आएको बताएका उनले भने - बुझनुभो भाइ । मेरो जुँघालाइ कम्पनीले महिनाको पाँच सय भत्ता दिन्छ । इण्डियाको पत्रिका, च्यानलहरुले पनि खबर बनाएको छ ।
सभा सुरु हुनै लागेको बेला थियो । मैले भीडमा उनीसग बढि कुरा गरिरहन मिलेन । छुट्टीमा घर आएका उनी भाषण सुन्न त्यहाँ आएका रहेछन । 'मेरो ३५ वर्षमै कपाल र दाह्री फुल्न थालेको छ , अनि तपाइको किन नफुलेको ? , निख्खर काला कपाल र दाह्री देखेर मैले उनलाई सोधें - तपाइले कलर लगाउनु हुन्छ जस्तो छ ।
उनको जवाफ थियो -फुल्न थालेको छ दाह्री अलिअलि । हेर्नुस मेरो चुल (कपाल) फुलेको छ र , छैन नि ।' उनी मज्जाले हाँसे । अनि भने 'घ्यू दल्छु भाइ जुँघामा घ्यू ।'
क्या मज्जा सोख थरि थरिका छन् । जेहोस बाघजुँघे भेटदा रमाइलो लाग्यो । म प्राय साथीहरुलाइ भन्छु । र, आफु पनि सतर्क हुन्छु । तस्बिर लिँदा त्यो विषयले क्यामराको उपस्थिति थाहा नपाओस । अनि नेचुरल खिच्न सकियोस । कांग्रेसका सभामा खिचिएका भिडका तस्बिरहरुमध्ये यिनै जुँघेको फोटो जानी जानी खिचियो । सुरुमा दुइ स्न्याप भनिएन । तर, पनि स्टुडियोमा खिचेजस्तै गरि खिचियो । मन खल्लो छ यी सट हेरेर । अनि रमाइलो पनि लागेको छ । यस्ता पनि मान्छे छन । रहर छ । जीवन छ । अनि जुँघा छ ।


Tuesday, October 14, 2008

एउटा गजल





गजल


यो शान्ती भूमि हो नजाउ लडाँइमा ।
गोली र बारुद नखाउ लडाँइमा ।।

बिश्वास छ बुद्ध जन्मनेछन्
ओम माने पेमे हुँ नगाउ लडाँइमा ।।

ब्यूँझन्छन् अभावमा गाउँ बस्ती
भोक मेट्न मजदुर नजाउ लडाँइमा ।।

आफ्नै बान्धवको रगतै पोखिंदा
जीतको अबीर नलाउ लडाँइमा ।।


यी बाल बच्चा बृद्ध र अबला
छोडेर त्रासमा नधाउ लडाँइमा ।।

-सीमा आभास

Monday, September 29, 2008

दसैं फेरि आयो




तीन/चार वर्षदेखि एफएम रेडियोहरुमा एउटा मौसमी गीत बज्छ । पपगायक योगेश्वर अमात्यले गाएको 'दसैं नै हो कि यो मेरो दसा फर्किआएको...' बोलको । दसैं-दसैंका अवसरमा मात्र बढी सुन्न पाइने यो गीत अघिपछि बिरलै बज्छ होला । यसले नेपालीको ठूलो पर्व आएको जानकारी दिने मात्र होइन, किन छिटो आयो । र, किन विरह चलाएको भनेर सोच्न बाध्य पार्छ । 
अन्तराका बीच बीचमा संवाद पनि छ । घर टार्ने जिम्मेवारी बोकेका पुरुष पात्रको आवाजमा अमात्य पद्यबाहेक संवादमा जे बोल्छन् , त्यसमा निम्नमध्यमवर्गीय नेपाली परिवारमा पर्व टार्न कति असजिला छन् भन्ने व्यथा छ ।

नयाँ लुगा, गहना, मासूका लागि खसी । आकासिंदो महँगीबीच नेपालीको खस्कदो क्रय क्षमतामा प्रहार गर्ने अमात्यको गीतले विरह चलाउँछ । थोरै आम्दानी भएका सबै नेपालीलाइ पर्व र सांकृतिक समारोह बोझ हुनु अस्वभाविक छैन ।
जुनसुकै धर्मका किन नहुन् । सबैलाइ चाडबाड र सांस्कृतिक उत्सवहरुमा आफ्नो गच्छे बिर्सिएर पनि रमाउन मन हुन्छ । तर मन भएर मात्र कहाँ हुन्छ र ।
राजनीतिक व्यवस्था परिवर्तन भयो । सत्ता हाँक्नेहरु फेरिए । नेताका जिम्मेवारी र कित्ता फेरिए । एक दशक यता खस्किएका उद्योगको स्तर उठेन । सुनसरी-मोरङका सन्दर्भमा १० वर्ष भयो कारखाना नया थपिएका छैनन् । भएका उद्योगहरु पनि रुग्ण भए । बन्द भए । चलिरहेकाहरु पनि कतिपय व्यवस्थापन फेरिए । नेपाली उत्पादनले विश्व बजारमा टिकिरहने गरी आफूलाइ परिमार्जित गर्न सकेको होइन ।
कारखानाले मजदुरका लागि उपलब्ध गराउदै आएको सुविधा वर्षेनी घटेका छन् । कुनै बेला कामदार नपाएर आवास, खाद्यान्न र औषधोपचारसम्मका सुविधा दिंदै बोलाउने चलन अहिले कथा भएको छ । कारखाना सञ्चालकहरु कसरी कर जोगाउने, नाफा बचाउने, मजदुरका आन्दोलन रोक्ने, सुविधाका मागमा उनीहरुलाई कसरी विचलित पार्ने, अनि आफैं कसरी बाँच्ने भन्नेमा भेटिन्छन् । र, कतिपय उद्योगी जो समयसँग चलेका छन्, ती पनि खुशी भेटिने अवस्था छैनन् ।
मजदुर पनि आफ्ना सीप बढाएर आफूलाई कसरी नभई नहुने बनाउन सकिन्छ भन्नेमा ध्यान दिन चुकेका भेटिन्छन् । कटौती गरिएका सुविधाका कारण सरकारले तोकेको न्युनतम ज्याला पाउदा पनि बजारको अवस्थाले हास्न बिर्सेका छन् । कतिपय न्युनतम ज्यालामा पनि खट्न तयार छन् । तर, भनेजस्तो रोजगारी छैन ।
मजदुरका लागि मजदुरबाटै खोलिएका संघसंगठनहरु पनि स्तर उकास्नका लागि गम्भीर छैनन् । कारखाना हुन् वा सवारी साधन, होटल होस् वा अन्य कतै । कही" मजदुरको चित बुझेको छैन । बढ्दो महगीले ढाड सेकेका बेला जताततै असन्तुष्टी छ ।
किसानले बेलामा बीउबिजन र मल पाउदैनन् । पाइ हालेपनि सिंचाइका लागि पानी पाउदैनन् । दुःख झेलेर गरेका उत्पादनले सजिलै बजार र मूल्य पाउदैन । ब्यवस्था परिवर्तन र सुशासनको मागका लागि दल, संगठन, समूह वा ब्यक्तिले गरेका बन्द , हड्ताल र आन्दोलनले नेपालीको क्रय क्षमता बढाएको छैन । कोसी कटानपछि नेपालबाट नेपालका लागि भारतको बाटो नहिंडी नहुने भएको छ । टाउको भित्र समयसग चल्न सक्ने क्षमतावान गिदी भएकाहरु युरोप र अमेरिकाको बसाइ छाड्ने मनस्थितिमा छैनन । उनीहरु फोन र मेलबाट गाउघरको खबर सोध्न पनि समय निकाल्न असजिलो छ भन्ने गुनासो गर्छन ।
रोजगारीको अवसर र जीवन सुखमय हुने ज्यालाको खोजीमा युवाको विदेशिने क्रम बढेको बढेकै छ । विदेशमा पैसा फलेको हुन्छ । टिपेर झोला हाल्दै ल्याउन सकिन्छ झै मुलुकको कुटनीतिक सम्बन्ध नै नभएको र जान रोक लगाइएका मुलुकमा समेत नेपाली पुगेका छन् । उनीहरुमध्ये धेरैले त्यहाँबाट परिवारका लागि दसैंमा हाँस्न मिल्ने खबर पठाउन सकेका छैनन् ।
तैपनि यसपटक सदा झै दसैं यसपटक पनि संघारमा छ । पर्वलाई मितव्ययी बनेर गच्छेअनुसार निर्वाह गर्न जरुरी छ । हामी जति छौं । जस्ता छौं । नानीहरुका लागि छ दसैं आएकै हो । हामी किन ढाटिरहेका छौ ।

जनताका लागि सस्तो, सुलभ र गुणस्तरीय वस्तुको बजारका लागि सम्बन्धित निकायले विज्ञप्ति निकाल्ने मात्र होइन काम गरेर देखाउनुपर्छ । मञ्चमा मच्चिने उपभोक्ता अधिकारवादीहरु सुतेर बस्न पाइदैन । हामीले नून, तेल, मसला र उपभोग्य सामग्रीको बजार महँगो भयो । किन भयो भनेर खोजी गरेका उपभोक्ता अधिकारवादी देखेका छैनौं । अनि जनताका लागि बजार लगाइयो । पर्वमा यी कुराहरु सस्ता बनाइएका छन् । छुट दिइएका छन् भन्ने देखेका छैनौ ।

आवरणमा देखिने छुटका कुरामा सटर भाडा जोडिएर आएका छन् । विक्रेताले आफ्ना पसल फिजाउने ठाउको दाम पनि जोडिएर आएका छन् । त्यसका आफ्नै बाध्यता होलान् । तर, अत्यधिक मुनाफा कमाउने बेला बितेको छ । व्यवसायीले न्युनतम अंकमा मात्र नाफा राखेर जनतालाई सुविधाको अनूभूति गराउन सक्नुपर्छ । नेपालीलाई थाहा छ नूनदेखि सुनसम्म बाहिरबाट ल्याइएका छन् । जनता , बाहिरबाट आउने र हामीकहा हुने वस्तुको गुणस्तर पहिचान गर्न सक्छन् । सस्तो, सुलभ र गुणस्तरीय वस्तु खरिदबिक्रीको वातावरण बन्नुपर्छ । जीवन आशाले डोर्‍याउने हो । त्यसैले आश नमारौं । मितव्ययी बनौ । गच्छेअनुसारको पर्व मान्न तयार बनौं । किनभने दसैं संघारमा छ । आश मारियो भने योगेश्वरको गीतमा बीच बीचमा संवाद पनि छ र, खर्चको कुराको जवाफमा उनी भन्छन् - पैसा न सैसा टिकी ट्याँस् ट्याँस् ।

Monday, September 22, 2008

विस्थापितका शिविरमा







इनरुवा । कोलाहल । उस्तै उस्तै । कोसी कटानबाट विस्थापित भइ यहाँका स्कुल कलेजमा आश्रय लिएकाहरुलाई अहिले झुम्का र लोकहीका शिविरहरुमा सारिने क्रम सुरु भएछ । हुन पनि कति दिन स्कुल कलेजमा राखिरहने । म एउटामात्र शिविरको कुरा गर्छु ।
झुम्कामा रहेको पुरानो चाइनिज क्याम्प । अहिलेको निर्माणाधीन क्षेत्रीय कारागार । यो झुम्का बजारबाट चतरा जाने बाटोमा करिव ५ सय मिटर उतरमा छ । यहाँ अहिले कोसीका विस्थापितहरु राखिएका छन । ३ सय २८ वटा टहरा बनाइएका रहेछन । यहाँ आइतवारसम्मका आइपुगेका परिवारको संख्या २७९ पुगेछ ।
त्रिपाल, ओढ्ने , ओच्छयाउने र खानेकुरा सबै विभिन्न दातृ संस्थाहरुले दिएका रहेछन । शौचालय बनाइ दिएछन । खानेपानीका ट्युवेल र धाराको व्यवसथा रहेछ । तर, फोहर छ यहाँ । खटिएका एक स्वयंसेवकले बताए । संयुक्त राष्ट्र संघीय शरणार्थी हेर्ने आइओएम मानेको थिएन रे । टहराको दूरिका विषयमा । तर बन्यो किनभने ठाउँ थोरै रहेछ ।
चुलो बनाउन ठाउँ दिइयो । तर, विस्थापितहरुले आफ्ना टहरासँगै चुलो बनाइछाडे । जिल्ला जनस्वास्थ्यले यहाँ उपचार शिविर पनि राखेको छ । टेलिकमले एक महिनाका लागि सीडीएमए फोन दिएको छ । विस्थापितले आफन्तलाइ देशविदेश र अन्य शिविर । जहाँ मन लागेपनि निःशुल्क फोन गर्न सक्ने रहेछन् । ५ वर्ष मुनिका केटाकेटीका लागि वर्ल्ड भिजनको सहयोगमा स्थानीय गैससले लिटो बनाएर वितरण गर्ने गरेको रहेछ । दुर्भाग्य । घीउमा बनाउने गरिएको भनिएको लिटो आइतवार पानीमा मात्र बनाउने तयारी थियो । कारण, घीउको खेप सकियो रे ।
आफ्नै चुल्हो बालेर खाना बनाउनका लागि विस्थापितहरुले दाउराको अभाव खेपिरहेका रहेछन् । त्यसैले झार पनि खुर्केर बाल्न सकिन्छ भन्ने थाहा पाएकाहरु दाउराको जोहोमा निस्कने गरेका रहेछन । शौचालय बनाइएपनि शिविर सफा देखिएन । लुगा दिइएको भनिएपनि धेरै नानी र युवाका आङमा लुगा देखिएन । अनि धेरैले भन्दै थिए । टहराको त्रिपालमुनि गर्मी हुन्छ । बस्न नसकिने भएको छ ।

Sunday, September 21, 2008

राजमार्गमा जलयात्रा



पूर्वपश्चिम महेन्द्र राजमार्गका यात्रु । सप्तरीबाट पूर्व आउने वा उता जाने । अहिले जलयात्रा नगरी सुख छैन । कारण सर्विधित छ - कोसी बहावको दिशा परिवर्तन । हरिपुरको भन्टावारीबाट लौकहीसम्म अहिले कोसीका पानी छाम्दै यात्रु ओहोरदोहोर चलिरहेको छ । डुङ्गा भएकाहरुलाइ अहिले यात्रु ओसार्न भ्याइनभ्याइ छ ।
आज फेरि लौकही पुगियो । रौतहटबाट फुटबल खेलेर फिरेका सुनसरीका फुटबल खेलाडी भाइहरुको टोली भेटियो । उनीहरु दुइवटा डुङ्गाबाट यता आएका रहेछन । उनीहरुले फोटो लिइदिन आग्रह गरे । उनीहरुले बताए । बाटो छ महिना यता बन्ने छाँट कम छ । जे होस प्राविधिक लागेका छन । नेपालभन्दा भारतमा यसको कुप्रभाव बढि छ । कोसी पुरानो बाटोमा गएकै बेस । भोली फेरि त्यो क्षेत्र जानुपर्ने भएको छ । हामी शायद डुङ्गामै जानेछौं । भोली केही विस्तृत स्थलगत कुरा लेखौला ।


Saturday, September 20, 2008

बार-बेञ्च झगडा


सर्वोच्च अदालतको फुलकोर्टले बार अध्यक्ष विश्वकान्त मैनालीमाथि छ महिनाका लागि कुनै पनि अदालतमा बहस-पैरवीमा सहभागी हुनबाट रोक लगाएको छ । मैनालीले न्यायाधीशको जागिर भ्रष्टाचारको लाइसेन्स भन्ने भनाइ कुनै कार्यक्रममा राखे रे । अनि अपमान भएको भन्दै आक्रोशित न्यायाधीशहरुको बचाउ गर्दै सर्वोच्चको यस्तो 'रोक' आयो ।
आज तेस्रो दिन हो । हिजो सोही विषयमा विराटनगरमा कानुन व्यवसायीहरुले विरोध सभामात्र गरेनन् । कालो पट्टी मुखमा लगाएर विरोध जनाए । ज्ञापन बुझाए । हाम्रो न्यायालयमा भ्रष्टाचार छैन भनेर कसैले भन्न नसक्ने विरोध सभामा बोलेका वरिष्ठ अधिवक्ताहरुको भनाइ थियो । मुलुक गरिब भए शासन निरंकुश हुन्छ भन्ने भनाइ कतै पढ्न मिलेको हो । तर, शासन जस्तो होस । मुलुक अधोगतिमा गयो भने भ्रष्टाचार चाहि मौलाउने निश्चित छ । अनि अनियमितताले कुनै क्षेत्र छाड्ला भन्ने कसरी सोच्नु ।
वकिल र न्यायाधीशले झगडा गर्नु ठीक हुँदै होइन । बरु अनियमितता गर्ने , भ्रष्टाचार गर्नेलाइ नियन्त्रण र दण्ड दिने व्यवस्था हुनुपर्छ । उ जतिसुकै पावरको पदमा किन नहोस , कानुनले छाडन हुँदैन । दण्डहीनता भएकै कारण सतासीन मन्त्री पनि सर्वसाधारणको घर भत्काउने र जग्गा कब्जा गर्नमा अघि आएका बेला मुलुक कानुनबाहिर गयो भने कसले सम्हाल्ने ?

Tuesday, September 16, 2008

जोडिएको क्रम




सोमबार बेलुकी १० बजे । घर फिर्दै गर्दा बाटोमा झिलिमिली देखेर बाइक रोक्न मन लाग्यो । विराटनगर-१७ सैनिकटोलको बाल निमावि । जुन स्कुलमा मैले पनि चार कक्षासम्म पढेको थिए । त्यसको परिसरमा निकै भीड थियो । अनन्त चतुर्दशीमा विष्णुको मूर्ति राखेर पुजा गर्नु यहाँको चलन नै छ ।
यही चलनमा यहाँ पुजा थियो । पुजामा अर्को रौनक थियो - नौटंकीको । मधेसमा मिश्रति भएर बसेका जातजातीको संस्कृति रमाइलो छ । नौटंकी मधेसीहरुले रमाइलो मान्ने मञ्चको कला हो । म स्कुल परिसरमा पसें । अनि केहीबेर हेरेपछि फोटो लिन मन थाम्न सकिन । कारण मैले लामो समयपछि फेरि यस्तो देख्न पाएको थिए । महाभारतका पात्र दानवीर कर्णको कथामा मञ्चन भइरहेको रहेछ ।
कर्ण र यमराजको संवाद चल्यो । एउटा पात्र माइकमा आफै बोल्थ्यो । अर्का पात्रको आवाज नेपथ्यमा बसेका बृद्धले बोल्थे , उ मुख चलाउथ्यो । खचाखच दर्शक । रमाइलो बेग्लै । नाटकले धर्म र सत्यको मार्गमा लाग्न मानिसलाइ प्रेरणा हुने संवाद सिलोकमा चलाइरहेको थियो । करीव ५ मिनेट संवाद चल्थ्यो अनि तल बसेका बाद्ययन्त्र लिएका कलाकार गाउँथे । केहीको स्वर गाउँदा गाउँदै सुकेको थियो । र, केहीको धोक्रे स्वर । नौलो थियो । रमाइलो थियो । नाटक रातभर चल्ने कलाकारले नै बताए । मैले केहीलाइ चिनेको रहेछु । केही स्थानीय र केही जतुवाका थिए । उनीहरु दर्शकले मजा मानेको देखेर निकै उत्साहित थिए ।
उनीहरु व्यवसायिक वा प्रचारमा आउने पाराको मञ्चमा देखिदैनन् । धेरै कारखनाका कामदारहरु छन् । यस्तो नौटंकी मञ्चन गर्न पाउनु आफैमा मजा रहेको उनीहरुको भनाइ थियो ।

Saturday, September 13, 2008

गधाको खोजी



सपना भाँचिएका कथाहरु पुराना हुन् । तर, सपना पुरा गर्नका लागि ज्यान जोखिममा हाल्ने कथा त्रासपूर्ण र सधै नयाँ लाग्न सक्छन् । क्यामराम्यानबाट निर्देशक बनेका बलिवुडका युवा फिल्मकार सन्तोष सिवनले केही समयअघि 'टेरोरिस्ट' ल्याएका थिए । यसपटक उनको 'तहान' मानवीय अन्तर्मन र विवेकका साथ जीवनका आधारहरु बारे सोचनीय बनाउने प्रकारको छ ।
तहानमा शिर्षपात्र तहान (पूरव भण्डारे) नामका बालक र उनको बिरबल नामको गधाको सेरोफेरोमा कथा छ । तहानका पिता तीन वर्ष अघि एकाएक वेपत्ता भएका थिए । उनी आमा हाबा (सारिका), बैनी जोया (साना शेख) र हजुरबा (भिक्टर बनर्जी) का साथ कश्मीरमा बस्छन् । उनलाइ आशा छ, बुवा एक दिन फर्केर आउनेछन् । तर, जीवनमा नयाँ मोड आउँछ । जब बुवाले लिएको ऋणको बदलामा गाउँले साहुले उनको गधा सुभान (अनुपम खेर) नामको एक धनी मान्छेलाई बेचिदिन्छन् । गधा सुभानसँग पहाडमा पुग्छ । तहानको मनोभावना गधाको खोजीमा केन्द्रित हुन्छ ।

अब उनी त्यसको खोजीमा लाग्छन् । बाटामा भेट भएका जफर (राहुल खन्न्) पनि उनको खोजीमा सहयात्री बन्छन् । दुवै त्यो गधा भएका सुभानसम्म पनि पुग्छन् । अनि सुरु हुन्छ चलचित्रको खास क्लाइमेक्स । एक रहस्यमय इद्रिस नामको मान्छेले उनीहरुसँग एउटा प्रस्ताव राख्छ । यदि उनीहरुले उसको एउटा काम गरिदिए गधा फिर्ता दिलाइदिने । तहान छक्क पर्छन । इद्रिसले उनको हातमा एउटा ग्रिनेड -बम) राखेर गएको हुन्छ । तहानले बिरबल फिर्ता पाउन त्यो बम हान्नु पर्ने हुन्छ । त्यसबेला एउटा बालकको अप्ठ्यारो परिस्थितिलाई सिवनले सजिलै चलचित्रमा उतारेका छन् । आठ वर्षका बालकको सुझबुझले निर्दोषहरुको ज्यान बच्ने कथा दर्शकका लागि नयाँ धारमा आएको छ । गत साताबाट प्रदर्शन सुरु भएको यो हिन्दी चलचित्रका पात्रहरुको अभिनय पनि जीवन्त छ । लामो समयपछि यसमा सारिकालाइ देख्न पाइन्छ ।
भारत-पाकिस्तानको लामो समयदेखिको विवादका कारण चर्चामा रहने कश्मीरका दृश्य देखन सकिने यो चलचित्रमा त्यो भुभाग सम्झदा गुन्जिने बाद्ययन्त्रका धुनहरु सुन्न सकिनेछ । निर्देशक मणिरत्नमसँग क्यामराम्यानका रुपमा 'दिल से' मा काम गरिसकेका सिवनको यसपटकको विषय बलिवुडको मुलधारभन्दा पृथक छ । र, यसले आमीर खानको 'तारे जमीं पर' मन पराउनेहरुले नरुचाउने कुरै भएन ।

Friday, September 12, 2008

विस्थापन-पूनर्स्थापन



दुइ वर्षअघि मोरङको टंकी गाविसमा पर्ने बाँसवारीमा पाँच जना सञ्चारकर्मी साथीहरुलाइ मधेसी जनअधिकार फोरमको बताउने एक जमातले कुटेको थियो । दुइ साथीहरुलाइ निकै दिन पीडा हुनेगरि आहत बनाएको थियो । हाम्रो विरोध र जाहेरीपछि घटनामा संलग्न पक्राउ पनि परे । फोरमले उनीहरुको मुक्तिका लागि बन्द आह्वान गर्‍यो । उनीहरु छुटे ।
गत साता मोरङको पथरीबाट निस्कने अनमोलमणी साप्ताहिकका साथीहरुले कुटाइ खाए । गाइजात्रे अंकमा प्रकाशित समाग्रीप्रति असन्तुष्टको समूहले कार्यालयमै थुनेर रोहित पराइ, मिलन के राउत र मोहन भट्टराइलाइ कुटे । मोहन भाइको चोट निकै दिनसम्म पनि देख्न सकिन्थ्यो । उनको आँखाका डिलहरु काला-नीला भएका थिए । उनीहरु पथरीमा बस्ने स्थिति भएन । विराटनगर आइपुगे विस्थापित भएर ।
हिजो उनीहरुलाइ घर फिराइएको छ । तर, साथीहरु अझै त्रासमा छन । यस्तो भइरहे कसरी सञ्चारकर्मीले काम गर्न सक्छन । मुलुकको व्रि्रदो अवस्थामा सञ्चारकर्मीको जिम्मेवारी बढेको छ । यसमा काम जोखिमपूर्ण त छँदैछ । राज्यले नहेर्ने हो भने असजिलो अझै थपिन्छ । जे होस प्रशासनले साथीहरुलाइ फिरायो । अब उनीहरुका विषयमा सुरक्षाबारे ध्यान दिनेछ भन्ने विश्वास गरौं ।


(२०६५ भदौ २७ शुक्रवार)

भुँइ जिन्दावाद


आज विराटनगरमामा संसारीमाइस्थानको बाटो पूर्व जाँदै गर्दा एउटा दृश्यले रोकिन बाध्य गरायो । त्यहाँ मन्दिरसँगैको भानुमोरङ प्रावकिा विद्यार्थी भुँइमा बसेर पढ्दै थिए । उपमहानगरको मुटुमा रहेको स्कुल । अनि विद्यार्थी भुँइमा ।
हुन त सरकारी विद्यालयको हालत यस्तै हो । तर कारण जान्न मन लाग्यो । शिक्षिका दिदीले बताउनुभयो । अनि शंका पनि गर्नुभयो । पत्रकारले के छाप्लान छाप्लान । त्यहाँ ५ कक्षासम्म पढाइ हुने रहेछ । कक्षा नपुगेर निजी जग्गामा स्कुलले अलि दक्षिण टहरो बनाएको रहेछ । कक्षा ३ को सेक्सन ख को पढाइ त्यहाँ हुने रहेछ । टीनको छानो, टिनको ढोका अनि टीनकै बारबेर । आलुको तरकारी, आलुको भात, आलुको अचार भने जस्तै । स्कुलले त्यहाँ कक्षा राखेकोमा विवाद अर्कै रहेछ । त्यस्तो सकस हुने कक्षामा पढने केटाकेटीका बारे सोच्ने कोही भएनछ । विवाद अतिक्रमण गरेको बारेमात्र चर्किएको रहेछ ।
घाम चर्किएका बेला टीन तात्दा विद्यार्थी बेहोस हुन थालेछन । दिनमा तीन चार जना बेहोस भएपछि विकल्पको खोजी थालियो । अनि त्यहाँ पढाइ सम्भव भएन । अनि अर्को कोठा पनि रहेनछ , जहाँ उनीहरुलाइ सार्न सकियोस । स्कुलले उनीहलाइ बाहिर भुँइमै पढाउने निधो गरेछ । अनि उनीहरु त्यहाँ रहेछन् ।
धन्य छ । मुलुकको दोस्रो ठूलो सहर । अनि शिक्षालयप्रतिको उतरदायित्व बोकेकाहरु । विद्यालय सुधारका ठूला कुरा गर्नेहरुलाइ विद्यार्थीको त्यो सकस नजरमा परोस ।
(२०६५ भदौ २७ शुक्रवार)

Tuesday, September 9, 2008

सवारी सुरक्षा


एक जना मित्रको मोटरसाइकल अफिस मुन्तिरबाट हरायो । प्रहरीमा खबर गरे । खोजे । भेटेनन् । त्यसको दुइ महिना नबित्दै एक जना भाइको मोटरसाइकल हरायो । उनले पनि सकेजति हल्लीखल्ली गरे । पतो लागेन । पछिल्लोपटक हराएको बाइकको नम्बर प्लेट केही दिन अघि यथास्थानमा भेटियो । तर, अर्को बाइकमा । बाइकवाला भेटिएन ।
हिजो मोरङ प्रहरीले १३ वटा मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ । अस्ति आइतवार बेलुकी पक्राउ गरिएका कर्सियाका तीन युवाको बयानका आधारमा ती बाइकहरु फेला परेको डीएस्पीले बताए । भेटिएकामध्ये बढिमा २ लाख ५० हजारसम्म पर्ने पनि छन् । १० वटा चल्न सक्ने र नयाँ छन् । बाकीका इन्जिन र पाटपुर्जा खोलिएका छन् ।
साइकल जसरी हराउन थालेका मोटरसाइकलका कारण सवारी धनीमा चिन्ता थपिनु अस्वभाविक होइन । हिजो प्रहरीमा चोर र बाइक हेर्न आएका मेरा एक रेष्टुरा सञ्चालक मित्रले बताए । उनलाइ पनि २/३ हजार किलोमिटर मात्र कुदेको सवा लाख पर्ने बाइक किन्न प्रस्ताव आएको थियो । मात्र २० हजारमा । उनले बताए । विराटनगरभित्रै यस्ता कारोवारी छन् जसले सातामा कम्तीमा ५ वटा नयाँ नयाँ बाइक यसरी बेच्छन् । कहाँबाट ल्याइएका हुन् त्यो थाहा हुन्न । ब्लु बुक पनि बन्छ । सबै सक्कली छाप लागेको । यातायात कार्यालय पनि पुग्नुपर्दैन । कारोवार दिनदिनै बढेको छ ।
जे होस प्रहरीले थालेको खोजी यतिकै सीमित नहोस । खाइनखाइ फाइनान्समा पैसा बुझाएर किनेका सवारी कुदाउन एक त महँगो इन्धन , त्यहीमाथि हेण्डिल लक लगाएपनि पार्किङमा छ भनेर ढुक्क हुन नहुने अवस्था । बाइक कुदाउनेका पीडा आफ्नै छन् । सरकारी सेवामा भएकाहरुले तलबभन्दा बढिको खर्च गर्नुपर्ने बाध्यता भनिने प्रवृतिले अनियमितता मौलाएको छ । त्यसको खोजी गर्ने , दण्ड दिने अधिकार भएका निकायमा हुनेको बुद्धि आओस ।

कोशीमा पन्टुन हाल्ने कि


कोशीले पूर्वी तटबन्ध भत्काइ बहावको दिशा फेरेको आज २३ दिन भयो । भारतको जोगबनीबाट ५४० किलोमिटर पारगरि रक्सौलबाट जानेबाहेक सडकमार्गको विकल्प खुला भएको छैन ।
माथिको तस्बिर २०६४ भदौ २१ गते पश्चिम वंगालको दलखोलामा खिचेको हो । कोलकाता बन्दरगाहबाट विहार हुँदै विराटनगर आइपुग्ने मार्गको खोलामा रहेको बेलब्रिज भत्किएपछि यो सेनाले बनाएको अस्थायी पुल थियो । नाम-पन्टुन । हावा भरिएको बेलुनमा पुल । यसबाट ५० टनसम्मका गाडी आवत जावत गर्न सक्थे । तीन महिनाका लागि यहाँ लगाइएको पुल सेनाले युद्धमा जाँदा उपयोग गर्ने साधन रहेछ । कोशीमा यस्तो अस्थायी व्यवस्था किन नगर्ने भन्न खोजेको । नदिलाइ पुरानै बाटो फिराउने चर्चा चलेका बेला त्यो तुजुक कतिको सफल हुन्छ भन्नेमा सबै विश्वस्त छैनन् । जे होस दुइ देशलाइ असर पारेको कुरा हो । खटिएकाहरुलाइ सफलता मिलोस । चाडै बाटो खुलोस् ।

सुलोचना


आफुलाई दह्रो मुटु भएको भ्रम राख्ने म अझै तंग्रिन सकेको छैन । ब्लगमा लेख्ने कुरा यो हो होइन थाहा छैन । तर, मेरो जीमेलको च्याटमा 'बोल्न मन छैन' लेख्दा आएका धेरै साथीले सोधे , किन ? जवाफ दिने मुड भएन । कतिलाइ मैले भने - जीवनमा सबै कुरा मान्छेकै हातमा हुने रहेनछ ।
अस्ति शुक्रवार बेलुकी उनी विदा भइन । विहीवारको रात जागै बसेर सिलिण्डरमा अक्सिजनको मात्रा  हेरिरहनु । जीउ पनि अड्याउन नसक्ने मेरी बैनीलाई सहारा दिनु । अनिदो हुँदा पनि शुक्रवार विहान उनलाइ केही सहज भएको छाडेर म इटहरीबाट इनरुवा हुँदै समाचारजन्य तस्बिर खोजेर अफिस फिरेको थिए ।
त्यो दिन साँझ मैले मेरा आफन्तहरुको गुगल ग्रुपमा उनको बारेमा लेखेको थिए -' उनीलाई केही आराम छ । आस र प्रार्थना गरौं ।' बेलुकी १० बजे सरोज दाजुलाइ फोन गर्दा उनीलाइ असजिलो भइरहेको बताउनु भएपछि निकै छटपटी लाग्यो । करीव सवा ११ बजे मोवाइलमा म्यासेज आयो - 'सरी' भनेर । अत्यास लाग्यो । अनि फोन गरें । उहाँहरु धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नु भएको रहेछ । अनि दाजुले भन्नुभयो - 'सरी राजु , उनी रहिनन् ।'
रातभरि निन्द्रा परेन । शनिवार विहानै कोपिला (श्रीमति सरोज) भाउजुलाइ लिएर विराटनगरबाट निस्कदा बाटोमा बाइक पंचर भयो । अफिसमा राखेर बसमा इटहरी पुगियो । अनि त्यहाँ आफुलाइ दह्रो मुटु भएको मान्ने म पनि माइजु र कवितालाइ सम्हाल्दा सम्हाल्दै रोएँ ।
सुलोचना (फ्लोरेन्स) , मेरो कान्छा मामाकी तीन बैनी मध्येकी जेठी छोरी । मेरो तिहार । मेरा सहोदर दिदी-बैनी छैनन् । तर, सौभाग्य उनीहरुको कमीको महसुस गर्नु परेको पनि छैन । इनरुवा रहँदाका तीन वर्ष मेरा लागि पत्रकारितामा प्राथमिकस्तरका बेला थिए । डेरामा एक्लै ।  विवाह नहुञ्जेल विहान बेलुकी नै खाना पकाएर खान समस्या नै थियो ।
विहान पकाएर राखेकै खाना बेलुका तताएर खाने क्रम चल्दा मलाइ स्नोफिलिया बढेर सास फेर्न गाह्रो हुन्थ्यो । कहिलेकाही इटहरी जाने, त्यहाँबाट समाचार लेखेर फ्याक्स गरेपछि मामाघरमा पुग्थें । अनि मलाइ बैनीहरु कराउँथे । कति मैलो लुगा लगाएको ?  आफ्नो हालत के पारेको ? झुस्स दाह्री ? अनि गन्हाउने मोजा । स्वास्थ्यको ख्याल । उनीहरुको स्नेहले मलाइ एक्लो महसुस हुदैनथ्यो ।
डेरा फिर्दा मामाघरबाट औषधि पनि लिएर आउने म एक/दुइ महिना स्वस्थ भएर काम गर्थे । अन पिmेरि दिनभरि समाचारको खोजीमा गयो । बेलुकी कोठाको फ्याक्समा कागज हाल्दै गयो । २०५९ साउनपछि कम्प्युटर र जीवनसंगिनी आएपछि डेराको जीवन केही सहज भएको थियो ।विमला केही समय शिक्षक तालिममा गइन । दिनचर्या उस्तै । दिनभर भोकभोकै हिड्दा स्वास्थ्य फेरि उस्तै ।
मेरो स्वार्थले मात्र होइन । मेरा बैनीहरुको आनीबानी र उनीहरुले दिने सल्लाह मेरा लागि अहम हुन्थे । ०६० सालपछि म विराटनगर आएँ । इनरुवा रहँदा जस्तो भएन । जान आउन कम भयो । तर, बाटो परेका बेला र पर्व भेला अनि त्यसैपनि मामाघर जाने क्रम रहिरह्यो । बैनीहरुका सहोदर दाजु थिएनन् । त्यस कारण पनि हुनसक्छ हाम्रो नाता प्रगाढ थियो । अनि वितेका तीन वर्षमा कान्छी इण्डियाको विजयवाडा,माइली अष्ट्रेलिया र जेठी काठमाडौं पढ्न गए । भेट मेल र एसएमएसमा मात्र । अनि सुनें सुलोचना, सुलुलाइ क्यान्सर भयो । भेट भएन । उसले फोन पनि गरिन । मैले पनि सम्पर्क गरिन ।
कारण , अरुलाई अर्ति दिने मेरी बैनीको बानी आफ्ना कुरा नभन्ने थियो । उसलाइ डिस्टर्ब होला भनेर मैले फोन गर्न उचित मानिन । दिन बिते , बर्ष बिते । यसबीचमा हाम्रो एउटा तिहार धरानको विजयपुरमा भयो । अमेरिकाबाट चाडका लागि आएका सन्तोष दाजु भाउजु र सीता ठुलीआमाका परिवारबीच हामीले निकै रमाइलो गरेका थियौ ।
मलाइ यति थाहा थियो सुलु काठमाडौंमा थिइ । पढ्दै थिइ । उपचार पनि चल्दै थियो । अवस्था गम्भिर थिएन ।  लामो समयपछि सुलुसँग मेरो पछिल्लो भेट गत बुधवारमात्र भएको थियो । इटहरीको त्यही मामाघरमा कान्छी कविता, मामा र माइजु उनलाइ स्याहार गरिरहनुभएको अवस्था थियो ।  मैले मेरी श्रीमाति विमला र छोरालाइ त्यही छाडेर साँझ विराटनगर आए । बेलुकी करीव ११ बजे विमलाको फोन आयो । सुलुलाइ निकै गाह्रो भएको रहेछ । उसलाइ सास लिन समस्या थियो । मध्यरात भयो । म एक्लै बाइकमा त्यसबेला जान सकिन । विहानै पुगें । अनि त्यो दिन र रात बसें । फोक्सोमा इन्फेक्सन छ , यसले सास पुरा लिन सकेकी छैन भनेर मामाले बताउनुभएको थियो ।
शुक्रवार विहान बाढीपीडितका शिविरमा समाचारजन्य तस्बिरका लागि म जानुपर्ने थियो । कोसीले तटबन्ध भत्काएर धार फेरेका बेला । समाचार र तस्बिरको भोको पत्रिकालाई समाग्री र आफ्नो काम ड्युटी पनि नगरी नहुने अवस्था । निस्कने बेलामा मैले सुलुलाइ हिम्मत नहार्न भने 'बेलुकी आज सरोज दाजु आउनुहुन्छ । म फेरि भोली आउँछु ।' भनेपछि उसले बोलेको 'हुन्छ' भन्ने शब्द सुन्न पाएँ । अक्सिजन मास्क लगाइरहेकी मेरी बैनीले मेरो टीसर्टको कलर मिलाइदिइ । म निस्कें ।
              शनिवार विहान फेरि मामाघर पुग्दा भुँइतलामा उसको निष्प्राण शरिर थियो । माथिल्लो तला उक्लेपछि माइजु र कवितासँग भेट हुँदा मैले दुवैलाइ ढाढस दिदा दिदादिदै पनि आफ्नो आँसू थाम्न सकिन । बुढी खोला गइयो । विदा गरियो । हाम्रो हिन्दु संस्कारका राम्रा पक्ष छन् । तापनि शव जलाएको बेला साह्रै पीडा हुन्छ । भयो । मैले फोटो पनि खिचें । तर, अघिपछि समाचारजन्य तस्बिरका लागि तयार हुने मानसिकता मेरो हुन सकेन । मैले लाइट, कम्पोजिसन, एपरेचर , स्पिड केही हेक्का राख्न सकिन । तर, फोटो खिचेको छु । बेलुकी चैनपुरे गुगल ग्रुपमा केही फोटा पठाउँदासम्म पनि म आफुलाइ सम्हाल्न सकिरहेको थिइन । आज तेस्रो दिन हो । म अझै समान्य बन्न सकेको छैन ।
       हामीलाई थाहा थियो , उनलाई क्यान्सर थियो, त्यो रोगको दिल्लीस्थित एम्स अस्पतालले 'सरी' को जवाफ दिएको । उनलाई घर ल्याइनुको कारण सहज होस भन्ने थियो । तर, मान्छेको मन । हामी कसरी यस्तो उमेरमा असामयिक मृत्युलाई सहजताले लिन सक्दा रहेछौं र । मलाइ अझै कसैसँग राम्ररी बोल्न मन छैन ।

Monday, September 1, 2008

सात दिनको अन्तर



पूर्व पश्चिम राजमार्गमा पर्ने सुनसरी पश्चिम कुशाहाको यो जमुवा चोक हो । यहाँ दुइ तस्बिर छन् । यी सात दिनको अन्तरमा लिइएका हुन् । कोशीले पूर्वी तटबन्ध भत्काइ २०६५ भदौ २ गते १ बजे दिशा परिवर्तन गरेको हो । पहिलो तस्बिर सोही दिन दिउँसो ४ बजेर २० मिनेटमा खिचेको हो । अर्को तस्बिर भदौ ९ गते ११ बजे लिइएको हो ।
कोशी टप्पु वन्य जन्तु आरक्ष जाने मार्गको प्रवेशद्धार रहेको यो बाटोमा अहिले ती बुझाउने पूर्वाधार केही छैनन् । नदि बगेको छ । घरहरु छैनन् ।

कोशीको बाढीले विहारमा बिजोक


धन्न ज्यान जोगियो
-भीम घिमिरे

सुरसर,अररिया (भारत), १५ भदौ-
एकोहोरो आवाज आएको दिशा पहिल्याउन कठिन छ । जलमग्न गाउँछेउको बाँसघारीमा मोटरबोट घुमाउँदै भारतीय सशस्त्र सीमा बल (बीएसएफ)का जवान आवाज लगाउँछन् - 'कहाँ हो -' कतैबाट आवाज आउँछ 'हो................' करीव १० मिनेट बाँसघारी बाँसघारी घुमेपछि इन्सपेक्टर अमरकुमार पाण्डे बोल्छन् 'त्यो आँपको रुखबाट आवाज आएको होला , त्यहाँ जाउँ ।'
उतरवर्ती विहारको सुरसरमा खटिएको सुरक्षाकर्मीको आपदा सहयोग टोलीले आँपको रुखमा झुण्डिएर बसेका तीन जनालाई भेट्टाउछ । मोटरबोटमा बसाएपछि आफुहरु दुइ घण्टादेखि रुखको आडमा बसेको उनीहरु सुनाउछन् । केराको थामको डुङ्गा बनाएर घरका सामान लिन हिडेका चारमध्ये खियाउने एक चिप्लिएर पानीमा लडेपछि उनीहरु विचल्ली परेको बताउँछन् । खियाउने दुइमध्येका एक नहुँदा थामसँगै बग्न थालेपछि रुखको आडमा आइपुगेको गाउँले युवक प्रदीप विश्वासले बताए । उनले भने 'एक मान्छे डुब्ने पानी छ, हामी त नसकेर थाकेर बसेका थियौं , भगवान आएजस्तो भयो ।'
सुरसरमा खटिएका बीएसएफको टोलीले डेढ सातादेखि उद्दार जारी राखेको बताएका इन्सपेक्टर अमरकुमारलाई विहार राज्यको यात्रा पहिलो अनुभव हो । उनले भने 'हामी कोलकाताबाट आएका हौं । धेरै घर डुबानमा परेको छ ' ६/७ वटा मोटरबोट लिएर विहान निस्कने जवानहरु दिउँसो ४ बजे आइपुग्दा धेरै महिला र बालबालिकालाई डुबानबाट झिकेर ल्याउछन् । विराटनगरको सीमावर्ती जोगबनीदेखि छ किलोमिटर दक्षिणपछि बथनाहाबाट करीव २० किलोमिटर पश्चिममा पर्ने सुरसरमा उद्धार अभियान जारी रहेपनि किनार आउनेको संख्या घटेको छैन । सुपोलको टुटीपट्टाका महमद जलिल भन्छन् 'सबै लग्यो धन्न ज्यान जोगियो ।' परिवारका सदस्यहरु जोगिएपनि शनिवार साँझ उनी चौपायाको मायाले उनको आँखा रसिलो भयो । 'भुस भिज्यो, खानेकुरा थिएन, उनले भने 'दाम्लामा बा"धेका गाइवस्तु त्यसै छाडेर आयौं अहिलेसम्म मरिसके होलान् ।' सुरक्षाकर्मी र नाविकहरुको सहयोगले किनार आइपुगेका गाउँलेहरुका अनुसार मान्छेको ज्यान जोगिएपनि बाढीको पानीले धेरै मवेशी मरेको बताए ।
कोशीले पूर्वी तटबन्ध भत्काई बहावको दिशा परिवर्तन गरेपछि नेपालमा भएको क्षतिभन्दा भारतमा धेरै गुणा बढि नोक्सानी भएको सुरसरका ब्लक विकास अधिकृत संजय कुमार बताउछन् । उनी भन्छन् 'हामीलाई अहिले कोशीको बाँध कसरी भत्कियो भन्ने सोच्ने, कुरा गर्ने फुसद छैन, जति सकिन्छ उद्धार जारी राख्नेमा ध्यान छ ।' सरकारले बाढीलाई राष्ट्रिय संकट मानेर उद्दारलाई त्रि्रता दिएको उनले सुनाए ।
सुरसरको राहत वितरण केन्द्रका संयोजक कार्तिक विराजीका अनुसार सुनसरीको श्रीपुर र हरिपुरहुदै भारत पसेको कोशीको बाढीले चार जिल्लाका १२ गाविसमा बढि क्षति पुर्‍याएको छ । अररियाका नरपतगञ्ज, भरगामा, रानीगञ्ज, सुपोलका बसन्तपुर,छातापुर , त्रिवेणीगञ्ज, राघोपुर,पिपराहा र मधेपुराका मधेपुरा, सिंहेश्वर,कुमारखण्ड र सोनवषामा बाढीको क्षति अधिक छ । 'होचो ठाउँ , नदि यतैबाट बगेर गंगामा पुग्छ, विराजीले भने 'भागेर कहाँ जाने -' उनका अनुसार डेढ सातामा पानी थोरै घट्ने , थोरै बढ्ने क्रममा छ । उनी भन्छन् 'तटबन्ध नबनेसम्म विहार जलमग्न रहन्छ । विकल्प छैन ।'
बथनाहाका सबइन्सपेक्टर पवन कुमारका अनुसार कोशीको फेरिएको बहावको दिशाका कारण जलमग्न गाउमा सरकारले सुरक्षा संयन्त्रका सबै बललाई परिचालन गरेको छ । डुबानमा परेका गाउहरुमा पुगेका सुरक्षाकर्मीले ल्याउने गाउलेका लागि शुक्रवारदेखि अस्थायी शिविर र बिहान बेलुकी खिचडी खुवाउने व्यवस्था पनि गरेको छ । उनी भन्छन् 'यतिखेर ध्यान दिनुपर्ने कुरा उद्दार नै हो, वषा थामिएपछि उता नेपालमा तटबन्ध बनाउलान अनिमात्र सञ्चो हुन्छ ।' बथनाहाका तीन शिविरबाहेर पनि पानी घटेपछि घर फिर्ने आसमा गाउलेको ठूलो जत्था सुरसर-लक्ष्मीपुरको सडकमा अस्थायी रुपमा बस्न थालेको छ । बाढीको पानीले लक्ष्मीपुरमा सडक डुबाउन थालेको छ । विस्थापितहरुमा सरकारको घोषणा अनुरुपको राहत नपाएको गुनासो पनि छ ।
बथनाहा राहत शिविरका इन्चार्ज प्रध्योतकुमार विश्वासका अनुसार सुपोल र अररियाका डुवान क्षेत्रबाट सुरसरको बाटो हुँदै बथानाहामा शनिवार बेलुकीसम्म करीव १० हजार गाउँले भेला भइसकेका छन् । यहाँ आइपेगकाहरुमा उल्लेख्य संख्या नेपालसँग सीमावर्ती गाउँलेहरु छन् । शिविरमा गैरसरकारी संस्था र व्यक्तिगत रुपमा सहयोग संकलन गर्नेहरुले पनि विस्थापितहरुलाई खाजा र लुगा वितरण थालेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोशीको बाढीले हालसम्म विहारका पाँच जिल्लामा २७ लाख जनता प्रभावित भएका छन् । यीमध्ये १० लाख विस्थापित भएका छन् भने ६२ जनाको मृत्यु भएको छ ।
(२०६५ भदौ १६ गतेको कान्तिपुर दैनिकमा १३ पृष्ठमा प्रकाशित)







बाढीमा खबर





सप्तकोशीले सुनसरीको पश्चिम कुशाहा-४ मा पूर्वी तटबन्ध कटान गरि बहावको दिशा फेरेको आज १५ औं दिन हो । यस बीचमा समाचारजन्य तस्बिरका लागि म निकै ब्यस्त भएँ ।
कोशीले कटान गरेको ठाउँमा करीव एक साता प्रत्येक दिन पुगियो । सुनसरीका पश्चिम कुशाहा, श्रीपुर र हरिपुर जलमग्न भए । लौकही र मधुवनका पनि केही भाग जलामय भयो । करीव २० हजारले घर छाडे । इनरुवाको सुनसरी क्याम्पससँगै सबैजसो सरकारी विद्यालयमा अहिले विस्थापितहरुको भरणपोषण जारी छ । राहतको ओइरो रोकिएको छैन । हरिपुर त्यो गाविस हो , जहाँबाट गत वर्षअन्तिममा पहाडे मुलका परिवारहरुलाई धपाइयो । मधेसी टाइगर्सका नाउँमा आएका धम्कीले उनीहरु थलो छाड्न बाध्य भए । अहिले ती परिवार चतरा र बांगेमा शरणार्थी जीवन बाँचिरहेका छन् । जे होस , मधेसी मुलका परिवारमात्र बाढी प्रभावित भएपनि राहत दिदा सहयोगीले मानवीय नाता विर्सेनन् । संकटमा राहत उठाउने काम पश्चिम हिमाली जिल्ला जुम्लासम्म पनि चल्यो , चलेकै छ ।
सञ्चारकर्मीका नाताले मैले तस्बिरहरु लिन दिन दिनै सुनसरी जाने क्रम जारी रह्यो । अस्ति भदौ १४ गते सीमावर्ती भारतको अररिया र सुपोलका केही गाउँ पनि घुम्न पाएँ । त्यहाँ नेपाली भुभागमा भन्दा बढि बिजोक रहेछ ।
सप्तकोशी भारतको कुरसैलाबाट गंगामा मिसिन्छ । कुरसैलासम्मको यात्रामा अहिले कोशीले धेरै क्षेत्र डुबाएको छ । भारतको विहार राज्यका ५ जिल्लामा करीव ५० लाखको जनसंख्या बाढी प्रभाति भएको छ । २७ लाखले घर छाडेका छन् । दुवै देशमा गच्छे अनुसारको उद्दार र राहत जारी छ ।
तीन वर्षदेखि कोशीको तटबन्ध मर्मतमा खटिएकाहरुको उदासिनताको सिकार ठूलो जनसंख्या भएको छ । प्रकृतिसँग मान्छेको केही लाग्दैन भन्दै उद्दारमा खटिएकाहरु ती ठेकेदारलाई सराप्न पछि परेका छैनन् । तर सरापेर मात्र केही हुने होइन ।
वर्षा नथामिएसम्म तटबन्ध पुनः यथास्थानमा उभ्याउन सकिने स्थिति छैन । भारतीय इन्जिनियरहरुको टोली अध्ययनमा लागेका छन । तर, अहिलेको प्राथमिकता नदिको धारसँग जोरी खोज्नेभन्दा पनि क्षति कम गराउनेमा केन्द्रित छ ।

Sunday, August 24, 2008

कोशी व्यस्तता



गत सोमबार दिउँसो सप्तकोशीले पूर्वी तटबन्ध भत्कायो । पानीको भेल पश्चिम कुसाहा-४ भएर टप्पु जाने बाटो हुँदै बग्न थाल्यो । घटनाको एक साता भयो । करीव १० हजार विस्थापितहरु इनरुवा र आसपासका विद्यालयमा शरण लिएर बसेका छन् । श्रीपुर, हरिपुर र पश्चिम कुसाहा गाविस अझै जलमग्न छन् । राजमार्ग खुल्ने छाँट छैन । अप्टिकल फाइवर बगाएकाले टेलिकमको मोवाइल पनि प्रभावित भएको छ ।
मेरो दैनिकी त्यतै व्यस्त रह्यो । मलाइ अझै फुर्सदले बसेर ब्लगमा लेख्ने समय जुटिरहेको छैन ।

Wednesday, August 13, 2008

क्रुरताको पराकाष्ठा






माओवादी जनयुद्धसँगै जनता परिचित भएको दुर्घटनामध्येको सबैभन्दा नमिठो 'हत्या' भन्ने मलाइ लाग्छ । त्योताका नौलो थिएन । संविधानसभापछि आस गरेजस्तो शान्ति छँदै छैन । हिजो विहान युवा दिवसका अवसरमा जुलुस निकाल्ने तयारीमा रहेका भाइहरुले जुट मिल गेटमा आउन फोन गरे ।
त्यहाँ उनीहरुले सहभागिता जुटाउन सकेनन् । ९/१० जनाले ठूलो ब्यानर बोकेर निस्किए । युवा मंत्रालय गठन लगायतका मागमा हस्ताक्षर पनि संकलन गरे । फिर्ने बेलामा रानी भंसार जाँदै गरेका दुइजना ट्राफिक प्रहरी भेटिए । उनीहरुले एकै स्वरमा भने 'पत्रकारजी त्यो शुक्रवारे हाटनेरको नहरमा जानुस, लास छ , धेरै मान्छे भीड छन् ।
ढिलो नगरी विराटनगर-१६ मा पर्ने तेलिया पोखरीबाट केही पश्चिम , त्यहाँ पुग्दा धेरैले नाक थुनेर कुनै कुरा हेरिरहेका थिए । लास रहेछ । जीउ बोरामा , कम्मर मुनिको भाग पैनीको डिलमा । असामयिक मृत्यु भएकाहरुको अस्पतालले पोष्टमार्टमपछि बुझाउने शवजस्तै कम्मरमाथिको भाग बोरामा थियो । सशस्त्र प्रहरीका एक जना सइले भने 'हामीले यो जीउचाहि पानीबाट झिक्न लगाएको हो ।' उनका अनुसार सड्न थालेको दुर्गन्धले थाहा पाउनेबाट प्रहरीमा सूचना पुगेको थियो । त्यहाँ खटिएका इप्रका रानीका सइ बमबहादुर कोइरालाका अनुसार प्रहरीमा कुनै पप्पु यादव भन्ने मान्छेले फोन गरेर यहाँ गन्हाएको खबर दिएको थियो ।
मेलाजस्तै हेर्न भेला भएकाहरु नाकमा रुमाल राखेर नियाल्दै थिए । कान्छी लेखिएको चामल प्याकिङमा प्रयोग हुने प्लाष्टिकको बोराको पुछारबाट आन्द्राभुँडी निस्किरहेको थियो । मुचुल्का तयार गर्दै रहेका प्रहरीले अनुहार हेर्न सजिलो हुनेगरि लठ्ठीले हटाए । अनुहार सुन्निएको थियो । एउटा हात बाहिर देखिएकाले त्यो पानीभित्र रहेछ भन्ने सेतो चाउरिएको देखेर भन्न सकिन्थ्यो । एउटा आँखिभौंमा चोट थियो । १० मिनेट बित्यो । म त्यहाँबाट निस्किए ।
पछि डिएस्पी विद्यानन्द माझीलाई फोन गर्दा पहिचान खुलेको थाहा भयो ।
उनी १५ न. वडाको पिचरा घर भएका १५ वर्षका शम्भु सहनी रहेछन् । बजारस्थित सरस्वती माविमा ८ कक्षामा पढ्ने बिद्यार्थी रहेछन । उनी गत आइतवारदेखि वेपत्ता थिए । प्रहरीको प्रारम्भिक अनुमानमा उनको हत्यापछि छ्याक छ्याक पारेर कम्मरमा काटेर जीउ दुइ टुक्रा बनाइएको थियो ।

Friday, August 8, 2008

घरभित्र अजिंगर भेटिदा



आज चार जनाको टोली थियो, स्नातकोतर क्याम्पसका सरहरु डा. भरतराज सुब्वा, केपी लिम्बू , फोटोपत्रकार मित्र यात्रा थुलुङ र म । हामी सुनसरीको भासि गाविसमा पर्ने झुम्काबाट उतर सिंगियाको लालपुर, मानपुर र रामधुनी हुदै प्रकाशपुर पुग्यौ । त्यहाँ हामी भुँडीफोर गरुड भनिने लेसर एडजुटेन्ट स्टोर्कको गुँडको खोजीमा पुगेका थियौ । बाटो देखेकालाइ सोध्दै जाने सल्लाहमा हामी स्थानीय रविन घिमिरेको घर पुग्यौ ।
रविन दाइ भेटिनुभएन । भाउनुले सुनाउनुभयो त्यहाँ दाहाल थरमा गाउँलेको घरमा अजिंगर निस्किएछ अनि दाइ त्यतै । हामी पनि खोज्दै गयौं । मेला लागेजस्तो बाटैबाट ठूलो भीड थियो । भर्खरै त्यहाँ स्थापना भएको सशस्त्र प्रहरीको बसे क्यापका एक जना जवान भीड नियन्त्रण गर्दै थिए । भित्र छिरियो । कोशीटप्पु मध्यवर्ती क्षेत्रमा पर्ने सो गाउँको ६ न. वडाका मदन दाहालको घरमा तौलिया बोकेर कोठाभित्र खेदाखेद थियो ।
एकैछिनमा खेदाखेद सकियो । आरक्षका कर्मचारीले बाहिर ल्याए अजिंगर । सात फिट लम्बाइको इण्डियन रक पाइथन भनिने सो अजिंगर करीव एक वर्षको हुनुपर्ने अडकल काटियो । उनीहरुले बोरामा हाले र लगे । सिनेमा सकियो ।
टप्पु क्षेत्रमा अजिंगर भेटिनु नौलो थिएन । तर, दाहाल परिवारले काठे घरको चोटामा विहान देखेको अजिंगर दिउँसो भुँइमा झरेपछिमात्र पकडमा आएको थियो । रबिन दाइने सोधे समाचार के गर्ने । मैले हाम्रा जिल्ला संवाददातालाइ भनिदिनोस , फोटो चाहि म पुगेर मेल गरौला भने । अजिंगरको प्रसंग सकिएपछि हामी आएको उदेशयमा लाग्यौ । त्यस क्षेत्रमा कोशी वारी गुँड रहेनछन् ।

बाटो बाटो फुच्चे पम्प


आज विराटनगरबाट सुनसरीको कोशीब्यारेजसम्म पुग्दा रमाइला दृश्य देख्न पाइयो । पशुपंछीका कुरा पछि गरौला । अहिले कुरा गरौ पेट्रोलियम पदार्थको । बाटोमा पम्पहरु बन्द थिए । सबैजसोले डिजल र पेट्रोल हाल्ने उपकरणलाइ लुगा लगाइदिएर 'छैन' को संकेत गरेका थिए ।
आयल निगमले बक्यौता तिर्न नसक्दा भारतीय आयल निगमले तेल दिएको छैन रे । घाटा १६ अर्बमाथिको भन्ने सुन्न पाइएको छ । बाटोमा गुडने गाडीको संख्या घटेको छ । सरकार बनेको छैन । भएको सरकारलाई तेल ल्याउने चासो भएको देखिएको होइन ।
राजमार्गको भण्टावारीमा एउटा साइकल मर्मत गर्ने पसलले मिनरल वाटरको बोटलमा पेट्रोल राखेको थियो । त्यहामात्र होइन पश्चिम कुसाहाको गाविस कार्यालयछेउ दुइ ठाउ र लौकहीमा पनि यस्तो देखियो । कसैले पेट्रोल प्रतिलिटर १२० भने कसैले ११० र कसैले १०० । दरभाउ मनमानी भएपनि ट्रक बसहरुले डिज भने भरिरहेको देखियो ।
हिजो विराटनगरका केही अखवारले एउटा विज्ञापन छापेका थिए । मोटरसाइकल विक्रेताहरुको सञ्जालले सार्वजनिक हितमा जारी गरेको भनिएको सो विज्ञापनमा जथाभावी कम गुणस्तरका तेल हालेमा गाडीमो आयु घटने मात्र होइन इन्जिन नै ब्रि्रने उल्लेख थियो ।
बाटाछेउ टेबुल टेबुलमा कारखानाको रक्सी वा खानेतेलजस्तो रंगमा राखिएका पेट्रोलका बोतलहरुभित्र कस्तो थियो गुणस्तर थाहा भएन । बाटामा ती फुच्चे पम्पहरुले भारतबाट लुकाइछपाइ ल्याएको हाकाहाकी बताए । अनि सुनाए । सारै राम्रो छ रे । ठूला पम्प बन्द भएपनि सानाले थालेको पसलमा आवश्यक परेकाले नहाली धर छैन । पन्पहरुमा कहिलेकाही गुणस्तर जाच गरिएको भन्दै समाचार नआउने होइनन । तर बाटामा सरकारी गाडी पनि तिनै फुच्चेको भरमा इन्धन लिइरहेका थिए । जय होस ।

Thursday, August 7, 2008

सताउने जोकर - द डार्क नाइट (चलचित्र समीक्षा)



पश्चिमेली मुलुकका ठुला सिनेमाघरमा सबैभन्दा राम्रो व्यापार गर्नेमा हलिवुड चलचित्र 'द डार्क नाइट' अहिले अघि छ । यसको कलेक्सनले 'स्पाइडरम्यान-३' को आम्दानीको रेकर्डलाई पनि पछि पारिदिएको छ । अनलाइनहरुका अनुसार 'ब्याटम्यान बिगिन्स' को दोस्रो भागको रुपमा आएको 'द र्डार्क नाइट' हलिवुडको इतिहासमै सबैभन्दा बढि व्यापार गर्ने चलचित्र हो ।
पेरिज हिल्टन डटकम नामक वेवसाइटका अनुसार यसले 'स्टार वार्स एपीसोड थ्री-रीभेन्ज अफ द सीथ' को १ करोड ८४ लाख डलर व्यवसायको रेकर्डलाई पनि पछि पारेको छ । क्रिश्चियन बेल र दिवंगत हीथ लेजरको प्रमुख भुमिका रहेको यो चलचित्रले यो सातासम्ममा ६ करोड ६४ लाख डलर कमाइसकेको छ । क्रिष्टोफर नोलनको निर्देशन रहेको यो चलचित्र कुनै कमिक्स पढेजस्तो रहस्य र रोमाञ्चले भरपुर छ ।
यसमा कमिक्समा हुनेजस्तो चमेरे पात्र ब्याटम्यान गथम सहरको सुरक्षा गर्दै अपराधको विपक्षमा लडेको देखाइएको छ । स्व. अभिनेता हीथ लेजरको यो अन्तिम चलचित्र हो । उनलाई यसमा जोकर बनेर खलपत्रको रुपमा अभिनय गरेको देख्न सकिन्छ ।
जोकर तर, खतरनाक अपराधी । जो आतंक फैलाएर त्यसमा आफ्नो सर्वोच्च स्थान बनाउन चाहन्छ । उसको निशाना बन्छन् ब्याटम्यान(क्रिश्चियन बेल) र उनका सहयोगी लेफ्टिनेन्ट जिम गर्डन (गैरी आल्डम्यान) र अटार्नी हार्वे डेंट । यो जोकर मान्छेलाइ हसाउदैन, आतंकित पार्छ र आफै खुशी हुन्छ । ब्याटम्यानलाई खराब चरित्रका भएको बताएर सहरवासीमाझ जोकर आफ्नो स्थान मजबुत पार्ने हतकण्डा अपनाउन तल्लिन हुन्छ ।
जोकर सानैमा बुबाबाट शोषणको सिकार भएको हो । यही कारण उ निर्दोष मानिसहरुबाट प्रतिशोध लिन खोज्छ । जोकरको षडयन्त्र भयानक हुन्छ । सहर बचाउन ब्याटम्यान, जिम र अटार्नीका लागि असम्भव हुने निर्णय लिनुपर्ने बाध्यता आर्इपर्छ । यसले उनको अस्तित्वमै खतरा आर्इपर्छ । यो लडाइमा ब्याटम्यानका साथी छन् , उनलाई सबैभन्दा बढि बुझने बटलर अल्फेड (काइकल केन) , उ भुमिगत चमेरे गुफाको रक्षक पनि हो ।
स्पेशल इफेक्ट्सको भरपुर उपयोग गरिएको यो चलचित्रमा नायक ब्याटम्यान, उनका सहयोगी र खलपत्र जोकरबीचको लडाइका दृश्यहरु रोमाञ्चपुर्ण छन् । स्पेशल इफेक्ट्सको उपयोग, लडाइ र रहस्यको प्रस्तुतीमा रमाइलो मान्ने किसोर र युवा दर्शकका लागि यो चलचित्रले आकषिर्त गरिरहेको छ ।

मृगौला झिकिएको दावी



विराटनगरमा बुधवार साँझ एउटा पत्रकार सम्मेलन गरि आफ्ना कुरा राख्दै तेह्रथुमको जिरीखिम्ती-६ का दुर्गा भट्टराइ । साथमा उनी छोरी अनिता ।
दुर्गाप्रसादका अनुसार महिनावारी रोकिने समस्या रहेकी अनितालाइ धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जँचाउदा डाक्टरहरुले आन्द्रा बटारिएकाले तुरुन्त अपरेशन गर्न सल्लाह दिए । अपरेशन भयो । डाक्टरले बताए आन्द्रा ठीकै रहेछ , समस्या पाठेघरको थियो । सो फालियो । अब नानी हुँदैन ।
भर्खर विवाह भएकी २२ वर्षीया अनिताका श्रीमानले लगतै दोस्रो विहे गरे । सौता हालिएपछि छोरीलाइ विराटनगर ल्याएर दुर्गाप्रसादले पुनः जँचाए । पाठेघर ठीकै रहेको र दाँया मृगौला अल्ट्रासाउण्डले नदेखाएको रिपोर्ट दियो । अब उनीहरु त्यो अप्रेशन अघिको पुर्जी देखाउँदै भनिरहेछन् 'पहिलेको रिपोर्टले मृगौला देखाउँछ, पछिकोले देखाउँदैन । कसको दोष ?' भनिरहेका छन् ।
वीपी प्रतिष्ठान गल्ति मान्न तयार छैन । पीडित नियाउरो मुख लाएर अब कहाँ जाने भन्नेमा छन् ।