Monday, June 15, 2026

शब्दहरूसँगको त्यो अतार्किक डर

मनोविज्ञानका विद्यार्थीहरुले 'लिटिल अल्बर्ट एक्सपेरिमेन्ट' पढ्नै पर्नेमध्येको एउटा प्रयोगात्मक पाठ हो। यसलाई गरेका हुन् अमेरिकी मनोवैज्ञानिक जोन बी. वाट्सनले। सन् १९२० को प्रयोग जति प्रसिद्ध छ, त्यति नै विवादितमध्ये पनि पर्छ। गर्न हुन्थ्यो/हुँदैनथ्योमा मत मतान्तर छन्। जे होस् उनले प्रयोग गरे, जसलाई 'लिटिल अल्बर्ट प्रयोग' भनिन्छ। 

नौ महिनाको एउटा बच्चा (अल्बर्ट) लाई सुरुमा एउटा सेतो मुसा देखाइयो। बच्चा मुसासँग कत्ति पनि डराएन र खेल्न खोज्यो। त्यसपछि एउटा चाल चलियो। जब-जब अल्बर्टले त्यो सेतो मुसालाई छुने प्रयास गर्थ्यो, ठीक त्यही समयमा उनको पछाडि फलामको डन्डीले ठूलो र डरलाग्दो आवाज निकालिन्थ्यो। त्यो अचानक आएको ठूलो आवाजले बच्चा तर्सिन्थ्यो र रुन थाल्थ्यो।

यो क्रम केही पटक दोहोर्‍याइयो। नतिजा के आयो भने, केही समयपछि अल्बर्टको मस्तिष्कले 'सेतो मुसा' देख्नुलाई 'त्यो डरलाग्दो आवाज' सँग जोड्यो। अब पछाडि कुनै आवाज ननिकाल्दा पनि सेतो मुसा देख्नेबित्तिकै अल्बर्ट डरले काम्न र रुन थाल्थ्यो। अचम्मको कुरा, पछि ऊ मुसा मात्र होइन, सेतो बिरालो, खरायो र सेतो दाह्री भएको सान्टा क्लजको मास्क देख्दा पनि त्यसरी नै डराउन थाल्यो।

यसलाई मनोविज्ञानमा 'क्लासिकल कन्डिसनिङ' भनिन्छ। अब कल्पना गरौँ, अल्बर्टको ठाउँमा कक्षा ३ मा पढ्ने एउटा बालक छ। शिक्षकले उसलाई कक्षाका सबै साथीहरूका अगाडि उभिएर एउटा पाठ पढ्न लगाउनुहुन्छ। पाठ पढ्दै जाँदा एउटा अलि अप्ठ्यारो शब्द आउँछ, मानौँ 'सहानुभूति' वा 'अन्तर्राष्ट्रिय'

बालकले त्यो शब्द गलत उच्चारण गर्छ। त्यो सुन्नेबित्तिकै शिक्षक कडा रूपमा कराउनुहुन्छ र कक्षाका सबै साथीहरू गलल्ल हाँस्छन्। बालक अपमानित महसुस गर्छ, उसको मुटुको धड्कन बढ्छ, अनुहार रातो हुन्छ र ऊ रुँदै बस्छ।

ठ्याक्कै 'लिटिल अल्बर्ट' को प्रयोग जस्तै, त्यो बालकको मस्तिष्कले अब त्यो विशिष्ट शब्द वा उच्चारणलाई 'अपमान, डर र तनाव' सँग लिंक गरिदिन्छ। वर्षौँ बित्छ, ऊ ठूलो हुन्छ, तर जब-जब कुनै पुस्तकमा, भाषणमा वा कसैको कुराकानीमा त्यो विशिष्ट शब्द आउँछ, उसको मस्तिष्कले पुरानाे डरको घण्टी बजाइदिन्छ। उसलाई थाहै नपाई त्यो शब्द देख्ने वा सुन्नेबित्तिकै चिटचिट पसिना आउन थाल्छ। यो अवस्था नै 'लोगोफोबिया' (Logophobia) हो।

सरल शब्दमा भन्दा लोगोफोबिया शब्दहरूसँग लाग्ने अत्यधिक, अतार्किक र अस्वाभाविक डर हो। यो ग्रीक भाषाको 'Logos' (शब्द वा बोली) र 'Phobos' (डर) मिलेर बनेको हो। यो अवस्था कुनै मानसिक कमजोरी होइन,  मस्तिष्कको एउटा यस्तो कन्डिसनिङ (अनुकूलन) हो, जहाँ एउटा सामान्य शब्दले पनि मानिसभित्र ठूलो डर वा एन्जाइटी पैदा गरिदिन्छ।

यो कसरी प्रकट हुन्छ? यसका लक्षणहरू के हुन्? भन्ने प्रश्नमा लोगोफोबिया भएका व्यक्तिहरूमा यो डर विभिन्न तरिकाले देखिन सक्छ।

  • विशिष्ट शब्दहरूको डर (Specific Word Phobia): कतिपयलाई सबै शब्दसँग डर लाग्दैन। उनीहरूलाई कुनै खास विषयसँग जोडिएका शब्दहरू (जस्तै: रोग, मृत्यु, भूत, वा बाल्यकालको कुनै घटनासँग जोडिएको शब्द) सुन्दा वा पढ्दा पनि डर लाग्छ। यो डर व्यक्तिको पुराना तीता स्मृति वा गहिरो मानसिक चोटसँग जोडिएको हुन्छ। उदाहरणका लागि, विगतमा दुर्घटनामा परेर निकै दुःख पाएको व्यक्तिलाई 'अस्पताल', 'रगत' वा 'चोट' जस्ता शब्द सुन्नेबित्तिकै पुरानाे पीडा बल्झिएर एन्जाइटी सुरु हुन सक्छ। यस्तो अवस्थामा मस्तिष्कले ती शब्दहरूलाई केवल अक्षरका रूपमा मात्र हेर्दैन, बल्कि एउटा ठूलो खतराको संकेतका रूपमा बुझ्छ। नतिजास्वरूप, उनीहरू त्यस्ता शब्द उच्चारण हुने कुराकानी वा पुस्तकबाट टाढै बस्छन्।

  • लामा र जटिल शब्दहरूको डर (Hippopotomonstrosesquippedalio phobia) : हिप्पोपोटोमोन्स्ट्रोसेसक्विप्पेडेलियो फोबिया लोगोफोबियाकै एउटा हाँगा हो, जहाँ मानिसहरू उच्चारण गर्न गाह्रो हुने लामा शब्दहरू देख्दा वा बोल्नुपर्दा डरले रन्थनिन थाल्छन्। विडम्बनाको कुरा के छ भने, यो डरलाई बुझाउने अङ्ग्रेजी शब्द आफैंमा संसारकै सबैभन्दा लामा शब्दहरूमध्ये एक हो, जसले यो फोबिया भएका व्यक्तिलाई थप त्रसित बनाउन सक्छ। यस्तो समस्या भएका मानिसहरू सार्वजनिक ठाउँमा वा व्यावसायिक बैठकहरूमा प्रस्तुति दिँदा निकै सचेत र डराएका हुन्छन्। उनीहरूलाई कतै लामो शब्द उच्चारण गर्दा जिब्रो लरबरिने त होइन वा गलत उच्चारण गरेर उपहासको पात्र बन्ने त होइन भन्ने तीव्र चिन्ताले सताउँछ। त्यसैले, उनीहरू जटिल शब्दहरूको सट्टा ससाना र सरल शब्दहरू मात्र रोज्ने गर्छन्।

  • शारीरिक प्रतिक्रिया : जब त्यस्ता शब्दहरू अगाडि आउँछन्, व्यक्तिको मुटुको गति तीव्र हुने, सास फेर्न गाह्रो हुने, हातखुट्टा काम्ने वा 'प्यानिक अट्याक' हुने सम्भावना रहन्छ। वास्तवमा, जब मस्तिष्कले कुनै शब्दलाई खतराको रूपमा पहिचान गर्छ, तब शरीरमा तत्कालै 'फाइट अर फ्लाइट' (Fight or Flight) हर्मोनहरू सक्रिय हुन्छन्। यसले गर्दा व्यक्तिको शरीर जुरुङ्ग हुने, अनुहार रातो हुने वा अचानक अत्यधिक चिटचिट पसिना आउने जस्ता लक्षण देखिन्छन्। केही व्यक्तिमा त डरका कारण घाँटी र भित्री मांसपेशीहरू खुम्चिन्छन्, जसले गर्दा सोच्दासोच्दै पनि मुखबाट आवाज नै निस्कन सक्दैन। यो अवस्था शारीरिक रूपमा यति कष्टकर हुन्छ कि व्यक्तिले तत्कालै त्यो ठाउँ छोडेर भाग्ने वा कसैसँग नबोली एकान्तमा बस्ने प्रयास गर्छ।

  • भाग्ने प्रवृत्ति (Avoidance): यस्ता व्यक्तिहरू ती शब्दहरू प्रयोग हुन सक्ने पुस्तक पढ्न, कार्यक्रममा जान वा मानिसहरूसँग गफ गर्नबाट उम्किन खोज्छन्। यो प्रवृत्ति बढ्दै जाँदा उनीहरू बिस्तारै समाज र साथीभाइबाट टाढिन थाल्छन्। उदाहरणका लागि, कुनै विशेष विषयमा कुराकानी भइरहेको छ भने उनीहरू अचानक बिरामी भएको बहाना गरेर त्यहाँबाट निस्कन सक्छन्। कतिपय अवस्थामा त यो डरले उनीहरूको करियरमै ठूलो धक्का पुर्‍याउँछ; उनीहरू सार्वजनिक मञ्चमा बोल्नुपर्ने, प्रस्तुति दिनुपर्ने वा नयाँ/नौला मानिसहरूसँग अन्तर्क्रिया गर्नुपर्ने जागिर र अवसरहरू जानीजानी गुमाउने गर्छन्। आफूलाई सुरक्षित राख्न अपनाइने यो 'भाग्ने खेल' ले अन्ततः उनीहरूको आत्मविश्वासलाई कमजोर बनाउँछ र मानसिक तनावलाई अझ बढाउने काम गर्छ।

यो किन हुन्छ ?

विगतको मानसिक चोट (Trauma): माथिको घटनामा जस्तै, बाल्यकालमा वा विगतमा कुनै शब्द गलत उच्चारण गर्दा सजाय पाएको, अपमानित भएको वा गिल्ला गरिएको अनुभव यसको सबैभन्दा ठूलो कारण हो। मानव मस्तिष्कले शारीरिक चोटलाई भन्दा मानसिक वा भावनात्मक ठेसलाई लामो समयसम्म स्मरणमा सुरक्षित राख्छ। बाल्यकालमा शिक्षक वा साथीहरूबाट भएको त्यो एउटा सानाे गिल्ला अवचेतन मस्तिष्कमा एउटा गहिरो खत बनेर बसिदिन्छ। उमेर बढ्दै गए पनि जब त्यो शब्द वा उस्तै परिस्थिति पुनः अगाडि आउँछ, मस्तिष्कले त्यसलाई पुरानै अपमान र पीडाको पुनरावृत्तिका रूपमा बुझ्छ। नतिजास्वरूप, व्यक्तिमा आत्म-विश्वासको तीव्र कमी आउँछ र ऊ आफूलाई सुरक्षित राख्नका लागि ती शब्दहरू सुन्न वा उच्चारण गर्नबाट सधैं डराउने र पन्छिने गर्छ।

सामाजिक डर (Social Anxiety): मानिसहरूका अगाडि बोल्दा कतै मेरो शब्द गलत भएर म हाँसोको पात्र बन्ने त होइन भन्ने डर बिस्तारै शब्दकै डरमा परिणत हुन सक्छ। यो डर भएका व्यक्तिहरू समाजमा आफ्नो प्रतिष्ठा र अरूले गर्ने मूल्यांकनप्रति अत्यधिक संवेदनशील हुन्छन्। सार्वजनिक रूपमा बोल्दा एउटा मात्र शब्द पनि गलत वा अस्पष्ट उच्चारण भएमा मानिसहरूले आफ्नो बौद्धिकतामाथि शंका गर्नेछन् भन्ने भ्रम उनीहरूको मनमा खेलिरहन्छ। यही चरम आत्म-सचेतताका कारण उनीहरू बोल्नुअघि प्रत्येक शब्दलाई मनमनै धेरै पटक केरकार गर्छन्। यसरी शब्दहरूको निरन्तर केरकार र मानसिक तनावले गर्दा अन्ततः उनीहरूमा सामान्य कुराकानी गर्दा पनि भाषा र विशिष्ट शब्दहरूप्रति नै एक किसिमको गहिरो संशय र भय उत्पन्न हुन पुग्छ।

सिकाइ र वातावरण: यदि परिवारमा कसैलाई कुनै कुराको तीव्र डर छ भने, बच्चाले पनि अवचेतन रूपमा त्यो डर सिक्न सक्छ। बालबालिकाहरू स्वभावैले आफ्ना अभिभावकको व्यवहार र प्रतिक्रियालाई नजिकबाट नियालेर संसारलाई बुझ्ने प्रयास गर्छन्। यदि घरको वातावरणमा बुबाआमा वा ठूला सदस्यहरू कुनै विशिष्ट शब्द सुन्दा, उच्चारण गर्दा वा निश्चित विषयमा कुरा गर्दा आत्तिएको, डराएको वा तनावमा परेको देखिन्छ भने, बच्चाको मस्तिष्कले त्यसलाई 'खतराको घण्टी' का रूपमा ग्रहण गर्छ। यसरी हुर्कने क्रममा परिवारको त्यही डर र संकुचित दृष्टिकोण बच्चामा सजिलै हस्तान्तरण हुन पुग्छ। परिणामस्वरूप, कुनै प्रत्यक्ष नराम्रो अनुभव नभए पनि हुर्केपछि ऊ स्वयम् ती शब्द र अभिव्यक्तिहरूसँग बिनाकारण डराउन थाल्छ।

यसबाट कसरी बाहिर निस्कने ?

मस्तिष्कले जसरी गलत कडी (लिंक) जोडेर डर सिकेको हुन्छ, त्यसरी नै त्यसलाई 'अन-लर्न' (Unlearn) गर्न वा हटाउन पनि सकिन्छ। यसका लागि निम्न उपायहरू प्रभावकारी हुन्छन् -

  • कग्निटिभ बिहेभियरल थेरापी (CBT): यो थेरापीमार्फत व्यक्तिलाई डर लाग्ने शब्दप्रति उसको नकारात्मक सोचाइको ढाँचा बदल्न सिकाइन्छ। मनोविज्ञानमा विचार (Cognition) र व्यवहार (Behavior) एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन्। CBT ले व्यक्तिको त्यही विचारको कडीलाई पहिल्याउने काम गर्छ। थेरापिस्टले बिरामीलाई 'एउटा शब्द आफैंमा खतरनाक हुन सक्दैन' भन्ने यथार्थबोध गराउँछन् र मस्तिष्कमा वर्षौँदेखि जमेर बसेको 'शब्द = खतरा' भन्ने गलत बुझाइलाई तार्किक रूपमा चुनौती दिन सिकाउँछन्। यस प्रक्रियामा व्यक्तिले आफ्नो डरलाई बढावा दिने स्वचालित नकारात्मक विचारहरू पहिचान गर्न र तिनीहरूलाई सकारात्मक एवं व्यावहारिक विचारहरूद्वारा प्रतिस्थापन गर्न सिक्छ। बिस्तारै विचार बदलिँदा व्यक्तिको शब्दप्रतिको डरलाग्दो व्यवहार र शारीरिक प्रतिक्रिया पनि स्वतः कम हुँदै जान्छ।

  • एक्सपोजर थेरापी (Exposure Therapy): यसमा विशेषज्ञको निगरानीमा बिस्तारै, सुरक्षित वातावरणमा ती डर लाग्ने शब्दहरूको सामना गराइन्छ। सुरुमा शब्द सोच्न लगाइन्छ, त्यसपछि हेर्न, सुन्न र अन्त्यमा उच्चारण गर्न लगाइन्छ। जसले गर्दा मस्तिष्कको डर बिस्तारै हराएर जान्छ। यस थेरापीले वैज्ञानिक रूपमा 'सिस्टेमेटिक डिसेन्सिटाइजेसन'को सिद्धान्तमा काम गर्छ। थेरापिस्टले बिरामीको डरको स्तरअनुसार एउटा 'भयको सिँढी' (Fear Hierarchy) तयार पार्छन्। बिरामीलाई सुरुमा कम डर लाग्ने शब्दहरू र बिस्तारै बढी डर लाग्ने मुख्य शब्दहरूको सामना गराइन्छ। बारम्बार ती शब्दहरूको सुरक्षित रूपमा सामना गर्दा, मस्तिष्कले यी शब्दहरूबाट मलाई कुनै वास्तविक खतरा छैन' भन्ने कुरा महसुस गर्छ। यो निरन्तरको अभ्यासले मस्तिष्कको पुरानो डरको कडीलाई तोडिदिन्छ, जसका कारण बिरामीको एन्जाइटी र शारीरिक प्रतिक्रियाहरू बिस्तारै स्थायी रूपमा शान्त भएर जान्छन्।

  • माइन्डफुलनेस र रिल्याक्सेसन: डरको लहर चल्दा लामो र गहिरो सास फेर्ने (Deep Breathing) अभ्यासले शारीरिक लक्षणहरूलाई शान्त पार्न मद्दत गर्छ। जब लोगोफोबियाका कारण शरीरमा अचानक तनाव उत्पन्न हुन्छ, तब अरु बेलाभन्दा सास छिटो छिटो फेर्छौं। ढुकढुकी बढ्न पुग्छ, जसले मस्तिष्कमा अझ बढी संकटको संकेत पठाउँछ। माइन्डफुलनेस र 'बक्स ब्रिदिङ' (Box Breathing) जस्ता गहिरो श्वासप्रश्वासका विधिहरूले शरीरको 'प्यारासिम्पेथेटिक नर्भस सिस्टम'लाई सक्रिय बनाउँछन्। यसले मुटुको बढेको धड्कनलाई तुरुन्तै सुस्त बनाउन, रक्तचाप नियन्त्रण गर्न र मस्तिष्कलाई 'तिमी सुरक्षित छौ' भन्ने सन्देश दिन मद्दत गर्छ। वर्तमान क्षणमा ध्यान केन्द्रित गर्दा व्यक्ति काल्पनिक डरबाट बाहिर निस्कन्छ। यो नियमित अभ्यासले संकटको समयमा तात्कालिक राहत मात्र दिँदैन, व्यक्तिमा डरको सामना गर्ने आन्तरिक क्षमता र आत्मसंयम पनि बढाउँछ।

निष्कर्षमा शब्दहरू विचार आदानप्रदान गर्ने माध्यम हुन्। तर जब कुनै शब्द डरको स्रोत बन्छ, तब बुझ्नुपर्छ कि खेल शब्दको होइन, हाम्रो मस्तिष्कले विगतमा बनाएको एउटा सानो कडीको मात्र हो, जसलाई सजिलै सुधार्न सकिन्छ।

***

त्यसो भए शब्दसँग नडराउने ?

तपाइँको मनमा यस्तो प्रश्न आउन सक्छ। यो एकदमै गहिरो र दार्शनिक प्रश्न हो। मनोविज्ञान र मानव उद्विकास (Evolution) को दृष्टिकोणबाट हेर्ने हो भने, कुनै पनि शब्दसँग कत्ति पनि सतर्क नहुनु वा डर महसुस नगर्नु पनि एक प्रकारको खराबी वा कमजोरी नै हो।

जसरी अत्यधिक डर (फोबिया) रोग हो, त्यसरी नै आवश्यक सतर्कताको पूर्ण अभाव हुनु पनि खतरनाक हुन सक्छ। यसका पछाडि वैज्ञानिक र व्यावहारिक कारणहरू छन्।

'खतरा' बुझाउने शब्दहरूसँग सतर्कता कति आवश्यक ?

भाषा केवल अक्षरहरूको समूह मात्र होइन, यो अनुभव र चेतावनीको संवाहक पनि हो। मानौँ, कसैले भन्यो -'त्यहाँ विषालु सर्प छ ! वा 'त्यो बाटोमा 'पहिरो' जाँदैछ।' यस्ता शब्द सुन्दा हाम्रो मस्तिष्कमा एक प्रकारको 'सकारात्मक डर' वा सतर्कता (Alertness) उत्पन्न हुनुपर्छ। यदि कोही व्यक्ति यी शब्दहरूसँग कत्ति पनि सतर्क हुँदैन र उदासीन रहन्छ भने, उसले आफ्नो ज्यान नै जोखिममा पार्न सक्छ।

सामाजिक र सांस्कृतिक मर्यादा (Social Graces)

समाजमा कतिपय शब्दहरू 'ट्याबु' (Taboo), गाली वा अपमानजनक मानिन्छन्। कुन ठाउँमा कस्तो शब्द बोल्ने वा कुन शब्द सुन्दा कस्तो प्रतिक्रिया दिने भन्ने कुरामा सतर्क हुनु सामाजिक सुझबुझको लक्षण हो। यदि कोही व्यक्ति नकारात्मक वा अमर्यादित शब्दहरूसँग कत्ति पनि सचेत छैन भने, उसले सामाजिक रूपमा अरूको भावनामा ठेस पुर्‍याउन सक्छ वा आफैं विवादमा पर्न सक्छ।

'स्वस्थ डर' जीवन रक्षाको साधन 

मनोविज्ञानका अनुसार 'स्वस्थ डर' (Healthy Fear) मानव अस्तित्वका लागि अनिवार्य छ। सयौं वर्ष अघि हाम्रा पुर्खाहरू जंगलमा बस्दा 'बाघ', 'चोट' वा 'मृत्यु' जस्ता अवधारणा र शब्दहरूसँग सतर्क भएकै कारण आज हामी यो धर्तीमा छौँ। शब्द सुन्नेबित्तिकै मस्तिष्क चनाखो हुनु भनेको आत्मरक्षाको प्राकृतिक प्रणाली सक्रिय हुनु हो।

डर, सतर्कता र फोबियाबीचको भिन्नता

हामीले यी तीनवटा अवस्थालाई फरक गरेर बुझ्नुपर्छ।

अवस्थायसको अर्थयो कस्तो हो?
फोबिया (लोगोफोबिया)सामान्य वा निरपराध शब्दसँग पनि अतार्किक रूपमा डराएर प्यानिक हुनु।अस्वस्थ/समस्या
सतर्कता (Alertness)शब्दको गम्भीरता, अर्थ र सन्दर्भ बुझेर सचेत हुनु।स्वस्थ/अनिवार्य
पूर्ण उदासीनता (Apathy)कुनै पनि गम्भीर वा खतरनाक शब्दप्रति कत्ति पनि संवेदनशील नहुनु।अस्वस्थ/ जोखिमपूर्ण

त्यसैले अति सर्वत्र वर्जयेत् अर्थात् कुनै पनि कुराको अति राम्रो हुँदैन। शब्दहरूसँग डराएर आफ्नो दैनिक जीवन नै प्रभावित पार्नु (लोगोफोबिया) जति गलत हो, शब्दहरूको शक्ति, संवेदनशीलता र चेतावनीप्रति पूर्ण रूपमा आँखा चिम्लिनु (सतर्क नहुनु) पनि त्यति नै ठूलो खराबी हो। एउटा सचेत मानिसमा शब्दप्रति डर होइन, आदरयुक्त सतर्कता हुनुपर्छ।

***

लोगोफोबियालाई जित्ने कसरी ?

लोगोफोबिया (शब्दहरूको डर) बाट जोगिन र यसलाई व्यवस्थापन गर्न 'के गर्ने' र 'के नगर्ने' भन्ने कुराको स्पष्ट ज्ञान हुन जरुरी छ। गलत तरिकाले डरको सामना गर्दा डर झन् बढ्न सक्छ भने, सही तरिकाले अभ्यास गर्दा यसलाई पूर्ण रूपमा जित्न सकिन्छ।

के गर्ने? (Dos)

  • बिस्तारै शब्दहरूको सामना गर्ने (Gradual Exposure) : जुन शब्द वा उच्चारणसँग डर लाग्छ, त्यसबाट सदाका लागि भाग्नुको सट्टा बिस्तारै त्यसको सामीप्यता बढाउनुहोस्। सुरुमा त्यो शब्द डायरीमा लेख्ने, त्यसपछि एक्लै हुँदा ऐना हेरेर उच्चारण गर्ने र बिस्तारै साथीभाइका माझ प्रयोग गर्ने अभ्यास गर्नुस्।

  • गहिरो सास फेर्ने अभ्यास (Deep Breathing) : कुनै शब्द सुन्दा वा बोल्नुपर्दा मनमा डरको लहर चल्न थाल्यो भने तत्कालै ४ सेकेन्ड सास तान्ने, ४ सेकेन्ड रोक्ने र ४ सेकेन्ड लगाएर बाहिर छोड्ने (Box Breathing) अभ्यास गर्नुहोस्। यसले शारीरिक उत्तेजनालाई शान्त पार्छ।

  • नकारात्मक विचारलाई चुनौती दिने : मनमा "मैले गलत उच्चारण गरेँ भने सबैले मलाई गिल्ला गर्नेछन्" भन्ने विचार आयो भने आफैंलाई प्रश्न गर्नुहोस् - 'के साँच्चै एउटा शब्द बिग्रँदैमा मेरो सबै योग्यता सकिन्छ र? गल्ती कसबाट हुँदैन?' सानो समूहबाट बोल्न सुरु गर्नुस्। यदि सार्वजनिक रूपमा बोल्दा शब्दहरू लरबरिने डर छ भने, सुरुमा आफ्ना नजिकका र विश्वासिला २-३ जना साथीहरूको अगाडि आफ्नो कुरा राख्ने अभ्यास गर्नुहोस्। यसले आत्मविश्वास बढाउँछ।

  • विज्ञको सल्लाह लिने : यदि यो डरले तपाईंको व्यावसायिक जीवन वा दैनिक सञ्चारमा गम्भीर असर पुर्‍याइरहेको छ भने मनोपरामर्शदाता वा थेरापिस्टसँग भेटेर कग्निटिभ बिहेभियरल थेरापी (सीबीटी) सेवा लिनुस्।

के नगर्ने? (Don'ts)

  • शब्द वा परिस्थितिबाट नभाग्ने : डर लाग्ने शब्द आउने डरले किताब पढ्नै छोड्ने, मिटिङमा बस्दै नबस्ने वा मानिसहरूसँग बोल्नै बन्द गर्ने गल्ती नगर्नुस्। तपाईं जति धेरै भाग्नुहुन्छ, अवचेतन मस्तिष्कमा त्यो शब्दप्रतिको डर त्यति नै बलियो हुँदै जान्छ। मनोविज्ञानमा यसलाई 'नकारात्मक सुदृढीकरण' (Negative Reinforcement) भनिन्छ। जब तपाईं डर लाग्ने परिस्थितिबाट भाग्नुहुन्छ, तत्कालका लागि त मन शान्त हुन्छ, तर मस्तिष्कले 'भाग्नु नै सुरक्षित रहने एकमात्र उपाय हो' भन्ने गलत पाठ सिक्छ। परिणामस्वरूप, अर्को पटक त्यो शब्द सामना गर्ने आँट झन् घटेर जान्छ। डरको यो दुष्चक्रलाई तोड्नका लागि भाग्ने होइन, बल्कि असहजता सहेरै भए पनि त्यहीँ उभिने साहस गर्नुपर्छ। सुरुमा केही मिनेट मात्र त्यो शब्द वा परिस्थितिको सामना गर्नाले पनि मस्तिष्कमा नयाँ र सकारात्मक न्यूरोनल कनेक्सनहरू बन्न थाल्छन्, जसले बिस्तारै पुरानो भयलाई सधैँका लागि विस्थापित गरिदिन्छ।

  • आफूलाई दोष नदिने : कुनै शब्द उच्चारण गर्दा जिब्रो लरबरियो वा डरले कामियो भने 'म कस्तो कमजोर, मैले केही गर्न सक्दिनँ' भन्दै आफैंलाई हीनताबोध गराउने काम नगर्नुस्। फोबिया एउटा मानसिक कन्डिसनिङ मात्र हो, तपाईंको क्षमताको मापन होइन। जब तपाईं आफैंलाई दोषी देख्न थाल्नुहुन्छ, शरीरमा मानसिक तनाव बढाउने 'कोर्टिसोल' हर्मोनको मात्रा थपिन्छ, जसले बोलीलाई अझ बढी असन्तुलित बनाइदिन्छ। गल्ती हुनु वा डराउनु मानवीय स्वभाव हो भन्ने कुरालाई सहज रूपमा स्वीकार गर्नुस्। यस्तो बेला आफैंप्रति कठोर हुनुको सट्टा एउटा असल साथीले जस्तै सहानुभूतिपूर्वक संवाद गर्नुस्। आफैंलाई सम्झाउनुस्। संसारका दिग्गज वक्ता वा विज्ञहरूबाट पनि कहिलेकाहीँ शब्दहरू गलत उच्चारण हुन्छन्। यो फोबिया तपाईंको पहिचान वा बुद्धिको स्तर होइन, केवल मस्तिष्कले विगतमा झुक्किएर सिकेको एउटा गलत बानी मात्र हो, जसलाई धैर्य र निरन्तरको अभ्यासले सजिलै सुधार्न सकिन्छ। 

  • शब्दहरूलाई मनमनै धेरै केरकार नगर्ने : बोल्नुअघि प्रत्येक शब्दलाई मनमा सय पटक केरकार गर्ने र 'यो ठीक होला कि नहोला' भनेर बढी सोच्ने गर्दा प्राकृतिक रूपमा निस्कने बोली पनि अड्किन थाल्छ। भाषालाई सञ्चारको माध्यम मात्र मान्नुस्, परीक्षा होइन। जब तपाईं बोल्नुअघि शब्दहरूलाई अत्यधिक फिल्टर वा केरकार गर्न थाल्नुहुन्छ, मस्तिष्कको स्वचालित सञ्चार प्रणाली (Spontaneous Communication System) मा अवरोध पुग्छ। यसले गर्दा बोलीमा हुनुपर्ने सहजता हराउँछ र भाषा कृत्रिम जस्तो बन्न पुग्छ, जसले अन्ततः तपाईंको आत्मविश्वासलाई नै कमजोर बनाइदिन्छ। व्याकरण वा उच्चारण शतप्रतिशत सही हुनैपर्छ भन्ने मानसिक दबाबबाट मुक्त हुनुस्। कुराकानी गर्दा तपाईंको विचार र भावना अर्को व्यक्तिसम्म पुग्नु मुख्य कुरा हो, न कि शब्दहरूको त्रुटिहीन प्रदर्शनी। बोलीमा सानातिना गल्तीहरू स्वीकार गर्दै व्याकरणको साटो संवादको मर्ममा ध्यान केन्द्रित गर्दा मस्तिष्क शान्त हुन्छ र शब्दहरू बिनाकुनै डर प्राकृतिक रूपमा प्रवाह हुन थाल्छन्।

  • नकारात्मक प्रतिक्रिया दिने मानिसहरूबाट टाढै रहने : सुरुवाती अभ्यासका क्रममा तपाईंको गल्तीको खिल्ली उडाउने वा नकारात्मक टिप्पणी गर्ने मानिसहरू छन् भने उनीहरूका अगाडि तत्कालका लागि धेरै प्रतिक्रिया नदिनुस्। यसले तपाईंको मनोबल गिराउन सक्छ। लोगोफोबियाबाट बाहिर निस्कने सुरुवाती चरण एउटा आलो घाउ जस्तै संवेदनशील हुन्छ, जहाँ सानो नकारात्मक टिप्पणीले पनि मानसिक रूपमा ठूलो धक्का पुर्‍याउन सक्छ। उपहास वा आलोचना गर्ने मानिसहरूले तपाईंको मस्तिष्कमा रहेको पुरानो डरको चोटलाई झन् बल्झाउने काम गर्छन्। त्यसैले, आफ्नो आत्म-सुधारको यात्रामा उनीहरूका कुरालाई मनमा लिएर ऊर्जा नष्ट नगर्नुस्। बरु, यस्तो समयमा तपाईंलाई सिकाउने, गल्ती हुँदा ढाडस दिने र हौसला बढाउने सहयोगी एवं सकारात्मक मानिसहरूको सर्कलमा बढी समय बिताउनुहोस्। जब सुरक्षित र सम्मानजनक वातावरणमा तपाईंको आत्मविश्वास बलियो हुँदै जान्छ, तब भविष्यमा कसैले नकारात्मक प्रतिक्रिया दिए पनि त्यसले तपाईंको मानसिक शान्ति र बोलीको प्रवाहलाई कुनै असर पुर्‍याउन सक्ने छैन।

  • हतास नहुने : वर्षौँदेखि मस्तिष्कमा बसेको डर एकै दिनमा हराउँदैन। त्यसैले, 'मैले दुई दिन अभ्यास गर्दा पनि किन ठीक भएन' भन्दै हतास भएर बीचैमा अभ्यास नछोड्नुहोस्। मनोवैज्ञानिक परिवर्तनहरू रातारात सम्भव हुँदैनन्; यो जिम गएर मांसपेशी बलियो बनाए जस्तै एक क्रमिक प्रक्रिया हो। तपाईंको अवचेतन मस्तिष्कले जुन डरलाई वर्षौँदेखि एउटा अकाट्य सत्य मानेर आएको छ, त्यसलाई 'अन-लर्न' (Unlearn) गर्न र नयाँ बानी बसाल्न केही समय अवश्य लाग्छ। अभ्यासका क्रममा कहिलेकाहीँ पुरानै डर बल्झिए जस्तो हुन सक्छ, तर त्यसलाई असफलता नभई सुधारको यात्रामा आउने स्वाभाविक उतारचढावका रूपमा बुझ्नुपर्छ। प्रत्येक सानो प्रयासले तपाईंको मस्तिष्क भित्र सकारात्मक परिवर्तन ल्याइरहेको हुन्छ। त्यसैले, नतिजाको हतारो नगरी आफैंलाई पर्याप्त समय दिनुस् र आफ्नो सानोभन्दा सानो प्रगतिलाई पनि उत्सवका रूपमा लिँदै अगाडि बढ्नुहोस्; निरन्तरको धैर्यता नै यस डरलाई जित्ने अन्तिम साँचो हो।

लोगोफोबियासँग लड्ने सबैभन्दा ठूलो हतियार भनेको 'गल्ती गर्ने छुट आफैंलाई दिनु' हो। जब तपाईं 'मबाट पनि शब्दहरू गलत उच्चारण हुन सक्छन् र त्यो सामान्य कुरा हो' भन्ने यथार्थलाई स्वीकार गर्नुहुन्छ, तब शब्दहरूको शक्ति स्वतः कमजोर हुन थाल्छ। वास्तवमा, त्रुटिहीनताको खोजी नै धेरैजसो मानसिक तनावको जड हो। संसारमा कोही पनि सर्वगुणसम्पन्न हुँदैन। भाषा र अभिव्यक्ति त विचार आदानप्रदान गर्ने माध्यम मात्र हुन्, कुनै परीक्षा वा न्यायलय होइनन्। जब हामी आफूलाई गल्ती गर्ने र त्यसबाट सिक्ने स्वतन्त्रता दिन्छौँ, तब हाम्रो अवचेतन मस्तिष्कमा रहेको 'अमान्य हुने वा हाँसोको पात्र बन्ने' आदिम डर बिस्तारै पग्लिएर जान्छ।

शब्दहरू आफैंमा न शक्तिशाली हुन्छन्, न त कमजोर। तिनीहरूलाई शक्ति दिने वा त्रसित बनाउने काम त केवल हाम्रो मस्तिष्कको एउटा कुनामा लुकेको पुरानो कडीले मात्र गरिरहेको हुन्छ। त्यसैले, लोगोफोबियालाई आफ्नो कमजोरी वा पहिचान नमान्नुहोस्। यो त केवल एउटा यात्रा हो, जहाँ तपाईंले आफ्नै मस्तिष्कलाई पुनः प्रशिक्षित  गरिरहनुभएको छ। प्रत्येक पटक डर लाग्ने शब्दको सामना गर्दा, आफैंप्रति दयालु बन्नुहोस् र धैर्यतापूर्वक अगाडि बढ्नुहोस्। जब तपाईं आफ्नो बोली र शब्दहरूमाथि आदरयुक्त सतर्कता राख्दै आत्म-स्वीकार्यताको बाटो रोज्नुहुन्छ, तब शब्दहरू तपाईंको डरका स्रोत होइन, बल्कि तपाईंको विचारका सुन्दर संवाहक बन्न पुग्छन्। अन्ततः, डरलाई जितेर आफ्नो आवाजलाई स्वतन्त्र रूपमा प्रवाहित हुन दिनु नै यो यात्राको सबैभन्दा ठूलो विजय हो।

Thursday, June 11, 2026

ग्लोसोफोबिया : भीडका अगाडि बोल्न डर

सन् १८६६ तिरको कुरा हो, अमेरिकी लेखक मार्क ट्वेनले मञ्चमा उभिएर व्यावसायिक विषयमा भाषण दिनुपर्ने थियो। सार्वजनिक मञ्चमा त्यसरी बोल्नु उनका लागि पहिलो अवसर थियो। मञ्चमा त उक्लिए, तर अगाडि बसेको भीड देख्नासाथ उनको सातो गयो। 

पछि उनले आफ्नो संस्मरणमा लेखेका छन् - 'मञ्चमा पुग्दा मेरो मुख पूरै सुकिसकेको थियो, मानौं मैले बालुवाको डल्लो निलेको छु। मेरो मुटु यति जोडले धड्किरहेको थियो कि मलाई लाग्थ्यो, अगाडि बस्ने सबैले त्यसको आवाज सुनिरहेका छन्। मलाई लाग्दै थियो, म यहाँ बोल्नका लागि होइन, फाँसी पाउनका लागि उभिएको छु।' 

मार्क ट्वेन जस्ता नाम चलेका साहित्यकार, जसले शब्दहरूसँग खेलेर संसारलाई मन्त्रमुग्ध पारे, उनलाई त आफ्नो पहिलो भाषणमा यस्तो महसुस भएको थियो भने तपाईं-हामी त सामान्य मानिस हौं। मञ्चमा उभिँदा मुख सुक्नु, मुटुको धड्कन बढ्नु र अगाडिको भीड कालजस्तै देखिनु कुनै कमजोरी होइन। मनोविज्ञानको भाषामा यसलाई 'ग्लोसोफोबिया' (Glossophobia) अर्थात् सार्वजनिक रूपमा बोल्ने डर भनिन्छ। 

महात्मा गान्धीको प्रसंग झन् धेरै जनासँग हुनसक्ने घटनामा पर्छ। युवावस्थामा मोहनदास करमचन्द गान्धी जब वकालत पढेर पहिलोपटक बम्बई (मुम्बई) को अदालतमा एउटा सानो मुद्दाको बहस गर्न उभिए, तब अनौठो घटना भयो। उनले विपक्षी साक्षीलाई सोध्नुपर्ने प्रश्नहरू कागजमा लेखेर लगेका थिए। तर, जब उनी न्यायाधीश र अदालतको भीडका अगाडि उभिए, उनको गोडा काम्न थाले। रिङटा लागेजस्तो भयो। उनले आफ्नो कागजमा हेरे,  अक्षरहरू धमिलो देखिए। उनी एक शब्द पनि बोल्न सकेनन् र आफ्नो फी फिर्ता गरेर अदालतबाट सुटुक्क बाहिरिए।

अदालतमा एक शब्द बोल्न नसकेर भागेका तिनै लजालु युवा पछि गएर सयौंको भीडलाई आफ्नो एक इसारामा आन्दोलनमा उतार्न सक्ने 'महात्मा गाँधी' बने। यसले के देखाउँछ भने, ग्लोसोफोबिया कुनै स्थायी मानसिक कमजोरी होइन। यो त एउटा यस्तो ऐंजेरु हो, जसलाई चिन्न र उखेलेर फाल्न सकिन्छ।

*** 

ग्लोसोफोबियामाथिको चर्चामार्फत आज हामी संसारकै सबैभन्दा साझा डरको भित्री मनोविज्ञान खोतल्दै छौं। यो  आमसभा वा भीडको अगाडि बोल्न लाग्ने डर हो। यस्तो समस्याबाट ग्रसित व्यक्ति सार्वजनिक रूपमा मञ्चमा उभिएर बोल्न डराउँछन्। यो संसारमा सबैभन्दा धेरै मानिसमा पाइने डरमध्ये एक हो।

ग्लोसोफोबिया वास्तवमै संसारकै सबैभन्दा रोचक र धेरैलाई पिरोल्ने मनोवैज्ञानिक विषय हो। चर्चित भनाइ नै छ - 'धेरै मानिसलाई मर्नुभन्दा बढी डर मञ्चमा उभिएर बोल्न लाग्छ।' यस्तो डर, जसको एकपटकको सामनापछि भने मान्छे फेरिन्छ। उसले बुझ्छ, किन व्यर्थै डराउनु ?

शारीरिक र मानसिक लक्षण 

मञ्चमा उक्लिनुअघि वा उक्लिँदा शरीरमा हुने हर्मोनिक परिवर्तन।

  • हत्केला चिसो हुनु वा पसिना आउनु।
  • घाँटी सुक्नु र आवाज थर्कनु।
  • मुटुको धड्कन तीव्र हुनु (जुन 'फाइट अर फ्लाइट' प्रतिक्रिया हो)।

मञ्चमा उक्लिनुअघि वा उक्लिँदा शरीरमा हुने हर्माेनिक परिवर्तनले हाम्रो शारीरिक र मानसिक अवस्थालाई निकै उथलपुथल बनाइदिन्छ।

मस्तिष्कको 'एमिग्डाला' ले भीडलाई खतराको रूपमा बुझ्नासाथ सक्रिय हुने यो 'फाइट अर फ्लाइट' प्रतिक्रिया केवल मुटुको धड्कन र थर्कने आवाजमा मात्र सीमित हुँदैन। एड्रिनालिनको बाढीले गर्दा शरीरका मांसपेशीहरू अचानक कडा (Tense) हुन्छन्, जसले गर्दा गर्धन वा काँध बाँधिएको जस्तो महसुस हुन्छ। पाचन प्रणालीतर्फ जाने रगतको प्रवाह मस्तिष्क र खुट्टातर्फ मोडिने हुँदा पेटभित्र 'पुतली उडेको जस्तो' अनौठो छटपटी वा अमिलोपन महसुस हुन्छ।

मानसिक रूपमा, ध्यान केन्द्रित गर्ने क्षमता घट्छ र आँखाअगाडिका अक्षरहरू धमिलो देखिन थाल्छन्। यसले गर्दा मानिस 'ब्ल्याङ्क' हुन्छ। यद्यपि, यो शारीरिक उथलपुथल कुनै खराबी नभएर मस्तिष्कले शरीरलाई 'परफर्म' गर्नका लागि तयार पारेको अतिरिक्त ऊर्जा मात्र हो।

डरको कारक : 'लोगोफोबिया' र अस्वीकार हुने भय

मनोवैज्ञानिक रूपमा मानिस भीडसँग डराएको होइन, 'भीडले मलाई मूल्यांकन गरिरहेको छ र म कतै मुर्ख त देखिँदिनँ?' भन्ने आत्म-चेतनासँग डराएको हो।

  • यसलाई उदविकासवादी मनोविज्ञानसँग जोड्न सकिन्छ। जहाँ आदिमकालमा समाज वा समूहबाट अपहेलित हुनु वा निकालिनु मृत्युतुल्य मानिन्थ्यो। आजको मञ्चको डर त्यही आदिम भयको आधुनिक रूप हो।

आदिम युगमा जंगली जनावर वा प्राकृतिक प्रकोपको सामना गर्न मानिस समूहमा बस्नुपर्थ्यो। त्यसबेला समूहबाट बहिष्कृत हुनुको सिधा अर्थ एक्लोपट्टि परेर हिंस्रक जीवको सिकार हुनु वा भोकभोकै मर्नु हुन्थ्यो। आजको आधुनिक युगमा हामी मञ्चमा उभिँदा, हाम्रो अगाडि बस्ने सयौं श्रोताका आँखाहरूलाई हाम्रो आदिम मस्तिष्कले (Primitive Brain) 'आफूलाई घेर्न आएका सिकारी' वा 'आफूलाई जाँच्दै गरेको कडा समाज' का रूपमा बुझिदिन्छ। त्यसैले, मञ्चमा देखिने डर वास्तवमा भीडको होइन, बरु भीडले अस्वीकार गर्दा आफ्नो अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने त्यही प्राचीन जैविक डरको आधुनिक मनोवैज्ञानिक रूपान्तरण मात्र हो।

***

'स्टेज फ्राइट' र पेसागत जीवन

यसले व्यक्तिको क्षमता हुँदाहुँदै पनि करियरमा कसरी पछि पार्छ भन्ने पाटोलाई केलाउन सकिन्छ। कतिपय उत्कृष्ट लेखक, प्रविधिज्ञ वा विश्लेषकहरू केवल यही डरका कारण आफ्नो आइडिया अरूका अगाडि राख्न सक्दैनन् र ओझेलमा पर्छन्।

पेसागत जीवनमा कतिपय प्राविधिक रूपमा अब्बल र क्षमतावान् कर्मचारीहरू केवल मञ्चको डरकै कारण ओझेलमा पर्छन्। महत्त्वपूर्ण बैठक, 'प्रिजेन्टेसन' वा सामूहिक छलफलमा आफ्ना नवप्रवर्तनात्मक योजनाहरू (Innovative Ideas) प्रस्तुत गर्न नसक्दा उनीहरूको कार्यक्षमताको सही मूल्यांकन हुन पाउँदैन। नतिजास्वरूप, कम योग्य तर मञ्चमा आफूलाई राम्रोसँग प्रस्तुत गर्न सक्ने व्यक्तिहरूले पदोन्नति र नयाँ अवसरहरू सहजै हात पार्छन्।

आफ्नो मेहेनत र आइडियाको जस अरूले नै लगेको देख्दा योग्य व्यक्तिहरूमा बिस्तारै हीनताबोध र 'इम्पोस्टर सिन्ड्रोम' (Imposter Syndrome) अर्थात् आफू अब्बल हुँदाहुँदै पनि आफैंलाई अयोग्य ठान्ने मानसिक भ्रम पैदा हुन थाल्छ। यो डरले व्यक्तिको व्यक्तिगत वृत्ति-विकास (करिअर ग्रोथ) मात्र रोक्दैन, संस्थाका लागि पनि ठूलो घाटा निम्त्याउँछ, किनकि कतिपय उत्कृष्ट रणनीतिक योजनाहरू डरकै कारण सम्बन्धित व्यक्तिको दिमागबाट बाहिर निस्कनै पाउँदैनन् र सधैंका लागि हराएर जान्छन्।

समाधानका व्यावहारिक सूत्र

  • 'स्पटलाइट इफेक्ट' बुझ्ने : पाठक वा स्रोताले हामीलाई जति सूक्ष्म रूपमा नियालिरहेका छन् भन्ने हामीलाई लाग्छ, वास्तवमा उनीहरू त्यति धेरै ध्यान दिइरहेका हुँदैनन्। उनीहरू आफ्नै धुनमा हुन्छन् भन्ने मनोविज्ञान बुझाउने।

  • तयारी र 'मसल मेमोरी' : सामग्रीमाथिको बलियो पकड र ऐना अगाडिको अभ्यास।

  • २० सेकेन्डको नियम : मञ्चमा उभिएर बोल्न सुरु गर्नुअघि लामो श्वास फेर्ने र स्रोतालाई हेरेर मुस्कुराउने, जसले मस्तिष्कलाई 'सबै ठीक छ' भन्ने संकेत दिन्छ।

यसले व्यक्तिको क्षमता हुँदाहुँदै पनि करियरमा कसरी पछि पार्छ भन्ने पाटोलाई केलाउन सकिन्छ। कतिपय उत्कृष्ट लेखक, प्रविधिज्ञ वा विश्लेषकहरू केवल यही डरका कारण आफ्नो आइडिया अरूका अगाडि राख्न सक्दैनन् र ओझेलमा पर्छन्।

पेसागत जीवनमा कतिपय अब्बल कर्मचारीहरू आफ्नो कार्यक्षमता र ज्ञानमा अब्बल भएर पनि मञ्चको डरकै कारण ओझेलमा पर्छन्। मिटिङ, प्रिजेन्टेसन वा सामूहिक छलफलमा आफ्ना नवप्रवर्तनात्मक योजनाहरू (Innovative Ideas) प्रस्तुत गर्न नसक्दा उनीहरूको क्षमताको सही मूल्याङ्कन हुन पाउँदैन। नतिजास्वरूप, कम योग्य तर राम्रोसँग बोल्न सक्ने (Articulate) व्यक्तिहरूले पदोन्नति र अवसरहरू हात पार्छन्, जसले गर्दा योग्य व्यक्तिमा हीनताबोध वा 'इम्पोस्टर सिन्ड्रोम' समेत देखिन सक्छ।

मञ्चमा उभिएपछि स्रोताको भीडलाई एउटा विशाल 'अपरिचित समूह' को रूपमा हेर्नुको सट्टा अगाडिपट्टि बसेका सकारात्मक वा मुस्कुराइरहेका दुई-तीन जना व्यक्तिसँग 'आई कन्ट्याक्ट' (Eye Contact) मिलाएर कुरा गर्दा आत्मविश्वास बढ्छ। विषयवस्तुलाई कण्ठ गर्नुको सट्टा मुख्य बुँदाहरू (Bullet Points) मात्र टिपोट गर्ने बानी बसाल्नुपर्छ। यसो गर्दा यदि मञ्चमा कुनै शब्द बिर्सिइहाले पनि दिमाग पूरै 'ब्ल्याङ्क' हुन पाउँदैन र 'मसल मेमोरी' का कारण प्रस्तुति सहज रूपमा अगाडि बढ्छ।

***

'ग्लोसोफोबिया' शब्दको उत्पत्ति ग्रीक भाषाका दुई शब्दहरू 'Glosso' (जिब्रो/भाषा) र 'Phobia' (डर) मिलेर बनेको हो। मनोविज्ञानको इतिहासमा यो डरलाई एउटा विशिष्ट मानसिक अवस्था वा 'फोबिया' का रूपमा व्याख्या गर्ने श्रेय अमेरिकी मनोचिकित्सक तथा प्रयोगात्मक मनोवैज्ञानिक जी. स्टेनली हललाई जान्छ।

अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA) का संस्थापक र पहिलो अध्यक्ष समेत भएका उनले यसको पहिलो औपचारिक व्याख्या सन् १८९७ (१९औं शताब्दीको अन्त्यतिर) गरेका थिए। सन् १८९७ मध्येतिर हलले मानव जीवनका विभिन्न अस्वाभाविक डरहरू (फोबिया) माथि एउटा वृहत् र ऐतिहासिक अध्ययन गरिरहेका थिए। उनले आफ्नो उक्त अनुसन्धानलाई 'The American Journal of Psychology' मा 'A Study of Fears' (डरहरूको एक अध्ययन) शीर्षकको प्रसिद्ध शोधपत्र (Research Paper) का रूपमा प्रकाशित गरे।

त्यही शोधपत्रमा उनले पहिलोपटक मानिसहरूमा भीड वा मञ्चको अगाडि बोल्न लाग्ने चरम डरलाई एउटा छुट्टै मानसिक अवस्थाको रूपमा वर्गीकरण गरे।

उनको व्याख्याको मुख्य प्रसंग यस्तो थियो :

  • डरको मात्रा: हलले आफ्नो अध्ययनमा भोगेका मानिसहरूका विभिन्न अनुभव समेट्दै लेखेका छन् कि - धेरै मानिसका लागि सर्प, उचाइ वा अँध्यारोको डरभन्दा पनि 'धेरै आँखाहरूले आफूलाई एकैपटक हेरिरहेको अवस्था' संसारकै सबैभन्दा तीव्र र भयानक डर हो।

  • शारीरिक प्रतिक्रिया: उनले यो डर केवल 'लाज लाग्नु' मात्र नभएर, मञ्चमा उभिँदा मस्तिष्कले 'तत्काल खतरा' को संकेत पाउने र शरीर पूरै अक्क न बक्क हुने (Paralyzing Effect) वैज्ञानिक प्रसंगलाई पहिलोपटक चिकित्सा विज्ञानको दायरामा ल्याए।

जी. स्टेनली हलले वैज्ञानिक रूपमै यो पुष्टि गरेका थिए कि संसारमा धेरै मानिसका लागि सर्प वा भुतको डरभन्दा पनि 'धेरै आँखाहरूले आफूलाई नियालिरहेको अवस्था' अर्थात् मञ्चको डर सबैभन्दा ठूलो हुन्छ। उनले यसैलाई 'ग्लोसोफोबिया' नाम दिए, जसले आजको आधुनिक कर्पोरेट र सामाजिक जीवनमा समेत लाखौं मानिसलाई पिरोलिरहेको छ।'

रोग होइन, डराउनु पर्दैन

छोटो र प्रष्ट शब्दमा भन्नुपर्दा ग्लोसोफोबिया कुनै गम्भीर 'मानसिक रोग' होइन। त्यसैले यसबाट अत्तालिनु पर्ने कुनै कारण छैन। यसलाई चिकित्सा विज्ञान वा मनोविज्ञानको भाषामा एउटा 'लक्षण' वा 'परिस्थितिगत चिन्ता' (Situational Anxiety) भनिन्छ। यो मानिसको एउटा स्वभाविक शारीरिक र मानसिक प्रतिक्रिया मात्र हो।

विश्व स्वास्थ्य संगठन वा मनोविज्ञानको आधिकारिक निर्देशिका (DSM-5) ले पनि यसलाई छुट्टै मानसिक रोगको रूपमा वर्गीकरण गरेका छैनन्। यो केवल 'सोसल एन्जाइटी डिजअर्डर' (Social Anxiety Disorder) को एउटा परिस्थितिगत रूप मात्र हो। जसरी एक्कासि अगाडि बाघ आउँदा डराउनु हाम्रो शरीरको स्वभाविक सुरक्षा प्रणाली हो, भीड देख्दा डराउनु पनि मस्तिष्कको त्यस्तै एउटा झुक्क्याउने प्रतिक्रिया मात्र हो। तसर्थ, मञ्चमा उभिएर बोल्न डर लाग्नु तपाईंभित्र कुनै शारीरिक वा मानसिक खोट हुनु होइन; यो त केवल तपाईंसँग एउटा सचेत र क्रियाशील मस्तिष्क छ भन्ने बलियो प्रमाण हो, जसलाई निरन्तर अभ्यास र सही प्रविधिद्वारा सजिलै व्यवस्थापन गर्न सकिन्छ।

रोग नभए के ?

मनोविज्ञानको आधिकारिक निर्देशिका (DSM-5) अनुसार ग्लोसोफोबिया आफैंमा कुनै छुट्टै रोग होइन। यो 'सोसल एन्जाइटी डिजअर्डर' (Social Anxiety Disorder - सामाजिक चिन्ता) को एउटा हाँगा वा स्वरूप मात्र हो।

  • यो एक सुरक्षा संयन्त्र हो: जब हामी मञ्चमा उभिन्छौं, हाम्रो आदिम मस्तिष्क (Primitive Brain) ले अगाडिको भीडलाई 'श्रोता' को रूपमा होइन, आफूलाई आक्रमण गर्न लागेको 'खतरा' को रूपमा देख्छ।

  • खतराको आभाष हुनासाथ मस्तिष्कले शरीरमा एड्रिनालिन (Adrenaline)कोर्टिसोल (Cortisol) जस्ता हर्मोनहरू तीव्र गतिमा छोडिदिन्छ। परिणामस्वरुप, मुटुको धड्कन बढ्ने, हातखुट्टा काम्ने र मुख सुक्ने हुन्छ। यो शरीरले आत्मरक्षाका लागि गरेको स्वभाविक प्रयास मात्र हो, कुनै रोग होइन।

यो स्थायी होइन

३ वटा अकाट्य तर्कहरू छन्।

भ्रमयथार्थ (यी कारणले डराउनु पर्दैन?)
यो ममा मात्र भएको कमजोरी हो।यो संसारका ७५ प्रतिशतभन्दा बढी मानिसमा पाइने साझा अनुभव हो। तपाईं एक्लो हुनुहुन्न।
यो कहिल्यै निको हुँदैन।यो कुनै भाइरस वा ब्याक्टेरिया होइन। यो केवल एउटा बानी वा मानसिक सोच हो, जसलाई सजिलै बदल्न सकिन्छ।
डर लाग्नु भनेको म असफल हुनु हो।विश्वप्रसिद्ध वक्ताहरूलाई पनि मञ्चमा जानुअघि छटपटी हुन्छ। फरक यति हो, उनीहरूले त्यो डरलाई ऊर्जामा बदल्न सिकेका हुन्छन्।

संकोच र ग्लोसोफोबिया उस्तै उस्तै हो ?

संकोच (Shyness/Introversion)ग्लोसोफोबिया बीच निकै ठूलो र स्पष्ट मनोवैज्ञानिक फरक छ। धेरैले यी दुईलाई एउटै ठानेर झुक्किने गरे पनि यिनीहरूको गहिराइ, प्रकृति र प्रकट हुने शैली फरक हुन्छ।

प्रकृति र गहिराइ (Nature and Intensity)

  • संकोच (Shyness): यो एउटा व्यक्तित्वको विशेषता (Personality Trait) हो। संकोची स्वभाव भएको मानिस नयाँ मान्छेसँग घुलमिल हुन, साना सामाजिक जमघटमा कुरा गर्न वा आफूलाई चर्चाको केन्द्रमा राख्न अप्ठ्यारो मान्छ। यो एक प्रकारको लजालुपन हो।

  • ग्लोसोफोबिया (Glossophobia): यो एउटा विशिष्ट डर वा परिस्थितिगत चिन्ता (Situational Anxiety/Phobia) हो। यो व्यक्तित्वसँग मात्र जोडिएको हुँदैन। यसमा मानिस सामान्य अवस्थामा निकै फरासिलो र सामाजिक हुन सक्छ, तर मञ्चमा उभिएर धेरैका अगाडि बोल्नुपर्दा उसको सातो जान्छ।

शारीरिक र मानसिक प्रतिक्रिया (Physical Reactions)

  • संकोचमा: मानिस अलि शान्त बस्छ, आँखा जुधाउन अलि अप्ठ्यारो मान्छ वा कम बोल्छ। यसले शरीरलाई ठूलो उथलपुथल पार्दैन।

  • ग्लोसोफोबियामा: यसले शरीरमा 'फाइट अर फ्लाइट' (Fight or Flight) प्रतिक्रिया पैदा गरिदिन्छ। मञ्चमा उभिँदा मुटुको धड्कन निकै तीव्र हुने, हातखुट्टा काम्ने, मुख सुक्ने, पसिना आउने र दिमाग पूरै 'ब्ल्याङ्क' हुने जस्ता कडा शारीरिक लक्षणहरू देखिन्छन्।

सामाजिक व्यवहार 

  • संकोची व्यक्ति: वन-अन-वन (one-on-one) वा दुई-चार जना साथीभाइको माझमा पनि अलि कम बोल्ने र पर्दापछाडि बस्न रुचाउने हुन्छ।

  • ग्लोसोफोबिया भएको व्यक्ति: आफ्ना साथीभाइ, परिवार वा चिया पसलको गफगाफमा निकै प्रष्ट, तार्किक र 'लीडर' जस्तो भएर प्रस्तुत हुन सक्छ। तर, तिनै व्यक्तिलाई जब औपचारिक रूपमा मञ्चमा माइक दिएर उभ्याइन्छ, तब उनीहरू एक शब्द पनि बोल्न नसक्ने गरी डराउँछन्। (मार्क ट्वेन वा महात्मा गान्धी यसका उत्कृष्ट उदाहरण हुन्, जो व्यक्तिगत जीवनमा संकोची थिएनन्, तर सुरुवाती मञ्चमा उनीहरूलाई ग्लोसोफोबिया भएको थियो)।

तुलनात्मक भिन्नता

विशेषतासंकोच ग्लोसोफोबिया 
यो के हो?मानिसको एउटा स्वभाव वा बानी हो।भीडका अगाडि बोल्न लाग्ने तीव्र मनोवैज्ञानिक डर हो।
कहिले देखिन्छ?नयाँ मान्छे भेट्दा वा दैनिक सामाजिक अन्तरक्रियामा।केवल मञ्च, प्रिजेन्टेसन वा औपचारिक भाषणको समयमा।
शारीरिक असरसामान्य (अलि लाज लाग्ने, कम बोल्ने)।गम्भीर (मुटु धड्किने, थर्कने, रिङटा लाग्ने)।
दैनिक कुराकानीनजिकका साथीहरूसँग पनि अलि कमै खुल्छन्।साथीभाइ र अनौपचारिक भीडमा मज्जाले बोल्न सक्छन्।
सुधारको सम्भावनास्वभाव परिवर्तन गर्न अलि समय लाग्छ।सही प्रविधि, तयारी र अभ्यासले छिट्टै नियन्त्रण गर्न सकिन्छ।
थोरै शब्दमा भन्नुपर्दा संकोच भनेको 'म धेरै मान्छेसँग घुलमिल हुन रुचाउँदिनँ' भन्ने स्वभाव हो। ग्लोसोफोबिया चाहिँ 'म अरू बेला मज्जाले गफ गर्छु, तर मञ्चमा पुग्ने बित्तिकै मेरो सातो जान्छ' भन्ने विशिष्ट डर हो। संकोची नभएको (extrovert) व्यक्ति पनि ग्लोसोफोबियाको सिकार हुन सक्छ र एकदमै संकोची (introvert) व्यक्तिले पनि मञ्चमा पुगेर उत्कृष्ट भाषण दिन सक्छ।

***

ग्लोसोफोबिया र आत्मविश्वास

पढ्दै जाँदा लाग्ला - संकोच र ग्लोसोफोबिया उस्तै पो हुन् की?  मञ्चमा/क्यामराका अगाडि उक्लिएर बोल्ने, अभिनय गर्ने आत्मविश्वास कसैमा पनि जन्मजात आउने होइन। निरन्तरको अभ्यासले मान्छे खारिन्छन्। तयार हुन्छन्। यसको पनि चरण चरण हुन्छ। सुरुवाती अवस्थाका मान्छेहरुका हाउभाउ 'ग्लोसोफोबिया'का लक्षणसँग मिलेको जस्तो लाग्न सक्छ। तर, होइन है।

मञ्च वा क्यामराको अगाडि देखिने आत्मविश्वास कुनै ऐच्छिक 'वरदान' वा 'जन्मजात गुण' (Inborn Trait) होइन। यो त पौडी खेल्न वा गाडी चलाउन सिके जस्तै एउटा अर्जित सीप (Acquired Skill) हो, जुन निरन्तरको अभ्यास र अनुभवको भट्टीमा खारिएपछि मात्र निखारिन्छ।

नयाँ मान्छे मञ्चमा जाँदा डराउनु 'फोबिया' (मानसिक समस्या) होइन, त्यो केवल 'अनुभवको कमी' र प्राकृतिक कौतुहलता मात्र हो। सञ्चार र प्रस्तुति कला (Presentation Skills) को विकास कसरी हुन्छ भन्ने कुरालाई बुझ्न मानिसको 'सिकाइ र आत्मविश्वासको ४ चरण'लाई हेर्नुपर्छ, जसले सुरुवाती अवस्थादेखि मञ्चमा खारिने अवधिसम्मको यात्रालाई प्रष्ट पार्छ।

अन्जान अवस्था (Unconscious Incompetence)

यो मञ्च वा क्यामराको अगाडि कहिल्यै नगएको सुरुवाती अवस्था हो। यस चरणमा व्यक्तिलाई 'मञ्चमा बोल्न कति गाह्रो वा सजिलो हुन्छ' भन्ने कुराको अनुमान नै हुँदैन। उनीहरू अरूले बोलेको हेरेर 'म पनि मज्जाले बोल्न सक्छु' भन्ने भ्रममा हुन सक्छन्, किनकि उनीहरूले आफ्नो कमजोरी अझै थाहा पाएका हुँदैनन्।

मनोविज्ञानमा यसलाई अनभिज्ञताको अवस्था पनि भनिन्छ, जहाँ मानिस आफ्नो वास्तविक क्षमता र चुनौती दुवैबाट पूर्णतः बेखबर हुन्छ। कतिपय अवस्थामा यसलाई प्रसिद्ध 'डनिङ-क्रुगर इफेक्ट' (Dunning-Kruger Effect) सँग पनि जोडेर हेर्न सकिन्छ, जहाँ कुनै क्षेत्रको अनुभव शून्य भएका व्यक्तिहरूमा आफ्नो क्षमतालाई लिएर अत्यधिक र भ्रमपूर्ण आत्मविश्वास हुन्छ। उनीहरूलाई लाग्छ, मञ्चमा उभिएर बोल्नु वा क्यामराको अगाडि अभिनय गर्नु केवल शब्दहरू उच्चारण गर्नु त हो नि! तर यो भ्रम तबसम्म मात्र टिकिरहन्छ, जबसम्म उनीहरू आफैं त्यो मञ्चको तातो र क्यामराको लेन्सको कडा नजरको अगाडि उभिँदैनन्। वास्तविक चुनौतीको सामना नगरेका कारण उनीहरू यो चरणमा पूर्ण रूपमा ढुक्क देखिन्छन्।

चेतनासहितको कमजोरी (Conscious Incompetence)

जब मानिस पहिलोपटक मञ्चमा उक्लिन्छ वा क्यामराको लेन्सको सामना गर्छ, तब उसले वास्तविक चुनौती महसुस गर्छ। मुख सुक्ने, अक्षर धमिलो देखिने वा 'ब्ल्याङ्क' हुने अवस्था यही चरणमा आउँछ।

यो फोबिया होइन। यहाँ मानिस आफ्नो कमजोरीप्रति सचेत भएको मात्र हो। यो सिकाइको सबैभन्दा महत्त्वपूर्ण मोड हो। धेरै मानिस यही चरणमा डर लागेपछि 'म मञ्चका लागि बनेकै होइन' भनेर भाग्छन्, जबकि यो केवल यात्राको सुरुवात मात्र हो।

यो त्यही कठिन मोड हो, जहाँ मानिसको 'भ्रमपूर्ण आत्मविश्वास' भत्किन्छ र उनीहरू वास्तविक धरातलमा बज्रिन्छन्। जब आफ्नै कमजोरी ऐनाझैं छर्लंग देखिन्छ, तब मस्तिष्कले त्यसलाई ठूलो धक्काका रूपमा लिन्छ। धेरै वक्ता वा अभिनेता बन्ने सपना बोकेका मानिसहरू पहिलो गाँसमै ढुंगा लागेझैं यही चरणमा आइपुगेपछि सदाका लागि मञ्च वा क्यामराबाट टाढिन्छन्। तर, वास्तवमा यो चरण असफलताको प्रतीक होइन, बरु आत्म-मूल्यांकनको बलियो प्रस्थानविन्दु हो। आफ्नो कमजोरी के हो र आफूले के सिक्न बाँकी छ भन्ने कुराको यथार्थ बोध यहीँ हुन्छ। त्यसैले, यो विन्दु मञ्चबाट भाग्ने बहाना होइन, बरु सिक्ने भोक जगाउने सबैभन्दा शक्तिशाली माध्यम हो।

सचेत अभ्यास (Conscious Competence)

यो चरण 'निरन्तरको अभ्यासले मान्छे खारिने' अवस्था हो। यहाँ व्यक्तिले ऐना अगाडि अभ्यास गर्छ, मुख्य बुँदाहरू (Bullet Points) नोट गर्न थाल्छ र २० सेकेन्डको नियम जस्ता प्रविधिहरू सचेत रूपमा प्रयोग गर्छ। मञ्चमा जाँदा अझै पनि भित्रभित्रै डर त लागिरहेकै हुन्छ, तर सचेत प्रयास र प्राविधिक तयारीका कारण उसले आफ्नो प्रस्तुतिलाई सहज रूपमा अगाडि बढाउन सक्छ।

यस चरणमा मानिसले डरलाई 'हटाउने' होइन, बल्कि त्यसलाई 'व्यवस्थापन गर्ने' कला सिक्छ। यहाँ आत्मविश्वास प्राकृतिक रूपमा नभई सचेत प्रयास, अनुशासन र प्राविधिक कसरतबाट प्राप्त हुन्छ। वक्ता वा अभिनेताले आफ्नो हाउभाउ, आवाजको उतारचढाव (Voice Modulation) र श्रोतासँगको 'आई कन्ट्याक्ट' लाई सचेत रूपमा नियन्त्रण गर्नुपर्ने हुन्छ। दिमागले लगातार 'अब म के बोलूँ? मेरो शरीरको पोस्चर कस्तो छ?' भनी पृष्ठभूमिमा काम गरिरहने हुँदा यो चरण अलि बढी थकाइलाग्दो र मेहनत माग्ने खालको हुन्छ। तर, यहीँबाट नै व्यक्तिको 'मसल मेमोरी' बलियो हुन थाल्छ। यो चरण डरमाथि प्राविधिक विजय प्राप्त गर्ने र एउटा सिकारुबाट व्यावसायिकतातर्फ मोडिने वास्तविक पुल हो।

स्वतःस्फूर्त निखार (Unconscious Competence)

यो 'मास्टरी' (Mastery) को चरण हो। निरन्तरको अभ्यास, पटक-पटकको मञ्चको अनुभव र क्यामराको सामना गर्दागर्दै प्रस्तुति कला व्यक्तिको 'मसल मेमोरी' (Muscle Memory) र स्वभावको हिस्सा बनिसकेको हुन्छ। अब उसले मञ्चमा जानुअघि हात कसरी हल्लाउने वा कसरी मुस्कुराउने भनेर सोचिरहनु पर्दैन। सबै कुरा स्वःस्फूर्त र प्राकृतिक रूपमा आउँछ। मार्क ट्वेन र गान्धी पछि गएर यही चरणमा पुगेका थिए।

यस चरणमा आइपुगेपछि प्रस्तुति कला कुनै बोझ वा कसरत रहँदैन, यो त बग्दै गरेको नदीजस्तै सहज र प्रवाहपूर्ण बन्न पुग्छ। मञ्च वा क्यामराको अगाडि उभिनु अब डरको कारण बन्दैन, बरु आफ्नो विचार र भावना पोख्ने एउटा प्रिय माध्यम बनिदिन्छ। यहाँ वक्ता वा अभिनेताले श्रोताको नाडी छाम्न सक्छन् र माहोल अनुसार तत्कालै (Improvise) आफ्नो प्रस्तुतिलाई मोड्न सक्छन्। सुरुवाती दिनमा सातो उडाउने त्यही 'एड्रिनालिन' हर्मोनको बाढी अब उनीहरूका लागि मञ्च जकाउने अतिरिक्त ऊर्जा वा 'पावर' मा रूपान्तरण भइसकेको हुन्छ। डर पूर्ण रूपमा समाप्त हुने होइन, बरु त्यो एउटा यस्तो वशमा पारिएको घोडा बन्छ, जसमाथि सवार भएर कुशल वक्ताले करोडौँको भीडलाई मन्त्रमुग्ध पार्दै आफ्नो इसारामा डोर्‍याउन सक्छ।

सुरुवाती डरलाई किन फोबिया भन्न मिल्दैन ?

जसरी पहिलोपटक साइकल चढ्दा लड्ने डर हुनु 'साइकलको फोबिया' होइन, त्यसरी नै पहिलोपटक मञ्चमा जाँदा काँप्नु 'ग्लोसोफोबिया' होइन। यो त केवल मस्तिष्कले नयाँ वातावरणप्रति देखाएको स्वभाविक प्रतिक्रिया हो।मनोविज्ञानमा 'फोबिया' तब मात्र भनिन्छ, जब त्यो डर अतार्किक हुन्छ र त्यसले मानिसलाई सधैंका लागि निकम्मा बनाउँछ। सुरुवाती वक्ताहरूको डर अतार्किक हुँदैन, त्यो अनुभवको कमीले पैदा भएको क्षणिक संवेग मात्र हो।

खारिएका वक्ता वा अभिनेताहरूमा पनि मञ्चमा जानुअघि एक किसिमको छटपटी हुन्छ। फरक यति हो, सुरुवाती मान्छे त्यसलाई 'म डरले काँप्दैछु' (Anxiety) भन्छन्, र अनुभवीहरू त्यसलाई 'म प्रस्तुति दिन उत्साहित छु' भन्छन्। विचारलाई परिपक्व बनाउनुस्। आत्मविश्वास एउटा मांसपेशी जस्तै हो। यसलाई जति धेरै प्रयोग गर्‍यो, यो त्यति नै बलियो हुँदै जान्छ। सुरुवाती अवस्थाको कम्पन रोग होइन, खारिने प्रक्रियाको पहिलो पाइला हो।

***

ग्लोसोफोबियाका अवस्था कहिलेकाही गम्भीर पनि हुन्छ

यो रोग नभए पनि यदि यसले तपाईंको दैनिक जीवन, जागिर, करियर वा पढाइमा गम्भीर असर पुर्‍याउन थाल्यो भने (जस्तै: मञ्चमा बोल्नुपर्ने डरले जागिर नै छोड्ने वा अन्तर्वार्ता नै नदिने स्थिति आयो भने) यसलाई 'परफर्मेन्स एन्जाइटी' (Performance Anxiety) को रूपमा हेरिन्छ। यस्तो अवस्थामा मनोपरामर्शदाताको सहयोगमा केही थेरापीहरू (जस्तै CBT - Cognitive Behavioral Therapy) बाट यसलाई शतप्रतिशत निको पार्न सकिन्छ।

'मञ्चमा उभिँदा डर लाग्नु तपाईंको दिमाग बिग्रिएको संकेत होइन, बरु तपाईंको दिमागले खतराप्रति सजग भएर सही रूपमा काम गरिरहेको प्रमाण हो। डर लाग्नु सामान्य हो, तर डरकै कारण आफ्ना सम्भावनाहरूलाई गुमाउनु चाहिँ अन्याय हो।' 

***

मञ्चको मनोविज्ञान र 'फर्स्ट भर्सेस ब्याक बेञ्चर' प्रवृत्ति

हाम्रा स्कुल-कलेज जीवनको 'फर्स्ट बेञ्च' र 'ब्याक बेञ्च' को बानी केवल कक्षाकोठाको सिटमा मात्र सीमित हुँदैन, यसले हामीमा करियर र मञ्चप्रतिको दृष्टिकोणमा पनि एउटा गहिरो प्रवृत्ति निर्माण गरिदिन्छ।

'फर्स्ट बेञ्चर' प्रवृत्ति : त्रुटिहीनताको बोझ (Perfectionism Trap) कक्षामा सधैं अगाडि बस्ने, शिक्षकका प्रश्नको सही उत्तर दिने र 'परफेक्ट' देखिन चाहने विद्यार्थीहरूमा एउटा फरक खालको मनोवैज्ञानिक दबाब हुन्छ। पेसागत जीवनमा आइपुग्दा उनीहरू प्राविधिक रूपमा अत्यन्तै अब्बल र ज्ञानी त हुन्छन्, तर मञ्चमा उक्लिन उनीहरूलाई सबैभन्दा बढी डर लाग्छ।

  • डरको कारण : उनीहरूमा 'मबाट कतै गल्ती त हुँदैन? मानिसहरूले मलाई कमजोर त ठान्दैनन्?' भन्ने 'अस्वीकार हुने भय' अत्यधिक हुन्छ। सधैं अब्बल देखिनुपर्ने यही मानसिक बोझका कारण उनीहरू मञ्च वा क्यामराको अगाडि जान हिचकिचाउँछन् र आफ्नो ज्ञान हुदाहुँदै पनि ओझेलमा पर्न रुचाउँछन्।

'ब्याक बेञ्चर' प्रवृत्ति : गल्ती गर्ने छुट र 'इम्प्रोभाइजेसन' (The Art of Improvisation) कक्षाकोठाको अन्तिम लहरमा बस्ने ब्याक बेञ्चरहरू सधैं चर्चा, जिस्काइ र शिक्षकको कडा निगरानीको घेरामा हुर्किएका हुन्छन्। उनीहरू गल्ती गर्न, हाँसोको पात्र बन्न वा 'परफेक्ट' नदेखिन पहिलेदेखि नै अभ्यस्त भइसकेका हुन्छन्।

  • मञ्चमा फाइदा : पेसागत जीवनमा जब उनीहरू मञ्च वा क्यामराको अगाडि उभिन्छन्, उनीहरूमा 'फर्स्ट बेञ्चर' को जस्तो त्रुटिहीन हुनैपर्ने तनाव हुँदैन। यदि मञ्चमा केही कुरा बिर्सिए वा गल्ती भइहाले पनि उनीहरू तत्कालै माहोललाई ठट्टा वा 'इम्प्रोभाइज' गरेर सम्हाल्न सक्छन्। उनीहरूको यही 'परफेक्ट नभए पनि चल्छ' भन्ने बिन्दासपनले गर्दा उनीहरू मञ्चको डरलाई सहजै जितेर उत्कृष्ट 'परफर्मर' वा वक्ताका रूपमा अगाडि आउँछन्।

अन्ततः मञ्च वा क्यामराको सफलता ज्ञानको मात्रामा मात्र होइन, गल्ती गर्न सक्ने हिम्मतमा निर्भर गर्छ। 'फर्स्ट बेञ्चर' ले जतिसुकै तयारी गरे पनि मञ्चमा सफल हुन उसले आफ्नो भित्री 'ब्याक बेञ्चर' लाई ब्युँझाउनै पर्छ, जसले गल्तीसँग डराउँदैन, बरु त्यसलाई उत्सव बनाउन सक्छ।

***

कोही कोहीलाई किन छुँदैन ग्लोसोफोबियाले ?

एकातिर ७५ प्रतिशतभन्दा बढी मान्छेहरु मञ्च देख्नासाथ काँप्छन् भने अर्कोतिर केही यस्ता पनि हुन्छन् जो हजारौँको भीड, कडा बहस वा जस्तोसुकै चुनौतीपूर्ण माहोलमा पनि माछा पानीमा पौडिएझैँ सहज देखिन्छन्।

मनोविज्ञान र न्यूरो-साइन्स (मस्तिष्क विज्ञान) का अनुसार उनीहरू जन्मजात 'महामानव' भएर त्यस्ता भएका होइनन्। उनीहरूको यस्तो निडरताका पछाडि निश्चित जैविक, मनोवैज्ञानिक र वातावरणीय कारणहरू हुन्छन्। 

'हाइपो-रिएक्टिभ' एमिग्डाला 

हाम्रो मस्तिष्कमा डर पैदा गर्ने एउटा सानो हिस्सा हुन्छ, जसलाई 'एमिग्डाला' भनिन्छ। सामान्य मानिसमा भीड देख्नासाथ एमिग्डालाले त्यसलाई 'खतरा' ठान्छ र शरीरमा एड्रिनालिन हर्मोनको बाढी बगाइदिन्छ (जसले गर्दा मुटु धड्किने र मुख सुक्ने हुन्छ)।

निडरमा उनीहरूको एमिग्डाला यस्तो परिस्थितिमा 'हाइपो-रिएक्टिभ' (कम प्रतिक्रियाशील) हुन्छ। अर्थात्, भीड वा क्यामरा देख्दा उनीहरूको मस्तिष्कले त्यसलाई खतराको रूपमा महसुस नै गर्दैन। उनीहरूको शरीर शान्त रहन्छ र निर्णय लिने सोच्ने क्षमता (Prefrontal Cortex) प्रष्ट रूपमा सक्रिय रहन्छ।

गल्ती गर्ने र 'अस्वीकार हुने' भयबाट मुक्ति

अघि हामीले 'फर्स्ट बेञ्चर र ब्याक बेञ्चर' प्रवृत्तिको चर्चा गरेझैँ, जो मानिस भीडमा निर्धक्क बहस गर्छन्, उनीहरूमा 'म परफेक्ट देखिनै पर्छ' भन्ने अहंकार वा दबाब हुँदैन। 

उनीहरू मानसिक रूपमा यो कुरामा स्पष्ट हुन्छन्। 'यदि बहसका क्रममा मेरो गल्ती भयो वा भीडले मलाई जिस्क्यायो भने पनि मेरो अस्तित्व समाप्त हुँदैन।' गल्ती गर्न सक्ने यही छुट (Vulnerability) ले उनीहरूलाई मञ्चमा एउटा अभेद्य सुरक्षा कवच दिन्छ। उनीहरू 'लोगोफोबिया' (मूर्ख देखिने डर) बाट पूर्णतः मुक्त हुन्छन्।

सुरुवाती संकेत बाल्यकालबाटै 

धेरैजसो नडराउने मानिसहरूको पारिवारिक वा सामाजिक पृष्ठभूमि हेर्ने हो भने उनीहरूले बाल्यकालदेखि नै आफ्नो विचार राख्ने स्वतन्त्रता पाएका हुन्छन्। सानाे उमेरमै वादविवादमा भाग लिने, पाहुनाका अगाडि निर्धक्क बोल्न प्रोत्साहित गरिने वा गल्ती गर्दा सजायको सट्टा ढाडस पाउने वातावरणमा हुर्किएका व्यक्तिहरूको 'कम्फर्ट जोन' ठूलो हुन्छ। उनीहरूका लागि भीड अनौठो लाग्ने वस्तु नै होइन।

'डोपामाइन र एड्रिनालिन' को फरक बुझाइ

रोचक के छ भने, मञ्चमा उक्लिनुअघि डर लाग्ने र नलाग्ने दुवैको शरीरमा उत्तिकै ऊर्जा (Adrenaline) पैदा हुन्छ।डराउने मानिसले त्यो ऊर्जालाई 'चिन्ता' (Anxiety) को रूपमा व्याख्या गर्छ। निडरले त्यसलाई 'उत्साह' (Excitement) को रूपमा लिन्छ। उनीहरूका लागि भीडको अगाडि बोल्नु वा बहस गर्नु एउटा 'थ्रिल' हो, जसले उनीहरूको मस्तिष्कमा आनन्द दिने 'डोपामाइन' हर्मोन सक्रिय गराउँछ। उनीहरूलाई भीडसँग डराउनुको सट्टा भीडलाई जित्नुमा बढी मज्जा आउँछ।

विषयवस्तुमाथिको अचूक कमाण्ड र 'इम्पोस्टराइज्ड' नहुनु

जो व्यक्ति जस्तोसुकै बहसमा पनि डराउँदैनन्, उनीहरूको अध्ययनको दायरा र आफ्नो विषयमाथिको पकड निकै बलियो हुन्छ। उनीहरूमा 'इम्पोस्टर सिन्ड्रोम' हुँदैन। उनीहरूलाई आफूले के बोलिरहेको छु र विपक्षीलाई कसरी काउन्टर गर्ने भन्ने कुराको 'मसल मेमोरी' यति बलियो भइसकेको हुन्छ कि उनीहरूले सोचेर बोल्नुपर्दैन, विचारहरू स्वतःस्फूर्त रूपमा प्रवाहित हुन्छन्।

भीडमा नडराउने र बहस गर्न तम्सिने मानिसहरूले भीडलाई 'आफ्नो मूल्यांकन गर्ने शत्रु' को रूपमा होइन, बल्कि 'आफ्नो विचार प्रदर्शन गर्ने खेलमैदान' को रूपमा हेर्छन्। उनीहरूका लागि मञ्च फाँसीको फन्दा होइन, आफ्नो साम्राज्य फैलाउने अवसर हो।

***

यसरी घट्छ, यसो गरे हट्छ ग्लोसोफोबिया

ग्लोसोफोबियालाई कम गर्न र बिस्तारै पूर्ण रूपमा हटाउन निश्चित वैज्ञानिक तथा व्यावहारिक उपायहरू अपनाउन सकिन्छ। यो डरलाई हटाउने सबैभन्दा अचूक औषधि भनेकै 'सचेत र निरन्तरको अभ्यास' हो।

सुरुमा, मञ्चमा जानुअघि विषयवस्तुको गहिरो तयारी गर्ने र मुख्य बुँदाहरू टिपोट गर्ने बानी बसाल्नुपर्छ। यसले दिमाग 'ब्ल्याङ्क' हुन दिँदैन। मञ्चमा उक्लिने बित्तिकै बोल्न हतारिनुको सट्टा '२० सेकेन्डको नियम' पालना गर्दै गहिरो श्वास लिने र स्रोतालाई हेरेर मुस्कुराउने गर्दा मस्तिष्क शान्त हुन्छ।

मनोवैज्ञानिक रूपमा 'स्पटलाइट इफेक्ट' लाई बुझ्नुपर्छ; अर्थात्, स्रोताले हाम्रो हरेक गल्तीलाई सूक्ष्म रूपमा नियालिरहेका हुँदैनन् भन्ने सत्यलाई स्विकार्नुपर्छ। भीडलाई एउटा डरलाग्दो समूह मान्नुको सट्टा अगाडि बसेका सकारात्मक अनुहारहरूसँग 'आई कन्ट्याक्ट' मिलाएर कुरा गर्दा आत्मविश्वास बढ्छ। यदि यो डर निकै गम्भीर छ भने, मनोपरामर्शदाताको सहयोगमा कग्निटिभ बिहेभियरल थेरापी (CBT) मार्फत नकारात्मक सोचको ढाँचालाई बदलेर यसलाई जरैदेखि उखेलेर फाल्न सकिन्छ।

मञ्च वा क्यामराको अगाडि लाग्ने डर तपाईंभित्रको कमजोरी होइन, बरु खारिने प्रक्रियाको पहिलो पाइला हो। संसारलाई आफ्नो विचारले हल्लाउनेहरू पनि कुनै न कुराको सुरुवातमा यसरी नै काँपेका थिए। महत्त्वपूर्ण कुरा यो हो कि आत्मविश्वास कुनै जन्मजात वरदान होइन, यो त निरन्तरको अभ्यास र गल्ती गर्ने हिम्मतबाट आर्जित गरिने सीप हो। 

त्यसैले अर्को पटक मञ्चमा उभिँदा यदि मुटुको धड्कन बढ्यो वा हातखुट्टा काँपे भने सम्झिनुस्, तपाईंभित्रको एउटा अब्बल वक्ता ब्युँझिन खोज्दैछ। डरलाई मञ्चबाट भाग्ने बहाना होइन, बरु आफ्नो प्रस्तुतिलाई अझ बढी जीवन्त र शक्तिशाली बनाउने ऊर्जामा बदल्नुस्, किनकि मञ्च तपाईंकै प्रतीक्षामा छ।

Monday, June 8, 2026

किन हुन्छ कल आएजस्तो, मोबाइल थर्किएजस्तो ?

रमेश बिहान अफिस जाँदै थिए। बसमा भीड थियो, सिट पाइएन। उभिएका उनलाई अचानक पाइन्टको खल्तीमा मोबाइल थर्किएको महसुस भयो। हतारहतार निकाले। कुनै कल थिएन, कुनै सन्देश पनि थिएन। केही मिनेटपछि फेरि उही अनुभूति भयो। यसपटक पनि स्क्रिन खाली थियो। उनले फोन साइलेन्टमा छ कि छैन भनेर जाँच गरे, नेटवर्क हेरे, तर सबै सामान्य थियो।

त्यो दिन साँझसम्म उनले पाँच–छ पटक फोन निकालेर हेरे। घर फर्किएपछि उनलाई एउटा प्रश्नले सताउन थाल्यो - 'आउदै नआएको  कल/म्यासेजको म किन प्रतीक्षा गरिरहेको छु?'

रमेशको अनुभव असाधारण होइन। स्मार्टफोन हाम्रो हात, खल्ती र दिमागको स्थायी साथी बनेसँगै संसारभरका लाखौं मानिसले यस्तै अनुभव गरिरहेका छन्। फोन नबजेको अवस्थामा पनि बजेजस्तो, नथर्किएको अवस्थामा पनि थर्किएजस्तो महसुस हुने यो अवस्थालाई मनोविज्ञानले 'फ्यान्टम भाइब्रेसन सिन्ड्रोम' (Phantom vibration syndrome) भन्छ। यो केवल प्रविधिसँग जोडिएको सानो भ्रम मात्र होइन, आधुनिक मानव मस्तिष्क र डिजिटल जीवनशैलीबीचको बदलिँदो सम्बन्धको रोचक संकेत पनि हो।

एउटा यस्तो अवस्था, जहाँ मानिसलाई आफ्नो खल्तीमा भएको मोबाइल थर्किएको जस्तो महसुस हुन्छ, तर वास्तवमा त्यहाँ कुनै फोन वा म्यासेज आएको हुँदैन।

तपाईंलाई कहिल्यै यस्तो भएको छ? खल्तीमा मोबाइल थर्किएको जस्तो महसुस भयो, तुरुन्त फोन निकालेर हेर्नुभयो, तर न कुनै कल आएको हुन्छ, न कुनै सन्देश। केही समयपछि फेरि उस्तै अनुभूति दोहोरिन्छ। यदि यस्तो अनुभव भएको छ भने, तपाईं एक्लै हुनुहुन्न। फ्यान्टम भाइब्रेसन सिन्ड्रोम धेरैलाई हुन्छ।

यो कुनै औपचारिक मानसिक रोग होइन, तर आधुनिक डिजिटल जीवनशैलीसँग जोडिएको एक रोचक मनोवैज्ञानिक अवस्था हो। स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेसँगै यस्तो अनुभूति विश्वभरका लाखौं मानिसले अनुभव गरिरहेका छन्।

मनोवैज्ञानिक दृष्टिले हेर्दा फ्यान्टम भाइब्रेसन सिन्ड्रोमको मुख्य कारण हाम्रो मस्तिष्कको अपेक्षा र ध्यानको संयोजन हो। मानिसको मस्तिष्क सधैं महत्त्वपूर्ण संकेतहरू खोजिरहन्छ। जब हामी बारम्बार फोन, सन्देश वा सामाजिक सञ्जालका नोटिफिकेसनहरूको प्रतीक्षामा हुन्छौं, मस्तिष्क त्यसप्रति अत्यधिक संवेदनशील बन्छ। परिणामस्वरूप, कपडाको हल्का घर्षण, मांसपेशीको सामान्य चलायमान अवस्था वा बाहिरी कुनै सानो स्पर्शलाई पनि फोनको भाइब्रेसन ठान्न सक्छ।

यसलाई मनोविज्ञानमा “फाल्स पोजिटिभ परसेप्सन” अर्थात् वास्तविकताभन्दा फरक संकेतलाई अर्थपूर्ण सन्देशका रूपमा व्याख्या गर्ने प्रवृत्तिसँग पनि जोडेर हेरिन्छ। सरल भाषामा भन्नुपर्दा, मस्तिष्कले नभएको संकेतलाई पनि भएको जस्तो अर्थ लगाइदिन्छ।

यो अवस्थाको अर्को महत्त्वपूर्ण पक्ष डिजिटल निर्भरता हो। आज धेरै मानिसको सामाजिक सम्बन्ध, काम, व्यवसाय र मनोरञ्जन स्मार्टफोनमै केन्द्रित छ। कुनै सन्देश छुट्ने हो कि, कसैले सम्पर्क गरेको छ कि, कुनै महत्त्वपूर्ण सूचना आएको छ कि भन्ने चिन्ताले मानिसलाई निरन्तर सतर्क बनाइरहेको हुन्छ। मनोवैज्ञानिकहरूले यसलाई 'हाइपरभिजिलेन्स' अर्थात् अत्यधिक सतर्कताको अवस्था भन्छन्। यही सतर्कताले कहिलेकाहीँ भ्रमपूर्ण अनुभूति जन्माउँछ।

फ्यान्टम भाइब्रेसन सिन्ड्रोमलाई ‘फियर अफ मिसिङ आउट’ (FOMO) सँग पनि जोडेर हेरिन्छ। सामाजिक सञ्जालको युगमा मानिसहरू कुनै सूचना, अवसर वा सामाजिक गतिविधिबाट पछि पर्न नचाहने मनोवृत्तिमा बाँचेका छन्। खास-खास भेला, भेटघाटमा आफू छुटिन्छ की भन्ने धेरैलाई लाग्छ। यस्तो मानसिक दबाबले नोटिफिकेसनप्रति निर्भरता बढाउँछ र मस्तिष्कले फोनको उपस्थितिलाई अत्यधिक महत्त्व दिन थाल्छ।

अनुसन्धानहरूले देखाएका छन् कि स्वास्थ्यकर्मी, विद्यार्थी, पत्रकार, व्यवस्थापक तथा निरन्तर सम्पर्कमा रहनुपर्ने पेसाका व्यक्तिहरूमा यस्तो अनुभव अपेक्षाकृत बढी पाइन्छ। यसको अर्थ, फोनको प्रयोगको मात्रा र मानसिक संलग्नताबीच प्रत्यक्ष सम्बन्ध हुन सक्छ।

यद्यपि, फ्यान्टम भाइब्रेसन सिन्ड्रोम सामान्यतया गम्भीर मानसिक समस्या होइन। तर यो हाम्रो जीवनमा डिजिटल प्रविधिले कति गहिरो मनोवैज्ञानिक प्रभाव पारेको छ भन्ने संकेत भने अवश्य हो। यदि यस्तो अनुभूति बारम्बार हुन थालेको छ भने फोनको नोटिफिकेसन कम गर्ने, निश्चित समयमा मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने, डिजिटल डिटक्स अपनाउने तथा सचेत रूपमा वर्तमान क्षणमा केन्द्रित रहने अभ्यास उपयोगी हुन सक्छ।

अन्ततः, फ्यान्टम भाइब्रेसन सिन्ड्रोम केवल नबजेको फोनको भ्रम मात्र होइन। यो आधुनिक मानव मस्तिष्क र डिजिटल प्रविधिबीच विकसित भएको नयाँ सम्बन्धको मनोवैज्ञानिक प्रतिबिम्ब हो। हाम्रा अघि एउटा महत्वपूर्ण प्रश्न छ - के हामी फोन प्रयोग गरिरहेका छौं वा फोनले हाम्रो ध्यानलाई प्रयोग गरिरहेको छ ?

***

फ्यान्टम भाइब्रेसन सिन्ड्रोममाथि पछिल्ला दुई दशकमा विभिन्न मनोवैज्ञानिक अध्ययन भएका छन्। यो शब्द पहिलो पटक सन् २००३ मा अमेरिकी पत्रकार तथा लेखक रोबर्ट डी जोनासले प्रयोग गरेको मानिन्छ। त्यसपछि यसले वैज्ञानिकहरूको ध्यान तान्यो।

सबैभन्दा चर्चित अध्ययनमध्ये एक सन् २०१० मा मिशेल ड्रोइन र उनका सहकर्मीहरूले गरेका थिए। उनीहरूले विश्वविद्यालयका विद्यार्थीहरूमाझ गरेको सर्वेक्षणमा अधिकांश सहभागीले जीवनमा कम्तीमा एकपटक फोन नबजेको अवस्थामा पनि भाइब्रेसन महसुस गरेको बताएका थिए। अनुसन्धानले यस्तो अनुभूति स्मार्टफोनको अत्यधिक प्रयोग र नोटिफिकेसनप्रतिको मनोवैज्ञानिक अपेक्षासँग सम्बन्धित रहेको निष्कर्ष निकालेको थियो।

त्यसअघि सन् २००७ मा माइकल रोथबर्ग नेतृत्वको टोलीले अमेरिकाका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अध्ययन गरेको थियो। अध्ययनमा करिब दुईतिहाइभन्दा बढी सहभागीले फ्यान्टम भाइब्रेसन अनुभव गरेको बताएका थिए। निरन्तर सम्पर्कमा रहनुपर्ने र आपत्कालीन कलको प्रतीक्षामा बस्नुपर्ने व्यक्तिहरूमा यो अनुभव बढी देखिएको थियो।

मनोवैज्ञानिकहरूले यसलाई सिग्नल डिटेक्सन थ्योरीमार्फत व्याख्या गर्छन्। जब मस्तिष्क कुनै संकेत (फोनको कल वा म्यासेज) को प्रतीक्षामा अत्यधिक केन्द्रित हुन्छ, तब सामान्य शारीरिक संवेदना, जस्तै कपडाको घर्षण, मांसपेशीको हल्का चलायमान अवस्था वा स्नायुको सूक्ष्म प्रतिक्रियालाई पनि फोनको भाइब्रेसनका रूपमा गलत अर्थ लगाउन सक्छ। अर्थात् यो भ्रम होइन, बरु मस्तिष्कले संकेत पहिचान गर्ने प्रक्रियामा गरेको एउटा 'गलत अनुमान' हो।

यसैले फ्यान्टम भाइब्रेसन सिन्ड्रोमलाई आधुनिक डिजिटल युगले जन्माएको मनोवैज्ञानिक अनुकूलनका रूपमा हेरिन्छ।

***

फ्यान्टम भाइब्रेसन सिन्ड्रोम आफैंमा गम्भीर मानसिक रोग होइन। त्यसैले कहिलेकाहीँ फोन नबज्दा पनि बजेजस्तो महसुस हुनु सामान्य मानिन्छ। तर यो अनुभव बारम्बार हुन थालेको छ भने त्यसलाई बेवास्ता गर्नु पनि उचित हुँदैन, किनकि यसले हाम्रो डिजिटल बानी र मानसिक अवस्थाबारे संकेत दिन सक्छ।

मनोवैज्ञानिकहरूका अनुसार यस्तो अनुभूति बढ्दै जानु प्रायः डिजिटल निर्भरता, तनाव, कामको दबाब वा निरन्तर उपलब्ध रहनुपर्ने मानसिक बोझसँग सम्बन्धित हुन सक्छ। यदि कुनै व्यक्तिले दिनभरि फोन चेक गरिरहन्छ, नोटिफिकेसन नआए पनि बारम्बार स्क्रिन हेर्छ वा सन्देश छुट्ने डरले बेचैन हुन्छ भने फ्यान्टम भाइब्रेसन एउटा चेतावनी संकेत हुन सक्छ।

यसले प्रत्यक्ष रूपमा स्वास्थ्यमा ठूलो क्षति नपुर्‍याए पनि दीर्घकालमा ध्यान केन्द्रित गर्ने क्षमता घटाउन सक्छ। मानिस वर्तमान काम वा कुराकानीभन्दा फोनतर्फ बढी सचेत हुन थाल्छ। परिवार, साथीभाइ वा कार्यालयमा समेत मानसिक रूपमा "अनलाइन" रहने अवस्था विकसित हुन सक्छ। यसले तनाव, थकान र उत्पादकतामा समेत असर पार्न सक्छ।

यद्यपि सतर्क हुनु भनेको डराउनु होइन। बरु आफ्नो डिजिटल व्यवहारलाई समीक्षा गर्ने अवसरका रूपमा यसलाई लिन सकिन्छ। फोनको अनावश्यक नोटिफिकेसन बन्द गर्ने, निश्चित समयमा मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने, सुत्नुअघि मोबाइलबाट टाढा रहने तथा दिनको केही समय डिजिटल डिटक्स गर्ने अभ्यास उपयोगी हुन सक्छ।

यदि फ्यान्टम भाइब्रेसनसँगै अत्यधिक चिन्ता, निद्रामा समस्या, ध्यान केन्द्रित गर्न कठिनाइ वा दैनिक जीवनमा असर पार्ने अन्य लक्षण पनि देखिन थालेका छन् भने मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ। 

अन्ततः फ्यान्टम भाइब्रेसन सिन्ड्रोमले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, हाम्रो मस्तिष्क प्रविधिसँग यति नजिकिएको छ कि कहिलेकाहीँ वास्तविकता र अपेक्षाबीचको सीमारेखा नै धमिलो हुन थाल्छ। त्यसैले फोनको होइन, आफ्नै ध्यान र मानसिक सन्तुलनको व्यवस्थापनमा सचेत हुनु आजको आवश्यकता बनेको छ।

***