काठमाडौंमा धेरै घर छन् । बहालमा बस्ने पनि उतिकै । उपभोग्य आवश्यकताका सवाल जे हुन्, घरबेटीले के रुचाउँदैनन्, डेरामा बस्नेले हेक्का राख्नैपर्छ । शैलेन्द्र बस्नेतका लागि त्यस्तै थियो । 'मलाई रहर लागेर जर्मन शेर्फड कुकुर ल्याएँ,' उनले भने, 'अर्काको घर । बाहिर छाड्न मिलेन । बाँधेर पालियो । विस्तारै त्यो रिसाहा बानीको भयो । कहिलेकाही बाहिर निकाल्दा मलाई पनि नटेर्ने ।' कुकुर उनको नियन्त्रणमै नआउने भएपछि विष दिएर तह लगाउनुको विकल्प भएन । पाल्ने रहर मेटिएन । आठ वर्षपछि विराटनगर-४ मा घर बनाएर आए । फेरि अर्को जर्मन सेफर्ड नै ल्याए । नाम उही पहिलेकैको राखियो - टाइगर ।
'साथीहरूले हेर्न खोजेपछि मैले टाइगर टाइगर भनेर जोडले बोलाए, उ यहीँ ढोकाको कुनामा रहेछ,' उनले भने, 'उठ्यो । भुक्लुक्क ढल्यो । म त के गरौ गरौ भो नि ।' गत असोज २४ गतेको बेलुकी साढे १० बजे बस्नेतको घरमा कुकुरको दसाले सबै आत्तिए । आधा घण्टाअघि त्यसले लामो र मोटो गोमन सर्प मारेको थियो । केहीले सल्लाह दिए- 'पानी खन्याइरहे विषको असर कम हुन्छ । भोली उपचार गराउन सकिन्छ ।' बस्नेत परिवारले त्यही गर्यो । चार घण्टापछि टाइगरको अवस्था केही सामान्य भएपनि उ अरूबेला जस्तो चनाखो थिएन ।
घटनाको तीन दिनअघि उनको घर परिसरमा त्यो सर्प देखिएको थियो । गेटबाट बाहिर धपाउन खोज्दा भागेन । बरु भित्रकै करेसावारीमा लुक्यो । दोस्रो दिन सर्पले घरभित्र पस्न जालीदार झयालबाट चिहायो, सकेन । बाहिर पठाउने उपाय खोज्न शैलेन्द्र मोरङ जिल्ला प्रहरी कार्यालय पुगे । उपाय लागेन । समात्न जान्ने एकजनालाई घरमा ल्याए । फेरि देखिएन । तेस्रो दिन कुकुरले देख्यो, २० मिनेटको लडाइपछि मार्यो पनि ।
डा. गंगाप्रसाद यादव भन्छन् 'झगडा गर्दा त्यो कुकुरले टोकेर उसलाई विषको असर भएको हो । साँपले ठुँगेको होइन । ५ भाइल स्न्टीस्नेक भेनम दिएपछि निको भयो ।' पशु सेवा कार्यालयमा सर्पले घरपालुवालाई टोकेका घटना यदाकदामात्रै आउने भएकाले उपचारका लागि विष प्रतिरोधक खोपको व्यवस्था छैन । 'मेरो जीवनमै यो पहिलो केस हो कुकुरलाई सापको विष लागेर उपचार गर्नुपरेको,' डा. यादव भन्छन् 'यस्तो केसमा धेरै ढिला भए मान्छे बचाउन गाह्रो हुन्छ, जनावरको त कुरै के भो र ।' सर्पको राजा मानिने गोमनले मजैले ठुँगीहाले कुकुर त के विष प्रतिरोध क्षमता अरू जीवमा विरलै होला ।
०००
'भान्साको ढोकाछेउमा देखियो, लामो कालो-कालो छ,' विराटनगर-१६ का कृष्णबहादुर क्षेत्री भन्छन् 'झटपट छिमेकी विष्ट भाइलाई बोलाइयो । उनले समातिहाले । घोर करेत रहेछ ।' सर्प घर वरपर देख्तैमा समातेर तह लगाउन पाइहाल्ने सबै कृष्णबहादुरका परिवारजस्तै भाग्यमानी हुँदैनन् ।
प्रहरीको लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइका हवल्दार प्रेमकुमार विष्ट भन्छन् 'सबै ठाउँ यसरी सजिलै समात्न कहाँ पाइन्छ । दुलामा, झाडीमा हुन्छ कि छानोमा ।' ४४ वर्षीय विष्टले समात्न थालेको केटाकेटीदेखि नै हो । निमाविस्तरसम्ममात्रै पढेका उनलाई सर्पबारे बैज्ञानिकका कुरा थाहा छैन । 'मैले देखेको सर्पले त्यसै टोक्दैन, टोक्ने दुइ अवस्था हुन्छन् - आत्मरक्षा गर्न वा रिसाएर,' उनी भन्छन्, 'धेरै सर्पहरू मान्छे देखेरै डराउँछन् । मार्नै पर्दैन, जान दिए भाग्छन् । तर, मान्छेको बानी मारेरै फाल्छन् ।' समात्दा-समात्दै विष्टको परिचय उनको विभागभित्र मात्र होइन उपमहानगरभरि फराकिलो भएको छ ।'
बोराको थैलामा हावा आउजाउ गर्न पोलिथिनका पाइपका टुक्रा लगाएर घरमा राखेका तीनवटा सर्प देखाएर उनले भने 'दुइटा गोमन छन् । एउटा घोरकरेत छ । सुरक्षित ठाउँमा लगेर छाडिदिन्छु । प्राणी हुन्, भरसक मार्न हुँदैहुँदैन ।' खोटाङको सिम्पानीमा छँदा बितेको बालापन सम्झेर उनले भने 'साथीहरू साँप मार्थे, म माला लगाउँथे । मज्जा लाग्थ्यो ।' समात्ने साधन छैन । हातैले समात्दा भन्छन् 'ठूलो छ भने पुच्छर समात्ने । त्यसले बेस्सरी बल गर्छ, अनि विस्तारै शिथिल हुन्छ । बल गर्न छाडेपछि तान्ने हो । नठुँगोस् भन्ने चाहि ध्यान पुर्याउनुपर्छ ।'
समात्दा-समात्दै उनले देखेका छन् , आनीबानी प्रजातिपिच्छे फरक छन् । गोमन पछि हट्दैन । मान्छेले हिर्काउन-चलाउन थाले प्रतिकार गर्छ । धामन लोग्नेमान्छेको आवाज सुने भाग्छ । करेत सोझो सर्प हो । घरका छत र काठका ढाँचा खोजेर लुकी बस्छ । ढोडिया भनिने पानी सर्प छिटो टोक्छ र भाग्छ । विष्ट भन्छन् 'डराउनु हुँदैन । झुल लगाएर सुत्नुपर्छ । सुत्नअघि ओच्छ्यान टक्टक्याउने गर्नुपर्छ । धेरै चिसो बेलामा सर्प न्यानो हुने ठाउँ खोज्दै ओच्छ्यानमा पनि लुकेको हुन सक्छ ।' हालसम्म विभिन्न प्रजातिका करीव तीन सय सर्प समातेका विष्ट भन्छन् 'टोकीहाले आतिनु हुन्न । धेरैपल्ट मान्छे विषभन्दा म मर्ने भए भन्ने हतासले मर्छन् ।'
०००
झापाको कोरोवारी-२ मा चार वर्षकी बबिता राजवंशीलाई सर्पले टोक्यो । परिवारले औषधोपचारअघि झारफुक गराउन सोही गाउका पदम सतारकहाँ लगे । धुपध्वाँरमा डेढ घण्टा बित्यो । निको भएन । अवस्था बिग्रिएपछि गाउँकै ओमप्रकाश राजवंशीले मोटरसाइकलमा हाले । उपचार केन्द्रतर्फ हुइकिए । बाटामै तिनको ज्यान गयो । गत जेठ १७ को घटना सुनाएका दमकस्थित रेडक्रसको सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीको भनाइ विष्टभन्दा कतिपनि फरक छैन । भन्छन् 'हो नि । मान्छे विषभन्दा धेरै हिम्मत हारेर मर्छन् । टोक्नेबित्तिकै उपचारमा लैजान सके बचाउन सकिन्छ ।'
उनी सावधानीका तरिका सुनाउछन् । ठुँगे विरामीलाई खान दिनुहुँदैन । चोटमा चिर्ने-चुस्ने गर्नुहुदैन । हिडाउनु हुँदैन । सपोर्टका लागि हलुका पट्टी लगाएर सकेजति छिटो उपचारमा लैजानुपर्छ । दमक केन्द्रमा गत वर्ष उपचारका लागि १ हजार ९४ जना आएका थिए, चालु वर्ष गत साउनयता आएकाको संख्या ६ सय ६७ पुगिसकेको छ । सर्पदंशको उपचारमा आउनेहरू धेरै भएपछि रेडक्रसले तीन वर्षदेखि करीव ६ सय जनालाई मोटरसाइकल स्वयंसेवी तोकेको छ । विरामीलाई केन्द्रमा पुर्याउदा यी स्वयंसेवीलाई रेडक्रसले खर्च भएको इन्धन दिन्छ ।
०००
सन् २००३/०४ को एउटा सर्वेक्षणले मुलुकका २६ जिल्ला सर्प प्रभावित मानेको छ । त्यसमा झापा, चितवन, सुनसरी र मोरङ अग्रणी छन् । पहाडका तुलनामा तराइमा यी सरिसृप बढि पाइन्छन् । राजधानीस्थित प्राकृतिक संग्रहालयका सर्पविज्ञ प्राध्यापक करनबहादुर शाह भन्छन् 'सर्पले मान्छेलाई खोजी-खोजी टोक्ने होइन । र, जथाभावी मार्न थालियो भने प्रकृतिको पर्यावरणीय चक्रमा यसको सोझो असर देखिन्छ । मुसा बढ्छन् । मान्छेलाई अन्नले खान पुग्दैन ।'
उनका अनुसार मुलुकमा हालसम्म ७९ प्रजातिका सर्प पाइएका छन् । यिनमा १९ प्रजाति विषालु छन् । विषालुमध्येपनि गोमनका तीन र करेतका पाँच प्रजाति पाइएका छन् । गोमनले एकपटक उसलाई सजिलो हुनेगरि डस्दा १ सय ५० देखि तीन सय मिलिग्रामसम्म विष फाल्न सक्छ । वयस्क मान्छेको इहलीला सिध्याउन त्यसको १२ मिलिग्रामले नै पुग्छ । करेतले २० मिलिग्राम, गनगुहारीले ५०, रसेल भाइपर (टाटे खैरो) ले २ सय ५० र राजगोमनले एक सय मिलिग्रामसम्म विष फाल्न सक्छन् । करेत र गनगुहारीको १०/१०, टाटेको ४० र राजगोमनको १२ मिलिग्रामले मात्रै पनि मान्छे मार्न सक्छ ।
धेरैजसो पहाडी क्षेत्रमा पाइने हरेउ सर्पले एकपल्ट डस्दा १४ मिलिग्राम विष फाल्न सक्छ । तर, यसको एक सय मिलिग्रामले मात्रै मान्छे मर्न सक्छ । 'असर हुन विषालु प्रजातिका भए-नभएको र उसले कस्तो अवस्थामा टोकेको हो भन्नेमा पनि भर गर्छ । विषको मात्रा अनुसार त्यसको पुरा असरको अवधि हुन्छ,' प्रा. शाह भन्छन्, 'विषालु छैन भने टोक्दैमा मान्छे मर्ने होइन । विषले स्नायुमा असर गर्छ । कहिलेकाही टोकेका कुनै भाग प्यारालाइसिस हुनसक्छ ।' एकपटक खाएपछि लामो समय नखाइ बस्न सक्ने र चिसो रगत हुने भएकाले वातावरणबाट शरीरको तापक्रम संतुलित बनाउने विशेषता यी सरिसृपका हुन् । सर्पले अण्डा पार्छ । छोपेर बस्दैन । उचित तापक्रम पाएर निस्कने बच्चाहरू बाहिरिदै सिकारी भएर बाँच्छन् । सरदर २० वटा बच्चा निस्किएभने मुश्किलले चार/पाँच वटामात्रै वयस्क हुने भाग्य पाउँछन् । हुर्कदैगर्दा सर्पलाई आहार बनाउने जीव पनि धेरै छन् । 'सबै मांशाहारी हुन्छन् । मुसा, भ्यागुता, चरा, माछा खान्छन् , राजगोमनले चाहि आफुभन्दा साना सर्प नै खान्छ', उनले भने, 'सर्प जसरी मान्छेले खाने हो भने एकैपटकमा ३०/४० केजीको खाना खान्थ्यो होला । सर्पले आफ्नो आकारभन्दा छ/सात गुना ठूलो कुरा खान सक्छ । चपाउने होइन, बिस्तारै सर्लक्क निल्छ ।' देख्यो कि मान्छेले मारिहाल्ने गरेबाट सर्पका प्रजाति संकटमा परिरहेको उनले बताए । 'प्रकृतिले सबैका लागि खानेकुरा अनि त्यसको भूमिका निर्धारण गरिदिएको छ,' उनी भन्छन् 'प्रकृतिमा एउटा जीव लोप हुन्छ भनेपनि त्यसको अभावमा पर्यावरणमा असर पर्छ-पर्छ । यो फोटोमै झट्टै देखाउन मिल्दैन, असर क्रमिक देखिन्छ ।'
०००
'ओहो, त्यो बेला सम्झँदा त मन ढक्क फुल्छ,' डा. सञ्जीवकुमार शर्मा भन्छन् 'कल्पना गर्नुस् त एउटा मान्छेलाई सयौं साँप भएको डिब्बाजस्तो कोठाभित्र पठाइयो ।' तीन वर्षअघि तीन दिने एउटा तालिमको दौरान अष्ट्रेलियाको एलाइड विश्वविद्यालयमा आफुले पार गरेको एउटा चरण उनले बताए । 'विशेष खालको लुगा लगाएर पसेपछि हामीलाई कसरी टोकाइबाट जोगिने भन्ने सिकाइएको थियो,' उनले भने, 'स्थिर भएर उभिइरहे सर्पले केही गर्दैन । हामीले सर्पको नेचर बुझन गर्ने प्राक्टिकलमध्येको त्यो एउटा विधि रहेछ ।' डा. शर्मा हाल चितवनको भरतपुर, झापाको दमक र चारआलीमा सञ्चालित सर्पदंश उपचार केन्द्रका लागि अनुगमनको काम गर्छन् । यी केन्द्रलाई बेलायत, स्वीटजरल्याण्ड र जर्मन परियोजनाले एन्टीस्नेक भेनम उपलब्ध गराउन सहयोग गरेका छन् । उनको काम शोधमा आधारीत छ । भन्छन् 'सन् २००१ मा पूर्वका १० वटा अस्पतालमा गरेको अनुसन्धानमा सर्पले टोकेका ९८ जनाको मृत्यु भएको तथ्यांक भेटिएको थियो । अवस्था फेरियो, अहिले सयमा कम्तीमा तीनजना मर्छन् ।'

विष प्रतिरोधका लागि उपयोग गरिने खोपमा पनि विषको मात्रा हुन्छ । हामीकहाँ भारतमा निर्मित खोप उपयोग गरिन्छ । कारण दुइ देशको भौगोलिक अवस्था उस्तै भएकाले पाइने सर्पका प्रजाति पनि उस्तै हुनु हो । बजारमा किन्दा महँगो हुने भएकाले सरकारले विषविरूद्धको खोप निश्चित अस्पताल र उपचार केन्द्रलाई वर्षेनी उपलब्ध गराउने गरेको छ ।
विराटनगरस्थित क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साह भन्छन् 'अहिले पूर्वको १६ जिल्लामध्ये कम्प्लीकेसन रहेका केस धरानको वीपी प्रतिष्ठान पुग्छ । स्वास्थ्य मंत्रालयमार्फत आएर हामीले उपलब्ध गराउने एन्टीस्नेक भेनम अस्पताल, आवश्यकता र उपयोगिता हेरेर वितरण गर्छौ ।' उनका अनुसार मेची, कोशी र सगरमाथाका अस्पताल र उपचार केन्द्रलाई २०६६/६७ मा ७ हजार ९३, २०६७/६८ मा ६ हजार ६ सय र गत साउनयता हालसम्म ३ हजार ६ सय ३५ भाइल एन्टीस्नेक भेनम उपलब्ध गराइएको छ । 'पहिले-पहिलेभन्दा उपचार अहिले धेरै सजिलो भएको छ,' प्रमुख साहले भने, 'तर, साँपले टोक्नु दुर्घटना भएजस्तै त हो ।'
(३ मंसिर ०६८ शनिवार कान्तिपुर कोसेलीमा प्रकाशित यो सामाग्रीका सम्पादनअघिको लेखोट ब्लगमा समावेश गरिएको छ ।)
(३ मंसिर ०६८ शनिवार कान्तिपुर कोसेलीमा प्रकाशित यो सामाग्रीका सम्पादनअघिको लेखोट ब्लगमा समावेश गरिएको छ ।)