उमेरका उतरार्द्ध । रिटायर्ड जीवन । हतारका नियमितता कति पनि घटेको होइन । ६७ बसन्त छोएर जीवनका अवयव देखेभोगेकाहरु थाक्छन् । सक्रिय हुनुपर्ने कामको निरन्तरता छाड्न चाहन्छन् । होचो कद । पावरदार चश्मा । सेता कपाल । रातो झोलाधारी जगतप्रसाद अर्याल आफूसरह पाकाभन्दा पृथक अभियानमा छन् । 'कहिलेकाही छोराले अमेरिकाबाट फोन गर्छ, भन्छ बाबा अब त आराम गर्नोस्,' केहीबेर मौन हुन्छन्, अनि भन्छन्, 'मलाइ लाग्दैन जीवन आराम गरेर बित्छ ।' पाका दुइ प्राणी बसेको घरबाट अर्याल सहर चहार्छन् । बृद्धाश्रम पुग्छन् । अनि साँझ विहानको किर्तन, दिनचर्यामा अपुगको जोहो दैनिकी । भन्छन्, 'कसरी बाँच्ने भन्ने निर्णय आफ्नै हुनुपर्छ ।'
०००
औपचारिक कार्यक्रमस्थलहरुमा अलि छिटै देखापर्छन् । तोकिएको समयमा कार्यक्रम सुरू गर्न सधै ढिला हुन्छ नै । नेपाली कल्चर भनिने ढिलाइको यो समय उनका लागि उपयोगी बन्छ । पंचुअल बन्न आएकाहरुसँग बात मार्छन् । टेबलमा रातो झोला बिसाउँछन् । अनि आफ्ना कुरा खोल्छन् '५ रुपैयाँ दान गर्नोस् । तपाइँलाई बुढेसकालमा काम लाग्छ ।' चिया पनि नआउने ५ रुपैयाँ कसरी बुढेसकालका लागि काम लाग्ला ? आगन्तुकमा जिज्ञासामिश्रित आश्चर्य देखिनु स्वभाविक छ । अनि अर्थ्याउँछन् - 'दान बृद्धाश्रमका लागि हो ।' विराटनगर-१८ मा मलायारोडमा विराटेश्वर बृद्धाश्रम छ । त्यसमा अहिले ३३ बुढाबुढी आश्रित छन् । दिगो बनाउन सकियो भने आश्रम तपाइँलाई पनि काम लाग्छ । तपाइ बृद्ध भएपछि आश्रमले एउटा पत्र पठाउँछ । सहारा छैन , बाँच्न गाह्रो भएको छ भने दाताका नाताले आश्रममा तपाइँलाई स्वागत गरिने छ ।
०००
'हो त, दाताको नाम दर्ता गरेर राख्छु,' उनले भने 'पछि सबैको घरमा पेन्सन खाने अवस्था भइराख्छ भन्ने छैन । त्यसबेला बृद्धाश्रम काम लाग्छ ।' पुराना पोथीपत्रा खोल्छन् । नामका सूची देखाउँछन् । भन्छन् '१ लाख १९ हजार ६ सय ८ जना पुगे है अहिलेसम्म ।' अभियान थालनी सम्झँदा केही निराशाका भाव अनुहारमा आउँछन् । विराटनगरको संसारीमाइस्थानस्थित भानुमोरङ प्राविमा उनी प्रधानाध्यापक थिए । विद्यालयलाई खर्चेका ४२ वर्षमध्ये ३४ वर्ष उनले प्रधानाध्यापक भएर बिताए । उपमहानगरभित्रको त्यही स्कुल जो मन्दिर परिसरमा छ । एक दसकअघिसम्म पटकपटक विद्यार्थीलाई कक्षा कोठा अपुग हुँदा बाहिर बसाएर भूइँमा पनि पढाइन्थ्यो । पत्रकार आउथे । तस्बिर लिन्थे । धेरैलाई सोही स्कुलका हेड सरको अभियान बारे थाहै थिएन ।
'रिटायर भएको ५ वर्ष लाग्यो,' उनले सुनाए 'स्कुलमा छँदादेखि अभियान थालेको धेरैले निराश पारे । थोरैले मात्रै हौस्याए ।' राम्रो काम भनेर हौस्याएजस्तो गर्ने कतिपयले दानको फारम लगेर फिर्ता गरेनन् । थोरैले फिराए । केहीले 'यो उमेरमा पनि चन्दा उठाउनेजस्तो ठगाहा काम कनि थाल्नुभो' भन्दै प्रश्नसँगै निराश पार्न खोजे । 'जस्तो परेपनि मैले अभियान छाडिनँ,' उनी भन्छन् 'ज्यान रहेसम्म लागिरहन्छु । नश्वर शरीर आखिर कसैको काम आएकै बेस हो ।'
०००
छोरा-छोरीको विवाह गरिदिएपछि त्यस्तो ठूलो पारिवारिक दायित्व छैन । भएको एउटा छोरा कम्प्युटर साइन्समा स्नातकोत्तर पढ्न गएर अमेरिका 'सेटल' भएका छन् । उनी बुवाले आराम गरेको देख्न सुन्न चाहन्छन् । तर, फुर्सद सदुपयोगको ध्याउन्तीले उनलाई छाड्दैन । 'फुर्सद भन्दै त्यतिकै बसिराख्यो भने मान्छे चाडै मर्छजस्तो लाग्छ,' उनी भन्छन् 'एउटा काममा लाग्यो भने त्यही कामले उर्जा दिन्छ । र, मान्छे अलि बढि बाँच्छ जस्तो लाग्छ ।' छोराछोरीले आराम गर्नुस् भन्नुका पछि उनीहरुको कर्तव्य भएपनि अभियान आफूले थालेकाले सकुन्जेल लागिरहने निश्चय उनका छ । 'यो एउटा बृद्धाश्रमको सपना मात्रै होइन,' उनी सपना सुनाउँछन्, 'समाजको ढाचा यसरी बदलिएको छ कि बृद्ध आमाबुवाले घर छाडेर हिड्नुपर्ने अवस्था भएको छ ।' दान संकलनका लागि पुगेका कतिपय घरमा बृद्धबृद्धाको व्यथा बेग्लै भेटिने उनको अनुभव छ । राम्रो अभियान भन्दै कुनै-कुनै घरका छोराबुहारीले बोलाएर दान दिएपनि भित्र गहभरी आँसू पारेर बसेका आमाबुवा उनले देखेका छन् ।
०००
विराटेश्वर बृद्धाश्रम अहिले सञ्चालनमा रहेको घरजग्गा एक जना दाताले उपलब्ध गराइदिएका हुन् । सरोचियाका जाकीर हुसेनले आश्रमले आफ्नो जग्गा र भवन व्यवस्था नहुञ्जेलका लागि आवाससहितको ५ कठ्ठा जग्गा भोगका लागि दिएका छन् । 'उहाँको बुवा जियाउल हक अञ्चलाधीश हुनुहुन्थ्यो, म चिन्दथे,' उनी भन्छन् 'अहिले बितिसक्नुभो । परिवार दयालु छन् । उनीहरुले यो जग्गा कुनै रेस्टुरेन्टलाई दिएको भए भाडामा राम्रै पैसा पाउथे । त्यसो गरेनन् ।'
पाँच रुपैयाँ अभियानकर्मीका लागि गएका केही सातादेखि दुइ अनौठा दाता भेटिएका छन् । ती हुन् - विराटनगरको ट्राफिक चोकनजिक सडकमा जुत्ता पालिस गर्न बसेका मोचीहरु । 'उनीहरुले भने - 'सर म दिनको एक रुपीयाँ दिन्छु,' अर्याल भन्छन् 'अनि साता दिनको 'सात/सात रुपियाँ दिन्छन् ।' ७० देखि १०४ वर्षसम्मका बुढाबुढी आश्रित थलोको जीवन सुखमय छैन । अपुग-अपुग छ । सघाउने कम छन् । कुरा गर्ने धेरै ।
०००
सानो कटेरोजस्तो कोठाको ढोकैछेउ अध्यक्ष लेखेको उनको नेमप्लेट छ । अनि त्यससँग लहरै जोडिएका साना कोठामा चार बृद्धा परलोक जाने दिनको प्रतीक्षामा बसेका छन् । कोठाको गन्ध अस्पतालका कुनै वार्डभन्दा कम छैन । ओच्छ्यान परेका बृद्धा नजर घुमाउँछन् । उनीहरुका आँखाले सहारा खोजेको जस्तो देखिन्छ । यी साँघुरा चार कोठा हिडडुल गर्न नसक्नेहरुका लागि हुन् । खौरिएपछि मुडुलोमा पलाएका सेता कपाल । चाउरिएको अनुहार । आफन्तबाट परित्यक्त्य जीवनका दिन ।
अर्को भवनको छतमा कोही लुगा सुकाउँदै-उठाउँदै गर्दैछन् । आँगनको आँपको रुखमा फेददेखि करीव ६ फीट उचाइसम्म हरियो रंगका टीनका प्लेटमा सेतो अक्षरले नाम लेखिएका छन् । छुट्टाछुट्टै टाँसिएका प्लेट कुनै सवारीसाधनको नम्बर प्लेटभन्दा कम छैन । यहा आश्रितहरूको मान्छेपिच्छे नाम र उमेर लेखिएका छन् । जो परलोक गए , उनीहरुका नेमप्लेट हटाइन्छ ।
०००
अभियान लिएर देश दौडाहाको तयारी उनले निकै अघि गरेका हुन् । तर, निस्कने चाँजोपाँजोमा जहिल्यै 'ढिकीच्याउँ' को बाधा आइरह्यो । भन्छन् 'कहिले नेपाल बन्द , कहिले सशस्त्र द्वन्द्व कहिले मधेस अशान्त । चिनेजानेकाहरुले कहिल्यै सजिलै अवस्था छ, जाउ भनेनन् ।' शरीरलाई केही बुढ्यौलीले छोएको भान हुन्छ हिजोआज । 'जाने इच्छा छ तर, कसले सघाउने ? प्रश्नसँगै निराशा प्रष्ट देखिन्छ 'समाजको लागि गर्नेहरुलाई आशाभन्दा निराशाको मात्रा बढि हात लाग्दो रहेछ ।' उनी सवारी चलाउँदैनन् । हम्मेसी कसैको सवारीमा चढेको पनि देखिदैन । पैदलै यताउता गरिरहने उनलाई खानेकुरा अपुग भयो, कोही विरामी परे, कोही मरे अनि दैनिक खटनपटनको नियमितताले छाड्दैन । सधै एकैनाश एउटा अभियानमा लागिपर्ने उर्जा कसरी पाउने ? उनी अर्थ्याउँछन् 'सबैले एक दिन बृद्ध हुनुपर्छ । अनि जानुपर्छ । केही गरेर जान्छु भन्ने सोच्नोस् यस्तै कुनै अभियान थाल्न मद्दत मिल्छ ।' मान्छेको ज्यानलाई रिटायर्ड लाइफमा सकुञ्जेल समाजको हितमा लगाउनु उचित हुने सोचले उर्जा दिने उनको तर्क छ ।
'मर्नु अनौठो होइन । सबै मर्छन्,' उनी भन्छन् 'सबैले आफैलाई सोधे हुन्छ तिमी के गरेर जान्छौ ?' अरुले सम्झने गरि जान पाउनु जीवनको सार्थकता हो भन्ने उनलाई लाग्छ ।