Saturday, July 25, 2015

फेवामाथि पखेटा

पुम्दीकोटको उकालोमा ह्यारीले अलि कवि पाराका कुरा गरे। 'चरा हामीभन्दा मुन्तिर, तालभन्दा मास्तिर हावामा तैरिरहेको हेर्दाको मजा ! ओहो !,' उनले भने, 'अनौठो लाग्छ चरा तालमाथि उडेका छन्। हामीमाथिबाट उनीहरूलाई हेर्छौं।' नेदरल्याण्डबाट आएका ह्यारी ट्रायोन र क्रीस तातेरो लामो पैदल दूरी नहिँडी नजिक-नजिक घुम्ने सुरले निस्केका भेटिए।
 
पुम्दीकोटको १३५० मिटरमा बनेको भ्युटावरमा हाम्रो भेट भयो। दुवैले गुनासो पनि गरे। '१९९६ मा काठमाडौं आइयो, त्यसपछि पोखरा पनि घुमियो,' ह्यारीले भने, 'यो बितेको अवधिमा धेरै परिवर्तन आएछन्। जता हेर्‍यो घरैघर छन्। परिवर्तन त चाहिन्छ तर, पक्की घर देख्ता अनौठो अनौठो लाग्छ।' 

हामी त्यहाँ थियौं, जहाँबाट फेवाताल पुरा आकारमा देखिन्थ्यो। पानीको भाग। पानी सुकेर खेती गरिएका भाग। लेकसाइडका होटल र रेस्टुराको कंक्रिटका जंगल। यी दुई हाम्रा पाहुना हुन्। लाग्यो - 'यिनीहरूले भनेर हुन्न, हामीलाई गुणस्तरीय जीवन शैली चाहिएको हो। त्यसैले परिवर्तन भएका हुन्। नेपालीले सधैं गरिबको जीवन बाँच्नु पर्छ भन्ने छ र !' 

फेवातालमाथि चील उडिरहेका थिए। केही भागमा डुंगा देखिन्थे, कतै माथि सराङकोट भएर उडेका केही प्याराग्लाइडिङ पनि रंगीचंगी देखिन्थे।
 
जानकारहरूका अनुसार सन् १९५७ को नापीअनुसार फेवातालको क्षेत्रफल २२ हजार रोपनी हाराहारी थियो। सन् २००० मा घटेर ९ हजार ९ सय ५५ रोपनीमा पुग्यो। पोखराको गहनाका रूपमा रहेको यो तालचिन्ता गर्नेहरू भन्छन् '५० वर्षमा तालको क्षेत्रफल आधा घटेको छ।' अतिक्रमित जग्गा छानबिन समितिको प्रतिवेदनमा आउँदो ७५ देखि सय वर्षमा ताल लोप हुनसक्ने खतरा औंल्याइएको छ। फेवाताल बिनाको पोखरा कस्तो होला ? कल्पना पनि भयावह छ।
 
०००

फेवातालमा यतिखेर एउटा पाहुनाको केही टोली देख्न सकिन्छ। यो कुनै मुलुकको राहदानी बोकेर आएका पर्यटकको टोली होइन। अंग्रेजीमा 'टफ्टेड डक' भनिने कालीजुरे हाँसका बथान हुन्। डुंगाका भीड छन्। यिनैलाई छलाउँदै, डुबुल्की मार्दै कलाबाजी खाँदै रमाएको टोलीको आफ्नै धुन छ। 'अबको एक हप्तापछि यो यहाँबाट जान्छ। अरु धेरै पानीचरा गइसके,' पोखरा, रत्नचोकका हरि केसीले भने, 'अब पहिले पहिले जसरी तालमा चरा कहाँ देख्न पाइने हो र !'

हिउँदमा अत्यधिक चिसो भेगबाट जाडो छल्न पखेटाधारी फेवाताल र आसपास आउँछन्। बिस्तारै गर्मियामको सुरूसँगै पुरानो थलो फर्कन्छन्। यहाँ कोसी किनारजस्तो काँसघारी छैन। सिमसार क्षेत्र पनि अतिक्रमित हुने क्रमले किनारमा चराका ठूलो समूह हम्मेसी देख्न पाइँदैन।
 
६१ वर्षीय केसीले आफैं चरा हेर्न र हेर्न आउनेलाई देखाउन-चिनाउन थालेको २३ वर्ष लागेको छ। पोखरा उपत्यकामा पाइने चराका नाम उनलाई कण्ठै छ। गत साता स्वीडेनका पाहुनालाई दिनभरि घुमाएर खुशी पारेर बिदा गरेको सुनाएका उनले भने, 'चराका लागि पोखरा यस्तो ट्रान्जिट प्वाइन्ट हो, जहाँ हिमाली भेगका आइपुग्छन्, तराईका पनि आएको भेटिन्छ।' उनको भनाइ मान्दा यहाँको प्राकृतिक सुन्दरता मान्छेका लागि जति मोहक छन्, उति नै चराले पनि कम्तीमा दुई/चार साताको बसाइ गरेकै हुन्छन्।
 
दाङको सल्यानमा जन्मेका उनले रोजगारीको खोजीमा राजधानी र विराटनगरको केही वर्षको बसाइपछि २०२९ सालमा पोखरा आएको सुनाए। 'त्योबेला फेवातालको पानी सङ्लो थियो। एउटा ठूलो सहर माछा, त्यसका पछिपछि अरु मसिना माछा बिहेको जन्ती गएजस्तो प्रष्ट देखिन्थ्यो,' उनले भने, 'बसोबास बढ्यो, सँगै प्रदूषण बढ्यो, अब पानी पहिले जसरी कहाँ सफा हुनु !'

राजधानीको क्रिष्टल होटेलले आफ्नो शाखा पोखरामा राख्ने भनेर कर्मचारी आवश्यकताको सूचना टाँस गरेको थियो। त्यसमै कुकको काम गर्दै दरबार हाइस्कुलको रात्रि कक्षामा ७ मा पढ्न थालेका केसीलाई नयाँ ठाउँ टेक्ने रहर लाग्यो।  निवेदन दिए। छनोटमा परेर पोखराको लेकसाइड आइपुगे। 

न्यु क्रिष्टल रेष्टुरामा ६ वर्ष बिताएपछि उनले नजिकैको फिस्टेल लजमा अलि राम्रो दामको उस्तै काम पाए। 'फिस्टेलमा मैले ३२ वर्ष जागिर खाएँ, यही दौरान चराका कुरा रुचि लाग्थे,' उनले भने, 'किताबहरू हेर्दै गएँ। त्यस्तै रुचिका टुरिस्टको संगत र आफ्नै परिश्रमले चरा चिन्दै गएँ। सन् १९९६ पछि म यहाँ चरा हेरेर यसको नाम फलानो भन्न सक्ने भएँ।' 

पोखरामा चरा चिनाउने केसीजस्ता आधा दर्जन छन्, जो पाहुनालाई ताल, पहाड र यहाँका जंगल घुमाएर रैथाने र आगन्तुक पन्छी चिनाउँछन्। यात्रामा वर्षौदेखि हेर्दै आएको फेवातालको चिन्ता गर्छन्। 'सन् २००२ मा पाँच सय हाराहारी पन्छी प्रजाति छ भन्ने हामीले अहिले त्यसको ७० प्रतिशत चरा घटे भन्नुपर्छ,' उनले सुनाए, 'यहाँ मान्छेलाई चरा चिन्ताभन्दा पनि ठूलो कसरी राम्रो आम्दानी गर्ने भन्नेमा ध्यान भएर प्रकृतिको दोहन यस्तरी हुँदै आयो की असर हामीले खोजी गर्दा धेरै ढिला भइसक्ने अवस्था छ।'

०००

प्रकृतिको अनुपम सिर्जनामध्येको फेवाताल आफैंमा सुन्दर छ। यहाँ आइपुग्दा मैले एउटा ट्वीट गरेको थिए -'तालको शहरमा तालचिन्ता चैं साह्रै देखिएन। हुन पनि घर की मुर्गी दाल बराबर लाग्दो होला रैथानेलाई। जग्गा मिचेका, ढल फोहर हाल्या। भीड उस्तै।' रैथाने उपेन्द्र पौडेलले मलाइ मेन्सेर जवाफ फिराए, -'पहिला पहिला आउँदा त्यस्तै लाग्छ। पछि बानी पर्छ।'

उनको जवाफ आफ्नो ठाउँमा सही हो। तर, एक झमट पानी पर्दा ढल भएर आउने शहरको फोहर यही तालमा मिसिने रहेछ। ताल नगरी पोखरा शहरका दुई भाग छन्। एउटाको ढल सेती नदिमा मिसिने, अर्को भागको फेवामा। यहाँ बर्सेनि एउटा दृश्य दोहोर्‍याएर हेर्न पाइन्छ - त्यो हो जलकुम्भी सफाइ।

मूल स्रोतबाट यात्रा गरेर जलाशयमा आइपुग्ने पानीले बगाएर ल्याउने धेरैथोक हुन्छन्। यिनमा माटोको मात्रा अधिक हुन्छ। फेवा आइपुग्ने मसिना सहायक चार खोलानालासँगै पानीको मूल स्रोत हर्पन खोला हो। 'फेवा जोगाउने विषयमा चिन्ता गर्ने धेरै छन् तर, नबिगारी यथास्थितिमै रहन दिनसक्नु ठूलो चुनौती छ,' कास्कीका भूसंरक्षण अधिकृत उद्धवबहादुर घिमिरेले भने, 'फेवाको जलाधार क्षेत्रमा बर्सेनि जाने पहिरोले खुकुलो माटो थुपार्दै ल्याएको छ। एकातिर प्रदूषण बढ्नु, अर्कातिर हर्पन र सहायक खोलाबाट आउने ढुंगामाटो थुप्रिँदै जानु दीर्घकालका लागि फेवातालको सुन्दरताका लागि जोखिम छ।'

उनका अनुसार उपल्लो र तल्लो तटीय क्षेत्रमा धमाधम जारी अव्यस्थित निर्माणबीच वैज्ञानिक सोच नहुँदा फेवाको भविष्य जोखिममा छ। 'चिन्ता सबैले गर्छन् तर, आफ्नो जिम्मेवारीमा कति गम्भिर होलान् भन्ने खोज्दा निराशा हात लाग्छ,' उनले सुनाए, 'संरक्षणको सोचबिनाको अव्यस्थित विकास निर्माणले फेवाको आयु संकुचित हुँदै गएको यथार्थ छ।'

तालमा हरेकपल्ट वर्षायाममा जलकुम्भी भनिने पानीघाँस बढ्छ। त्यसलाई मिल्काउन अभियान चल्न थालेको पनि एक दसक भएको छ। 'तालमा मिसिने खोलाले ल्याउने मलिलो माटो जलकुम्भीका लागि पोषणयुक्त हुने भएकाले झन झन बढेको हो,' कास्कीका जिल्ला वन अधिकृत माधवप्रसाद वरालले भने, 'जलकुम्भी हटाउन एउटा बृहत् अभियान नै आवश्यक देख्छु। थोरथोरै काम गरेर यो निर्मुल हुनेवाला छैन।'

फेवा किनारको पर्यटकीय क्षेत्र लेकसाइडमा साढे चार सय हाराहारी होटल, रेस्टुराँ छन्। यिनमा धेरैको पिउनेबाहेक अन्य प्रयोजनमा उपयोग हुने पानीको स्रोत ताल नै हो। केहीले निष्कासित ढल र पानी तालमै मिसाएको विषय लामो समयदेखि विवादमा रहिआएको अवस्था छ। फेवाताल संरक्षणको जिम्मा उपमहानगरपालिकाको हो कि जिविसको। उपत्यका नगर विकास, भूसंरक्षण कार्यालयको हो वा सरकारको भन्ने अलमलले बितेको लामो समयपछि हालै ताल संरक्षण कार्यालय खोलिएको छ। यसका इञ्जिनियर महेन्द्र गोदारले भने, 'तालकै संरक्षणको जिम्मा दिएर अफिस राखिएपछि अब भने काम व्यवस्थित हुनेछ भनौं।'
     
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुली फेवा सबैको सरोकारको विषय भएको भए पनि ठोस काम हुन क्रियाशीलता निकै कम भएको अनुभव गर्छन्। 'हामीले ताल कार्यालयलाई सघाउन सुरू गर्‍यौं। चिन्ता सबैले गरे पनि अगुवाइ लिने निकायकै सक्रियता बढी जरुरी छ,' उनले भने, 'प्रदूषणको दोष एकोहोरो होटल-रेष्टुराँलाई दिन मिल्दैन। नियममा कडाइ गरेरै जानुपर्छ भन्नेमा हामीले विरोध गरेकै छैनौं।'

फेवामा बेग्लाबेग्लै धेरै अध्ययन अनुसन्धान भएका छन्। सभा, गोष्ठी हुने क्रम पनि बाक्लै छ। सबैले जोगाउन गम्भीरता आवश्यक भएको नै प्रतिवेदन बनाइआएका हुन्। पछिल्लोपटक इन्भाइरोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाइजेशनले गरेको अध्ययनले पानीमा कोलिफर्मदेखि मर्करीजस्ता हानिकारक तत्वसमेत भेटिएको उल्लेख गरेको छ। एकातिर तालको जग्गा अतिक्रमणमा परेका मुद्दा बेग्लै छन्, अर्कातिर पानी प्रदूषण। हामी चराका कुरातिर फर्कौँ। 




०००

पोखरा उपत्यकामा नौवटा ताल छन्। आसपास डाँडा, फाँट र जंगल। यस्तो भूगोल चराका लागि बसाइमा सुगम हो। बेलाबखत चराप्रेमी हेर्न, गणना गर्न टोली बनाएरै निस्कन्छन्। गत माघमा यहाँ सिमसार र पानीमा रमाउने चरा गणना गरिएको थियो।
 
बढ्दो मानवीय गतिविधिले चरालाई वासस्थान संकट भएको झलक चौधरीले बताए। लामो समयदेखि आगन्तुकलाई चरा चिनाउने गर्दै आएका उनले भने, 'ताल क्षेत्रमा बस्न र आहारा पाउन चराका लागि सजिलो छैन। हिउँदमा चिसो छल्न आउने आगन्तुक पानीचरा पनि ठूलो संख्यामा घटेका छन्।'

सिमसार क्षेत्र पुगेर भएका निर्माण, सुक्दै जाने, जथाभावी माछा मार्ने र ताल आसपासमा प्याराग्लाइडिङ गतिविधि, मानवीय चाप लगायतका गत वर्षा तुलनामा १५ प्रतिशतले पानीचरा घटेको उनले बताए। 'सुनजुरे हाँस, जलअप्सरा, देवहाँस र खोया हाँस अहिले पाँच वर्षभयो देखिनै छाडे,' उनले सुनाए, 'आठ वर्षघि दिपाङ तालमा ४७५ वटा देखिएको रेकर्ड गरिएको सिलसिले हाँस (लेसर ह्वीस्लीङ टील) पुरै लोप भए।'
 
नेपाल पक्षी संरक्षण संघका अध्ययनकर्ता कृष्ण भूषालका अनुसार सिमसारको अवस्था फेरिए, बर्सेनि बसाइ सरिआउने चराका लागि प्रतिकूल बनेकैले पनि संख्या घटाएको छ। उनका अनुसार बर्सेनि १५० प्रजातिका आगन्तुक चरा  नेपाल भित्रिने गरेका छन्।
  
आगन्तुक र रैथाने चराका हकमा मान्छेका अतिक्रमणले बसोबास प्रतिकूल भए पनि अझै हेर्न बाँकी रहेको चरा गाइड हरि केसीको भनाइ छ। 'सबै बिग्रियो, सकियो भन्दाभन्दै पनि अझै चरा हेर्न सकिन्छ,' उनले भने, 'बर्सेनि घटेका छन् तर, केही नयाँ देखिएका पनि छन्। देखिने स्पटहरू फेरिएका छन्।'

०००

गिद्धबारे अध्ययन गरेका पोखराको लेकसाइडका हेमन्त ढकाल महिनाका दुई दिन फेवातालका पाँचस्थानमा क्यामेरा, ट्राइपोर्ट र बाइनाकुलर लिएर बिताउँछन्। उनले यहाँ पाइएका चरा गणना गर्छन्। 'यो कसैले लगाएको वा कसैका लागि गरेको काम होइन। मेरो सोख हो,' उनले भने, 'स्थिति उत्साह जगाउने खालको छैन।'
 
उनका अनुसार फेवाको पश्चिमी क्षेत्र जहाँ तालको पानी सुकेर खेती थालिएको छ, त्यहाँ किसान र चराबीच मनमुटाव छ। धान खेती गरिएका ठाउँमा कुर्मा भनिने पर्पल स्वाम्हेन नामको चराले स्थानीयलाई हैरान खेलाएको छ। यद्यपि कुखुरोजस्तो तर, पर्पल रंगको यो चरो आठ वर्ष अघिसम्म यहाँ देखिएको थिएन। 'कुर्मा फेवा आसपासको क्षेत्रका लागि नौलो हो,' उनले भने, 'यसले धान नास पार्दा किसान रिसाएका छन्। चरोले मान्छे रिसाएको बुझे पो !' बाली नास पारेको देख्ता यसलाई मार्न खेद्ने गरेको देख्न पाइने उनले सुनाए।
 
फेवाको मौसमी विविधता र पानीचरा बारे सन् २००७/०८ मा त्रिवि कीर्तिपुरका विद्यार्थी विकास गिरीले शोध गरेका छन्। एउटा याममा देखिएका ३९ प्रजातिमध्ये १८ प्रजातिका चरा उल्लेख्य संख्यामा देखिएको उनको शोधमा उल्लेख छ। अध्ययन अवधिमा उनले १५ प्रजातिका आगन्तुक र चारवटा यदाकदामात्रै आउने आगन्तुक भेटेका थिए।

लेकसाइडबाट पामे पुगौं कि पुम्दीभुम्दी, यहाँ अझै चरा हराएका छैनन्। अझै तालमाथि पखेटा फिँजाएर उडेका सिकारी चरा देख्न मिल्छ। विश्वशान्ति स्तुप पुगेर मुन्तिर ताल हेरौं, यो दृश्य यस्तै रहिरहोस् भन्ने कल्पना जोकोहीलाई आउँछ।

***
 
आफ्ना कुरा
गत फागुनमा पोखरा आएयता धेरै पुगेको ठाउँ फेवाताल रह्यो। एउटा बिहान सहकर्मी शिव शर्मासँगै तालमा पुग्दा कालीजुरे हाँसका बथान पानीमा रमाइरहेका फोटा खिच्न मिल्यो। म हिउँदको अन्त्यमा यहाँ आउन पाएको हुुँ। पुस-माघमा आउन पाएको भए अरू धेरै चराका प्रजातिको फोटा तालमा खिच्न मिल्ने रहेछ।

त्यो बिहान नौलो लाग्ने हाँसका फोटा खिचेपछि फेवाका चराबारे जानकारको खोजी गरियो। हरि केसी दाइ भेटिए। उनीसँग धेरै कुरा भयो। पोखराका चराबारे सोधीखोजी गरेकोमा दाजै धेरै खुसी पनि भए। त्यसपछि यो लेखोटको जमर्को गरियो। यहाँ अझ धेरै चरा र आनीबानीका कुरा छुटेका छन्। बिस्तारै हेर्दै फेरि अर्को लेखोटमा समावेश गर्नेछु। 

सहकर्मी शर्माको सहयोगमा लेखेको यो सामाग्री कान्तिपुरको कोसेलीमा २०७१/१२/१४ मा प्रकाशित भएको हो। पत्रिकाका कटिङ कता पुग्छन् कता। त्यसैले फुर्सद निकालेर आज ब्लगमा जतन गरेको छु।