स्पाइनल इञ्जुरीका अवस्था भोग्दै गरेकाहरूलाई परामर्शदाताले सुखद सपना बाँड्नुको साटो भोगेकै अवस्थालाई जीवनयापनका लागि कसरी सहज बनाउन सकिन्छ भन्ने सल्लाह दिनु जरुरी छ ।
धेरैलाई लाग्छ सल्लाह दिने काम सजिलो हो । कारण, एउटा समस्या भन्नुस्, सल्लाह थुप्रै आउँछन् । के साँच्चै सल्लाह दिनु सजिलो काम हो ? यहाँको हरियोखर्क अस्पताल तथा पुनर्स्थापना केन्द्रमा यही काम गर्ने ४३ वर्षीय चेतप्रसाद अधिकारीको अनुभवमा यो काम निकै जटिल छ ।
'मान्छेको अवस्थासँग सामान्यीकरण गर्ने क्षमता र उसको परिवेश नबुझी सल्लाह दिनै हुन्न,' उनले भने, 'सल्लाह दिने काम अरु कुरामा सजिलो होला तर, स्पाइनल इञ्जुरीको अवस्थामा रहेकालाई सल्लाह दिन चाहिँ धेरै विचार पुर्याउनु पर्छ ।'
अधिकारीको आफ्नै पनि कम्मरमुनिको भाग चल्दैन । ह्वीलचियरमा गुडेर अस्पतालका विभिन्न वार्डमा पुग्ने उनी पहिले विरामीको नाम, ठेगाना र घटना कस्तो अवस्थामा भएको हो भन्ने जानकारी लिन्छन् । 'री-ह्याभ' का लागि भर्ना भएकाको घरपरिवार र मनोदशाबारे बुझेपछिमात्रै सल्लाह दिने प्रक्रिया सुरू हुन्छ ।
कास्कीको लाचोक-८ का अधिकारी पोखरा आएर फलफूल व्यवसाय गर्थे । २०५७ सालमा सिजनको नासपाती आफैंले टिपेर ल्याउन गोरखाको पालुङटार पुगे । रुख चढे । हाँगो भाँचियो । लडे । बाहिरी चोट देखिएन तर, उठ्नै नसक्नेगरि सिकिस्त भए । उनलाई पोखरा ल्याइयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुन सकेन । काठमाडौं लगियो । त्रिवि शिक्षण अस्पतालले भर्ना लिएन, मोडल हस्पिटल लगिएपछि उनले थाहा पाए- मेरुदण्ड भाँचिएछ । अब आफ्ना गोडामा उभिएर हिड्न सकिँदैन । 'म पोखरा आएर हरियोखर्क अस्पतालमा री-ह्याभका लागि भर्ना भएँ,' उनले भने, 'यो यस्तो प्रक्रिया रहेछ जसमा ढाड भाँचिएको मान्छेले आफ्नो बिगत बिर्सेर अब अगाडिका स्थितिमा म यसरी बाँच्छु भन्ने दृढता लिएमात्रै सजिलो हुने, नत्र डिप्रेसनको सिकार भइजाने ।' आठ हप्ते अस्पताल बसाइँपछि उनी घर फिरे । स्थितिसँग सम्झौतामात्रै गरेनन्, ह्वीलचियरमै मेची-महाकाली यात्रामा निस्के । व्यवसाय फलफूलबाट जडीबुटी बेच्नेतर्फ रुपान्तर गरे । पछि आफू केही समय बसेकै अस्पतालमा आफूजस्तैका लागि 'दौंतरी परामर्शदाता' को पदमा नियुक्त भए ।
'मैले बिगत बिर्सेर आफ्नो ह्वीलचियरकै जीवन कसरी सहज बनाउने भन्नेमा ध्यान दिएँ,' उनी भन्छन्, 'त्यसैले मेरो दैनिकी सहज भयो । आज म चारपाङ्ग्रे मोटरसाइकलमा घर-अफिस गर्छु, अफिसमा ह्वीलचियरमा हिड्छु । आफूजस्तैलाई सल्लाह दिन्छु तर, अलि बुझेर, जोगिएर ।' उनको अनुभवमा सबलांग अवस्थाबाट शारीरिक जटिलतातर्फ धकेलिँदा धेरैले आफूलाई बुझाउन सजिलो हुँदैन । र, यस्ता अवस्थामा घरपरिवार, समाज र सल्लाह दिनेको भूमिका त्यस्तालाई सहारा दिने, यथास्थितिमा जीवन सहज बनाउन आडभरोस दिने हुनु जरुरी हुन्छ । 'सामान्य मान्छेलाई हुनेभन्दा धेरै र छिटो डिप्रेसन स्पाइनल इञ्जुरी भएकालाई हुन्छ,', उनले भने, 'त्यसैले अवस्था बुझेर सल्लाह दिन सकिएन भने तिनै सल्लाहले डिप्रेसन घटाउने होइन बढाउने काम पनि गर्छ ।' स्पाइनल इञ्जुरी भएकालाई छिटै युरिनरी इन्फेक्सन (पिसाबको संक्रमण) हुन्छ । उनले भने 'नियम बनाइएन, पिसाब निष्काशनबारे चनाखो भइएन भने आफैं दैनिकी जटिल हुन्छ ।'
अधिकारीसँगै उस्तै काम गर्ने स्याङ्जाको छाङछाङदीकी पुनम विकको जीवन कहानी पनि धेरै अप्ठ्यारा पार गर्दै अघि बढेको छ । १७ वर्षैको उमेरमा उनको बिहे भएको थियो । विवाहको १८ महिनापछि दुर्घटना भयो । २०५८ पुसमा जंगलमा रुखबाट स्याउला झार्दै गर्दा भूँइमा बजारिइन् । मेरुदण्ड भाँचियो । बाहिर देखिने चोट थिएन । श्रीमान र परिवारले निको होलिन् भन्ने आसले वर्षदिन उपचार लगाए । निको नभएपछि उनको वास्ता गर्न छाडियो । श्रीमानले दोस्रो बिहे गरे । उनले सिलाइकटाइ तालिम लिइन र, घर छाडिन् । एकजना साथीको साथ लिएर पोखरामा टेलरिङ व्यवसाय थालिन् ।
'मैले हरियोखर्क अस्पतालमा आफूजस्तै महिलाका लागि परामर्शदाताको काम गर्न थालेको पनि तीन वर्ष बित्यो,' उनले भनिन्, 'ढाड भाँचिएका श्रीमान भए श्रीमती दासी जसरी खटेको, रोएको देखेकी छु तर, महिलालाई त्यस्तो घटना भए समाज कस्तो छ भन्ने हामीले बुझेकै छौं ।' धेरैलाई सल्लाह दिने क्रममा आफ्ना भोगाइ सुनाएर आडभरोस दिने गरेको उनले बताइन ।
०००

०००
गत वर्ष भूकम्पलगतै बन्द सडक खोल्न खटिएको बिद्युत प्राधिकरणको माथिल्लो तामाकोसीको टोलीका सुपरभाइजर ३४ वर्षीय सुवास पंत दुर्घटनामा परे । पाल्पाको हुंगीका उनी उपचार र री-ह्याभको बसाइँपछि आफूलाई ह्वीलचियरमा अभ्यस्त बनाउने क्रममा छन् । हाल राजधानीमा रहेका उनले फोनमा भने 'यस्तो अवस्थामा मान्छेलाई डिप्रेसनले घेर्नु स्वभाविक रहेछ । जसरी सकिन्छ आफ्नो अवस्थालाई स्वीकार गर्ने र गर्न सकिने काममा आफूलाई व्यस्त राख्ने अभ्यास गर्नुको विकल्प हुन्न ।' स्पाइनल इञ्जुरी भएकाहरूका लागि उसको परिवार र काम गर्ने ठाउँमा वातावरण सहज हुन सके अगाडिको जीवन सहज लाग्दै जाने उनले बताए ।
१४ वर्षेखि दुबइमा कार्यरत पोखरा, फूलवारीका ४३ वर्षीय मनबहादुर केसी सवारी दुर्घटनामा परे । तीन साता त्यहाँको अस्पतालमा बसेका उनी पोखराको हरियोखर्क अस्पताल आइपुगेका छन् । 'म आत्तिएको छैन,' उनले भने, 'ढाड भाँचिएको अवस्थाका मान्छेको संगत र अवस्था थाहा थिएन तर, अब जसरी जीवन सहज हुन्छ त्यही गर्दै जाने सोचमा छु ।'
०००
मेरुदण्डसम्बन्धी उपचारमा लामो समयदेखि कार्यरत डा. दीपक महर्जन भन्छन् 'स्पाइनल इञ्जुरीको अवस्थाबारे विरामीले छिटै थाहा पाएर सही ठाउँमा उपचारका लागि पुग्न सकेमात्रै रिकभरीको चान्सेस बढ्छ । हामीकहाँ त धेरैजना ढिला आइपुग्ने चलनले अप्ठेरोमा परेका हुन्छन् ।' जस्तो अवस्थामा आइपुगेपनि उनीहरूलाई सहज बनाउने अवस्थाका लागि सल्लाह दिनु उत्तम हुने उनले बताए । 'सल्लाह दिनु सजिलो काम होइन तर, अवस्था बुझेर दिइयो भने सही सल्लाहले बाकी जीवन सहज बनाउन मद्दत गर्छ,', उनले भने । विभिन्न कारणले अपांगता भएकाहरू नै पोखरामा आफूजस्ताका लागि स्वालम्बवन जीवन पद्धति समाज गठन गरि क्रियाशील छन् । 'म पोलियोको कारण यस्तो जीवन बिताउन बाध्य छु तर, सबैको कारण एउटै हुन्न,' महासचिव हेमबहादुर गुरूङ भन्छन्, 'मुल कुरा अपांगताको अवस्था भएपनि गरिखान र जीवन चलाउन कसरी सहज हुन्छ हामीले त्यही सल्लाहको अपेक्षा गर्नुपर्छ ।' सल्लाह भन्दैमा जीवनमा चमत्कारिक परिवर्तन हुनेछ भन्ने गफ दिन नमिल्ने उनको तर्क छ ।
तस्बिरमा
पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पताल तथा पुनर्स्थापना केन्द्रका परामर्शदाता पुनम बिक र चेतप्रसाद अधिकारी ।
(यो समाचार सम्पादितरूपमा कान्तिपुर दैनिक २०७३ कात्तिक २५ मा पृष्ठ १६ मा 'पीडितको पुनः स्थापना जटिल' शिर्षकमा प्रकाशित भएको छ ।)