Wednesday, August 25, 2010

तिमी के गरेर जान्छौ

उमेरका उतरार्द्ध । रिटायर्ड जीवन । हतारका नियमितता कति पनि घटेको होइन । ६७ बसन्त छोएर जीवनका अवयव देखेभोगेकाहरु थाक्छन् । सक्रिय हुनुपर्ने कामको निरन्तरता छाड्न चाहन्छन् । होचो कद । पावरदार चश्मा । सेता कपाल । रातो झोलाधारी जगतप्रसाद अर्याल आफुसरह पाकाभन्दा पृथक अभियानमा छन् । 'कहिलेकाही छोराले अमेरिकाबाट फोन गर्छ, भन्छ बाबा अब त आराम गर्नोस् , केहीबेर मौन हुन्छन् । अनि भन्छन् 'मलाइ लाग्दैन जीवन आराम गरेर बित्छ ।' पाका दुइ प्राणी बसेको घरबाट अर्याल सहर चहार्छन । बृद्धाश्रम पुग्छन् । अनि साँझ विहानको किर्तन, दिनचर्यामा अपुगको जोहो दैनिकी  । भन्छन् 'कसरी बाँच्ने भन्ने निर्णय आफ्नै हुनुपर्छ ।' 
०००
औपचारिक कार्यक्रमस्थलहरुमा अलि छिटै देखापर्छन् । तोकिएको समयमा कार्यक्रम सुरु गर्न सधै ढिला हुन्छ नै । नेपाली कल्चर भनिने ढिलाइको यो समय उनका लागि उपयोगी बन्छ । पंचुअल बन्न आएकाहरुसँग बात मार्छन् । टेबलमा रातो झोला बिसाउँछन् । अनि आफ्ना कुरा खोल्छन् '५ रुपैयाँ दान गर्नोस् । तपाइलाई बुढेसकालमा काम लाग्छ ।' चिया पनि नआउने ५ रुपैयाँ कसरी बुढेसकालका लागि काम लाग्ला ? आगन्तुकमा जिज्ञासा मिश्रति आश्चर्य देखिनु स्वभाविक छ । अनि अर्थ्याउँछन् । दान बृद्धाश्रमका लागि हो । विराटनगर-१८ मा मलायारोडमा विराटेश्वर बृद्धाश्रम छ । त्यसमा अहिले ३३ बुढाबुढी आश्रति छन् । दिगो बनाउन सकियो भने आश्रम तपाइलाई पनि काम लाग्छ । तपाइ बृद्ध भएपछि आश्रमले एउटा पत्र पठाउँछ । सहारा छैन , बाँच्न गाह्रो भएको छ भने दाताका नाताले आश्रममा तपाइलाई स्वागत गरिनेछ ।  
०००
'हो त, दाताको नाम दर्ता गरेर राख्छु, उनले भने 'पछि सबैको घरमा पेन्सन खाने अवस्था भइराख्छ भन्ने छैन । त्यसबेला बृद्धाश्रम काम लाग्छ ।' पुराना पोथीपत्रा खोल्छन् । नामका सूची देखाउँछन् । भन्छन् '१ लाख १९ हजार ६ सय ८ जना पुगे है अहिलेसम्म ।'  अभियान थालनी सम्झँदा केही निराशाका भाव अनुहारमा आउँछन् । विराटनगरको संसारीमाइस्थानस्थित भानुमोरङ प्राविमा उनी  प्रधानाध्यापक थिए । विद्यालयलाई खर्चेका ४२ वर्षमध्ये ३४ वर्ष उनले प्रधानाध्यापक भएर बिताए । उपमहानगरभित्रको त्यही स्कुल जो मन्दिर परिसरमा छ । एक दसकअघिसम्म पटकपटक विद्यार्थीलाई कक्षा कोठा अपुग हुँदा बाहिर बसाएर भुइँमा पनि पढाइन्थ्यो । पत्रकार आउथे । तस्बिर लिन्थे । धेरैलाई सोही स्कुलका हेड सरको अभियान बारे थाहै थिएन । 
'रिटायर भएको ५ वर्ष लाग्यो, उनले सुनाए 'स्कुलमा छँदादेखि अभियान थालेको धेरैले निराश पारे । थोरैले मात्रै हौस्याए ।' राम्रो काम भनेर हौस्याएजस्तो गर्ने कतिपयले दानको फारम लगेर फिर्ता गरेनन् । थोरैले फिराए । केहीले 'यो उमेरमा पनि चन्दा उठाउनेजस्तो ठगाहा काम कनि थाल्नुभो' भन्दै प्रश्नसगै निराश पार्न खोजे । 'जस्तो परेपनि मैले अभियान छाडिनँ, उनी भन्छन् 'ज्यान रहेसम्म लागिरहन्छु । नश्वर शरीर आखिर कसैको काम आएकै बेस हो ।' 
०००
छोरा-छोरीको विवाह गरिदिएपछि त्यस्तो ठूलो पारिवारिक दायित्व छैन । भएको एउटै छोरा कम्प्युटर साइन्समा स्नातकोत्तर पढ्न गएर अमेरिका 'सेटल' भएका छन् । उनी बुवाले आराम गरेको देख्न सुन्न चाहन्छन् । तर, फुर्सद सदुपयोगको ध्याउन्तीले उनलाई छाड्दैन । 'फुर्सद भन्दै त्यतिकै बसिराख्यो भने मान्छे चाडै मर्छजस्तो लाग्छ, उनी भन्छन् 'एउटा काममा लाग्यो भने त्यही कामले उर्जा दिन्छ । र, मान्छे अलि बढि बाँच्छ जस्तो लाग्छ ।' छोराछोरीले आराम गर्नुस भन्नुका पछि उनीहरुको कर्तव्य भएपनि अभियान आफुले थालेकाले सकुन्जेल लागिरहने निश्चय उनका छ । 'यो एउटा बृद्धाश्रमको सपना मात्रै होइन, उनी सपना सुनाउँछन् 'समाजको ढाचा यसरी बदलिएको छ कि बृद्ध आमाबुवाले घर छाडेर हिड्नुपर्ने अवस्था भएको छ ।' दान संकलनका लागि पुगेका कतिपय घरमा बृद्धबृद्धाको व्यथा बेग्लै भेटिने उनको अनुभव छ । राम्रो अभियान भन्दै कुनै-कुनै घरका छोराबुहारीले बोलाएर दान दिएपनि भित्र गहभरी आँसू पारेर बसेका आमाबुवा उनले देखेका छन् । 
०००
विराटेश्वर बृद्धाश्रम अहिले सञ्चालनमा रहेको घरजग्गा एक जना दाताले उपलब्ध गराइदिएका हुन् । सरोचियाका जाकीर हुसेनले आश्रमले आफ्नो जग्गा र भवन व्यवस्था नहुञ्जेलका लागि आवाससहितको ५ कठ्ठा जग्गा भोगका लागि दिएका छन् । 'उहाँको बुवा जियाउल हक अञ्चलाधीश हुनुहुन्थ्यो, म चिन्दथे, उनी भन्छन् 'अहिले बितिसक्नुभो । परिवार दयालु छन् । उनीहरुले यो जग्गा कुनै रेस्टुरेन्टलाई दिएको भए भाडामा राम्रै पैसा पाउथे । त्यसो गरेनन् ।' 
पाँच रुपैया अभियानकर्मीका लागि गएका केही सातादेखि दुइ अनौठा दाता भेटिएका छन् । ती हुन् - विराटनगरको ट्राफिक चोकनजिक सडकमा जुत्ता पालिस गर्न बसेका मोचीहरु । 'उनीहरुले भने - सर म दिनको एक रुपीयाँ दिन्छु, अर्याल भन्छन् 'अनि साता दिनको 'सात/सात रुपियाँ दिन्छन् ।' ७० देखि १०४ वर्षसम्मका बुढाबुढी आश्रति थलोको जीवन सुखमय छैन । अपुग-अपुग छ । सघाउने कम छन् । कुरा गर्ने धेरै । 
०००
सानो कटेरोजस्तो कोठाको ढोकैछेउ अध्यक्ष लेखेको उनको नेमप्लेट छ । अनि त्यससँग लहरै जोडिएका साना कोठामा चार बृद्धा परलोक जाने दिनको प्रतीक्षामा बसेका छन् । कोठाको गन्ध अस्पतालका कुनै वार्डभन्दा कम छैन । ओच्छ्यान परेका बृद्धा नजर घुमाउँछन् । उनीहरुका आँखाले सहारा खोजेको जस्तो देखिन्छ । यी साँघुरा चार कोठा हिडडुल गर्न नसक्नेहरुका लागि हुन् । खौरिएपछि मुडुलोमा पलाएका सेता कपाल । चाउरिएको अनुहार । आफन्तबाट परित्यत्  जीवनका दिन ।  
अर्को भवनको छतमा कोही लुगा सुकाउँदै-उठाउँदै गर्दैछन् । आँगनको आँपको रुखमा फेददेखि करीव छ फीट उचाइसम्म हरियो रंगका टीनका प्लेटमा सेतो अक्षरले नाम लेखिएका छन् । छुट्टाछुट्टै टाँसिएका प्लेट कुनै सवारी साधनको नम्बर प्लेटभन्दा कम छैन । यहा आश्रितहरूको मान्छेपिच्छे नाम र उमेर लेखिएका छन् । जो परलोक गए , उनीहरुका नामप्लेट हटाइन्छ ।  
०००



अभियान लिएर देश दौडाहाको तयारी उनले निकै अघि गरेका हुन् । तर, निस्कने चाँजोपाँजोमा जहिल्यै 'ढिकीच्याउँ' को बाधा आइरह्यो । भन्छन् 'कहिले नेपाल बन्द , कहिले सशस्त्र द्वन्द्व कहिले मधेस अशान्त । चिनेजानेकाहरुले कहिल्यै सजिलै अवस्था छ, जाउ भनेनन् ।' शरीरलाई केही बुढ्यौलीले छोएको भान हुन्छ हिजोआज । 'जाने इच्छा छ तर, कसले सघाउने ? प्रश्नसँगै निराशा प्रष्ट देखिन्छ 'समाजको लागि गर्नेहरुलाई आशाभन्दा निराशाको मात्रा बढि हात लाग्दो रहेछ ।' उनी सवारी चलाउँदैनन् । हम्मेसी कसैको सवारीमा चढेको पनि देखिदैन । पैदलै यताउता गरिरहने उनलाई खानेकुरा अपुग भयो, कोही विरामी परे, कोही मरे अनि दैनिक खटनपटनको नियमितताले छाड्दैन । सधै एकैनाश एउटा अभियानमा लागिपर्ने उजा कसरी पाउने ? उनी अर्थ्याउँछन् 'सबैले एक दिन बृद्ध हुनुपर्छ । अनि जानुपर्छ । केही गरेर जान्छु भन्ने सोच्नोस् यस्तै कुनै अभियान थाल्न मद्दत मिल्छ ।' मान्छेको ज्यानलाई रिटायर्ड लाइफमा सकुञ्जेल समाजको हितमा लगाउनु उचित हुने सोचले उर्जा दिने उनको तर्क छ ।   
'मर्नु अनौठो होइन । सबै मर्छन् , उनी भन्छन् 'सबैले आफैलाई सोधे हुन्छ तिमी के गरेर जान्छौ ?' अरुले सम्झने गरि जान पाउनु जीवनको सार्थकता हो भन्ने उनलाई लाग्छ ।

Friday, August 13, 2010

खेदी खेदी मारियो राँगो


देउतालाई भाकल गरी चढाएको भन्दै छाडेको राँगोले आतंक मच्चाएपछि मंगलबार त्यसलाई  मोरङको रंगेलीमा गोली हानी विभत्स तरिकाले मारिएको छ । सीमावर्ती भारतको सिक्टी घर भएका एक व्यक्तिले भाकल गरी देवतालाई भन्दै छाडेको रागो (भैसीको साँढे ) ले मान्छे र पशुलाई देखेर टाढै लखेट्दै आउँथ्यो । त्यसलाई देखेर केटाकेटी डराउँथे । अधिकांश समय त्यो राँगो रंगेली आसपासकै क्षेत्रमा घुमिरहन्थ्यो ।
मंगलबार बिहान ८ बजे त्यसले रंगेली-९ का अशोक साहको बाछोलाई लखेटीलखेटी हिर्काएर सख्त घाइते बनायो । त्यही पीरले केही बेरमै बाछो मर्‍यो । त्यसपछि आक्रोशित गाउँलेले राँगोलाई धपाए । प्रहरीसँग सहयोग माग गरे । जनधनलाई अप्ठ्यारो पारेपछि राँगोलाई मार्नु परेको मोरङका एस्पी दीपक थापाले बताउनुभयो ।
गाउँलेले लखेटेर रंगेली-२ स्थित सामुदायिक वन क्षेत्रको बक्राहा खोला किनारमा पुर्‍याएपछि पुगेको प्रहरी टोलीले त्यसलाई मार्न सात राउण्ड गोली चलाएको छ । पहिलो गोली त्यसको तीघ्रामा लाग्यो, ढलेन, बरू अघि अघि भाग्न थाल्यो । त्यसपछि थ्री नट थ्रीबाट प्रहरीले चार राउण्ड गोली चलाएपछि घाइते भयो । तैपनि मरेन । त्यसपछि गाउँलेले त्यसको टाउकामा बञ्चराले हिर्काए । अझै पनि मरेन । त्यसपछि बन्दुकको नाल त्यसको कानमा छिर्राई गोली चलाएपछि बल्ल बलिष्ठ राँगाको इहलीला सकियो ।चलाइएका गोलीमध्ये एउटा मात्र त्यसलाई लागेन । मिसफायर भएर खोलामा पुग्यो । गोली चलाउनका लागि जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको आदेश लिइएको रंगेलीका प्रहरी निरीक्षक राजेश थापाले बताउनुभयो ।
(विराटनगरको  उदघोष दैनिकको ०६७ साउन २७ अंकबाट साभार)

Monday, August 9, 2010

यौनकर्मी जब समातिए

क हुल तन्नेरी छिरे । अँध्यारो थियो । अनुहार प्रष्ट बुझिने अवस्था थिएन । आइतवार बेलुकी ९ बजे । बत्ती थिएन । सोध्नै नपाइ उनीहरुले नै भने 'होटलबाट सेक्स काण्डमा पक्राउ परेका छन् नि । तिनमा एक जना हाम्री दिदी पनि परिछन् । खबर नछाप्ने आग्रह गर्न आएका हौ ।'
यतिखेर हामी विराटनगरस्थित एक स्थानीय अखबारको कार्यालयको छतमा थियौ । बिजुली गएको थियो । करीव ३७/३८ डिग्री अधिकतम तापक्रम । सबैतिर बाफ । त्यो साँझ प्रहरीले यहाँका शेरे पञ्जाब र यति भन्ने दुइ होटलबाट १० जोडी समातेको थियो । प्रहरीले सञ्चारकर्मीलाई कोठा नम्बर, समातिएकाको नाम मात्र उपलब्ध गराएको थिएन, तस्बिर पनि खिच्न दिएको रहेछ । संयोगले त्यो बेला म चाहि पुग्न पाएनछु । नभए अहिले तीमध्येका केही भद्र तस्बिर यहाँ राख्न हुन्थ्यो होला । समातिनेहरुमा संभ्रान्त भनिने केही परिवारका जिम्मेवार बुवा, तरुनी आमा र केही भारतीय थिए । एक भारतीय महिला पनि रहिछन् । 
               विराटनगरमा पछिल्ला केही महिना यौनकर्मीका गतिविधि बढेको छ । यो पनि पेशा रहेछ । डर मान्दा मान्दै विस्तारै साँढे हुने प्रवृति मानवीय बानी हो । त्यसैले हुनुपर्छ रेस्टुराहरुमा मोडलजस्ता वेटरले काम गर्न थालेका । यद्यपि सबै रेस्टुराका महिला वेटर त्यसता छैनन् । अधिकांश सस्ता रेस्टुराहरुमा मदिरा र चुरोट पारखीका लागि छिल्लिएर जिस्किएको , काखमा बसेर चुरोट बालिदिएको देख्ता भद्र भन्न मन पराउनेका लागि अलि असजिलो दृश्य नौलो छैन । तर, भद्र भन्न मन पराउने बानी भएकाहरु त्यस्ता ठाउँमा पुग्नु नै आफैमा अभद्रता हुदै हो ।
व्यवसाय चलेको छ । सीमावर्ती क्षेत्रबाट भारु लिएर पस्ने र लरखराउदै फिर्ने ग्राहक तानिने भएपछि लिप्तहरु मख्ख छन् । सुरक्षानिकायलाई नजराना पुगेकैले हुनुपर्छ, प्रहरी मौन छ । तर, हिजो चाहि समातेछ । अघिल्लो साता यहाँको कलेज रोडस्थित सरस्वती गेष्ट हाउसमा इटहरीकी महिला मृत फेला परेकी थिइन । एउटा युवकले २ हजार दिने सहमतिमा ल्याएर श्रीमान श्रीमति भन्दै छद्म नाउ लेखाइ बसेका रहेछन् । विहान त्यो युवक छिटै हिड्यो । चेकआउटको समयमा पनि महिला बाहिर नआएपछि प्रहरीले खोलेर हेर्दा उनी पलंगमा मृत थिइन । मुखबाट सेतो फिज निस्केको थियो । 
       श्रीमान वैदेशिक रोजगारीमा । नानीहरु छन् । उनको बाटो बिग्रिएको रहेछ । प्रहरीले घटनामा संलग्न युवकलाई समातेको छ । टाउको दुख्यो भनेपनि एउटा औषधि खुवाएको बताएका युवकले एकपटक संसर्ग गरेपछि विहान हेर्दा मृत देखेर डराइ भागेको प्रारम्भिक बयान दिएका छन् । सम्भवत त्यही घटनापछि प्रहरीले हिजो छापामारी गरेको हो । 
     अब तातो छानो र ती युवा जमातका कुरा । उनीहरुले आफुहरु रंगेलीबाट आएको बताए । उनीहरुकी दिदी भनाउने महिलाका नानीहरु छन् । श्रीमान मोरङसगै जोडिएको अर्को जिल्लामा काम गर्छन् । अहिले घरमा छैनन् । परिवारका सबैलाई थाहा भयो भने मर्नु न बाँच्नु हुन्छ त्यसैले समाचार नछापे ठीक हुन्थ्यो भन्ने प्रस्ताव उनीहरुको थियो । हामीसँगै रहेका उदघोषका सम्पादकले भन्नुभयो 'हामी सस्तो पत्रकारिता गर्दैनौ । त्यसरी महिलाबारेमा स्पष्ट जानकारी आउनेगरि छापेर पत्रिका बेच्ने नियत हाम्रो छैन ।' उनीहरुलाइ भनियो - जानकारी प्रहरीले सबै पत्रकारलाई दिएको छ । तस्बिर लिएका छन् । रुमको नम्बरसहित जोडीको नाम उपलब्ध गराइएको छ । कहाँ कहाँ गएर समाचार नछाप्न आग्रह गर्नुहुन्छ ? 
    केहीबेर अकमकिएपनि उनीहरु एक ठाउँ गरेको आग्रह पुरा होस भन्ने चाहनामा थिए । उनीहरु गए । आज समाचार महिलाको पुरा परिचय खुल्नेगरि आएका छैनन् । प्रकाशनको यो तरिका ठीकै हो । तर, समाचारमा मात्र पर्दा लगाएर यस्ता कार्य निरुत्साहित हुने पक्कै होइनन् । कता जाँदैछ समाज ??     

गजलः भेट्न चाहे भेटिन्छ

-टेकेन्द्र अधिकारी

हेर्न चाहे देखिन्छ पैतालामै देश
भेट्न चाहे भेटिन्छ ढुङ्गामै देश

देशप्रेम भावना हो, सम्हालेर राख्नू
मेट्न चाहे मेटिन्छ सीमानामै देश

वरिपरि हुन्छन् बैरी टाढा नखोज्नू
रेट्न चाहे रेटिन्छ गर्धनमै देश

सबैभन्दा माथि हुन्छ देश सम्झिनू
फेट्न चाहे फेटिन्छ कफनमै देश

अमर छन् सहिदहरु, मूल्य नतोक्नू
लेट्न चाहे लेटिन्छ रगतमै देश

-विराटनगर


सिद्रा


पूर्व-पश्चिम, तराइ होस् वा पहाड, नेपालका हाटबजार हुन् वा सहरहरु जहिँ पनि प्राप्त हुनसक्ने एउटा लोकप्रिय खाद्यवस्तु - सिद्रा ।  कुनैपनि आधुनिक खाद्य प्रविधिबाट टाढा रहेर पनि यसले अझसम्म वजार गाउँ र सहरका उपभोक्ताहरुको नकारात्मक सोचाइ सहनु परेको छैन । यसलाई मन पराउने बाहेककाहरुको लागि सिद्राको गन्ध साह्रै लोभ्याउने किसिमको मानिदैन । तापनि आफ्नो उपभोक्ताहरुलाई आकर्षण गर्ने यसमा रहेको स्वादले परिकार रुचाइएको पाइएको छ । वास्तवमा घाममा अस्वस्थकर अवस्थामा सुकाएर ढाकी, बोरा आदीमा राखी बेच्ने गरिएको सिद्रालाई राम्रोसँग चिरेर गरेर  हेर्ने हो भने मान्छेका लागि खान योग्य भनेर कुनै पनि खाद्य विशेषज्ञले भन्लान् जस्तो लाग्दैन । तर अनन्तकालदेखि विभिन्न जनजाति भनौ वा जो सुकैले खाँदै आएको हुनाले यसलाई खान हुँदैन भन्न त नमिल्ला । मान्छेपिच्छे खानेकुरामा रुची फरक फरक हुने भएकाले मानिसले खाइआएका खानेकुरा जस्ता भएपनि आखिर खाद्य पदार्थ नै हुन् , चाहे जे होस् । 
सिद्राको अर्थ नेपाली शब्दकोषमा सिन्की झै खाँदेर बनाइएको सानो माछा भनिएको छ । सिद्राको यो अर्थ अपूर्ण छ । वास्तवमा सिद्रालाई सिन्की जसरी खाँदेर बनाइदैन । सिद्रा माछा आफै च्याप्टो  हुन्छ । सुक्दा त झन च्याप्टो हुन्छ । सिन्कीको गन्ध जस्तै सिद्राको पनि आफ्नै किसिमको गन्ध हुने भएकोले सिद्रालाइ सिन्कीजस्तै भनेर उल्लेख गरिएको हो कि । मूलाबाट बनेको सिन्कीको गन्ध जसरी अर्कै प्रकारको हुन्छ, त्यसरी नै सिद्रामाछा वा पोथी माछालाई सुकाउँदा रसायनिक परिवर्तनको कारणले बिस्तारै माछाको गन्धबाट सिद्राको गन्धमा परिणत हुन्छ । झन सुकाइएको सिद्रालाई बोरामा राख्ने हो भने त अझ गन्ध फरक भएको पाइन्छ । 
सिद्रामाछा पुन्टियस जाति अन्तर्गत पर्ने सानो चेप्टो माछाहरु हुन् । हाम्रा पानी भण्डारहरुमा पुन्टियसका १० प्रजाति पाइन्छन् । नेपालमा पाइने यी जातिका माछाहरु ठूलो नहुने भएकाले साधारण शब्दमा यी माछाहरुलाई रद्धी माछा भन्ने गरिन्छ । यी माछालाई अरु माछा नभएको अवस्थामा आलै पकाएर खाइन्छ । तर, सुकाएर सिद्राका रुपमा खान भने  स्वाद पाएकाहरुले मात्र रुचाएको पाइयो । 
तराइमा पुन्टियस जातिका माछा भदौदेखि कात्तिकसम्म प्रशस्त समातिने गरिएको पाइयो । उत्पादन भएको सिद्रा जाडो महिनासम्म बजारमा पाइन्छ । अरु महिनाहरुमा भारतको नक्सलवाडीबाट आयात गरिएको सिद्राले हाम्रा हाटबजारमा ठाउँ लिएका छन् । नेपाली सिद्राले यसका स्वादे उपभोक्ताहरुको माग जसोतसो दुइदेखि तीन महिना धान्ने गरेको पाइयो । बाकी समयमा भारतबाट आयातीतले नै बजार लिने गरेको अध्ययनमा पाइएको छ ।  यसो हुनुको पछि केही कारणहरु छन् - हामीकहा सिमसार क्षेत्रको अवस्था नाजुक हुँदै जानु, सिमसारमा माछा मार्दा पानी सुकाएर मार्नु र विषादीको प्रयोग आदी कारणले पनि सिद्राको उत्पादन नेपालमा कम हुने गरेको हो । 
वर्षायाममा झण्डै ५० प्रतिशत भन्दा बढी सिद्राभित्र कीरा हुने गर्दछ । सुकाउदा झिंगा भन्किने र औस आएका आलो माछामा झिंगाले फूल पार्ने भएकाले, औंस परेको माछा भित्र झिँगाका लार्भा अवस्थाहरु रहन्छन् र ती लार्भाहरुले माछाको मांसपेशी खाई खोक्रो बनाइदिन्छ । त्यसैले वर्षामा सिद्राको भित्र हेर्दा केवल अस्तिपञ्जर र बाहिर कत्लासहितको छालामात्र हुन्छ । बाहिरबाट हेर्दा सिद्राको अवस्था थाहा पाउन नसकिने भएकाले उपभोक्ता त्यस्ता सिद्रा पनि खरिद गर्छन् । 
प्राय गरेर हिउदमा सिद्राको व्यापार धेरै हुने गर्छ । पहाडका उपभोक्ताले सिद्रा किनेर लैजाने र सफासग सुकाएर राखी वर्षामा खाने गर्दछन् । 
आलु जस्तै सिद्राको पनि विभिन्न परिकार बनाएर खाने गरिन्छ । कतिले सोझै तेलमा तारेर सुक्खा खान्छन् भने कतिले टमाटरका साथ पिसेर अचार खान्छन् । जहा आगोको भुंग्रँे हुन्छ त्यहा सिद्रा पोलेर खोर्सानी, अदुवाको साथमा पिसेर अचार बनाएर खाने गर्दछन् । पकाएर खाने सव्जीहरुमा पोलेर वा तारेर मिसाएर खाने गरिन्छ । हिउदे सिमी, बैगन, मूला, टमाटर, अन्य सिमीका साथमा सिद्राको  कम्बिनेसन अत्यन्तै स्वादिलो हुने उपभोक्ताहरुको भनाई छ । 
सिद्रालाई प्रोटिन, क्यालसियम, फस्फोरस, भिटामीन र बोसोको माइक्रो स्रोतका रुपमा लिन सकिन्छ । यसबाहेक सिद्रा सुकाउदा माछाको पेट नफाली सुकाइने भएकाले तीतो स्वाद पाइन्छ । तापनि यो पोषिलो हुन्छ । यसलाई मन पराउने उपभोक्ता गन्धले पनि खान रुचाउने उत्पे्ररकको काम गर्ने दावी गर्छन् । 
पूर्वी नेपालमा सिद्राको व्यापार केन्द्रको रुपमा शनिश्चरे, दमक, मधुमल्ला, लेटाङ, धरानलाई लिन सकिन्छ । धरानबाट मात्र प्रति वर्ष १० टन जति बिक्री हुने यहाका व्यवसायीहरुले बताएका छन् ।  तुलनात्मक रुपमा  तराइका हाटबजारमा यसको खुबै व्यापार भएको पाइएको छ । 
सिद्रालाई स्वास्थ्यका लागि उपयोगी बनाउन माछा सुकाउने आधुनिक प्रविधिको खाचो देखिन्छ । सुकाउनेदेखि उपभोक्तामाझ पुगुन्जेलसम्म यसको तयारीका विषयमा जानकार कमै पाइन्छन्  ।   खाद्य वस्तुको उत्पादन, भण्डारन र बिक्रीका सबै चरण  स्वस्थकर हुनु आवश्यक हुन्छ । भण्डार कार्य ठीक नभएमा खाद्यवस्तुको गुणस्तर खस्कन्छ । यसबारे सम्बन्धित निकाय साथै स्वास्थ्यसग सरोकार राख्ने सबैको उतिकै ध्यान जानु आवश्यक छ । खाद्यपदार्थको गुणस्तरवारे जनचेतना जगाएर उपयोगिता बारे उपभोक्तालाई सचेत बनाउन जरुरी छ ।  
खाद्य विभाग वा नगरपालिका वा गाविसले खाद्य पदार्थको गुणस्तर प्रमाणित गरी खान योग्य भनी सिफारिस गरिएको खाद्यपदार्थमात्र हाटबजारमा बिक्री गर्न कानूनी प्रावधान हुन आवश्यक देखिन्छ । 
सिमसार क्षेत्रलाई संरक्षण गरेमा सिद्रा माछाको पनि  संरक्षण हुन्छ । सिद्रा केवल मानव उपभोक्ताहरुको लागि मात्र आवश्यक नभएर खाद्यश्रृंखला र प्रकृतिक सन्तुलनको लागि पनि अत्यन्तै जरुरत पर्दछ ।
- डा. भरतराज सुब्बा
subbabharat@yahoo.com

Sunday, August 8, 2010

'महादेव'ले घटाए मदिरा व्यापार


हकर्मीसँग बेलाबेला झर्को मानिरहेका रेस्टुराँ सञ्चालकको 'मुड अफ' हुनुको कारण आन्तरिक रूपमा बिग्रेको कुनै कामले थिएन । एक दशकदेखि यो पेसामा रहेका विराटनगर कलेज रोडका सुरेन्द्रलाल श्रेष्ठ भन्छन्, 'साउनभरि व्यापारमा मन्दी भएपछि कसरी मुड ठीक हुन्छ ?   उनीजस्तै चल्ती रेस्टुराहरूमा साउन लागेपछि त्यसका 'साहुजी' का मुड बिगि्रएको देख्न पाउनु विराटनगरमा नौलो छैन ।
'साउनमै किन मन्दी ?' प्रश्नमा ताम्राकार कोल्ड सेन्टरका सञ्चालक पुरुषोत्तम ताम्राकार प्रस्ट्याउँछन्, 'धेरैले साउनमा माछामासु र रक्सी बार्छन्, धर्म गर्छन् । त्यसैले मन्दी हुने हो ।' उपमहानगरभित्र सानाठूला गरी तीन सयको हाराहारीमा मदिरा बेचविखन गरिने रेस्टुराँ छन् । अधकांशको अवस्था उस्तै छ । 'नियमित खानेमा पनि धेरै कोही बोलबम जान्छन्, कोही व्रत बस्छन्,' ताम्राकार भन्छन् । यो व्यवसायमा नगरमै पुरानामध्ये पर्ने उनलाई पछिल्ला केही वर्ष साउनमा ग्राहकै नहुने समस्या भने भएको होइन । ग्राहक छन् तर यो महिना पहिलेजस्तो बग्रेल्ती आउने क्रम रहँदैन । 'यो महिनाभरि सातामा दुई दिनका दरले मात्र व्यापार चल्छ भन्ने बुझे हुन्छ,' उनी अथ्र्याउँछन् । मन्दी आउने महिना भएकै कारण अरू बेला व्यस्त रहने रेस्टुराँ सञ्चालकले साउनभरि बोलबमको तीर्थयात्रा र अन्य काममा ध्यान दिन पाएका छन् । 
मदिराको थोक बिक्री कक्ष चलाएका कामना कोल्ड सेन्टरमा विनोद केसी पनि साउन महिनामा व्यापार घट्ने बताउँछन् । '५ वर्षअघिभन्दा साउनमा बार्ने केही घटेका हुन्,' उनी भन्छन्, 'तर, रक्सीमा साउनचाहिँ वर्षको एउटा यस्तो महिना हो जसमा मन्दी भएरै छाड्छ ।' उनका अनुसार साउनमा धर्मकर्म गर्नेेले खान छाडेर मात्र मन्दी आउने भने होइन । बर्सेनि असार अन्तिममा आउने बजेटमा मदिरामाथि राजस्व लगायतका करका दर वृद्धि भएर आउँछ । त्यो घोषणा अघि स्टक गर्ने प्रवृत्तिले पनि साउनमा मन्दी गराएको हो ।
उपमहानगरमा मदिराका डेढ दर्जन थोक बिक्रेता छन् । ठूला विक्रेतामध्येको रोविन टे्रड सेन्टर र कोसी सप्लायर्समा पनि सञ्चालक- कर्मचारीको भनाइ फरक छैन । रोविनका कर्मचारी गंगा दाहाल भन्छन्, 'साउनका व्यापार ५० प्रतिशत घट्छ । यो त बर्सेनि दोहोरिने पुरानो कुरा हो ।' उनका अनुसार बजेटले गर्ने राजस्व वृद्धिका क्रममा हुने फाइदालाई ध्यानमा राख्दै स्टक राख्न चाहनेले गर्दा पनि साउन प्रभावित हुने गरेको हो । 'धर्म एउटा कुरा हो तर बोलबमका नाउँमा मन्दी भन्न मिल्दैन,' उनले भने, 'चाहिने जति पहिल्यै किनेर राखेको रेस्टुराँले फेरि कसरी किन्थ्यो र ?' 
कोसी सप्लायर्सका सञ्चालक सुरेशमान श्रेष्ठको बुझाइमा साउन मन्दी हुनुका पछि धार्मिक कारणसँगै स्टक राख्ने प्रवृत्ति बढी कारक हो । 'नभए अघिपछि पनि बिक्री राम्रो हुन्छ,' उनी भन्छन् । २ सय ५० प्रतिशतसम्म कर लिए पनि इजाजत लिई उत्पादित मदिराका लागि सरकारले ध्यान नदिएको उनको गुनासो छ ।
 'नक्कली समातियो भने १० हजार तिरे छुटिहाल्छ,' उनी भन्छन्, 'फेरि थालिहाल्छ । त्यसले बजारमा पारेको अप्ठयारोलाई सरकारले ध्यान दिनुपर्छ ।' उनका अनुसार तराई क्षेत्र भएकाले बोलबमको प्रचलित तीर्थका नाउँमा नभई नहुनेमध्येका धेरै मदिरा सेवनकर्ता साउनमा एक महिनाका लागि छाड्ने गरेका छन् । चार/पाँच वर्षअघि साउनमा व्यापार नहुने अवस्था रहे पनि केही सुधार आएको छ ।
उपमहानगरमा ९० प्रतिशत बजार नेपालमै उत्पादित मदिराको हो । मोरङमै मदिराका तीन कारखाना छन् । आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर खत्री भन्छन्, 'साउन भनेर मन्दी भनिहाल्न मिल्दैन । अरू महिनाले कभर गर्छ ।' उनका अनुसार कार्यालयले  ०६६/६७ मा मदिराबाट १ अर्ब २० करोड राजस्व असुली गरेको छ । पैठारीबाट मात्रै ४७ करोड ७६ लाख ७५ हजार संकलन गरेको छ ।

Sunday, August 1, 2010

मुरी फलाउनेहरु

किसान व्यस्त छन् । गएको विहीवार विहान ८ बजे छाडेको विराटनगर दिउसो ४ बजे फेरि टेकेपछि मैले फेसबुकको स्टाटसमा यति मात्र लेखेको थिए । अमेरिका पुगेका एक जना सञ्चारकर्मी दाजु राजेश कोइरालाले कमेन्ट लेखे 'तैपनि चामलको भाउ घटेको थाहा छैन ।' एक जना साथीले उहाको प्रतिक्रियामाथि प्रतिक्रिया लेखे 'आफ्नु तलब बढाउनु । चामलको भाउ घटाउनु ।' उनले त्यसको जवाफमा फेरि लेखे 'किसानको के दोष र ? भाउ बढाउने धेरै फ्याक्टर छन् ।'
तीन शब्दको छोटो वाक्यमा प्रतिक्रिया थपिएको देखेर म फेरि त्यसमै लेख्न बाध्य भए । मैले थपे 'बढेको भाउ सोझै किसानले खान पाउने मुलुक होइन यो । भाउ बढाउने र बढेको खान पाउने बीचमा अरु नै छन् । वर्षाको सीजन हो, यतिखेर उनीहरु रोपाइमा व्यस्त छन् मैले भनेको हो । अन्यथा होइन । 
फेसबुकको एउटा सानो स्टाटस अप्डेटको श्रृङ्खलालाई यतै थाती राखौं । आफ्नो अवस्था बारे वा मन लागेका कुरा लेख्न मिल्ने इन्टरनेटको यो सामाजिक सञ्जालमा लेख्नका लागि जे चाहृो त्यही सम्भव छ । सम्पर्कमा रहेकाहरुले मात्र आफ्ना कुरा देख्ने भएपछि आफुले लेखौ वा अरुले लेखेका बाक्यमा प्रतिक्रिया दिउ, सजिलै सकिन्छ । 
विहीवार साझ मेरो स्टाटस चामलको बढेको वा घटेको भाउसग सम्बन्धित थिएन । यसको कारण थियो -तेतरियाका एउटा किसानसगको भेट । फोटोपत्रकार मित्र संजीव खनाल र मैले विराट चोकबाट विराटनगर फर्कदा बाटोबाट करीव २०० मिटर पर पूर्व खेतमा मधु साह नामका किसानलाई देखेका थियौ । ढाडमा स्पे मेशिनको पम्प भिरेर डढेलो लागेका धानका बोटमा उनी असिनपसिन हुदै स्प्रे गरिरहेका थिए । हामीले सडकमा बाइक अड्याएर उनको तस्विर लिने निधो गरियो  । आली हिलाम्य थियो । जोगिएर उनीसम्म पुगियो । सोधियो 'किन स्प्रे ।  के भएको हो धानलाई ' उनले सहज उतर दिए 'डढुवा लागेको हो । हेर्नुस्न् , जोगिन्छ कि भनेर स्प्रे मारेको ।' 
लगाएको धान रंजीत भनिने मन्सुली हो भन्ने उनले नै बताए । उनको एक बीघा र नजिकका धेरै किसानको खेतमा डढुवाले आक्रमण गरेको पनि सुनाए । हामीले सुन्यौ । तस्विर खिच्यौ । अनि फिरेर मोटरसाइकलसम्म आइपुग्दा एकजना साइकलयात्री पर्खिरहेका थिए । उनले हत्तपत नमस्कार गरे अनि भने 'हजुरहरु कृषिबाट हो । हेर्नुस्न मेरो पनि धानमा डढुवा लाग्यो । के औषधि हाल्ने थाहा छैन । लौ न भन्दिनुस् ।' उनको बुझाइ देखेर हास्न मन लाग्यो । हासिहाल्दा पनि असजिलो हुने । ढाडमा व्याग छ । हात हातमा क्यामेरा । उनले कृषिका प्राविधिक ठानेछन् । हतपत उनलाइ भनियो 'दाइ, हामीहरु कृषिका मान्छे होइन । हामी पत्रकार । त्यही डढुवाको फोटो खिचेर फिरेको ।' उनी केही भन्न खोज्दै थिए । तर, हामी अघि बढि हाल्यौ । बाटामा एक घण्टे झरीले छेक्यो । झोराहाटको पिडारवनी चोकमा ओत लागेर बसियो । मन ती दुइ मानो रोपेर मुरी फलाउनेहरुका कुरा खेल्यो ।
खेतीमा कछुवा गतिमा परम्परागत प्रविधि विस्थापित हुने क्रममा छ । कतिपय गराहरुमा ट्याक्टरले खनजोत गर्दै रहेको देख्न गाह्रो छैन । परम्परागत प्रविधि हटिहाल्ने अवस्था नहुनुका पछि किसानको उक्सिन नसकेको आर्थिक अवस्था हुदै हो । तर, किसानका माझबाट खरायो दौडेजसरी हाम्रा परम्परागत बीउबिजन हराएका छन् । सबैथोकमा हाइब्रिड हावी भएको छ । जनसंख्या,उद्योग र बढ्दो आवासका कारण जग्गा खण्डीकरण बढेको छ । जग्गाको आकार बढ्दैन । मान्छे र घरहरु बढ्छन् । त्यसैले सानो आकारको जग्गामा धेरै र छिटो फल्ने प्रविधिमा अघि बढ्न किसान दवावमा छन् । धेरै किसान काम गर्नका लागि मात्र किसान छन् । जग्गाधनी अरु नै र अन्तै छन् । जग्गाधनीको रुची र अवस्था अनुसार अर्को बाली लगाउने नलगाउने निर्णय हुन्छ ।
अनि हाइब्रिड । केही महिनाअघि मकैको घोघामा दाना नलागेपछि किसानहरुले प्रदर्शन गरे । सरकारले केही स्थानमा राहत दिने घोषणा पनि गर्‍यो । बाली लगाउनका लागि उन्नत प्रविधिको बीउ छनोट गरिन्छ भने त्यसका लागि जग्गाको अवस्थामा गरिनुपर्ने तयारीका मापदण्ड पनि भिन्न छन् । तर, बीउ उन्नत ल्याएपनि हाम्रा धेरै किसानले त्यस्तो प्रविधिमा अघि सरिहाल्ने अवस्था छैन । त्यसैले मधु साहजस्ता किसान पीडामा छन् । कृषिको व्यवसायिक विकासलागि नारावाजी र वकालत गर्नेहरुले बेलैमा सल्लाह दिए जाति होला । अन्यथा डढुवा हुने क्रम बढेर किसान फेरि प्रदर्शनमा उत्रिएमात्र हेर्ने प्रवृति हितकर हुदैन । 

किन देखिन्नन् चिप्लेकीरा

- डा. भरतराज सुव्वा
मौसम परिवर्तन हुने क्रिया लगातार भइ नै रहेको अवस्थामा पृथ्वीको तापक्रम बढेको तथ्यांक प्रकाशमा आएपछि यसबारे विश्वभर चासो बढ्दो छ । बैज्ञानिकहरुले पृथ्वीको तापक्रम बृद्धि हुनुको घटनालाई सबै कोणहरुबाट अध्ययन गर्दै आएका छन् । यसको असर जैविक वस्तुसँगै समुद्र, नदी, हिमाल आदिलाई पनि कसरी किन परेको रहेछ भन्ने तथ्य पत्ता लगाउन प्रयोगहरु गरिएका छन् । जाडो महिनामा पनि हिउँ पग्लने, एकातिर हिमताल र नदीहरुमा पानीको सतह बढेको घटनाहरु प्रस्तुत गरेका छन्  भने अर्कातिर फूल्ने र फल लाग्ने बिरुवाहरुमा देखिएको समयको अन्तर आदिलाई पनि मौसम परिवर्तनको असर भन्ने गरिएको छ । सुखा मौसमले गर्दा पानीका मुहान सुक्ने, पिउने पानीको लागि हाहाकार भएका घटनाहरु हाम्रा सामु नौला छैनन् । 
वास्तवमा मौसम परिवर्तन गर्ने मूख्य कारक के हो यसमा कुन कुन अन्य कारणहरु सामुहिक रुपमा सक्रिय भएर आज सम्पूर्ण पृथ्वीको तापक्रममा  परिवर्तनको हलचल ल्याउन सफल बन्न सक्यो । यो ज्यादै सोचनीय प्रश्न बनेको छ,  हामी सबैका लागि । धेरै कारणहरु मध्ये बढ्दो जनसंख्या जसलाई गाँस-वासको व्यवस्था नहुनु, अनियन्त्रित तरीकाले जंगल फाडिनु, सिमसार सुकाइनु, औद्योगिकीकरण बढ्न युद्धमा वातावरण विनाश गर्ने किसिमका आधुनिक रसायनहरु र हतियारहरु प्रयोग गरिनु, प्रकृतिमाथि वेरोकतोक हस्तक्षेप गरिनु जस्ता मानव क्रियाकलापहरु धेरै हदसम्म मौसम परि्वर्तनका कारकको रुपमा खडा देखिएका छन् । शायद यी वाहेक अन्य धेरै अदृश्य कारणहरु प्नि हुन सक्दछन् जसलाई प्रष्ट व्याख्या गर्न गाह्रो हुन्छ । 
मौसम परिवर्तनका असर क्रमिक रुपमा सम्पूर्ण वनस्पति र जन्तुहरुमा पर्न जान्छ । सम्वेदनशील जीवमा असर तुरुन्त देखिने र अन्यमा विस्तारै देखिने मात्र हो । मौसम परिवर्तनको असर जलीय र थलीय कुनमा धेरै होला यो पनि एक विशेष अध्ययनको विषय बनेको छ । यसबारे पनि अनुसन्धान भइरहेकै छ । 
मैले विगत १५ वर्षदेखि नेपालमा पाइने शंखेकीराहरुको अध्ययन गर्दै आएको हुँदा हाल यसको अवस्था र विगतका दिनहरुमा रहेको अवस्थालाई तुलनात्मक अध्ययन गर्दा, जमिनमा पाइने धेरै थरिका शंखेकीराहरुको संख्या उल्लेखनीय तरिकाले घटेको पाइएको छ । यसो हुनुको मूख्य कारणहरु निम्न छन् । जमिनमा पाइने शंखे कीराहरु ओसिलो जमिनमा रहने र सुख्खा मौसममा माटोमुनि वा ढुंगार् इटा आदिमा लुकेर रहने गर्दछन् । समय समयमा पानी नपर्नाले जमिन धेरै सुकेर उनिहरुको शरीरमा रहेको पानी सुकेर मर्ने गरेको पाइएको छ । सायद यसै कारणले होला आगन्तुक लार्ज गार्डेन स्नेल -बगैंचे ठूलो शंखेकीरा) जुन हरेक बगैचाहरुमा प्रायः गरेर तराइको ओसिलो ठाउँहरुमा छरिएर रहेको छ । यसको संख्या वर्षेनी घट्दै गएको छ । यो ओसिलो ठाउँहरुमा बस्छ र बस्ने ठाउँ जलमय भएमा मर्छ ।
विराटनगरको प्राय धेरैजसो गल्लीहरुमा हिड्दा पोलिथिनको ब्यागमा शंखेकीरा पोको पारेर सडकमा राखिएको पाइन्थ्यो । त्यो दृश्य आज कमै देख्न पाइन्छ । बगैंचाबाट गल्लीमा फ्याकिएका शंखेकिराहरु प्रशस्त देखिन्थे । तर आज कमै देखिन्छ वा देख्न छोडिएको छ । मैले आफ्नै वगैचामा वयस्क शंखेकीराहरु वर्षा २०० देखि ३०० सम्म संकलन गर्थे र मार्थे । किनभने तिनले बगैचामा फुल विरुवा र तरकारी बालीलाई नोक्सानी गर्थे । तर यस वर्ष जम्मा ४ वटा मात्र भेटिनुलाई मौसम परिवर्तनको असर मान्नु पर्ने ठानेको छु । किनकी मैले मेरो बगैचामा कुनै कीटनाशक औषधी पनि प्रयोग गरेको छैन । यसरी नै अन्य ठाउँहरुमा सुख्खा मौसमले गर्दा धेरै मरे । बाँचेकाहरुले पनि सन्तान उत्पादन गर्ने मौका पाएका छैनन् । किनकी उनीहरुको वासस्थान अतिवृष्टिका कारण जलमय भएको छ ।
यसरी नै चुरे पहाड, तर्राई  र महाभारत पहाडका फेदीहरुमा स्थानीय जातका जमिनमा बस्ने शंखेकीराहरु प्रशस्त पाइन्थे । तर हाल सुखाका कारणले धेरैजसो ठाउँहरुमा देखा पर्न छाडेका छन् । यतिमात्र नभएर एप्पल स्नेल जसलाई डोका भन्ने गरिन्छ, तराइवासीले यसको संख्या पनि अत्यन्तै घटेको वताउछन् । मोरङका आदिवासीका अनुसार सिमसार मासिनुको साथसाथै डोकाको संख्या पनि उल्लेखनीय तरीकाले हराउदै गएको छ । 
यस्तै अवस्था छ, जमिनमा पाइने शंखेकिराको, अरु ठाउँहरुमा पनि । यस्तै गरि सिमसार वा पोखरीहरुमा पाइने कछुवा जो जाडो छल्न जमिन भित्र लुक्दछ । सात/आठ महिनासम्म पानी नपर्नाले जमिन बाहिर आउन नसकि मर्ने गर्दछन् ।
 कछुवाको संख्या घट्ने कारणमा मौसम परिवर्तन एक कारक बनेको छ ।  पानीमा पाइने माछा लगायत अन्य कीराजन्य जीवहरु पानी कम हुनाले वा पानी सुक्नाले सखाप हुँदै गइरहेको छ ।  निकट भविष्यमा मौसम परिवर्तनले विकराल समस्या ल्याउने छ । यसलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय सम्मेलनहरु भएका छन् । यसबारे धेरैले चासो देखाएका छन् । तर जबसम्म जनचेतना अभिबृद्धि हुँदैन तबसम्म रोकथाम गर्ने सोचले सोचमै पूर्णविराम लिएर रहने छ । हरेक राष्ट्रले मौसम परिवर्तनलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय नीतिको साथसाथै राष्ट्रिय र क्षेत्रीय नीति पनि बनाइनु पर्छ र कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । हाल राष्ट्रमा देखिएका राजनीतिक समस्याहरु अल्पकालिन हुन् तर मौसम परिवर्तनले ल्याउने समस्या सुल्झयाउन त्यति सहज हुनेछैन र त्यसको असरले जीवहरुलाई लोप नै गराउन सक्दछ । समयमा ध्यान नपुर्‍याएमा मानवले धेरै कष्टदायी समय व्यतित गर्न तत्पर हुनुपर्ने समय आएको छ । 
 हाल भइरहेको कुनैपनि वस्तुहरुको महत्व नबुझेर नाश गरी तिनीहरुलाई पुनःस्थापन गर्नुपर्ने अवस्थामा पुग्न, विवेकशील मानवको कर्तव्य कदापी हुन सक्तैन । हाम्रो विवेकलाई सही ठाउँमा समयमै प्रयोग गर्नु हाम्रो कर्तव्य हो । समयको आगमनलाई स्वागत गर्नुपर्ने समय आएको छ । हामी सबैको समझदारीमा हामी सबैका लागि अत्यन्तै महत्वपूर्ण कदम रहने छ - मौसम परिवर्तन गर्ने हाम्रो क्रियाकलापहरुलाई न्यूनीकरण गर्नु । 
मौसम कसरी बदलिँदै छ, र यसका असरहरु कुन कुन वस्तुहरुमा देखिदै छन् । यसको अल्पकालीन र दीर्घकालिन असरहरुले मानवमा कस्तो असर पार्छ - यसबारे जनचेतना जगाउने मात्र होइन, मौसम परिवर्तनलाई सहयोग पुग्ने जुनसुकै योजना भए पनि रोक्न सरकारले पहल गर्नुपर्छ । 

एकै स्वर : बोलबम

क हुल तन्नेरी धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरबाट निस्कन्छन् । हातहातमा पातला धागोका रंगीन माला छन् । मन्दिर परिसरमा ठुटे बासझयाङ छ । झयाङ जोगाउन त्यसको मुन्तिर तारजालीको बार लगाइएको छ । जाली नै नदेख्नेगरि यहाँ रंगीविरंगी धागोका माला बाँधिएका छन् । मालाका भीड पन्छाएर तन्नेरीको जमातले आफ्ना लागि ठाउँ बनाउँछ । अनि तीमध्येको एउटा बोल्छ 'यसरी यहाँ धागो बाध्यो भने मनोकांक्षा पुरा हुन्छ रे ।' 
उनले बोलेजस्तै छ बुढासुब्बा मन्दिर परिसरको बासझयाङको फेदी । तीन वर्ष अघिसम्म यहाँ तारजाली थिएन । बासैपिच्छे युवाहरुले आफ्नो नाम वा नामको पहिलो अक्षरसग प्लसको संकेत दिएर प्रेमिकाका नाम कोरेर जान्थे । त्यसबेला बाँस कुनै पनि खाली थिएनन् । जुनमा हेर्‍यो फलानो प्लस फलानी लेखिएका थिए । फेदीमा जाली लगाइयो । कसैले माला बाँधेर भनिदिएछ 'यसो गरे मनोरथ पुरा हुन्छ ।' अनि अहिले यहा सबै उमेर समूहकाहरु तारजालीमा माला बाध्न तल्लिन भेटिन्छन् । बुढासुब्बा र सुब्बिनीको मन्दिर पस्ने, पुजा गर्ने अनि रंगीन डोरो तारजालीमा बाँधेर मनोकांक्षा पुरा होस भन्दै फिर्ने ।
००००
गेरुवा वस्त्र लगाएर झापाको बुधवारे ९ बाट आएको जमात बुढासुब्बाकै मन्दिर ताकी आएका होइनन् । बोलबम भन्दै निस्केको जमातको पहिलो लक्ष्य पिण्डेश्वर शिव मन्दिर । दोस्रो दन्तकाली र तेस्रोमा यो मन्दिर परेको हो । धरानको भानुचोकबाट केही पूर्व उकालो लागेपछि लहरै एकपछि अर्का यी मन्दिर बाटाबाटै छन् । यी धरानको विजयपुर डाडाका सदाबहार तीर्थस्थल हुन् । आदिवासी जनजातिको बाहुल्य भएको यो लाहुरे सहरका तीर्थस्थलले हिन्दु र किरात धर्मावलम्बीलाई यिनैका माध्यमले जोडेको पनि छ । 
झापा, मोरङ, सुनसरीका समथर क्षेत्रमात्र होइन, सीमावर्ती भारतको विहार र वंगालबाट आउने तीर्थयात्रीलाई थोरै पहाडी हिडाइको कसरत दिने विजयपुर डाडाले धार्मिक शीतलतामात्र होइन मोहक हरियालीको आनन्द दिने क्षमता पनि राखेको छ । यहाको तापक्रम पनि धरानको बजार, विराटनगर र इटहरीजस्ता सहरी क्षेत्रभन्दा कम छ । गर्मीको तापले असजिलो मान्दै बसेकाहरु यहा फरक प्रकारको शीतल अनुभव गर्न सक्छन् । एकपटक आएकाहरुलाइ यहाको वातावरणले तानिरहेको दिनहुको घुइचोबाट थाहा हुन्छ । वराहक्षेत्र पुगेर कोसीको जल ल्याइ १५ किलोमिटरको यात्रापछि थाक्दै आफैलाई जगाउदै लाम लागेर पुजाको पालो कुरी बसेकाहरुको जमातमा एक प्रकारको उत्साह देखिन्छ ।   
०००
'चार वर्ष भयो आउन थालेको, पेशाले ट्याक्सी चालक बुधवारेका दीनेश थापाले भने 'खै आउन मन लाग्छ वर्षमा एकपल्ट ।' २२ वर्षे यी युवा गाउमा सल्लाहपछि १५ जनाको टोलीमा यहा आइपुगेका हुन् । धर्मकर्म उमेर र पेशाले त्यति भरपर्दो नमानेपनि उनलाई तीर्थ आउँदा नियमित रुटीन जीवनबाट राहत महसुस हुने सुनाउँछन् । 'यसरी हिड्यो, उनी भन्छन् 'आफ्नो दिनहुँको काम त छँदैछ अघिपछि पनि ।' 
मन सधै धर्मकर्ममा लागिरहँदैन । तर, वर्षमा एकपल्ट यसरी गाउँलेका साथ घरबाट टाढाको तीर्थ आउदा थकाइ मर्ने र फेरि काममा जाँदा नयाँ प्रकारको अनुभव हुने उनलाई लाग्छ । उनीसँगै रहेका २६ वर्षीय रन्जीत राजवंशीलाई पनि त्यस्तै लाग्छ । भन्छन् 'उमेरमा धर्मकर्म गर्ने नगर्ने आफ्ना कुरा हुन् तर, यसरी बोलबम आएपछि रमाइलो हुन्छ ।' पेशाले सिकर्मीको काम गर्दै आएका राजवंशीलाई तीर्थको माहोलमा गाउँले टोली मिसिन पाउँदा निकै रमाइलो लागेको छ । तीर्थालुका भीडमा धेरै संख्या राजवंशी र थापाको जस्तै हाराहारी उमेर समूहको छ । धेरैको चाहना शिवजीले दिउन नदिउँन माया, शान्ति र जागिर रहेको पाइन्छ । जनविश्वासमा तीर्थ यात्राको अनुभव आफैमा शरीरलाई स्फुर्ती दिने प्रकारको अनुभव उनीहरुको छ । १२ कक्षाको परीक्षा दिइ बसेका झापाली तन्नेरी रोजीत कोइरालाको यो वर्ष बोलबम तीर्थको जीवनमै पहिलो अनुभव हो । 'ग्रुपमा आउँदा मजा आउने रहेछ, उनले भने 'अरु खासै लागेन ।' झापाली टोलीले घरदेखि चतरा र धरानसम्मको यात्राका प्रतिव्यक्ति आठ सय खर्च भएको बतायो । तुलनात्मक रुपमा उनीहरुका लागि पिण्डेश्वर तीर्थयात्रा सस्तोमा रमाइलो अनुभव गराउने प्रकारको भएको छ ।  
०००
पूर्वी तराइमा अहिले बोलबम टाढाको तीर्थ छैन । जहाँ जहाँ शिवालय छन् तिनमा पुजा गर्नेको आफ्नै प्रकारको घुइचो छ । वर्षेनी  शिवालय थपिने क्रममा पनि छन् । तर, धरानका कुरा बेग्लै भएको झापाकी शशि कार्की बताउँछिन् । भन्छिन् 'वर्ष वर्ष लगातार ६ पल्ट आएँ । चार वर्ष ग्याप भो । अहिले फेरि यसपाली आएकी छु ।' यातायातका दृष्टिले सुगम । शान्ति-सुरक्षा र एउटा तीर्थको यात्रामा तीनवटा मन्दिरको घुमाइ हुने भएकाले धेरैलाई धरानले तान्ने गरेको हो भन्ने उनलाई लाग्छ । 'रोगकष्ट हुँदैन , शान्ति हुन्छ भन्ने विश्वास छ, उनी भन्छिन् 'विश्वासले नै हो पहिलो तान्ने कुरा ।' 
इनरुवा-९ बलाहाबाट आएका दिदी-भाइ रीता र विष्णु पुरीको बुझाइमा समाजले धर्म मान्नुपर्छ भन्ने सिकाएकाले यही युवा पुस्तामा परेको असरले तीर्थ गराउँछ । 'मान्नेले मानेका छन् , पुगेको जस्तो लाग्छ, रीता भन्छिन् 'त्यसैले मान्छे तीर्थमा कष्ट भएपनि धाउँदा रमाएका होलान् ।'  आठ कक्षाका विद्यार्थी विष्णुलाई भने यात्रा आफैमा नौलो अनुभव भएको छ । बेग्लै रंगका लुगा लगाएर । लाम लागेर बोलबमको नारा दिदै पुजामा सरिक हुनु आफैमा फरक अनुभव हो भन्ने उनलाइ लाग्छ । 'यसरी आएकाले मात्र रमाइलो नरमाइलो अनि नौलो अनुभव गर्न सक्नेरहेछन् ।' धरान आउनु टाढाको तीर्थ होइन । तर, उनीहरु दिदीभाइ चतरा भने पुगेनन् । 
०००

धरानको पिण्डेश्वर शिवमन्दिरका बोलबम यात्री अधिकांश चतरा पुगेर त्यहाँको पानी लिइ मन्दिर आइपुग्छन् । १५ किलोमिटरको यात्रा सहज छैन । कारण, बाटामा दुइवटा साना खहरे तरेर माटो, ढुंगा, ग्राभेल र कालोपत्रे सडक छिचोल्दै अघि बढ्ने पैदल यात्रा खाली खुट्टा हिड्नेका लागि सजिलो अवश्य होइन । 'धर्मकर्म भनेजस्तो सजिलो कहा हुन्छ, तीर्थालुका लागि सरबत वितरणको संयोजन हेदै गरेकी धरान-१५ की मीना पुलामी भन्छिन् 'तर, अप्ठ्यारो बाटोबाट यात्रा गरेर, कष्ट खपेर गरेको तीर्थले मान्छेलाई शान्ति अनुभव हुन्छ । मान्छे त्यसैले ओइरिएका हुन् ।' लायन्स क्लव अफ दन्तकालीसम्बद्ध यी महिलाको बुझाइमा धरानको तीर्थमा कष्टजतिकै आनन्दले पनि यात्रुलाई तानेको छ । तीर्थालुका लागि पिण्डेश्वर बोलबम व्यवस्थापन समितिलाई लायन्स, सत्यर्साई सेवा केन्द्र, प्रहरी र स्थानीय युवा समूहले सघाएका छन् ।

'यसपालि राती १२ बजेपछि देखि ढोका खोलिदिने व्यवस्था गरिएको छ, व्यवस्थापन संयोजक कृष्णप्रसाद श्रेष्ठ भन्छन् 'त्यसैले भीड व्यवस्थापन अलि सजिलो भयो । अनि भक्तजनले दर्शन र पुजा गर्न सजिलोसँग पाएका छन् । तीन दसकदेखि भारतीय तीर्थको सजिलो विकल्पका रुपमा तीर्थालुले आउन मन पराएको पिण्डेश्वरमा पालोका लागि लाइन मिलाउनेदेखि प्राथमिक उपचारसम्मका लागि स्वयंसेवी खटिएका छन् । साउने सोमबारहरु गेरुवाका भीडले विजयपुर डाडालाइ रंगीन बनाएका बेला स्वयंसेवीलाई पनि भ्याइनभ्याइ छ ।
(०६७ साउन १५ शनिवार कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करणमा प्रकाशित)