इन्टरनेटका सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा बीबीसी नेपाली सेवा रेडियोका नेपाल प्रमुख रविन्द्र मिश्र लेखिरहन्छन् । धेरैपल्ट उनका स्टाटसमा कमेन्ट लेख्न मन लाग्दैन, लेखिंदैन । मंगलबार उनले आफ्नो फेसबुके भीत्तोमा आफ्नै नयाँ तस्बिर अपलोड गरे र, यस्तो लेखे - 'नेपाली-नेपाली बीच मन फाटेका बेला साना-साना सदभावका कदमले पनि ठूलो अर्थ राख्छ । म पुस्तौंदेखि काठमाण्डुमा बसोबास गरेको हुनाले चलनचल्तिको गलत परिभाषा अनुसार म पहाडे हुँ । तर, मधेसको मन दुखिरहेका बेला मैले अब 'मधेसी पहिरन'लाई आफ्नो 'फ्याशन' को नियमित अंश बनाउने निर्णय गरेको छु । यस्ता कदमले पनि दुखेको मनमा मल्हम लगाउन सहयोग नै पुग्छ भन्ने मेरो विश्वास छ ।'
सञ्चारमाध्यम र पुस्तकमा चाख दिनेले लामो समयदेखि रेडियो पत्रकारिता गर्दै रहेका मिश्रलाई आरामले चिन्छन् । बीबीसीमा उनले नेता, मन्त्री वा त्यस्तै जिम्मेवारलाई हक्की र चोटिलो पाराले प्रश्न सोध्ने शैली गजबको छ । उनको उपरोक्त स्टाटसलाई बुधबार साँझ दोहोर्याएर हेर्दा ७ सय ९१ जनाले 'लाइक' गरेछन् । १ सय ४१ जनाले 'कमेन्ट' लेखेछन् ।
०००
मंगलबार साँझ अफिसबाट निस्कने बेलामा फेसबुकको सन्देश बक्समा मेरो सानिमाको छोरा (भाइ) ले केही पठाएछ । उ दुइ वर्षदेखि लण्डनमा छ । श्रीमान/श्रीमति पढदै काम गर्दै । उसले रोमनमा नेपाली लेखेको रहेछ 'रविन्द्र मिश्रको मधेसी पोशाकसहितको स्टाटसमा मेरो कमेन्ट पढ्नु दाजु ...तपाइलाई कस्तो लाग्छ ।' मैले जवाफमा लेखें 'मेरो पढिस् ' उसको जवाफ तत्काल आएन । म मिश्रको फेसबुके भित्तोमा गएँ ।
उसले यस्तो लेखेको रहेछ 'मेरो बुर्झाईमा भित्री मनैदेखि जसले आफुलाई नेपाली भन्न रुचाउँछ साथै नेपालको भलो चाहन्छ भने त्यो जहासुकैको मान्छे किन नहोस् उ नेपाली हो । तर, केवल आफ्नो स्वार्थपूर्तिका लागि मात्र आफुलाई नेपाली ठान्नेहरुलाई नेपाली मानिनु हुँदैन । त्यसैले मेरो बिचारमा कानुनी हिसाबले स्वीस नागरिक भए पनि स्वर्गीय टोनी हेगनले आफुलाई नेपाली भन्न रुचाएका थिए भने उनलाई हामीले नेपाली भन्न हिचकिचाउनु पर्ने देखिंदैन । त्यस्तै स्वर्गीय गोपाल भुटानी जसको नेपाली नागरिकता थिएन । तर, त्यत्रो बर्ष नेपालमा बसेर नेपाली चलचित्रको लागि धेरै योगदान दिए । अनी भित्री मनैदेखि नेपाली भन्न रुचाए, त्यसैले साचो रुपमा उनी नेपाली हुन् । उता नेपाली नागरिकता भए पनि केवल नेपाली श्रोताबाट प्रशंसा पाउन अनी तत्कालीन श्री ५ बाट गोरखादक्षण्बाहु पाउने लोभले मात्र आफुलाई नेपाली हु भन्ने गायक उदितनारायन नेपाली होइनन् ।'
मिश्रको स्टाटसमाथिका सबै कमेन्ट सर्सती पढन निकै समय चाहिन्थ्यो । केही पढियो, धेरैले उनको भनाइमा समर्थन, केहीले सिर्जनात्मक आलोचना र केहीले नकारात्मक टिप्पणी लेखेका रहेछन् । तैपनि भद्र विचारलाई समर्थन गर्ने मिश्र तस्बिरमा खुशी नै देखिन्छन् । भाइ सुवास भण्डारी (फेसबुकमा भण्डारीजी) को भनाइमा सहमति वा असहमति केलाउन खोजेको होइन । उसले सन्देश पठाएपछि उसको विचार पढियो । मैले अपलोड गर्ने तस्बिर र स्टाटसमा पनि उ बेलाबखत कमेन्ट गरिरहनेमध्येको उ एक थियो ।
उसको जवाफ नआएपछि मैले सन्देश लेखें 'गजब कान्छा । राम्रो झटारो । मैले पढें ।' तर, २४ घण्टा बित्यो, उसले जवाफ फिराएन ।
०००
पत्रकारिताका गुरुहरु भन्छन् 'समाचारमा विचार आउनु हुँदैन । विचार लेखमा आउनुपर्छ ।' विचारविहिन मान्छे हुँदैनन् । राम्रो, नराम्रो वा कुनै पनि राय दिन नचाहने, थरिथरिका मान्छे भेटिन्छन् । स्टाटसमाथिका प्रतिक्रिया केवल विचारमा मात्र आधारीत हुन्नन्, धेरैपल्ट क्षणिक सनकमा पनि लेखिएका हुन्छन् ।
गत आइतवार तस्बिरमा वाटरमार्क (पानी संकेत) राख्न सिक्दै गर्दा मैले जालमा माछा भएको एउटा तस्बिर अपलोड गरें । सुवासले कमेन्ट लेख्यो 'दाजु, फोटो त राम्रो छ । तर, यो नामचाहिं अलि सानो साइजमा यसो साइडतिर राख्नु भए फोटोको सुन्दरता बिग्रिन पाउने थिएन कि...।' मैले उसलाई जवाफ लेखे 'मुला, यहा फोटो चोरले ढुटो पार्छन् । अनि यसरी राखेको हो ।' फेसबुकको भीतो सार्वजनिक ठाउँ भएकाले मेरो 'मुला' थेगो अरुलाई अपच लाग्ला भनेर तुरुन्तै डिलिट गरें । उसले सन्देशमा लेखेछ 'दाजु, कमेन्ट त मेटनु भो नि' मैले जवाफ दिए 'हेर भाइ, फोटो खिच्न सजिलो छैन । खिच्ने क्यामरामा परेको दाम, अनि सही समय र भाग्यले भएका सुन्दर क्लिकलाई चोरले कपी गरेर आफ्नो काममा उपयोग गर्छन् । फोटो खिच्नेको श्रम-पसिना मर्छ । त्यसैले वाटरमार्क राख्नु उत्तम हो । फोटो हेरेर जसलाई चाहिन्छ उसले इ-मेल वा फोन गरिहाल्छन् । समस्यै हुँदैन नि ।'
उसले पनि फेसबुकमा एउटा अभियान चलाएको थियो 'मातृभूमिको पर्यटन प्रवर्द्धनप्रति समर्पित' शिर्षकमा । धेरै राम्रा तस्बिर संग्रह गरेको थियो । उसले बतायो 'मैले त राम्रा फोटा संकलन गरेर कलेजमा प्रदर्शनी नै गरें । कस-कसले खिचेका हुन् के थाहा ' संवाद अलि लामो चल्यो ।
बुधवार साँझ थाहा भयो, उसले मिश्रको स्टाटसमा लेखेको कमेन्ट अन्तिम रहेछ । उसले त्यसपछि 'सुसाइड' गरेछ । पत्याउन गाह्रो भयो । आफन्तहरुसँग फोन संवादपछि थाहा भयो- उ केही दिनदेखि डिप्रेशनको शिकार थियो । आफुलाई सम्हाल्न सकेन । प्रहरीले उसको शव झुण्डिरहेको अवस्थामा नर्थहेम्टनमा फेला पारेछ । अब उता बुहारी र यता बृद्ध मातापिता कसरी सम्हालिएलान् । आलोपालो लेखिसिध्याउदा म उसँग भएका सन्देश संवाद, अपलोड तस्बिर र उसका कमेन्ट खोजी-खोजी हेदैछु । थाहा छ मलाइ, अब उ फेसबुकको दोहोरो संवादमा आउने छैन । सोच्दैछु 'कान्छा, तैले आफ्नो अन्तरंग कुरा किन भनिनस् ? किन यस्तो गरिस् ? जीवन फेरि-फेरि पाइँदैन ।'
(विराटनगरको उदघोष दैनिकको आलोपालो स्तम्भमा ०६८ चैत ९ बिहीवार प्रकाशित)