Thursday, May 21, 2009

फोटो पोज


समाचारजन्य तस्बिर लिँदाको नियम जो जस्तो अवस्थामा छ त्यही त्यसरी नै खिच्नु पर्छ भनेर फोटोपत्रकारिता सिकाउनेहरु भन्छन् । तर अधिकांश ठाउँमा फोटोग्राफर डाइरेक्टर नबनी सुख छैन । हिजो सिंहदरबार संसद् सचिवालयमा त्यस्तै भयो । राष्ट्रपतिका विरुद्ध संकल्प प्रस्ताव लिएर गएका माओवादी नेताले फर्कने बेलामा सभामुख सुवासचन्द्र नेम्बाङलाइ भेटे ।

पोष्टबहादुर बोगटी, नारायणकाजी श्रेष्ठ, खिमलाल देवकोटालगायतको टोलीसगै क्यामराकर्मी हामीहरु पनि साथै पस्यौं । सभामुखसग नेताहरुले हस्तमिलान गरे । अनि कुर्सीमा बसेका उनीहरु लगातार फोटो लिइरहँदा चुइँक्क बोलेनन् । फोटोमा संवाद भएजस्तो देखाउन बाध्यता भयो । मैले भनेँ - 'क्या हो, पत्रकारले फोटो लिइरहुन्जेल बोल्नु हुँदैन भन्ने छ र ?' अनि सभामुख हाँसे । बोले - 'तपाइँहरुको क्यामेराले बोली टिप्ला भनेर !' अनि कोठामा हाँसो गुन्जियो ।

उनीहरुले समान्य कुरा गरे । अनि तस्वीर पनि लिइयो । यो समान्यतया यो ठूलो कुरा होइन । तर, हाम्रा नेताहरु यस्तो बेला चुपचाप लाग्छन । अनि भुँडी ढल्काएर स्टुडियोमा जस्तो पोज दिन्छन् । 

गत महिना एकपटक यस्तै परेको थियो । मिति मैले बिर्सिएँ । प्रधान सेनापति प्रकरणमा माओवादीले अन्य दलको समर्थन खोजिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधवकुमार नेपाललाई उनको कोटेश्वरस्थित निवासमा भेट्न गएका थिए । हामी फोटो लिनका लागि साझ माकुनेका घर अघि साँझ दुई घण्टा उभियौं । झमक्क बेलुकी भएपछि पालो आयो । फोटो लिन पुगेको म मात्रै रहेछु, अरु टेलिभिजनकर्मी थिए।

कोठामा छिरियो । सेक्युरिटीले एक-दुई स्न्याप लिएर फिरिहाल्न हत्ते हालेका थिए । हामीलाई कोठामा प्रवेश दिँदा दुवै नेता बोलेका थिएनन् । बरु सोफामा बसेर भुँडी ढल्काउँदै फोटो पोजमा थिए । 

मैले त्यहाँ पनि भन्नु पर्‍यो - 'तपाइँहरु स्टुडियो जस्तो पोज नदिनुस्, गफ गर्नुस्। हामीलाई अघि छन् भन्ने नठान्नुस्।' दुवैले ठट्टा गरे । 

प्रचण्डले भने - 'पत्रकार जति सबै ठाउँका उस्तै हुँदा रहेछन् । अनि उनीहरुले गफ गरे जस्तो गरे। मैले क्यामराको सटर लिभर थिचेँ- क्लिक क्लिक क्लिक।

Saturday, May 9, 2009

सरकार गठनमा अन्यौल


प्रधानमन्त्री पदबाट माओवादी अध्यक्षको राजीनामा पछि नया सरकार गठनका लागि राष्ट्रपतिले गरेको आह्वान अनुसारको समयसीमा आज सकिएको छ । दलहरु स्पष्ट छैनन् । सरकार बनाउने पहल पर्याप्त देखिएको छैन । संविधानसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीको बहुमत छैन । मधेसी जनअधिकार फोरमको हातमा चाबी छ । उ जता जान्छु भन्छ त्यतै सरकार गठन हुन सक्छ ।
असजिलो स्थितिमा बाहिरिन बाध्य पारेका कारण माओवादीले कसैको पनि सरकार बन्न दिने छाट देखिदैन । दलहरु माओवादी इतरको सरकार बनाउन सक्ने हिम्मत भएकाहरु छैनन । माओवादीले सत्ता पाएन भने उसले सडक तताउने निश्चित छ । अस्ति भएका छलफलमा कांग्रेसले एमालेको नेतृत्वको सरकार बन्नुपर्छ भनेपनि दलहरुले माओवादीलाइ पनि समेटन आग्रह गरे ।
संवधिानसभामा सर्वाधिक सदस्य संख्या भएका नाताले अरुको नेतृत्वको सरकार माओवादीलाइ मन्जुर हुने स्थिति छैन । अनि अन्य दलहरुले बनाउने सरकारका लागि माओवादी तयार पनि देखिएको छैन । राजीनामा घोषणा गर्न माओवादी अध्यक्ष प्रचण्डले देशवासीलाइ सम्बोधनपछि आफुहरुकै नेतृत्वका पुनः सरकार बन्ने बताएका थिए ।
लालसा अहिले फोरमलाइ छ । जता गएपनि निर्णायक मत भएका हिसाबले अहिले मधेसी नेताहरु सरकारको नेतृत्व पाउनुपर्ने बताइरहेका छन । तर उनीहरुको नेतृत्वका सरकारमा जाने चाहना ठुला दलको छैन । सरकार चलाउदाका सेवा सुविधा बारे राम्ररी उपभोक्ता बनिसकेका नेताहरुमा लालसा कम भएको छैन । सरकार बनाउने पहलमा एमालेभित्रपनि स्पष्ट मत छैन ।
राष्ट्रपतिले दिएको समयसीमामा दलहरुले सरकार बनाउन सकेनन भने मात्र माओवादीको पहल सुरु हुने स्थिति छ । यसर्थ माओवादी मौका परि्खरहेको छ । २०४६ सालपछि पटक पटक सरकारमा सामेल दलहरुले देस बनाएका हुन वा बिगारेका हुन , जनताले बुझेका छन् । पछिल्लोपटक माओवादीले पनि आफनो पार्टी, सम्बद्ध हागाबिगा र लडाकुका सेवा सुविधामा दिएको ध्यान स्पष्ट नै छ । जुन जोगी आएपनि जनताका लागि कान चिरेकाको उक्ति चरितार्थ हुने स्थिति छ ।
मुलुकलाइ नया संविधान चाहिएको हो भने सबै दलहरु गम्भिर हुनुपर्छ । जाने बेला खाली हात जाने भएपनि नेताहरुले पद, सेवा सुविधाको मोह त्यागेनन् । नेपालको कल्याण हुने स्थिति छैन । तापनि कल्याण होस ।

राजीनामा क्षेप्यास्त्र



प्रधानमन्त्री पदबाट गरेको राजीनामा क्षेप्यास्त्र भएको काम चलाउ सरकारका प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । राज्यद्वारा वेपत्ता योद्धा परिवार समाजको राजधानीको बसन्तपुरमा शनिवार आयोजित प्रथम राष्ट्रिय सम्मेलन उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामा अघिल्ला वक्ताले सैनिक सर्वोच्चता चाहनेहरुका लागि प्रचण्डको राजीनामा बम भएको भनाइ राखेको जवाफमा उनले यस्तो बताएका हुन् । मुलुकमा नागरिक सर्वोच्चताका कुरा पुजीवादीको नारा भएपनि क्रान्तिकारीले सो नारा अघि बढाएपछि सबै झस्केको भन्दै उनले राजीनामा सैनिकतन्त्र हावी हुन नदिनका लागि भएको बताए । मुलुकको कुनै पनि निर्णय विदेशीको इशारामा हुनु दुखद भएको भन्दै उनले कटवाललाइ कारवाही हुन नदिन दलहरु लागि पर्नु नागरिक हकको विरोधी भएको आरोप लगाए ।
सभामा निकै सुरुमा निकै भावुक देखिएका प्रचण्ड भाषण गर्ने क्रममा निकै आक्रोशमा आएका देखिन्थे । सभामा सुरुमा जनयुद्धका क्रममा वेपत्ता पारिएकाहरुको स्थिति माओवादी सरकारमा गएपछि पनि सार्वजनिक हुन नदिनु सेनाले नटेरेको भनाइ वक्ताहरुले राखेका थिए । सभा करीव तीन घण्टा चलेको थियो । सभामा माओवादी सभासद खीमलाल देवकोटाले माओवादी बाहेकको सरकार बनाउन अन्य दललाइ चुनौति दिदै क्रान्तिकारी पार्टीलाइ नसमेटी सरकार गठन हुन नसक्ने बताएका थिए । सभामा माओवादीका विभिन्न भ्रातृ संगठनका नेताहरुले बोलेका थिए ।
सबैजसो वक्ताले राष्ट्रपतिको कदमको आलोचना गरे । तर प्रचण्डले राष्ट्रपतिको नाम लिएनन् । बरु दलहरुलाइ घुमाउरो पारामा घरको विषयमा बाहिरकाहरुको इशारामा चल्ने गरेको आरोप लगाए । वेपत्ताहरुको कथामा आधारीत गीत 'नरुनु है चमेली दिदी' मा नृत्य प्रस्तुत गरिदा प्रचण्ड भावुक बनेका थिए ।

Wednesday, May 6, 2009

धादिङका तरकारी


मुग्लिन-काठमाडौं मार्गमा पर्ने धादिङ जिल्लाको महादेवबेसीमा बारीबाट बन्दा लिएर निस्कदै महिला । धादिङ जिल्लामा तरकारीको उब्जनी राम्रो छ । यहाको मुख्य बजार उपत्यका हो । तरकारीबाहेक यस क्षेत्रमा उत्पादन हुने अदुवा भने भारत निकासी हुने गरेको छ ।