
समाचारजन्य तस्बिर लिँदाको नियम जो जस्तो अवस्थामा छ त्यही त्यसरी नै खिच्नु पर्छ भनेर फोटोपत्रकारिता सिकाउनेहरु भन्छन् । तर अधिकांश ठाउँमा फोटोग्राफर डाइरेक्टर नबनी सुख छैन । हिजो सिंहदरबार संसद् सचिवालयमा त्यस्तै भयो । राष्ट्रपतिका विरुद्ध संकल्प प्रस्ताव लिएर गएका माओवादी नेताले फर्कने बेलामा सभामुख सुवासचन्द्र नेम्बाङलाइ भेटे ।
पोष्टबहादुर बोगटी, नारायणकाजी श्रेष्ठ, खिमलाल देवकोटालगायतको टोलीसगै क्यामराकर्मी हामीहरु पनि साथै पस्यौं । सभामुखसग नेताहरुले हस्तमिलान गरे । अनि कुर्सीमा बसेका उनीहरु लगातार फोटो लिइरहँदा चुइँक्क बोलेनन् । फोटोमा संवाद भएजस्तो देखाउन बाध्यता भयो । मैले भनेँ - 'क्या हो, पत्रकारले फोटो लिइरहुन्जेल बोल्नु हुँदैन भन्ने छ र ?' अनि सभामुख हाँसे । बोले - 'तपाइँहरुको क्यामेराले बोली टिप्ला भनेर !' अनि कोठामा हाँसो गुन्जियो ।
उनीहरुले समान्य कुरा गरे । अनि तस्वीर पनि लिइयो । यो समान्यतया यो ठूलो कुरा होइन । तर, हाम्रा नेताहरु यस्तो बेला चुपचाप लाग्छन । अनि भुँडी ढल्काएर स्टुडियोमा जस्तो पोज दिन्छन् ।
गत महिना एकपटक यस्तै परेको थियो । मिति मैले बिर्सिएँ । प्रधान सेनापति प्रकरणमा माओवादीले अन्य दलको समर्थन खोजिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधवकुमार नेपाललाई उनको कोटेश्वरस्थित निवासमा भेट्न गएका थिए । हामी फोटो लिनका लागि साझ माकुनेका घर अघि साँझ दुई घण्टा उभियौं । झमक्क बेलुकी भएपछि पालो आयो । फोटो लिन पुगेको म मात्रै रहेछु, अरु टेलिभिजनकर्मी थिए।
कोठामा छिरियो । सेक्युरिटीले एक-दुई स्न्याप लिएर फिरिहाल्न हत्ते हालेका थिए । हामीलाई कोठामा प्रवेश दिँदा दुवै नेता बोलेका थिएनन् । बरु सोफामा बसेर भुँडी ढल्काउँदै फोटो पोजमा थिए ।
मैले त्यहाँ पनि भन्नु पर्यो - 'तपाइँहरु स्टुडियो जस्तो पोज नदिनुस्, गफ गर्नुस्। हामीलाई अघि छन् भन्ने नठान्नुस्।' दुवैले ठट्टा गरे ।
प्रचण्डले भने - 'पत्रकार जति सबै ठाउँका उस्तै हुँदा रहेछन् । अनि उनीहरुले गफ गरे जस्तो गरे। मैले क्यामराको सटर लिभर थिचेँ- क्लिक क्लिक क्लिक।

