
अत्याधुनिक बल्छी बोकेर वर्षका तीनपटक कोशी गड्तिरै गडतिर हान्निने यो धराने टोलीका लागि यसपटकको यात्रा रमाइलो छैन । मौसम, सवारी साधन र शारीरिक श्रम यसका कारण होइनन् । 'पहिलेजस्तो माछा पर्दैन, समूहका जेठा सदस्य टेकबहादुर लिम्बू (६१) कुरा खोल्छन् 'पहिले एकै दिनमा १०/१२ किलोका माछा पर्थे एक/दुइवटा परेपनि हामी मख्ख ।' उनको समूहमा प्रायः चारजना हिड्छन् । खेमराज र्राई (४८), भरतमणि (४८) ,टेकबहादुर र उपेन (३४)।
उपेनका लागि बल्छी खेल्न हिडेको यो १४ औं वर्ष हो । धरानमा कपडाको व्यवसाय गर्दागर्दै पनि अघिल्ला वर्षहरु उनी काम थाँती राखेर हिड्थे । अहिले केही फुर्सदको बेला आएको छ । तर, यात्रामा पहिलेजस्तो रोमाञ्च छैन । माघ-फागुन माछा पर्ने मुख्य समय मानेका उनीहरु वर्षको सुरु र असोजताका गरि तीनपटक निस्कन्छन् । कोशीमा जलयात्राका लागि अहिले मोटरबोट चल्छ । आउजाउ सजिलो र छिटो भएको छ । मुख्य फिसिङ स्पट मानेको सुनकोशी, तमोर र अरुणको संगम त्रिवेणी हो । यहाँसम्मको यात्रा अहिलेको वर्ष सजिलो छ । धरानबाट बढिमा ४० मिनेटको यात्रापछि चतराघाट । त्यहाबाट मोटरबोटमा १५ मिनेटको जलयात्रा । तर, रोमाञ्च घटेको छ ।
०००

'माछी मारन हे दाइ हो' गीत सुन्दा जति मीठो अनुभूति हुन्छ त्यति नै नमिठो भुरा पनि नछाड्ने प्रवृति देखेर हुने उपेनको अनुभव छ । धेरै परिवार खालाछेउ बस्छन् । दाउरा,पानी र माछाका लागि खोलाको भर छ । तर, वर्षमा कुनै दिन यस्तो हुन्न, जहिले आज माछा नमारौ, छाडिदिउँ भनुन् ।

०००
सुनकोशी, तामाकोशी, दूधकोशी, लिखु,तमोर, इन्द्रावती र अरुण नदि सुनसरीसम्म आइपुगेपछि सप्तकोशी बन्छन् । हिमालयबाट आउने स्रोतका कारण सातैवटाको जलस्तर हिउँदमा केही कम भएपनि पुरै कहिल्यै सुक्दैनन् । माछा पुग्न सक्ने स्रोतदेखि पुछारसम्म नै माझी परापूर्वकालदेखि सक्रिय छन् । सप्तकोशीमा झन भीड छ । माथिल्लो भेगमा डुङ्गा लिएर गइ जाल हान्ने चलन नदेखेकाहरु सप्तरीको हनुमाननगर आइपुगे भने आतिने अवस्था छ ।

त्यसो त फैलावट ठूलो भएको सप्तकोशीमा अनुसन्धान चानचुने पनि छैन । नेपालमा पाइने माछाका विषयमा 'इथियोलोजी अफ नेपाल' नामक पुस्तकमा डा. तेजकुमार श्रेष्ठले रैथाने र आयातित प्रजाति गरि २ सय ३२ प्रजाति पाइने उल्लेख गरेपनि हिम नदीका प्रकृति र तराइ भेगको जलप्रवाहमा पाइने प्रकारहरुको अध्यनन अझै बाँकी नै छ ।
०००
कोशी ब्यारेजमा पुग्नेहरुका लागि अहिले कोशीकै माछा खरिद गर्न वा खान पाउनु भाग्यमा भर पर्नुपर्ने भएको छ । बाह्रैमास एकैनाश माछा मार्ने चलन निर्वाध हुनुले यस्तो भएको हो । कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव भन्छन् 'अहिले पहिलाजस्तो छैन । एक/दुइ किलो माछा पर्यो भने माझीले भाग्य मान्छन् ।' रहु, सहर, जलकपुर, कोसिया,पौची र गोछलगायत भनिने माछाका नाम यहाँ चलेका हुन् । तर, ठूला आकारमा यिनलाई जालमा पार्न सक्नु युद्ध जिते बराबर छ । केही वर्षअघिसम्म यहा मारेर काठमाडौ र मुलुकका अन्य सहर पुर्याइने माछा अहिले आयातितको भरमा छ । कतिपय मत्स्यपालक किसानका पोखरीले पनि बजारको माग धानेको छ । यादव भन्छन् 'पहिले जसरी अब कोशीबाट बाहिर पठाउने गरि माछा पर्दैन ।'
सुनसरी, सप्तरी र उदयपुर समेटेर संरक्षित भनिएको कोशी टप्पु वन्यजन्तु आरक्षको मुल क्षेत्र नदिको भंगालोबीच छ । संरक्षित क्षेत्र घोषणाका ३४ वर्षपछि पनि आरक्ष आसपासको बानी फेरिएको छैन । कतिपय मलाहा परिवारका युवाले पुर्ख्यौली पेशा छाड्नुका पछि संरक्षित क्षेत्रमा लागू नियमभन्दा दिनभरि जाल हान्दा पनि रितो भाडो बोकेर फिर्नुका निराशा बढि छन् । आरक्षका रेञ्जर अशोक रामको बुझाइमा जथाभावी माछा मार्ने चलनले आश्रतिहरुलाई नै अभर पार्ने अवस्था आएको छ । 'पानीमा पाइने माछा, घोघी र अरु जीवहरु मान्छेको मात्रै भोजन होइन यसले चराहरुलाई पनि जीवन दिन्छ, उनले भने 'मान्छेले सबै नाशेपछि यसको असर चक्र जसरी प्रकृतिमा पर्छ । यो धेरैले बुझेका छैनन् ।'
आरक्षले संरक्षित क्षेत्रभित्र पनि नदिमा माछा मार्न अनुमति पूर्जी दिन्छ । तीन जिल्लाका करीव नौ सय माझी सप्तकोशीमा निर्भर छन् । आरक्षले डुङ्गा चढेर करेन्ट जाल लिइ माछा मार्न दिदैन । तर, माझीहरुले त्यो बानी छाडेका छैनन् । छरिता डुङ्गा र गस्ती गर्न पोख्त जनशक्तिको अभाव आरक्षलाइ छ । यसको फाइदा अनधिकृत रुपमा माछा मार्नेले उठाएका छन् । लामो घेरा राखेर एक ठाउबाट अर्को ठाउ लामो समय थापिने करेन्ट जालले साना ठूला सबै आकारका माछालाई एकपटक फरेपछि फुत्कन दिदैन । यही जाल भुरासमेत नाश्ने कारक बनेको छ । संरक्षित क्षेत्रभित्र हुने अनधिकृत आवतजावत रोक्न आरक्षसग योजना र स्रोत नभएको कर्मचारी गुनासो गर्छन् । त्यसबाहेक जिल्लाहरुले माछामा लगाउने ठेक्का पनि छुट्टै छ । असारदेखि असोजसम्मका चार महिना माछाका लागि फूल पार्न उपयुक्त समय मानेका कतिपय माझी ती फुल नै भेटेपनि छाड्ने पक्षमा भेटिन्नन् ।
माझी मल्लाह सञ्जालका अध्यक्ष गुलावी मुखिया भन्छन् 'माछा जोगाउनु पर्छ भन्नेमा माझी कै हित छ । तर, सरकारले खाली बसेका समयका लागि केही सोचिदिनु पर्छ ।' वैकल्पिक पेशाको बाटो नदेखेका कारण नदि नै बाच्ने आधार भएको उनको गुनासो छ ।
पुराना मलाहाहरुले थरि थरिका जाल, नयाँले करेन्ट, विष प्रयोग गरि नदिमाथि हमला जारी राख्दा दिनदिनै माछा जालमा पर्ने अवस्था घटेको छ ।