Tuesday, September 28, 2010

पर्दैन मछली जालैमा

ठूलो सहर माछो छटपटाउँदै छ । ४८ वर्षे भरतमणि सुनुवारले च्याप्प अँठ्याए । समूहका कान्छा सदस्य उपेन लिम्बूले निकोन डी३००एस क्यामेरालाई फोटोबाट भिडियो मोडमा लगे । उनको संकेत पाएपछि 'सेभ महासीर' (सहर माछा बचाउँ) भन्दै सुनुवार चिच्याए, अनि माछालाई तमोर नदिमै छाडिदिए । 
अत्याधुनिक बल्छी बोकेर वर्षका तीनपटक कोशी गड्तिरै गडतिर हान्निने यो धराने टोलीका लागि यसपटकको यात्रा रमाइलो छैन । मौसम, सवारी साधन र शारीरिक श्रम यसका कारण होइनन् । 'पहिलेजस्तो माछा पर्दैन, समूहका जेठा सदस्य टेकबहादुर लिम्बू (६१) कुरा खोल्छन् 'पहिले एकै दिनमा १०/१२ किलोका माछा पर्थे एक/दुइवटा परेपनि हामी मख्ख ।' उनको समूहमा प्रायः चारजना हिड्छन् । खेमराज र्राई (४८), भरतमणि (४८) ,टेकबहादुर र उपेन (३४)।
उपेनका लागि बल्छी खेल्न हिडेको यो १४ औं वर्ष हो । धरानमा कपडाको व्यवसाय गर्दागर्दै पनि अघिल्ला वर्षहरु उनी काम थाँती राखेर हिड्थे । अहिले केही फुर्सदको बेला आएको छ । तर, यात्रामा पहिलेजस्तो रोमाञ्च छैन । माघ-फागुन माछा पर्ने मुख्य समय मानेका उनीहरु वर्षको सुरु र असोजताका गरि तीनपटक निस्कन्छन् । कोशीमा जलयात्राका लागि अहिले मोटरबोट चल्छ । आउजाउ सजिलो र छिटो भएको छ । मुख्य फिसिङ स्पट मानेको सुनकोशी, तमोर र अरुणको संगम त्रिवेणी हो । यहाँसम्मको यात्रा अहिलेको वर्ष सजिलो छ । धरानबाट बढिमा ४० मिनेटको यात्रापछि चतराघाट । त्यहाबाट मोटरबोटमा १५ मिनेटको जलयात्रा । तर, रोमाञ्च घटेको छ । 

०००
'हामीले भनेर हुने हो र, उपेन भन्छन् 'करेन्ट लगाएर मार्छन् , तारजाली थापेर मार्छन् । भुरा पनि नबाँच्ने भएपछि माछा कसरी ठूलो हुन पाउँछ ' रहरका लागि माछा समात्न हिड्ने टोली अहिले रनभुल्लमा छ । पदमार्गमा उनीहरुले गाउँ नै उल्टिएर करेन्ट लगाइ, विष हाली अनि तारजाली थापेर माछा समातेको देखेपछि यस्तो भएको हो । भन्छन् 'इण्डियामा त टुरिस्ट नै आएर फिसिङ गर्छन, यो गेम हो । त्यहाँ संरक्षित क्षेत्र पनि छ । हामीकहाँ केही गर्न ढिला भइसक्यो ।' उनको अनुभवमा जलवायु परिवर्तनले माछाको प्राकृतिक वासस्थानमा प्रभाव पारेको छ । त्यसमाथि जथाभावी मार्ने चलनले भुरासमेत नछाड्दा लोप हुने क्रम नजानिदो पाराले डरलाग्दो बनेको छ । 
'माछी मारन हे दाइ हो' गीत सुन्दा जति मीठो अनुभूति हुन्छ त्यति नै नमिठो भुरा पनि नछाड्ने प्रवृति देखेर हुने उपेनको अनुभव छ । धेरै परिवार खालाछेउ बस्छन् । दाउरा,पानी र माछाका लागि खोलाको भर छ । तर, वर्षमा कुनै दिन यस्तो हुन्न, जहिले आज माछा नमारौ, छाडिदिउँ भनुन् । 
समूहका जेठा सदस्य टेकबहादुरले जागिरे जीवनमा सिंगापुर, मलेशिया र ब्रुनाइको अनुभव गरेका छन् । ब्रनाइमा रहँदा विदाका बेला समुद्रमा गएर माछा मारेको अनुभव उनीसँग छ । 'विदेशीले माछा खानका लागि मात्र मार्दैनन्, यो एकखालको शोख पनि हो, उनी भन्छन् 'समात्छन् अनि फेरि बाँच्ने गरि पानीमै छाडिदिन्छन् । हाम्रो शोख पनि त्यस्तै त्यस्तै छ ।' रिटायर्ड जीवनका फुर्सदका क्षण उनलाई नदि र पाखा घुम्दा रमाइलो लाग्छ । अनि साथ दिने टोलीमा माछा समात्ने फिसिङ रड लिएर हप्तौं घुम्न मन लाग्छ । 'मान्छे शान्ति पाउन चाहन्छ, त्यो पानी कीरोको ज्यान लिने मनशाय हुँदैन, उनी थप्छन् 'कतिपल्ट कहाँ कति ठूलो अनि कति किलोको भेटिदो रहेछ भन्ने जिज्ञासाले पनि हामीलाई घुमाउँछ ।'  माछा मारेरैमात्र गुजारा चलेको ठान्नेहरुले पनि जोगाउनमा ध्यान नदिए कुनै समय नदिमा माछा नै नभेटिने अवस्था आउला भन्ने चिन्ता मनमा आउँछन् । भन्छन् 'हामीले मार्ने मात्र होइन जोगाउन पनि ध्यान दिनुपर्छ । जोगाएमात्र बढ्छ । फस्टाउँछ ।' 
०००
सुनकोशी, तामाकोशी, दूधकोशी, लिखु,तमोर, इन्द्रावती र अरुण नदि सुनसरीसम्म आइपुगेपछि सप्तकोशी बन्छन् । हिमालयबाट आउने स्रोतका कारण सातैवटाको जलस्तर हिउँदमा केही कम भएपनि पुरै कहिल्यै सुक्दैनन् । माछा पुग्न सक्ने स्रोतदेखि पुछारसम्म नै माझी परापूर्वकालदेखि सक्रिय छन् । सप्तकोशीमा झन भीड छ । माथिल्लो भेगमा डुङ्गा लिएर गइ जाल हान्ने चलन नदेखेकाहरु सप्तरीको हनुमाननगर आइपुगे भने आतिने अवस्था छ ।  
दोलालघाटका माछा मन पराउनेहरु हुन् वा घुर्मी पुग्नेहरु, सबैका लागि सुनकोशी माछाको दरिलो स्रोत छ । सप्तकोशी नदिका माछा राजधानीमा खान चाहनेहरुका लागि अब सजिला दिन छैनन् । कोशीकै माछामा विद्यावारिधी गरेका डा. भरतराज सुब्बाले २०४३ देखि माछाका प्रकार र अवस्था चिनेका हुन् । कोशीको बानी, पानी र तिनमा आश्रतिहरुको प्रजाति केलाउँदै विद्यार्थी पढाउने उनका लागि सम्झेर ल्याउदा दिक्क लाग्छ । 'धेरै प्रजाति लोप हुने अवस्था छ, भन्छन् 'वर्षका केही महिना माछा मार्न पुरै बन्देज गरिनुपर्छ ।' दक्षिणबाट फूल पार्न माछा उत्तर लाग्छन् । उनीहरु गहिरो ठाउँ छाड्छन् । अनि फुलबाट सजिलै भुरा निस्कने स्थान छनोट गर्छन् । सबैतिर सिकार हुने भएपछि माछाका लागि सुरक्षित स्थान असम्भव हुँदै आएको उनको अनुभव छ । बग्ने पानी र जमेका पानी हुने जलाशयका माछाको प्रकृति र प्रजातिमा भिन्नता छन् । दुइ दसकअघि कोशीमा १ सय २२ प्रकारका जलचर पाइने तथ्यांक कसैले सार्वजनिक गरेको थियो । पछिल्ला समय यहाँ कति जलचर छन् भन्ने अनुसन्धानका लागि कसैले काम नगरेको उनी बताउँछन् । 
त्यसो त फैलावट ठूलो भएको सप्तकोशीमा अनुसन्धान चानचुने पनि छैन । नेपालमा पाइने माछाका विषयमा 'इथियोलोजी अफ नेपाल' नामक पुस्तकमा डा. तेजकुमार श्रेष्ठले रैथाने र आयातित प्रजाति गरि २ सय ३२ प्रजाति पाइने उल्लेख गरेपनि हिम नदीका प्रकृति र तराइ भेगको जलप्रवाहमा पाइने प्रकारहरुको अध्यनन अझै बाँकी नै छ । 
०००
कोशी ब्यारेजमा पुग्नेहरुका लागि अहिले कोशीकै माछा खरिद गर्न वा खान पाउनु भाग्यमा भर पर्नुपर्ने भएको छ । बाह्रैमास एकैनाश माछा मार्ने चलन निर्वाध हुनुले यस्तो भएको हो । कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव भन्छन् 'अहिले पहिलाजस्तो छैन । एक/दुइ किलो माछा पर्‍यो भने माझीले भाग्य मान्छन् ।'  रहु, सहर, जलकपुर, कोसिया,पौची र गोछलगायत भनिने माछाका नाम यहाँ चलेका हुन् । तर, ठूला आकारमा यिनलाई जालमा पार्न सक्नु युद्ध जिते बराबर छ ।  केही वर्षअघिसम्म यहा मारेर काठमाडौ र मुलुकका अन्य सहर पुर्‍याइने माछा अहिले आयातितको भरमा छ । कतिपय मत्स्यपालक किसानका पोखरीले पनि बजारको माग धानेको छ । यादव भन्छन् 'पहिले जसरी अब कोशीबाट बाहिर पठाउने गरि माछा पर्दैन ।' 
सुनसरी, सप्तरी र उदयपुर समेटेर संरक्षित भनिएको कोशी टप्पु वन्यजन्तु आरक्षको मुल क्षेत्र नदिको भंगालोबीच छ । संरक्षित क्षेत्र घोषणाका ३४ वर्षपछि पनि आरक्ष आसपासको बानी फेरिएको छैन । कतिपय मलाहा परिवारका युवाले पुर्ख्यौली पेशा छाड्नुका पछि संरक्षित क्षेत्रमा लागू नियमभन्दा दिनभरि जाल हान्दा पनि रितो भाडो बोकेर फिर्नुका निराशा बढि छन् । आरक्षका रेञ्जर अशोक रामको बुझाइमा जथाभावी माछा मार्ने चलनले आश्रतिहरुलाई नै अभर पार्ने अवस्था आएको छ । 'पानीमा पाइने माछा, घोघी र अरु जीवहरु मान्छेको मात्रै भोजन होइन यसले चराहरुलाई पनि जीवन दिन्छ, उनले भने 'मान्छेले सबै नाशेपछि यसको असर चक्र जसरी प्रकृतिमा पर्छ । यो धेरैले बुझेका छैनन् ।' 
आरक्षले संरक्षित क्षेत्रभित्र पनि नदिमा माछा मार्न अनुमति पूर्जी दिन्छ । तीन जिल्लाका करीव नौ सय माझी सप्तकोशीमा निर्भर छन् । आरक्षले डुङ्गा चढेर करेन्ट जाल लिइ माछा मार्न दिदैन । तर, माझीहरुले त्यो बानी छाडेका छैनन् । छरिता डुङ्गा र गस्ती गर्न पोख्त जनशक्तिको अभाव आरक्षलाइ छ । यसको फाइदा अनधिकृत रुपमा माछा मार्नेले उठाएका छन् । लामो घेरा राखेर एक ठाउबाट अर्को ठाउ लामो समय थापिने करेन्ट जालले साना ठूला सबै आकारका माछालाई एकपटक फरेपछि फुत्कन दिदैन । यही जाल भुरासमेत नाश्ने कारक बनेको छ । संरक्षित क्षेत्रभित्र हुने अनधिकृत आवतजावत रोक्न आरक्षसग योजना र स्रोत नभएको कर्मचारी गुनासो गर्छन् । त्यसबाहेक जिल्लाहरुले माछामा लगाउने ठेक्का पनि छुट्टै छ । असारदेखि असोजसम्मका चार महिना माछाका लागि फूल पार्न उपयुक्त समय मानेका कतिपय माझी ती फुल नै भेटेपनि छाड्ने पक्षमा भेटिन्नन् ।  
माझी मल्लाह सञ्जालका अध्यक्ष गुलावी मुखिया भन्छन् 'माछा जोगाउनु पर्छ भन्नेमा माझी कै हित छ । तर, सरकारले खाली बसेका समयका लागि केही सोचिदिनु पर्छ ।' वैकल्पिक पेशाको बाटो नदेखेका कारण नदि नै बाच्ने आधार भएको उनको गुनासो छ । 
पुराना मलाहाहरुले थरि थरिका जाल, नयाँले करेन्ट, विष प्रयोग गरि नदिमाथि हमला जारी राख्दा दिनदिनै माछा जालमा पर्ने अवस्था घटेको छ ।

1 comment:

Aakar said...

भन्नु के नै छ र ? अस्ति कोसेली मै पढि भ्याएको थिँए ! राम्रो छ तर के गर्नु, पर्दैन मछली जालैमा !