विराटनगर । ड्राइभिङ सीटमा बसेका हँसिला मोटा मान्छेलाई यात्रुले 'गुरूजी' भनिदिए मुस्काउँछन्। जवाफ तुरून्तै फिराउँदैनन्। हँकाइ अभ्यस्त चालकजस्तो छैन। विस्तारै, आरामले चनाखो भएर कुदाउँछन्। अघिपछि साइड हेर्छन्। अनि यात्रुको उत्रने संकेत बुझेपछि गाडी सडक किनारा लगाउँछन्। जर्मनीमा निर्मित बेञ्ज मिनी बसमा भेटिएका यी हुन् ३८ वर्षीय प्रभाकर थापा।विराटनगर-मिल्सएरियाको मलाया रोड भनिने ६ किलोमिटर राजमार्गमा उनको मिनी बस एक/एक दिन विराएर कुदेको भेटिन्छ। गाडी लिएको तीन वर्ष पुग्यो। भन्छन्, 'गरिखान सकिने उपाय खोज्दाखोज्दै यै गाडी भेटियो। गर्दैछु।' उनी चालक होइनन्। चालक वा खलासी बिदा बसे वा कुनै दिन आएनन् भने उनी आफैं कुदाउँछन्।
'कोरियामा गाडी सिकेको यहाँ काम लागेको छ,' विराटनगर-२० घर भएका थापा भन्छन्, 'अब आएर बल्ल थाहा भयो, विदेश बस्दा आफ्नो घर फर्किएपछि गर्न सकिने सीप चाहिँ सिक्नैपर्ने रहेछ।'
एसएलसीपछि प्रभाकरले पढेनन्। कामको खोजी गरे। भेटिएका सानोतिनो जागिरले चित्त बुझेन। वैदेशिक रोजगारीमा जाने प्रयास गर्दागर्दै एउटा मौका हात लाग्यो। सन् १९९६ मा साउदी अरब पुगे। विराटनगर जुट मिल्सको सुरक्षा विभागमा काम गर्ने पिताका एक्ला छोरा उनलाई घरले 'कमाउन विदेश जा' भनेको थिएन। 'म लेबर कोटामा दम्मामको अलखोवर पुगेको थिएँ,' उनी सुनाउँछन्, 'त्यहाँ होटलमा काम पाइयो।'
अलखोवरको होटलमा काम गर्दै ६ वर्ष बिताएका उनी कामका दौरान दुई पटक घर आए। 'हाम्रो घर थिएन, जग्गा पनि थिएन,' उनले भने 'धेरै कमाउन मन भए पनि इलिगली बस्न मन थिएन। अरबको कमाइले घडेरीसम्म जोड्न सकियो।' साउदीमा रहँदा उनले होटलमा वेटरको काम सिके। सरसफाइ, खानाको अर्डर लिने अनि हुक्का बनाउन। 'टिप्स मजाले पाइथ्यो। तर, उमेर नै रमाइलो गर्ने खालको थियो,' उनी भन्छन्, 'सेलरीमात्र जोगिन्थ्यो। टिप्सको पैसा रमाइलो गरेर सिध्याइन्थ्यो।'६ वर्षपछि फिरेर घर तेस्रोपटक आउँदा उनले साउदी छाडेका थिए। विवाह गरे। करिब एक वर्षको बसाइपछि फेरि विदेश हान्निने प्रयास सुरू गरे। सीपमूलक काम नसिकेकाहरूका लागि देशमै पनि केही कामको मेलो नसर्ने उनलाई लागेको थियो। धेरै प्रयासपछि उनी कोरिया जाने इन्टर्न कोटामा परे। त्यसपछि उता हान्निए।
कोरिया भएपछि तीन वर्षसम्म घर आउन पाएनन्। छोरा जन्मेको खबर उनले फोनबाटै पाए। दक्षिण कोरियाको राजधानी सिओलभन्दा केही टाढा इन्सनमा उनी प्लाष्टिक कारखाना पुगेका थिए। त्यहाँ जाने टोलीमा उनीसँग ५ जना नेपाली थिए। प्रभाकर भन्छन्, 'अहिलेजस्तो कोरियाको इपीएस कोटा थिएन, अनि मैले भाषा पनि जानेको थिइन। सुरूमा अलि गाह्रो भयो।' कारखानाको १२ घण्टे काम निकै परिश्रमको थियो । छाडेर हिँडु भन्ने लाग्थ्यो। तर, काम गर्न आएको मान्छे। भिसा र पासपोर्टका लागि खर्चिएको पैसा र घरको अवस्थाले उनलाई रोकेको भान हुन्थ्यो।
कारखानाले प्लाष्टिकका सामान उत्पादकका लागि कच्चा पदार्थका रूपमा उपयोग हुने दाना बनाउँथ्यो। धेरै काम मेसिनबाटै हुन्थ्यो। मेसिन चलाउन चाहिँ कामदार खटिएका थिए। तालिमे भएर गए पनि राम्रै पारिश्रमिक पाएकाले काममा अभ्यस्त हुने क्रम बढ्यो।
'दानाका बोरा र सामान उठाउने फोर क्लीप भन्ने सानो गाडी थियो, मलाई चलाउन आउँदैनथ्यो, पन्छिन्थे,' उनले सुनाए, 'एउटा कोरियनले एक दिन साह्रै गाह्रो पार्यो। त्यो गाडी नचलाइ नहुने भयो।' गाडीमा बसाएर तरिका बताएपछि उनलाई छाडेर कोरियन निस्कियो। र, बाहिरबाट 'चला। चलाउनैपर्छ। तैँले नचलाए कसले चलाउछ ?' भन्यो। आत्तिएको मन लिएर उनले स्टेरिङ सम्हाले। पहिलो दिन सन्तोषजनक भएन। दोस्रो दिन पनि कोरियनले उनलाई त्यस्तै गरेपछि उनले कुदाए। एक सातामै उनले फोर क्लीप मजाले हाँक्न थाले। उनी सम्झन्छन्, 'त्यसको सबै फङसन सिकेपछि गाडी कुदाउन सकिने रहेछ। म सुरूमा रिसाएँ पनि अहिले सम्झदा त्यो कोरियनले गुन लगाएको रहेछ भन्ने ठान्छु।'
कोरियाको कामको अवधि सकेपछि घर फिरेका उनले पहिलो वर्ष त्यसै बिताए। कामको खोजी गरे। घर बनाए। कस्तो व्यवसाय गर्दा घरपरिवारसँग बसेर गुजारा गर्न सकिन्छ भन्ने ध्याउन्ती रहयो। विस्तारै गाडीका कुरा बुझियो। त्यसपछि उनले विराटनगर-रानी भन्सार नाका कुदने गाडीमा हात हाले। रूटसहित ७ लाख ५० हजार लगानी गर्दा जर्मन बेञ्जको पुरानो मोडल हात पर्यो।
अहिले उनी पालोअनुसार गाडीमा भेटिन्छन्। पालो नपरेका दिन गाडी रिजर्वमा जान्छ। 'विदेशमा काम गर्दा सधैंका लागि होइन, एक दिन घर फिर्नैपर्छ,' उनी भन्छन्, 'त्यसैले यहाँ गर्न सकिने काम चाहिँ सिक्नैपर्ने रहेछ।'सयवटाको हाराहारी गाडी रहेको रानी भन्सार-विराटनगर रूटको ६ किलोमिटरका उनको पालो महिनाका १५ दिन पर्छ। एक दिनमा गाडीले ५ पटक ओहरदोहरको पालो पाउँछ। गाडी चलाउन सिकेकाले उनलाई मर्मतका धेरै कुरा थाहा छन्। अनि रूटमा आफ्ना कर्मचारीले इमान्दारीपूर्वक काम गर्छन्, गर्दैनन् भन्ने पनि हेक्का छ। भन्छन् 'अहिले मेरो ठूलो सपना छैन। यो कामले परिवारका साथ बसेर खान पुगेको छ। यही नै काफी छ।'
धेरैपटक फेरि बाहिर जानुपर्छ भन्ने सोचाइ नआएको होइन। तर, उनले छोरा, श्रीमती र आमाको मुख हेरेर जति यहाँ सुख अनुभव गर्छन्, त्यो विदेशमा नहुने जस्तो लाग्छ। 'खोजी गरे देशमै केही न केही गर्न सकिन्छ। तर, हामी बढी महत्त्वाकांक्षी छौँ,' उनी भन्छन्, 'मान्छेलाई कतिले पनि पुग्दैन। म चाहिँ अहिले विदेशको सपना छाडेर देशमै बाँच्नु ठीक ठान्दै बसेको छु।'
उनको फेरि वैदेशिक रोजगारीमा नजाने निर्णयले पत्नी दुर्गा हर्षित छिन्। भन्छिन्, 'परिश्रम गरे परिवारसँग बसेर यहीँ काम गर्न सकिन्छ भने किन जानु ? यहाँ खोजे पो बाटो भेटिन्छ।'
***
(१३ माघ २०६७ को कान्तिपुर कतार संस्करणमा प्रकाशित)
