त्यो झरी पानीमा एउटा हातमा स्कुटिचर भन्ने भ्यागुता छ
अर्को हातमा फोन, बूढा थामिँदैनन्
। त्यसको सबै आकार प्रकार बताउँता-बताउँदै भ्यागुतो फुत्कियो । केआर सरले ४५ मिनेट
कुरा गरेछन् । ब्याट्री लो भयो । अनि बल्ल फेरि त्यो स्कुटिचर भेटिएको ठाउँ चिनो
लगाएर घर आइयो । अर्को दिन फेरि फोन आयो, 'भाइ त्यो स्कुटिचर जतन गरर राखेको होला नि ?' मैले भने 'छ सर । राखेको छु
। कोही मान्छे पठाइदिनुभयो भने म हात लगाइदिन्छु ।' छिट्टै कसैलाई पठाउन सम्भव थिएन । कारण, मौसम राम्रो थिएन । झरी बादलको मौसममा झापाबाट
झट्ट यो पहाडमा कोही आइहाल्न सजिलो नभएको हेक्का मलाई थियो । चार दिनपछि फेरि फोन
आउँदा भने म झस्किएँ । लौ बूढाले गाली गर्ने परे भन्ने भयो । 'भाइ, त्यहाँ प्रकाश आउँदै छन् । उनको हात लगाएर पठाइदिनु है ।' भने पनि मैले 'हुन्छ सर' मात्रै भने
दोहोरो केही भनिनँ ।
***
शंका थियो, त्यो अस्ति फेला
परेकै ठाउँमा भेटिने हो/होइन । किनभने त्यस दिन भेटेको भ्यागुतो त्यसै छाडेर
ढुंगामा चिनो कोरेर हिँडिएको थियो । उपँ|दै हिँड्ने त्यो जीव एक ठाउँ बसिराख्ला भन्ने पनि थिएन । खोजी गरियो । एउटा
मात्र होइन तीनवटा भेटियो । प्रकाशका हात लगाएर नमुना पठाइयो । त्यो दिन ठूलो
हत्तेबाट जोगिएजस्तो भयो । पछि मात्र थाहा भयो इन्डियामा मात्र देखिने भनिएको त्यो
भ्यागुतोको त्यो प्रजाति नेपालमै पहिलोपटक भेटिएको रहेछ ।
यी थिए इलामको माइमझुवास्थित धनेपा सामुदायिक वन उपभोक्ता
समूहका युवा अध्यक्ष नुवीर राईका अनुभव । नुवीर पेसाले अनुसन्धानकर्ता होइनन् न त
विज्ञानका विद्यार्थी नै हुन् । तर, उनी इलामे पाखामा पाइने सबै प्रकारका भ्यागुता चिन्छन् । यो विषयका
अध्ययनकर्ता प्राडा कालुराम राई खम्बुलाई सघाउँदा-सघाउँदै उनी भ्यागुताका
आकार-प्रकार, बानी, वास र आहारा थाहा पाउने भएका हुन् । माइमझुवा र
माबुलाई अनुसन्धानको क्षेत्र बनाएका खम्बुका डेढ दशकको साथले धेरै गाउँले सर्प,
भ्यागुता, छेपारा र कछुवाबारे बुझ्ने भएका हुन् ।
***
'म कति खुसी भएँ, कसरी भनौं ?' हषिर्त मुद्रामा
छामछाम-छुमछुम गर्दै आगन्तुकको हात समाउँछन् । झापा, भद्रपुरस्थित घरमा आइपुग्ने आगन्तुक भेट्दा उनी यसरी नै
खुसी हुन्छन् । इलामे पाखामा भ्यागुता र छेपारा खोज्दै हिँड्ने राईका आँखाको
ज्योति गुमेकाले दैनिकी परनिर्भर भएको छ । अनुसन्धानका विषय कोट्याएर कुरा खोतल्न
रुचाउने आगन्तुक उनलाई मनपर्छ ।ऊर्जाशील उमेर अध्ययन-अध्यापन र थोरै समय
राजनीतिलाई दिएका उनी अब पहिले जसरी सक्रिय छैनन् । भन्छन्, 'मेरो र्फम उजाड भयो । हेर्न आफूले नसकेपछि
यस्तै हुने रहेछ ।' घरपछाडि कछुवा
राख्नका लागि बनाइएको सानो र्फमका बारे उनले बताए, 'अहिले यहाँ एउटा मात्रै कछुवा छ । सुनौलो कछुवा ।'
तीन वर्षअघिबाट उनको आँखाको ज्योति घट्यो । उपचार गराए,
निको भएन । उनी सुनाउँछन्, 'अहिले अलि-अलि मात्रै ठम्याउँछु ।' हेर्ने शक्ति घटेपछि उनको अनुसन्धान रहर पनि
क्रमश: थामिएको छ । केही समय उनले सहयोगीका भरमा काम जारी राखेकै हुन् । अब भने
पातलिएको छ । रिक्सा चढेर बेलाबखत घरनजिकैको क्याम्पस जाने, आफूले बुझेका कुरा सहकर्मी र विद्यार्थीको सहारामा कक्षामा
जिज्ञासुहरूलाई बताउने बानी छँदै छ । हर्पेटोफाउना अर्थात् सरिसृप र उभयचर विषयमा
उनी मुलुककै पहिला विद्यावारिधि हुन् । २०३९ मा त्रिविबाट एमएस्सी गरी प्राध्यापन
पेसामा आएका उनी झापाको मेची बहुमुखी क्याम्पसमा प्राणीशास्त्रका प्राध्यापक हुन्
। ५४ वर्षीय राई उकुसमुकस खोल्छन्, 'मन बूढो भएको छैन तर आँखाले छेक्यो ।'लोप हुँदै गएका जीवजन्तुको चिन्ता छ । भन्छन्, 'प्रकृतिले कति यस्ता जीव दिएको छ, जसले पर्यावरण चक्रमा आफ्नै खालका भूमिका खेल्दा मान्छेका
लागि सहयोगी भएका छन् । तर, दु:ख लाग्छ हामी
मान्छेको मात्रैं स्वार्थ हेर्छौ ।'
***
माइपोखरीका राता माछा, हाँसपोखरीका सालामान्डरका विषयहरू अझै खोजी गर्न मन
लागेकाको सूचीमै छन् । दुई वर्षअघिको विश्वकै महत्त्वको रामसार साइट घोषित इलामको
माइपोखरीको जैविक विविधता अध्ययन गर्ने काम खम्बु नेतृत्वकै टोलीले गरेको थियो ।
कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासमा उभयचर संरक्षणका लागि उनले सामुदायिक वनसँग
मिलेर गरेका काम अझै हेर्न सकिन्छ । वनमा उनले जीव पाइने भन्दै चिनो राख्न लगाएका
स्थान अझै छँदै छन् । कुनै समय प्रशस्तै पाइने गंगे कछुवा, छतरी कछुवा, मयूरपंखी,
खबटेधुरी कछुवा, अण्डा खाने सर्प अहिले हराउँदै गएको उनी सुनाउँछन् ।
यससम्बन्धी उनले पुस्तक पनि प्रकाशित गरेका छन् ।अनुसन्धानकर्ताका पुस्तक सम्बद्ध
क्षेत्रबाहेकका लागि जटिल लाग्न सक्छ । तर, उनले सजिलै बुझ्नेगरी जीवनका भोगाइ र जीव अनुसन्धानलाई पाँच
सय पृष्ठको 'मेरो अनुसन्धान
यात्रा' पुस्तकमा समेटेका छन् ।
त्रिविको एसियाली
अनुसन्धान केन्द्र आबद्ध प्राडा नोबलकिशोर राई सन् १९९५ मा जर्मनका लागि नेपाली
राजदूत भए । उनको चिनजान त्यहाँका जीव वैज्ञानिक हर्मन स्लाइखसँग भयो । प्राडा
हर्मन नेपालमा जीवविज्ञानको अनुसन्धानमा सघाउने व्यक्ति खोजिरहेका थिए । उनलाई
कालुरामसँग चिनजान गराएपछि नोबलकिशोरले लेखेका छन्, 'कालुराम मेहनती र भरपर्दा छन् तर वाम विचारधारका व्यक्ति
हुन् भन्दा हर्मनले हाँसेर जवाफ दिए- बिरालो सेतो होस् वा कालो, मुसा मारे पुग्छ । मलाई कसैको धार्मिक र
राजनीतिक आस्थासँग मतलब छैन ।'
त्यसपछि हर्मन र खम्बुको काम गराइमा सहकार्य वर्षौं चल्यो ।
पुस्तकमा गाउँलेले नरिवल, मिस्रीको स्वाद र
काठमाडौंले जेरी र स्वारीको स्वाद पाउने नोबलकिशोरको भनाइ छ ।चार खण्डमा रहेको
पुस्तकमा अनुभवमा केही अंश लेख्न कालुरामलाई उनकी जीवनसंगिनी शुभलक्ष्मीले सघाएकी
छन् । लेख्न असजिलो भएपछि खम्बु फरर भन्ने र शुभलक्ष्मीले लिपिबद्ध गर्दै लगिन् ।
केचना पौवाभञ्ज्याङदखि म्याङलुङ, सोलु, गुफापोखरी, मिर्चैयादेखि खुम्बुजुङ र बैतडीसम्मका रुटमा भेटिएका तथ्य र
त्यसका लागि गरेको दु:ख उनले उल्लेख गरेका छन् । जर्मनी, बेल्जियम, नेदरल्यान्ड,
लन्डन र म्युनिखसम्म अनुसन्धानका लागि भएका
यात्रा र खोजीका दिन फरक-फरक स्मरणमा उनले समेटेका छन् ।
खम्बु भन्छन्, '१६ सय किलोमिटर पैदल हिँडियो, उभयचर र सरिसृपको
अनुसन्धान मात्रै गरिएन किरातका भाषा सर्वेक्षण पनि गरियो ।' त्यसैले ऊर्जाशील उमेरका अनुसन्धानलाई उनी दुई
पाटोमा बताउन रुचाउँछन्- पहिलो हर्पेटोलोजिकल अनुसन्धान, दोस्रो पूर्व क्षेत्रमा छरिएका २६ वटा किरात राईका भाषाको
सर्वेक्षण ।
(२०६८/०४/२८ कान्तिपुर कोसेली
पूर्वाञ्चल पाना)
