Sunday, July 15, 2012

ऊ : (लघुकथा)

- ओहो ! धेरै वर्षपछि पनि भेट हुँदो रहेछ है !
- हो नि । यो फेसबुक पनि अचम्म । 
- मलाइ त छक्क लागेको छ । म काठमाडौंमा हो अहिले । मलाई फेसबुकमा भेट्यौ है ! के छ तिम्रो खबर ?
- ठीकै छ । चलेकै छ ।
- अनि कता हो अहिले ?
- म पोखरामा छु । तिम्रो के छ नि ?
- राम्रो छ । इण्डियन कम्पनीमा मार्केटिङ गर्छु । फ्ल्याट र गाडी दिएको छ । मेरो पनि चलेकै छ ।
- बिहे गर्‍यौ त ?
- छैन । तिमीले पत्याइनौ । खोइ हौ भनेजस्तो भेटिएको छैन । अनि तिम्रो श्रीमान के गर्छन् -
- तिमीले हिम्मत नगरेर त हो नि । भागौं भनेको मानेनौ ।केही नबनी भाग्ने कुरा नगर भन्यौ । मेरो घरमा कति दवाव आइसकके थियो । तिमी काम नलाग्ने मान्छे ।
- त्यसो नभन । आफ्नो खुट्टामा नउभिइ त्यस्तो निर्णय मेरा लागि सजिलो थिएन । तिमीलाई नै हतार भएको थियो ।
- परिस्थिति नबुझी हतार नभन । बिहे गर्न नमान्ने अरथोक चाहि गर्न अघि सर्ने ? तिमी बुझी नसक्नुको मान्छे ।
- त्यस्तो के गरें र मैले ?
- अबुझ बन्छौ ? त्यो बेला म प्रेगनेन्ट थिए । तिमी मानेनौ । घरमा थाहा भैसकेको थियो ।
- हो र ! मैले त अस्थायी साधन प्रयोग गरेको थिए नि ।
- त्यही भनन । बिहे गरेर आएपछि उसले थाहा पायो । अनि मलाई छाडेर हिडेको फेरि आएन । जीवन कसरी चलाएको छु भन्ने मलाई नै थाहा छ ।
- त्यो बेला मसँग पाल्ने हिम्मत थिएन । के गर्ने ?
- अब हिम्मत आयो ?
- अब म आफ्नो खुट्टामा उभिएको छु । घरले मलाई पाल्नु पर्दैन । तिमी के गर्छेउ नि ?
- म लेकसाइडमा होटल चलाउँछु । तिम्रो छोरो १० वर्षको भयो । छोरो आफ्नो होइन भनने थाहा पाएपछि ऊ फर्किएन ।
- ए त्यसो भए तिमी एक्लै हो अहिले ?
- हो नि । अझै केही बिग्रेको छैन । अब म तिमीलाई भेट्न आउँछु है ।
त्यसपछि जवाफ आएन । उनले देखिन् उसले अनफ्रेण्ड गरिसकेको रहेछ । उसको टाइमलाइनमा पुग्दा मित्र सम्बन्ध गरेपछि मात्रै सन्देश देखिने संकेत आयो । सन्देश लेख्न मन हुँदाहुँदै आफूलाई रोकिन् । स्कुलबाट भर्खर फिरेको छोरो युनिफर्म फुकाल्दै थियो ।

Tuesday, July 10, 2012

अर्कि झमक


तीन साताअघि भएको सानो जम्काभेटमा रेडियो व्रिटिसफोर्स ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) की पूर्वाञ्चल संवाददाता निलिफा सुब्बाले हौसिदै भनेका आधारमा हामी दोस्री झमककुमारी अर्थात लक्ष्मी साम्पाङ राइ खोज्दै सुनसरीको पाँचकन्या-८ गैरीगाउँमा पुग्यौं । मनभरि जिज्ञासा बोकेर गोरखा भुपु सैनिक संघ गेसोका केही पदाधिकारीका साथ दिनको ४ बजे हामी धरान-धनकुटा सडकलाई बायाँ पारेर गाउँ मोडियौं ।
साना आकारका मोटर मात्र जान सक्ने साघुरो पहाडी बाटोहुदै आधा घण्टाको मोटरसाइकल यात्रापछि खेतको आली-आली भएर उनको घर पुगियो । उनी एक्लै भेटिइन, खुट्टाले कविता लेख्दै । उनले आफ्नो अस्थिर मुन्टो हल्लाउदै स्वागत गरिन् । मुश्किलले ज्रि्रो चलाउदै बोल्ने लक्ष्मीले तत्कालै सबैको परिचय मागिन् र झोलाबाट डायरी निकालेर दाँया खुट्टाले सबैको नाम, टेलिफोन नम्बर पनि टिपिन् । उनलाई केही उपहार दिन र उनका कविता, गजल-गीत पनि सुन्न आएको जानकारी निलिफाले दिएपछि  तत्कालै खुट्टाले डायरी पल्टाउँदै कविता वाचन गरिन् - 

रून मन थिएन मलाई, तैपनि आज रूनै पर्‍यो
सम्झीन मन थिएन मलाइ, तैपनि आज सम्झीनै पर्‍यो ।
हालसम्म साहित्यिक पुस्तक-पत्रिका पढ्न नपाएकी लक्ष्मीले ६५ वटा गीत, नौ गजल, आठवटा कविता र तीनवटा कथा लेखेको बताइन् । पहिलोपटक राम्रो पुस्तक अध्ययन गर्न पाएको नै झमक कुमारीको 'जीवन काडा कि फूल' मात्र हो । उनले भनिन्, 'गाउँमा म जस्तो अपांगलाई कसले किताब किनेर ल्याइदिने ? धन्न त्यो पनि निलिफा दिदीले ल्याइदिनु भयो । खुव राम्रो लाग्यो । त्यस्ता किताब धेरै पढ्ने इच्छा छ ।' डायरीमा सीमित उनका अधिकांश गीत कविता, गजल र कथाहरूमा युवा प्रेमका भावनाहरू छन् । 
निलिफाले सोधिन्, 'प्रेमको विषयमा मात्रै गीत गजलमा किन लेखेको लक्ष्मी ?' नधकाई उनले जवाफमा भनिन्, 'प्रेम बिना त को बाँच्न सक्छ ? घृणालाई जित्ने नै एकमात्र माध्यम हो प्रेम । तर, मजस्ता शारीरिक अपांगलाई मानिसले दया र सहानुभूति मात्र दिन्छन् । हामीलाई माया र प्रेम चाहिएको छ । यसले नै मानिसलाई जिउन सिकाउँछ ।' 
खुट्टाले लेख्न जान्ने भएपनि उनी हिड्डुल गर्न सक्दिनन् । सुरू सुरूमा रेडियोलाई साथी बनाएको बताएकी उनले किशोरी उमेरसँगै केही बुझने भएपछि साहित्य पढ्ने र कवयित्री बनेर परिचय बनाउने दृढता लिएको बताइन् । आर्थिक विपन्नताले उनलाई रूचीअनुसारको अध्ययन सहज छैन । बाबु वीरकुमार र्राई हाल कान्छी श्रीमतिका साथ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुकका रूपमा कार्यरत छन् । उनलाई जन्म दिने आमा सवनम राइले अर्कै युवकसँग विवाह गरेपछि उनी सहाराविहिन बनिन् । उनका दुइ बहिनी विवाह गरेर अर्काको घर गइसकेका छन् । घरमा वृद्धा हजुरआमा मात्र उनको सहारा हुन् । जग्गा जमिन छैन । जीविका बडो असजिलो झेल्दै चलेको छ ।
जन्मेको नौ महिनापछि शारीरिक रूपले अपाङ भएकी लक्ष्मीले कविता सुनाइसकेपछि हाँस्दै सानो स्वरमा भनिन्, 'स्कूल पढ्न पाएको छैन । मेरो ज्ञानको माध्यम रेडियो मात्र छ । टेलिभिजन राखेको पनि एक महिना जति मात्र भयो । मलाई धेरै जान्ने चाहना छ ।' ०४५ साल असोज १६ गते धरानमा जन्मेकी लक्ष्मीले विद्यालयका कक्षा कोठा, पढाउने शिक्षक र पाठ्यपुस्तक देख्न नपाएपनि रेडियो सुनेको भरमा कविता, गीत, गजल र कथा लेख्न थालेको बताइन् । दुवै हात चल्दैनन् । खुट्टा पनि सामान्यसरह सक्रिय छैनन् । आखा र कान भने केही सक्रिय भएकाले साहित्यको भोक जागेको छ । कुनै उपाय नभएपछि उनले निष्त्रिmय खुट्टालाई सक्रिय बनाउन रात-दिन मेहेनतमात्र गरिनन्, चिटिक्क परेका, शुद्ध शब्द लेख्न सक्नेसम्म क्षमता विकास गरिन् । 
आमाको गर्भबाट सात महिना मै जन्मेकी लक्ष्मीको बसाइ पत्रपत्रिका र पुस्तक सजिलै नपाइने गाउँमा छ ।  अध्ययन गर्ने इच्छा पुरा गर्न उनले अनौपचारिक शिक्षा पढि्न् । घर नजिकै उपलव्ध भएकाले यो मौका जुर्‍यो । अनौपचारिक शिक्षामा अव्वल आएपछि उनले बुवा वीरकुमारलाई कुनै स्कुलमा भर्ना गरिदिन आग्रह गरिन् । तर बुबाले पनि 'अब जान्ने भइस्, तैले धेरै पढेर के गर्छस् र ?' भनेर टारिदिएपछि खिन्नहुँदै घरैमा बस्न बाध्य भएको उनले सुनाइन् । भलाकुसारीपछि गोभुपु सैनिक परिवारले उनलाई एउटा मोवाइल सेट, केही डायरी र कलम उपहार दिए ।
गेसोका गजेन्द्र इस्वो, रमेश र्राई, दानबहादुर र्राई, चन्द्रमाया लिम्बू, विना र्राई (लिम्बु), हङकङका देवराज र्राई, सरोजा र्राई बेलायती सेनामा कार्यरत मुकेश राइलगायतको टोलीले उनको बारेमा जानकारी लिए । प्रतिभालाई कदर गर्दै मोवाइलमार्फत आफ्ना चिनारू साथीसँग बोल्नको लागि गजेन्द्र इस्वोले एक बर्षका लागि मासिक पाँच सयका दरले रकम व्यहोर्ने घोषणा पनि गर्दा लक्ष्मीको अनुहारमा थप उज्यालो कुदेको थियो । 'थ्याङ्क्यू, थ्याङ्क्यू सो मच थ्याङ्क्यू,' उनले हौसिदै भनिन्, 'तपाइहरूको गुन म कसरी तिर्नु ? आफ्ना सृजनामार्फत यो समाजलाई केही दिन सक्छु भन्ने साहस पलाएको छ ।' 
उनको साहित्यप्रतिको रूची र प्रतिभा देखेर पूर्व ब्रिटीस गोरखा सैनिक रमेश राइले निकट भविष्यमा कविता संग्रह प्रकाशित गरिदिने घोषणा गरे । अरूले पनि कविता संग्रहकालागि आर्थिक सहयोग गर्ने भन्दै ताली बजाए । उनी  खुशीले हाँसिन् । स्व-अध्ययनको भरमा समान्य अंग्रेजी पनि बोल्ने सक्ने भएकी लक्ष्मीले ल्यापटप पाए खुट्टाले चलाउने इच्छा पनि व्यक्त गरिन् ।

                                                                                   -शब्द/तस्बिर : प्रदीप मेन्याङ्बो

(२०६८ भदौ अन्तिम साता  कान्तिपुर कोसेलीको पूर्वाञ्चल संस्करणमा प्रकाशित यो फीचर संग्रहका लागि ब्लगमा साभार गरेको छु । -भीम) 

Saturday, July 7, 2012

रित्तो गुँड


कुथुर्केलाई बाँधेर राखेको केटोले भनेको थियो, 'मलाई सुगाजस्तो लाग्यो । त्यसैले समातेँ ।' किशोरावस्थामा चरा समात्नु कुन नौलो घटना हो र ! अनि गुलेली बोकेर हिँड्ने उमेर पनि १० देखि १७/१८ को हाराहारी चल्छ । मैले सम्झाएँ 'भाइ, यो सुगा होइन । छाडिदेऊ । जान देऊ यसलाई ।' उसले पनि मान्यो । छाडिदियो । एउटा 'फोकस आउट' चित्रको लघुकथा यहाँ सकियो । 
उसले जहाँबाट कुथुर्केलाई समातें भनेर देखाएको थियो, दोस्रो दिन मैले त्यो नरिवलको बोट वरपर दुई घन्टा बिताएँ । चर्को घाममा क्यामेरा बोकेर उभिएको मान्छे देखेर गोदामका पालेदाइ नजिक आए । भने 'हेर्नुस् भाइ, मैले देखेसम्म फटाहा केटाहरूलाई धपाउँछु । म नभएका बेला मौका लाउलान् भन्ने लागिराख्छ । आखिर जागिर चरा रुङ्नका लागि होइन । के गर्ने ?' उनले रुङ्ने गोदामछेउ विराटनगरको कलेज रोडमा तरकारी खेती गरिएको जमिनमा चरा आश्रय थियो । 
कुथुर्केका पछि लागेर पुगे पनि नयाँ दृश्य देख्न मिल्यो । यहाँ एक जोडा सुगा पनि बस्दा रहेछन् । कुथुर्केको जोडाको गुँडरूपी दुलाको केही मास्तिर । अलि ठूलो प्वालमा । मलाई देखेर धेरै बेर सुगा गुँडमा गएनन् । बगाले भ्याकुरको एउटा हूल हल्ला गर्दै आयो । उनीहरूले मान्छेरूपी शत्रुको उपस्थिति हल्ला गरे । सुगा करायो, कुथुर्के पनि करायो । केही बेरमा रूप्पी(डांग्रे) र काग पनि भेला भए । मानौं उनीहरू मलाई गाली गरिरहेका थिए, 'तँ यहाँ के गर्न आएको ? गै जा ।' मलाई पालेदाइले उनीतिर बोलाए । उनको सानो अफिस कोठामा 'बसौं' भने ।
 ***
'यो दोस्रोपल्ट हो,' राई थरका पालेदाइले सुनाए 'पोहोर एकपल्ट सुगाले चल्ला हुर्काएर उडाइसक्यो । यसपालि फेरि आएको छ ।' उनलाई संशय थियो सुगालाई कसैले पक्रेर लैजाने हुन् कि । आधा दर्जन नरिवलका बोटमध्ये पन्छीले डेरा बनाएको बोट बूढो भएर सुकेको थियो । टुपा थिएनन् ।
नाम र नम्बर टिपेपछि दाइ बोले 'म यहाँ खिच्न मिल्ने गरी केही भयो कि भाइलाई फोन गरूँला । मेरो पनि ड्युटी दुई ठाउँ बजाउनुपर्छ । यो गोदाममा परेका बेला चाहिँ याद गर्छु ।' सयौं मान्छेको दोहोरीलत्त भइरहने सडकछेवैको उनको टुंगो । भित्र आउनेहरू सामान राख्न, झिक्न, आउने गाडी, चालक-सहचालक वा रिक्सा-ठेलावाल हुन्छन्, कि त गोदाम कर्मचारी वा साहुजी । नजिकै वर्षौंदेखि आश्रय लिएका चरा धेरैको ध्यानमा पर्ने कुरा थिएन । त्यसैले यस्तो सोधीखोजी उनका लागि अचम्मको घटना थियो । भने 'पचास पुगियो होला, मैले आफैं सुगा घरमा मान्छेले पालेको मात्रै देखेको । गुँड लगाएर चल्ला हुर्काएको यहाँ देख्न पाउँदै छु ।'
गुँडमा फूल पारेर रुँगी बसेका केही चराका बानी अनौठा छन् । भालेले ल्याइदिएको खाने । भाले कतै गुलेली, बन्दुकको सिकार भए वा ब्याधाको फन्दामा परे पोथीको इहलीला गुँडमै सिद्धिने । अझ सन्तान कोरलेका जोडीहरू व्याधाद्धारा समातिए वा मारिए भने खान नपाएर चल्ला मर्छन् । 
***
तेस्रो दिन गोदामघरको गेटमा राई दाइ थिएनन् । सायद ड्युटी अन्तै थियो । पाले पोसाकमा अलि पातला काला-काला वर्णका अर्का एकजना भाइ थिए । दाइले मेराबारेमा उनलाई भनिसकेछन् । त्यसैले उनले सजिलै भित्र पस्न दिए । गोदाम हातासँगै उत्तरको पर्खालछेउ तस्बिरका लागि मेरो विषय त्यही ठुटो नरिवलको बुटो थियो । 
अस्ति म आउँदाताकाजस्तै हल्ला छ । चरा कराइरहेका छन् । नजिक पुगेपछि देखियो । मुन्तिर सेतो टाटेपाटे ढाडे बिरालो बसेको थियो । क्यामेरा सोझ्याएको देखेर ऊ झाडीमा लुक्यो । मेरो उद्देश्य त्यसलाई धपाउनु थिएन । तर, फेरि उसको फोटो लिन खोज्दा भाग्यो । फेरि देखिएन । 
प्रकृतिले सबै प्राणीका लागि जीवन-चक्रको सन्तुलन मिलाएको छ । एउटाले अर्कोलाई आहारा बनाउँछ । तर, यो नियममा आहारा बन्नेका वंश सिकारी जन्तुले पूरै नास्न सक्दैनन् । जोगिन सक्नेहरू वंश बढाउँछन् । मान्छेका हस्तक्षेप पन्छीका लागि प्रकृतिको सामान्य सिकारी जन्तुसरहको हुन सक्छ । तर, मात्रा बढ्ने हो भने सिकार गरेर बाँच्ने जन्तुका आहारा खोसिन्छन्, वंश बढाउन कसरत गर्ने पन्छीका समूल लोपको संघारमा पुग्छन् ।
***
भारतको दिल्लीका पंकज गुप्ताले कमेन्ट लेखिहाले- 'यो नियमविपरीत भयो । फोटो हटाउनुस् ।' चरा मन पराउनेहरूको फेसबुक समूह 'इन्डियन बर्डस्' मा सुगाको बचरो गुँडबाट बाहिर चिहाउँदै गरेको तस्बिर थियो, जसमा उनले कमेन्ट गरेका थिए । मैले प्रतिवाद गरिँन । तुरुन्तै तस्बिर हटाएँ । अनि उनलाई इ-मेल लेखें, 'पंकजजी, चराप्रति म पनि संवेदनशील छु । यो करिब ६० मिटरको दूरीबाट लिएको तस्बिर हो । खिच्दा चराले मेरो उपस्थिति थाहा पाएन । मैले उसलाई बाधा नगरी लिएको थिएँ ।' उनले उत्तर फिराएनन् ।
सामाजिक सञ्जालभित्र चराप्रेमीको समूहमा हाल ७ हजार ९ सय ४५ जना सदस्य छन् । एउटा सदस्यले दिनमा बढीमा दुईवटा फोटो पोस्ट गर्न सक्छ । सदस्यका लागि केही खास नियम छन् । खिच्दा फ्ल्यास प्रयोग गर्न नहुने, चराको जंगली अवस्था वा ऊ स्वतन्त्र अवस्थाको तस्बिर हुनुपर्ने, पालेका वा मानिस नियन्त्रित हुन नहुने, आफैंले खिचेको हुनुपर्ने, गुँड, माऊबिनाका चल्ला र प्रजनन् गर्दै रहेका अवस्था हुन नहुने आदि । चराका तस्बिर लिनेहरूका लागि पालन गर्नैपर्ने यी खास नियमहरू पनि हुन् । समूहमा दैनिक सयौं तस्बिर अपलोड गरिन्छन् । तस्बिरपिच्छे दर्जनौं कमेन्ट लेखिएका हुन्छन् । चराका आनीबानी र वैज्ञानिक नाम थाहा नपाउनेका लागि समूहले खुला छलफलको फोरम पनि बनाइदिएको छ । दक्षिण एसियाली मुलुकका विभिन्न देशमा अर्थोकै पेसा गरे पनि चराका तस्बिर खिच्दा रमाउनेहरू यहाँ तस्बिर सेयर गर्छन् । 
धेरै चराचुरुङ्गी मान्छेका हस्तक्षेप सहँदैनन् । प्रतिकार नगर्लान् तर गुँडमा बाधा महसुस भए छाडेर जान्छन् । जो कसैले साना बचरा हुर्काउन र फूल सुरक्षा गर्न सम्भव हुने कुरै भएन । मैले सुगालाई बाधा पारेको थिइनँ । उसका गतिविधि निकै परको अग्लो घरको बरन्डाबाट खिचेको थिएँ । पुस्तक पल्टाएँ । मैले खिचेको पन्छी 'रोज रिङ्ड पाराकीट' भनिने कण्ठे सुगा थियो । यसको भालेको कठालोमा कालो-गुलाबी रंगको घेरा हुन्छ । पोथीको हुँदैन । हेल्म फिल्ड्स गाइड्सको पुस्तकमा नेपालमा सातथरीका सुगा पाइने उल्लेख छ । मकै खान मन पराउने सुगाले पहाडी गाविसहरूमा किसानलाई हैरान पार्छन् । 
एनिमल वर्ल्ड डटकमका अनुसार सुगा संसारभरका देशमा पाइन्छन् । हालसम्म १ सय २० प्रजाति र उत्तिकै उपप्रजाति पाइएका छन् । सामाजिक बानी, मान्छेका आवाजको नक्कल गर्न सक्ने खुबी र आकर्षक रूपरंगका कारण पाल्नेहरूले यो चराको किनबेचको बजार बढाएका छन् ।  
***
तीन हप्ता बित्यो । यस बीचमा चार दिनका लागि म काठमाडौं पनि पुगेर फिरें । दिनचर्याका अरू कामले फेरि त्यो सुगाको गुँड चिहाउन निकै पछि फुर्सद मिल्यो ।  गुँड देखिने ठाउँमा उभिएर फेरि एक घन्टा बिताएँ । सुगा जोडी र बचराको चालचुल देखिएन ।
नजिकैको चिया पसलेले बताए, अस्ति कुथुर्के समात्ने केटाले चढेर बचरा झिकेर लग्यो । त्यसपछि सुगा आएनन् । मैले त्यो केटाको ठेगाना सोधें । यकिन ठेगान थिएन, ऊ इटहरीमा कतै बस्न थालेको छ रे । सुगा पाल्छु भन्दै लगेछ । पाल्यो वा बेच्यो चिया पसलेलाई टुंगोको कुरा थाहा थिएन । यो संरक्षितमा पर्दैन । मैले फोटो खिच्दा मेरो चरा समूहले बनाएका कडा नियम सम्झीएँ । अनि लाग्यो, कसैका साना नानीहरू अपहरित हुँदाजस्तो भयो होला ती पन्छीका जोडीलाई । उनीहरूले उजुरीको कुनै निकाय पनि त छैन । तस्बिर खिच्न कसैले नियम पालन गरे पनि ब्याधाहरूलाई यस्ता नियमले भेट्दैन भन्ने पक्का भयो । आउँदा-जाँदा हिजोआज म फेरि त्यो गुँड हेर्छु । जोडी फेरि देखिएको छैन । गुँड रित्तो छ । 


(२०६९ असार २३ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित)

Friday, July 6, 2012

बैंस फुलेछ..



'हतारले डायरी छुटेछ आज,' हारमोनियम सम्हालेपछि मणिकमल क्षेत्री बोले, 'पूरा गीत सम्झन सक्तिनँ होला । जति याद हुन्छ त्यति सुनाउँछु ।' सुशीला कोइराला नाटकघरमा संगीतका श्रोताहरू खचाखच थिए । तिनलाई तीन दशकअघिको सांगीतिक दुनियाँमा पुर्‍याए । अरुणा लामाले गाएको यो गीत हरिभक्त कटुवालको रचना थियो,  जसलाई संगीतबद्ध गरेका थिए मणिकमलले ।






हाँगा हाँगा वनभरि चैत फुलेछ 
थाहा नपाई मनभरि बैंस फुलेछ... 

कपालले मित्रता छाडेपछिको शिर टल्काउँदै ६४ वषीय संगीतकार पनि विगतमै पुगे । 'पहिले एनालग रेकर्डिङको सिस्टम थियो,' उनले भने, 'रेडियो नेपालको फित्ते रेकर्ड जापान पुगेर मात्रै सुन्न मिल्ने भएर आइपुग्थ्यो । अहिले धेरै सुविधा छ ।' 
                   झापाको दमकमा रहेर संगीत साधनालाई निरन्तरता दिइरहेका उनी सुगम संगीतमै रमाए । उनले 'हिउँचुलीमा हिउँ बग्यो, 'थाकखोलामा पानी...' र 'पानीको हुन्छ मूल...' पनि सुनाए । आपmना पुराना सात गीत समेटेर एल्बमको तयारीमा रहेका उनी अहिले तीन नयाँ गीत आफैं गाउने अभ्यासमा छन् । 'रामकृष्ण ढकाललाई दिएको एउटा गीत मैले एल्बममा समेट्न खोज्दा म्युजिक कम्पनीले गायकको अनुमति लिएर आउनु भन्यो,' उनले भने, 'मैले संगीत दिएर पारिश्रमिकको नाममा केही नपाएको गीतको अनुमति मैले नै माग्नुपर्ने ? सुरुमा नराम्रो पनि लाग्यो । रामकृष्णले सजिलै अनुमति दिए ।' त्यो पनि अबको एल्बम आउनेछ ।

गोपाल योञ्जन, अरुणा लामा र नोर्देन रुम्बासँगका सम्झना बटुल्दै सुगम संगीतका लागि अझै धेरै गर्न सकिने उनले बताए । 'अहिले नेपाली गीतमा गजलको युग आएको छ,' उनले भने, 'यसले गीतमा स्तरीयता बढाउँछ ।' 
विराट कला केन्द्रको पाँचौं वाषिर्कोत्सव अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका मणिकमलले वरिष्ठ कलाकर्मी गणेश रसिकलाई सम्मान हस्तान्तरण गरे । कार्यक्रममा केन्द्रका प्रशिक्षार्थी कलाकारलाई अध्यक्ष उदीयमान गायक साजन राईले आपmनो गीत 'तिमी गयौ र यो दिल खाली भो...' बाट हौसला बढाए । कार्यक्रमको अन्त्यतिर कलाकर्मीलाई रसिकले पनि साथ दिए । कार्यक्रममा कलाकर्मीले नृत्य र प्रहसन पनि प्रस्तुत गरेका थिए । 

(२०६९ बैशाख ९ मा कान्तिपुर कला र शैलीमा प्रकाशित यो सामाग्री संग्रहका लागि ब्लगमा साभार)

सारंगी रेटियो लेटाङमा


सारंगी रेटौंला मौका मिले फेरि भेटौंला 
फेरि भेट्ने कैलेकैले मन पोल्छ ऐले
यत्रो दिन कसो गरी एक्लै बस्नु मैले...


परदेश हिँडेका पति छिट्टै आउने वाचा गर्छन् । अब कसरी बसँुला भन्दै पत्नी विरह बोल्छिन् । गीत चर्चित हुनुका पछि जिब्रोमा बसिहाल्ने लय र युगलका संवादमा मिलेको भाखा त हुँदै हो, त्यसमाथि अभिनेता हरिवंश आचार्यको स्वर पाउनु हो । यसको म्युजिक भिडियो पनि उत्तिकै मन पराइएकोमा पर्‍यो । गीत त्यसै बनेन । घरबाट टाढा विदेशमा रोजगारीमा रहेका सर्जकको घर आँउदा-जाँदाको अनुभव गीतका रूपमा पोखिएको हो ।  
जर्मनीको म्युनिखमा कार्यक्रम लिएर पुगेका मदनकृष्ण श्रेष्ठ र हरिवंशका लागि उद्घोषक थिए— खड्ग न्यौपाने । ठेट शब्दहरूको आधिक्य रहेको उनको लयात्मक बोलीमा सहभागीहरू मोहित भइरहेका थिए । रसिला उद्घोषक कलाकारहरूलाई झन् मन नपर्ने कुरै भएन । त्यहीँ सुनेको 'सारंगी रेटौंला...' हरिवंशले मागेर ल्याएर स्वरबद्ध गरे ।
म्युनिखमा एक दशकदेखि रोजगारी गर्दै रहेका मोरङको लेटाङका उनै न्यौपानेले यस घडी 'सारंगी रेटौंला' शीर्षकमा गीति संग्रह निकालेका छन् । 'बाल्यावस्थादेखि नै गीत गाउन मन पराउने र मञ्च उक्लिने' उनले गायनलाई निरन्तरता दिन सकेनन् । घर-व्यवहारले अर्को बाटो समाउन लगाएपछि उनको हात चल्न थाल्यो । परदेशका प्रसंग, गाउँघरका उकाली-ओराली, तल्लाघरे माथ्लाघरेका दिनचर्या, प्रेम र विरह आदि उनका विषय बने । यो संग्रहका ४१ गीतमा यस्तै सन्दर्भ छन् । 

आएँ मुग्लान सम्पत्ति कमाउन
पाइनँ केही फेदटुप्पो समाउन
काम छैन दाम पनि छैन 
बस्ने सुत्ने ठाउँ पनि छैन
परदेशको बास
जीवन बित्ने भो छैन केही आस...


लेटाङ बजारमा मंगलबार प्राज्ञ अनिरुद्र तिम्सिनाले 'सारंगी रेटौंला' सार्वजनिक गर्दै यसले परदेशमा बसेका नेपालीको भोगाइ र मातृभूमिप्रतिको प्रेमलाई चित्रण गरेको टिप्पणी गरे ।घर आएको मौका सदुपयोग गर्दै गाउँमै संग्रह विमोचन राखेको उल्लेख गर्दै न्यौपानेले भने, 'म गीत लयमा सोच्छु । लयमा लेख्छु ।'न्यौपानेका यसअघि 'आह्वान' र 'हल गोरु दाउँदै' (एल्बम), 'किसान' (कविता संग्रह) र 'प्रवास' (एकांकी) बजारमा आएका छन् ।


(कान्तिपुर कला र शैलीमा प्रकाशित मिति: २०६९ असार २१)