Saturday, July 7, 2012

रित्तो गुँड


कुथुर्केलाई बाँधेर राखेको केटोले भनेको थियो, 'मलाई सुगाजस्तो लाग्यो । त्यसैले समातेँ ।' किशोरावस्थामा चरा समात्नु कुन नौलो घटना हो र ! अनि गुलेली बोकेर हिँड्ने उमेर पनि १० देखि १७/१८ को हाराहारी चल्छ । मैले सम्झाएँ 'भाइ, यो सुगा होइन । छाडिदेऊ । जान देऊ यसलाई ।' उसले पनि मान्यो । छाडिदियो । एउटा 'फोकस आउट' चित्रको लघुकथा यहाँ सकियो । 
उसले जहाँबाट कुथुर्केलाई समातें भनेर देखाएको थियो, दोस्रो दिन मैले त्यो नरिवलको बोट वरपर दुई घन्टा बिताएँ । चर्को घाममा क्यामेरा बोकेर उभिएको मान्छे देखेर गोदामका पालेदाइ नजिक आए । भने 'हेर्नुस् भाइ, मैले देखेसम्म फटाहा केटाहरूलाई धपाउँछु । म नभएका बेला मौका लाउलान् भन्ने लागिराख्छ । आखिर जागिर चरा रुङ्नका लागि होइन । के गर्ने ?' उनले रुङ्ने गोदामछेउ विराटनगरको कलेज रोडमा तरकारी खेती गरिएको जमिनमा चरा आश्रय थियो । 
कुथुर्केका पछि लागेर पुगे पनि नयाँ दृश्य देख्न मिल्यो । यहाँ एक जोडा सुगा पनि बस्दा रहेछन् । कुथुर्केको जोडाको गुँडरूपी दुलाको केही मास्तिर । अलि ठूलो प्वालमा । मलाई देखेर धेरै बेर सुगा गुँडमा गएनन् । बगाले भ्याकुरको एउटा हूल हल्ला गर्दै आयो । उनीहरूले मान्छेरूपी शत्रुको उपस्थिति हल्ला गरे । सुगा करायो, कुथुर्के पनि करायो । केही बेरमा रूप्पी(डांग्रे) र काग पनि भेला भए । मानौं उनीहरू मलाई गाली गरिरहेका थिए, 'तँ यहाँ के गर्न आएको ? गै जा ।' मलाई पालेदाइले उनीतिर बोलाए । उनको सानो अफिस कोठामा 'बसौं' भने ।
 ***
'यो दोस्रोपल्ट हो,' राई थरका पालेदाइले सुनाए 'पोहोर एकपल्ट सुगाले चल्ला हुर्काएर उडाइसक्यो । यसपालि फेरि आएको छ ।' उनलाई संशय थियो सुगालाई कसैले पक्रेर लैजाने हुन् कि । आधा दर्जन नरिवलका बोटमध्ये पन्छीले डेरा बनाएको बोट बूढो भएर सुकेको थियो । टुपा थिएनन् ।
नाम र नम्बर टिपेपछि दाइ बोले 'म यहाँ खिच्न मिल्ने गरी केही भयो कि भाइलाई फोन गरूँला । मेरो पनि ड्युटी दुई ठाउँ बजाउनुपर्छ । यो गोदाममा परेका बेला चाहिँ याद गर्छु ।' सयौं मान्छेको दोहोरीलत्त भइरहने सडकछेवैको उनको टुंगो । भित्र आउनेहरू सामान राख्न, झिक्न, आउने गाडी, चालक-सहचालक वा रिक्सा-ठेलावाल हुन्छन्, कि त गोदाम कर्मचारी वा साहुजी । नजिकै वर्षौंदेखि आश्रय लिएका चरा धेरैको ध्यानमा पर्ने कुरा थिएन । त्यसैले यस्तो सोधीखोजी उनका लागि अचम्मको घटना थियो । भने 'पचास पुगियो होला, मैले आफैं सुगा घरमा मान्छेले पालेको मात्रै देखेको । गुँड लगाएर चल्ला हुर्काएको यहाँ देख्न पाउँदै छु ।'
गुँडमा फूल पारेर रुँगी बसेका केही चराका बानी अनौठा छन् । भालेले ल्याइदिएको खाने । भाले कतै गुलेली, बन्दुकको सिकार भए वा ब्याधाको फन्दामा परे पोथीको इहलीला गुँडमै सिद्धिने । अझ सन्तान कोरलेका जोडीहरू व्याधाद्धारा समातिए वा मारिए भने खान नपाएर चल्ला मर्छन् । 
***
तेस्रो दिन गोदामघरको गेटमा राई दाइ थिएनन् । सायद ड्युटी अन्तै थियो । पाले पोसाकमा अलि पातला काला-काला वर्णका अर्का एकजना भाइ थिए । दाइले मेराबारेमा उनलाई भनिसकेछन् । त्यसैले उनले सजिलै भित्र पस्न दिए । गोदाम हातासँगै उत्तरको पर्खालछेउ तस्बिरका लागि मेरो विषय त्यही ठुटो नरिवलको बुटो थियो । 
अस्ति म आउँदाताकाजस्तै हल्ला छ । चरा कराइरहेका छन् । नजिक पुगेपछि देखियो । मुन्तिर सेतो टाटेपाटे ढाडे बिरालो बसेको थियो । क्यामेरा सोझ्याएको देखेर ऊ झाडीमा लुक्यो । मेरो उद्देश्य त्यसलाई धपाउनु थिएन । तर, फेरि उसको फोटो लिन खोज्दा भाग्यो । फेरि देखिएन । 
प्रकृतिले सबै प्राणीका लागि जीवन-चक्रको सन्तुलन मिलाएको छ । एउटाले अर्कोलाई आहारा बनाउँछ । तर, यो नियममा आहारा बन्नेका वंश सिकारी जन्तुले पूरै नास्न सक्दैनन् । जोगिन सक्नेहरू वंश बढाउँछन् । मान्छेका हस्तक्षेप पन्छीका लागि प्रकृतिको सामान्य सिकारी जन्तुसरहको हुन सक्छ । तर, मात्रा बढ्ने हो भने सिकार गरेर बाँच्ने जन्तुका आहारा खोसिन्छन्, वंश बढाउन कसरत गर्ने पन्छीका समूल लोपको संघारमा पुग्छन् ।
***
भारतको दिल्लीका पंकज गुप्ताले कमेन्ट लेखिहाले- 'यो नियमविपरीत भयो । फोटो हटाउनुस् ।' चरा मन पराउनेहरूको फेसबुक समूह 'इन्डियन बर्डस्' मा सुगाको बचरो गुँडबाट बाहिर चिहाउँदै गरेको तस्बिर थियो, जसमा उनले कमेन्ट गरेका थिए । मैले प्रतिवाद गरिँन । तुरुन्तै तस्बिर हटाएँ । अनि उनलाई इ-मेल लेखें, 'पंकजजी, चराप्रति म पनि संवेदनशील छु । यो करिब ६० मिटरको दूरीबाट लिएको तस्बिर हो । खिच्दा चराले मेरो उपस्थिति थाहा पाएन । मैले उसलाई बाधा नगरी लिएको थिएँ ।' उनले उत्तर फिराएनन् ।
सामाजिक सञ्जालभित्र चराप्रेमीको समूहमा हाल ७ हजार ९ सय ४५ जना सदस्य छन् । एउटा सदस्यले दिनमा बढीमा दुईवटा फोटो पोस्ट गर्न सक्छ । सदस्यका लागि केही खास नियम छन् । खिच्दा फ्ल्यास प्रयोग गर्न नहुने, चराको जंगली अवस्था वा ऊ स्वतन्त्र अवस्थाको तस्बिर हुनुपर्ने, पालेका वा मानिस नियन्त्रित हुन नहुने, आफैंले खिचेको हुनुपर्ने, गुँड, माऊबिनाका चल्ला र प्रजनन् गर्दै रहेका अवस्था हुन नहुने आदि । चराका तस्बिर लिनेहरूका लागि पालन गर्नैपर्ने यी खास नियमहरू पनि हुन् । समूहमा दैनिक सयौं तस्बिर अपलोड गरिन्छन् । तस्बिरपिच्छे दर्जनौं कमेन्ट लेखिएका हुन्छन् । चराका आनीबानी र वैज्ञानिक नाम थाहा नपाउनेका लागि समूहले खुला छलफलको फोरम पनि बनाइदिएको छ । दक्षिण एसियाली मुलुकका विभिन्न देशमा अर्थोकै पेसा गरे पनि चराका तस्बिर खिच्दा रमाउनेहरू यहाँ तस्बिर सेयर गर्छन् । 
धेरै चराचुरुङ्गी मान्छेका हस्तक्षेप सहँदैनन् । प्रतिकार नगर्लान् तर गुँडमा बाधा महसुस भए छाडेर जान्छन् । जो कसैले साना बचरा हुर्काउन र फूल सुरक्षा गर्न सम्भव हुने कुरै भएन । मैले सुगालाई बाधा पारेको थिइनँ । उसका गतिविधि निकै परको अग्लो घरको बरन्डाबाट खिचेको थिएँ । पुस्तक पल्टाएँ । मैले खिचेको पन्छी 'रोज रिङ्ड पाराकीट' भनिने कण्ठे सुगा थियो । यसको भालेको कठालोमा कालो-गुलाबी रंगको घेरा हुन्छ । पोथीको हुँदैन । हेल्म फिल्ड्स गाइड्सको पुस्तकमा नेपालमा सातथरीका सुगा पाइने उल्लेख छ । मकै खान मन पराउने सुगाले पहाडी गाविसहरूमा किसानलाई हैरान पार्छन् । 
एनिमल वर्ल्ड डटकमका अनुसार सुगा संसारभरका देशमा पाइन्छन् । हालसम्म १ सय २० प्रजाति र उत्तिकै उपप्रजाति पाइएका छन् । सामाजिक बानी, मान्छेका आवाजको नक्कल गर्न सक्ने खुबी र आकर्षक रूपरंगका कारण पाल्नेहरूले यो चराको किनबेचको बजार बढाएका छन् ।  
***
तीन हप्ता बित्यो । यस बीचमा चार दिनका लागि म काठमाडौं पनि पुगेर फिरें । दिनचर्याका अरू कामले फेरि त्यो सुगाको गुँड चिहाउन निकै पछि फुर्सद मिल्यो ।  गुँड देखिने ठाउँमा उभिएर फेरि एक घन्टा बिताएँ । सुगा जोडी र बचराको चालचुल देखिएन ।
नजिकैको चिया पसलेले बताए, अस्ति कुथुर्के समात्ने केटाले चढेर बचरा झिकेर लग्यो । त्यसपछि सुगा आएनन् । मैले त्यो केटाको ठेगाना सोधें । यकिन ठेगान थिएन, ऊ इटहरीमा कतै बस्न थालेको छ रे । सुगा पाल्छु भन्दै लगेछ । पाल्यो वा बेच्यो चिया पसलेलाई टुंगोको कुरा थाहा थिएन । यो संरक्षितमा पर्दैन । मैले फोटो खिच्दा मेरो चरा समूहले बनाएका कडा नियम सम्झीएँ । अनि लाग्यो, कसैका साना नानीहरू अपहरित हुँदाजस्तो भयो होला ती पन्छीका जोडीलाई । उनीहरूले उजुरीको कुनै निकाय पनि त छैन । तस्बिर खिच्न कसैले नियम पालन गरे पनि ब्याधाहरूलाई यस्ता नियमले भेट्दैन भन्ने पक्का भयो । आउँदा-जाँदा हिजोआज म फेरि त्यो गुँड हेर्छु । जोडी फेरि देखिएको छैन । गुँड रित्तो छ । 


(२०६९ असार २३ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित)

No comments: