आठ वर्षअघि यो कारखाना पूर्णरूपमा बन्द भएको थियो। मजदुर-कर्मचारी सबैले अवकाश पाएका थिए। सरकारले फेरि यसलाई चलाउन टेन्डर आह्वान गर्यो। नौ महिनाअघि बहालका प्रक्रिया सिध्याएर जेठो कारखानालाई पुनः सञ्चालनमा ल्याएको उक्त प्रतिष्ठानले पूर्ण क्षमतामा सञ्चालन गर्न धेरै चुनौती छन्। यद्यपि इतिहास बोकेको विराटनगर जुट मिल पुनः चल्न थालेको छ।
विसं १९९३ मा स्थापित यो कारखानाको नाम मुलुकको औद्योगिक इतिहास खोतल्दा अग्रणीमा पर्नेमात्र होइन, विराटनगरकै इतिहाससमेत स्मृतिमा आउँछ। २००३ सालमा भएको मजदुर आन्दोलनपछि मजदुरले कारखाना छाडेर जहाँ हडताल/सभा गरे, त्यो ठाउँ 'हडतालीहाट'का नामले चिनिन्छ। राणाशासनविरुद्धको आन्दोलनको जग विराटनगरबाटै बसेको थियो। उद्योगको विकास, परिवर्तन र विभिन्न कालखण्डका राजनीतिक आन्दोलनको अगुवाइ गर्ने नेता जन्माउने यो सहर आफ्नै विकासको गतिमा भने कछुवा चालमा छ।
२०६४ सालको मधेस आन्दोलनपछि बसोबासका दृष्टिले सुरक्षित र सुगम मानेर सप्तरी, सिरहा, उदयपुर र धनुषाका वासिन्दाको मोह बढाएको नगर अहिले समग्र विकासका गुरुयोजना अभाव भोग्दैछ। चार दशक अघिसम्म गुलजार कारखानाहरू बन्द भएका छन्। बन्द गर्न नसकेर सञ्चालनमा ल्याइएका पनि समस्याग्रस्त छन्।
पूर्वप्रधानमन्त्रीहरू बिपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको राजनीति प्रारम्भको थलो विराटनगर नै थियो। परिवारको अंशबन्डापछि बनेका नयाँ भवनबीच पिताजी कृष्णप्रसाद कोइरालाको निवास मूल सडकबाट लगभग सोझै नदेखिने अवस्थामा पुगेको छ। यही घरले मुलुकलाई तीनवटा प्रधानमन्त्री दिएको थियो। कांग्रेसको 'तीर्थ' मानिने कोइराला निवासमा अब पहिलेजस्तो भीडभाड हुँदैन । समाजसेवी ८२ वर्षीय तोरेन्द्रमानसिंह प्रधान भन्छन्, 'यो नगरलाई व्यवस्थित गर्ने, पुराना धरोहर संरक्षित गर्ने कुनै योजना नभएर पछि पर्यो। सबै थोक काठमाडौं केन्द्रित भएकाले यस्तो भएको हो।'
विसं १९७१ मा रंगेलीबाट मोरङको सदरमुकाम विराटनगर सारिएको थियो। यो नगरले शताब्दी वर्ष मनाउने तयारी गरिरहँदा समग्र विकासका कुरा नयाँ-पुराना पुस्ता राजनीतिक नेतृत्वकै उदासीनतामाथि दोष थोपर्छन्। बिपी चिन्तन प्रतिष्ठान, मोरङका अध्यक्ष पिताम्बर दाहाल भन्छन्, 'अरु पार्टीका कुरा गर्दिन, तर कांग्रेसको नेतृत्वले विराटनगरका विषयमा सोचेन। सायद ज्यामी अर्काको घर बनाइरहेका हुन्छन्, आफ्नो भने लड्नै आँटेको हुन्छ भन्ने तथ्य लागू भएको हो।'
जनआन्दोलन-२ पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीसँगै राष्ट्रप्रमुखको जिम्मेवारीमा पनि थिए। त्यसबेला खानेपानी संस्थान, विराटनगरका इञ्जिनियर चण्डेश्वर साहसहित केही जागरुकले नगरको दीर्घकालीन विकासका लागि एउटा गुरुयोजना तयार पारेका थिए। ५० वर्षपछि नगर कस्तो हुन्छ ? पानी कसरी सबैलाई पुर्याउने, विमानस्थलको विस्तार कसरी सम्भव छ र खेलकुदका लागि लिइएको १५ बिघा जमिनमा कस्तो पूर्वाधार कसरी विकास गर्ने भन्ने योजना त्यसमा समेटिएको थियो। दुई साताभन्दा बढी लगाएर तयार पारिएको गुरुयोजना पुरा गर्न एक दशक लाग्ने र यसका लागि नेपाल एक्लैको लगानीले सम्भव नहुने भन्दै वैदेशिक सहयोग लिनुपर्छ भन्ने सुझाव समेटिएको थियो।
'गिरिजाबाबुको भारत भ्रमणअघि मैले त्यो गुरुयोजना बुझाउने वातावरण बनाएँ,' दाहाल भन्छन्, 'साहसँग हात मिलाएर परिश्रमका लागि उहाँले धन्यवाद दिनुभयो। तर दिन बिते, वर्ष बिते त्यो गुरुयोजना कहाँ पुग्यो थाहा नै छैन।' उनका अनुसार विराटनगरको जगमा उभिएर मुलुकको राजनीति हाँक्ने ठाउँमा पुगेकाहरूले फर्केर हेरेनन्। भन्छन्, 'विराटनगर यही भएर सबै योजनामा ठगिएको हो।'
गिरिजाप्रसादका सहपाठी तथा प्रजातन्त्र सेनानी ८७ वर्षीय भीमराज नौलखाको बुझाइ पनि यस्तै छ। भन्छन्, 'सत्ताको नेतृत्वमा पुग्ने मान्छे विराटनगरले नदिएको होइन, तर यो नगरलाई बनाउँ भन्नेमा उनीहरूले नै चासो लिएनन् ।' नगरसँग अहिले सडक सञ्जाल विस्तार, ढल निकास, फोहर प्रशोधन र बस्ती विकासमा योजना छन्। तर ती कागजमै मात्र सीमित छन्।
यसरी बन्यो विराटनगर
इतिहास र यात्राका पुस्तकमा विसं १९७१ मा तत्कालीन बडाहाकिम जितबहादुर खत्रीले नगरको जग बसाएको उल्लेख छन्। रंगेलीबाट सदरमुकाम सारिन अघि विराटनगरको नाम 'गोग्राहा' थियो। रंगेलीबाट गोश्वारा, मालपोत, अमिन, वनजाँच, हुलाक, जेल र अस्पताल यहाँ सारिए। विराटनगरको विगतबारे बेलाबखत लेख्दै आएका समालोचक दधिराज सुवेदीका अनुसार, १९७६ सालमा सिकार खेल्न आएका केशरशमशेर राणाले 'विराटनगर' नामकरण गरेका हुन्।
विराटनगरबाट ५ किलोमिटर दक्षिण बुधनगरको भेडियारीमा विराट राजाको दरबारको भग्नावशेष छ। पुष्टिका आधार कमजोर भए पनि भग्नावशेष भनिएको क्षेत्रमा प्राप्त माटाका सामग्री संकलन गरेर जतन गर्दै आएका कमलकिशोर यादव भन्छन्, 'यही विराट दरबार छ भनेर मान्छेहरूले थाहा पाएपछि गोग्राहाको नाम विराटनगर भएको हो।' महाभारत कालमा पाण्डवहरूले आश्रय लिएको विश्वास गरिने उक्त क्षेत्रमा अझै केही पुराना पोखरी छन्। भग्नावशेष क्षेत्र भनिएको स्थानलाई घेराबेरा लगाइएको छ।
रंगेलीबाट कार्यालयहरू सारिए पनि तराईमा औलो लाग्छ भनेर पहाडबाट बसाइ आउने चलन निकै कम थियो। विराटनगर जुट मिल स्थापनासँगै कारखाना आसपास मजदुर-कर्मचारीका लागि सुविधायुक्त आवासगृह बनाइए। विराटनगर-१९ का आइतबहादुर तामाङ भन्छन्, 'यसका दुई कारण थिए। पहिलो, दक्ष कामदार भारतबाटै ल्याउनुपर्थ्यो। तिनीहरूलाई टिकाइराख्न क्वार्टर चाहियो। दोस्रो, नेपाली कामदार काममा लागिहाले भने पनि नभागुन् भनेर सुविधा दिनलाई।'
जोगवनीसम्म आउने रेलको ट्रयाक जुट मिलभित्रै आउन सक्ने बनाइएको थियो। चाहिने कोइला ल्याउने, तयारी जुटका उत्पादन भारत निर्यात गर्न कारखाना परिसरबाटै व्यवस्था मिलाइएको थियो। प्राध्यापनमा लामो समय बिताएका विश्वराज पाण्डेका अनुसार, त्यसबेला विराटनगरका दुई भाग थिए - बजार क्षेत्र र मिल्स एरिया। बजार क्षेत्रमा भन्दा मिल्स एरियामा कारखाना थिए। चहलपहल थियो। भारत आउजाउ गर्न, किनमेल गर्न सजिलो थियो। बजार क्षेत्रमा कोइराला परिवारकै पहलमा भारतीय मारवाडी व्यापारीहरू बोलाएर व्यापारिक वातावरण बनाउने काम भयो। विस्तारै धान र जुटका खरिद-बिक्रीका गोला खोलिए। विराटनगरको कुनै समय फस्टाएको व्यापार धानको किनबेच थियो।
विराटनगरबासी भाषाशास्त्री बालकृष्ण पोखरेलका अनुसार, औलो नियन्त्रण हुनथालेपछि २०१९ सालदेखि यहाँ बसाइ आउने बाक्लिए। २००५ सालमा खुलेको मोरङ सुगर मिल्स जाडो याममा ६ महिना चल्थ्यो। पहाडको चिसो छल्दै जागिर पनि खान पाइने भएपछि भोजपुर, ओखलढुंगा, खोटाङ लगायत पहाडी जिल्लाबाट काम गर्नेहरू झर्न थाले।
यहाँको आदर्श विद्यालय मुलुकमै दोस्रो पुरानो शिक्षालय हो। कृष्णप्रसाद कोइरालाको सक्रियतामा १९९६ सालमा यो स्कुल खुलेको हो। विराटनगरलाई चाहिने विद्युत आपूर्तिका लागि लेटाङ नजिक चिसाङ खोलामा मोरङ हाइड्रो इलेक्ट्रिक कम्पनीको उत्पादनगृह र मिल्स एरियामा वितरण केन्द्र स्थापना गरिएको थियो।
चिसाङको उत्पादनगृह २०२३ सालमा बाढीले पुरेपछि काम नलाग्ने भयो। धेरै विद्युत खपत हुने भएकाले विराटनगर जुट मिलले भने आफ्नै जेनेरेटर राखेको थियो। २००९ सालमा त्रिभुवन स्मारक अस्पताल (हालको कोशी अञ्चल अस्पताल) र रत्नराज्यलक्ष्मी मातृसेवा सदन निर्माण भयो। जेठो कारखाना जुट मिलसँग पुराना वामपन्थी र कांग्रेस नेताका अतीत जोडिएका छन्।
२००४ सालमा मजदुर आन्दोलन भयो। मातृकाप्रसाद, गिरिजाप्रसाद र मनमोहन अधिकारीको आन्दोलनका सुरुवाती दिन जुट मिलबाटै अघि बढेको थियो। जुट मिल सुचारु भएपछि उक्त क्षेत्रमा जुद्ध म्याच फ्याक्ट्री, गणपति कटन मिल, रघुपति जुट मिल लगायत कारखाना थपिए। विराटनगर जुट मिलले पहिलोपटक मुलुककै आद्योगिक उत्पादनको निकासी व्यापार सुरु गरेको थियो।
२००७ सालमा क्रान्तिताका मिल्स एरियाबाटै तारिणीप्रसाद कोइरालाले रेडियो पनि चलाए। त्यो रेडियो नेपालको सूत्रपात गर्ने एउटा आयाम बनेको थियो। विसं २०१९/२० नगरका लागि स्तरोन्नतिको समय थियो। यी कालखण्डमा शिक्षालय खुले, राजनीतिक चेतनाको स्तर बढ्यो र उद्योग खुल्ने क्रमले पनि तीव्रता पायो। पहाडबाट बसाइँ आउने र पढ्नका लागि दूरदराज क्षेत्रबाट सन्तानलाई यहाँ राख्ने अभिभावक बढे।
मातृकाप्रसाद कोइरालाले पनि मारवाडी व्यापारीका लागि विराटनगर बसाइ र व्यापारको वातावरण सहज बनाउन भूमिका खेलेका थिए। मोरङ व्यापार संघको स्मारिकामा प्रकाशित उनको लेखअनुसार मारवाडी व्यापारी भित्रिएपछि विराटनगरको उद्योग व्यापारले गति लिएको हो।
मातृकाप्रसाद प्रधानमन्त्री हुँदा नै पहिलो सिनेमा घर हिमालय टाकिज खुलेको थियो। पछि रानी क्षेत्रमा अरुण सिनेमा र बजार क्षेत्रमा जलजला हल थपियो। २००७ फागुन ७ मा नगरका व्यापारीले मोरङ मर्चेन्ट एसोसिएसन (मोरङ व्यापार संघ) दर्ता गराए ।
संघका अध्यक्ष अविनाश बोहरा भन्छन्, 'हाम्रो संगठन देशकै पहिलो उद्योग वाणिज्य संघ हो।' संघले स्थापनायता नगरमा विभिन्न सामाजिक काममा व्यापारीको योगदानका लागि ठाउँ फराकिलो पार्दै आयो। बिपी कोइराला प्रधानमन्त्री भएपछि रामलाल गोल्छाले रानी क्षेत्रमा हुलास स्टिल कारखाना खोले। उनको पहिलो कारखाना भएकाले यो उद्योग अहिले पनि नामकै लागि सञ्चालनमा छ।
कसरी पछि पर्यो ?
गतवर्ष ६० करोडको एउटा परियोजनाका लागि उपमहानगरपालिकाले जग्गा खरिद गरे पनि त्यसलाई टिकाउन सकेन। इटहरी, धरानलगायत पूर्वका विभिन्न नगरका फोहोर संकलन गरी तह लगाउने ल्यान्डफिल र प्रशोधन केन्द्रको परियोजना फिर्ता जानुको मूलकारण सामाजिकभन्दा पनि राजनीतिक बढी थियो।
डंग्राहा गाविसका लागि छनोट गरिएको स्थानमा विरोध भयो। उपमहानगरपालिका राख्नैपर्ने र त्यसबाट स्थानीयलाई असर नपर्ने बलियो कारण पेस गर्नुको साटो मौन बसिदियो। दातृ निकायको सहयोगमा छनोटमा परेको परियोजनाले विरोध झेल्न सकेन। फिर्ता गयो।
नगरका योजना असफल हुनु यो पहिलो थिएन। राणा र पञ्चायतका शासक हुन्जेल नगर क्रान्तिकारीको उद्गमस्थल थियो, जसका लागि उनीहरू न कुनै ठूला योजना दिन्थे, न त नेताहरूले नै आफ्नो नगरको हितमा लडाइ गरे।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा भन्छन्, 'पहिले शासकहरूले शंकाको दृष्टिले हेरे, पछि यहाँका नेताहरू सत्ताका जिम्मेवार भएपछि पनि विराटनगरका विषयमा सोचिदिएनन्।' उनका अनुसार २०४६ को आन्दोलन अघिका केही वर्षदेखि नै विराटनगरको रौनक घट्दै आएको हो। निर्यात व्यापार र नेपाली बजारका लागि चाहिने उत्पादन गर्ने कारखाना र उद्योगी भएको विराटनगर विस्तारै शिथिल हुँदै आयो। यहाँबाट उद्योग व्यापार थाल्ने ठूला घराना दुगड र गोल्छाले काठमाडौंमा व्यापार विस्तार गर्दै लगे।
उद्योगी मोती दुगडका अनुसार, पछिल्लो समय उद्योग व्यापारका लागि प्रतिकूल बनेको वातावरणले पनि नगरलाई फस्टाउन नदिएको हो। दुगड समूहका प्रबन्धक तथा कवि लक्ष्मण नेवटिया भन्छन्, 'सबैले बेवास्ता गरेको परिणाम हो । पहिले राजनीतिक पूर्वाग्रहले काम गर्यो, पछि नेताहरूमा भिजन नभएको हो।'
मोरङ व्यापार संघका अध्यक्ष बोहराका अनुसार, पूर्वाधारका लागि पछि परे पनि आसै मार्नुपर्ने केही छैन। भन्छन्, 'अरुण-३ हाम्रो आस हो। विद्युत भयो, किमाथांका-जोगवनी सडक सुचारु हुने हो भने फेरि दिन फर्कन्छ।'
नगरको आर्थिक सामर्थ्य वृद्धि गर्न सम्बद्ध निकाय र जिम्मेवार नेताहरू उदासीन भइदिँदा विकासे योजना अलपत्र छन्। २०५८ सालमै बनाउने घोषणा भएको नगरको ४२ किमि चक्रपथको कामले अझै गति लिएको छैन। यसका ३९ किमि बाटो खुला गरियो। बर्सेनि सानो अंशमा बजेट विनियोजन हुने दोषसम्बद्ध निकायलाई देखाएर कर्मचारी चुप लागेर बसेका छन्। नयाँ बसपार्क बनाउने प्रस्ताव दुई वर्षदेखि अलपत्र छ। त्यसका लागि जर्मन विकास बैंकले दिने १८ करोड अनुदानको प्रस्ताव गरेको थियो। अनुदानको ७५ प्रतिशत रकम बसपार्कसँगै बन्ने व्यावसायिक भवनमा पनि लगानी गर्ने उपमहानगरपालिकाको सोचका कारण बैंकले प्रस्ताव सच्याउन भन्यो। कार्यकारी अधिकृत फेरिए। परियोजना अघि बढ्न सकेन।
भारतीय लगानीमा मुलुकका चार नाकामा प्रस्तावित संयुक्त भन्सार जाँच चौकी निर्माण विराटनगरको भागमा पनि परेको छ। अहिले सीमावर्ती जोगवनीमा त्यसका लागि पूर्वाधार निर्माण करिब अन्तिम चरणमा पुगिसकेको छ। तर नेपालतर्फ जग्गा अधिग्रहण भइसके पनि गति लिनसकेको छैन। संयुक्त जाँच चौकी निर्माणपछि विराटनगरसँग जोडिएको कटहरी गाविससम्म मालबाहक रेल ल्याउने योजना छ। रेलवे मार्गको निर्माणका लागि काम भइरहेको छ। तर जाँचचौकी निर्माणको काम अझै थालिएको छैन।
वर्षाको पानीले निकास नपाएर विराटनगर बेला-बेला जलमग्न हुन्छ। ढल व्यवस्थापन गर्न एसियाली विकास बैंक, नेपाल सरकार र उपमहानगरको २ अर्ब ४० करोडको योजनामा ठेकेदार छनोटको काम गत महिना सकिएको छ।
प्रशस्त सम्भावना
कुनै समय कोशी पहाडमा बन्ने अरुण-३ जलविद्युतको आस गरेर नगरमा होटल व्यवसाय थालेकाहरूमा अहिले फेरि आस जागेको छ। जेठो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ। बथनाहा-कटहरी १८ किमि रेलमार्ग निर्माणको धमाधम छ। आँखा उपचारका लागि चारवटा अस्पताल सञ्चालनमा आएका छन्। यिनमा दुई अस्पताल अत्याधुनिक प्रविधिसहितको भएकाले उपचार गराउन भारत, भुटान र बंगलादेशबाट समेत बिरामी आउन थालेका छन्।
निजी क्षेत्रको विराट अस्पताल, न्युरो अस्पताल र सहकारी अस्पतालले लगानी र प्रविधि विस्तार गरेका छन्। गत महिनादेखि न्युरोमा २० करोडको लागतमा मुटुरोग उपचार सेवा थपेका डा. वीरेन्द्रकुमार विष्ट भन्छन्, 'हामीले अत्याधुनिक क्याथल्याव प्रविधि भित्र्यायौं। उपचारको लागि अब अन्त जानु पर्दैन।' उनकै शब्दमा अब विराटनगर स्वास्थ्य उपचारको सेवाका लागि राजधानीभन्दा कम छैन। कञ्चनबारीमा खुलेको नोबेल मेडिकल कलेजले अध्यापनसँगै उपचारको सेवाको क्षेत्र पनि फराकिलो पारेको छ।
पत्रकार मोहन भण्डारीका भनाइमा, 'सम्भावना कहिल्यै टर्दैन। योजना कार्यान्वयन गर्नेहरू गम्भीर हुन जरुरी छ।' अरूण-३ आयोजना निर्माणपछि पूर्वको विद्युत संकट कम हुने सम्भावना उनले देखेका छन्। तिब्बतसँग जोडिने किमाथांका नाकासम्म सडक सञ्जाल विस्तार भए विराटनगर भएर भारत र चीनबीच सम्पर्क हुने देखिन्छ। विराटनगरबाट कोलकाता, बंगलादेश र भुटान पनि धेरै दुरीमा पर्दैनन्। तेस्रो मुलुकबाट कोलकातामा सामान आइपुग्छ। त्यहाँबाट विराटनगर ल्याउँदा सडकमार्ग ५५२ किलोमिटर पर्छ। यो वीरगन्जभन्दा २२५ किमिले नजिक हो।
नगरको टोल संगठनका अगुवा केदार कार्कीका अनुसार, पूर्वाधार विकासमा ध्यान दिने हो भनेमात्रै पनि विराटनगर उद्योग, व्यापार र बसोबासका लागि उत्तम थलो बन्छ। भन्छन्, 'यहाँबाट पूर्वको जहाँ गए पनि एयरपोर्ट छ, सडक सञ्जाल छ। अनि भारतको जहाँ पुग्न पनि जोगवनी नजिक छ।'
भारतीय रेलवेले सेवा विस्तार गरी ब्रोडगेज लाइन बनाएर साताका दुई दिन कोलकाता र दिल्ली जोगवनीबाट सोझै यात्रा गर्न सकिने बनाएपछि यात्रा सहज भएको छ। उनी भन्छन्, 'यसको फाइदा नेपालीकै लागि हो। यात्रु ओसार्नेमात्रै होइन, उद्योगका कच्चा पदार्थ पनि रेलमा ल्याउने वातावरण मिलाउन सरकारले पहल गरे वीरगन्जका तुलनामा यहाँका उद्यमीलाई सहुलियत हुन्छ।'
गतवर्ष विराटनगरको समग्र विकासका लागि चिन्तितहरूले २०६७ वैशाखमा एउटा बृहत् छलफल चलाए। त्यसमा विकासका सम्भावनाको खोजीका लागि १३ बुँदे घोषणापत्र पनि जारी गरियो। एकीकृत भन्सार चौकी, चक्रपथ निर्माण, विमानस्थल स्तरोन्नति, विद्युत आपूर्तिमा सुधार र पर्यटन गुरुयोजना त्यसका प्रमुख बुँदा थिए। विशेष आर्थिक क्षेत्र घोषणा हुन नसक्दा विराटनगर पछि परेको ठहर गरेको छलफलले घोषणापत्र जारी गरेर सम्भावनाका ढोका फराकिलो रहेको देखाएको थियो।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रदीपकुमार निरौला भन्छन्, 'सम्भावना टरेको छैन। भर्खर हामीले २ अर्ब ४० करोडको सडक, ढल र नगर विकासको एकीकृत योजना अघि बढाएका छौं। कार्यान्वयन सुरु भए लगत्तैदेखि विराटनगरको रूप फेरिन्छ।' विराटनगर-धरान प्रस्तावित ६ लेन सडकका लागि राजमार्ग आसपासका घरटहरा हटाउने काम सुरु भएको छ। अर्थात् राजनीतिमा दख्खल राखेर अघि बढ्ने नेताहरू अब विराटनगरबाट फेरि निस्कन समय लाग्ने देखिए पनि नगरको विकासका सम्भावना जीवित रहेको देख्ने धेरै छन्।
क्षेत्रफल : ५८ वर्ग किलोमिटर
जनसंख्या : २ लाख ४ हजार ९ सय ४९
अस्पताल/नर्सिङ होम : २४
बैंक/वित्तीय संस्था : ५२
कलेज : १८
उच्च मावि : ५६
सामुदायिक विद्यालय : २२
निजी विद्यालय : ९९
मदरसा : १९
***
कान्तिपुर दैनिकमा २०७०/१०/४ मा प्रकाशित