बर्माबाट इलम लिएर फिरेका पोखराको भीमसेनटोलका सिद्धिलाल चुल्याजुले बिस. १९९० मा खोलेको पसलको परम्परालाई उनका सन्तानले निरन्तरता दिएका छन् । अन्तका मिठाइ पसलेका तुलनामा पोखरेली चुल्याजु स्वाद पृथक छ ।

चाडबाड सुरू भएयता यो पसलमा आएर जेरी किन्ने धेरै छन् । दसैंमा भेला भएपछि चुल्याजुका पसलका मिठाइ ल्याएर खानु बितेका यहाँको भैरव, गणेशटोल, नालामुख, भीमसेनस्थानका धेरै परिवारका लागि भेटघाटको सुखद संयोग बनेको छ ।
पसल यतिबेला पा“च भाइ चुल्याजुमध्येका कान्छा ५० वर्षीय राजकुमार र उनकी जीवनसंगिनी दयालक्ष्मीले सम्हालेका छन् । मुख्य बजार क्षेत्रबाट विन्ध्यवासिनी मन्दिर जाने बाटोमा पर्ने पसल कुनै अत्याधुनिक शो-केस, खानेबस्ने टेबुल कुर्सी आकर्षक सजावट भएको भने छैन । तीनवटा ग्यास चुला, तिनमा खानेकुरा पकाउँदा निस्कने वाफ-धुँवा बाहिरिने ठाउ“मा आधुनिक पाराको टीनको भान्से-चिम्नी । केही टेबुल-कुर्सी सामान्य खालको काठको पुरानो शो-केस । हेर्दा सामान्य लाग्ने भएपनि उपमहानगरभरि चुल्याजुका मिठाइको ख्याति निकै छ । 'पुरानो पसल हो, हामीले बिस्तार गरेर सजावट नगर्नुको पनि कारण छ,' राजकुमारले भने 'यहाँ बसेर खानेभन्दा अर्डर दिएर जेरी, गजा-खस्टा, लालमोहन र एैंठे घर लैजाने धेरै हुन्छन् । बसेर खाने धेर नआउने ठाउँमा सजावटको के काम ।'
मल्लकालमै पोखरा आउने नेवार परिवारको इतिहास छ, जसले यहाँ व्यापार थाले । आफ्ना संस्कृति जोगाए । भक्तपुरबाटै आएमध्येको एउटा परिवार चुल्याजु पनि हो । भारतीय र ब्रिटिस सेनाको भर्तीमा गएर लाहुरे बनेका साथीहरू देखेका २९ वर्षीय सिद्धिलाल चुल्याजुलाई पनि रहर लाग्यो । १९८५ मा घर छाडेर हिँडे । भर्ती त हुन सकेनन् तर, उनले पाँच वर्ष बर्मामा बिताएपछि घर फिर्दा एउटा गरिखाने इलम लिएर आए । इलम थियो- मिठाइ बनाउने । भुत्ते भनिने सिद्धिलालले स्थानीय साहु चन्द्रबहादुर बाटाजुबाट ऋण लिएर विस १९९० मा नालामुखचोकमा पसल खोले । नाम चल्यो- भुत्तेको मिठाइ पसल । उनले छिटै ऋणमात्रै तिरेनन्, पसलको आम्दानीले उनका सन्तानको सुखी जीवनका लागि मार्ग सरल बनायो ।

२०१५ सालमा राजा महेन्द्र पोखरा आएका थिए । र्सवज्ञमान प्रधानांग त्यसताका उद्योग वाणिज्य संघ सभापति थिए । उनले राजाको स्वागतमा नगरमा दुइ सयवटा हाराहारी स्वागतद्धार बनाउन लगाए । ती द्धारमध्ये एउटाले निकै चर्चा पायो । महेन्द्रले ती बनाउनेलाई लेकसाइडको रत्नमन्दिरमा बोलाए र, तिनको हातबाट बनेका परिकार तत्कालीन राजपरिवारले चाखे । सिद्धिलालले सेलरोटी र जेरीको स्वागतद्धार बनाएका थिए, जो त्यसताका सबैका लागि अनौठो थियो ।
परिस्थितिका कारण सिद्धिलालले तीनपटक विवाह गरेका थिए । जेठीबाट दुइ छोरी, माइलीबाट एक छोरा र कान्छीबाट चार छोरा भए । २०२७ सालमा उनी दिवंगत भएपछि छोराहरूमध्ये केहीले अल्पकाल पसल हेरे । अन्ततः पृथ्वीनारायण क्याम्पसमा नेवि संघको राजनीतिमा चाख राख्ने कान्छा छोरा राजकुमारले जिम्मेवारी लिए । आइए पढ्दा उनी डेढ महिना थुनामा पनि परेका थिए । तर, पसलको जिम्मेवारी लिएपछि पढाइ छुट्यो । हातमा आयो मिठाइ बनाउने जिम्मेवारी ।
यतिबेला राजकुमार र दयालक्ष्मी दिनहुँ पसलमा मिठाइ बनाइरहेका भेटिन्छन् । 'हामी धेरै अर्डरको काम गर्र्छौ,' दयालक्ष्मीले भनिन्, 'पुरानो पसल भएकाले ग्राहक पनि पुरानै छन् ।' उनका अनुसार समान्यतया दिनको सरदर ६ हजार रूपैयाँ हाराहारीका परिकार बनाइन्छ । अर्डरका बेला दिनमा २० हजार बराबरीका मिठाइ तयार पार्ने गरिएको छ । जमानामा पुरी, तरकारी र चिया पनि बेच्ने भुत्तेको मिठाइ पसलले अहिले जेरी, गजा-खस्टा, लालमोहन र एैँठेमात्रै बनाउँछ । 'हामी रंग हाल्दैनौ, एक किलो मैदाको मुश्किलले ३० वटा बन्छ,', उनले भनिन्, 'त्यसैले धेरै डिमान्ड जेरीकै हुन्छ । हामी जेरी नै धेरै बनाउँछौ । यहीँ बसेर खानेभन्दा लाने धेरै हुन्छन् ।'

(१९ असोज २०७३, कान्तिपुरको भित्री पानामा प्रकाशित / ब्लगमा संग्रहका लागि थोरै थपथापसहित)
No comments:
Post a Comment