Tuesday, February 10, 2026

रातो बत्तीमा किन आउनुभयो ?


बबरमहलमा आर्ट ग्यालरीबाट निस्केर माइतीघरतर्फ लागौं वा नयाँ बानेश्वर, सवारीचालकले ट्राफिक बत्तीको संकेत हेक्का राख्नै पर्छ। यो बाटो मैले धेरैजसो आउजाउ गर्दै रहेको हो। त्यसैले बत्ती रातो, पहेँलो, नीलो के छ भन्ने नहेरी अघि बढिन्न। पहेँलो बल्यो, नीलो बल्यो मैले मोसा अघि बढाएँ। 

जिल्ला अदालत अगाडि सडकमा अर्को ट्राफिक लाइटले पर्खिरहेको थियो। साँझको करिब ५ बजेको थियो। दुइटा अरु दुई पांग्रेसँगै अघि बढियो, स्पीड करिब २५/३० किमि प्रति घण्टाको थियो। टायरले जेब्राक्रस छोयो, माथि पहेँलो बत्ती पिलिक्क गरेको देखियो। 

रातो बल्न अघि पहेँलो सवारी रोक्ने संकेत हो। तर, मलाई लाग्यो रोकौं भने पछाडिबाट आइरहेका सवारीले मलाई ठोक्छन्। म अघि बढेँ। आर्क ब्रिज नपुग्दै सडकमा दायाँबायाँ दुई ट्राफिक प्रहरी थिए। दुवैले मोटरसाइकल रोक्न संकेत गरे। 

मसँगै एउटा स्कुटर र एउटा मोटरसाइकल रोकियो। उनीहरु मभन्दा केही अगाडि पुगेर रोकिएका थिए।
म - के भयो किन रोक्न लाउनुभएको ? 
ट्राफिक - तपाइँ रातो बत्तीमा आउनुभयो। 
म - म रातो बत्तीमा आएको छैन। 
ट्राफिक - तपाइँ रातो बत्तीमै आउनुभएको हो। मैले देखेको। 
यति भनेर ती ट्राफिक केही अगाडि रोकिएको स्कुटरतर्फ गए। म रोकिएर हेरिरहेँ। उनले केहीबेर स्कुटर चालक महिलासँग वार्तालाप गरे। अनि उनलाई जान दिए। मनजिक रोकिएका अर्का मोसा चालकलाई अर्का ट्राफिक प्रहरीले केरकार गरिरहेका थिए। मानौं, हामीहरु मान्छे मारेर भागेकाहरु हौं। 

स्कुटरलाई पठाएर बाटो काट्ने एउटा हुललाई वारिपारि गराएपछि अघिका तिनै प्रहरी मेरा अगाडि प्रकट भए। 
 - खै तपाइँको लाइसेन्स ल्याउनुस्। 
- किन दिने लाइसेन्स? 
- तपाइँ रातो बत्तीमा आउनुभएको हो। 
- होइन म रातो बत्तीमा आएकै छैन। म जेब्रामा आइपुग्दा पहेँलो बलेको थियो। म पहेँलोमा क्रस भएको हो, रातोमा होइन। 
- तपाइँलाई जरिवाना लाग्छ। 
- पहेँलो बत्तीमा पनि लाग्छ? 
- लाग्छ, तपाइँलाई ट्राफिक नियम थाहा छैन? पहेँलो भनेको रोक्नुपर्ने संकेत हो। 

*** 
एक पटक मिनभवनतिरबाट आएर नयाँ बानेश्वरमा मलाई बिजुलीबजारतिर जानुपर्ने थियो। मैले मोड्ने ठाउँमा आइपुग्दा पुग्दै रातो बत्ती बल्यो। हतारिएर आएको मैले झ्याप्प ब्रेक लगाएर रोकिँए। मेरो पछाडि एउटा नयाँ स्कुटर तीव्र गतिमा आइरहेको रहेछ। 

मैले अचानक रोकेपछि त्यो स्कुटर मेरो मोसाको लेगगार्डमा जोडसँग ठोक्कियो। त्यसको अगाडिको भागमा क्षति भयो। प्लाष्टिकका कभरहरु फुटेर सडकमा छरियो। पँहेलो रङको स्कुटर थियो, नयाँ। शायद भर्खरै मात्रै किनेको हुनुपर्छ। 

स्कुटरमा दुई जना सवार थिए। चालक टेम्परमा आए। उत्रिएर मसँग 'किन बाइक रोकेको? यसको क्षतिपूर्ति तपाइँले गर्नुपर्छ' भने। मैले 'हेर्नुस् अगाडि रातो बत्ती बलेको देखिदेखि म कसरी अगाडि जानु? तपाइँले विस्तारै आउनुपर्थ्यो' भनेँ। उनी निकै झोँक्किए। 

रातो बत्ती बलेकाले रोकिएर रहनुको विकल्प थिएन। उनले भने 'म केही जान्दिन यो टुटफुटको जिम्मा तपाइँले लिनुपर्छ।' मैले भने 'मेरो गल्ती नै छैन कसरी यसको जिम्मा म लिन्छु?' उनी झगडा गर्ने मुडमा थिए। अलिकति तनाव भयो। के गर्ने होला भनेर मैले चोकका ट्राफिक प्रहरीतर्फ हेरेँ। 

ती ट्राफिक बीटबाट प्रहरी हाम्रो नजिक आए र भने 'मैले देखिरहेको थिएँ।' उनले स्कुटरचालकलाई भने 'तपाइँ बत्ती देख्नुहुन्छ?' अनि उनले मलाई भने 'तपाइँको गल्ती छैन। जानुस्।' अचानक हरियो बल्यो, स्कुटर चालकलाई वास्तै नगरी म अघि बढेँ। उनी मेरो पछि-पछि थिए। तर, अगाडि गइरहँदा कता गए भनेर मैले चासो दिइँन। 

***
पहिलो पटक जरिवानामा पर्दा मलाई रातभर निन्द्रा लागेको थिएन। श्रीमती र म कालिमाटी गएका थियौं। कालीमाटी तरकारी बजार जानु थियो। टेकुबाट कालीमाटी जाँदा बाटोमा दायाँ पर्छ तरकारीको थोक बजार। तर, यताबाट जाने सवारीले दायाँ मोड्न नपाइने  रहेछ।

म मोसामा सरासर गएँ। ट्राफिक प्रहरी गेटैमा उभिएर हेरिरहेका थिए। दायाँ मोडेँ। भित्र पसेँ। मोसा बिस्तारै थियो। म केही अगाडि बढेपछि ती प्रहरी कराए- 'रोक्नुस् रोक्नुस्।' मैले रोकेँ। उनी दौड्दै आए। चिट झिके, अनि भने 
- लाइसेन्स ल्याउनुस्।
- किन र ? 
- तपाइँले ट्राफिक नियम उल्लंघन गर्नुभो।
- लौ ! कसरी ? 
- यहाँ दायाँ मोड्न पाइँदैन। तपाइँ दायाँ मोडेर आउनुभयो।
- ओहो लौ थाहा थिएन। अनि यता मोड्न पाइँदैन भन्ने बोर्ड कहाँ छ? कतै संकेत देखिन्न, कसरी थाहा पाउनु?
- ल हिँड्नुस्। बोर्ड म देखाउँछु। 
मोटरसाइकल रोकेँ। उनको पछि लागेँ। बाटामा गेटभन्दा केही पर बोर्ड रहेछ - दायाँ मोड्न निषेध। 

गल्ती गरिएकै हो। अब गाह्रो भयो। मैले जरिवानाबाट उम्किने प्रयास गरेँ। 
- हेर्नुस् बोर्ड त्यहाँ छ, उताबाट आउनेले देख्तैन। तपाइँ गेटमा हुन्हुन्थ्यो, यता आउन पाइँदैन भन्ने संकेत गरिदिनुभएको भए मलाई जरिवाना तिर्न केको सोख !
- त्यो म जान्दिन। लाइसेन्स दिनुस्।
- एक पटक हो। पहिलोपटक हो, जानाजान होइन, छाड्दिनुस्। 
- हुँदैन। हामीले छाड्न मिल्दैन। हामीले छाडेर तपाइँहरुले गुन मान्ने हो र ! मलाई थाहा छ तपाईहरु त राम्रो काम गरे पनि पुलिसलाई गाली नै गर्नुहुन्छ नि। 
  
मैले लाइसेन्स दिनै परो। दिएँ। उनका कुरा सुनेँ। उनी पहिल्यै नछाड्ने नियतका साथ तयार सुनिएपछि गलफती गर्नुको अर्थ थिएन। बढी सवालजवाफ गरेर बढी जरिवाना गर्न पनि सक्छन्। म उनलाई सुनिरहेँ। उनले चिट काटे। जीवनमा पहिलोपटक कुनै ठूलो दुर्घटना गरेको जस्तो लाग्यो। २०८१ भदौको शनिबारको दिन थियो त्यो।

उनले चिट थमाएपछि भने - 'जरिवाना बुझाएर लाइसेन्स लानुहोला।' मैले दिने जवाफको उनलाई प्रतीक्षा थिएन। बाटो लागे। उनको कम्मरको ब्यागमा मजस्ता थुप्रैको लाइसेन्स थिए। शायद यस्तै परेको होला भन्ठाने।  

म जरिवानामा परेको थिइँन। त्यसैले लाइसेन्स फिर्ता लिन जानुपर्ने ठाउँ थाहा थिएन। भोलिपल्ट बग्गीखाना पुगेँ। त्यहाँ चिट देखाउँदा 'यहाँ होइन, कालीमाटी जानुस्' भनियो। गएँ। जरिवानाको रकम डिजिटल वालेटबाट तिर्नुपर्ने रहेछ। तिरेँ। लाइसेन्स र फिर्ता आयो तर, मोबाइलको नागरिक एपमा लिंक गरेको ड्राइभिङ लाइसेन्स सेक्सनमा 'भ्वाइलेसन रेकर्ड'मा सधैंका लागि लिखित रहिरह्यो- मानौं मैले मोसा दायाँ मोडेको होइन दुर्घटना गरेको हुँ, मान्छे मारेको हुँ।

यो रेकर्डको पाटो बडो जटिल छ। यसबारे पछि कुनै बेला चर्चा गरम्ला।    
 
***
 
मैले त्यो नयाँ बानेश्वर चोकको करिब तीन/चार महिना अघिको घटना सम्झिएको थिएँ बबरमहलको पहेँलो बत्तीमा जेब्राक्रस गर्दा। यहाँ त फेरि झमेला हुने भयो। लाइसेन्स निकालेँ, दिएँ। त्यो लिएर ट्राफिक प्रहरी मलाइ छाडेर केही पर गए। अर्का साथीसँग साउती गर्न थाले। 

म अघि बढिँन, रोकिएर उनीहरुलाई हेरिरहेँ। मलाई रोक्ने जवान करिब ५.४ फुटका गहुँगोरा थिए। पातलो ज्यान, फुर्तिला देखिन्थे। सडकमा यस्ता बेला कतिपय ठाउँ प्रहरीको संवाद शैलीले रीस उठाउँछ। तर, उनको बोली नरम नै थियो। ती ट्राफिकले मोबाइलले मेरो लाइसेन्सको फोटो खिचे। अनि नजिक आए।
 
-तपाइँ कसरी भन्नसक्नुहुन्छ म रातो बत्तीमा आएको हो भनेर? 
-हेर्नुस् मैले यहाँबाट हेर्दा त्यस्तै देखेँ। रातो बलेको थियो। 
-तपाइँले भनेर म मान्दिन। पुष्टि गर्नुस् । म भन्दैछु पहेँलोमा आएँ भनेर, तपाइँ कसरी मेरो गल्ती भन्नुहुन्छ। झ्याप्प रोक्दा पछाडिको गाडीले मलाई ठोकेको भए के हुन्थ्यो? 
- त्यसो भए त म पनि कन्फर्म भइँन। अब सीसीटीभी हेरेर गल्ती कन्फर्म गर्नुपर्छ। 
- तपाइँको सीसीटीभी मनिटरिङ शाखामा सोध्नुस्। उताबाट मेरो गल्ती हो भन्ने पुष्टि हुन्छ भने मात्रै तपाइँले जरिवाना गर्न मिल्छ। त्यसै दुःख दिन मिल्दैन। 
उनी अलि पर गए। फोनमा कसैसँग कुरा गरे। अनि फेरि मकहाँ आएर भने - 'सीसीटीभी युनिटले दुइटा बाइक र एउटा स्कुटर रारो बत्तीमा क्रस गरेको भन्यो। तर, तपाइँको बाइकको नम्बर कन्फर्म भएन।' 
- त्यसो भए म कसरी मानौं मैले गल्ती गरेको हो? 
- तपाइँले अब सीसीटीभी शाखामा गएर गल्ती हो/होइन कन्फर्म गर्नुपर्छ। मैले त्यसै छाड्न मिल्दैन। 
- के गर्नु त मैले? - मैले तपाइँको लाइसेन्सको फोटो खिचेर राखेको छु। गल्ती फुटेज हेरेरै कन्फर्म गर्नुपर्छ। भोलि बग्गीखाना जानुस्। २१ नम्बरमा जानुस्। 
यति भनेर उनले लाइसेन्स फिर्ता दिए। म कोठा आएँ। कस्तो झमेलामा परियो भनेर त्यो रात राम्रो निन्द्रा परेन। पहेँलो बत्ती बलेको एकैछिनमा रातो बल्छ, न गल्ती नै भएछ भन्ने लागिरह्यो। 

*** 
भोलिपल्ट बिहान ११ बजेतिर बग्गीखाना पुगेँ।

२१ नम्बर कोठा रहेछ ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई परामर्शको कक्षा दिने। त्यसको ढोका लागेको थियो। भित्र कक्षा चल्दै थियो। बाहिर हेल्प डेस्कमा आएँ, आफू आउनुको कारण बताएँ। हेल्प डेस्कका प्रहरीले ४ नम्बर कोठामा जान सुझाए। त्यहाँ गएँ। 

त्यो कोठा रहेछ सीसीटीभी मनिटरिङको। कम्प्युटरको मनिटरमा विभिन्न स्थानका सीसीटीभीका दृश्य चलिरहेका थिए। तर, त्यहाँ ३/४ जना केटाकेटी खेलिरहेका थिए। उनीहरु स्कुल ड्रेसमै थिए। स्कुल छिटो छुट्टी भएकाले आमा या बाबाको अफिस आएका होलान् भन्ने भनुमान गर्न गाह्रो परेन।

मैले खाली कुर्सी देखाएर एउटा बाबुलाई संकेत गरेँ - 'यहाँको ड्युटीवाल खोइ ?' उनले बाहिर गएको संकेत गरे। कोठामा रहेको खाली कुर्सीमा गएर बसेँ। उनीहरु आआफ्नै धुनमा थिए। केही बेरमा एकजना महिला प्रहरी आउनुभयो। बच्चाहरुलाई घर जाओ भनेर सम्झाउनुभयो। उनीहरुले आआफ्ना किताबका ब्याग समेटे। बाहिर निस्किए। 

अनि उहाँले मलाई सोध्नुभयो - तपाइँको के काम थियो? 
मैले हिजो आफूले पहेँलो बत्तीमा जेब्रा क्रस गरेको, ट्राफिक प्रहरीले 'रातोमा आउनुभएको हो' भनेको र यहाँ जान सुझाएको बताएँ। उहाँले भन्नुभयो - 'यहाँ तपाइँको काम छैन। ६ नम्बरमा जानुस्।' म उठेँ, त्यही हेल्प डेस्क गएर '६ नम्बर कता पर्छ?' भनेर सोधेँ। उत्तर पाएपछि उतै लागेँ।

त्यो रहेछ जरिवानाको रकम तिर्ने ठाउँ। लाम लागियो। केहीबेरमा पालो आयो, झ्याल भित्रबाट महिला ट्राफिक प्रहरीले सोधिन्- खै तपाइँको लाइसेन्स ल्याउनुस्।

मैले दिएँ। अनि आउनुको कारण पहेँलो बत्ती, जेब्रा क्रस र ट्राफिक प्रहरीको रातो बत्तीको दाबीको कहानी फेरि सुनाएँ। उनले लाइसेन्सको नम्बर हेर्दै कम्प्युटरको मनिटरमा हेरिन्, मलाई लाइसेन्स फिर्ता गरिन्।

- यो लिनुस्। लाइसेन्स लिनुस् 
- मैले जरिवाना तिर्नु नै पर्ने हो? कति हो?
- पर्दैन। छैन। तपाईले तिर्नु पर्दैन।
- किन नि? मलाई त यहीँ पठाएका हुन्।
- छैन। तपाइँलाई जरिवाना काटेको छैन।
- ए ! अब म के गर्नु ?
- घर जानुस्।

जरिवाना तिर्नुपर्ने ठाउँमा पुगेर पनि तिर्नु नपर्दा एक प्रकारले खुसी लाग्यो। अनाहकमा दुःख दिएकोमा ती ट्राफिक जवान सम्झेर रीस पनि उठ्यो। कता कसलाई के भन्ने ? पार्किङमा गए, मोसा स्टार्ट गरेँ, घर फर्किएँ। हिजोआज म त्यो ठाउँमा आइपुग्दा सतर्क हुन्छु। परै पहेँलो बत्ती बलिहाले रोकिन्छु। आखिर त्यो रोकिनुपर्ने संकेत हो।  

***
आफ्ना कुरा
  
यो २०८२ असार २३ को नोट हो। मैले लेखेर ब्लगको ड्राफ्टमा जतन गरेको रहेछु। ट्राफिक प्रहरीको बग्गीखाना अफिसबाट फर्केको शायद एक सातापछि लेखेको हो। कोठाका नम्बरमा म केही कन्फ्युज भएकाले पब्लिस गरेको थिइँन। 

यो समाचार होइन, त्यसैले कोठाका नम्बरहरु फरक परे पनि खास गाह्रो नपर्ला ठानेर सात महिनापछि पब्लिस गर्दैछु। यो कसैलाई देखाउन, होच्याउन, उडाउन लेखिएको होइन। यो एउटा हल्काफुल्का दैनिकी लेखन मात्रै हो। पढ्दा रमाइलो लागोस्, त्यस्तो त मलाई पनि परेको हो नि जस्तो लागोस् भनेर हो।

घटना भएकै हो, म बग्गीखाना गएकै हो। ती दिन सडकमा ट्राफिक प्रहरी सक्रिय थिए। काठमाडौंका कतिपय ठाउँमा लेन हेर्ने, बत्ती हेर्ने र उल्लंघनमा जरिवानाको चिट थमाउन ट्राफिक फुर्तिलो थियो।

गत भदौ २४ को घटनापछि धेरै ठाउँमा लाग्छ- 'ट्राफिक प्रहरीको सातो गएको छ।' काठमाडौंमा निकै कम ठाउँ यस्ता छन्, जहाँ ट्राफिक हतार हतार चिट काट्छन्। धेरै ठाउँ सवारीचालकले जथाभावी गर्दा पनि सडकमा ट्राफिक संयमित देखिन्छन्। हत्तपत्त चिट काटेको देखिँदैन। चालकहरुले नियम मिचेर जरिवानामा पर्नु ठिक होइन। सबैले आफैंले हेक्का राखेर नियम पालन गर्नुपर्छ।
***

 
*(चित्र गुगल जेमिनीले बनाइदिएको हो)
   

नोटिफिकेसनको खसखस

साथीभाईसँगको भेटघाट, एउटा समूहको बसाइ वा कतै कुनै कार्यक्रममा सहभागिताको समय। यस्ता बेला हामी गोजीबाट मोबाइल कतिपटक झिक्छौं? कतिपटक स्क्रिनमा औंला चलाउँछौं? के सबै बेला त्यस्तो गर्न जरुरी नै हुन्? आफ्नो बानीलाई विचार गर्दा प्रश्न मननीय छ। 

एउटा व्यस्त कफी शपमा एक युवा करिब एक घण्टादेखि बसिरहेका छन्। अगाडि कफीको कप र एउटा किताब छ। एकाध घण्टा बसे, तर यो अवधिमा उनले एकपटक पनि गोजीबाट मोबाइल झिकेनन्। यस्ता दृश्य अब हाम्रा लागि दुर्लभ हुन्। 

थोरै फुर्सद होस् नहोस् हात गोजीमा पुग्छ। आँखामा मोबाइलको स्क्रीनको उज्यालो पर्छ। हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ बिहान आँखा खुल्नुअघि नै हातले मोबाइल खोज्छ र राति निद्रा लाग्नुअघिको अन्तिम दृश्य पनि चम्किलो स्क्रिन नै हुन्छ। मोबाइलका नोटिफिकेसनले बढाउने खसखसलाई बेवास्ता गर्न सक्नु ठूलो युद्ध जितेसरह हो।

आजको तथ्यांक हेर्ने हो भने स्थिति निकै गम्भीर र रोचक छ। सन् २०२६ को सुरुवातसम्म आइपुग्दा विश्वको जनसंख्या करिब ८ अर्ब २० करोड पुगेको छ। विश्वभर चलिरहेका मोबाइल फोन सेटको संख्या भने १२ अर्ब नाघिसकेको छ। 

डाटा रिपोर्टल र इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको पछिल्लो प्रतिवेदन अनुसार विश्वका करिब ६ अर्ब १५ करोड मानिस इन्टरनेटको पहुँचमा छन्। अर्थात्, विश्वको झण्डै ७५ प्रतिशत जनसंख्या अहिले डिजिटल सञ्जालमा जोडिएको छ। 

औसतमा एक व्यक्तिले दिनको ६ देखि ७ घण्टा इन्टरनेटमा बिताउने गर्छन्। यसको सिधै अर्थ हुन्छ– हाम्रो सक्रिय जीवनको झण्डै एक तिहाइ समय भर्चुअल संसारमा खर्च भइरहेको छ। तर, यो प्रविधिको सुविधा मात्र होइन, एउटा गहिरो लत बनिरहेको छ।

यही अतिशय प्रयोगले ल्याएको मानसिक र शारीरिक थकानका कारण अहिले ‘डिजिटल डिटोक्स’ को बहस पनि चुलिएको छ। के हामी केही समय मोबाइल नहेरी बस्न सक्छौं? 

डिजिटल लतमाथि ‘इरेसिस्टेबल’ नामक पुस्तकका सर्जक न्यूयोर्क विश्वविद्यालयका प्रोफेसर एवम् चर्चित लेखक एडम अल्टरले यो समस्यालाई गहिरोसँग केलाएका छन्। ‘हामी अहिले यस्तो युगमा छौं जहाँ हाम्रा उपकरणहरू हामीलाई हर समय अल्झाइराख्नका लागि मनोवैज्ञानिकरूपमा डिजाइन गरिएका छन्,’ उनी भन्छन्, ‘यो कुनै संयोग होइन, बरु एउटा व्यापारिक रणनीति हो। हाम्रा स्मार्टफोनहरूले हामीलाई ७ दिन २४ घण्टा नै ‘जुवाको लत जसरी मोहित बनाइरहेका छन्।’ उनका अनुसार प्रविधि कम्पनीहरूले हाम्रो मस्तिष्कको कमजोरीको फाइदा उठाएर हामीलाई स्क्रिनमा टाँसिइरहन बाध्य पारिरहेका छन्।

डिजिटल लत र यसको प्रभावबारे भएका पछिल्ला अनुसन्धानहरूले डरलाग्दो चित्र प्रस्तुत गरेका छन्। ‘किड्स एण्ड फेमिली’को एक प्रतिवेदन अनुसार, करिब ६० प्रतिशत अभिभावकहरू छोराछोरी स्मार्टफोनको लतमा परेको भन्दै चिन्तित छन् भने ५० प्रतिशत किशोरकिशोरीहरू आफैंले पनि आफू मोबाइलको लतमा रहेको स्वीकार गर्छन्। 

सन् २०२५ मा गरिएको डिजिटल वेलबिङको Smartphone Addiction and Usage Trends 2025 (एक विश्वव्यापी सर्वेक्षण)ले देखाएअनुसार, औसत प्रयोगकर्ताले आफ्नो फोन दिनमा १५० देखि २६० पटक सम्म ‘अनलक’ गर्ने गर्छन्। 

बेलायतको रोयल सोसाइटी फर पब्लिक हेल्थले गरेको अनुसन्धानले इन्स्टाग्राम र टिकटक जस्ता भिजुअल प्लेटफर्महरूले युवाहरूमा चिन्ता, डिप्रेसन र ’बडी इमेज’ सम्बन्धी समस्या बढाएको पुष्टि गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार, केवल १० मिनेटको फेसबुक प्रयोगले पनि मानिसको ‘मूड’ मा परिवर्तन ल्याउन सक्छ । यस्तै, ‘पेन स्टेट युनिभर्सिटी’ को एक अध्ययनले सुत्नुअघि स्क्रिन हेर्ने मानिसहरूमा ‘मेलाटोनिन’ हर्मोनको कमी हुने र यसले निद्राको चक्र नै बिगारिदिने तथ्य सार्वजनिक गरेको छ। यी शोधहरूले प्रमाणित गर्छन् कि ‘डिजिटल डिटोक्स’ अब रहर मात्र नभई मानसिक सन्तुलन कायम राख्ने अनिवार्य आवश्यकता बनिसकेको छ।

मनोवैज्ञानिक पक्षबाट हेर्दा यो समस्या झनै जटिल देखिन्छ। क्यालिफोर्निया विश्वविद्यालयका क्लिनिकल प्रोफेसर डा क्यामरुन सेपहले प्रतिपादन गरेको ‘डोपामाइन फास्टिङ’ को अवधारणा अहिले विश्वभर चर्चित छ। उनी भन्छन्, ‘हामीले स्क्रिनबाट पाउने तत्कालको सन्तुष्टिलाई नियन्त्रण नगर्ने हो भने हाम्रो मस्तिष्कको प्राकृतिक आनन्द लिने क्षमता कमजोर हुँदै जान्छ। डिजिटल लतले हाम्रो मस्तिष्कमा ‘डोपामाइन’ को बाढी ल्याउँछ, जसले गर्दा मानिसलाई सामान्य जीवनका कुराकानी, प्रकृति र मौनता उराठ लाग्न थाल्छ।’ 

डा सेपहको तर्क छ - डिजिटल डिटोक्स केवल फोन छोड्नु मात्र होइन, बरु आफ्नो मस्तिष्कलाई पुनः अनुशासित बनाउने प्रक्रिया हो।

समाजशास्त्रीय दृष्टिकोणबाट पनि यो एउटा ठूलो चुनौती बनेको छ। एमआईटीकी प्रोफेसर तथा प्रसिद्ध समाजशास्त्री शेरी टर्कलले आफ्नो अध्ययन ‘अलोन टुगेदर’मा उल्लेख गरे अनुसार प्रविधिले मानिसहरूलाई एकअर्काको नजिक ल्याएको भ्रम त दिएको छ, तर वास्तवमा यसले गहिरो एक्लोपन पैदा गरिरहेको छ। 

टर्कल तर्क गर्छिन्, ‘हामीले सोचेका थियौं कि हामी सधैं जोडिएका छौं, तर वास्तवमा हामीले कुराकानीलाई केवल जानकारीको आदानप्रदानमा सीमित गरिदियौं। एउटै टेबुलमा बसेर पनि मानिसहरू आ–आफ्नो मोबाइलमा व्यस्त हुनु भनेको मानवीय सम्बन्धको गहिरो संकट हो।’ उनले रेस्टुरेन्ट वा घरका बैठक कोठाहरूमा देखिने ‘फबिङ’ (मोबाइलका कारण साथी वा पार्टनरलाई उपेक्षा गर्ने व्यवहार)लाई आधुनिक समाजको सबैभन्दा ठूलो विडम्बना मानेकी छन्।

अचम्मको तथ्य के छ भने, प्रविधिको केन्द्र मानिने सिलिकन भ्यालीका ठूला कम्पनी (जस्तै एप्पल, गुगल र माइक्रोसफ्ट) मा काम गर्ने उच्च अधिकारीहरूले छोराछोरीलाई प्रविधिबाट टाढा राख्न ‘लो–टेक’ विद्यालयमा पठाउने गरेको पाइन्छ। जहाँ कम्प्युटरको साटो काठका खेलौना र हातले लेख्ने अभ्यास गराइन्छ। यसले प्रष्ट पार्छ कि जसले यो प्रविधि बनाए, उनीहरूलाई नै यसको दीर्घकालीन असरबारे राम्रोसँग थाहा छ। विश्व स्वास्थ्य संगठनले त अत्यधिक गेमिङ र डिजिटल लतलाई मानसिक स्वास्थ्य समस्याको रूपमा परिभाषित नै गरिसकेको छ।

‘एप्सटिनेन्स’ वा डिजिटल परहेजले मानिसलाई यही लतबाट मुक्त हुन सिकाउँछ। यसको अर्थ प्रविधिलाई पूर्ण रूपमा त्याग्नु होइन, बरु यसको प्रयोगमा स्वनियन्त्रण कायम गर्नु हो। मनोवैज्ञानिकहरू भन्छन्, ‘जब हामी मोबाइलबाट केही समयका लागि टाढा रहन्छौं, हाम्रो मस्तिष्कले ‘रिसेट’ हुने मौका पाउँछ ।’ 

यसले एकाग्रता बढाउँछ, निद्राको गुणस्तर सुधार्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा – हामीलाई वर्तमान समयसँग जोड्छ। कतिपय परामर्शदाताहरूले त आफ्ना सेवाग्राहीलाई हप्ताको एक दिन ‘नो फोन डे’ मनाउन वा सुत्नुभन्दा दुई घण्टाअघि मोबाइललाई अर्कै कोठामा राख्ने सल्लाह दिन थालेका छन्।

डिजिटल कोलाहलको युगमा एकछिन फोनलाई पर राखेर झ्याल बाहिरको आकाश हेर्नु वा प्रियजनको आँखामा हेरेर संवाद गर्नु नै सबैभन्दा ठूलो विलासिता र स्वस्थ जीवनको आधार बन्दै गएको छ। डिजिटल संसारको कोलाहलबाट केही समय बाहिर निस्कनु भनेको आफैंलाई पुनः भेट्नु हो। प्रविधिले संसारलाई नजिक त बनायो, तर कतै यसले हामीलाई आफैंबाट टाढा त बनाइरहेको छैन ? यो प्रश्नमा घोत्लिने र आफ्नो ‘डिजिटल बानी’ फेर्ने बेला पक्कै आएको छ। 

***

चित्र साभार :  फ्री पिक

Monday, February 9, 2026

फबिङ : सामान्य लाग्ने तर सम्बन्ध चिस्याउने विकार

  • एक साँझ लामो समयपछिको एउटा भेट थियो, एक जना पुरानो साथीसँग। अर्डर गरेको कफी टेबलमा आइनपुग्दै उनको फोनमा एउटा नोटिफिकेसन बज्यो। उसले 'एकै मिनेट है' भन्दै फोन उठायो र स्क्रिनमा औँला चलाउन थाल्यो। हाम्रो कुराकानीको लय त्यहीँ टुट्यो। म केही भन्दै थिएँ, तर उसको आँखा स्क्रिनमा र ध्यान अर्कै संसारमा थियो। उसले बीच-बीचमा मुन्टो नउठाई 'अँ, अनि के भयो त?' भन्दै मलाई सुन्ने नाटक त गर्‍यो, तर मलाई आफू हुनुको कुनै अर्थ महसुस भइरहेको थिएन।

  • गत शुक्रबार बेलुकी करिब साढे ८ बजे। मैले स्कुले बेलाको साथी सानोबाबु बस्नेतलाई फोन डायल गरेँ। भोलि बिहान एउटा कार्यक्रममा हामी भेला हुनु थियो। त्यसैले आफ्नो समय निकाल्न आग्रह गर्नु थियो। तर, कल जाँदै गएन। उताबाट मोबाइल अफ वा कलले व्यस्त जस्तो सांकेतिक ट्युन थिएन तर, कल तीन/चारपल्ट गर्दा पनि सफल भएन। म अरुलाई फोन गर्न थालेँ। सानोबाबुलाई फेरि डायल गर्न बिर्सेछु। 

भोलिपल्ट कार्यक्रममा उनी मभन्दा पहिल्यै आइसकेको रहेछन्। बसाइमा केही दुरी भए पनि हामी एकअर्कालाई देखिरहेका थियौं। केहीबारपछि सँगै बसियो। उनको फोन बजिरहेको थियो। रिङ ट्युन सानो भोल्युममा राखेका उनले भने - हेर यार, यो मेरो बिजनेसको फोन हो।

म - अँ साँच्ची, मैले राति डायल गरेको थिएँ, तिम्रो फोन लाग्दै लागेन।

सानोबाबु- घर पुगेपछि म मोबाइललाई फ्लाइट मोडमा राख्छु। कति उठाउनु ! घरमा त सञ्चोले बस्नु पर्‍यो नि।

मलाई उनको प्रष्टीकरण उचित लाग्यो। हामी काम होस् नहोस् मोबाइलका स्क्रीनमा औंला चालिरहन्छौं। साथी वा समूहमा बस्दा पनि यो त बानी नै भइसकेको छ। हाम्रा अगाडि बस्नेले उसका कुरा बेवास्ता गरिरहेको भान पर्नेगरी मोबाइल चलाउँछौं। यो मामिलामा सानोबाबु जस्तो गर्नु पनि घरका लागि सन्तोकको बानी हुन सक्छ। तर, हामी मोबाइल चलाउन कहाँ छाड्छौं ?    

यी प्रतिनिधि घटना मात्रै हुन्, जसमा पात्र म नै हुनु जरुरी होइन। आधुनिक मनोविज्ञानले यसलाई 'फबिङ' (Phubbing) भन्छ। फोन र स्नबिङ (बेवास्ता गर्नु) मिलेर बनेको यो शब्दले हाम्रो सामाजिक सम्बन्धको कुरुप वास्तविकतालाई चित्रण गर्छ।

फबिङलाई गहिराइबाट हेर्ने हो भने यसले हाम्रो उपस्थितिलाई खण्डित बनाइदिएको छ। हामी सशरीर एकाध साथी वा समूहमा हुन्छौं तर साथ भने मोबाइललाई दिइरहेका हुन्छौं। 

प्रख्यात मनोवैज्ञानिक डा. एमा सेप्पालाका अनुसार फबिङले मानिसको आधारभूत मानवीय आवश्यकता 'सम्बन्धित हुनु'लाई नै खतरामा पार्छ। जब हामी कसैको अगाडि भएर पनि फोनमा झुण्डिन्छौँ, हामीले परोक्ष रूपमा भनिरहेका हुन्छौँ कि 'मेरो लागि तिमीभन्दा यो मोबाइलभित्रको संसार बढी महत्त्वपूर्ण छ।' 

शोधकर्ताहरू भन्छन् कि यो बानीले विशेष गरी वैवाहिक सम्बन्ध र घनिष्ट मित्रतामा गहिरो चोट पुर्‍याउँछ। एक अध्ययनले देखाएको छ कि जुन जोडीमा फबिङको समस्या बढी छ, उनीहरूमा डिप्रेसन र जीवनप्रतिको असन्तुष्टि पनि बढी देखिएको छ।

यसका केही 'कथित' असल पक्षहरू खोज्ने हो भने, मानिसहरू यसलाई 'मल्टिटास्किङ' वा समयको बचत मान्छन्। कसैको कुरा सुन्दासुन्दै जरुरी इमेलको जवाफ दिनु वा समाचार हेर्नुलाई स्मार्ट बन्ने बहाना बनाइन्छ। तर, मनोविज्ञान भन्छ - मस्तिष्कले एकैपटक दुईवटा भावनात्मक कुरामा समान ध्यान दिन सक्दैन। यसले गर्दा हामी न त काममा शतप्रतिशत हुन्छौँ, न त सम्बन्धमा। 

खराब पक्षको कुरा गर्दा यसले मानिसलाई 'एक्लो भीड' मा परिणत गरिदिएको छ। हामी हजारौँ माइल टाढाका मानिससँग जोडिन खोज्दा आफ्नै छेउमा बसेको मानिसलाई गुमाइरहेका हुन्छौँ।

समय यस्तो छ, तपाइँ अनलाइन हुनुहुन्छ, फ्रेण्डलिस्टमा तपाइँको नाम हरियो देखाइरहेको छ, तर तपाइँलाई हत्तपत्त फोन कल आउँदैन। मान्छेहरु कुरा गर्ने फुर्सदमा छैनन्। तर, हामी जनिक वा अगाडिका मान्छेलाई बेवास्ता गरेर इन्टरनेटको सञ्जालमा कम्पनी खोजीरहेका हुन्छौं। 

यस्तै धेरैजनासँग भइरहेको देख्न पाइन्छ। एउटा समूहमा रहेका मान्छेहरु फोनमा झुण्डिएका छन्, मोबाइलका स्क्रिनमा औंला चालिरहेका छन्। हाम्रो कामका प्रकृतिअनुसार इन्टरनेट नभइ नहुने भइसकेको छ। तर, यसलाई हामीले कामका बेला र सतर्कतापूर्वक उपयोग जरुरी छ।

केटाकेटी मोबाइल र ट्याबमा व्यस्त छन्। महिलाहरु टिकटक बनाउन व्यस्त छन्। जो व्यस्त छैनन्, उनीहरु अरुका चालामाला देखेर छक्क परिरहेका भेटिन्छन्। के हामी ग्याजेटविना एकैछिन बसन नसक्ने हौँ? के हामी एकछिन फोनलाई पर्तिर राखेर बस्न सक्दैनौ। 

फबिङ केवल एउटा खराब बानी मात्र होइन, यो एक प्रकारको लत हो जसले हाम्रो सामाजिक संवेदनशीलतालाई मारिरहेको छ। 'जहाँ तपाईं हुनुहुन्छ, त्यहीँ पूर्ण रूपमा रहनुहोस्' भन्ने जीवन दर्शन आजको डिजिटल युगमा सबैभन्दा ठूलो चुनौती बनेको छ। यदि हामीले समयमै यसलाई नियन्त्रण गरेनौँ भने, भविष्यमा हामीसँग प्रविधि त हुनेछ, तर ती प्रविधिका उपलब्धि सुनाउने र सुन्ने मान्छेहरू हुने छैनन्। त्यसैले, अर्को पटक कसैको आँखामा हेरेर कुरा गर्दा फोनलाई खल्तीमै राख्नु नै साँचो अर्थमा 'कनेक्टेड' हुनु हो।

***

(यहाँ रहेको चित्र गुगल जेमिनीद्वारा सृजित हो)

फेरि मतदानको मौका


हामी फेरि एकपटक मताधिकार प्रयोग गर्ने संघारमा छौं। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन छ। यो निर्वाचन किन र कुन परिस्थितिमा हुँदैछ भन्ने हामीले बिर्सिसकेको हुनुपर्छ। भदौ २३ र २४ गते जे भयो त्यसैले मध्यावधि निर्वाचन तोकिएको हो।

गत भदौ २३ मा जे दुर्घटना भयो, त्यो हुनुहुँदैनथ्यो। भोलिपल्ट भदौ २४ मा जे भयो, त्यो त्यसैको प्रतिक्रिया थियो। अन्तरिम सरकार गठन भयो। निर्वाचन तोकियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिइयो। उनको सरकारले घोषणा गरेको चुनाव हुन लागेको छ। हामीलाई चुनाव लागेको छ।

भदौ २३ मा प्रहरीको गोलीले १९ जनाको ज्यान गएको थियो। उक्त घटनाको प्रतिक्रिया भोलिपल्ट अनपेक्षित भएको हो। माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वमा पनि मुलुकको सार्वजनिक सम्पत्तिमा त्यति क्षति भएको थिएन, जति भदौ २४ मा भयो। मान्छेको ज्यानभन्दा ठूलो भवन, संरचना र कागजात-दस्तावेज होइन भन्ने तर्क आफ्नो ठाउँमा रहँदारहँदै पनि मुलुकको राजनीतिक-प्रशासनिक इतिहासले अकल्पनीय क्षति खेप्नु परेकै हो।

इतिहासदेखि विभिन्न घटनाक्रम केलाउँदा 'क्रान्ति'हरु अपुरा रहिआएका छन्। राणाशासनको अन्त्य गरेर २००७ सालमा प्रजातन्त्र बहाली हुँदा पनि राणा प्रभावशाली थिए। सम्पन्न थिए, छन्। जहानियाँ राणाशासन १०४ वर्षको थियो, प्रभावशाली र जरा गाडिएको थियो। तर, उखेलिँदा त्यसलाई कसैले बचाएन। 

प्रजातन्त्र बहाली भयो। जनता शक्तिशाली भएको व्यवस्था आयो भनियो। जसमा दलहरुले आफ्ना गतिविधि गर्न पाए, संसदीय निर्वाचन भयो। तर, त्यो व्यवस्था तत्कालीन राजालाई अनुकूल लागेको थिएन। 

२०१७ सालमा राजा महेन्द्रले आफूले चाहेको व्यवस्था ल्याए, पञ्चायत। राजाले 'कू' गरेको भनियो त्यसलाई। राजाले 'कू'गर्दा विपक्षमा हुन्न भने उभिने जमात नै थिएन/देखिएन। राजासँग सेना थियो, शक्ति थियो। जनताका नेता शक्तिहीन थिए। 

महेन्द्रले प्रजातान्त्रिक शासन व्यवस्थाका पक्षधरहरुलाई मासेनन्। राजनीतिक गतिविधमा कडाइ गरे। बहुदलीय व्यवस्थाका पक्षधर खुम्चिएर बसे, मासिएनन्। जे मासेनन्, तिनै शक्तिले आफ्ना विचारको बललाई विस्तार गरे। उनीहरुको विस्तारित शक्तिको जानकारी दरबारले राखिरहेको थियो। 

राजा फेरिए। महेन्द्रपछि गद्दीमा वीरेन्द्रले पालो पाए। उनले केही समय हेरे- सत्ता संकट आउने छनक छ ! जनमत संग्रह भयो। राजाले जे चाहे त्यही पक्षमा नतिजा आयो। खुम्चिएर बसेको बहुदलीय व्यवस्थाका पक्षधर नयाँ नयाँ रुपमा सक्रिय रहे। पञ्चायतमै पनि आफ्नो प्रभाव र पकड विस्तार गरिरहे। विस्तारित शक्तिले त्यो बेला आन्दोलन थाल्यो जब लोकलाई पञ्चायती व्यवस्थाबाट अघाइयो भन्ने लाग्ने थालेको थियो। पञ्चायतलाई टिकाइरहने योजना न राजासँग थियो, न त त्यो व्यवस्थामा शक्तिशाली बनेका नेताहरुसँग। 

महेन्द्रले लागू गरेको व्यवस्थाले तीन दशकसम्म देश चलायो। २०४६ सालको जनआन्दोलनले मुलुक बहुदलीय व्यवस्थामा फर्कियो। फेरि २०१७ साल अघिकै दलीय शक्ति शक्तिशाली भएर आयो। जनआन्दोलन-१ ले बहुदलीय मुलुकमा बहुदलीय व्यवस्था फर्कायो। हामीसँग बहुदलीय व्यवस्थाको चाहना गरे पनि त्यसलाई टिकाउने योजना भएका नेता थिएनन्। राजसंस्थालाई संवैधानिक बनाएर शक्ति सीमित गराउने हिम्मत नेतामा देखिएन। 

बामपन्थीको एउटा घटक माओवादी जंगल पस्यो। मुलुक सशस्त्र द्वन्द्वमा धकेलियो। सेना परिचालन भयो। तर, माओवादीको ब्याकअप के थियो, उनीहरु नै जानुन्। राज्य र विद्रोहीतर्फ ठूलो नोक्सान भयो। धेरैको ज्यान गयो। तैपनि तत्कालीन विद्रोहीका भाषामा 'चरु' डढे, द्वन्द्व हाँक्ने हातहरु सुरक्षित रहिरहे।  

आन्दोलनको बलले ल्याएको व्यवस्थामा न दल सबल हुन सके, न त राजसंस्थाले सहज महसुस गर्न सक्यो। त्यसमाथि मुलुक भूराजनीतिक चलखेलको प्रभावमा परिरह्यो। त्यहीबीच दरबार हत्याकाण्ड भयो। परम्पराअनुसार सत्ता सञ्चालनको पालोमा नभएका ज्ञानेन्द्र शाहले राजा हुन पाए। उनीसँग न आफ्नो सुझबुझ देखियो, न त गतिला सल्लाहकार। बहुदलीय व्यवस्थाले उनलाई आलंकारिक मात्रै बनाउने बुझे।

घर र वनका दल एक भए। माओवादी संसदीय व्यवस्थामा फर्कन सहमत भयो। जनआन्दोलन-२ भयो। कांग्रेससहितको मोर्चासँग १२ बुँदे समझदारी भयो। राजा ज्ञानेन्द्र दरबारले दरबार छाडे। दलहरु सत्तामा फर्किए। जुन व्यवस्थाका लागि भन्दै माओवादी जंगल पसेको थियो, पुरा भएकै थिएन। ठूलो मूल्य चुकाइसक्दा पनि त्यो पुरा हुने संकेत दुर दुरसम्म थिएन। शान्ति प्रक्रियामा फर्किएपछि माओवादीले त्यो लक्ष्य हरायो/बिर्सियो। 

माओवादीले संसदीय राजनीतिमा पुनरागमन गरेपछि मधेस आन्दोलन भएको हो। जसमा मुलुकले फेरि जनधनको क्षति बेहोरेको हो। जसबाट मधेसको शक्तिमा रुप केही खास दल उदाए, जो सत्ता भागबण्डामा सधैं ठुला दलसँगै लाभग्राही भइरहे। दलहरुले आलोपालो गर्दै, सरकार बनाउँदै-ढाल्दै मुलुकका सबै तन्त्रमा दलीय भागबण्डा गरिभ्याए। कर्मचारी प्रशासनदेखि शिक्षा, सञ्चार, सुरक्षा, कूटनीति, यस्ता कुनै ठाउँ बाँकी रहेनन् जहाँ दलीय भागबण्डा नहोस्। 

०६२/६३ को जनआन्दोलन-२ पछि बहाल व्यवस्थाले पनि झण्डै दुई दशक मुलुकमा शासन गरिसक्दा वितृष्णा अत्यधिक नै गराएको हो, जो गत भदौ २३-२४ को जेनजी विद्रोहका रुपमा देखयो। त्यो विद्रोहलाई तत्कालीन सरकारले नै सलाइ कोरेको थियो, प्रदर्शनमाथि गोली चलाए। व्यवस्थाको बेथिति के हुन्, कहाँ कहाँ सुधार चाहिन्छ भन्नेमा अहिले भोट माग्न घरदैलो गरिरहेका नेतामा पनि निकै थोरैलाई हेक्का छ। नेताहरु 'हामीले गल्ती गरेका हौँ' भन्न कञ्जुस छन्। प्रचण्ड, देउवा, ओली, नेपाल, उपेन्द्र यादव कसैले पनि 'हामीले चलाएको व्यवस्थामा थिति बिगारेका हौँ' भन्दैनन्।

कुनै पनि मुलुकमा जुनसुकै शासन व्यवस्था लागू होस्, जनहितकारी भएन भने टिक्दैन। जनतालाई अधिकार नदिए विद्रोह हुन्छ, नयाँ व्यवस्था आउँछ। प्रत्येक व्यवस्थामा नेतृत्व इमानदार भएनन् भने क्रान्ति हुन्छ। 

***

देशले अहिलेसम्म बेहोरेको बिडम्वना के हो भने जिम्मेवारहरु कोही पनि आफूले गरेको गल्ती स्वीकार्न तयार छैनन्। न इतिहासमा न त वर्तमानमा। उनीहरुलाई 'तिमीहरुले गरेको गल्तीका कारण यस्तो भयो, सजायको भागीदार छौं' भन्न पनि व्यवस्थाहरु दरिलो बनेनन्/बनाइएनन्।

नेता/जिम्मेवारहरुले सजाय पाउनु त दुरका कुरा, उनीहरुका मुखबाट 'हामीले गल्ती गरेका हौं' भन्ने सुन्न पाउनु दुर्लभ हो।

***  

हामी कस्तो व्यवस्था चाहन्छौं, कसले इमानदार भएर शासन चलाउला? छनोटका लागि यसपटकको निर्वाचन नेपाली जनताका लागि ठूलो मौका हो। यद्यपि दल तिनै छन्, नेताहरु पनि ६० प्रतिशत तिनै तिनै छन् जो हिजो पनि थिए। सबै आलोपालो सत्तामा भित्र-बाहिर गरेकाहरु नै अहिले पनि प्रतिष्पर्धामा छन्। यीबाट पनि 'असल' छनोटको चुनौती मतदातालाई छ।

दलीय नेतृत्वका प्रतिबद्धता हेरौं, उनीहरुका व्यक्तित्व र आचरण हेरौं। उनीहरुले दिन सक्ने 'डेलिभरी'मा अहिलेका प्रष्ट जवाफ हेरौं। देश यस्तै छ। सत्तामा पुग्नेहरु कोही पनि लोभ, मोह, आग्रह-पूर्वाग्रह र घमण्डबाट मुक्त हुँदैनन्। त्यसको मात्रा कति छ/छैन भन्ने मात्रै हो। नेताहरुका लागि सिद्धान्त देखाउने दाँत हुन्छ, जसे हाँस्ने र चपाउने मात्रै गर्दैन, व्यवस्थाको खिल्ली उडाउने पनि गर्छ। सुकिला, चिल्ला, सेलिब्रिटी व्यक्तित्वदेखि खरो, प्रष्ट, खिच्चो र खस्रा सबै खालका मनुवाहरु सत्तामा जान हामीलाई भर्‍याङ बनाउन उद्यत छन्। 

हामी भर्‍याङ नै हौं। कतिपय फिल्मका समीक्षामा समीक्षकले भनेका हुन्छ -'यो फिल्म हेर्न जाँदा दिमाग घरमै राखेर जानु उचित हुन्छ।' निर्वाचनमा हामी करिब करिब त्यही अवस्थाबाट गुज्रन्छौं। असल खराबको पहिचान र तुलना बिर्सन्छौं। मतदानमा हामी केबाट प्रभावित भएका थियौं र किन भन्ने समीक्षा मतदाताले केही पछि गर्छ, जब गल्ती सच्याउन नमिल्नेगरी भइसकेको हुन्छ। हामीलाई नेताका भाषण, चेहरा मोहरा, चुनाव चिन्ह, फ्यान फलोइङ, पहिरनले प्रभावित गर्छ। चुनावका बेला धेरैथोकले प्रभाव पार्छ।


***

यो चुनावले 'त्यो पक्ष'(जेनजी विद्रोह जगाउनेहरु) अपेक्षित नतिजा नआए के हुन्छ? यो बडो जटिल प्रश्न छ। संसार आसले चल्छ, मान्छेको जीवन 'अब पक्कै राम्रा दिन आउँछन्' भनेर चल्छ। ढालिएको सरकार संवेदनशील थिएन, जिम्मेवार थिएन। जिम्मेवार बनाउने प्रयास कतैबाट पनि भएन, किन?

हाम्रो राजनीतिक इतिहास त्यस्तै छ। राणाहरु कसैलाई जेल सजाय भएन, पञ्चायती व्यवस्था ढालिएपछि त्यो व्यवस्थामा हालीमुहाली गरेर परिवर्तनकारी शक्तिमाथि दमन गर्नेहरुलाई छुट दिइयो। सशस्त्र द्नन्द्वका विषयमा त बोल्नै हुन्न। गैरन्यायिक जघन्य अपराधका कसुरवार पनि जोगिएका छन्। सजाय गरे कसकसलाई गर्ने? तिनका प्रभाव क्षेत्र व्यापक छ।

माओवादीको सशस्त्र द्वन्द्वपछि इतिहासले नबिर्सने घटना हो - गौर हत्याकाण्ड। त्यसबारे बोल्नै हुँदैन। त्यसका कुरा गर्नै हुँदैन। जघन्य आपराधिक घटनाका कसुरवार जोगाइरहँदा भदौ २३ को घटनामा ओली र लेखकलाई किन सुनपानी नछर्किने? दिन बित्छन्, हामी पुराना कुरा बिर्सन्छौं। नराम्रा कुरा बिर्सेकै पनि बेस हो। 

जेनजी आन्दोलन छानबिन समितिले प्रतिवेदन बुझाउने बेला नजिकै छ। प्रतिवेदन बुझाए पनि मुलुकमा के हुन्छ भन्ने जगजाहेर नै छ। नेता यही छन्, केही चुनावमा भोट माग्दैछन्, केही पार्टीले टिकट नदिएकाले यसपटक आराम गर्दै नयाँ नेतृत्वलाई सराप्दै बसेका छन्। 

***

नियमित अवधिमा वार्षिक साधारण सभा भयो भने सानो र सामान्य संस्थामा पनि सुधार आउँछ।  सुधार आउन र ल्याउन प्रश्नलाई स्वागत गरिनुपर्छ, इमानदारीपूर्वक उत्तर दिइनुपर्छ। काम गर्छौं भन्नेलाई पालो दिइनुपर्छ। पद ओगटेर बस्ने तर दायित्वअनुसार काम नगर्नेका कारण द्वन्द्व हुने हो। एउटा समय चलाएकाहरु पालोबाट हट्नुपर्छ/हट्नैपर्छ। त्यति भए संस्थामात्रै नभइ पार्टी र देशमा सुधार आउँछ। 

साधारण सभा, अधिवेशन, महाधिवेशन हुनु र गरिनुपर्छ। एक समय नेतृत्व गरिसकेकाहरुले नयाँलाई पालो दिनुपर्छ। जिम्मेवारीको रहर गर्नेहरुले आफूलाई त्यसका लागि तयार गर्नुपर्छ। क्षमतावानले ठाउँ पाउनुपर्छ।

घर भाँड्न परिवारका सदस्य नै जिम्मेवार हुन्छन्, भलै छिमेकीलाई दोष दिइरहौं। हामी आलोपालोमा तयार हुँदैनौं, जिम्मेवारी र अधिकार हस्तान्तरणमा अनुदार हुन्छौं भने त्यो अघि आएको पुस्ताले खोसेर लिन्छ। त्यसबेला छिमेकीले अलिकति काम भरेको हुनसक्छ, केही हौसला दिएको वा फुर्क्याएको पनि हुन सक्छ। तर, दोष उसको होइन। हाम्रो हो, हामी किन पालो दिन अनुदार हुने?  

पुस्तान्तरणका लागि सम्भावना र क्षमताको कदर गर्ने समाजको विकास गतिशील हुन्छ। हामी पक्कै त्यस्तै उन्नत समाज चाहन्छौं। व्यवस्था र देश चाहन्छौं। उदार अर्थतन्त्र र रोजगारीको क्षेत्र फराकिलो हुनुपर्छ। सोर्स सिफारिसविना रोजगारीका अवसर सहज हुनुपर्छ। भ्रष्टाचार रोकिनुपर्छ। भ्रष्टाचारीलाई कार्बाही हुनुपर्छ। 

हामी त उन्नत व्यवस्था चाहन्छौं भनेर दलहरुले नभनेका हुन्? नियमनकारी निकायमा नियुक्ति आशिर्वादले हुन्छ। जहाँसुकै नातावाद, कृपावाद र घूसको डील हावी भएको देख्न-सुन्न पाउनु नौलो रहेन। तर, सबै सकिएको छैन। चुनाव आशा हो, जसले समाज र देश रुपान्तरणका लागि सघाउँछ। थोरबहुत भए पनि करेक्सन गर्छ। के हामी करेक्सन गर्न तयार छौं? 

***

मतदाताले उम्मेदवार छनोटमा विवेक पुर्‍याउनु पर्छ। उम्मेदवार को छन्, के भन्छन्, के भन्दै आएका छन् भन्ने हामीले थाहा नपाएका होइनौ। वरिपरि थुप्रैथरि चटक छन्। जे जे चटक छन् ती हेर्दामा बहुत राम्रा, सुकिला छन्। कोही धेर बोलिरा'छन्, कोही चाहिनेभन्दा बढी ज्ञानी देखिने प्रयासमा छन्। छनोट पक्कै सजिलो छैन। 

हाम्रो विवेक घुँडामा छ भन्ने हामीलाई थाहा छ। तपाइँ-हामीलाई थाहा छ - 'उठेका बाहेकलाई भोट दिन पाइँदैन।' को-को उठेका छन्, किन र के भन्दै उठेका छन् भन्ने पनि थाहा पाएपछि अलमलमा पर्नु छैन। परिवर्तन विस्तारै हुन्छ। तोडफोड गरेर, बालेर, डढाएर फेरि निर्माण सजिलो हुँदैन। भएकालाई जगेर्ना गरेर नयाँ तरिकाले चलाउँछौं भन्ने हो भने सपना बाँड्ने होइन काम गर्ने र क्षमता भएकालाई चयन गरौं। 

फागुन २१ मा मतदानको मिति पूर्वघोषित छ। केही विघ्न परेन भने घोषित मितिमा चुनाव पक्कै हुन्छ। देश बनाउँ, मतदान गरौं। 

***

(दुवै चित्र निर्वाचन आयोगद्वारा सामाजिक सञ्जालमा प्रेषित हुन्।)