Monday, March 29, 2010

त्यो दसैंमा कोइराला

पाँचपटक प्रधानमन्त्री भएका कोइराला सधै सञ्चारमाध्यमका लागि समाचारको केन्द्र बनिरहे । उनी बितेपछि उनीसँग जोडिएका सन्दर्भहरुका केस्रा केस्रा अहिले सञ्चारकर्मीले खोजीरहेका छन् । आज मैले उनको पुराना तस्बिर खोज्ने क्रममा प्रधानमन्त्री भएका बखत २०६३ मा उनले मनाएको दसैंको लेखेको समाचार मेलको सेन्ट आइटमबाट भेटे । पत्रिकाका कटिङ जतन गर्ने जमाना गएछ शायद । कारण, ती खोजेपनि भेटिन्नन् ।
त्यो दसैं विराटनगरको अस्पताल रोडस्थित कोइराला निवासमा तीन वर्षपछि आएको थियो । आफन्तको निधनले छेक्दाछेक्दै गरेपनि त्यो वर्ष निवासलाई टीका लगाउन बाधा परेको थिएन । मैले काम गर्ने दैनिक पत्रिका बन्द थियो । तर, रेडियो र टेलिभिजनकाको पनि काम हेरिहने भएकाले कोइराला के खान्छन् । कता जान्छन् खोज्नै पर्ने थियो । त्यो बेला समझन्छु , मेरो दसैं हतारमा बितेको थियो । घरमा खसी लडाएर बुवा र भाइलाई एकै छिनमा आउछु है भनेर कोइराला निवास चिहाउन आउनु परेको थियो । अफिसका साथीहरु धेरैजसो बाहिर जिल्लामा घर भएकाले पनि त्यसबेला मलाइ कुद्नै पर्ने बाध्यता आइलागेको थियो । पत्रिकाको विदा सकिएपछि मैले कोइरालाको दसैं विषयमा लेखेको थिए । त्यसबेला कान्तिपुरको साप्ताहिक पत्रिका 'नेपाल' मा सम्पादक किसोर नेपाल हुनुहुन्थ्यो । किसोर दाइले फोन गरेर म्यागजिनका लागि कोइरालाको दसैं बारे लेख्न् लगाउनु भएको थियो । उहाले दैनिक समाचार पठाएजस्तो झारा टार्ने मेलोको समाचार नहोस है भन्दा म कसरी के के लेख्ने भनेर केहीबेर अलमलमा परेको थिए । तर, मैले त्यसबेला समाचार लेखेर पठाए । छापियो पनि । यस्तो थियो समाचार -
कोइरालाको दसैं 
सधैं राजनीतिक जमघटको थलो बन्दै आएको विराटनगरको अस्पताल रोडस्थित कोइराला निवासमा यसपटक काम गर्नेहरुलाइ भ्याइनभ्याइ भयो । कारण निवासका ज्येष्ठ सदस्य गिरिजाप्रसाद कोइरालाले यहा दसैं मान्न आउने मात्र थिएन । 'यो पाला हामी निवासमा चार वर्षपछिको दसैं मान्दै थियौं' प्रधानमन्त्रिकी भाउजु नोना कोइरालाले भनिन् 'बितेका तीन वर्षमा आफन्तहरुको बितेर दसैं छेकियो ।'
त्यसो त कोइराला निवासमा  जमघट नभएको दिन हुदैन । प्रधानमन्त्री आएका बेला सुरक्षाकर्मीको तैनाथीसगै कार्यकर्ता र गुनासो लिएर आउनेहरु प्रशस्त हुन्छन् । सरकारमा रहेकाहरु पाहुना भएर नआएका बेला पनि निवास आउने र नोना कोइरालासग छलफल गर्नेको आवतजावत चलिरहन्छ । चिया-नास्ता र पानी दिने कामदारलाइ सधैं व्यस्त देख्न सकिन्छ ।
यसपटक सप्तमीमा निवास आइपुगेका प्रधानमन्त्री कोइरालाका कारण सदाभन्दा जमघट बढ्यो । थोरैमात्र औपचारिक कार्यक्रममा सरिक भएका प्रधानमन्त्री विहानै काली मन्दिर गए । पुजा अर्चना गरे । जिल्ला जिल्लाबाट भेट्न आएका कार्यकर्तालाइ समय दिएर उनीहरुका कुरा पार्टी सभापति तथा प्रधानमन्त्रिले मन लगाएर सुनेको अनुभव मोरङ कांग्रेस सभापति अमृत अर्यालको छ । उनले भने 'सदाभन्दा यसपाली गिर्जाबाबुले कार्यकर्ताको कुरो राम्ररी सुन्नुभयो ।' जनआन्दोलन-२ पछि पुनः प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले राजाको हातबाट टीका लगाउने परम्परा तोडेर निवासमा भेला हुनु सबैको चासोको विषय त छदै थियो त्यसमाथि कार्यकर्तालाइ समय दिएर दिएर टीका लगाइदिनुलाइ आफुले नौलो मानेको नोना कोइरालाले बताइन । 'यसपालि धेरै कार्यकता आए र गिर्जाबाबुले उनीहरुलाइ सकेजति समय दिनुभयो' उनले भनिन् 'पहिले पहिले एक झमट टीका लगाइदिएर टार्ने मेलो यसपाली भएन , यो चाहि मलाइ नौलो लाग्यो ।'
प्रधानमन्त्री तथा पार्टी सभापतिले दसैंलाइ राजनीतिक परामर्शका लागि खर्च नगरेको सुनाउ“दै उनले भनिन् 'परिवारका भएजति भेला भयौं, गिर्जा बाबुले सबैलाइ समय दिनुभयो ।' निवासका कामदारहरु भने लामो समयपछिको दसैं पुरानै परम्पराको निरन्तरता भएको अनुभव गर्छन् । उनीहरुको अनुभवमा निवासमा पहिलेदेखिको पुजा गर्ने , बलि दिने र पकवान खाने कार्यक्रम यसपटक रामै्रसग भयो । पुराना कामदार रामदेवको अनुभवमा प्रधानमन्त्री भैकन गिरिजाप्रसादको रुची र रहर आम नेपाली परिवारका सदस्यहरुको जस्तै छ । 'अरुलाइ लाग्छ होला प्रधानमन्त्रिले के खादा हुन्, के गर्दा हुन्' उनी भन्छन् 'तर, गिर्जा बाबुको घरेलु जीवन साधारण छ ।'
प्रधानमन्त्रिका भतिजा डा.शेखर कोइरालाले भने 'मेरो नाता राजनीतिक होइन,मेरो काका जस्तो हुनुहुन्थ्यो परिवारिक उठबसमा उस्तो केही फरक छैन ।' सजिवन,भुजा, कवाव,काडे साग, गुडलगायत गुलिया खानेकुरा मन पराउने काका उमेर ढल्के पनि उस्तै रहेको अनुभव डा.शेखरलाइ छ । 'उहाले मन पराएका खानेकुरामा हामी बन्देज गर्दैनौ' उनले भने 'के खाने , कति खाने ती कुरामा काका आफै चनाखो हुनुहुन्छ ।' राजाको टीका लगाउन नजानुलाइ 'आ-आफ्नो रुची' मान्नुपर्ने बताएका उनले भने 'हाम्रो दसैं रमाइलो भयो । परिवारका सबै भेला भएर मनायौं ।' अघिल्ला केही वर्षहरु दसैं मान्न बाधा परेपनि यसपटक नौलो नभएको उनले सुनाए । 'नौलो यति हो, पहिले गिरिजाप्रसादको दसैं सञ्चारमाध्यममा चासोको विषय बन्दैनथ्यो । यसपटक बन्यो' उनले भने 'त्यस्तो खास परिवर्तनको हामी परिवारभित्रकालाइ अनुभव भएन बरु सबै भेला भएर मनाउन पायौं । यो खुशीको कुरा रह्यो ।'
दसैंमा पाच दिन  गृहनगर बसेका प्रधानमन्त्री कोइराला नवमीका दिन गत आइतवार दुइ औपचारिक कार्यक्रममा सहभागी भए । मोरङ व्यापार संघ र टे्रड युनियन क्षेत्रीय समितिले आयोजना गरेका कार्यक्रममा सरिक हुदा उनले शान्तिप्रक्रिया र पार्टी एकीकरणका दुइ प्रमुख मुद्दामा सबैको सहयोग चाहिएको दोहोर्‍याए । यसलाइ उनले राजनीतिक जीवनको दुइ महत्वपूर्ण 'क्याम्पेन' को संज्ञा दिए । टे्रड युनियनले विराटनगर बसपार्कमा राखेको कार्यक्रममा उनले भने 'यो सफल भएन भने पनि मुलुक असफल हुदैन । निकासको अर्को बाटो निस्कन्छ ।' 
सोही दिन बेलुकी प्रधानमन्त्रिले पूर्व क्षेत्रका सेना,सशस्त्र ,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुलाई कोठामा बोलाएर करीव एक घण्टा शान्ति सुरक्षाको स्थितिका विषयमा परामर्श गरे । 'त्यो बेला गिर्जाबाबुको कोठामा सेक्युरिटी अफ्सरबाहेक अरु थिएनन्' नोना कोइरालाले भनिन् 'प्रधानमन्त्रिले लामो गोप्य छलफल गरेको भनेको त्यही मात्र हो ।' दसैं बसाइमा कोइरालाले आराम गर्ने र एक्लै बसेर चिन्तन गर्ने कामलाइ पनि समय दिएको नोनाले बताइन ।
टीकाको दिन कोइराला निवासमा बिद्युतीय सञ्चारमाध्यमका पत्रकारहरु  निराश भए । कारण प्रधानमन्त्रिका सुरक्षामा खटिएका कर्मचारीले  पारिवारीक टीकाको दृश्य खिच्न दिएनन् । अगाडि नै सम्पर्क गरेर नआएको कारण दर्शाएका सुरक्षाकर्मीले निवासभित्रको पारिवारीक टीकापछि कार्यकर्तामाझ आउदा भने खिच्न अवरोध गरेनन् ।
निवासमा प्रधानमन्त्री कोइरालाले भाउजु नोनाको हातबाट टीका लगाएका थिए भने अन्य सदस्यलाई आफैंले लगाइदिएका थिए । त्यसपछि भेला भएका कार्यकर्तालाइ टीकाको कार्यक्रम भयो । पुराना दसैं झै प्रधानमन्त्री आफ्नी ९२ वर्षीया दिदी नलिनी उपाध्याय र माइजु रेणुकादेवी उपाध्यायको हातबाट टीका थाप्न उनको विराटनगर-१० स्थित घर पुगे ।
पिताजी कृष्णप्रसाद कोइरालाका सन्तानहरुका प्रधानमन्त्रिका दुइ दिदी जीवित छन् । नलिनीका छोरा रञ्जनकुमारका अनुसार कृष्णप्रसादकी  जेठी पत्नि मोहनकुमारीका सन्तानहरु मातृका,नलिनी र इन्दिरा हुन् भने कान्छी दिव्य कोइरालाका सन्तानहरु विश्वेश्वर,केशव,तारिणी, गिरिजा र बुनुदी भनिने लक्ष्मी हुन् । दुवै आमाका सन्तानहरुमा हाल जीवित रहेका गिरिजाप्रसाद, नलिनी र इन्दिरा हुन् । मातृकाप्रसादको राजाभक्ति पथको विरोध गर्ने नलिनी उपाध्याय नेपाली कांग्रेस मोरङकी पहिलो सभापति हुन् । उनी वि.स.२००४ सालमा धनकुटा जेल पनि परेकी थिइन । रञ्जन भन्छन् 'बाधा परेको बेलाबाहेक मामा -गिरिजाप्रसाद) सबैजसो दसैंमा टीका थाप्न आउनुहुन्छ । फरक यति हो,सरकारमा हुदा सुरक्षाको लावा-लश्कर हुन्छ , नहुदा रिक्शामा आएको पनि मलाइ सम्झना छ ।'
नलिनी मुलुकका पहिला एटर्नीजेनरल कालीप्रसाद उपाध्यायकी पत्नि हुन् । बृद्धावस्थाका कारण मान्छे ठम्याउन गाह्रो पर्ने नलिनीले प्रधानमन्त्री भाइलाइ टीका लगाइदिइन । टीका थापेपछि उनले गोडामा ढोगे ।
 केहीवेर दिदीको घरमा बसेपछि प्रधानमन्त्री कोइराला खजराहास्थित माइजुको घर पुगे । त्यहा भेला भएका परिवारसग भलाकुसारी र फोटो खिचाउने कार्यक्रमपछि निवास फिरेका प्रधानमन्त्रीको हातबाट टीका थाप्न कार्यकर्ताको जमात बढ्दो थियो । निवासमा पुनः झर्को नमानी टीका लगाइदिने कार्यक्रम जारी रह्यो ।

टुरमुकाम कार्यालय
प्रधानमन्त्री भएपछि प्रत्येकपटक गृहनगर आउने प्रधानमन्त्रिलाइ आफ्ना निवेदन र गुनासा लिखित तथा मौखिक रुपमा दिन आउनेको संख्या उल्लेख्य हुन्छ । विषय नबुझी भट्ट आश्वासन  दिन गाहारो मान्ने कोइरालाका लागि यसपटक जिल्ला प्रशासन कार्यालयले 'टुर मुकाम कार्यालय'को व्यवस्था गर्‍यो । एक अधिकृतसहित तीन जनाको टोलीले प्रधानमन्त्रिलाइ आएका निवेदन र पत्र बुझने काम गर्‍यो । कोइराला निवासको आगन सुरु हुने ठाउमा पाल टागेर फोनसेटसहित बसेका कर्मचारीले झट्ट जवाफ दिनुपर्ने भए सम्पर्क गर्ने र नभए कुरा बुझेर पत्र दर्ताको काम गरेको थियो ।

शब्दको खेल

एउटा हुनुपर्नेमा अर्कै भए तीन अक्षरको एउटा शब्दले पनि निकै समस्या पार्दछ । भनाइको अर्थ र मर्म परिवर्तन गर्न सक्दछ । प्रस्तावित नयाँ संविधानको मौलिक हकसम्बन्धी मस्यौदामा यस्तै भएको रहेछ । विराटनगर आएका बेला राष्ट्रिय अपांग महासंघका अध्यक्ष वीरेन्द्रराज पोखरेलले संवैधानिक समितिमा बुझाइएको मौलिक हकसम्बन्धी मस्यौदाको व्याख्यात्मक टिप्पणीमा एउटा शब्दको फेरबदलले अपांगमाथि अन्याय भएको बताए ।
डेलको ल्यापटप खोलेर त्यसमा पावर प्वाइन्ट प्रेजेन्टेशन गरेका उनले भने 'सभासदले पनि सच्याएका छैनन् । संविधान पनि त्यस्तो आयो भने ठूलो अन्याय हुन्छ ।' मस्यौदामा परेको 'सम्पूर्ण भन्ने शब्द हटाएर 'विविध' भन्ने शब्द राखिदिएमात्र पनि काम पुग्ने उनले बताए । मस्यौदा समितिले संवैधानिक समितिमा बुझाएको मौलिक हकको मस्यौदाअन्तर्गत सम्मानपूर्वक बाच्न पाउने हकको व्याख्यात्मक टिप्पणीमा 'आङ्खनो हकअन्तर्गत आङ्खनो शरीर र सम्पूर्ण अङ्ग, प्रत्यङ्गसहित आङ्खनो पहिचान र आत्मसम्मान कायम राख्दै सम्मानपूर्वक बाच्न पाउने हक पर्दछ' भनिएको छ ।
यहा उल्लेखित सम्पूर्ण शब्दले सबैखालका अपांगलाई समेट्न नसक्ने तर्क अध्यक्ष पोखरेलको छ । उनले आफुजस्ता दृष्टिविहीन र एउटा मिर्गौला नभएकाहरु पनि अपांग हुन भने । किन यस्तो भयो भन्ने सोधी खोजीमा जानाजान अंग बेच्नेले पनि सम्मान पाउने भयो भनेर अल्पबुद्धि सभासदले त्यसो गरेका रे ।
अपांगका अवस्था हेरेर तिनको वर्गिकरण गरिनु उपयुक्त भएपनि संविधानले चाहि सबै खालका अपांगलाइ समेटनु पर्ने आफुहरुको माग रहेको उनले सुनाए । हो, संविधानले सबैलाई अधिकार सम्पन्न बनाउनुपर्छ । शिक्षा, स्वास्थ्य र अवसरमा पहुँच हुनसक्ने अधिकार दिनुपर्छ भन्नेमा दुइ मत भेटिन्न । नियम लत्याएर काम गर्नेहरुले देश चलाएका बेला यति जाबो शब्द सच्याउन सभासद किन सकेनन् । अचम्म छ ।
मुलुकमा अपांगता भएकाहरुको संख्या ३० लाखको हाराहारीमा छ । उनीहरुका लागि केही त गरेकै बेस हो । गर्नैपर्छ । 

Wednesday, March 24, 2010

Koirala in the eyes of his town folk


People with sombre faces were taking turns to offer floral tributes at a portrait of their beloved leader Girija Prasad Koirala at his Biratnagar-based house on Sunday. Outside the house, groups of people were milling around talking about Koirala, who used to visit his hometown to meet friends, families and party activists every now and then.
“His demise has caused an irreparable loss to the country,” said Tetarlal Rajbanshi, who came from Bardanga VDC to pay his last respect to Koirala. Rajbanshi said he had an opportunity to meet Koirala during his visit to Biratnagar. “I used to meet him in this house every time he arrived. I don’t know if I’ll come here again since he is no more,” said Rajbanshi.
Phanindra Gadtaula of Itahara VDC had also come at Koirala’s residence to pay his respect. He said he heard about Koirala’s death on a radio. “I was working in a field when I heard the news. Out of shock, I could not speak or work,” he said.
Gadtaula, who avidly follows national politics, said Koirala’s death has saddened many people. Now, everyone should think about the country’s future in the absence of an important political figure, he added. 
“How will the parties and their leaders move ahead after Koirala’s death? Will they deliver the new constitution on time? These are my concerns now,” he said.
Many people, who did not keep tab of politics, however, seemed to know Koirala and his role in the national politics. “I heard that he was the only leader who could hold all the political parties together,” said Manish Rishidev, a rickshaw puller. “A leader of such element should have lived longer for the betterment of the country.”
Baldev Marik, who works as a cleaner at Koshi Zonal Hospital, said he always saw Koirala as a bystander whenever he visited his Biratnagar house. “I had no business meeting him, but whenever I saw him I felt really proud, for he was our leader. He was courageous both in words and deeds.”
(From 23 March the Kathmandu post)

Saturday, March 20, 2010

कोइरालाका सम्झना

                                                       पटक-पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको गएराती राजधानीमा निधन भयो । शनिवार । विराटनगरको बजार बन्द रहने दिन । तर दौडधुप अस्पताल रोडस्थित कोइराला निवासको रहयो । उनलाइ विराटनगर ल्याइएन । तर, विराटनगर उनका लागि अभिन्न छ । 
                   पत्रकारिता सुरुआतका दिनदेखि कोइरालाको राम्रो तस्बिरको ध्याउन्ती उनको निधनसँगै सकिएको छ । उनलाई राजनीतिमा शिखर पुरुष भनिन्छ । उनका काम र सक्रियताले यो उपमा ठीक होला । धेरैले देश विगार्नमा उनले छोरीलाइ गरेको माया बढि भयो पनि भन्छन् । निवासमा रहेका कामदार नियाउरा देखिए । केही आजै राजधानी हान्निए । कुरा गर्ने अवस्था थिएन । मेरो अनुभवको पाटो तस्बिरसँग जोडिएको छ । आज त्यही विषयमा मात्र चर्चा गरौ ।
०६० देखि सजिलोसँग उनका तस्बिर खिच्न मिलेको हो । समय धेरै भएको छैन । उनी राजधानीबाट जब विराटनगरस्थित निवास आउँथे । निवास पस्ने वितिकै पत्रकार माझ बस्थे । अनि केही यस्तो बोल्थे , जो आउने विहान छापा माध्यमहरुमा प्रमुखतासाथ छापिने समाचार बन्थ्यो । धेरैपटक उनले बोलका कुराले विवादको रुप लिन्थ्यो । अनि प्रमुखतासाथ छापिने समाचारका लागि भाव भएको तस्बिरको माग हुन्थ्यो । कोइराला विराटनगर आएका बखत कुनै समय यस्तो थियो । सम्पादकको फोन रिसिभ गर्नुपर्थ्यो । तस्बिर राम्रो हुनुपर्छ । अलि परिश्रम गरेर छाप्न लायक तस्बिर लिन आग्रह र आदेश हुन्थ्यो ।
                              कोइराला निवास कोशी अञ्चल अस्पतालको अगाडि छ । तले घर । काठका ढाचासँग पक्की कोठा जोडिएका । माथिल्लो तलाको बरण्डामा उनी आएका बखत हुने जमघटले धेरैपटक राम्रो तस्बिरका लागि स्थिति असहज हुन्थ्यो । कारण, उनी सञ्चारकर्मीसँग खुलेर बोल्थे । त्यसको मजा कार्यकर्ताले लिन्थे । अनि पत्रकारको भीडमा कार्यकर्ताको बग्रेल्ती उपस्थितिले समस्या पारेको हुन्थ्यो । उनले विराटनगरका पत्रकारलाई माया गर्थे । काठमाडौंमा सुरक्षा र आफन्तको अवरोध छलेर उनको तस्बिर लिन र कुरा गर्न सहज हुँदैन । तर विराटनगरमा जो कोही नजिक आएर सवाल जवाफ गर्न सक्थे । प्रधानमन्त्री भएका बखत पनि हामीलाइ लाग्थ्यो उनी प्रधानमन्त्री हुन र ! यदि हुन भने सुरक्षा किन यति फितलो ? जो केही नगिच जान पाएको छ । सवाल जवाफ गर्न पाएको छ ।
उनले कुरा गर्थे । करीव १५ मिनेट कुरा गरेपछि उनी भन्थे । अब आजलाइ यति नै । चिया खाउँ । अनि चिया-चमेना चल्थ्यो । चियाका बेला पनि पत्रकारले कुरा धुत्न छाडदैनथे । उनलाइ क्यामेराको फ्ल्यास मन पर्दैन भनेर धेरैपटक नगिचका कार्यकर्ताको अनुरोध आउँथ्यो तस्बिर लिदा फ्ल्यास नबाल्न । तर हामी मान्दैनथ्यौ । किनभने हामीसँग टिल्ट गर्ने फ्ल्यास थिएन । अफिसलाई राम्रा तस्बिर चाहिने तर, समान भने आफैले जोहो गर्नुपर्ने हुँदा महँगा क्यामेरा हाम्रो क्षमतामा पर्दैनथ्यो । जे होस बुढाको तस्बिर मजाले खिचिन्थ्यो । स्वादिलो पाराले प्रमुखता दिएर पत्रिकाले छाप्थ्यो । उनकी भाउजु नोना जीवित छँदा उनी चियासँगै चुरोट पिउँथे । त्यसबेला उनले तस्बिर नलिन कडा आदेश गर्थे । पछि उनले चुरोट छाडे । भाउजुको निधनका बेला विराटनगर आउँदा उनी रोएको पनि देख्न पाइयो ।  
                उनी विराटनगर आएपछि यहाँका सञ्चारकर्मीका लागि ठूलो पर्व आएको भान हुन्थ्यो । कारण पहिलो पेजमा बाइलाइन समाचार र तस्बिर आउँछ भनेर । त्यही हुन्थ्यो पनि । उनलाइ केही विवाद र तरंग ल्याउने कुरा गर्नुपरे ठाउँ गृहनगर हुन्थ्यो । उनी रहेनन् । आज उनलाइ सम्झदा मलाइ व्यक्तिगत रुपमा कुनै अफसोच छैन । आज भेटेकामध्ये पुराना कांग्रेस कार्यकर्ता पिताम्बर दाहालको भनाइ उपयुक्त लागेको छ । देशले प्रभावशाली नेता गुमाएकै हो । उनले जे गरे । तिनका केही गल्ति पनि होलान । तर, अब कांग्रेसमा यस्तो प्रभावशाली र एकात्मक नेता छैनन् । बहुमतीय प्रणालीबाट अब कांग्रेस जानुपर्छ । अनि कोइरालाले भनेर व्यवहारमा लागु भयो/भएन । तर, मुलुक सहमति , सहकार्य र एकतामा चल्नुपर्छ । उनको आत्माले शान्ति पाओस । आज यति नै ।  

Friday, March 19, 2010

रेमिट्यान्सले फेरिँदै गौरादह


     गौरादह (झापा) - स्थानीय सहकारीका व्यवस्थापक हेमन्त कार्कीलाई कुरा गर्ने फुर्सद निकाल्न गाह्रो छ । उनलाई सहकारीले यति व्यस्त पारेको होइन । आइएमईको रेमिट्यान्स वितरण शाखाले उनको व्यस्तता बढाएको हो ।झापाको दमकबाट १२ किलोमिटर पूर्व-दक्षिणस्थित गौरादहमा शाखा चलाएका उनले भने, 'महिनाको करिब चार करोडजति रेमिट्यान्स आउँछ । टार्ने पुर्‍याउने कामले बेफुर्सदी बनाएको हो ।' 
उद्योग नभएको यस क्षेत्रमा अहिले पुरानो बजारभन्दा डिपुचोक फराकिलो बजार बनेको छ । यहाँ विभिन्न संस्थासम्बद्ध पाँचवटा रेमिट्यान्स भित्र्याउने कम्पनीका शाखा छन् । दुई सहकारी, दुई निजी र एउटा सरकारी बैंक छन् । सबैमा रकम झिक्ने राख्नेको कारोबार वैदेशिक रोजगारीमा गएकाहरूले घर पठाएको रकमबाट चलेको छ ।'मैले लिएको एजेन्सीबाट मात्र ४ करोड महिनाको जान्छ,' कार्कीले भने, 'यहाँका सबैको हिसाब हेर्‍यो भने महिनाको १० करोड रुपैयाँ आउने रहेछ ।' उनका अनुसार बैंक वित्त र सबैखालका कारोबारमा त्यसले भर गरेको छ । यहाँको बजारमा निर्माण सामग्री, कपडा, भाँडाकुँडा र खाना पकाउने ग्यासलगायतका पसल छन् ।

              डिपुचोकबाट गौरादहको पुरानो बजार पुगिने बाटा वरपर पक्की घर बनेका छन् । सबैजसो नयाँ घरमा पसलका लागि सटर राखिएका छन् । कतिपय नयाँ बन्दै गरेका घर छेउ पुराना काठका घर पनि छन् । पुराना घरले यो क्षेत्र फेरिनुअघि कस्तो थियो भन्ने जनाउ दिएका छन् । 
      यस क्षेत्रबाट विदेश जाने कति छन् भन्ने तथ्यांक कसैसँग छैन । डिपुचोकमा कपडा पसल चलाएका डिल्लीराम कापmले भन्छन्, 'धेरै गएका छन् । तिनकै भरले परिवर्तन भइरहेको छ भन्ने लाग्छ ।' वैदेशिक रोजगारीमा जानेहरूले घरमा पठाएको रकमले जग्गामा महँगी पनि बढाएको छ । 'दुई/तीन वर्षमा बजार धेरै फेरियो । पक्की घरहरू बढे,' उनले भने । माओवादी सशस्त्र द्वन्द्वका समयमा यहाँ रहेको नेपाल बैंकको शाखामा लुटपाट भएको थियो । घटनालगत्तै शाखा बन्द भयो । 'त्यो बेला कारोबार गर्न दमक नै धाउनुपथ्र्यो,' उनले भने, 'दमकको बैंकबाट पैसा झिक्नेको किनमेल पनि उतै चलेपछि यहाँको बजार सुकेको थियो ।' चालू वर्ष नेपाल बैंकको शाखा पुनःस्थापना भयो । निजी क्षेत्रको विराटलक्ष्मी विकास बैंकले शाखा खोल्यो । कन्काई विकास बैंकले पनि एक्सटेन्सन काउन्टर राख्यो ।'सहकारीले काम चलाए पनि बैंक आएपछि बजार अलि बेग्लै हुने रहेछ,' कापmलेले भने, 'अहिले बजार फेरिएको छ ।' उनले भनेजस्तै उद्योगधन्दा नभए पनि यहाँको बजारमा निर्माण सामग्रीको व्यापार फस्टाएको छ । रेमिटको सेवा र नेट फोन राख्नेहरू बढेका छन् । चटपटे बेच्दै एक दशक बिताएपछि चिया-नास्ताको होटल चलाउन थालेका स्थानीय जनार्दन साहको बुझाइमा सहकारीले ऋण दिन थालेपछि व्यवसाय गर्नेलाई सजिलो भएको छ ।
                        निर्माण सामग्रीको कारोबार गर्दै आएका झापा उद्योग वाणिज्य संघ गौरादह शाखाका अध्यक्ष अमृत कटुवाल भन्छन्, '०५८ सालमा नेपाल बैंकको शाखा यहाँबाट उठेर गएपछि कारोबार बन्दजस्तै थियो ।' उनका अनुसार त्यसबेला केही वर्षअघि सुरु गरेको शुभलक्ष्मी सहकारीले सेवा दिने काम गर्‍यो । बैंकहरू आए पनि अहिले सहकारीको कारोबार सबैभन्दा अघि छ । 'करिब ८ करोड ऋण प्रवाह गरेको सहकारीका एक हजार जना सेयर सदस्य छन् ।'रेमिट सेवा सुरु भएपछि गाउँमा पैसा आएको छ,' उनी भन्छन्, 'बैंक र सहकारी पनि ऋण लगानी गर्न सक्ने भएका छन् ।' कटुवालको बुझाइमा कृषिमा निर्भर गौरादह बजारको अवस्थामा सुधार आउनुका पछाडि सहकारी र बैंकको हात छ । उनका अनुसार यहाँ अहिले प्लटिङ गरी घडेरी बेच बिखनको काम तीव्र छ ।

(०६६ चैत ६ गते कान्तिपुर दैनिकको अर्थवाणिज्य पृष्ठमा प्रकाशित)

Wednesday, March 17, 2010

सुराकी लगानी कोष

                                   विराटनगरमा आज नामै नसुनेका संगठनहरु पनि विज्ञप्ति जारी गरिरहेका छन । पूर्व क्षेत्रका डीआइजी भिष्मराज प्रसाइको कदम वैधानकि भएन भनेर । हिजो उनले पत्रकार सम्मेलन गरे रे । आफु नजिकका पत्रकारलाई मात्रै बोलाएर गरेको घोषणाको समाचार आज समाचारपत्रले प्रमुखता दिएर छापेको छ । समाचार हो - चन्दा उठाएर कोष बनाउने। हतियार र अपराधीको सूचना दिनेलाई पुरस्कृत गर्ने ।
                                             झट्ट सुन्दा बेथिति भएको मुलुकमा डीआइजीको यो घोषणा अनुपयुक्त लाग्दैन । तर उनको कामै शान्ति सुरक्षा । जिम्मेवारी नै त्यही । तलब पनि त्यही कर्म गरेर खाने हुन् । उनको आइडिया नराम्रो पक्कै नहोला । तर, १ करोडको कोष बनाउने । सूचना दिनेको नाम, सूचना र पुरस्कारवापत पाएको रकम गोप्य राखिने भनिनु शंकास्पद छ । उनले घोषणा मात्र गरेका होइनन् । रकम नै जुटाउन थालेछन् । झापाबाट चार लाख । विराटनगरका उद्योगी व्यवसायीबाट चार लाख । आठ लाख उठेछ । सहयोग माग्दै हिजै उद्योगीहरुको भेला पनि गरे । सहभागीले दिने प्रतिबद्धता पनि जनाए रे ।  
      विभिन्न संस्थाले आज त्यही कुराको विरोध गरेका छन् । प्रहरीले जनतासग रकम उठाएर सुराकीलाई दिन पाउने भन्ने ऐन नियम छैन । अनि सुरक्षाका सवालमा पछिल्लोसमय गृहमन्त्रीकै आलोचना भइरहेका बेला सरकारले नया घोषणा पनि गरेको छैन । अनि सरकारको विशेष सुरक्षा योजना पनि प्रभावकारी रुपमा लागू भइसकेको स्थिति छैन । 
                               गत फागुको अन्तिम साता विरोटनगरमा एमालेको युवा संगठन युथ फोर्सका मोरङ संयोजक परशुराम बस्नेत र उनका साथी परशुराम राइमाथि गोली प्रहार भयो । दुवै अझै अस्पतालमा छन् । गोली हानेको तेस्रो दिन बस्नेतको वर्कसपमा बम फेला पर्‍यो । प्रहरीले अझै त्यसमा संलग्न कसैको भेउ पाएको छैन । बस्नेत छोटो समयमा विराटनगरमा निकै नाम कमाएको टोलीका नाइके हुन् । उनको बाटो जस्तो होस, प्रहरी कति सक्षम रहेछ भन्ने घटनाको साता बित्दा पनि शंकास्पद कसैलाई पक्राउ गर्न नसक्नुले पुष्टि गर्छ ।
डीआइजीले गर्न खोजेको काम पारदर्शी हुने दावी गरेपनि नियमले मिल्ने पक्कै होइन । यसको बहस अब चल्दैछ । प्रहरीले अपराधी नचिन्ने हतियारको सुरकी लिन नसक्ने होइन । तर कोषले यस्तो सूचना ल्याउने प्रहरीलाई नै पनि पुस्कृत गर्ने रे । अनि अपराधमा प्रहरी अधिकारी नै संलग्न रहेको खबरहरु आएका बेला कुनै नागरिकले यस्तो सुरकी दिए त्यसले कोषबाट पुरस्कार पाउनु अघि नै अर्को यात्राको बाटो सहज हुनसक्छ ।  

Tuesday, March 16, 2010

संविधान समयमै जारी होला ?

नयाँ संविधान समयमै जारी नभए मुलुक संकटमा फस्छ । यस्तो हुन दिनुहुँदैन । माओवादी बाधा भो । दलहरुले १४ मा जारी नगरे जनव्रि्रोह हुन्छ । समयमै जारी हुन्छ । दलहरु गम्भिर भएनन् । 
धेरै यस्ता भनाइ हामीले सुन्दा सुन्दा वाक्क लाग्ने अवस्था छ । आज दुइजनासँग भेट भयो । एक विद्यार्थी नेता । अर्का सभासद । विद्यार्थी नेता अभियानमा विराटनगर आइपुगेका थिए । सभासद नवाह महायज्ञको उदघाटनका लागि अतिथि बनेर बसेका । 
पछि भेट भएपनि पहिले सभासदसगको कुरा लेख्छु । यी सभासद हुन् - मोती दुगड । सेन्चुरी मसला । सदभावनाबाट मनोनित । ज्येष्ठ नागरिकका लागि सामुदयिक भवन र अस्पताल बनाउन महायज्ञ आयोजना गरिएको रहेछ । १३ करोडको महत्वाकांक्षी लक्ष्यमा सहयोग संकलनको सुरुआत यज्ञले गर्ने रहेछ । उनीसग मैले सोधे - आज संसद चल्दैन ? तपाइ यहाँ हुनुहुन्छ ? उनले भने - चल्छ । जान्छु । धेरै लफडा छ । समयमा संविधान जारी हुन्छ जस्तो लाग्दैन । 
मैले सोध्दै गए । दलहरुको रवैया । अनि संक्षिप्त संविधान जारी गर्ने कुरा आएको । उनी भन्दै गए -दलहरु गम्भिर छैनन् । सरकार टिकाउने र गिराउनेमै ध्यान छ । संविधान समयमा जारी हुँदैन । कारण यसको एकसरसाइज पुगेको छैन । सदन छ महिनाका लागि थपिन्छ होला । यसको प्रावधान नै छ अन्तरीम संविधानमा । समयमा जारी गर्नुपर्छ भनेर हल्ला गरेरमात्र हुन्छ । काम गर्नुपरो नि । कामभन्दा झगडा-वादविदमै ठूला दल अल्भिएका छन् । अनि समय नथपेर  म त विकल्प देख्तिन । संक्षिप्त संविधान जारी हुदैन । यसले बखेडा सिर्जना गर्छ । उनले कुरा सिध्याए । 
यसअघि पत्रकार महासंघको मोरङ शाखामा प्रेस युनियनले नेपाल विद्यार्थी संघको टोली राखेर पत्रकार भेटघाट गरेको थियो । वक्ता थिए- नेविसंघका अध्यक्ष प्रदीप पौडेल । संघले हिजोदेखि मेची-काली अभियान थालेको छ । संविधान समयमै जारी गराउन दवाव दिने उदेश्यले एउटा टोलीले महाकाली र अर्कोले मेचीको माटो लिएर संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई चैत ९ गते बुझाउने रे । मेचीबाट हिडेको टोलीलाइ पौडेलले अगुवाइ गरेका छन्  महाकालीका लाई महामन्त्री कल्याण गुरुङले । पौडेलले सबै कुरा भने । संविधान निर्धारित मितिभित्रै जारी गराउन अभियान । नेता गम्भिर भएनन् । सेना समायोजनमा माओवादी लडाकुको समूहगत प्रवेश अमान्य हुने । अनि माउ पार्टीका केही नेताको संविधान समयमा जारी गराउने विषयमा आएका नकारात्मक टिप्पणीमा असहमति ।
संविधान समयमा जारी होला नहोला भन्ने टिप्पणी व्यर्थ छ । कारण समयमा जारी गराउनु ठूलो कुरा होइन । कानूनव्यासयीको एउटा टोली गठन गरिदिए एक सतामै संविधान बन्छ । सभासदले ताली दिएर पास गर्ने हुन् । अनि जुन कुरा परे परेनन्  तिनको बहस चल्दै जाँदा संशोधन गर्दै थप्दै जाने बाटो खुला नै रहेछ भइहाल्यो । के को रडाको  ?  

Sunday, March 14, 2010

आखिर चल्दो रहेछ



हातमा साना दुइ झोला बोकेर विद्यालय परिसर पसेकी महिला विस्तारै बसिन् । त्यहा काम गर्ने एक युवकलाई भनिन् 'मेरा छोरा-छोरी बोलाइ दिनुस्न् ।' ती युवक बाहिरिए लगतै पाच वर्षका बालक र सात वर्षकी बालिका आए । दुवै लुटपुटिए । उनले दुवैलाई म्वाइ खाइन् । माया गरिन् । 
छोरो लुटपुटियो । छोरी केहीबेरमै झोला हेर्न थालिन् । आमालाई सोधिन् 'हामीलाई के ल्याइदिनुभएको छ ?' उत्तर आयो 'मालपुवा ।' उनले झोला खोल्दै दिन थालिन् । 'धेरै दिन भएछ छोराछोरी नभेटेको, उनले भनिन् 'त्यही भएर यिनीहरुलाइ नियास्रो लागेको होला ।' मोरङको झुर्किया गाविस-८ बस्ने यी बसन्तीदेवी गनगाई हुन् । उनले भेटेका नानीहरु १ कक्षामा पढ्ने रुपेश र २ कक्षाकी सिर्जनाकुमारी । 
यी नानीहरु पढदै रहेको विद्यालय हो - सुनसरीको हासपोसा गाविसको भवानीपुरमा पर्ने सहीद स्मृति आवसीय प्राथमिक विद्यालय । नामकै सहीद स्मृति भएपछि यहा कस्ता बालबालिका भेला भएका छन् भन्ने अनुमान असहज छैन । कुनै बेलाका शिक्षक सहदेवको सम्झनामात्र बाकी रहेको सुनाएकी बसन्ती भन्छिन् 'अब चाहि नानीहरुले राम्ररी पढछन् की भन्ने लागेको छ ।' पहाडमा शिक्षण पेशामा रहेका सहदेवलाइ बस्न असजिलो भयो । उनले सुनाइन 'त्यसपछि घर आउनुभो, सरुवा मिलेन । जागिर खान पनि सक्ने स्थिति भएन ।' त्यसबेला माओवादी द्वन्द्वले समस्यामा पारेको सहदेवले बसन्तीलाई सुनाएका थिए । 'जुन पार्टीका कार्यकर्ताका कारण पहाडमा बस्न नसक्ने हुनुभएको थियो, उनले भनिन् 'आजित भएर उहा पनि त्यही पार्टीमा लाग्नुभयो ।' पार्टीमा लागेको पाच महिनामा मोरङको कल्याणपुरमा सहदेव सुरक्षा फौजको कार्वाहीमा परे । 

केही भावुक देखिएकी बसन्ती भन्दै गइन् 'उहा त्यस्तो घटनामा परेपछि हाम्रो बिजोक भयो । तर, जीवन जसरी पनि चल्दो रहेछ ।' नानीहरुमा पनि मानसिक आघात परेको उनको अनुभव थियो । 'पछि यो स्कुल खुलेको सुनें, उनले भनिन् 'नानीहरु यहा ल्याएर भर्ना गरियो । आफु जसरी गाउमा थिए, त्यसरी नै छु ।' नानीहरु विद्यालय हालेका एक महिना विछोडिएर बस्न असजिलो भएपनि अबका दिन केही सहज भएको उनको भनाइ थियो ।

बसन्तीजसरी आफ्ना नानीहरु भेटन आउने अभिभावक यहा भइरहन्छन् । नानीहरु फरक भुगोल, भाषा-संस्कृति र परिवेशबाट आएर यहा भेला भएका छन् । उनीहरु साथीको भाषा सिक्छन् । आफ्नो सिकाउछन् । र, साथी बन्छन् । दुइ कक्षाकी सिर्जनालाई स्कुल सुरु-सुरुमा मन परेको थिएन । 'अहिले रमाइलो लाग्छ, उनले भनिन् 'अहिले धेरै साथी छन् । यहा रमाइलो छ ।' समूहमा खाना खानु । आ-आफुलाई तोकिएको ठाउमा सुत्नु । विहान उठेर दात माझनु । समूहमा प्रार्थनामा सहभागी हुनु । पढ्नु-खेल्नु दिनचर्याको रमाइलो दैनिकी भएको बालमस्तिष्कको बुझाइमा पर्छ । उनले भनिन् 'भाइलाई चाहि अलि समय लाग्यो । उसले ममी खोजिरहन्थ्यो । आएकै छ महिना भइसक्यो अब यहा बानी परिसक्यो ।' 
बास फोरेर प्लाष्टिक बेरी बनाइएको छानो र बासकै खाबाखुट्टाको ढाचामा खडा भएको विद्यालयमा सहदेवजस्ता विभिन्न घटनापरि दिवगत धेरैका नानीहरु अहिले कखरा सिकिरहेका छन् । प्रधानाध्यापक रीता फुयाल भन्छिन् 'हामीसग अहिले १ सय १० जना नानीहरु छन् ।' चारकोसे बन क्षेत्रनजिक रहेको यो विद्यालय माओवादी नेतृत्वको सरकारछदा खुलेको हो । त्यसबेला सरकारले पाच विकास क्षेत्रमा यस्ता एउटा-एउटा स्कुल चलाउने नीति ल्याएको थियो । नीति ल्याएपछि पूर्वका लागि सुनसरीको हासपोसासगै पोखरा, दाङ, धनगढी र जिरीमा विद्यालय खोलिए । 
धरान-इटहरी मार्गको तरहरादेखि पाच किलोमिटर पश्चिम भवानीपुरमा स्कुल खुल्यो तर, पर्याप्त पूर्वाधार छैन । विद्यालयका कक्षा कोठामा चिहाउने घाम र बग्ने तातो हावा टीठ लाग्दो छ । बालबालिका सामुहिक पढाइको अभ्यास मात्र गर्दैनन् खेलकूदमा पनि मिलेर सहभागी भइरहेका देखिन्छन् । सञ्चालक अध्यक्ष राम कोइराला भन्छन् 'सरकारले दिने अनुदान पुग्दैन । हामी सहयोग संकलन गरेर स्कुल चलाइरहेका छौ ।' उनका अनुसार सहयोग संकलनकै लागि विद्यालयले पूर्वका विभिन्न सहरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्‍यो । त्यसबाट झण्डै १० लाख रुपैयाँ उठेको छ । 'पर्याप्त होइन, अध्यक्ष कोइरालाले भने 'तर, सहयोगको क्रम यसले सुरु गरेको हामी मान्छौ ।' 
(२०६६ फागुन २९ को कान्तिपुर कोसेलीमा प्रकाशित)

Friday, March 12, 2010

कुरा कुखुराका

मान्छेको बनोट मांसाहारी होइन भनिन्छ । कारण, हामी पानी ल्याप ल्याप चाटेर खाँदैनौ । तनतनी पिउँछौ । तर, फलाहारी थोरै छन । घाँस खाने थोरै छन् । मान्छेको ठूलो हिस्सा मांसाहारी छ । मासू खाने भएपनि धेरैलाई काटकुट हेरिहन मन पर्दैन । पकाएर सजाएर ल्याइदिए निल्ने चलन छ ।
आज विहान सशस्त्र प्रहरीका एक डिएस्पी भोला गिरीले फोन गरे । भारतबाट अवैध भित्र्याइएका ब्रोइलर कुखुराका चल्ला नष्ट गर्ने काम रहेछ । खबर लेखिदिनुपर्ने । मेरो ब्लगमा निकै अघि कुखुरा गाडदै गरेको तस्बिर छ । तस्बिरबाहेक मैले त्यसबेलाका केही कुरा लेखेको छैन । कारण, ती खान उमेर पुगेका कुखुरा थिए । तिनलाई लाठीले हिर्काएर मारेपछि गाडियो । त्यसबेला तीन बोरा तयारी मासू पनि थियो । तस्बिर लिन पुगेको मलाई बोराबाट झिकेर भुइँमा खन्याइदा दुइ तीनवटा कुखुरा कुहिएको र तिनबाट कीरा निस्किएको देख्दा धेरै दिनसम्म चिकेन परिकार खान मन लागेन । केही दिन खाइएन । पछि फेरि कुरा पुरानो भो । दिनचर्या उस्तै ।
आज अर्थात ०६५ फागुन २८ , मार्च १२ तारिख । विराटनगर-२० स्थित बन्द भएको मोरङ सुगर मिल परिसरमा अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ । यहा चल्ला नष्ट गर्ने योजना रहेछ । डिएस्पी गिरीका अनुसार हिजो बेलुकी वरडंगा गाविसमा सशस्त्रको टोलीले बरामद गरेको चल्ला थिए । ३६०० वटा । नेपालमा प्रचलित मूल्य प्रहरीकै हिसाबले २ लाख २७ हजार रुपैया बराबरका । सामान्यत ब्रोइलर कुखुराका चल्ला राम्रो आम्दानीको स्रोत हो, यो व्यवसायमा लागेकाहरुका लागि । एउटा चल्ला सरदर ४५/५० दिनमा खान योग्य डेढ/दुइ किलोको हुन्छ । दाना र पाल्ने ठाउ अनुकुल भए यसले छिटो आम्दानी दिन्छ ।
हामीकहा लोडसेडिङको समय लम्बिएयता कुखुराको मासूको भाउ बढेको छ । यसको कारण हो , चल्ला उत्पादनमा आएको कमी । चल्ला कम भए कुखुरा पनि बढने कुरा भएन । अनि आपूर्ति घटेपछि सस्तो कसरी हुन्छ । नेपालका हृयाचरीले उत्पादन गरेका मात्रै चल्लाले हाम्रा पोल्ट्रीमा कुखुरा बढदैन । भारतमा बर्डफ्लु पुष्टि भएयता पंछी र पंछीजन्य पदार्थको आयातमा बन्देज छ । खुला सीमाना । सरकारले बन्देज भनेरमात्र यसको कार्यान्वयनको पक्ष सजिलो छैन । भारतमा भात खाएर नेपाल आइ दिसा बस्नेदेखि नेपालमा मदिरा लडाएर भारत पुगी जरिवानामा पर्नु नौलो होइन । कतिपयस्थानमा दसगजामै गाउघर छन् । अनि सीमानाबाट हुने ओसारपसारमा कुखुरा जाबो ठूलो कुरा कसरी होला । भएको छैन । आएको आएकै छ । बेलाबखत प्रहरी र पशु क्वारेन्टाइनले समातेर नष्ट गरेको प्रदर्शनी पनि देखाएको देखाएकै छ ।
अब फर्कौं चल्लाको प्रसङ्गमा । सशस्त्रको सीसुका परिसरमा खाडल खनियो । गएको तिहारमा यही ठाउ नजिक अरको खाडल खनिएको थियो । पटका गाडन । अहिले चल्लाका लागि । ती घण्टा लगाएर खाडल तयार भएपछि चचला राखेका टोकरी र कुटका डिब्बा गाडीबाट झिकियो । चल्ला च्याउ च्याउ गरिरहेका छन् । अनि सशस्त्रका मुखमा मुखारी लगाएर र नलगाएर दुवैखाले जवानले चल्ला खाडलमा मिल्काए । मुचुल्का गरियो । अनि खाडलमा कुट र कागज हालियो । आगो लगाइयो । आगो बलिरहदा चल्लाको आवाज नरमाइलो लागिरहयो । केही मिनेटमै आवाज कम भयो ।
३६०० मध्येका दुइ आगोबाट बाहिर फाल हाल्दै निस्कए । एउटालाई सशस्त्रका एक जवानले लातले फुटबल बनाए । त्यो फेरि आगोमै पुग्यो । अर्को निकै पर भाग्यो । मलाइ हतार थिएन । यद्यपि त्यहा बसिरहन मन भएन । म निस्कए । मोटरसाइकल स्टार्ट गर्दा गर्दै सशस्त्रका जवानहरुले बोलेको सुन्दै बाहिरिए । उनीहरु भन्दै थिए 'यो यत्रो संकटबाट जोगियो । यसलाई छाडिदिउँ । छोड दे । छोड दे । यो बाँचोस । यसलाई केही नगरौ ।' त्यो बचेको एउटालाई मारे वा छाडे । थाहा भएन ।
पंछी र पंछीजन्य पदार्थको ओसार पसारमा बन्देज सतर्कता हो । केही समयका लागि यो ठीक पनि हुनसक्छ । तर, नेपाली पैसा तिरेर यसरी ल्याइसकेपछि बरामद हुँदा मारेर , डढाएर गाडनु भन्दा तिनीहरु जोखिमयुक्त छन छैननन् परीक्षण गर्दा ठीक हुन्थ्यो होला ।

Thursday, March 11, 2010

कोसीमा मोटरबोट


सप्तकोसी नदिमा अहिले एउटा समूह जलयात्राको सम्भावना पहिल्याउँदै छ । सुम्निमा जल यातायात प्रालिका नाउँमा । अमेरिकाबाट ल्याइएको भनिएको जेट स्टि्रम मोटरबोटका केही कलपुर्जा विराटगरस्थित एक ग्यारेजमा दुइ दिन लगाएर सेट गरिए । मैले तिनलाई हेर्न पाएँ ।
टयाक्टरले तानेर मोटरबोट सुनसरीको वराहक्षेत्र गाविसमा पर्ने चतरा पुर्‍याइयो । चतराबाट कोसी हुँदै यसका सहायक नदिमा लगानीकर्ताको समूहले चाल मारेको मारेकै छन । टोलीमा अहिले बोट कम्पनीका दुइ प्राविधिक पनि छन । उनीहरुले कुदाएर बाटो खोज्दै नेपाली चालकलाई पनि चलाउन सिकाउदै छन् ।
यात्राको नया बाटो खोज्दै गरेको समूहले मलाई पनि चतरा बोलायो । साथी सञ्जिव खनालसँगै पुगियो । हेरियो । डिजल इन्जिनयुक्त बोट पानीमा मजाले कुदने रहेछ । लगानीकर्ता रहेछन् एमाले नेता प्रदीप नेपाल, सशस्त्रका पूर्व डीआइजी ज्ञानेन्द्रराज र्राई, संखुवासभाका पूर्व सांसद हरि बैरागी दाहाल, व्यवसायी जीआर अधिकारी र अर्का एकको नाम थाहा भएन । मोटरबाटो मात्रै हिडेका नेपालीका लागि पानीको यात्रा नितान्त नौलो हो । छोटा रुटमा डुङ्गा यात्राको अनुभव धेरैपटक भएका हुन् ।
दोलालघाट-चतरा- तुम्लिङटार चलाउने योजना रहेछ । राम्रो हो । सरकारसग यसका लागि ऐन रहेनछ । लगानीकर्ताले चाहे जे पनि हुन्छ । भयो । मन्त्रिपरिषदले काम चलाउ नियम बनाएर मोटरबोट यातायात मंत्रालयको जिम्मा लगाएको उनीहरुले नै सुनाए । चतरामा प्रदीप नेपाल चाहि थिएनन् । उनी मुली हुन् भन्ने बाँकी रहेकाहरुले सुनाएका हुन् ।सुनियो मोटरबोटलाइ चलाउन दिने नदिनेमा सरकार भन्दा बढि अन्य संगठन हस्तक्षेपको दाउमा छन । नेपालका नदिमा मोटरबोट चल्नु नेपालीका लागि रमाइलो हुन सक्छ । तर, व्यवसायिक रुपमा यो चल्ने नचल्ने भन्ने टुङ्गो अझै छैन । चलोस् । ठीकै हो । नेपालीका लागि विभिन्न जटिल गन्तव्य पुग्न सजिलो हुन्छ । नेपाल आउने पर्यटकका लागि पनि यसले ठाउ ठाउ पुर्‍याउन सहयोग गर्छ ।

Sunday, March 7, 2010

पृथक होलीको अभ्यास


होली । नामले नै रंगहरुको पर्व । यसपटक ब्लग लेख्नका लागि होली रमाइलो रहयो । तर, मैले लेख्नका लागि समय निकाल्न सकिन । ढिलो भयो । तर, पनि अब भने होली सम्झन चाहन्छु ।
विराटनगरमा रिचमण्ड फेलोसिप नामको संस्थाको शाखा छ । लागू औषधको सेवनमा लागेर यो बाटो छाडन चाहनेलाई यो संस्थाले सघाउने रहेछ । होलीका केही दिन अघिमात्र राजधानीबाट म फिरेको थिए । रातभर अनिदो यात्राले रुघा लाग्यो । पिनास भयो । होलीसम्म पनि तंग्रिन सकिन ।
युवा अभियानका विराटनगर संयोजक विशाल राइले फोन गरेका थिए । होली मनाउने यसपटकको अभियान अलि पृथक छ भनेर । मलाइ युवा साथीहरुको गतिविधिमा सामेल हुन मन पर्छ । यही क्रम जोडियो । अभियानसम्बद्ध युवा साथीहरु २५ जना रिचमण्डको विराटनगर पाञ्चालीस्थित कार्यालय परिसर पुगे ।
यहा लागूऔषधको लत छुटाउन लागिपरेका २९ जना रहेछन् । एक जना चिनिया र दुइ भारतीय । अरु नेपाली युवा । १२ देखि ४५ वर्षसम्मका । उनीहरुसग यी युवा साथीले परिचय गरे । अनि एकअर्काको परिचय दिलाएर कार्यक्रम गरियो । अनि नशारहित होलीका लागि भन्दै पेन्टिङ बनाउन लगाइयो । शिर्षक थियो - नया संविधान र नया नेपाल । नेताहरुको नारामा सुन्दा सुन्दा युवाका लागि आकर्षक विषय नलाग्ने शिर्षकमा लागूऔषध छाडन बसेकाहरुको प्रस्तुती भने बेजोड रहयो ।
सबैका चित्रको विषयमा म उल्लेख गरि्दन ।
त्यहाका दीनेश बस्नेतले कोरेको चित्रमा एकापटि युवा राष्ट्रपति सम्बोधन गर्दै । जनता सुन्दै । अर्कापटि भ्रष्ट नेताहरु कारागारमा थुनिएको अंकित थियो । उनको चित्र तेस्रो भयो । रमेश प्याकुरेलले कोरेको चित्रमा पहाड, खोला, कारखाना, व्यवस्थित नर्सरी । अनि से नो ड्रग्सको प्लेकार्ड बोकेको मान्छे थियो । नीतेश खड्गीको दोस्रो भएको चित्रले जीवनको अध्यारो र उज्यालो पाटो अंकित थियो ।
हामीले व्यानरमा चित्र कोरेर कार्यक्रम थाल्यौ । उनीहरुसग मैले पनि बोल्न पाए । लत छाडन बसेकाहरुमा प्रतिबद्धता थियो । उनीहरुसग होली मनाउन भेला भएका विभिन्न कलेजका युवायुवती पनि खुसी थिए । कार्यक्रमपछि रुची अनुसार अबिर खेलियो । यस्तै भयो । मैले सबै वर्ष होलीमा नगरका गतिविधि समेटेर फोटो गर्ने बानीलाई यही कार्यक्रमका कारण यसपटक निरन्तरता दिन सकिन । केही तस्विर गरेपनि औपचारिक मात्र भए । तर, युवा साथीहरुसगको होली रमाइलो रहयो ।