Wednesday, July 30, 2008

बन्दको बानी -२


हिजो साँझदेखि स्थिति सामान्यतर्फ फर्केपछि फेरि बन्दको चर्चा गरिरहन मन भएन । तैपनि अस्तिको पालो पुरा गरेन भने थालेको काम बीचैमा छाड्ने बानी भएको आरोप लाग्ने डर भयो । अनि पुनः लेख्न बसेको छु ।
हामी सोमबारको कुरा गर्दछौं धरान-विराटनगर मार्गको । दुहवीबाट करीव १ किलोमिटर वर रहेको जाममा हामी आइपुग्यौं ।
त्यहाँ बाटो छेकेर बसेकाहरुले बाइक रोक्न लगाए । हामीले आफ्नो परिचय दिएपछि उनीहरुले भने 'हाम्रो कुरा सुन्नुस , कुन पत्रकार अरे - ' पछाडिको गाडीलाइ परै रोक्न संकेत गरेर हामीले बाइक साइडमा लगायौ । अनि मैले त्यहाँको फेाटो खिचें । मजदुरहरुसँग कुरा गरें ।
दुहवी-४ मा पर्ने धनलक्ष्मी सेन्थेटिक्स भन्ने कारखानाले सार्वजनिक विदा माग गर्दा आफुहरुमाथि अन्याय गरेको उनीहरुको भनाइ थियो । हामीले यहाँको समाचार पठाउने वाचा गरि वितरणबाट फिरेको गाडीलाइ जान दिन आग्रह गर्‍यौ । उनीहरुले माने ।
मैले त्यहाँका आन्दोलनकारीका कुरा सुनें , टिपें । अनि त्यस कारखानाको व्यवस्थापनसँग भेट्न चाहे । कुरा एकतर्फीमात्र सुनेर फिर्नु ठीक पनि होइन । कारखानाको संकेतसम्म थाहा हुने केही नराखेको गेटमा बाहिरबाट भित्रका पालेलाइ अनुरोध गरे । हामी व्यवस्थापनका कसैलाई भेट्न चाहन्छौ , हामी पत्रकार हौं । भित्र खबर लगिदिन गरेको आग्रहमा अनुहार पनि ठम्याउन नसकिने गरि जाली लगाइएको झयालभित्रबाट पालेले भने 'पर्खनुस है म भित्र मान्छे पठाउँछु ।' हामी झयालमा उभिएको देखेर सडकका सबैजसो आन्दोलनकारी हामीतिरै झयाम्मिए । आधा घण्टा बित्यो भित्र पठाएको भनिएको मान्छेले खबर ल्याएन ।
मैले अब पर्खिरहन नसकिने बताएपछि मजदुरको हुलले हामीलाई निस्कने बाटो दियो । पार त पाइयो तर, अपुरो खबर लिएर । आफ्नो बीट एरियाभन्दा बाहिर जिल्लाको समाचार रहेकाले मजदुरहरुलाइ मैले अफिस र सुनसरीका संवाददाताको मोवाइल नम्बर दिएको थिए । सोचें, केही परे उनीहरुले सम्बन्धित साथीलाइ खबर गर्नेछन् ।
अफिस आइपुगेपछि बाटोभरि खिचेका तस्विर कम्प्युटरमा खन्याइयो । अफिसमा बसेका तीन घण्टामा अन्य तीन स्थानका बन्द बारेको खबर सुनियो । काठमाडौंमा केन्द्रीय कार्यालय तोडफोड भएको विरोधमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताले रोडशेष चोकमा जाम गरे । बन्दको विरोधमा हलुका सवारी चालकले जनआन्दोलन चोकमा राजमार्गमै गाडी तेर्स्याइ अवरोध गरे । अनि हिन्दी सपथको विरोधमा विमानस्थल
मार्ग नजिक चुरेभावरका कार्यकर्ताले बन्द गरे ।
मंगलवार पनि स्थिति फरक रहेन । तर, म केही निराश थिएँ । कारण हिजोको ती मजदुरका समाचार र तस्बिरलाई मैले काम गर्ने पत्रिकाले छापेको थिएन । सयौं खबरको चाँङमा एउटा छुट्नु सम्पादन मण्डल र स्वयमं संवाददाताका लागि पनि नौलो होइन । तर, यस्तै कारणले हामी सधैं समस्यामा परेका छौं । उनीहरुको प्रदर्शनको तस्बिर छापिन्छ होला भन्ने मलाइ लागेको थियो । अब फेरि त्यही बाटोमा उनीहरुसँग म पत्रकार भन्दै बोल्नुपरे मैले के गर्ने होला - यस्तो प्राय आइलाग्ने समस्या हुन् । सयौं खबर छापिदा कतै छोटकरी नअँटाउने त हैन नि । जे होस यस्तै भयो ।
मंगलवार विराटनगरभित्रमात्रै चार स्थानमा छुट्टाछुट्टै समयमा बन्द र विरोध प्रदर्शन भए । साँझ गुगलको च्याटमा देखिएका एक पत्रकार मित्रले सुनाए । सिडिओ अफिसमा महत्वपूर्ण निर्णय भए । कारण जोगबनी र महावीर चोकमा पोशाक जलाएको घटना । हिन्दी हंगामाको विरोध र विरोधको विरोधमा प्रदर्शन भएपछि चार दलका जिल्ला अगुवाहरुले अब आन्दोलन नगर्ने । मैले कार्यालयको फ्याक्सबाट तीनवटा पन्ना पाएँ । त्यसमा दुइवटा जिल्ला प्रशासन र एउटा चाहि चार दलको संयुक्त अपील थियो । प्रशासनले भनेको थियो । सर्वदलीय बैठकले शान्ति बनाइराख्न सक्रियता बढाउने निर्णय गरेको छ । अनि सर्वसाधारणलाइ मर्का पर्ने वाधा विरोधका कार्यक्रम गर्नेहरुलाइ कारवाही चलाउने ।

No comments: