Friday, July 25, 2008

हाम्रो सिकाइ



ब्लग पेजहरु भिजिट गर्दा मैले धेरै साथीहरुको बानी ख्याल गर्छु । दुखका कुरा गर्दैनन् । सुखका , रमाइला कुरा , घटना, प्रविधि , यात्रा र प्रकृति बारे बताउँछन् । राम्रो लाग्छ । तर, हामी नेपालीको दिनचर्या युरोपियन र अमेरिकन अनि विहार छाडेर भारतका अन्य राज्यका मान्छेजस्तो छैन ।
अझ तराइमा बसेर काम गरिरहनेहरुले भोग्ने कथाव्यथा अब अझ असजिला छन् । आज विराटनगर बन्द छ । कारण अस्ति उपराष्ट्रपतिले हिन्दीमा सपथ लिए । उनले सपथ लिदा सभामा उपस्थित कसैलाई असजिलो लागेन । अब मिडियाले चर्चा चलाइरहँदा युवाहरुको चासो र चिन्ता बढ्यो । जे होस , आज र्सार्वजनिक यातायात बन्द रह्यो । बजार पसल पनि आंशिक मात्र खुले ।
लोकतन्त्रको नारा दिइरहँदा दलहरुको स्कुलिङमा बेरोजगारहरु राम्रै गरि ब्यस्त भएका छन् । मैले सुनेको थिए , लोकतन्त्र भनेको आफ्नो अधिकारको उपयोग गर्दा अर्काको नाकमा हिर्काउनु होइन । स्थिति ठ्याक्कै उल्टो छ । जे गरेपनि र्सवसाधारणलाई सास्ती । सम्झेर ल्यायो भने हरेक खालका प्रदर्शन, बन्द र विरोधले ती सरोकार नै नभएकाहरुलाइ सास्ती दिएको छ ।
नेताहरु यसका जिम्मेवार हुन् । त्यसरी सपथ लिन दिनै नहुने । यदि लिइहालेपनि त्यसको विकल्प छ । आज सबैजसो अखवारका पाठकपत्रमा उपराष्ट्रपतिको सपथ बारे लेखिएका छन । अनि भनिएको छ -यसले राष्ट्रियतालाई दुख्यो । जे होस, राष्ट्रियता त्यस्तालाई दुख्ने रहेछ । जसको काम अरुलाइ सास्ती दिनु हुन्छ । आन्दोलनका अनेक उपाय छन् । सरकारको रवैयाले जे गरेपनि हुने बुझेकाहरु सडक तताइ छाड्न उद्दत छन् । त्यही राष्ट्रपतिले सबैको मन जितेपनि मधेसी त मधेसी हुन् नि । अनि उपराष्ट्रपतिले किन यो नबुझेका होलान् । मधेसी जनअधिकार फोरमका नेताहरु अहिले अलि सभ्य लाग्छन् । मैले त मधेस आन्दोलनलाइ नजिकबाट हेरेको हो । उनीहरुको भाषा र व्यवहारले कुनै बेला थातथलो छाडेर हिड्नु बेस हुन्छ भन्ने स्थिति भइसकेको थियो ।
एउटा कुरा समानता हो । जसरी हामीलाई सिक्किम , दार्जिलिङ र जहाँ हाम्रो भाषा बोल्नेहरु छन् । उनीहरुलाई पराइ मान्न सक्दैनौ । ती दाजुभाइ हुन् । अनि विहारी वा भारतीयले नेपालका मधेसीप्रति त्यस्तो भावना राख्नु कुन अनौठो हो र । मुल भनेको मुल हो ।
म पनि उपराष्ट्रपतिले नेपालभित्र कुनै समुदायको मातृभाषामा नपर्ने भाषामा सपथ लिएकोमा सनतुष्ट छैन । तर, विरोधको शैली संयमित नभए सामाजिक अराजकता बढ्छ भन्नेमा सोचिरहेको छु । अहिले केही बेरमा मशाल जुलुस निस्कन लाग्यो रे । म हिडे फोटो खिच्न । अहिले यति नै ।

No comments: